काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणका लागि प्रस्थान गर्नुभएको छ । बुधबार अपराह्न प्रधानमन्त्री प्रचण्ड भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको हो । त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत मन्त्रीहरूले बिदाइ गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा दुई पक्षीय वार्ता गर्नुहुने छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेको बताए। यसअघि नेकपा एमाले नेतृत्व सरकारका पालामा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता गरेकी थिइन्।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चारदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड दिउँसो १ बजे नेपाल वायुसेवा निगमको विमानमार्फत भारत जान लाग्नुभएको हो । प्रधानमन्त्रीको भ्रमण टोलीमा पाँच जना मन्त्रीसहित ९० जनाको टोली रहनेछ । भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड दिउँसो २:५० मा दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवरतरण गर्नुहुनेछ । भोलि बिहान १०स्३० बजेदेखि प्रधानमन्त्रीको भेटवार्ता सुरु हुने छ । भोलि नै भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तालिका रहेको छ । प्रचण्ड र मोदीबीच द्विपक्षीय हितका विषयमा छलफल हुनेछ । त्यसलगत्तै दुई देशबीच विभिन्न विषयमा सम्झौता हुने तालिका रहेको छ । प्रधानमन्त्रीको भारत भ्रमणमा दीर्घकालीन उर्जा व्यापार, भारत हुँदै बंगलादेशमा विद्युत् व्यापार, प्रसारण लाइन, हवाई रुट, कृषिमा सहयोग लगायतका विषयमा सम्झौता र सहकार्यको तयारी भैरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई देशबीच व्यापार, पारवहन, लगानी प्रवर्द्धन, सिँचाइ बाढी तथा डुबान नियन्त्रण, कृषि, हवाई प्रवेश मार्ग, सम्पर्क सञ्जाल निर्माण, पक्की पुल निर्माण तथा एकीकृत जाँचचौकी, आन्तरिक कन्टेनर डिपो पूर्वाधार निर्माण, सीमा समस्या लगायतको विषयमा छलफल गर्ने तयारी छ ।
पोखरा: पोखरा महानगरपालिका वडा नंं ८, न्युरोडमा रहेको लक्ष्मी आवासिय माध्यमिक विद्यालयमा डा. विश्वयुधिर पौडेलले मंगलबारदेखि प्राचार्यको कार्यभार सम्हालेका छन् । धेरै विद्यार्थी तथा अभिभावकहरुको मन जित्न सफल विद्यालयको रुपमा परिचित विद्यालयलाई वर्तमान परिस्थितिमा २१ औं सताब्दीको गुणस्तर युक्त शिक्षा दिन सक्ने वनाउनको लागि आफुले हालसम्म प्राप्त विज्ञता, दक्षता र अनुभव उपयोगी हुने प्राचार्य डा. पौडेलले बताए । उनले विद्यालयलाई थप उचाइमा पु¥याइ आउँदो २ वर्षमा पोखराको अग्रणी विद्यालयको रुपमा चिनाउने आफ्नो लक्ष्य रहेको मंगलबार विद्यालयमा आयोजित पदास्थापन तथा परिचय कार्यक्रममा बताए । काठमाडौं विश्वविद्यालयबाट शिक्षा विषयमा विद्यावारिधि प्राप्त गरेका पोखरा अर्चलवोट निवासी डा. पौडेल प्रशिक्षक मात्रै नभइ कुशल व्यवस्थापक साथै काठमाण्डौ र पोखराका धेरै शैक्षिक संस्थाहरुको नेतृत्व तहमा समेत रहेर कार्य गरेको अनुभव छ । विद्यालयका संस्थापक लिलावती प्रधान र निर्वतमान प्राचार्य शालिकराम अधिकारीको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
पोखरा: तीन दिनसम्म भएको पोखरा एमयूएन आइतबार सकिएको छ । युथ थिंकर्स सोसाइटी पोखराको आयोजनामा शुक्रबारदेखि भएको संयूक्त राष्ट्रसंघको नमुना महासभामा तीन जना बेस्ट डेलिगेटबाट सम्मानित भए । देशभरका १४ जिल्लाबाट प्रतिनिधि गरेका युवा मध्य ३ जनाले बेस्ट डेलिगेट बन्न सफल भएको वाइटिएस पोखराका अध्यक्ष रिजन ढुंगानाले बताएका छन् । उनका अनुसार सहभागी प्रतिनिधिले विभिन्न ८० देशको प्रतिनिधित्वको गरेका थिए र प्रतिनिधित्व मध्य यूएसए, इजिप्ट र पाकिस्तान बेस्ट डेलिडेट बन्न सफल भएका हुन् । यूएसएका प्रतिनिधि हार्दिक पराजुली यूएनइपीबाट बेस्ट डेलिगेट बने । इकोफ्यानबाट सौगात गौतम बेस्ट डेलिगेट बन्न सफल भएका हुन् । डब्लुएचओबाट पाकिस्तानको प्रतिनिधित्व गरेका आदर्श झा बेस्ट डेलिगेट बन्ने । उनीहरुलाई ट्रफी र प्रमाणपत्रद्धारा सम्मान गरिएको हो । तीनै क्षेत्रबाट बेस्ट इस्टाटेजिक्स मलेसियाबाट अल्भिना बराल, यूएसएबाट उत्सब सेडी र एभिक कर्न चाइनाबाट जितेका छन् । बेष्ट पोजिसन पेपरबाट युकेकी प्रतिनिधि प्रतिक्षा सेडी, रसियाबाट दीपिका श्रेष्ठ र इन्डियाका