पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...

आगामी चैत ३ गते हुने उपराष्ट्रपति चुनावका लागि उम्मेदवार दिएकी जसपा सांसद प्रमिला कुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्।   गठबन्धनका तर्फबाट साझा उम्मेदवार जसपा, नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रतिनिधि सभा सदस्य रामसहाय प्रसाद यादवलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएकी हुन्।   यादव राजनीतिक, आर्थिक र सामाजिक-सांस्कृतिक रुपले समाजको अग्रगामी रुपान्तरण र परिवर्तनको संघर्ष सँगै शोषण, उत्पीडन, असमानता र विभेदका विरुद्ध जनआन्दोलन, ऐतिहासिक मधेश जनबिद्रोह लगायत लोकतन्त्र बहालिका लागि पटक-पटक भएका बिभिन्न आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै उनले आफू पछि हटेको बताइन्।   ‘मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता, समावेशीता, संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समाजवाद प्रति निष्ठापूर्वक संधै समर्पित रहने सालीन स्वभावका, सादा जीवन, निष्कलंक एवम् स्वच्छ छवी र उच्च विचार भएका एक बौद्धिक एवम् परिपक्व नेता माननीय रामसहाय प्रसाद यादव, उप-राष्ट्रपति जस्तो गरिमामय पदका लागि सबै भन्दा उपयुक्त, योग्य र सक्षम उम्मेदवार हुनुहुन्छ’, उनले भनिन्, ‘प्राविधिक रुपमा मेरो नाम उम्मेदवारको सूचीमा रहन गएको भएता पनि प्रतिवद्धताका साथ म वहाँलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु।’   उनले विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘अब उपरान्त म उप-राष्ट्रपति पदको लागि उम्मेदवार नरहेको हुँदा गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहनु भएका माननीय रामसहाय प्रसाद यादवलाई आफ्नो अमूल्य मत दिई विजयी गराउनु हुन सम्पूर्ण माननीय सांसद एवम् माननीय प्रदेश सभा सदस्यज्यूहरुसँग हार्दिक अपिल गर्दछु ।’

काठमाडौँ:  उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादव आफ्नो लागि मत माग्नका लागि प्रधानमन्त्री प्रचण्डकहाँ जान लागेका छन् ।   जसपाका कार्यकारिणी सदस्य समेत रहेका उपराष्ट्रपतिका उम्मेदवार यादवले आजै बिहान नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेटेर मत मागिसकेका छन् ।   ‘प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आजै समय दिनुभएको छ उहाँसँग मत माग्नका लागि जान लागेको छु,’ उम्मेदवार यादवले भने ।   अन्य दलसँग पनि समय लिन लागेको बताउँदै उनले सम्भवतः आजै दलका नेता तथा सांसदसँग भेट्ने बताए । आफू गठबन्धनको साझा रहेको बताउँदै सम्पूर्ण दल आफूलाई सहयोग गर्ने उनले बताए । 

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन्। सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्नेकाम भइरहेको बताए।  उनले सत्ता समीकरण परिवर्तन भएपछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताए। 'सरकारमा जाने तयारी भन्ने होइन । परिस्थितिलाई मूल्याङ्कन गर्नुपर्ने हुन्छ,'अहिले सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भएको छैन,'उनले भने।   रास्वपा छुट्टै परिचय बोकेर बनेको दल भएकाले पछिल्ला राजनीतिक घटनाक्रम नियाल्दै गरेको उनले बताए । आफ्नो दलको  राजनीतिक अभ्यास सुरुआती चरणमा रहेको सभापति  लामिछानेले उल्लेख गरे। सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा अब के गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल हुने उनको भनाइ छ।   आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी सुरु गरेको उनले जानकारी दिए।

काठमाडौं : सुनको मूल्य बढ्ने क्रम जारी छ। अघिल्लो कारोबार दिन आइतबार १ हजार ७०० रुपैयाँले बढेको सुन सोमबार तोलामा ६ सय रुपैयाँले वृद्धि भएको हो।   आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १०० पुगेको छ। नेपाल सुनचाँदी महासंघका अनुसार तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।   सोमबार चाँदीको मूल्य समेत बढेको छ। आज चाँदी तोलामा १० रूपैयाँले बढ्‍दा प्रतितोला १ हजार २५५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।   आइतबार चाँदी प्रतितोला २५ रुपैयाँले बढेर  १ हजार २४५ रुपैयाँमा किनबेच भएको थियो।

काठमाडौं: सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिएपछि आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपाललाई जितका लागि पपुवा न्युगिनी (पीएनजी) ले ९६ रनको सहज लक्ष्य दिएको छ ।    त्रिवि मैदान कीर्तिपुरमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको पीएनजीले ३२ ओभरमा सबै विकेटको क्षतिमा ९५ रन  मात्र बनायो ।    पीएनजीका लागि कप्तान असाद भालाले २० रन बनाउनुभयो । सेसे बाउले १८, चाल्स अमिनीले १६, हिरि हिरिले १४ र चाद सोपरले अविजित आठ रन बनाउनुभयो ।    पीएनजीलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिनुभयो । ललित राजवंशी र कुशल मल्लले दुई दुई तथा सोमपाल कामीले एक विकेट झर्नुभयो ।    नेपाल आजको खेलमा पनि लगातार जितको लय कायम राख्ने लक्ष्यमा छ । लिगको चौथो स्थानमा रहँदै एकदिवसीय मान्यता जोगाएको नेपाल बाँकी दुई खेल जित्दै शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउने योजनामा छ ।   तालिकाको अन्तिममा रहेको पीएनजी छनोटबाट बाहिरि सकेको छ । लिग-२ अन्तर्गत सिरिजकै अन्तिम खेल नेपालले चैत २ गते युएईसँग खेल्नेछ । 

नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी नियुक्त भएका छन् । एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । पर्वतबाट लगातार दोस्रोपटक चुनाव जितेका गिरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका करिब २ महिना स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए । प्रचण्डले राष्ट्रपति चुनावमा गठबन्धन बदलेपछि एमाले सरकारबाट बाहिरिँदा गिरीले पनि राजीनामा दिएका थिए । ओलीले सांसद महेश बर्तौलालाई सचेतक चयन गरेका छन् । बर्तौला पहिलोपटक चुनाव जितेर संसदमा आएका हुन् । उनले मकवानपुरमा विरोध खतिवडालाई हराएका थिए । उनीहरू दुवै जना कुनै बेलासँगै अनेरास्ववियुको केन्द्रीय कमिटीमा थिए । प्रतिनिधिसभा निर्वाचन भएको ४ महिनापछि ओलीले दलको प्रमुख सचेतक र सचेतकमा युवा नेतालाई जिम्मा दिएका हुन् ।   गिरी विद्यार्थी राजनीतिमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति भएका थिए । बर्तौला पनि विद्यार्थी राजनीतिमा हुँदा मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापति भएका थिए ।   बर्तौला राष्ट्रपति र उपराष्ट्रपति चुनावमा एमाले उम्मेदवारका प्रतिनिधि हुन् ।   नेकपा विभाजनपश्चात प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा एमालेबाट प्रमुख सचेतकमा विशाल भट्टराई र सचेतक शान्ता चौधरी थिए । गत निर्वाचनमा भट्टराई र चौधरी दुवै पराजित भए ।

 नयाँ दिल्ली : सन् २०२३ को ओस्कारमा भारतले दुईवटा अवार्ड पाएको छ ।   निर्देशक एसएस राजामौलीको फिल्म आरआरआरको गीत ‘नाटु–नाटु’ ले ‘बेस्ट ओरिजिनल गीत’ विधामा ओस्कार अवार्ड जितेको हो । 'नाटु-नातु' ओस्कार जित्ने पहिलो भारतीय प्रोडक्सनले बनाएको गीत हो।   गीत संगीतकार एमएम किरावाणीले अवार्ड जितेपछि एकेडेमी अवार्डलाई धन्यवाद दिँदै भने, ‘म सिकर्मीहरुको कुरा सुनेर हुर्केको मान्छेले आज ओस्कार जितेको छु ।'   यसअघि भारतको ‘द एलिफन्ट व्हिस्पर्स’ ले उत्कृष्ट वृत्तचित्र सर्ट फिल्मको लागि ओस्कार अवार्ड जितेको थियो।   ओस्कार अवार्डको स्टेजमा नाटु–नाटु गीत पनि प्रस्तुत गरिएको थियो, जसलाई दर्शकले निकै रुचाएका थिए ।

पोखरा:    राष्ट्रपति विद्यादेवी भण्डारी  आफ्नो छोरीको घरमा सर्ने भएकी छिन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेसँगै शीतलनिवास जाने तयारी छ ।  राष्ट्रपति भण्डारीका सचिवालयका अनुसार भण्डारीको घर बन्दै गरेकाले शीतलनिवासबाट केही समय छोरीको घरमा सर्ने तयारी गरेकी हुन् । भण्डारीका दुई छोरीहरु छन् ।  प्रथम राष्ट्रपति डा. रामवरण यादव झन्डै आठ वर्ष र राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो र तेस्रो कार्यकालका लागि सात वर्ष गरी १५ वर्ष राष्ट्र प्रमुखको दायित्वमा रहेकी थिइन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज (सोमबार) पद तथा गोपनीयताको शपथग्रहण गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो राष्ट्रपतिको कार्यभार समाल्नेछन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिदाइ गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी हिजो (आइतबार) नै काठमाडौं पुगेका छन् । राष्ट्रपति भण्डारीलाई बिदाइ गर्ने भन्दै मुख्यमन्त्री अधिकारीलाई काठमाडौं निमन्त्रणा गरेको हो ।  नेकपा एमालेले भोलि उपराष्ट्रपतिको निर्वाचन केन्द्रित छलफल गर्ने भएकाले मुख्यमन्त्री अधिकारी काठमाडौं गएका हुन् ।   

काठमाडौं:    नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ ।  राष्ट्रपतिको कार्यालयले उहाँको शपथका लागि  दिउँसो १ बजे शीतल निवासमा विशेष समारोहको आयोजना गर्दैछ ।   नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुहुने जनाइएको छ । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो ।   संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । नेपालमा विसं २०६२/६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।