पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...

पोखरा:   विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई एक्सपर्टले शैक्षिक परामर्श गर्ने भएको छ ।  मार्च १६ अर्थात् चैत २ गते पोखराको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले ‘एक्सपर्ट एडिम्सन डे २०२३’ को आयोजना गर्ने भएको हो । उक्त कार्यक्रममा विदेश अध्ययन गर्न चाहने नेपाली विद्यार्थी र अष्ट्रलिया, न्युजिल्याण्ड, क्यानडा,युके र अमेरिकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुले एक अर्कासँग प्रत्यक्ष रुपमा संवाद गर्ने आइतबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा एक्सपर्ट पोखराका एकेडेमी डाइरेक्टर सलि देवानले बताए ।  विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई परामर्श प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले शैक्षिक परामर्श कार्यक्रमको आयोजना गरिएको भनाई उनको छ । ‘विगत दुई वर्षमा कोरोनाले सिर्जित प्रतिबन्धहरुका कारण प्रत्यक्ष रुपमा यस्ता कार्यक्रमहरुको आयोजना गर्न सम्भव भएन । सो समयमा भर्चुअल माध्यमबाट विद्यार्थीलाई परामर्श गरिएको थियो । अहिले प्रत्यक्ष रुपमा नै आयोजना गर्न लागेका हौं ।’–उनले भने ।  बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म पोखराको सिदार्थचोक स्थित एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसेजको कार्यालयमा हुने एक्सपर्ट एडिम्सन डेमा सहभागीलाई फुड भौचर, मुभि भौचरको सुविधा उपलब्ध रहेको एक्सपर्ट पोखराका अप्रेसन म्यानेजर रमेश बास्तोलाले जानकारी गराए । कार्यक्रममा सहभागी विद्यार्थीलाई एक्सपर्टबाट दिइने आयल्स, पीटीई क्लासमा समेत छुट दिइने उनले बताए । उनले एक्सपर्टले विगत दुई दशकदेखि आधिकारिक र विश्वसनिय परामर्श प्रदान गर्दै आएकाले पनि विदेश अध्ययनका लागि एक्सपर्ट रोजाईमा पर्ने गरेको उल्लेख गरे । उनका अनुसार एक्सपर्टले नेपालका प्रमुख १६ शहरहरुमा शाखाहरु संचालनमा ल्याएको छ । यस्तै विश्वका १९ देशका ५० भन्दा बढी शहरहरुमा समेत एक्सपर्टले सेवा प्रवाह गरिरहेको छ ।  वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई विश्वसनिय जानकारीहरु प्रदान गर्ने उद्देश्यले एक्सपर्टले विगतका वर्षहरुमा झै यस वर्ष पनि नेपालका शहरहरु धनगढी, नेपालगञ्ज, घोराही, बुटवल, पोखरा, नारायणगढ, हेटौंडा, विराटनगर, विर्तामोड र काठमाडौंमा एक्सपर्ट एडिम्सन डे कार्यक्रमको आयोजना गरिने एक्सपर्ट पोखराका मार्केटिङ म्यानेजर विष्णु प्रसाद गौतमले जानकारी गराए । 