प्रतिनिधि आर्य पुडासैनीले पुरस्कृत भएका हुन् । लेखसाइडमा फर्जी औषधिका कारण विश्वमा बढ्दै गएको खतरा, आर्थिक मन्दी र विद्युतीय फोहोरको सुरक्षित व्यवस्थापनका सम्बन्धमा नमुना महासभामा बहस भएको थियो । उद्घाटन समारोह र समापन सत्रमा प्रमुख अतिथि नेपालका लागि अमेरिकी राजदूतावासका अधिकारी धु्रव शाह थिए । शाहले नमुना महासभाले डेलिगेटलाई आलोचनात्मक विश्लेषण सिपलाई डेलिगेटहरुलाई सक्षम बनाएको बताए । ‘तपाईंहरुको यो प्रशिक्षण वा सिकाइमार्फत शैक्षिकसँगै राष्ट्रिय तथा विश्वव्यापी मुद्दाहरू कसरी उठाउने भन्ने जान्न बुझ्न अवसर पाउनुभयो भन्ने मैले बुझेको छु,’ शाहले भने । सभामा विश्वव्यापी समस्याहरूको सम्भावित समाधानका उपाय पनि प्रस्तुत भएको थियो । विषय वस्तुमा केन्द्रित भएर भोटिङ गर्दा नीतिगत, कुटनीति, अन्तर्राष्ट्रिय सम्बन्धलाई मध्यनजर गरिएको थियो । संस्थाका अध्यक्ष रिजन ढुंगानाले डेलिगेटहरुलाई सौहार्द्रपूर्ण वातावरणमा कार्यक्रममा सकिएको बताए । उनले नमुना सभा एउटा सिकाइ भएकाले यसको भरपूर प्रयोग गर्न अनुरोधसमेत गरेका थिए । कार्यक्रममा वाइटिएसका कोफाउन्डर क्षितिज भट्टराई, वामन घिमिरे लगायत उपस्थित थिए ।
काठमाडौं: अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७.५५ प्रतिशत रहेको छ । यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा २.३७ प्रतिशतले कम र संशोधित अनुमानको तुलनामा १६.३७ प्रतिशतले बढी हो । कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब ८ करोड विनियोजन रहेको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड व्यहोर्दा ४ खर्ब ५२ अर्ब ७५ करोड न्यून हुनेछ । सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ७५ करोड जुटाइनेछ । राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद २ खर्ब ४० अर्ब आन्तरिक ऋणबाट व्यहोरिनेछ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ८८ अर्ब रुपियाँको हुनेगरी योजना बनाउन सिलिङ दिएको थियो । महतले योजना आयोगको भन्दा ६३ अर्ब ठुलो बजेट ल्याउनुभएको हो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट पेस गर्नुभएको थियो । जसमध्ये चालु तर्फ ४२ प्रतिशत अर्थात् ७ खर्ब ५३ अर्ब ४० करोड रुपियाँ, पुँजीगततर्फ २१.२ प्रतिशत अर्थात् ३ खर्ब ८० अर्ब ३८ करोड रुपियाँ र वित्तीय व्यवस्थापनतर्फ १२।८ प्रतिशत अर्थात् २ खर्ब ३० अर्ब २२ करोड रुपियाँ र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ २४ प्रतिशत अर्थात् ४ खर्ब २९ अर्ब ८३ करोड रुपियाँ थियो । त्यस्तै तत्कालीत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोडमा झार्नुभएको थियो । फराकिलो आर्थिक वृद्धि हासिल गर्ने गरी बजेट लक्षित छ । समृद्धि र सुशासन कायम गर्न, डिजिटल र हरित अर्थतन्त्र निर्माणमा पनि बजेट केन्द्रित हुनेछ । स्रोतको उच्चतम प्रयोग गर्ने विनियोजन विधेयकका प्राथमिकताहरू सुझावको रूपमा लिएको महतले बताउनुभयो । निजी क्षेत्रका सुझाव र जनअपेक्षा सम्बोधन गर्ने, आशाको सञ्चार गर्ने गरी बजेट आएको उहाँले बताउनुभयो । सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०÷८१ को बजेट तयार पारेको अर्थमन्त्री डा। महतले बताउनुभयो ।
काठमाडौं: सरकारले सांसद् विकास कोष ब्युत्याएको छ। संसद् विकास कोष शीर्षकमा प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड रुपैयाँ उपलब्ध गराउने भएको हो। निर्वाचन क्षेत्रका जनताले अपेक्षा गरेका स्थानीय आवश्यकताहरू जनप्रतिनिधिमार्फत् सम्बोधन गर्न भन्दै आठ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो। अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट प्रस्तुत गर्दै प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड रुपैयाँ छुट्याइएको बताए।
पोखरा: सरकारले बागलुङ, पर्वत र म्याग्दीको उत्तरी क्षेत्रलाई पर्यटन र मगर संस्कृति, पर्यटन क्षेत्रको रुपमा विकास गर्न प्रोत्साहन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बागलुङ, पर्वत र म्याग्दीको उत्तरी क्षेत्रलाई मगर सस्कृति पर्यटन क्षेत्रको रुपमा विकास गर्न प्रोत्साहन गर्ने बताएका हुन् ।
काठमाडौं: सरकारले औषधिजन्य प्रयोगको लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताउनुभयो ।

