काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका आङ्गिकतर्फ आठ क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । देशभरका क्याम्पसमा हिजो (फागुन २७ गते) उत्साहजनक रूपमा उम्मेदवारको मनोनयन भए पनि आठ आङ्गिक क्याम्पसमा भर्ना विवादले निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी सङ्गठनबीच भर्नाका विषयमा विवाद भएको कारणले निर्वाचन प्रक्रिया रोकिएको जानकारी दिनुभयो। उहाँका अनुसार उपत्यकामा त्रिचन्द्र क्याम्पस, विश्वभाषा क्याम्पस र आयुर्वेद क्याम्पस तथा उपत्यकाबाहिर पृथ्वीनारायण क्याम्पस पोखरा, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज, सिद्धनाथ विज्ञान बहुमुखी क्याम्पस महेन्द्रनगर, धवलागिरि क्याम्पस बागलुङ र वीरेन्द्र क्याम्पस चितवनमा निर्वाचन प्रक्रिया अवरुद्ध भएका हुन् । उहाँले अवरुद्ध भएको क्याम्पसमा निर्वाचन प्रक्रिया थाल्न क्याम्पस प्रमुखलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । “हामी यसपटक सबै क्याम्पसमा निर्वाचन गराउने छौँ”, उहाँले भन्नुभयो, “रोकिएको क्याम्पसमा विद्यार्थी सङ्गठनसँग वार्ता गरेर प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छौँ ।” आरआर क्याम्पस, नेपाल कमर्श क्याम्पस, जनप्रशासन क्याम्पसमा रोकिएको निर्वाचन प्रक्रिया आजै सुरु गर्ने उहाँले जानकारी दिनुभयो । हिजो उम्मेदवारीसँगै विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको हो । दुई क्याम्पसमा निर्विरोध खेलकुद निर्देशनालयका निर्देशक अधिकारीले दुई क्याम्पसमा निर्विरोध निर्वाचित भएको जानकारी दिनुभयो । उहाँका अनुसार गोरखा बहुमुखी क्याम्पस गोरखा र धनकुटा बहुमुखी क्याम्पस धनकुटामा स्ववियुको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । यसपटकको स्ववियु निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट हुँदैछ । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ यता नियमित हुनसकेको छैन । विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा विसं २०७३ चैत १५ गते भएको थियो । आजै उम्मेदवारमाथिको दाबी उपरमाथि छानबिन गरेपछि उम्मेदवारको नामावली प्रकाशन गरिएको छ । फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। स्ववियु निर्वाचन चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । निर्वाचन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ ।
काठमाडौं: राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदको उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ। निर्वाचन अधिकृतको कार्यालयका प्रमुख निर्वाचन अधिकृत महेश शर्मा पौडेलले आइतबार दिउँसो जारी गर्नुभएको विज्ञप्तिमा अष्टलक्ष्मी शाक्य (बोहोरा), प्रमिला कुमारी, ममता झा र रामसहाय प्रसाद यादव गरी चार जनाको अन्तिम नामावली प्रकाशन गरिएको छ। बुवा तीर्थबहादुर