काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अंगभंग भएका, सहादत भएकालाई सम्झिएको छ कि छैन भन्दै प्रश्न गरेका छन्। राजनीतिक आन्दोलनमा घाइते भएकालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, 'प्रधानमन्त्री जीले अंगभंग भएका, सहादत भएकालाई सम्झिनुभएको छ कि छैन ?' प्रधानमन्त्री प्रचण्ड एकथरी बोल्ने र अर्कै काम गर्दै हिँड्ने गरेको ओलीले बताए। उनले भने, 'प्रचण्डजी एक थरी बोल्नुहुन्छ, गर्नुहुन्छ बेग्लै। उहाँसँग अस्ति भएको भेटमा मलाई भन्नुभयो-दुई महिना गाह्रो भयो है। नहोस् पनि कसरी उहाँ दाम्लो चुँडाएर जान खोज्ने, मैले रोक्दिने। उहाँलाई गाह्रो भएको थियो।' प्रचण्ड धोका दिने मान्छे भनेर आफूले चिनेको बताउँदै ओलीले अहिले पनि प्रचण्डले व्यवहार नसुधारेको बताए। ओलीले भने, 'तपाईंहरूलाई थाहा छ बिरालो पाल्न किन्नु पर्दैन दूध र भात दियो भने छिमेकीको बिरालो आफ्नै हुन्छ। एउटा कचौरामा दूध भात दिनुहोस् छिमेकीको बिरालो आफैँ आउँछ। प्रचण्डमा यही स्वभाव हावी छ। जता पाइन्छ उहाँ ढल्किहाल्नुहुन्छ।'
गोरखा: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिका लागि सर्वसम्मतिको प्रयास भइरहेको बताउनुभएको छ। गोरखाको बारपाक सुलिकोटमा आयोजित माओवादी जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृति दिवस तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै उहाँले सर्वसम्मतिका लागि २५ गतेसम्म कोशिस गर्ने बताउनुभयो। ‘‘हाम्रो प्रयास छ कि २५ गतेसम्म जाँदा राष्ट्रपतिमा सर्वसम्मति भए धेरै राम्रो हुन्छ। त्यो प्रयास पनि हामी गरिराखेका छौं,’’ उहाँले भन्नुभयो, ‘‘नभए पनि नयाँ यात्रा, स्थायित्व र विकासका निम्ति अझ सहयोगी हुने मैले विश्वास लिएको छु।’’ निर्वाचन अघि गठबन्धन बनाएर होमिएका दल फेरि एकठाउँमा आइपुगेको उहाँले बताउनुभयो। यसले नयाँ राजनीतिक यात्राको सुरु भएको उहाँको भनाइ छ। ‘‘जुनजुन राजनीतिक दल मिलेर जनतामा भोट माग्न गएका थियौं। परिस्थिति नयाँ बन्यो म प्रधानमन्त्री भिन्न तरिकाले बनेँ,’’ उहाँले भन्नुभयो,‘‘हिजो मात्र फेरि (शनिबार) राष्ट्रपतिको चुनावका सन्दर्भमा आउँदा आठ राजनीतिक दल एक ठाउँमा भएका छौं। नेकपा (एमाले)सँग पनि लगातार हाम्रो कुरा भइरहेको छ।’’ आफ्नो बाँकी जीवन विकास समृद्धिका लागि खर्च गर्ने यसअघि नै घोषणा गरेको बताउनुहुँदै उहाँले सरकारलाई जनमुखी र प्रतिफलयुक्त बनाउने दाबी गर्नुभयो। देश आर्थिक समस्यामा रहेको भन्दै त्यसको सुधारका लागि सरकार लागिपरेको उहाँको भनाइ छ। नेकपा (माओवादीका केन्द्र)का अध्यक्षसमेत रहनुभएका उहाँले सरकारले जनयुद्ध र जनआन्दोलनका शहीदलाई सम्मान दिन लागेको बताउनुभयो। ‘‘मैले आज बिहान मात्र मुख्य सचिवलाई बोलाएर जनयुद्ध र जनआन्दोलनका सम्पूर्ण शहीदलाई राष्ट्रिय शहीदको रुपमा राजपत्रमा नाम प्रकाशित गर्ने साेच बनाएको छु,’’ उहाँले भन्नुभयो, "यो निर्णयले परिवर्तनका पक्षमा बलि दिनेहरुप्रति सम्मान हुनेछ।" नेपाली सेनाको हेलिकप्टरमार्फत आउनुभएका प्रधानमन्त्री प्रचण्डले शहीद परिवारलाई सम्मान गर्नुभएको थियो। उहाँले दिलबहादुर