पोखरा:  पर्वत जिल्ला, फलेवास नगरपालिका वडा नं.९ भँगरा(साविक भँगरा गाविस)बाट पोखरा आई बसोबास गर्ने भँगारेहरुको साझा संस्था पर्वत भँगरा पोखरा सम्पर्क समाजको पाँचौं साधारणसभा र तेश्रो अधिवेशन सम्पन्न भएको छ।   तेश्रो अधिवेशनले खडकबहादुर पौडेल क्षेत्री को अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ।   आगामी दुईवर्षका लागि समाजको उपाध्यक्षमा देवबहादुर पौडेल क्षेत्री, सचिवमा अग्निप्रसाद भुसाल, सहसचिवमा बाबुराम सुवेदी,कोषाध्यक्षमा चन्द्रबहादुर क्षेत्री, सहकोषाध्यक्षमा बिन्दु क्षेत्री चयन हुनुभएको छ। यसरी नै सदस्यहरुमा राजकुमार गुरुङ, हरीबहादुर क्षेत्री, गंगाबहादुर क्षेत्री, विष्णु क्षेत्री,  विष्णु शर्मा सुवेदी,राजु कुवर, राजबहादुर गुरुङ, लालप्रसाद(गौतम)गुरुङ र रामु काफ्ले रहनुभएको छ।   नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक कृष्णबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो। नयाँ कार्यसमिति निर्वाचनका लागि कृष्णबहादुर गुरुङ, मेजर गणेश पौडेल र हिरामणी भुषाल रहेको निर्वाचन समिति गठन गरिएको थियो।   नवनिर्वाचित अध्यक्ष खड्कबहादुर पौडेलले सम्पर्क समाजको जिम्मेवारी ग्रहणले आफुलाई समाज र जन्मेहुर्केको गाँउप्रति थप जिम्मेवार बनाएको र सबैलाई समेटेर, समन्वय गरी संस्थालाई क्रियाशिल बनाइ अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुहुदै समाजका अग्रजदेखि सम्पुर्ण सदस्यहरुलाई धन्यवाद व्यक्त गर्नुभयो।   यस अघि साधारणसभा तथा अधिवेशनको प्रमुख अतिथि समाजका संस्थापक अध्यक्ष हुतराज गुरुङ दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो। उहाँले साधारणसभा तथा अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुहुदै पोखरामा बसोबास गर्ने भँगारेहरुको एकता, दुःख सुखमा साथ र भँगरा गाँउका विकास एवम सेवाका लागि संस्थागत पहल आवाश्यक रहेकाले सम्पर्क समाज गठन गरी क्रियाशिल रहेको बताउनुभयो। कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले शुभकामना व्यक्त गर्नुभएको थियो।   उक्त कार्यक्रममा समाजका जेष्ठ नागरिकहरुलाई सम्मान, विभिन्न सहयोगी संस्थाहरुलाई सम्मान, निर्वतमान अध्यक्षलाई सम्मान समेत गरिएको थियो भने कलाकारहरुले विविध साँस्कृतिक प्रस्तुति गरेका थिए।   साधारणसभामा सचिव देवबहादुर क्षेत्रीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष चन्द्रबहादुर पौडेल क्षेत्रीले प्स्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो।   समाजका अध्यक्ष नवीन पौडेल क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष खड्कबहादुर पौडेलले स्वागत, सचिव देवबहादुर क्षेत्रीले कार्यक्रम संचालन गर्नुभएको थियो। 

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदमा निर्वाचित भएपछि प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिनुभएको छ । उहाँ यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो ।   राष्ट्रपति पौडेलले सभामुखलाई पत्राचार गर्नुहुँदै नेपालको संविधानको धारा ६२ (६) बमोजिम प्रतिनिधि सभा सदस्यको राजनैतिक पद स्वतः रिक्त हुने ब्यहोरा जानकारी गराउनुभएको छ ।   साथै उहाँले सभामुख, सङ्घीय संसद् सचिवालय, तनहुँ निर्वाचन क्षेत्र नं १ का मतदाता, जिल्लावासी तथा शुभेच्छुकहरूबाट आजसम्म प्राप्त साथ र सहयोगप्रति आभार प्रकट गर्नुभएको छ ।  

क्रोएसिया पठाइदिने भन्दै ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।    काभ्रे रोशी गाउँपालिका-८का ४६ वर्षीय मेघलाल तामाङलाई प्रहरीले सोमबार काठमाडौं-३१ मिनभवनबाट पक्राउ गरेको हो।    उनले तीन जनालाई क्रोएसिया जान प्रतिव्यक्ति ७ लाख लाग्ने बताएका थिए। त्यसरी मासिक एक लाख भन्दा धेरै तलब हुने भन्दै उनीहरूबाट १५ लाख ठगेको आरोप छ।    रकम लिएर फरार भएका उनलाई प्रहरीले पक्राउ गरी कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाएको छ।   

