काठमाडौँ: माओवादी धारका नेताहरूको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । माओवादी (केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहित नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका खड्गबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति), नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्ण जित बुढाथोकी लगायत सहभागी हुनुहुन्छ । भेलाले समसामयिक राजनीतिक घटना क्रम बारे छलफल गर्ने बुझिएको छ ।
काठमाडौं: फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ । सोमबार हिमाली एवं पहाडी जिल्ला सो पर्व मनाइएको थियो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ ।
स्याङ्जा: स्याङ्जाको हरीनास गाउँपालिका स्याड्जामा महिला शसक्तिकरण तथा क्षमता विकासका लागि उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन भएको छ । हरीनास गाउँपालिका स्याङजाद्घारा महिला जनप्रतिनीधिहरुको क्षमता अभिवृद्धिका लागि आयोजित तालिमको समापनमा बोल्दै प्रमुख अतिथी हरीनास गाउँपालिकाका अध्यक्ष खीम नारायण मानन्धरले समाज रुपान्तरणमा महिलाहरुको भूमिका उल्लेखनीय हुने बताए । बोल्ने कलाको विकासले महिलाहरु अगाडी बढन निकै सहयोगी हुदा सफल नेतृ बन्न यो तालिम सहयोगी हुने उनले विश्वास व्यक्त गरे । त्यस्तै पुर्व वडाध्यक्ष तथा स्वकीय सचिव पर्शुराम सिग्देलेले छोटो समयको तालिमले महिलाहरुमा आएको परीवर्तन देख्दा खुशी लागेको बताए । कार्यक्रममा प्रशिक्षक तथा सञ्चारकर्मी गोविन्द थापा सिञ्जाली ,वडा सदस्य गुन्जन मानन्धर लगायतकाले मन्तव्य राखेका थिए भने तालिममा सहभागीहरुले समापन कार्यक्रमको सञ्चालन र सिकाईका अनुभवहरु बाँडेका थिए । करिव १८ जना सहभागी तालिमको समापन कार्यक्रम गाउँपालिकाकी उपाध्यक्ष इन्दा्र कुमारी थापा रानाको अध्यक्षतामा सम्पन्न भएको थियो भने तालिमको संयोजन महिला तथा वालवालिका शाखा संयोजक शुकु माया थापाले गरेकी थिइन ।
पोखरा: पोखरा स्थित रेडियो अन्नपूर्णले आउँदो चैत १८ गते बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । रेडियोले सामाजिक उत्तरदायित्व अन्र्तगत यसबर्ष पनि चैतको तेश्रो शनिबार २१ औं बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको रेडियोका स्टेशन म्यानेजर संजयकुमार मल्लले जानकारी दिए । रक्तदान कार्यक्रमलाई सफल बनाउन विभिन्न समितिहरु समेत गठन गरिएको छ । आइतबार बसेको बैठकले कृष्ण सुवेदीलाई संयोजक र सबिन रेग्मीलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ । नारायण क्षेत्रीलाई प्रचारप्रसार संयोजकको जिम्मेवारी दिइएको छ । बजार ब्यबस्थापकको उपसमितिमा नारायाण पौडेल, आर्थिक ब्यबस्थापन संयोजकमा अगन्धर सुबेदीलाई तोकिएको छ । प्रमाणपत्र वितरण तथा रेकर्डमा राजाराम पौडेल, संघ संस्था परिचालनमा आरजु बिष्ट सल्यानी, स्वागत तथा स्वयमसेवक ब्यबस्थापनमा शोभा नेपाल, प्रत्यक्ष प्रशारणमा कञ्चन थापा, युवा परिचालन उपसमितिमा कबिता श्रेष्ठ र प्राविधिकमा नारायण कुइकेललाई जिम्मेवारी दिइएको स्टेशन म्यानेजार मल्लले बताए ।
तनहुँ: गाडी फसेर अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको जामुने खैरेनी खण्ड एकतर्फी सञ्चालनमा आएको छ । म्याग्दे गाउँपालिका–४ स्थित थर्पु घुम्तीमा सडकमा गाडी फसेर अवरुद्ध रहेको उक्त खण्ड आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो । आइतबार राति परेको वर्षाका कारण बाटो हिलाम्य हुँदा सडकमै गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थियो । बिहानदेखि एकतर्फीरुपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो । सडक दुईतर्फी सञ्चालनका लागि काम भइरहेको उहाँको भनाइ छ । पृथ्वी राजमार्ग विस्तारका लागि काम भइरहँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्याले सर्वसाधारणलाई सास्ती भइरहेको छ ।