रम्तेलका बुबा सेते रम्तेल र आमा सरिमायाँ रम्तेललगायत माओवादी जनयुद्धमा ज्यान गुमाएकाको परिवार र आफन्तलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो। प्रधानमन्त्री प्रचण्डले पालुङटारमा आयोजित एक कार्यक्रमलाई पनि सम्बोधन गर्नुभएको छ। कार्यक्रममा माओवादी केन्द्रका सचिव एवं प्रमुख सचेतक हितराज पाण्डे, बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट, उपाध्यक्ष सनमाया गुरुङ, पूर्व निर्वाचन आयुक्त दोलखबहादुर गुरुङलगायतले गोरखा दुईको विकासका लागि विशेष जोड दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्नुभएको थियो। गोरखा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका उहाँले जिल्लाको विकासका लागि प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
काठमाडौंं : चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै चालक अनुमतिपत्र पास हुनेको सङ्ख्या १० देखि २० प्रतिशतसम्म बढेको छ। बागमती प्रदेश सरकारले गरेको निर्णयका आधारमा काठमाडौं उपत्यकाका चार वटै यातायात व्यवस्था कार्यालयले यो महिनाको सुरुदेखि नै ७० प्रतिशत ल्याउँदा पास हुने नियम लागू गराएका हुन्। नियम लागू भए पनि दुई पाङ्ग्रे सवारीसाधनमा २० प्रतिशतसम्म र चार पाङ्ग्रेमा १० प्रतिशतसम्म पास हुने दर बढेको एकान्तकुनास्थित कार्यालयले जानकारी दिएको छ। कार्यालयको चाप व्यवस्थापन गरेर अनलाइन फाराम भर्नेको परीक्षा लिइरहेको कार्यालयका प्रमुख राजकुमार कपालीले बताए। सुरूमा चाप बढी भए पनि पुनःट्रायल दिने कम हुने उनको भनाइ छ। लिखित परीक्षा पास गरेका सेवाग्राहीले एक पटक प्रयोगात्मक परीक्षा पास नहुँदा पुनःदुई पटक मौका पाउने गरेका छन्। उनले भने, ‘एकै पटकमा धेरै पास भएपछि दोहोर्याएर र तेहेर्याएर दिने घट्ने भए।’ प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउँदा नै पास हुने नियम अरु प्रदेशले विगतका वर्षमा नै लागू गरिसकेका थिए। सबैभन्दा बढी सेवाग्राहीको चाप रहेको बागमती प्रदेशले भने विभिन्न कारण देखाएर ढिला मात्रै सुरु गरेको थियो। अरू प्रदेशमा चाप अतिन्यून रहेको र उपत्यका बाहिरका जिल्लास्थित कार्यालयको एक सातामा आउनेभन्दा उपत्यकामा एक दिनमा चाप बढी रहेको प्रमुख कपालीले बताए। विगतमा शतप्रतिशत ल्याउँदा मात्रै पास हुने नियम लागू हुँदा दुईपाङ्ग्रे सवारीसाधनमा ३५ देखि ४० प्रतिशत हाराहारीमा सेवाग्राही पास हुने गरेकामा अहिले ६० प्रतिशत पुगेको पाइन्छ। हलुका सवारी चालकको परीक्षामा सहभागीमध्ये पहिले २० पास हुने गरेकामा अहिले ३५ देखि ४० प्रतिशतसम्म पुगेको कार्यालयले जनाएको छ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गोरखा जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरूलाई विकासका योजना लिएर आउन अनुरोध गरेका छन्। प्रधानमन्त्री प्रचण्डले जिल्लाको समग्र विकासका लागि आवश्यक लिखित ज्ञापनपत्र लिएर आउन जनप्रतिनिधिहरूलाई आग्रह समेत गरे। सहिद दिलबहादुर रम्तेल स्मृति दिवस तथा तेस्रो बारपाक सुलिकोट रनिङ शिल्ड प्रतियोगिता समापन एवं सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा सहभागी हुन गोरखा पुगेका प्रधानमन्त्री प्रचण्डले सरकार मुलुकको विकासका लागि प्रतिवद्ध रहेको बताएका हुन्। 