पोखरा:    गण्डकी प्रदेश सरकारले युवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित सीपमूलक तालिम कार्यक्रम प्रभावकारी रूपमा अघि बढेको छ ।  सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयक...

पोखरा:     पोखरा महानगरपालिका ३१ बेगनासमा स्थित श्री आनन्द ज्योति माध्यमिक बिद्यालयको ५० औं वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न भएको छ । बिद्यालयले एक कार्यक्रमको आयोजना गरि ५० औं वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको हो ।  कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर बढाउन अभिभावकको भुमिका सबैभन्दा महत्वपुर्ण हुने भन्दै हिजोको भन्दा आज केहि सुधार भएको भए पनि अझै आवस्यक सुधार हुन भने नसकेको बताउनुभयो । अभिभावकले आफ्ना बच्चाहरुलाई निजिमा लैजान प्रतिस्पर्धा गर्ने तर सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न प्रयास नगरेको कारण नै सामुदायिक बिद्यालयहरुको गुणस्तर कमजोर बन्दै गएको उहाँको भनाई थियो ।आफैले पढेको बिद्यालयको बार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथी बनेर पुग्नुभएका मुख्यमन्त्री अधिकारीले १८ बर्ष अगाडी बेगनासमा भएको सडक दुर्घटनामा परि गुमेका आफ्ना समकालिन साथीहरुको सम्झनामा गर्दै भाबुक बन्नुभयो भने बाल्यकालमा त्यही बिद्यालयमा भौतिक पुर्वधारको अभावका बिच अध्ययन गरेको स्मरण गर्नुभयो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिर्थराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्थ मन्त्रालयका उपसचिब बसन्तराज तिवारी, शिक्षक अभिभावक संघका अध्यक्ष सन्दिप अधिकारी, नेपाली काङ्ग्रेसका श्रीराम कँडेल, नेकपा एमालेका गणेश बहादुर थापा, राप्रपाका  प्रकासचन्द्र तिवारी, अमरसिद्द माबि पचभैयाका प्रधानध्यापक बिष्णु पौडेल,शिक्षक सत्यराज कँडेल लगायतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन शिक्षक बसन्त पहारीले गर्नु भएको थियो भने प्रध्यानाध्यापक शिबराज अधिकारीले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका गर्नु भएको थियो । सो अवसर १० लाख रुपैयाँको गुरु प्रसाद अक्षयकोष र १ लाख ११ हजार १ सय ११ रुपैयाँको छबिलाल सरास्वती अक्षयकोष स्थापना भएका छन् । इञ्जियर चिरञ्जिबी  तिवारी र रमा तिवारीले बुबा गुरुप्रसाद तिवारीको नाममा १० लाख रुपैयाँको अक्षयकोष र डाक्टर श्रीप्रसाद कँडेल, शिवराज कँडेल, शुक्रराज कँडेल र श्रीराम कँडेलले बुबाआमा छबिलाल÷सरस्वती कँडेलको नाममा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । सोही कार्यक्रममा सागर पौडेलले बुबाआमा राकेश÷बिजया पौडेलको नाममा ५० हजार रुपैयाँ र शिक्षक अभिभावक संघका अध्यक्ष सन्दिप अधिकारीले हजुरआमा दमयन्ती अधिकारीको नाममा १५ हजार रुपैयाँ विद्यालयलाई चन्दा स्वरुप सहयोग गर्नुभएको प्रअ शिबराज अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा १२ सम्मका शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको भने विभिन्न शिर्षकमा स्थापना भएको अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रवृति समेत प्रदान गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । 

