पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...

काठमाडौं:  नेकपा (एमाले) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको इतिहासलाई लुकाउन खोजिएको बताउनुभएको छ।    काठमाडौंको एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। नेपाली भूमिबाट नै विभिन्न ज्ञानको उत्पत्ति भए पनि त्यसलाई लुकाउन खोजिएको उहाँको भनाइ छ।    अध्यक्ष ओलीले नेपालीहरू बहादुरमात्रै नभई बुद्धिमानी पनि रहेको बताउनुभयो। उहाँले नेपालका पुर्खाहरू जति विद्वान अन्य कतै नरहेको दाबीसमेत गर्नुभयो। उहाँले वेदव्यास, ऋषि विश्वामित्र, कपिलमुनी गौतम बुद्ध, पाणिनीको उदाहरण दिँदै उनीहरूको बारेमा नेपालीहरूलाई बुझाउन आवश्यक रहेको बताउनुभयो।    ओलीले नेपाल इतिहासमा पनि विद्वानहरूको भूमि भएको र भविष्यमा पनि विद्वानको भूमि हुने बताउनुभयो। उहाँले नेपाल ज्ञानको उत्पत्ति बिन्दु भए पनि पाश्चात्य शिक्षाको प्रभावले ओझेलमा पारिएको बताउनुभयो।     उहाँले भन्नुभयो, ‘‘नेपालीलाई बहादुर मात्रै भनिएको छ। तर बहादुर मात्रै होइन, नेपालीहरू विद्वान पनि छन्। हाम्रा पुर्खाजस्ता विद्वान कोही छैनन्। वेदव्यास तनहुँका थिए, ऋषि विश्वामित्र शिवभन्दा पछाडि दर्शनशास्त्रका प्रणेता विश्वामित्र कोशी किनारमा बस्थे। २६ सय वर्षअघि बुद्ध रुपन्देहीमा थिए। पाणिनी अर्घाखाँचीका थिए। यस्ता अनेक विद्वान यहाँका छन् तर छोप्न खोजिएको छ। यो इतिहासमा पनि विद्वानको भूमि हो। भविष्यमा पनि विद्वानहरूको भूमि हुनेछ।’’   अध्यक्ष ओलीले नेपाल जस्तो पवित्र भूमि र ज्ञानको प्रारम्भ भएकाले नेपाल ऐतिहासिक भूमि भएको बताउनुभयो।   

काठमाडौं : जनमत पार्टीका अध्यक्ष सीके राउतले उपराष्ट्रपतिमा उम्मेदवारी फिर्ता नहुने बताएका छन् । संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै राउतले सकभर सहमति हुने नभए मित्रवत् प्रतिष्पर्धा हुने बताएका हुन् ।   उनले भने,‘छलफलकै क्रममा छौं । संविधानको मर्म पनि पुरुष राष्ट्रपति भएपछि महिला नै उपराष्ट्रपति हुनुपर्छ भन्ने हो । त्यहि आधारमा हामी उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाएका हौं । गठबन्धनमा कुरा मिल्न सक्छ । उहाँकै पक्षमा निर्णय हुनसक्छ भन्नेमा विश्वास छ । ’   उनले आफ्ना पार्टीका उम्मेदवारको पक्षमा सहमति हुनेमा आफू आशावादी रहेको बताए। 'हामीले गठबन्धनको निर्णय अनुसार नै मनोनयन दर्ता गराएका हौं । साझा उम्मेदवारको विषयमा हामी छलफलकै क्रममा रहेका छौँ । हाम्रै उम्मेदवारको पक्षमा सहमति हुनेमा आसावादी छौँ । सहमति नभए आफूहरूले दर्ता गराएको मनोनयन फिर्ता हुँदैन ।’   जनमत पार्टीका अध्यक्ष राउतले झालाई जनमत,लोसपा,नागरिक उन्मुक्तिलगायत अन्य पार्टीको समर्थन रहेको बताए। अध्यक्ष राउतका अनुसार राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने प्रावधान संविधानमा नै उल्लेख भएकाले झालाई महिला उम्मेदवार बनाउने विषयमा सत्तारुढ दलकाबीच सहमति भएको थियो।   उपराष्ट्रपतिमा जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दर्ता गराएकी छन् । झाको प्रस्तावकमा अब्दुल खान,अनिता देवी,गंगाराम चौधरी,अभिराम शर्मा ,रुपाकुमारी यादव रहेका  छन्। यस्तै समर्थकमा गोमालाभ सापकोटा,विनिता कुमारी सिंह,वसन्तकुमार कुसवाह,रामप्रकाश चौधरी र रानीकुमारी तिवारी रहेका छन् । झालाई जनमत,लोसपा र नागरिक उन्मुक्तिको समर्थन छ ।   उपराष्ट्रपतिका लागि चारजनाको उम्मेदवारी परेको छ। नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य,जनता समाजवादी पार्टीबाट राम सहाय यादव र प्रमिला यादव र जनमतबाट ममता झाको उम्मेदवारी परेको हो।   आगामी चैत्र ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता भएको हो।