'स्वास्थ्य,शिक्षा तथा विकास निर्माणका कामबारे,अधुरा-अपुरा कामलाई पूर्णता दिने सम्बन्धित विषयमा ज्ञानपपत्र लिएर आउनु अनुरोध गर्दछु,'उनले भने,'तत्काल गर्नुपर्ने कामहरू, मध्यकालीन र दुरगामी कामहरूको सूत्रवद्ध भएर ल्याउनुहोला।' उनले संसदबाट सत्यनिरूण तथा मेलमिलाप आयोगसँग र वेपत्ता छानविन आयोगसँग सम्बन्धित विधेयक छिट्टै पारित हुने बताए। विधेयक पारित भए सहिदका परिवारलाई ठूलै राहत पुग्ने उनको भनाइ छ। यस्तै प्रधानमन्त्री प्रचण्डले जनआन्दोलन र जनयुद्धका क्रममा सहिदहरूको नाम राजपत्रमा प्रकाशित गर्ने तयारीमा रहेको बताए। 'जनयुद्ध र जनआन्दोनका सहिदको नाम राजपत्रमा प्रकाशित गर्छौं। यसले सहिदका परिवारलाई मलमपट्टी लगाउने र मेरो लागि पनि यो निकै खुसी र गर्वको कुरा हुनेछ। तपाईं हाम्रा सपना ढिलै भएपनि पूरा हुँदैछन्।' प्रचण्डले तिनै सहिदको सम्मानमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको स्पष्ट पारे।
काठमाडौं: ललितपुर महानगरपालिकाले आफ्नो मातहतमा रहेका १० वटा सहकारी संस्थाको इजाजत खारेज गरेको छ । महानगरको सहकारी ऐन, २०७५ अनुसार ५ वर्ष भन्दा बढी अवधिदेखि लेखा परीक्षण तथा साधारण सभा नगर्ने र विवरण नबुझाउने सहकारी संस्था खारेजीमा परेको हो । महानगरपालिकाले २०७९ असार १५ मा एक सूचना निकाल्दै सम्पर्कका लागि बोलावट भएका सहकारीहरुबाट सम्बन्धित पक्ष सम्पर्कमा नआएकोले २९ माघको बैठकले उक्त सहकारी संस्थाहरु खारेज गर्ने निर्णय भएको महानगरले जनाएको छ । खारेज भएका १० वटा सहकारी संस्थाहरुले तिर्नु बुझाउनु पर्ने कुनै दायित्व भए सम्बन्धित व्यक्तिले प्रमाण सहित साविकका सञ्चालक समितिका पदाधिकारीहरुसँग सम्पर्क गरी फरफारक गर्न पनि महानगरले भनेको छ । महानगरको सूचनामा भनिएको छ, ‘अव उप्रान्त उक्त संस्थाहरुको नामबाट कुनै पनि कारोवार नगर्न/नगराउनु हुन समेत जानकारी गराइन्छ । ’ हेर्नुहोस् खारेजीको सूचीः
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तक्रियामा उनले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको उल्लेख गरे। प्रधानमन्त्रीले भने,'आज जनयुद्धका क्रममा पहिलो बलिदान गर्ने सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि हो । विसं २००७ को क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका सहिद हाम्रा राष्ट्रिय गौरव हुन्,उनीहरूको उच्च सम्मान गर्नुपर्छ । त्यसैले वर्तमान सरकार जनयुद्धलगायत सबै आन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारीमा छ ।' सत्यनिरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सम्पन्न गरिने बताए। उनले भने,'सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा सत्यनिरूपण तथा मेलमिलाप विधेयक अगाडि बढेको छ । यो छिट्टै टुंगोमा पुग्छ । जनयुद्धका सहिदको सम्मान,उनीहरूको परिवारको परिपूरण,सन्ततिको शिक्षादीक्षाको काम कानुन बनाएर नै गरिन्छ । त्यसका लागि विधेयक महत्वपूर्ण