स्याङ्जा:   स्याङजाको कोल्मामा फागुनको २६ गते तेश्रो संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता  हुने भएको छ ।  सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी तीव्र पारिएको छ । स्वास्थ्यका लागि दौड, राष्ट्रका लागी दौड भन्ने मुल नाराका साथ कोल्मा क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चका अध्यक्ष सुवेदार मेजर जीत बहादुर गुरुङले जानकारी दिनुभयो ।  स्याङजाको पुतलिबजार नगरपालिका वडा नम्बर ९ को कोल्मा बहाकोट सहित, तनहुको शुक्लागण्डकी र बिरुवा गाँउपालिकालाई समेटेर उक्त क्षेत्रमा रहेको सांस्कृतिक तथा ऐतिहांसिक पक्षहरुलाई उजागर गर्ने उद्देश्यले क्रस कन्ट्री दौडको आयोजना गरिएको बताउदै अध्यक्ष गुरुङले ग्रामीण भेगमा आर्थिक बिकास गर्न सकेको खण्डमा गाँउ बस्ती रित्तिनबाट जोगिन सक्ने बताउनुभयो । दौड संगै स्थानीय कला संस्कृतीको प्रदर्शन र होमस्टे सांझ समेत उक्त कार्यक्रममा समेटिने छ ।   २० किलो मिटर खुल्ला पुरुष र २१ वर्ष मुनिका १० किलोमिटर पुरुष गरी दुई विद्यामा सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागीहरुले कोल्मा बराहचौरदेखी, काहुले, डाँडा स्वारा, नाम्चे, काल्खु, तनहुको शुक्लागण्डकी नगरपालिका ११ बिसाउना, विरुवा गाउपालिकाको खुदी, मड्किना हुदै कोल्मा बराहचौरमा पुग्नुपर्नेछ । प्रतियोगितामा खुल्ला पुरुषतर्फ प्रमथ हुनेले नगद ३५ हजार, मेडल र प्रमाण पत्र, द्धितिय हुनेले नगद २५ हजार, मेडल र प्रमाण पत्र र तृतीय हुनेले नगद २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछनभने २१ बर्ष मुनिका पुरुष १० किलोमिटर दौडतर्फ प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश नगद १५ हजार, १० हजार र ७ हजार, मेडल र प्रमाणपत्र प्राप्तगर्नेछन । प्रतियोगितामा १० औ स्थान सम्म आउने प्रतियोगीहरुलाई मेडल र प्रमाण पत्रले सम्मान गरिने मञ्चका महासचिव मन बहादुर थापा मगरले जानकारी दिनुभयो । अघिल्लो संस्करणको ३१ किलोमिटर खुल्ला पुरुषतर्फ नेपाली सेनाका हवलदार राजन खत्रीले उपाधी चुमेका थिएभने १४ किलोमिटर दौडमा कलम प्रसाद श्रेष्ठले उपाधी चुमेका थिए ।    कार्यक्रममा एनआरएन युके र स्याङ्जा समाज युकेको संयोजन र कोल्मा बहाकोट युकेको प्रमुख प्रायोजकमा सञ्चालन हुने कार्यक्रममा सम्पर्क मञ्च विदेश विभाग प्रमुख क्याप्टेन दोलबहादुर गुरुङले जानकारी दिनुभयो ।    कार्यक्रममा कोल्मा बहाकोट चारथुम बासी, स्थानिय संघ सस्था, युवा क्लब, आमा समुह, स्थानीय सरकार, स्वयंसेवक एवं सुरक्षाकर्मीको विशेष सहयोग रहनेछ । 

काठमाडौं:    गृहमन्त्रालयले बैंक तथा वित्तीय संस्थाविरुद्ध हुने गैरकानूनी गतिविधि रोक्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।  गृहसचिव विनोदप्रकाश सिंहले कतिपय ठाउँमा वित्तीय संस्थाका प्रतिनिधिलाई कालोमोसोसमेत दलेका घटना सार्वजनिक भएकाले यस्ता अवैध गतिविधि रोक्न निर्देशन दिइएको जानकारी दिनुभयो ।   “त्यस्ता गतिविधि हुन नदिन र आवश्यक निगरानी बढाउन निर्देश गरिएको छ”, गृहसचिव सिंहले भन्नुभयो, “गृह प्रशासनको काम शान्ति सुरक्षा कायम गर्नु हो र निर्वाधरूपमा सेवा गर्ने वातावरण दिनु हो, सोहीअनुसारको निर्देशन गएको छ ।”  पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था र लघुवित्त विरुद्ध आन्दोलन जारी छ भने केहीअघि जाजरकोटमा लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलिएको घटना सार्वजनिक भएको थियो ।