शाक्य र आमा कुल माया शाक्यकी सुपुत्री अष्टलक्ष्मी शाक्यको पति अमृत बोहोरा हुनुहुन्छ। काठमाडौं नागार्जुन नगरपालिका-३, पाँचधाराकी ६९ वर्षीय शाक्य महिला एवम् आदिवासी जनजाति समुदायबाट प्रतिनिधित्व गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। उहाँ नेकपा (एमाले) को तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवार हुनुभएको हो। बुवा सत्यनारायण यादव र आमा मुनियाँ देवी यादवकी सुपुत्री प्रमिला कुमारीको पति विजेन्द्र कुमार राय हुनुहुन्छ। सुनसरीको कोशी गाउँपालिका - १, लौकही बजारकी ५५ वर्षीया यादव महिला एवम् मधेसी समुदायबाट उम्मेदवार हुनुभएको विज्ञप्तिमा जनाइएको छ। यसैगरी, बुवा प्रमादराय यादव र आमा सिहवा देवीको पुत्र रामसहाय यादवकी पत्नी चम्पा देवी यादव हुनुहुन्छ। बाराको सिम्रौनगढ नगरपालिका-९, बसवरियाका ५२ वर्षीया यादव पुरुष एवम् मधेसी समुदायबाट हुनुहुन्छ। जनता समाजवादी पार्टीबाट प्रमिला कुमारी र रामसहाय यादव उपराष्ट्रपति पदमा उम्मेदवार बन्नुभएको हो। बुवा जगदीश झा र आमा जयश्री झाकी सुपुत्री ममता झा महिला एवम् मधेसी समुदायबाट हुनुहुन्छ। सप्तरीको राजविराज नगरपालिका- ७ की ५४ वर्षीया झा जनमत पार्टीको तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवार हुनुभएको हो। राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन, २०७४ मा उपराष्ट्रपति पदमा फरक लिङ्ग वा समुदाय हुनुपर्ने व्यवस्था बमोजिम दलहरूले फागुन २७ गते शनिबार उम्मेदवारी मनोनयन गराएका थिए। उपराष्ट्रपति पदको निर्वाचन चैत ३ गते हुँदैछ।
पोखरा: उच्च अदालत पोखराले पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया तत्काल अगाडि नबढाउन आदेश दिएको छ । अदालतका न्यायाधीश ऋषि राजभण्डारी एकल इजालाशले चैत २ गतेसम्म निर्वाचन सम्बन्धी काम कारवाही अगाडि नबढाउनु भनि अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । ‘निवेदकले अन्तरिम आदेशसमेत जारी गरि पाउन निवेदनमा उठाइएको विषयवस्तुको संवेदनशीलता तर्फ दृष्टिगत गर्दा दुवै पक्षको कुरा सुनी निष्कर्षमा पुग्न उपयुक्त हुने देखिँदा अन्तरिम आदेशको छलफलका लागी मिति २०७९।१२।०२ को पेशी तारिख तोकी सो दिन अन्तरिम आदेशको छलफलमा उपस्थित हुन विपक्षीहरुलाई सकेसम्म छिटो माध्यमद्वारा जानकारी दिई उक्त छलफल हुने मिति २०७९।१२।०२ गते सम्मको लागि निर्वाचन सम्बन्धि काम कारवाही अगाडि नबढाउनु भनि अल्पकालिन अन्तरिम आदेश जारी गरिदिइएको छ,’ आदेशमा भनिएको छ । दर्ता गराएको नाम परिवर्तन भएको भन्दै ‘स्वतन्त्र विद्यार्थी समूह’ ले फागुन २६ गते क्याम्पसलाई विपक्षी बनाइ उच्च अदालत पोखरामा रिट दायर गरेको थियो । विद्यार्थी समूहको तर्फबाट विप्लबी न्यौपानेले रिट दायर गरेकी थिइन् । फागुन १९ गते ‘स्वतन्त्र विद्यार्थी समूह’ नाम राखी निर्वाचन समितिमा नाम दर्ता गराएकोमा निर्वाचन