काठमाडौं:  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चारमाध्यममा राम्रो कामका लागि उत्प्रेरित गर्ने प्रेरणादायी सामग्रीको खोजी बढाउनुपर्ने बताउनुभएको छ ।    विकृति र विसङ्गतिमाथि प्रहार गरेर गलत काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नु नेपाली सञ्चारमाध्यमको सकारात्मक पक्ष भएको उल्लेख गर्दै उहाँले त्यसरी नै राम्रा कामका लागि प्रेरित गर्ने पाटो भने कमजोर भएकाले यसमा ध्यान दिनुपर्ने बताउनुभयो ।    ‘नारी अनलाइन पत्रिका’ को शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राम्रो पक्षको उजागर गर्दा अवसर नपाएका क्षमतावानहरुले अवसर पाउने र समाजले गति लिने बताउनुभयो ।   विभिन्न आन्दोलन र युद्धको परिणामस्वरूप हरेक क्षेत्रमा महिलाको भूमिका बढ्दै गएको उल्लेख गर्दै उहाँले महिलाको नेतृत्व विकासलाई व्यक्तिको मात्र होइन, एउटा समुदायकै विकासको रूपमा लिनुपर्ने बताउनुभयो ।    उहाँले पुरुष असफल हुँदा व्यक्ति असफल हुने र महिला असफल हुँदा महिला समुदाय नै असफल हुने भएकाले महिलालाई असफल हुने छुट नभएको र जुनसुकै क्षेत्रमा रहेका महिलाहरूले आफूलाई सफल बनाउनुको विकल्प नरहेको बताउनुभयो ।   समान जिम्मेवारी पाएका पुरुष र महिलाको आन्तरिक जिम्मेवारी फरक फरक हुने उल्लेख गर्दै माओवादी केन्द्रका स्थायी समिति समेत रहनुभएको मन्त्री शर्माले भन्नुभयो, ‘‘हिजो हामी जनयुद्धमा हुँदा पुरुषले बन्दुक मात्र बोके पुग्थ्यो तर महिलाले बन्दुक र बच्चा एकैसाथ बोक्नुपर्थ्यो, अहिले निकै माथिल्लो तहमा पुगेका महिलामा पनि सार्वजनिक र पारिवारिक जिम्मेवारी सँगसँगै बोकेको देखिन्छ ।’’   विभिन्न आन्दोलन र युद्धदेखि सदनभित्र संविधान र कानुन बनाउने बेलासम्म महिलाले बढी जिम्मेवारी बहन गर्दै आएको उल्लेख गर्दै उहाँले थप्नुभयो, ‘‘यसमा सञ्चारमाध्यममा बढी ध्यान दिनुपर्छ, महिलाको योगदानको यथोचित कदरसहित क्षमताअनुसार अवसर प्रदान गर्ने वातावरण बनाउन प्रेरणादायी कथाहरूको जतिसक्यो धेरै सार्वजनिकीकरण आवश्यक छ ।’’   अर्को एक प्रसङ्गमा अहिलेसम्म अनलाइन मिडियालाई कानुनले चिन्ने अवस्था नभएकाले चाँडै नै आम सञ्चार ऐनमार्फत अनलाइनलाई पनि कानुनले सम्बोधन गर्ने तयारी गरिएको मन्त्री शर्माले जानकारी दिनुभयो । त्यसका लागि आम सञ्चारकै क्षेत्रका विज्ञहरूको समिति बनाएर काम थालिएको पनि उहाँले जानकारी दिनुभयो ।   नीति कार्यक्रम र बजेट समय भएकाले सूचना र सञ्चारमा महिलालाई कसरी जोड्न सकिन्छ सुझाव दिन पनि उहाँले सबैलाई आग्रह गर्नुभयो । 

काठमाडौं:  निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी लगातार दुई कार्यकाल पूरा गरी शीतल निवासबाट बिदा हुनुभएको छ ।   सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गर्नुभएको हो ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवर्तमान राष्ट्रपति भण्डारीलाई आँखीझ्याल उपहार दिएर बिदाइ गर्नुभएको छ ।   भण्डारी शीतल निवासबाट निजी निवासमा जाँदै गर्दा नेपाली सेनाको टोलीले टुँडिखेलबाट २१ तोपको सलामी दिएको छ ।   २०७४ साल फागुन २९ गते भण्डारी राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । २०७२ साल कात्तिक ११ गते पहिलो पटक राष्ट्रपतिमा बन्नुभएकी उहाँ २०७४ सालमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको थियो ।

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिको पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।   सोमबार दिउँसो राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुभएको हो ।   यही फागुन २५ गते राष्ट्रपतिका लागि भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार ल्याएर मुलुकको तेस्रो राष्ट्रपति बन्नुभएको हो ।   शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेलले शपथग्रहण गरेलगत्तै शपथ पत्रमा हस्ताक्षर गर्नुभयो ।    त्यसपछि उहाँलाई नेपाली सेनाले राष्ट्रपति सलामी अर्पण गरेको थियो । राष्ट्रपति सलामी सैनिक मञ्च टुँडिखेलबाट गरिएको थियो ।    त्यसको लगत्तै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पौडेललाई बधाइ तथा सफलताको शुभकामना दिनुभयो । 