पोखरा: अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङमा नवनिर्मित स्तुपा र गुम्बाको विधिवत उद्घाटन हुने भएको छ । फागुन २३ गते स्तुपा र गुम्बा उद्घाटन गरिने भएको हो ।  स्तुपा र गुम्बा निर्माण समितिका अध्यक्ष नजर मान गुरुङका अनुसार फागुन २३ गते गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री पञ्चराम गुरुङको प्रमुख आतिथ्यतामा स्तुपा र गुम्बाको उद्घाटन हुँदै छ । ुहिजोदेखि पूजा सुरु भएको छ । नयाँ घर बनाएपछि शुद्धिकरण पूजा गरेझैं हिजो हामीले स्तुपा र गुम्बाको शुद्धिकरण गर्‍यौ,’ उनले भने, ‘बौद्ध धर्मकी देवी ‘तारादेवी’को पूजा भयो । हिजैदेखि हिमपात ‘हिम’को पाठ पनि सुरु भएको छ यो २१ गतेसम्म चल्छ । २२ गते विधिवत पूजा हुन्छ । पाठ पढिँसकेपछि साँगे गर्न पूजा सकिइसकेपछि गाउँ परिक्रमा गर्छ लामाहरुले ।’ २३ गते औपचारिक उद्घाटन कार्यक्रममा सामाजिक विकास मन्त्री पञ्चराम गुरुङसहित गाउँपालिका अध्यक्ष, वडाध्यक्षसहित पूर्व गाउँपालिका अध्यक्ष र प्रदेश सरकारका सांसदहरुलाई समेत निमन्त्रणा गरिएको उनले सुनाए ।  ‘विजय स्तुपा’ र ‘पाल ङाघ्युर नमध्यल छ्योईलीङ गुम्बा’का लामा गुरु ख्येन्छेन साङध्ये राङज्युङ रिन्पोछेंले गर्नेछन् ।

 पोखरा:   पोखराका फोटोपत्रकार सुुरेश कुमार श्रेष्ठ (सुुरज श्रेष्ठ) अन्तर्राष्ट्रिय फोटो पत्रकारिता पुुरस्कारबाट पुरस्कृत भएका छन् ।  अमेरिकाबाट संचालित नेपाली  पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल “इञ्जा” द्वारा काठमाडौंमा आयोजित इञ्जा फोटो पत्रकारिता पुरस्कारबाट श्रेष्ठलाई पुरस्कृत गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सम्मान पत्र, ५० हजार राशि सहित उनलाई पुरस्कृत गरेका हुन् ।  पोखरालाई कार्यक्षेत्र बनाएर फोटो पत्रकारितालाई निरन्तरता दिँदै आएका श्रेष्ठलाई फोटोपत्रकरिता मार्फत समाजमा खेलेको भूमिका प्रशंसनिय रहेको भन्दै पुरस्कृत गरिएको हो ।  पुरस्कार ग्रहण गर्दै श्रेष्ठले पत्रकारिता क्षेत्रमा लागिरहन आफुलाई प्रेरित गरेको अभिव्यक्ति दिए । उनले अन्तर्राष्ट्रिय स्तरको पुरस्कार पाउनु आफ्ना लागि पनि राम्रो अवसर भएको उल्लेख गरे । ‘पुरस्कारले मलाई फोटो पत्रकारिता क्षेत्रमा लागिरहन प्रेरित गरेको छ । काम गर्दै जाँदा सफलता मिल्ने रहेछ भन्ने विश्वास बढ्दै गएको छ । इञ्जा फोटो पत्रकारिता पुरस्कारका लागि मलाई छनोट गर्नुहुने जुरी टीमलाई धन्यवाद व्यक्त गर्दछु ।’, उनले भने ।  अन्तर्राष्ट्रिय स्तरको फोटो पत्रकारिता पुरस्कारका लागि पहिलो पटक नै पोखरालाई रोज्नु आफ्नो र समग्र पोखराका लागि नै राम्रो अवसर भएको उनको भनाई थियो । उनले पोखरा र आसपासका क्षेत्रलाई फोटोपत्रकारिता मार्फत प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन सँगै सामाजिक रुपान्तरणमा लागिरहने प्रतिबद्धता व्यक्त गरे ।  कार्यक्रममा बोल्दै सभामुख देवराज घिमिरेले देश र जनताका हितमा खोजी र अनुसन्धानलाई आधार बनाएर पत्रकारिता गर्न सुझाव दिएका छन् । व्यवस्था परिवर्तन भएसँगै पत्रकारिता क्षेत्रको भूमिका र जिम्मेवारी पनि फेरिएको भनाई उनको छ । संसद र सरकारलाई प्रभावकारी तुल्याउन पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण भएको उनले बताए ।  कार्यक्रममा इञ्जा बौद्धिक पत्रकारिता पुरस्कार त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक जगत नेपाल र दैनिकी डटकम अनलाइनका सम्पादक माधव तिवारी तथा इञ्जा खोजी पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका मात्रिका दाहाल र आइएनएस डटकम अनलाइनका तारा वाग्लेलाई प्रदान गरिएको थियो ।  इञ्जा ग्रामीण पत्रिकारिता पुरस्कार रेडियो समग्र एफएम १०७ मेघाहर्ज लाहान र युवा पत्रकार सरिता चलाउनेलाई तथा इञ्जा फोटो पत्रकारिताबाट सुरज सँगै नरेन्द्र श्रेष्ठलाई प्रदान गरिएको थियो । ती सबै पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ सहित सम्मानपत्र रहेको थियो ।  