समितिले उक्त समूहको नाम परिवर्तन गरेर ‘पृथ्वी विद्यार्थी मञ्च’ राखेर अन्तिम नामावली प्रशासन गरेको थियो । उक्त समूहले विरोध जनाउदै उच्च अदालत पोखरामा रिट दायर गरेको थियो । यस्तै चुनाव गराउने जिम्मेवारी पाएको निर्वाचन समितिले शनिबार क्याम्पस प्रशासनसमक्ष निवेदन पेश गरी असहजता प्रकट गरेपछि अब निर्धारित समितिमा निर्वाचन नहुने भएको छ । त्रिविको तालिका अनुसार शनिबार उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको थियो । तर ३ दिन अघिदेखि नै केही विद्यार्थी संगठनले निर्वाचन समितिको कार्यालया तालाबन्दी गरेपछि स्थिति असहज बनेको थियो । विद्यार्थी संगठनहरुले गरेको तालाबन्दी खुलाउन गरेको अथक प्रयास सफल नभएपछि मनोनयन दर्ता हुन सकेन । यहीबीच समितिका पदाधिकारीले प्रत्यक्ष–अप्रत्यक्षरुपमा धाकधम्की र भौतिक आक्रमणको चेतावनी भएपछि क्याम्पस प्रमुखसमक्ष विषम परिस्थितिका कारण जिम्मेवारी पुरा गर्न असम्भव भएको भन्दै निवेदन दिएका थिए । समितिका सदस्य–सचिव रहेका बोधराज ढकालले केही विद्यार्थी संगठन तोडफोड र भौतिक आक्रमणमै उत्रन खोजेपछि प्रशासनसमक्ष निवेदन दिएर बाहिरिएको बताए । क्याम्पसको विद्यार्थी कल्याण प्रमुख रहेका ढकालले समितिले नियमसंगत गरेको कामप्रति आरोप लगाउने, तालाबन्दी गर्ने र आक्रमणकै धम्की दिएपछि स्थिति असहज बनेको प्रष्ट्याए । ‘समितिमा रहेका १३ सदस्य निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीमा खटेका थियौं’ ढकालले भने ‘अनवरत काम गरिरहँदा पनि समितिमाथि बाराम्बार थ्रेट आउने र तालाबन्दी गरी कामै गर्न नदिइएपछि सबै सदस्यको सहमतिमा निवेदन दिएका हौं ।’ समितिको शनिबारै बसेको पूर्ण बैठकबाट निर्णय गरी प्रशासनसमक्ष निवेदन दिइएको ढकालले जनाए । ‘दायित्व र जिम्मेवारी सबैको हो, समितिमात्रै खटेर सम्भव भएन’ उनले भने ।
पोखरा: नेपाल मगर विद्यार्थी संघको २८ औं स्थापना दिवसको अवसरमा पोखरा १७ छोरेपाटनस्थित मानवसेवा आश्रममा फलफुल वितरण गरिएको छ । २८ औं स्थापना दिवसको अवसरमा नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेश, कास्की जिल्ला र पृथ्वीनारायण क्याम्पस समितिले सयुक्त रुपमा मानवसेवा आश्रममा फलफुल वितरण गर्दै स्थापना दिवस मनाएको हो । नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशका अध्यक्ष डेक पुनमगरको संयोजकत्वमा आश्रममा फलफुल वितरण गर्दै दिवस मनाएको हो । मानवसेवा आश्रम छोरेपाटनमा ७० जना आश्रीत छन् ।