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो राष्ट्रपति डा रामवरण यादव आफूहरुको समर्थन र प्रस्तावमा निर्वाचित भएको बताएका छन्।    एमालेका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता भएपछि सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले नेपालको पहिलो राष्ट्रपति डा यादवलाई आफूहरुको प्रस्तावमा नै निर्वाचित गराएको बताएका हुन्।    उनले आफ्नो पार्टीले त्यसपछि क्रमशः आफ्नै उम्मेदवार उठाएको बताए।    यस्तै सङ्घीय संसद्भवन नयाँ वानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै एमालेबाट उपराष्ट्रपति पदमा  उम्मेदवारी दिएकी अष्टलक्ष्मी शाक्यले लोकतन्त्रमा विश्वास गर्नेहरुले स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताइन्। उनले भनिन्, 'लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले यसबारे सोच्न जरुरी छ ।'    एमालेले आज बिहान एमाले उपाध्यक्ष शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । शाक्यको प्रस्तावकमा अध्यक्ष ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेताहरु छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुवीर महासेठ छन्। त्यस्तै, समर्थकममा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यशोदा रिजाल छन्।

काठमाडौँ:  जनता समाजवादी पार्टी नेपालको तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गर्न प्रमिला यादव नयाँ वानेश्वर पुगेकी छन् ।    यादव उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउन वानेश्वरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यलय पुगेकी हुन् । यादवको बारेमा जसपाले उपराष्ट्रपतिमा उम्मेदवारी दिने कुनै औपचारिक निर्णय भने गरेको छैन ।   जसपाले यसअघि नै बारा २ बाट प्रतिनिधि सभा सदस्य जितेका रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । प्रमिलासँगै रासहाय यादवको पनि उम्मेदवारी पर्नेछ ।

काठमाडौं:  बागमती नदी नेपालीहरूको आस्थाको केन्द्र हो । हिन्दुहरूका लागि जन्मदेखि मरणोपरान्त बागमती नदीको आवश्यकता त्यत्तिकै छ । हिन्दुहरूको मात्रै नभई किराँत समुदायका लागि पनि बागमती नदीको आवश्यकता र औचित्य हिन्दु समान छ । बागमती नदीको सभ्यता धेरै गर्विलो छ । बागमती नदी अहिले ढलमती उपनामले परिचित छ । यसको कारण काठमाडौंवासीको लापरबाही र सरसफाइमा चासो नहुनु नै हो ।     ढल मिसाउने, फोहोर फाल्ने स्थान बनेको बागमती नदीलाई हराभरा बनाउनुपर्छ र मात्रै हामी स्वच्छ र स्वस्थ रहनसक्छौँ भन्ने मानसिकता नै काठमाडौंवासीमा छैन । पछिल्लो समय बागमती सरसफाइ अभियानसँगै बागमतीमा केही कम फोहोर छ तर आम मानिसको मन, मस्तिष्कमा फोहोर फाल्नु हुँदैन भन्ने ध्येय नै छैन ।   ढल, फोहोर र दुर्गन्धपूर्ण बागमती नदी स्वच्छ, सफा र सुन्दर बागमती हुन र आफ्नो पुरानै पहिचान पाउन मुस्किल छ । सबै लागेर फोहोर नफाल्ने हो भने फेरि बागमती नदी छेउमा हरियाली र प्राकृतिक बास्नासहित बहनेछ । तर काठमाडौंवासी नै बागमतीलाई सफा बनाउँदा आफ्नै स्वार्थसिद्ध हुन्छ भन्ने कुराबाट टाढा छन् ।     काठमाडौं उपत्यकाभित्र बागमती फोहोर छ नै चोभार नजिकबाट काठमाडौं बाहिरिने क्रममा पनि कालो बागमती नदीको पानी देख्दा काठमाडौंवासीदेखि नै वितृष्णा जाग्छ । काठमाडौंको सिनामंगल क्षेत्रमा सुकुम्वासीले बागमती नदी हडपेर बनाएको टहरा होस् वा गोकर्णस्थित बागमती नदी किनारमा बनाइएको शौचालय यी सबैले हामी नेपालको काठमाडौं जस्तो सुन्दर, विकसित सहरलाई गिज्याउँछ ।   काठमाडौं उत्तरबाहिनीस्थित बागमती नदीमा मिसाइएको नाली, ललितपुर सानेपाबाट बागमतीमा मिसाइएको ढल, कुपण्डोल युएन पार्कनजिक बागमती नदी किनारमा भत्केको बार, बुद्धनगर क्षेत्रमा बाढीले बगाएर ल्याएको फोहोर, सुन्दरीघाट बागमती नदी छेउ थुपारिएको फोहोर, कुलेश्वर छेउको  बागमती र सुकुम्वासी बस्ती यी सबैले विकसित सहरका अविकसित मानिसको सोचलाई दर्साउँछ ।   यसमा कोही एक व्यक्तिले मात्रै पहल गरेर सम्भव छैन, सरकार, स्थानीय निकाय, निजी सङ्घसंस्था र आम सर्वसाधारण सबै मिलेर सरसफाइमा ध्यान दिने हो भने पक्कै पनि बागमतीले आफ्नो पुरानो लय समात्नेछ ।   न्यूज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका बागमती नदीका तस्बिरहरु ।                      