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली) को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । “नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा होलीमा खेलिने रङहरू जस्तै विविधतापूर्ण छ, यो विविधता हाम्रो पहिचान र शक्ति दुवै हो”, शुभकामना सन्देशमा भनिएको छ, “तसर्थ, फागुपूर्णिमा जस्ता पर्वहरूले सम्पूर्ण नेपालीको बीचमा आपसी प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास मैले लिएको छु ।” असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा रहेको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा फागुपूर्णिमा ९होली० पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हर्षोल्लासका साथ हिमाल–पहाड र तराईमा फरक फरक दिनमा मनाइने होली पर्व (फागुन पूर्णिमा)का अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले आज जारी गर्नुभएको शुभकामना सन्देशमा होली पर्व २०७९ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । शुभकामना सन्देशमा भनिएको छ, “नेपालका सबै भूभाग, सबै जाति, सबै समुदायका बीच उत्तिकै लोकप्रिय र साझा संस्कृतिका रूपमा स्थापित होली पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकताबद्ध हुन थप प्रेरित गर्नेछ भन्ने विश्वाससहित समस्त नेपालीमा फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु ।” देशभित्र प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक परम्परा र पर्वहरू छन् । यस्ता मौलिक परम्परा, संस्कृति र पर्वहरूले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशिला खडा गर्नाका साथै राष्ट्रिय एकता र स्वाधीनताको प्रतिनिधित्व गर्ने सन्देशमा उल्लेख छ । विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संवर्द्धन गर्नसमेत अभिप्रेरित गर्ने सन्देशमा छ ।
काठमाडौं: फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । केही वर्षअघिसम्म उपत्यकामा उत्ताउलोरूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिएन । विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिकरूपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वको अघिल्लो दिन पनि सहजरूपमा हिँड्डुल गर्न सकेको कीर्तिपुरबाट पुतलीसडकमा निजी क्षेत्रमा काम गर्न आउनुभएकी मनिता महर्जनले बताउनुभयो । यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रूखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको १० पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ । त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली ९फागु० खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । यसैगरी, द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्त्व पनि छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । यस वर्ष पनि तराईमा मङ्गलबार होली मनाइँदै छ । यस पर्वको उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सी जस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउने जस्ता विकृति पनि कम हुँदै गएको छ । यस दिन विशेष गरेर भाङ मिसाइएका खानेकुरा खाई विविध रङबाट रङ्गिएर बाजागाजाका साथ नाचगान गर्दै महिला तथा पुरुषका समूह आफ्नो क्षेत्रमा बिहानदेखि साँझसम्म घुम्दै रमाइलो गर्छन् । यो चाडमा थकालीहरू रङ्गीबिरङ्गी पोसाकमा सजिएर स–परिवार भेला भई तिर हान्ने प्रतियोगिता गर्छन् । सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो गरिन्छ । फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ । इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एक आपसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ । अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिसहरू विभिन्न प्रकारका हास्यात्मक वेशभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ । यसैगरी, श्रीलङ्का र इन्डोनेसियाको जाभामा आगोको पूजा गरेर, म्यान्मा र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुहरूलाई दान दिएर, जापान र इन्डोनेसियाको सुमात्रामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ । फरक फरक नाममा मनाइए पनि फागु खेल्ने परम्परा धेरै देशमा भएको पाइन्छ । सबैतिर आपसी सद्भाव एवं सामाजिक एकतालाई प्रवर्द्धन गर्ने मूल उद्देश्यले यो पर्व मनाउने गरिन्छ ।
पोखरा: पोखरा महानगरपालिका ५ मालेपाटन स्थित एक विद्यालयमा अध्ययनरत एक छात्रालाई सार्वजनिक स्थलमा दुर्व्यव्यवहार गर्न खोज्ने एक सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मालेपाटन स्थित एक विद्यालयमा अध्ययनरत छात्रालाई सवारी चालकले दुर्व्यव्यवहार गर्न खोजेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको बैदाम प्रहरीले पुष्टि गरेको छ । छात्राले आफुलाई चालकले दुर्व्यव्यवहार गर्न खोजेको प्रहरीलाई खवर गरेपछि दुर्व्यव्यवहार गर्न खोज्ने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।