धादिङ: सिस्नेखोलादेखि काठमाडौं सतुंगल जोड्ने निर्माणाधीन नागढुंगा सुरूङमार्गको समग्र भौतिक प्रगति ५०.१५ प्रतिशत पुगेको छ। आयोजनाले आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार वित्तीय प्रगति ५४.३९ प्रतिशत छ। आयोजनाको मुख्य सुरूङ दुई हजार ६ सय ८८ मिटर लामो छ। हाल यस सुरूङको पूर्व (काठमाडौं) तर्फ ८९३.८० मिटर र पश्चिम (नागढुंगा) तर्फ बाट ९७६ मिटर गरेर जम्मा १८६९.८० मिटर खनिसकिएको छ। सुरूङको मात्र भौतिक प्रगति ७६.३० प्रतिशत भएको आयोजनाको भनाइ छ। त्यस्तै ‘इभ्याकुएसन’ सुरूङको कुल लम्बाइ दुई हजार पाँच सय ५७ मिटर छ। यसको दुई हजार एक सय २७ मिटर सुरूङ खनिएको छ। त्यसमा एक हजार एक सय ४७.२० मिटर र पश्चिमबाट नौ सय ८०.६० मिटर सुरूङ खनिएको छ। तीन वटा अन्डरपास निर्माण गर्नुपर्नेमा सबै पूरा भइसकेको आयोजनाले बताएको छ। त्यस्तै बक्स कलभर्ट चार वटै निर्माण सकिएको छ। एउटा ओभरपास पनि निर्माण भइसकेको छ। तीन वटै पुल निर्माण सकिएका छन्। फ्लाइओभर एउटा निर्माण गर्नुपर्नेमा यसको ९५ प्रतिशत काम सकिएको उल्लेख छ। क्रस–प्यासेजको भने ७४.२० मिटर निर्माण भएको छ। त्यसको कुल लम्बाइ एक सय २८ मिटर छ। यो आयोजना २५ अप्रिल २०२४ सम्म निर्माण सक्ने गरी म्याद थपिएको छ। आयोजनाको औपचारिक निर्माण २०७६ कात्तिक २८ गतेदेखि थालिएको हो। सडक विभाग र जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनबीच अप्रिल, २०२३ भित्र आयोजना निर्माण सक्ने गरी सम्झौता भएको थियो। कोभिड महामारीका कारण पनि आयोजना निर्माण काम पछाडि धकेलिएको आयोजनाले बताएको छ। कोभिडपछि पनि हाज्मा आन्दो जेभीले ४१६ दिन म्याद थप प्रस्ताव गरेको थियो। आयोजना कार्यालयले ८६ दिन म्याद थप गरेको थियो। म्याद थपपछि आयोजना थपिएको समयअनुसार जुलाई, २०२३ भित्र उक्त आयोजना बनिसक्नुपर्ने थियो। यो अवधिमा पनि काम नसकिने भएपछि फेरि म्याद थपिएको हो। अहिले काम भइरहेको छ। यसरी नै काम निरन्तर भयो भने थपिएको अवधिमा काम सकिने उल्लेख छ। सुरूङ निर्माण मात्रै भने आगामी असारसम्म सक्ने तयारी आयोजनाको छ। यसअघि सुरूङ निर्माणमा पनि पटक पटक भौगर्भिक समस्या देखिएको थियो। यसकारण तोकिएको समयमा नसकिने हो कि भन्ने चिन्ता व्यक्त गरिएको थियो। अहिले सुरूङ निर्माणमा त्यस्तो भौगर्भिक समस्या नदेखिएको आयोजनाले उल्लेख गरेको छ। यसअघि निर्माणका क्रममा सुरूङभित्र डिफर्मेसन (पहिरो जाने) समस्या थियो। यो आयोजनालाई नेपालको पहिलो आधुनिक सुरूङमार्गको रूपमा लिइएको छ। नागढुंगा सुरूङमार्ग जापान सहयोग नियोग (जाइका) को सहयोगमा २०६९ देखि २०७२ सालसम्म सर्वेक्षण गरिएको थियो। आयोजनाको ठेक्का र मुआब्जा गरेर कुल लागत करिब २२ अर्ब रूपैयाँ पुग्ने अनुमान गरिएको छ। यसअघि २० अर्ब ६० करोड रूपैयाँमा अयोजना पूरा गर्ने उल्लेख थियो। जापानी येन बलियो हुँदै जाँदा लागत पनि बढेको हो। कुल लागतमध्ये १६ अर्बभन्दा बढी जाइकाले सहुलियत ऋण उपलब्ध गराउनेछ। बाँकी ६ अर्बभन्दा बढी रकम नेपाल सरकारको हुनेछ। सरकारले उपलब्ध गराउने रकम जग्गाको मुआब्जा, संरचना र अन्य प्रशासनिक कार्यमा खर्च हुने उल्लेख छ। जाइकाले उलब्ध गराएको रकम भने ठेक्कामार्फत आयोजना निर्माणमा खर्च भइरहेको छ। १२ मिटर चौडाइको सुरूङमार्गको दायाँबायाँ पैदलयात्रीका लागि पेटी रहन्छ। पेटी दुवैतर्फ एकरएक मिटर उल्लेख गरिएको छ। आकस्मिक अवस्थाका लागि छुट्टै एक लेनको सहायक सुरूङ रहन्छ। सुरूङमा भेन्टिलेटर र जेट फ्यानको सुविधा हुनेछ। यो सुरूङमार्ग नेपाल आयल निगम थानकोट डिपो नजिकै निस्किन्छ र पुनः त्रिभुवन राजपथमा जोडिन्छ। त्यहाँबाट त्रिभुवन राजपथमा जोड्न २।