छ ।' अन्तक्रियामा सहिद तथा बेपत्ता परिवारका तर्फबाट अधिवक्ता एकराज भण्डारीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस मनाएर प्रधानमन्त्रीले देशभरका सहिद र बेपत्ता परिवारलाई सम्मान गरेको भन्दै खुसी व्यक्त गरे । सरकारले यही फागुन १ गते जनयुद्धको स्मरणमा सार्वजनिक बिदा दिएको थियो । नेकपा माओवादी केन्द्रले आजदेखि फागुन २१ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी सहिद सप्ताह मनाउने तयारी गरेको छ ।
काठमाडौं: नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी एकता आवश्यक रहेको बताएका छन्। सत्ता मोहमा रूमलिएका विभिन्न दलहरूको स्वार्थका कारण वाम एकता नभएको उनले बताए। ‘अहिले वामपन्थीहरूबीच एकता गर्नु नै देशको आवश्यकता हो। वामपन्थीहरू एक ठाउँमा आउने हो भने प्रगतिशील नीति ल्याउन सकिन्छ,’ सुर्खेत विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘तर वामपन्थी दलभित्रै दक्षिणपन्थ छ, त्यसैले एकता हुन सकेको छैन।’ अहिलेको सत्ता गठबन्धनले मुलुकमा गुणात्मक परिवर्तन ल्याउने सम्भावना आफूले नदेखेको उनले बताए। सत्ता मोहले गर्दा २ महिनामै गठबन्धन फेरिएको र सरकार फेरिने अवस्था बनेको उनको भनाइ थियो। एकीकृत समाजवादीले नीति र लक्ष्य मिल्ने दलहरूसँग एकता गर्ने भए पनि तत्काल यो सम्भावना भने नरहेको उनले बताए। तर वाम एकताका लागि समाजवादी सधैं तयार रहेको उनको भनाइ थियो।
काठमाडौं : नेपालले अर्को वर्ष फ्रान्समा हुने पेरिस ओलम्पिक २०२४ को एरिया महादेशको महिला फुटबल छनोट अन्तर्गत समूह ‘सी’को खेल आयोजना गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार नेपाल आयोजक चयन भइसकेको बताएको छ। नेपालले समूह ‘सी’को छनोटमा भियतनाम र अफगानिस्तानसँग खेल्ने छ। समूह ‘सी’मा परेको प्यालेस्टाइनले नाम फिर्ता लिएपछि तीन टिम मात्रै सहभागी हुनेछन्। पहिलो चरणका खेलहरू अप्रिल चारदेखि सुरु हुनेछन्। पहिलो चरणबाट समूह विजेता छनोटको दोस्रो चरणमा पुग्नेछन्। उत्तर कोरिया, अस्ट्रेलिया, चीन, जापान, दक्षिण कोरिया यसअघि नै दोस्रो चरणमा पुगिसकेका छन्। दोस्रो चरणमा पुगेका टिमहरूलाई तीन समूहमा विभाजन गरेर तीन समूह विजेता र एक उत्कृष्ट उपविजेता टिम तेस्रो चरणमा पुग्ने छन्। तेस्रो चरणबाट शीर्ष दुई टिमले अर्को वर्ष हुने पेरिस अोलम्पिकमा स्थान बनाएने छन्। नेपाली राष्ट्रिय टिमले ओलम्पिक छनोटको तयारी स्वरूप भारतसँग यही महिना दुई मैत्रीपूर्ण खेल खेलिसकेको छ। भारतविरुद्धको पहिलो खेल २–२ तथा दोस्रो खेल गोलरहित बराबरीमा सकिएको थियो।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमलदाहाल 'प्रचण्ड' फागुन १९ मा दोहा जाने भएका छन्। अतिकमविकसित मुलुकहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड दोहा जान लागेका हुन्। परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको दोहा भ्रमणबारे जानकारी दिएको हो। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री प्रचण्ड फागुन २२ मा फर्किने जानकारी दिइन्। प्रधानमन्त्री भएपछिको यो प्रचण्डको पहिलो विदेश भ्रमण हो।