काठमाडौं: आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि सहज जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा नेपालले पीएनजीलाई नौ विकेटले हरायो ।    जितका लागि ९६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ७.४ ओभरमा एक विकेटको क्षतिमा एक सय रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।   नेपालका लागि ओपनर आशिफ शेखले अविजित ५३ रन बनाउनुभयो । कुशल भुर्तेलले ३३ र कुशल मल्लले अविजित १२ रन बनाउनुभयो । बलिङमा पीएनजीका चाद सोपरले एक विकेट लिनुभयो ।    यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको पीएनजीले ३२ ओभरमा सबै विकेटको क्षतिमा ९५ रन मात्र बनाएको थियो । पीएनजीका लागि कप्तान असाद भालाले २० रन बनाउनुभयो । सेसे बाउले १८, चाल्स अमिनीले १६, हिरि हिरिले १४ र चाद सोपरले अविजित आठ रन बनाउनुभयो ।    पीएनजीलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिनुभयो । सन्दीपले १० ओभर बलिङ गर्दै  २५ रन खर्चिएर पाँच विकेट लिनुभएको हो । उहाँ प्लेयर अफ दि म्याच हुनुभयो । यस्तै ललित राजवंशी र कुशल मल्लले दुई दुई तथा सोमपाल कामीले एक विकेट झार्नुभयो ।    यस सिरिजमा नेपालको यो लगातार तेस्रो जित हो । नेपालले पहिलो खेलमा नेपालले पीएनजीलाई ५२ रन र दोस्रो खेलमा युएईलाई एक सय ७७ रनले हराएको थियो । जितसँगै चौथो स्थानमा रहेको नेपालले ३५ खेलबाट ३८ अङ्क बनाएको छ ।    समान खेलबाट ११ अङ्क बनाएको पीएनजी तालिकाको अन्तिममा छ । लगातार जितसँगै नेपाल विश्वकप छनोट खेलबाट अब एक खेलमात्र टाढा रहेको छ ।   नेपालले अब लिगकै अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराएमा आगमी जुन–जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ ।    यसअघि आइतबार युएईलाई हराएर लिगको चौथो स्थानमा रहँदै एकदिवसीय मान्यता जोगाएको नेपाललाई लिगको तेस्रो स्थानमा रहन अब पुनः युएईलाई हराउनु पर्ने बाध्यता छ । नेपालले सिरिजको अन्तिम खेल चैत २ गते युएईसँग खेल्नेछ । ३४ खेलबाट ३१ अङ्क बनाएको युएई छैटौँ स्थानमा छ ।    सात टोली सहभागी लिगमा सबै खेल सकेको स्कटल्यान्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । सबै खेल सकेको ओमान ४४ अङ्कसहित दोस्रो, ३९ अङ्क बनाएको नामिबिया तेस्रो स्थानमा छ । नेपालको लगातार जितले नामिबियालाई थप झस्काएको छ ।    ३५ अङ्क बनाएको अमेरिका पाँचौँ स्थानमा झरेको छ ।आइतबार नेपालले युएईलाई हराएपछि अमेरिका पाँचौँ स्थानमा झरेको हो । लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले सिधै एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् ।  

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संघीय शिक्षा ऐन ल्याउने तयारीमा रहेको बताएका छन् । शिक्षा क्षेत्रमा देखिएका सबै समस्याहरूलाई समाधान  गर्ने गरी शिक्षा ऐन ल्याउने तयारी भइरहेको प्रधानमन्त्री प्रचण्डले बताएका हुन‍। त्यसका लागि आवश्यक गृहकार्य भइरहेको उनको दावी छ।    पद्मोदय विद्यालयको ७७ औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री प्रचण्डले भने,'संघीय शिक्षा ऐनमार्फत् शिक्षा क्षेत्रमा देखिएका समस्या प्याकेजमै समधान गर्न सरकार प्रतिवद्ध रहेको छ ।' त्यसका लागि गृहकार्य भइरहेको छ।'   प्रधानमन्त्री प्रचण्डले  शैक्षिक गुरुयोजना बनाइ सरकारी शैक्षिक संस्थाको गुणस्तर बढाउने बताए ।   शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनोपयोगी,आधुनिक विज्ञान, प्रविधि र व्यवसायी बनाउन पाठ्यक्रममा गुणात्मक सुधार ल्याउनु आवश्यक रहेको उनको भनाइ  छ।   उनले भने,'शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनोपयोगी,आधुनिक विज्ञान प्रविधि र व्यवसायी बनाउन वर्तमान बदलिएको राजनीतिक एवं सामाजिक व्यवस्थाअनुरुप पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक छ।'   प्रधानमन्त्री प्रचण्डले  प्राविधिक शिक्षालाई जोड दिँदै विश्वबजारमा प्रतिस्पर्धा गर्न योग्य जनशक्ति तयार पार्न विज्ञान गणित र इन्जिनिरिङलाई माध्यमिक तहदेखि नै अनिवार्य बनाउनुपर्नेमा जोड दिए।    उनले उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउन पनि उत्तिकै आवश्यक रहेको बताउँदै यसका लागि नीतिगत,कानुनी,संस्थागत र संरचनागत सुधारका क्षेत्रमा सरकारी प्रयासमा बौद्धिक वर्गको सहयोग र सहकार्य पनि त्यत्तिकै आवश्यक हुने बताए।   सरकारी र नीजि क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा निकै भिन्नता रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले सरकारी शैक्षिक क्षेत्रको गुणस्तर बढाउन शैक्षिक गुरूयोजना निर्माण  गरी कार्यान्वयन ल्याउनुपर्ने दायित्व भएको बताए।