२५ किलोमिटर लामो तीन लेनको एक्सेस रोड रहन्छ। सुरूङमार्ग सञ्चालनमा आएपछि नागढुंगाको जाम हट्ने विश्वास लिइएको छ। यसले समयको बचत हुनुका साथै पेट्रोलियम पदार्थ खपतमा कमी आउने र वायु प्रदूषण कम हुने पनि विश्वास छ। अहिले धादिङ हुँदै काठमाडौं प्रवेश गर्नेहरूले नौबिसेदेखि नै घन्टौं जाममा बस्नुपर्ने बाध्यता छ। दैनिक तीनदेखि चार घन्टासम्मको जाम हुने यो स्थानमा सुरूङमार्ग सञ्चालन आएपछि नौबिसेबाट काठमाडौं २० देखि २५ मिनेटसम्ममा आइपुग्ने दाबी सरकारी अधिकारीहरूको छ।
काठमाडौँ: आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध लागातार सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले छैटौं ओभरमा आफ्नो चौथो विकेट गुमाएको हो । नेपालका सोमपाल कामीले आसिफ खानलार्य पाँचौं ओभरको पहिलो बलमा ६ रनमा आउट गराएका हुन् । यसअघि ललित नारायाण राजवंसीले नेपालका लागि तेस्रो विकेट लिएका थिए ।
दमौली: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको विमलनगर–घाँसीकुवा खण्ड आजदेखि थप १५ दिन बन्द हुने भएको छ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्ड १५ दिनसम्म दैनिक चार घण्टाका लागि बन्द गर्न लागिएको हो । उक्त खण्डमा यही फागुन १८ गतेदेखि राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरिएकामा फेरी २८ गतेदेखि चैत १२ गतेसम्मका लागि सोही समय अवधिमा अत्यावश्यक सवारीसाधन बाहेक अन्य सवारीसाधन पूर्णरूपमा बन्द गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए । उक्त खण्डमा काम जारी रहेकाले थप १५ दिन दैनिक चार घण्टा बाटो बन्द गर्न जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भएको उनले बताए । राजमार्ग बन्द नगरे सवारीसाधन सञ्चालन भइरहने र काम गर्न अप्ठ्यारो हुने भएकाले थप १५ दिन बाटो बन्द गर्न अनुरोध भएपछि प्रशासन कार्यालयबाट निर्णय भएको मुग्लिन पोखरा सडक योजना पूर्वीखण्डका प्रमुख इञ्जिनीयर नरेन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार बाटो बन्द गरेर रातको समयमा भीर काट्ने काम भइरहेको छ । उक्त सडक विस्तार योजनाअन्तर्गत तनहुँमा दुई खण्ड विभाजन गरिएकामा आँबुखैरेनीदेखि जामुनेसम्म एउटा खण्ड र जामुनेदेखि पोखरासम्म अर्को खण्डमा राजमार्ग विस्तारको काम भइरहेको छ । दुवै खण्डको हालसम्मको प्रगति १० प्रतिशत छ । पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको भौतिक प्रगति १५दशमलव पाँच प्रतिशत छ । उनका अनुसार यस खण्डमा नाली निर्माण, रिटेनिङ वाल निर्माण, भित्ता काट्ने र सडक फराकिलो बनाउने काम भइरहेको छ । विद्युत् पोल स्थानान्तरण नहुँदा काम सुस्त भएको इन्जिनियर सुवेदीले बताए ।