कार्यक्रममा वरिष्ठ पत्रकार रघु मैनाली, सम्पादक समाजका संरक्षक किरण वैद्य, वरिष्ठ पत्रकार कुमार यात्रु र जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्मालाई इञ्जा अग्रज पत्रकारिता सम्मान अर्पण गरिएको थियो । यसै गरी समाजसेवामा योगदान पुर्याए बापत शङकर भट्टराई, महिला हक अधिकारका क्षेत्रमा क्रियाशिल विजया शाह र युवा व्यवसायी प्रदीप गुरुङलाई समेत विशेष सम्मान प्रदान गरिएको थियो ।  सो अवसरमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले इञ्जाले पत्रकारिताका सबै महत्वपूर्ण विधालाई समेट्दै पत्रकारिताको हित र कल्याणका लागि गरेको योगदान प्रशंसनीय रहेको बताए । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नेपाली प्रेसले भोगेका समस्या सम्बोधन गर्ने विषयमा सरकार र सदनको ध्यान पुग्नुपर्ने अभिव्यक्ति दिए ।  न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष विष्णु सापकोटा र समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठ र सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले पत्रकारिता क्षेत्रमा अवसर प्रदान गरिँदासमेत राजनीतिका छायाँ झल्कने भइरहेकोे अवस्थामा इञ्जा भने त्यसबाट मुक्त देखिएको उल्लेख गरे ।  इञ्जाका ग्लोबल अध्यक्ष गुणराज लुइँटेल, एसिया अध्यक्ष टङ्क पन्तलगायतले नेपाली पत्रकारिता क्षेत्रको श्रीवृद्धि र पत्रकारको उन्नयनका लागि विभिन्न फेलोसिप, पुरस्कार र सहयोग गर्दैैआएको जानकारी दिए ।  सुरज श्रेष्ठका बारेमा:  पोखरालाई आफ्नो कार्यक्षेत्र बनाएर फोटो पत्रकारितालाई निरन्तरता दिँदै आएका श्रेष्ठ २०६२ सालबाट पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । पोखरा सिटीडकम र ठीकठाक डटकमबाट फोटो पत्रकारिता शुुरु गरेका श्रेष्ठले कान्तिपुर, कान्तिपुर साप्ताहिक, नागरिक म्याग्जिनमा फोटो पत्रकारको रुपमा काम गरे ।  श्रेष्ठले खिचेका फोटो पोखराबाट संचालित पत्रिकाहरुमा पनि प्रकाशित भएका छन् । हाल श्रेष्ठको आफ्नै मिडिया एस टु प्रोडक्सन, ह्याप्पी पोखरा डटकम संचालनमा छ । २०७० सालमा आफ्नै प्रोडक्सन हाउस एस टु प्रोडक्सन संचालनमा ल्याई थुप्रै म्युजिक भिडियो, विज्ञापन,डकुुमेन्ट्री र प्रोमो निर्माण गर्दै आएका छन् ।  फोटो पत्रकारिता सँगै उनको अर्को परिचय भनेको गायन हो । २०५८ सालमा गायक बन्छु भनेर हिँडेका श्रेष्ठले ‘अन्जान मायालुु’ गीति एल्बम निकाले । उक्त एल्बमको ‘सम्झना छ छोडी जानेलाई, माया छ बिर्सी जानेलाई’ बोलको गीतले प्रसिद्धि कमायो । जुन गीत अहिले पनि उत्तिकै रुचाइन्छ ।  श्रेष्ठले नेपालको चर्चित ¥यालिटी शो हिमालयन रोडीजमा सिनेमेटोग्राफीको काम समेत गरेका छन् । सगरमाथा क्याम्पमा आयोजना गरिएको वल्र्ड भ्लग च्यालेन्जमा पनि उनले सिनेमेटोग्राफीको काम गरिसकेका छन् । अनुभवले खारिएका श्रेष्ठले राष्ट्रिय फोटो पत्रकार संघले २०७० सालमा आयोजना गरेको राष्ट्रिय स्तरको ‘नेपाल फोटो कन्टेस्ट’ बाट समेत सम्मान प्राप्त गरेका छन् । उक्त कार्यक्रममा उनले खिचेको फोटो उत्कृष्ट भएको थियो । नेपालका तत्कालिन उपराष्ट्रपति बाट उनले सम्मान र पुरस्कार पाएका थिए ।  २०७५ सालमा पोखरामा ट्रेनर नेपालले आयोजना गरेको फेशन अवार्ड नेपालमा श्रेष्ठले बेष्ट फेशन फोटोग्राफरको अवार्ड हात पारे । पोखरामा भएका सौन्दर्य प्रतियोगिताहरुमा निणार्यकको भुमिका समेत उनले निर्वाह गर्दै आएका छन् । सुरजको सक्रियता समाजसेवामा पनि देखिन्छ । श्रेष्ठ नेपाल पत्रकार महासंघ कास्की र चलचित्र पत्रकार संघ कास्कीमा पनि आबद्ध छन् । नेपाल फोटो पत्रकार संघ कास्कीको कोषाध्यक्षको जिम्मेबारी सम्हालेका श्रेष्ठको दैनिकी भनेकै फोटोग्राफी हो । 

