काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औँ नाडा अटो शोको उद्घाटन गर्नुभएको छ। भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको ब...

काठमाडौं : आसिफ खानको आक्रमक अविजित शतकप्रेरित यूएईले आईसीसी विश्वकप लिग २ को शीर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल छनोटमा पुग्न तीन सय ११ रनको लक्ष्य लक्ष्य दिएको छ।   त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले ६ विकेट गुमाएर तीन सय १० रनको योगफल तयार गर्यो।   यूएईका लागि छैटौं नम्बरमा क्रिजमा उत्रिएका आसिफले ४१ बलमा चार चोका र ११ छक्कासहित आक्रमक शतक बनाएर अविजित रहे। आसिफसँग छैटौं विकेटका लागि एक सय ३५ रनको साझेदारी गरेका वृत्या अरविन्दले एक सय ३८ बलमा आठ चौका र दुई छक्कासहित ९४ रनको इनिङ खेले।   त्यसअघि कप्तान मुहम्मद वासिम ४९ बलमा दुई चौका र ६ छक्कासहित ६३ रनको अर्धशतकीय इनिङ खेलेर पभिलियन फर्केका थिए। त्यसबाहेक यूएईका अन्य ब्याटरले उल्लेख्य संख्यामा रन बनाउन सकेनन्।   नेपालका लागि दीपेन्द्रसिं ऐरीले आठ ओभरमा १९ रन खर्चेर दुई मेडनसहित दुई विकेट लिए। यस्तै, ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकट लिए।   सन्दीपले १० ओभरमा ८०, सोमपाल कामीले ९ ओभरमा ७४ र गुल्शन झाले ६३ रन खर्चेका थिए।   आजको खेलमा जित निकाले नेपालले लिग २ को शीर्ष तीन रहँदै जुनमा जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। नेपालले शीर्ष चारमा रहँदै एकदिवसीय मान्यता जोगाइसकेको छ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका छन्।   उनी आज दिउँसो १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरी नगरपालिका वडा नं. १ दहचोकस्थित निजी निवासमा सरेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले बताए।   उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि उपराष्ट्रपति निजी निवासमा सरेको उनले बताए।   शुक्रबार उपराष्ट्रपतिको निर्वाचन हुँदैछ। 

दमक:  दमकमा नक्कली नोट र लागूऔषध कारोबार गर्दै आएका दाजुभाइलाई प्रहरीले पक्राउ गरेको छ ।    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड–४ मेघाबारीबाट एकै परिवारका दुईलाई नक्कली नेपाली  र विदेशी नोटसहित पक्राउ गरेको छ ।   प्रहरीलाई प्राप्त सूचनाका आधारमा बुधबार साँझ खानतलासी गर्दा नेपाली एक हजार दरका काटिएका ६० थान, नकाटिएका २८ थान, पाँच सय दरका दुई थान र अष्ट्रेलियन एक सय दरका तीन थान नक्कली नोटसहित स्थानीय सुवास ताजपुरिया र १९ वर्षीय  प्रवीण ताजपुरियालाई प्रहरीले पक्राउ गरेको हो । दाजुभाइ मिलेर आफ्नै घरैबाट नक्कली नोटको कारोबार गर्दै आएको र उनीहरुलाई घरबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार प्रतिबन्धित लागूऔषध, सक्कली नेपाली तीन हजार रुपियाँ, मोबाइल चार थान र एकथान मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

हेटौँडा: बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिनुहुने भएको छ ।   उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।   केही हप्ताअघि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन लिने निर्णय गरेको थियो । त्यसपछि वर्तमान सरकार अल्पमतमा परेको थियो ।   गत पुस २६ मा बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो । बागमती प्रदलेश सरकारको वर्तमान मन्त्रिपरिषद्मा माओवादी केन्द्र र एमालेका मात्रै मन्त्री हुनुहुन्छ ।

काठमाडौं: बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।   आज छापावल सुनको मूल्य एक लाख ६ हजार ७ सय रुपैयाँ तोकिएको छ ।   तेजावी सुनको मूल्य एक लाख ६ हजार २ सय रुपैयाँ छ भने चाँदीको मूल्य प्रतितोला १३ सय ५ रुपैयाँ कायम भएको छ ।   बुधबार छापावल सुन एक लाख ५ हजार ७ सय र चाँदी १३ सय रुपैयाँमा खरिद विक्री भएको थियो ।

