काठमाडौं: राष्ट्रपतिबारे चार दलको बैठक सकारात्मक भएको नेताहरुले बताएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका नेताहरुबीच शुक्रबार विहान बालुवाटारमा छलफल भएको थियो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले विभिन्न विकल्पबारे छलफल भएको बताए । आ-आफ्नो दलमा छलफल गरेर फेरि ५ बजे बैठक बस्ने भन्दै उनले भने, ‘हामी एउटै निर्णय गर्छौं, एकैठाउँमा उभिन्छौं ।’
काठमाडौं: सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज (शुक्रबार)का लागि तोकेको छ । लामिछानेले बिहीबार सर्वोच्चमा दायर गर्नुभएको मुद्दाको पेसी न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको हो । नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीबार सर्वोच्च पुग्नुभएको थियो । धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक व्यवस्था हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेको हो ।
गाईघाट: उदयपुरको बेलका नगरपालिका–९ भचुवाका २७ वर्षीय विनोद खत्रीले २३ वर्षीयाा श्रीमति युनिका पौडेल खत्रीलाई जङ्गलमा लगेर धारीलो हतियार प्रहार गरी हत्या गरेका छन् । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाका अनुसार बेलका नगरपालिका–६ को जाप्पादेवी रमिते सामुदायिक वन क्षेत्र भित्र बिहीबार दिउँसो दुवै जना घरबाट घाँस काट्न गएकोमा श्रीमति युनिका पौडेल खत्रीको हत्या भएको अवस्थामा जङ्गलमा सव फेला परेको हो । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट ३ किलोमिटर टाढा घटनास्थल भएकाले बिहीबार साँझ प्रहरीले त्यहाँ कानुनी प्रक्रिया पुरा गरी शव पोष्टमाड्मका लागि बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको बेलका नगरपालिका–९ का वडा अध्यक्ष पदम खड्काले बताउनुभयो । प्रहरीले श्रीमान बिनोद खत्रीलाई नियन्त्रणमा लिएर थप्प अनुसन्धान थालेको छ । विनोदका परिवारमा दुई वर्षको छोरा र आमाबुबा रहेको अध्यक्ष खड्काले बताउनुभयो ।
पोखरा: पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सङ्घ सरकारको ध्यानाकर्षण गराउन जरुरी रहेको बताउनु भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन हवाई सेवा सञ्चालन लगायत समग्र पोखराको पर्यटनका विषयमा आयोजित पत्रकार अन्तरक्रियामा प्रमुख आचार्यले यस्तो बताउनु भएको हो । “समग्रमा पोखरा सबै हिसाबले तयार छ, त्यस कारण केन्द्र सरकारलाई पनि पोखरामा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नका लागि सकारात्मक दबाब सृजना गर्नु पर्यो, प्रमुख आचार्यले भन्नुभयो, यस विषयमा सरकारको ध्यानाकर्षण गराउनु पर्यो, यसमा मिडियाको पनि तागत हुन्छ ।” प्रमुख आचार्यले आन्तरिक उडानमा कुनै समस्या नभएको भन्दै अन्तर्राष्ट्रिय उडानमा पनि कुनै प्रकारको शङ्का गर्नु पर्ने अवस्था नरहेको बताउनुभयो । समग्र पोखराको पर्यटन प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्र एकसाथ अगाडी बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । पोखरा सबै हिसाबले सुरक्षित रहेको जनाउँदै प्रमुख आचार्यले कुनै घट्नालाई जोडेर सधैँ गलत र असुरक्षित भनेर प्रचार गरिरहनु आवश्यक नरहेको बताउनुभयो । नेपालको हवाई क्षेत्रमा कयौँ दुखद दुर्घट्नाहरु भएको स्मरण गर्दै उहाँले कुनै पनि विषयलाई अनावश्यक रूपमा उठाइरहनु उचित नहुने उल्लेख गर्नुभयो । स्थानीय सरकारका नाताले पोखराको समग्र पर्यटन विकासको विषयमा चिन्तन गर्नु आफ्नो प्रमुख दायित्व हुने उहाँले बताउनुभयो । पोखराको पर्यटनलाई चलायमान बनाउने विषय आम सरोकारको विषय भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले बताउनुभयो । “पोखरालाई कसरी चलायमान बनाउने, कसरी सुरक्षित बनाउने भन्ने कुरा यहाँहरूको पनि जिम्मेवारीको कुरा हो, प्रमुख गौतमले भन्नुभयो, उड्डयन क्षेत्रको प्रभाव केवल एक ठाउँमा मात्र केन्द्रित हुँदैन, यसले समग्र क्षेत्रमा प्रत्यक्ष असर पार्दछ ।” पोखराको आकाश सुरक्षित रहेको बताउँदै उहाँले कुनै प्रकारको शङ्का नपाल्न आग्रह समेत गर्नुभयो । संसार भरिका विमानस्थलहरूमा चराहरूको आवागमन भइरहने भन्दै उहाँले पोखरामा पनि त्यो हुनु सामान्य विषय भएको टिप्पणी गर्नुभयो । पोखरा महानगरपालिका सल्लाहकार परिषद्का संयोजक आनन्दराज मुल्मीले नेपालको आकाश सुरक्षित छैन भनेर बारम्बार गलत प्रचार भइरहेको भन्दै यसको संयुक्त प्रयास मार्फत प्रतिवाद आवश्यक रहेको बताउनुभयो । “नेपालको आकाश असुरक्षित होइन, तर विभिन्न बाहानाबाजीमा पोखराको आकाश समेत असुरक्षित भन्ने गरिएको छ, मुल्मीले भन्नुभयो, हामी यसलाई चुपचाप सह्यौ भने पोखराको एयरपोर्ट चल्न दिँदैनन्, त्यसैले पोखराको एयरपोर्ट चलाउनका लागि संयुक्त प्रयासको जरुरी छ ।” नेपाल उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष समेत रहनुभएका मुल्मीले नेपालका लागि थप हवाई मार्ग दिनका लागि छिमेकी मुलुकले गरेको कन्जुस्याइँ पनि अनौठो भएको टिप्पणी गर्नुभयो । नेपाल जस्तो सानो मुलुकका लागि हवाई रुट उपलब्ध गराउने विषयमा समेत आनाकानी गर्नुको कारणका बारेमा समेत गहन छलफल आवश्यक रहेको उहाँले बताउनुभयो ।
पोखरा: भदौं अन्तिम सातापछि पोखरामा पहिलो पटक पानी परेको छ । हिजो गण्डकी प्रदेशको जोमसोमतिर हल्का वर्षा भएको थियो । पानी परेपछि पोखरा लगायतका क्षेत्रका किसान खुशी भएका छन् । लामो समयसम्म पानी नपर्दा कृषि बालीमा नोक्सानी भोगिरहेका किसानलाई हल्का वर्षा हुँदा तोरी, गहुँलगायत बाली पनि सप्रिने किसानले आशा गरेका छन् ।
काठमाडौं: उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारत प्रस्थान गर्नु भएको छ । जी २० का अर्थमन्त्रीको सम्मेलनमा भाग लिन उहाँ भारत जानु भएको हो। जी २० अर्थमन्त्रीको सम्मेलन फागुन १२ र १३ गते भारतकाे बैङ्लोरमा हुँदैछ। सम्मेलनका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारत लगायत विभिन्न देशका समकक्षीसँग छलफल गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ। उपप्रधान तथा अर्थमन्त्री पौडेलसँगै अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालसमेत भारत जानु भएको छ। नेपाल जी २० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएको बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो। जी २० मा भारत, चीन, जापान, अमेरिका, बेलायत लगायतका राष्ट्र छन्। उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल फागुन १३ गते स्वदेश फर्कनु हुनेछ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फोरजी सेवा गुणस्तर बनाएर आवश्यक पूर्वाधारको निर्माणपछि मात्रै फाइभ जी लागू गर्न उपयुक्त हुने बताउनुभएको छ । बिहीबार प्रविधि पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको ‘फाइभ जी को चुनौती र आगामी बाटो’ अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै सञ्चार मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा फाइभ जी सेवा परीक्षण गर्दा देशका धेरै स्थानमा सामान्य सूचनाको पहुँच पुग्न नसकेको अवस्था रहेको बताउनुभयो । मन्त्री शर्माले फोर जी सेवा विस्तार भएको लामो समयसम्म काठमाडौं उपत्यकामा समेत प्रभावकारी हुन नसकेको भन्दै फोर जी सेवालाई व्यवस्थित बनाउन आवश्यक रहेको जानकारी दिनुभयो । मन्त्री शर्माले फोर जी सेवा लागू गर्दा लागेको लागत अनुसार प्रतिफल भए, नभएको विषयमा अध्ययन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । विश्वमा आउने नयाँ प्रविधिमा अगाडि बढ्दै जाने र त्यसबाट हुने फाइदाको समीक्षा गर्न सकेनौं भने लाभभन्दा नोक्सानी बढ्नसक्ने तर्फ सचेत हुन आवश्यक रहेको पनि बताउनुभयो । सञ्चारमन्त्री शर्माले भन्नुभयो, ‘‘नेपालमा फाइभ जी लागू हुँदा धेरै लाभ लिन सकिने भएकाले लागू गर्न आवश्यक छ । हामीले फो जीको स्टाटस थाहा नपाई फाइभजीमा कसरी अगाडि बढ्ने विषय छ । अहिले फोरजीको अवस्था के हो यसबाट कति लाभ लिएका छौं । फोरजी सेवामा कति लागत लगायौं र कति लागत उठ्यो भन्ने वास्तविक लेखाजोखा नगरी विश्वमा आउने नयाँ प्रविधिमा अगाडि बढ्दै जाने र त्यसबाट के भयो भन्ने विषयमा समीक्षा गर्न सकेनौं भने लाभभन्दा पनि नोक्सानी हुने जस्तो लाग्छ ।’’ मन्त्री शर्माले नेपाल भौगोलिक रुपमा कठिन अवस्थामा रहेको भन्दै उच्च हिमाली जिल्लामा समान्य सूचनाको पहुँच नै नपुगेको स्वीकार गर्नुभयो । उहाँले देशका धेरै भूभाग इन्टरनेटको न्यूनतम सेवासमेत नपुगेको बताउनुभयो । विभिन्न निकुञ्ज र जङ्गलको क्षेत्र इन्टरनेट र फोनको पहुँच बाहिर रहेको भन्दै जङ्गलको बाटोमा यात्रा गर्दा जनावरको आक्रमण भएमा सूचना दिन फोन नलाग्ने र नेट नै नचल्ने समस्या रहेको उहाँको भनाइ छ । ‘‘फोरजीमा भौगोलिक रुपमा कठिन अवस्थामा छौं । ग्रामीण क्षेत्रमा डाँडामा टेलिफोनको टावर भए पनि खोँचमा रहेको बस्तीमा टावर आउँदैन । गाउँपालिकाको कार्यालयमा फोन लाग्दैन फोरजीको विषय टाढाको कुरा हो । न्यूनतम फोन लाग्ने अवस्था समेत छैन भन्ने गुनासा आएका छन् । अझै पनि कतिपय स्थानमा टेलिफोन सेवा पुग्न सकेको छैन ।,’’ सञ्चारमन्त्री शर्माले भन्नुभयो, ‘‘उच्च हिमाली जिल्लामा समान्य सूचनाको पहुँच नै नपुगेको छैन । निकुञ्ज र जङ्गलको क्षेत्र समेत इन्टरनेटको पहुँचबाहिर छन् । जङ्गलको बाटोमा यात्रा गर्दा जनावरको आक्रमण भएमा सूचना दिन फोन नलाग्ने र नेट नै नचल्ने समस्या छ । पहिला सबै भूभागमा टेलिकमको सामान्य सेवाको पहुँच पु¥याउन आवश्यक छ ।’’ मन्त्री शर्माले सम्बन्धित निकायहरुलाई सबैभन्दा पहिला सबै भूभागमा टेलिकमको सामान्य सेवाको पहुँच पुर्याउन निर्देशन दिनुभयो । उहाँले उपत्यकाको धेरै स्थानमा समेत सामान्य सेवा नपुगेको र हाईवेका धेरै ठाउँमा फोन नलाग्ने, टावर नै नआउने अवस्था रहेको बताउनुभयो । फाइभ जी अघि सरकारले ठूलो लगानी गरेर फोरजीको पूर्वाधार तयार गरे पनि त्यो लगानी खेर जाने स्थिति रहेको उहाँको भनाइ छ । मन्त्री शर्माले फोरजी राम्रोसँग नचल्दै फेरि फाइभजीमा लगानी गर्दा सरकारी लगानी खेर जाने अवस्था आउनसक्ने बताउनुभयो । मन्त्री शर्माले विश्वमा आविष्कार भएको नयाँ–नयाँ प्रविधि आत्मसात गर्दै गर्दा उपभोक्ता र नेपालीको व्यक्तिगत विवरण सुरक्षा ग्यारेन्टीमा समेत ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले नयाँ प्रविधि लागू गर्दा देशको अवस्था र विगतको लगानीलाई हेररे गर्नुपर्ने धारणा औंल्याउनुभयो । ‘‘काठमाडौं उपत्यकामा समेत फोरजी सेवा गुणस्तर छैन । यसलाई व्यवस्थित गर्ने गरेर मात्रै फाइभ जीमा प्रवेश गर्न उपयुक्त हो । मुलुक सूचना प्रविधिमा फड्को मार्नुपर्छ । त्यसका लागि सरकारले आवश्यक पूर्वाधार निर्माण गरी आधारहरु खडा गर्नुपर्छ । फाइभ जी सेवा लागू गरे पश्चात अर्थतन्त्रलगायत अन्य विषयमा कति लाभ हुन्छ भन्ने विषयको लेखाजोखा गर्न आवश्यक छ ।,’’ उहाँले भन्नुभयो, ‘‘अझै पनि फोन नलाग्ने क्षेत्रहरु धेरै छन् । त्यस्ता क्षेत्रहरुको पहिचान गरेर समस्या हल नगर्ने तर नयाँ नयाँ प्रविधिमा जाने अवस्था हेको छ । भौगोलिक अवस्था, प्रयोग गर्ने जनशक्ति अहिलेका चुनौती हुन् ।’’ त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले फाइभ जी सेवा अपेक्षा अनुसार नभएर पनि परीक्षण सुरु भएको बताउनुभयो । उहाँले सरकार, नियमन निकाय र आम उपभोक्ताहरुले सोचेको जस्तो नभएको गुनासो गर्नुभयो । अध्यक्ष खनालले फाइभ जी सेवा परीक्षणको दायरा बढाउन आग्रह गर्नुभयो । खनालले फाइभ जी प्रयोगकर्ताले परीक्षण गर्नुपनि परीक्षणको एउटा पाटो भएको बताउनुभयो । उहाँले प्राधिकरणले नेपालमा फाइभ जी ल्याउँदा हुने फाइदाहरुको विषयमा अध्ययन गरिरहेको जानकारी दिनुभयो । अध्यक्ष अनालले राज्यले लगानी गरे अनुसार कस्तो प्रतिफल आउने विषयमा अन्तिम रिपोर्ट आउन बाँकी रहेको बताउनुभयो । उहाँले नियमनकारी निकायले फाइभ जी विषयमा सुक्ष्म रुपमा व्यवस्थापन नगर्ने सोच भए पनि अब सुक्ष्म रुपमा व्यवस्थापन गर्ने सोचमा पुगेको जानकारी दिनुभयो ।
काठमाडौं: राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअन्तर्गत मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम म्यादसम्म पाँच वटा निवेदन परेको छ । ती निवेदनमा चार वटा नाम सच्याउने र एउटा नाम समावेश गर्ने विषय रहेको सहायक निर्वाचन अधिकृत अमृता शर्माले जानकारी दिनुभयो । मतदाता नामावलीमा दाबी विरोधका लागि आज (बिहीबार) अपराह्न १२ बजेसम्मको समय तोकिएको थियो । कैलाली जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गर्न निवेदन परेको छ । यसैगरी, अन्य चारवटा निवेदन भने नाम सच्याउने विषयमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदाता नामावलीको दाबी विरोधमा भने कुनै निवेदन दर्ता नभएको बताइएको छ । प्राप्त निवेदनका सम्बन्धमा छलफल गरी निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार अपराह्न १२ बजे राष्ट्रपतिको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ । मतदानमा सङ्घीय संसद्का सांसद र प्रदेश सभा सदस्यले मतदान गर्न पाउने छन् । मतदान फागुन २५ गते संसद् भवन नयाँबानेश्वरमा हुने जनाइएको छ ।
काठमाडौं: नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको कारण कुनै पनि ठाउँमा चक्रपथ विस्तारमा समस्या नरहेको स्पष्ट पार्नुभएको छ । बिहीबार दोस्रो चरणको चक्रपथ विस्तारअन्तर्गत कलंकी–बसुन्धारा सडक खण्डकको अवलोकनका लागि उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सङसँगै अनुगमन एवम् निरीक्षणका लागि त्यहाँ पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । निर्देशक घिसिङले कलंकी बसुन्धारा सडक खण्डमा अब १५ वटा पोल जति हटाउन बाँकी रहेको र ति पोलहरु १५ दिन भित्रमा हटाइसक्ने जानकारी दिनुभयो । उहाँले विद्युत प्राधिकरणको कारण कुनैपनि ठाउँमा चक्रपथ विस्तारका लागि समस्या नरहेको स्पष्ट पार्नुभयो । निर्देशक घिसिङले भन्नुभयो, ‘‘अब यो रिङरोड विस्तारको कलंकी चाबहिलसम्मको विस्तारमा हामीले पोल सार्ने काम सकिसकेका छौँ । एक, दुई स्थानमा रोडको लेभल मिलाउनुपर्ने भएकाले १५ वटा जति पोल सार्न बाँकी रहेछ, १५ दिनजति लाग्छ । विद्युत प्राधिकरणको पोलको कारणले कुनैपनि ठाउँमा चक्रपथ बिस्तारको लागि समस्या छैन ।’’ त्यस्तै, काठमाडौं चक्रपथ सुधार योजनाकी योजना प्रमुख सजना अधिकारीले चक्रपथ विस्तारको कलंकीदेखि बसुन्धरासम्म ८.२ किलोमिटर दोस्रो चरणमा सुरु हुन लागेको बताउनुभयो । उहाँले जसअन्तर्गत रहेका करिव तीन सय बिजुलीका पोलहरु हटाइसकेको र अब २२ वटा पोलहरु मात्रै रहेकाले सडक विस्तारका लागि कुनै समस्या नभएको जानकारी दिनुभयो । उहाँले सडक छेउमा रहेका १९ वटा मन्दिरहरुमा गोंगबुमा रहेको मन्दिर बाहेक अन्य सबै मन्दिरहरु स्थानान्तरण गरिसकेको पनि बताउनुभयो । उहाँले दोस्रो चरणमा चक्रपथ विस्तार कलंकीदेखि बसुन्धारासम्म मात्रै रहेको प्रमुख अधिकारीको भनाइ छ । ‘‘चक्रपथ विस्तारको कलंकीदेखि बसुन्धरासम्म ८.२ किलोमिटर दोस्रो चरणमा सुरु हुँदैछ । यसअन्तर्गत हाम्रा दुई, तीन सय वटा बिजुलीका पोलहरु थिए, अब २२ वटा जति पोलहरु हटाउन बाँकी छ, त्यो पनि प्रोसेसमा छ, १५ दिन भित्र भत्काउने भन्नुभएको छ । १९ वटा मन्दिरहरु थिए, ती पनि सबै भत्काइएका छन् ।,’’ प्रमुख अधिकारीले भन्नुभयो, ‘‘रुख, चौतारोहरु पनि हटाइसकेका छौँ । कलंकीदेखि स्युचाटारसम्मको २२ वटा बिजुलीका पोलहरु सार्नुपर्नेछ । दोश्रो चरण भनेको कलंकीदेखि बसुन्धारासम्मको हो । महाराजगञ्ज तेस्रो चरणको हो ।’’ दोस्रो चरणको चक्रपथ विस्तारअन्तर्गत आज (बिहीबार) बिहान मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदुत छन सङ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलगायतले सडक अनुगमन एवम् निरीक्षण गर्नुभएको थियो ।