काठमाडौं:  राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ। संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र राज्यको माथिल्लो निकायमा रहेका प्रमुखले भ्रष्टाचारीलाई कारबाही गर्नेगरी सहमति गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो।    भ्रष्टाचारविरुद्ध सांसदको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले २०४६ सालयताका भ्रष्टाचारलाई छानबिन गरेर कारबाही गर्न दल तयार हुनुपर्ने बताउनुभएको हो।    अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलले मुलुकमा सुशासन ल्याउन राष्ट्रिय सहमति नै गरेर अघि बढ्नुपर्ने बताउनुभयो। भ्रष्टलाई जेलमा पठाउनका लागि पनि राजनीतिक नेतृत्व प्रतिबद्ध हुन नसकेको खण्डमा मुलुकमा भ्रष्टाचार नियन्त्रण हुने उहाँको भनाइ छ।    अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘‘भ्रष्टाचारलाई निमिट्यान्न पार्नका लागि एउटा राष्ट्रिय सहमति आवश्यक छ। संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख, पदाधिकारी, राज्यको माथिल्लो निकायमा रहने प्रमुख तथा पदाधिकारीबीच एउटा राष्ट्रिय सहमति गरौं।’’    उहाँले त्यो सहमतिमा भ्रष्टाचार नियन्त्रण गर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने बताउनुभयो। उहाँले  विमान खरिददेखि जग्गासम्मका भ्रष्टाचारलाई स्वतन्त्र ढंगले छानबिन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सुशासनका लागि सहमति आवश्यक भएकोमा जोड दिनुभएको हो।    अध्यक्ष तिमिल्सिनाले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकायलाई सशक्त बनाउनुपर्नेमा जाेड दिनुभयो।  

काठमाडौं:  नेकपा (एमाले)का तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बन्नुभएका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको छ । राज्य प्रमुखमा आफ्नो उम्मेदवारीका सन्दर्भमा पूर्वसभामुखले आफू निर्वाचित भएमा सडकमा निस्कदा जनताले जाम भोग्नु नपर्ने र उडानमा रहँदा आकाश अवरुद्ध नहुने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “अघिल्ला अप्ठ्यारालाई अनुभवका रूपमा ग्रहण गर्दै जनभावना बुझेर साँच्चिकै जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ ।”   संविधानसभाका अध्यक्ष नेम्वाङले अर्को प्रसङ्गमा विगतमा सभामुख र संविधानसभाको जिम्मेवारीमा रहँदै पटक–पटक निष्पक्ष र तटस्थताको परीक्षा उत्तीर्ण भइरहेको जिकिर गर्दै राष्ट्राध्यक्षको पद र गरिमाप्रति पनि आफू सचेत रहेको स्पष्ट गर्नुभयो । प्रस्तुत छ मुलुकको संसदीय अभ्यास र प्रक्रियामा अनुभवी र परिपक्व राजनीतिकर्मीको छवि बनाउनुभएका एमाले नेता नेम्वाङसँग राष्ट्रिय समाचार समिति (रासस)का उपप्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने र भीष्मराज ओझाले मुलुकको सर्वोच्च राजकीय पदको निर्वाचन, उम्मेदवारी र राष्ट्राध्यक्षको भूमिकालगायत विषयमा लिएको अन्तर्वार्ताको सम्पादित अंश :     आगामी नयाँ राष्ट्रपतिको उम्मेदवार भइरहँदा मतदातासमक्ष यहाँ के–कस्ता कार्यसूची लिएर जाँदै हुनुहुन्छ ?   