तनहुँ:  तनहुँमा डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् । यसवर्ष वनमा आगलागीका घटना नभइसकेपनि सचेतना अपनाउन आवश्यक रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले बताए । “आगलागीको मौसम सुरु भइसकेको छ, जिल्लामा अहिलेसम्म आगलागीका घटना नभइसके पनि जोखिम रहेकाले सचेत हुनुपर्छ,” उनले भने । वन डढेलो हामी सबैको साझा चुनौती भएकाले सबै मिलेर यसको सामना गर्नुपर्नेमा उनको भनाइ छ ।    वन डढेलो लागेको देखेमा निभाउने कार्य गरी जिम्मेवारी नागरिकको भूमिका खेल्न वन कार्यालयले आग्रह गरेको छ । वन डढेलोले कम्तीमा दश प्रतिशत तापक्रम बढाउने बताइएको छ । वनमा डढेलो लगाउने कार्य गम्भीर अपराध मानी फौजदारी कसुरमा राखिएको छ । कार्यालयले जिल्लाका आठवटै सव डिभिजनलाई वन डढेलो सचेतना कार्यक्रम सञ्चालन गर्न परिपत्र गरेको छ ।    सप्ताहव्यापी रुपमा वन कार्यालयको कार्यक्षेत्रमा रहेका सामुदायिक वन समूहसँग समन्वय गरी चेतनामूलक कार्यक्रम र सडक किनारमा रहेका सामुदायिक वनको पात पतिङ्गर सरसफाइ गरी नियन्त्रित आगो लगायतका अन्य वन डढेलो नियन्त्रणका कार्यक्रम सञ्चालन गरिनेछ । डढेलो लाग्ने १८ जिल्लामध्ये तनहुँ पनि उच्च जोखिममा पर्दछ । डढेलोको जोखिम कम गर्न कार्यालयले सचेतनामूलक कार्यक्रमलाई पनि सँगसँगै अगाडि बढाएको छ ।   वन डढेलो नियन्त्रण वन कार्यालयले मात्रै गर्न नसक्ने भएकाले सरोकारवालाको पनि यसमा उत्तिकै भूमिका आवश्यक रहेको काफ्लेले बताए । ‘डढेलो नियन्त्रणका लागि उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता महासङ्घ लगायतलाई आग्रह गरेका छौँ’ उनले भने, ‘सर्वसाधारणले घर नजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा सल्किने गरेको छ ।   वनजङ्गलमा डढेलो लगाउनेलाई कानुनी कारबाही हुने भएकाले त्यसबारेमा सर्वसाधारणलाई सचेत गराउन जरुरी रहेका कार्यालय काफ्लेले बताउनुभयो । वन ऐन २०७३ बमोजिम डढेलो लगाउनेलई तीन वर्षसम्म कैद र रु ६० हजारसम्म जरिवाना हुने व्यवस्था छ । जिल्लाको ८२ हजार पाँच सय ४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । जिल्लाका दश  स्थानीय तहमा ६ सय १६ सामुदायिक वन, चार सय ८५ कबुलियती वन, ६ धार्मिक वन रहेका छन् । 

काठमाडौं : नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले चौथो विकेट गुमाएको छ। आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालका दीपेन्द्रसिंह ऐरीले चौथो विकेट लिएका हुन्।    २७ औं ओभरको पहिलो बलमा आर्यन आफजाल खानलाई ३ रनमै दीपेन्द्रसिंह ऐरीले आउट गराएका हुन्। खानलाई ऐरीको बलमा गुल्सन झाले क्याचआउट गरे।   २३ औं ओभरमा ऐरीकै बलमा भीम सार्की र आसिफ शेखले यूएईका अनुभवी ब्याटर तथा पूर्व कप्तान सीपी रिजवानलाई सात रनमा रन आउट गरे। यसअघि अर्धशतक बनाएका यूएईका कप्तान मुहम्मद वासिम अर्धशतक बनाएर पभिलियन फर्केका थिए।   यूएईका त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालका यूएईका लागि ओपनिङमा आएका वासिमले ४३ बलमा दुई चौका र पाँच छक्कासहित ५० रन पूरा गरेका थिए। दोस्रो विकेटका वृत्या अरविन्दसँग लागि ९२ रनको साझेदारी गर्दै वासिम ४९ बलमा ६३ रन जोडेर पेभेलियन फर्के।   नेपालका लागि १७औं ओभर बलिङ गरेका सन्दीप लामिछानेले वासिमलाई एलबीडब्लूको शिकार बनाएका हुन्। यो विकेटसँगै सन्दीप एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको कीर्तिमान नजिक पुगेका छन्।   अब एक विकेट लिए सन्दीपले अफगानिस्ताका रसिद खानको ४४ खेलको कीर्तिमान तोड्ने छन्। सन्दीपको यो ४१औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो।   नेपालका लागि ललित राजवंशीले एक विकेट लिएका छन्। यूएईका लागि यूएईका वृत्या अरविन्द ३७ रन बनाएर खेलिरहेका छन्। आयान खानले पनि क्रिजमा उत्रिएर एक रन जोडेका छन्।   नेपालका लागि ओपनिङ बलिङ गरेका ललित पहिलो ओभरमा विकेट लिन सफल भएका थिएनन्। तर, तेस्रो ओभरमा फेरि फर्किएका ललितले यूएईका ओपनर आर्याना लाक्रालाई ६ रनमा पेभेलियन फर्काएका थिए।   यूएईले २४.५ ओभर सकिँदा तीन विकेट गुमाएर एक सय २५ रन बनाएको छ।   आजको खेलमा जित निकाले नेपालले लिग २ को शीर्ष तीन रहँदै जुनमा जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। नेपालले शीर्ष चारमा रहँदै एकदिवसीय मान्यता जोगाइसकेको छ।