काठमाण्डाै:  सत्ता गठबन्धनमा उपराष्ट्रपति पदका लागि विभिन्न दलबाट दाबी भएपछि बैठक निष्कर्षविहीन भएको छ ।   प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक कुरा मिल्न नसक्दा निष्कर्षविहीन भएको हो ।   बैठकपछि जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफ्नो पार्टीले ममता झालाई उपराष्ट्रपतिमा उठाउने बताउनुभएको छ । उहाँले उपराष्ट्रपतिमा महिला नै उम्मेदवार हुनुपर्ने खालको निर्णय निर्वाचन आयोगले गरेको र संविधानको मर्म पनि त्यही रहेको भन्दै ममता झालाई अगाडि सारेको बताउनुभयो ।   जनता समाजवादी पार्टी, नेपालले पनि दुई जनाको उम्मेदवारी गर्ने अवस्था देखिएको छ । जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिने तयारी गरेपछि गठबन्धनबाट तीन जना उम्मेदवारले मनोनयन दर्ता गर्ने सम्भावना देखिएको हो ।   सहमतिमा आइतवार भोलिसम्म एक जना मात्रैको उम्मेदवारी कायम हुने पनि जनमत पार्टीका अध्यक्ष राउतले बताउनुभयो । यसअघि नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।   आज बिहान बसेको पार्टीको सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । चैत ३ गते हुने उपराष्ट्रपति पदको चुनावका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।

काठमाडौं:  सामाजिक अभियान्ता बिमला योगी ‘राष्ट्रिय नारी सम्मान –२०७९’  बाट सम्मानित भएकी छिन् । घोराही उपमानगरपालिका वडा नम्बर १५ निवासी योगीलाई चन्द्रलोक प्रतिष्ठान काठमाडौँले सम्मान गरेको हो ।  २०४६ देखि महिला, बालबालिका र युवाहरुको व्यक्तीत्व विकाससँगै नेतृत्व विकासकालागी क्रियाशील रहेकी योगीको सेवाभावको उच्च मूल्यांकन गर्दै सम्मान गरेको प्रतिष्ठानले जनाएको छ । योगीमा सामाजिक कार्यक्रममा अत्यन्तै निष्ठा र समर्पणका भाव रहेको बुझाई प्रतिष्ठानको छ ।    २०२५ साल वैशाख २२ गते वुवा छविलाल योगी र आमा राधादेवी योगीको कोखबाट जमिएकी योगी जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडका प्रमुख कार्यकारी निर्देशक हुन् । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको संस्थापक अध्यक्ष, महिला संघ दाङका संस्थापक अध्यक्ष भएर काम गरिसकेकी योगी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुन् । योगीको पहलमा हाल ६ सय बढी विपन्न, द्धन्दपीडित बालबालिकाहरुलाई निशुल्क शिक्षा लिइरहेका छन् । योगीले ग्रामीण क्षेत्रहरुमा लक्षित गरि व्यक्तिगत लगानीमा ‘बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम’ सञ्चालन गरेकी छिन् । उनकैै पहलमा घोराहीमा हिंसा पीडित पुनस्र्थापना केन्द्र, कृषकहरुका लागि हरियो बजार सञ्चालनमा रहेका छन् ।    समाजशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी योगीले घोराही खानेपानी तथा सरसफाई संस्थाको संस्थापक, त्रिभुवन नगर जेसिजको सदस्य, नेपाल रेडक्रस सोसाईटीको आजीवन सदस्य, घोराही रक्तसञ्चार केन्द्रको संस्थापक र गैरसरकारी संस्था महासंघ नेपालको संस्थापक भएर काम गरेको अनुभव छ ।   योगीलाई यसअघि दाङ महिला जेसीजबाट सम्मान, द रेयुकाई नेपालले समाजमा पुर्याएको महत्वपूर्ण सहयोगवापत सम्मान, घोराही खानेपानी तथा सरसफाई संस्थाले घोराही क्षेत्रमा शुद्ध खानेपानी पुर्याएवापत सम्मान, राष्ट्रिय सहकारी बैकले प्रदेश स्तरीय सफल सहकारी सञ्चालन गरे वापत सम्मान र विधवा महिला सरोकार केन्द्र दाङ द्धारा सिमान्तकृत तथा विधवा महिलाहरुको सामाजिक न्यायमा पहुँच तथा आर्थिक पुनःस्थापना गर्न पुर्याएको योगदान वापत सम्मान गरेको थियो । योगीले अस्टे«लिया, जापान, इन्डोनेशिया, भारत, बंगलादेश, फ्रान्स, फिलिपिन्स, मलेशिया, स्वीजरल्याण्ड, जर्मन, नेदरल्याण्ड लगायतका देश भ्रमण गरिसकेकी छन् । 