मुलुकको संसदीय प्रक्रिया, आन्दोलन र लोकतान्त्रिक अभ्यासमा मैले जसरी काम गरेँ, जे भूमिका रह्यो, जनता र देशसमक्ष प्रस्ट छ । मनमोहन अधिकारी नेतृत्वको सरकारमा कानुन तथा संसदीय व्यवस्थामन्त्री, प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको सभापतिदेखि विसं २०६२/६३ को आन्दोलनपछि सर्वसम्मतिले  सभामुख र संविधानसभाका अध्यक्ष चयन भई निर्वाह गरेको भूमिका अवगत नै छ । मैले सबै राजनीतिक दलको विश्वास जितेर त्यस ठाउँमा पुगेर निर्वाह गरेको भूमिकाले एक प्रकारले म परीक्षणमा समेत सफल भएको अतीत छ । यी सबै सन्दर्भलाई सामुन्नेमा राखेर मैले राष्ट्रपतिमा उम्मेदवारी दिएको छु । मेरो पार्टीले यसपटक मलाई राष्ट्रपतिको उम्मेदवारमा अघि सारेको छ । म सबै दल र सांसदसँग पुगेको छु । उहाँहरूसँगको भेटघाटबाट म अत्यन्त उत्साहित छु ।   एमालेभित्र अरू धेरै वरिष्ठ नेताहरू पनि हुनुहुन्छ, तर तपाईंलाई नै किन यस पदका लागि सर्वसम्मत छानियो  होला ?   राष्ट्रपति भनेको देशको राष्ट्राध्यक्ष र अभिभावक हो । यो संस्था मेची–महाकाली, तराईदेखि हिमालसम्म सबै जाति, भाषा, संस्कृतिका जनताको साझा अभिभावक हो । उसले राष्ट्रिय एकताको संवद्र्धन तथा संविधानको संरक्षण र पालना गर्नुपर्छ । मेरो अध्यक्षतामा ३१ राजनीतिक दलको विश्वास जितेर संविधान निर्माण गरेको इतिहास छ । यस  अवस्थामा सबैभन्दा उपयुक्त पात्र म नै हुन्छ भनी ठानेर होला अध्यक्षको प्रस्तावलाई छलफल गरी पार्टीले सर्वसम्मतिले पारित गर्‍यो । त्यसपछि देश, जनता र सांसदबीचमा जुन माहोल देखियो । त्यसबाट मेरो मनोबल एकदम बढेको छ ।   राष्ट्रपति आलङ्कारिक पद हो, यहाँ एमालेको सक्रिय नेता र उपाध्यक्ष हुनुहुन्छ, पदको गरिमा जोगाउन कसरी सन्तुलन कायम गर्नुहुन्छ ?   त्यो मेरा लागि यो अप्ठेरो कुरा छैन । सभामुख र संविधानसभाका अध्यक्ष हुँदा नै म यस्तो परीक्षामा उत्तीर्ण भइसकेको व्यक्ति हुँ । त्यतिबेला अन्य दलहरूले मलाई अर्को दलको भनी कहिल्यै प्रश्न उठाएनन् । बरु मेरै दलभित्र अलि–अलि उठाइयो होला तर आफूले गरेको काम ठीक रहेछ भनेर म निरन्तर लागेँ । त्यसैले दाबीका साथ भनिरहेको छु “म अलरेडी टेस्टेड व्यक्ति हुँ ।” मेरो अध्यक्षतामा रहेको संविधानसभाबाट संविधान जारी भयो, मीठो संयोग भन्नुस्, संविधानको संरक्षण र पालना गर्ने जिम्मेवारीमा रहेको राष्ट्रपति पदमा नै म अहिले उम्मेदवार छु । मेरो उम्मेदवारी उपयुक्त छ, त्यही ठानेर अघि बढाइएको हो भन्ने बुझाइ र विश्वास छ ।   पछिल्लोपटक राष्ट्रपतिमा दलको आकर्षण बढेको देखिन्छ, यसलाई यहाँले कसरी नियाल्नुभएको छ ?   राष्ट्रपति पदमा पहिलेदेखि नै आकर्षण हो । यसलाई सबैले सम्मानका रूपमा लिएका छन् । अहिलेसम्म दुई जना राष्ट्रपति भइसक्नुभएको छ । उहाँहरूको अनुभवलाई ध्यानमा राखी आउने दिनमा काम गर्नुपर्छ । राष्ट्राध्यक्ष आलङ्कारिक हुँदाहुँदै पनि उसले सिङ्गो देशलाई एकताबद्ध बनाई संविधानको संरक्षण र पालना गर्न महत्वपूर्ण भूमिका खेल्छ, यसको महत्व स्वयंमा प्रस्ट छ ।   आफ्नो परीक्षण विगतमा भइसकेको छ त भन्नुभयो, निर्वाचन हो, प्रतिस्पर्धामा हुनुहुन्छ, चुनाव जित्ने आधार के छ त ?   सर्वप्रथम त उम्मेदवारी घोषणा भइसकेपछि दलहरूको प्रतिक्रियालाई पनि हेरौँ । जनताको पनि सकारात्मक प्रतिक्रिया छ, यसबीचमा म आफैँ ठाउँ–ठाउँमा पुगेको छु । दोस्रो, राष्ट्रपति भनेको सिङ्गो देशको राष्ट्रिय एकताको संवद्र्धन गर्ने पद हो । सबै धर्मावलम्बी, जाति र भाषाका जनताको एकताको प्रतीकका रूपमा यसलाई लिइन्छ । मेरो क्रियाशीलताको लामो जीवनमा यस सन्दर्भमा कहिले पनि अन्यथा व्यवहार र टिप्पणी गरेको छैन । मैले संविधानसभा निर्वाचनमा आफ्नो चिह्नमा नभई संविधानसभाका पक्षमा मात्र मत मागेँ । त्यतिबेला आममतदाताले मलाई यो कस्तोखाले निर्वाचन भनी जिज्ञासा राख्दै प्रशंसा गर्नुभयो । मेरो अध्यक्षताको संविधानसभाले ‘जनताले जनताका लागि पहिलोपटक संविधान’ भन्ने मान्यताका साथ निर्माण गरी जारी ग¥यो । यो संविधानको संरक्षक र पालना गर्न मेरो उम्मेदवारी उपयुक्त छ, यही आधारमा मलाई विजय प्राप्त हुन्छ भन्ने विश्वास छ ।   