सल्यान: जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतभित्र एक व्यक्तिले आत्महत्याको प्रयास गरेका छन् । हाडनाता जबरजस्ती करणीमा पक्राउ परेका बनगाड कुपिण्डे नगरपालिकाका ३४ वर्षीय थुनुवाले हिरासतभित्रै ब्लेडले घाँटी काटेर आत्महत्याको प्रयास गरेका हुन् । प्रहरी निरीक्षक सन्तोष खनालले आइतबार बिहान डिउटीमा खटिएका प्रहरीको आँखा छलेर ब्लाङकेट ओढेर ओछ्यानभित्र ब्लेडले घाँटी काटेर आत्महत्याको प्रयास गरेको बताउनुभयो । उहाँका अनुसार उक्त व्यक्ति बिहान अबेरसम्म सुतेको र नास्ता खान उठाउन खोज्दा ओछ्यानबाट रगत बगिरहेको देखेपछि हिरासतबाट निकालेर तत्काल उपचारका लागि जिल्ला अस्पताल सल्यानमा लगिएको हो । ब्लेडले धेरै काटिएकाले जिल्ला अस्पताल सल्यानमा उपचार सम्भव नभएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल कालागाउँ सुर्खेतमा रिफर गरिएको छ । उनी गएको २५ गते जबरजस्ती हाडनाता करणीमा पक्राउ परेका थिए । उनलाई ५ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । उनीसँग ब्लेड कसरी र कहाँबाट आयो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
काठमाडौं : कप्तान रोहित पौडेलको अर्धशतकप्रेरित नेपालले आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा यूएईलाई दुई सय ४९ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर दुई सय ४८ रनको योगफल तयार गर्यो। आठौं ओभरमा दुवै ओपनरसहित तीन विकेट गुमाएको नेपालका लागि कप्तान रोहित र भीम सार्कीले ५४ रनको महत्त्वपूर्ण साझेदारी गर्दै इनिङ उकासेका थिए। भीम ३७ बलमा चार चौकासहित २९ रन बनाएर आउट भए। पाँचौं नम्बरमा क्रिजमा उत्रिएका आरिफ शेखले रोहितसँग ८६ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलतर्फ डोर्याएका थिए। रोहित एक सय १२ बलमा ९ चौकासहित ७७ रनको अर्धशतकीय इनिङ खेलेर पभिलियन फर्के। आरिफ शेख ५२ बलमा पाँच चौकासहित ४३ रन जोडेर आउट हुँदा गुल्शन झाले ३२ बलमा एक चौका र तीन छक्कासहित ३७ रनको आक्रामक इनिङ खेले। ओपनर आसिफ शेख शून्य, कुशल भुर्तेल आठ र कुशल मल्ल ९ रन बनाएर आउट भएका थिए। सन्दीप लामिछाने दुई रनमा आउटमा हुँदा दीपेन्द्रसिंह ऐरी १९ बलमा तीन चौका र दुई छक्कासहित ३४ रन जोडेर पभिलियन फर्के। ललित राजवंशी शून्यमा अविजित रहँदा सोमपाल कामी २ रन जोडेर पेभेलियन फर्के। यूएईका लागि आयान खान, जहुर खान, रोहन मुस्तफा र जवार फरिदले दुई–दुई विकेट लिए। आर्यान लाक्रा र जुनेद सिद्धिक्वीले एक–एक विकेट लिए। यो खेलमा जित निकाले नेपालले लिग २ का दुई खेल बाँकी रहँदै एकदिवसीय मान्यता जोगाउने छ। यो योगफल जोगाउन सके नेपालको शीर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायम रहने छ। आजको खेलमा पराजित भए यूएईले एक दिवसीय मान्यता गुमाउने छ।