गलकोटः   विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ वर्षपछि सर्वसम्मत रूपमै गाउँपालिकाको केन्द्र टुङ्ग्याएको छ ।  काठेखोला गाउँपालिकाका सबै राजनीतिक दलको सहमतिपश्चात बसे...

काठमाडौं : नेपाल प्रहरीका पाँच डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले ५ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।   बढुवा समितिका सदस्य-सचिव एवम् प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहका अनुसार  प्रहरी नायव महानिरीक्षकहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस गरिएको हो।   सूचनामा भनिएको छ, 'नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पद संख्या ५ (पाँच) मा बढुवा गर्न मिति २०७९।११।२६ गते बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार देहाय बमोजिमको जनपद प्रहरी समूहतर्फका प्रहरी नायव महानिरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ।'  

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' विरूद्धको रिटमाथि सुनवाइ सकिएको छ।  न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ भएको हो। रिटको आदेश आउन बाँकी छ।   रिटको पेशी बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा तोकिएको थियो। सो दिन रिटमाथि सुनुवाइ नभएपछि शुक्रबारका लागि सारिएको थियो।   अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले मंगलबार सर्वोच्च अदालतमा प्रचण्डविरुद्ध रिट दायर गरेका थिए।    अधिवक्ता आरण र बुढाथोकीले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका छन्।   १ माघ २०७६ मा माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले युद्धमा १७ हजार मारिएका र त्यसमध्ये ५ हजार माओवादीले मारेको र त्यसको जिम्‍मा आफूले लिने अभिव्यक्ति दिएका थिए। त्यही अभिव्यक्तिलाई लिएर प्रचण्डविरूद्ध छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै अधिवक्ता आरण र बुढाथोकी रिट लिएर सर्वोच्च गएका थिए।   उनीहरुले ‘प्रचण्ड’विरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतका रजिष्ट्रारले दर्ता गर्न नमिल्ने भन्दै दरपीठ गरिदिएको थियो। त्यसपछि सर्वोच्च प्रशासनको दरपिठ गर्ने निर्णयविरुद्ध अधिवक्ताद्वयले सिधै सर्वोच्चको इजलासमा निवेदन दिएका थिए।    गत शुक्रबार न्यायायाधीश ईश्वर खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको थियो।   अधिवक्ता आरणका बुवा टीकाराजलाई तत्कालीन विद्रोहीले अपहरण गरी हत्या गरेका थिए। त्यस्तै अधिवक्ता बुढाथोकीका बुवा भुवानसिंह विस्थापित बनाएका थिए।  प्रचण्डविरूद्ध रिट दायर भएपछि माओवादी धारका पार्टीहरूले विरोध जनाएका छन्।

काठमाडौँ:   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त अधिराज्य बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन्ने मरी ट्रेभेलियनले शिष्टाचार भेटवार्ता गरेकी छन् ।   प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल भ्रमणका क्रममा यसअघि उनी बुधबार हुनमानढोका दरबार क्षेत्रमा नेपालस्थित बेलायती दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिइन् ।   उनले बिहीबार अरुण जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेकी थिइन् । उक्त परियोजनामा बेलायतले लगानी बोर्डमार्फत आर्थिक लगानी गरेको छ । बुधबार नेपाल भ्रमणमा आएकी राज्यमन्त्री ट्रेभेलियन आज स्वदेश फर्कंदै छिन् । 

काठमाडौं:  नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरे पनि उनी उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य देखिएका छिन् ।   नेपालको संविधान २०७२ अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न ४५ वर्ष उमेर पूरा भएको हुनुपर्छ ।   नाउपाले उपराष्ट्रपतिमा अघि सारेको उम्मेदवार रञ्जिता श्रेष्ठको उमेर ४५ वर्ष पूरा नभएकाले उनी अयोग्य देखिएकी हुन् ।   संसद सचिवालयका अनुसार रञ्जितको उमेर ४० वर्ष मात्र छ ।   नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक गंगाराम थारुले जानकारी दिएका थिए ।