विगतमा शीतलनिवास र सरकारबीच यदाकदा केही महत्वपूर्ण विषयमा पनि मतैक्यता नभएका घटना बाहिर आएको देखियो, त्यसलाई यहाँले कसरी लिनुहन्छ ?   यसअघिका दुवै राष्ट्रपतिको राम्रो अनुभव छ । उहाँहरूले सामना गरेको चुनौती र अनुभव हाम्रा पनि हुन् । चुनौती सहजतापूर्वक सामना गर्न सक्छौँ भन्ने मेरो विश्वास छ । संविधान जारी गर्दा मैले भनेको थिएँ, “हामीले राम्रो संविधान बनायौँ, कार्यान्वयन पनि राम्रोसँग गर्छौँ, मलाई दल र दलका साथीमाथि विश्वास छ, तर जतिसुकै राम्रो संविधान लेखिए पनि बुद्धि, विवेक र क्षमता भने दिँदैन, त्यो हामीले नै देखाउनुपर्छ ।” कहिलेकाहीँ त्यस्तो क्षमता नपुगेर देखापरेका चुनौतीलाई अनुभवका आधारमा सम्बोधन गर्नुपर्छ । त्यसो भएमा समस्या आउँदैनन् ।   आगामी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने अवसर मिल्यो भने विगतभन्दा फरक अनुभूति र सन्देश जनताले के प्राप्त गर्लान् ?   अहिलेसम्म भएका दुईवटै राष्ट्रपतिले मेहनतका साथ काम गरिसक्नुभएको छ । यसअघि निश्चित कुलमा जन्मिएको जेठो छोरालाई राजाका रूपमा अभिभावक स्वीकारेका थियौँ । त्यो शासन प्रणाली परिवर्तनपछि जुनसुकै कुलमा जन्मिएको छोरा वा छोरी राष्ट्रपति उम्मेदवार हुने व्यवस्था अपनाएका छौं  । अघिल्ला अप्ठ्यारालाई अनुभवका रूपमा ग्रहण गर्दै जनताको भावना बुझेर साँच्चिकै तिनको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ ।   नेपाल संवेदनशील भू–राजनीतिक अवस्थामा छ, दुवै छिमेकी र वैदेशिक सम्बन्धलाई ठीक ढङ्गबाट अघि लैजान राष्ट्रपतिको के–कस्तो भूमिका हुनसक्छ ?   राष्ट्रपतिले सबै काम संविधान र कानुनबमोजिम गर्छ । संविधानमा प्रस्ट लेखिएको छ– निश्चित निकाय वा संस्थाले सिफारिस गरेबमोजिम गर्ने भनेकामा त्यहीबमोजिम गर्ने, नभनेकामा मन्त्रिपरिषद्को परामर्शमा राष्ट्रपतिले गर्ने र त्यस्तो सिफारिस प्रधानमन्त्रीले गर्ने । वैदेशिक सम्बन्धलगायत कतिपय विषय राष्ट्रपतिलाई जानकारी गराइने वा राष्ट्रपतिबाट जानकारी माग्ने भन्ने कुराभित्र पर्छ । संविधान र कानुनबमोजिम चल्दै देशको अभिभावक, संविधानको संरक्षक र  एकताको प्रतीकका रूपमा काम गरेर राष्ट्रपतिले सरकार र देशलाई सहयोग गर्न सक्ने ठाउँ छ । त्यसअनुसार म क्रियाशील बन्नेछु ।   अन्त्यमा, निर्वाचनमा विजयी भएमा राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनतालाई शीतलनिवासबाट कस्तो शीतलता दिनु हुनेछ ?   उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ, तिनले आफ्नो अभिभावक आफूबीचमा आएको अनुभूति गर्नुपर्छ । हाम्रो कुरा उहाँमार्फत सरकारसमक्ष पुग्छ भन्ने हुुनुपर्छ । यी सबै कुरा जनताको राष्ट्रपतिले गर्न सक्छ भन्ने मलाई विश्वास छ । त्यही गर्ने प्रयास मेरातर्फबाट हुनेछ । 