काठमाडौं : नेकपा एमालेले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।    एमालेको उपाध्यक्ष समेत रहेकी शाक्य बागमती प्रदेशको पूर्वमुख्यमन्त्री हुन्। उनी नेपालको पहिलो महिला मुख्यमन्त्री हुन्।   चैत्र ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि शनिबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ।    निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा बिहान ९ बजे देखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ। 

बाजुरा:  बूढीगङ्गा नगरपालिका–१, अम्कोट बस्ती १६ वर्षदेखि बाढीपहिरोको उच्च जोखिमा रहेको छ। १६ वर्षदेखि बाढीपहिरोको उच्च जोखिमा रहेको अम्कोट बस्ती अहिलेसम्म कतै स्थानान्तरण हुन सकेको छैन।   बस्ती स्थानान्तरण नहुँदा अम्कोटका १०६ घरपरिवार बाढीपहिरोको जोखिम भएकै ठाउँमै बसोबास गर्दै आएका छन्। बूढीगङ्गा नगरपालिका–१, अम्कोटका स्थानीय पारु पाध्यायका अनुसार पहिरोले अम्कोटको गाउँ चिराचिरा पारेको छ। बर्खाको समय थोरै पानी परे पनि बग्न सुरु हुन्छ। आफूलाई सुरक्षित हुने कतै ठाउँ नभएपछि बर्खामा पनि यही घरमा बस्नुपर्ने सोच बनाएको पाध्यायले बताउनुभयो।   बर्खा लाग्नेबित्तिकै गाउँको तल र माथि दुवैतिरबाट पहिरो बग्ने हुँदा कुनै रात घरसहित आफूलाई समेत बगाउँछ भन्ने डर लाग्ने उहाँले बताउनुभयो। वि.सं. २०६४ साउन २३ गते राति गाउँमाथिबाट आएको पहिरोले उहाँका श्रीमान्, दुई छोरा र एक छोरीसहित चार जनाको ज्यान लिएको थियो। सोही पहिरोमा परेर महादेव पाध्याय, लक्ष्मी पाध्याय र मङ्गल पाध्यायलगायतका पाँच जनाको मृत्यु भएको थियो। २०७६ असार र साउनमा आएको बाढीपहिरोले अम्कोटमै फेरि सात घरसहित सयौँ रोपनी जमिन बगाएको थियो।   यसरी पटक–पटक अम्कोट बस्ती पहिरोको जोखिमा परेको भए पनि अहिलेसम्म त्यहाँका स्थानीयवासीलाई कतै पुनस्र्थापन गर्न नसकेको स्थानीय महादेव पाध्यायले बताउनुभयो। बूढीगङ्गा नगरपालिका–१, अम्कोटका बाढीपहिरोपीडित महादेव पाध्यायले, गाउँ छोडेर कतै जाउँ भने आर्थिक अवस्था राम्रो नभएको बताउनुभयो। उहाँले भन्नुभयो, “यतै बसौँ भने घरनजिक पहिरो आइसक्यो। पहिरोले उठ भने पनि अन्त जाने केही उपाय नभएपछि समस्याले यतै बास बस्नु परेको उहाँले बताउनुभयो। उहाँले बर्खा लागेपछि फेरि पहिरो बग्न सुरु हुने भएकाले कहाँ गएर बस्ने भन्ने चिन्ताले सताउन थालेको बताउनुभयो।   बाढीपहिरोले यहाँका स्थानीयवासीको कमाई खाने अधिकांश जमिनसमेत बगरमा परिणत भएको छ। खेती गर्ने जमिनमा अहिले नदी बग्न थालेपछि उनीहरू भोको पेट पाल्नका लागि अहिले दैनिक मजदुरी गर्दै आएका छन्। बूढीगङ्गा नगरपालिका–१, अम्कोटका दरिभाने नेपालीले भारतको कमाइले खेत किनिएको भए पनि त्यो खेत सबै नदीले बगर बनाएको बताउनुभयो।   