तनहुँ:  गाउँका रैथाने बाली तथा स्थानीय सीपको बजारीकरण गर्न दमौलीमा कोसेली घर स्थापना गरिएको छ।   घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समिति तनहुँद्वारा ‘व्यास कोसेली घर’ स्थापना गरिएको हो।    उत्पादित कृषि बाली तथा विभिन्न सामग्रीमा सिधै उपभोक्ताको पहुँच पुग्ने हुँदा खरिदकर्ता र उत्पादनकर्ता दुवैलाई फाइदा पुग्ने तथा बिचौलियाको जरुरी नपर्ने समितिले जनाएको छ। कोसेली घरले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा समितिले लिएको छ। स्थानीयस्तरमा उत्पादन गरिएका वस्तुलाई सहज रूपमा बिक्री गर्न र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘कोसेली घर’ सञ्चालनको अवधारणा ल्याइएको बताइएको छ।    महिला उद्यमीले तयार गरेका सजावट तथा व्यवस्थापनका सामग्री घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटकले खरिद गरेर लैजान सक्नेछन्। तनहुँका विकट क्षेत्रमा उत्पादित वस्तु बजारको पहुँचमा पुग्न नसकेकाले लघु तथा घरेलु उद्यमीलाई बजारीकरणमा टेवा दिने उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याइएको समितिका अध्यक्ष कल्पना गौलीले जानकारी दिनुभयो। घरेलु तथा साना उद्योग कार्यालयको हाताभित्र निर्माण गरिएको एककोठे भवनमा सञ्चालन गर्न लागिएको कोसेली घर फागुन २९ गते उद्घाटन गर्ने तयारी भइरहेको अध्यक्ष गौलीले बताउनुभयो।   उक्त स्थानमा कोदो फापर, मास, तरुल, गिट्ठा, भ्याकुर, मस्यौरा, हात तथा तानले बुनेका झोला, टोपी, स्वेटर, पछ्यौरीलगायत विभिन्न उत्पादन बिक्रीका लागि राखिएको छ।    आर्थिक रूपमा महिला दिदीबहिनीलाई सबल बनाउनसमेत कोसेली घरले सहयोग पुग्ने झापुटारमा व्यवसाय सञ्चालन गर्दै आएकी खिरमती मगरले बताउनुभयो। पर्यटन तथा उद्योग कार्यालय, तनहुँले उक्त कोसेली घर निर्माण गरिदिएको हो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट विनियोजित पाँच लाखबाट पसल सजावटको कार्य गरिएको गौलीले बताउनुभयो।   

नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।   उक्त पार्टीको संसदीय दलका प्रमुख सचेतक गंगाराम चौधरीले शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपति बनाउने निर्णय गरेको जानकारी दिए।   श्रेष्ठ कैलाली-१ बाट निर्वाचित सांसद हुन्।   नागरिक उन्मुक्ति पार्टी ८ दलीय गठबन्धनमा छ। सोही गठबन्धनमा रहेको अर्को दल जनता समाजवादी पार्टीले संसदीय दलका नेता रामसहाय प्रसाद यादवलाई  उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय बिहीबार गरिसकेको छ।    उपराष्ट्रपतिको मनोनयन दर्ता फागुन २७ मा हुँदैछ।     आफूले उम्मेदवार उठाउनेबारे ८ दलसँग कुराकानी गर्ने चौधरीले बताए।   

काठमाडौं:  निर्वाचन आयोगले उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।   आयोगको शुक्रबार बसेको बैठकले पुरुष व्यक्ति (रामचन्द्र पौडेल) राष्ट्रपति निर्वाचित भइसकेकाले त्यो भन्दा फरक (महिला वा अन्य) लिङ्गबाट उम्मेदवार बनाउने निर्णय गरेको हो । साथै राष्ट्रपति पौडेल खस आर्य समुदायको भएकाले उपराष्ट्रपतिमा महिला वा अन्य लिंगबाट हुने उम्मेदवार पनि फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को मनोनयन हुनुपर्ने आयोगको ठहर छ ।   उपराष्ट्रपति पदको उम्मेदवारी दर्ता शनिबार हुँदैछ । निर्वाचन चैत ३ गते हुनेछ ।

काठमाडौं:  नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गरेका छन् । उनले आज बिहान पशुपतिनाथ मन्दिर पुगी पूजाआजा गरेर प्रसाद ग्रहण गरेका हुन् ।   यसअघि नवनिर्वाचित राष्ट्रपति पौडेलले गुहेश्वरी मन्दिरमा पनि पूजा गरेका थिए । पूजा सकेर उनी आजै सुन्दरीजलस्थित विपी सङ्ग्रहालय जाने कार्यक्रम छ । त्यहाँ उनले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विपी कोइरालालगायत नेताको शालिकमा माल्यार्पण गर्ने तथा सङ्ग्रहालयको अवलोकन गर्ने छन् । उनी आजै दर्शन तथा पूजाआजाका लागि स्वयम्भूनाथ पनि जाने कार्यक्रम छ ।   पूर्वसभामुख रहेका पौडेलले आफ्ना प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङलाई दोब्बर बढी मतले पराजित गर्दै बिहीबार मुलुकको तेस्रो राष्ट्रपति पदमा निर्वाचित भएका थिए । नवनिर्वाचित राष्ट्रपति पौडेलले पद तथा गोपनीयता शपथ यही फागुन २९ गते लिने जनाइएको छ ।

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दायर भएको रिटमा आज (शुक्रबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।   सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा प्रधानमन्त्री प्रचण्डविरुद्ध दायर भएको रिटमा सुनुवाइ हुन लागेको हो । उक्त रिटको इजलास ११ औं नम्बरमा छ ।   गत मङ्गलबार अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जीविवास गिरीले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गर्नुभएको थियो ।   यसअघि हिजो (बिहीबार) सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको थियो । तर बेन्च बस्न नभ्याएपछि आज (शुक्रबार)का लागि सारिएको हो ।   २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये पाँच हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिनुभएको थियो । सोही अभिव्यक्तिका विषयलाई लिएर सर्वोच्चमा रिट दर्ता भएको हो ।