काठमाडौँ: थोलेदेम्वा अल्ट्रा ट्रेल रेस (४२ किलोमिटर) को उपाधि पुरुष तर्फ सोलुखुम्बुका धावक सुमन कुलुङ र महिला तर्फ जुम्लाकी सानुमाया बुढाले हात पारेको छ । बिहीबार सम्पन्न दौडमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ५८ जना धावकलाई पछि पार्दै उपाधि हात पारेको हो ।    पर्यटकीय क्षेत्र पिके डाँडा क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना हुने म्याराथनमा केन्या र इङल्याण्डका खेलाडीले समेत दौडमा सहभागिता जनाएको थियो ।    प्रतियोगितामा पुरुष तर्फ भोजपुरका तीर्थ तामाङ द्धितिय हुनु भएको थियो भने सोलुखुम्बुकै अर्जुन कुलुङ तृतीय हुनु भएको थियो । यता महिला तर्फ भने जुम्लाकै मञ्जु रावत द्धितिय र खोटाङकी प्रिया राई तृतीय हुनु भएको थियो ।    प्रतियोगितामा स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने लक्ष्यले स्थानीय विजेताका लागि समेत पुरस्कारको व्यवस्था गरिएको थियो उक्त प्रतियोगितामा पुरुष तर्फ त्रृति राई प्रथम, रवीन्द्र तामाङ द्धितिय र देवराज तामाङ तृतीय हुनु भएको थियो भने महिला तर्फ पदमकुमारी सुनुवार प्रथम, खिनुमाया भुजेल द्धितिय र अनिता सुनुवार तृतीय हुनु भएको थियो ।    ओखलढुङ्गा पर्यटन विकास समितिले आयोजना गरेको उक्त प्रतियोगितामा खिजीदेम्वा गाउँपालिका ओखलढुङ्गा र नेपाल पर्यटन बोर्डले प्रायोजन गरेको थियो । पर्यटन गन्तव्यको प्रवर्द्धनसँगै साहसिक खेलबाट पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने लक्ष्यसँगै खेलाडी उत्पादन गर्न प्रतियोगिता वार्षिक रूपमा आयोजना गर्दै आएको स्थानीय एवं नेपाल पर्यटन बोर्डका सदस्य ङवाङङिमा शेर्पाले जानकारी दिनुभयो । अल्ट्रा रेस पाँच हजार मिटरको उचाइ सम्म रहेको थियो । विजेता खेलाडीहरूलाई ७० हजार, ५५ हजार र ४५ हजार नगद सहित मोडेल, प्रमाणपत्रले सम्मानित गरिएको शेर्पाले जानकारी दिनुभयो ।     

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय युवा परिषद् आठौँ वर्षमा प्रवेश गरेका अवसरमा आज (शुक्रबार) शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले युवा आत्मनिर्भर र स्वावलम्बी भएमा आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्नुभयो ।    राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तनको संवाहक मानिने युवाको शक्तिलाई सकारात्मक रुपमा परिचालन गर्न परिषद्ले युवा केन्द्रित नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक रहेको उहाँले बताउनुभयो ।    प्रधामन्त्री प्रचण्डले भन्नुभएको छ, “परिषद्ले सरकारका विभिन्न निकायलाई आवश्यक नीति तथा कार्यक्रमको नमुना विकास गरी हस्तान्तरण गर्दै आएको छ ।” उहाँले शुभकामना सन्देशमा  सीमित बजेट र स्रोतसाधनका बाबजुद स्थापना भएको परिषद्ले छोटो अवधिमा युवाको जागरण, सशक्तीकरण र नेतृत्व विकासका क्षेत्रमा सकारात्मक अगुवाइ गरिरहेको उल्लेख गर्नुभयो ।   प्रधानमन्त्री प्रचण्डले युवाको बृहत्तर विकासका लागि परिषद्ले गरिरहेको सकारात्मक पहलको उच्च प्रशंसा गर्नुभएको छ । “परिषद् सबै युवाको अभिभावकीय सरकारी संस्थाका युवाको बृहत्तर हित र राष्ट्र निर्माणको कार्यभारमा अझ प्रभावकारिताका साथ अगाडि बढ्नेछ”, उहाँले शुभाकामना सन्देशमा भन्नुभएको छ ।   यसैगरी, परिषद्का अध्यक्ष सुरेन्द्र बस्नेतले समृद्ध राष्ट्र निर्माणको मेरुदण्डका रुपमा रहेका लागि युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो ।   उहाँले शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग, सीपलाई उत्पादन, रोजगारी र उद्यमशीलतासँगै जोड्दै युवाशक्तिलाई विकास र समृद्धिको अभिन्न अङ्ग बनाएर समाजवादोन्मुख राज्य प्रणाली निर्माण गर्नु आवश्यक छ भन्नुभयो । युवाको हकहित, युवा नेतृत्वको विकास गर्नका लागि सरकारले २०७२ फागुन १९ गते परिषद् स्थापना गरेको हो । अहिले परिषद्को प्रदेश, जिल्ला र स्थानीय तहमा संरचना  छ ।