पोखरा: पोखराको लेकसाइडमा रहेको टेम्पल ट्री रिसोर्ट एण्ड स्पाले सञ्चालनको १२ औं वर्ष पुरा गरेको छ । टिपिकल पश्चिमी नेपालको ढाँचा झल्किने डिजाइनमा बनेको रिसोर्ट स्विमीङ पुल, हेल्थ क्लव,  स्पा, सेमिनार हल, रेष्टुरेण्ट, बार तथा सुन्दर बगैंचाले सजिएको छ । विभिन्न अन्र्तराष्ट्रिय सोसल मिडिया तथा साइटहरुले यो रिसोर्टलाई उत्कृष्ट रिसोर्टको सूचीमा राखेको छ । त्यस्तै, बुकिङ डट कमले पनि यो रिसोर्टलाई वर्षेनी उत्कृष्ट स्टार प्रदान गर्दै आएको छ । १३ आंै वर्ष प्रवेशका अवसरमा रिसोर्ट सञ्चालकहरुविच शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । रिसोर्ट सञ्चालन समितिमा बसन्त गौतम अध्यक्ष, चन्दन कायस्थ प्रवन्ध निर्देशक तथा    निर्देशकहरुमा मोनिका ज्यान्तीले, रञ्जन कायस्थ, प्रेम श्रेष्ठ र विमल नहर्की रहनुभएको छ । रिसोर्टमा हाल सय बढी कर्मचारीहरु कार्यरत छन् । यसै अवसरमा रिसोर्टले कर्मचारीहरुमा उत्प्रेरणा जगाउन भेटघाट तथा छलफल एवं समिक्षात्मक कार्यक्रम पनि गरेको छ । 

पोखरा:  कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरामा तेस्रो रेवान कप टेनिस प्रतियोगिता शुरु भएको छ । रेवान पोखराका पूर्वाध्यक्ष गोपीबहादुर भट्टराईले टुर्नामेण्ट डाइरेक्टर शक्ति शर्मालाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन खेलमा माधव भण्डारीले नारायण पहारीलाई ६–७, ६–० र सुपरटाईमा १०–२ ले पराजित गरे । प्रतिस्प्रधात्मक खेलमा पहिलो सेट हारेका भण्डारीले खेलमा कमब्याक गर्र्दै दोश्रो र तेस्रो  सेट आफ्नों पक्षमा परेका हुन् । अर्को खेलमा आयोजक संघका उपाध्यक्ष समेत रहेका नविन चालिसेले अक्क्ष थापालाई ६–२, ६–० को सेटमा पराजित गरे । त्यस्तै अन्य खेलहरुमा कर्ण तामाङले पदम गुरुङ्ग (लेकसाइड) लाई ६–२, ६–१ ले, पदम गुरुङ्ग (नदीपुर) ले बीरेन्द्र लामालाई ६–४, ५–७ र सुपरटाईमा १०–३ ले, विकाश गुरुङ्ग (हङकङ) ले इन्द्र गुरुङ्ग (चाउथे) लाई ६–०, ६–१ ले तथा लक्ष्मण तामाङ्गले अमृत कार्कीलाई ७–६, ६–३ ले पराजित गरे । बुधबारनै भएको खेलमा विनोद कायस्थले के.वि.तामाङलाई ६–२, ६–० ले, अनुज कुमार बाँस्तोलाले दुर्गा सुनारलाई ६–१, ६–० ले विकास गुरुङ्गले शरण गुरुङ्गलाई ६–१, ६–४ ले उज्वल तज्याले सिरोज कोइरालालाई ६–३, ६–१ ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए । यसअघि नवप्रवेशीतर्फको फाइनलमा दुर्गा सुनारले सिरोज कोइरालाई ६–२, ६–२को सेटमा पराजित गर्दै विजेता बनेका थिए । प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङ्गले कास्कीमा टेनिस गतिविधीलाई चलायमान बनाउन तथा नयाँ खेलाडीहरुलाई टेनिस तर्फ आकर्षित गर्न प्रतियोगिता महत्वपूर्ण रहेको बताए । रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले पोखरामा खेल पर्यटन विकासका लागि रेवानले वर्षेनी यो प्रतियोगिता गर्दै आएको जनाए । आगामी ५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा सिंगलतर्फ ३२ र डबल्सतर्फ १६ टिमले भाग लिएका छन् । प्रतियोगितामा विजयी हुने खेलाडीले नगद १० हजार सहित ट्रफि तथा द्वितिय हुने खेलाडीले नगद ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् ।