बस्ती व्यवस्थापनमा पाँच लाख   जिल्ला विपत् व्यवस्थापन समिति बाजुराले बाढीपहिरोबाट प्रभावित बनेका अम्कोटका १०६ परिवारका लागि बस्ती व्यवस्थापन कार्यक्रम एक वर्ष पहिले नै सुरु भएको बताएको छ।   २०७८/७९ को आर्थिक वर्षमा नै अम्कोटका १०६ घरपरिवारको घरबास गर्ने गरेर बस्ती व्यवस्थापन कार्यक्रम सुरु भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। बाजुराका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक पुष्कर खड्काले, बाढीपहिरो प्रभावित भएका अम्कोटका १०६ परिवारमध्ये ८५ परिवारलाई घरबासको व्यवस्थापन गर्ने गरेर पहिलो किस्ता रकमसमेत वितरण गरिसकेको बताउनुभयो।   उहाँले बाढीपहिरोबाट प्रभावित भएका अम्कोटका स्थानीयवासीले घर निर्माणका लागि पहिलो किस्ता रकम बुझेर लिएको भए पनि घर निर्माण कार्य भने अझै पूरा गर्न नसकेको बताउनुभयो।   स्थानीय प्राविधिकले दिएको लागत अनुमानअनुसार घर निर्माण नगरेकाले अहिले दोस्रो किस्ता रकम रोकिएको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो।    बाढीपहिरो प्रभावितको बस्ती व्यवस्थापन गर्न स्थानीय सरकारले १५, प्रदेश सरकारले २० र सङ्घीय सरकारले ७० प्रतिशत रकम बेहोर्नुपर्ने हो । प्रमुख जिल्ला अधिकारी खड्काका अनुसार ८५ घरपरिवारले पहिलो किस्ताबापत ७५ हजार रुपियाँ घर निर्माणका लागि लिएको भए पनि अहिलेसम्म १८ जनाले मात्र दोस्रो किस्ताका लागि कागजात पेस गरेको बताउनुभयो।   अम्कोटका पीडित स्थानीयले भने सबै घरपरिवार १०६ रहेको र त्यसमध्ये ८५ जनाले मात्र पहिलो किस्ता रकम पाएका छन्। बाँकी २१ परिवारले अझै पहिलो किस्ता रकम नपाएको बताएका छन्। रकम पाएका ८५ परिवारमध्ये अधिकांशले घर निर्माण गरेको भए पनि रकम नदिएको अम्कोटका स्थानीय लक्ष्मीराम पाध्यायले बताउनुभयो।    उहाँले प्राविधिकले नै दिएको डिजाइन लागत अनुमानका आधारमा घर निर्माण गरेको तर दोस्रो किस्ता रकम रोकिदिएको बताउनुभयो। प्राविधिकले दिएको डिजाइन र लागत अनुमानअनुसार घर निर्माण नगरेको देखिएपछि दोस्रो किस्ता रकम रोकिएको बूढीगङ्गा नगरपालिकाका सूचना अधिकारी विष्णु जोशीले बताउनुभयो।   उहाँले अम्कोटका १०६ जना बाढीपहिरो पीडितमध्ये ८५ परिवारको कागजात पूरा भएकाले पहिलो किस्ता रकम आएको र बाँकी २१ परिवारको कागजात नमिलेकाले पहिलो किस्ता रकम नपाएको बताउनुभयो। रकम पाएकाले अम्कोटमा स्थायी रूपमा बसोबास भएको कागजात पेस गरेपछि उनीहरूले पनि घरबास लागि रकम पाउन सक्ने जोशीले बताउनुभयो।