कपिलवस्तु: कपिलवस्तुमा बुद्धको विश्वकै सबैभन्दा ठूलो मूर्ति बन्ने भएको छ । कपिलवस्तु नगरपालिका क्षेत्रभित्र दुई सय ४५ मिटर अग्लो मूर्ति निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । गौतम बुद्धले २९ वर्ष बिताएको झल्को दिने गरी मूर्ति निर्माण गरिने अन्तर्राष्ट्रिय बौद्धिष्ट केन्द्रका सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतमले जानकारी दिए । समझदारीपत्रमा अन्तर्राष्ट्रिय बौद्धिष्ट सेन्टरका प्रमुख चोइङ क्विई सेङ स्टेवार्ड, सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतम र कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले हस्ताक्षर गरेका छन् । प्राचीन कपिलवस्तुमा बुद्धको मूर्ति निर्माण हुने भएपछि आफूलाई खुसी लागेको कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले बताए । विश्वको सबैभन्दा ठूलो मूर्ति नगरमा बन्नु गर्वको विषय भएको उनले बताए । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले कपिलवस्तुको विकासमा मूर्ति निर्माणले नयाँ आयाम थपिने बताए ।
काठमाडौं: उपराष्ट्रपति निर्वाचनमा मतदान कार्य सकिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले दिउँसो ३ बजेसम्म संघीय संसद्का तीन सय ११ सदस्य र प्रदेश सभाका पाँच सय १८ सदस्यले मतदान गर्नुभएको जानकारी दिनुभयो । नेपालको संविधानको धारा ६२ मा राष्ट्रपति निर्वाचन सम्बन्धमा सङ्घीय संसद्का सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने व्यवस्था छ । संविधानको धारा ६९ मा उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया र पदावधिसम्बन्धी व्यवस्था राष्ट्रपतिसरह हुने व्यवस्था छ ।
काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत लिँदै छन् । सत्ता साझेदार दलका शीर्ष नेतासँग परामर्श गरेपछि चैत ६ गते विश्वासको मत लिने निर्णय गरेका हुन् । सत्ता साझेदार दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी(जसपा), नेकपा एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएका छन् । कांग्रेस, माओवादी केन्द्रसहित आठ दलले विश्वासको मत दिने पक्का जस्तै छ । सत्ता साझेदार दलबाट मात्रै प्रधानमन्त्री प्रचण्डले १५१ मत पाउने छन् । सत्ता साझेदार दलबाट मात्रै प्रचण्डले सजिलै विश्वासको मत पाउने अवस्था छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुनै निर्णय गरेको छैन । ‘हामीले प्रधानमन्त्रीज्यूलाई विश्वासको मत दिने नदिने विषयमा कुनै निर्णय गरेका छैनौँ’ रास्वपाका प्रवक्ता मुकुल ढकालले भने, ‘प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने समय अझै बाँकी भएकाले बैठक बसेर निर्णय सार्वजनिक गर्ने छौँ ।’ यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिपक्षमा बस्ने भएको छ । आफूहरू सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थामा पुगेकाले प्रतिपक्षमै बस्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए । ‘हामीले सबैभन्दा पहिले सरकारबाट बाहिरिएका हौँ । हामी बाहिरिएकै कारण प्रधानमन्त्री ज्यूले विश्वासको मत लिने अवस्था भयो’ श्रेष्ठले भने, ‘त्यसैले हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरा भएन । हामी प्रतिपक्षमै बस्छौँ ।’ नेकपा एमाले भने प्रमुख प्रतिपक्षमै बस्ने निर्णय गरी सकेको छ । सरकारबाट बाहिरिए लगतै एमालेले प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । प्रधानमन्त्रीले विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । आगामी चैत दोस्रो साताभित्र मन्त्रिपरिषद् पुनर्गठन भइसक्ने माओवादी निकट नेताहरूले बताएका छन् ।
गलकोट: यसैसाता ग१ख ६२८ नम्बरको बस नवलपुरका पर्यटक बोकेर चर्चित पर्यटकीय गन्तव्य ढोरपाटन पुग्यो । सडक समस्याका कारण यसअघि साना सवारीसाधन मात्रै चल्दै आएको ढोरपाटनमा पछिल्लो समय बसका कारण पर्यटकलाई सहज भएको छ । एक साताअघि मात्र पनि बागलुङ बजारबाट केही सञ्चारकर्मीसहित बोकेर बस ढोरपाटन गएको थियो । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन क्षेत्र घुम्न पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो नै लाग्न थालेको छ । उनीहरुलाई ढोरपाटनमा बस पुग्न थालेपछि सहज भएको पर्यटकलाई घोडा सफारी गराउँदै आएका स्थानीय मिनलाल विकले बताए । सडक साँघुरो हुँदा साना सवारी साधनमा थोरै पर्यटक पुग्ने गरेकामा पछिल्ला दिनमा सडकमा केही सुधार भएपछि पर्यटक आगमन सहज भएको हो । “पहिलाभन्दा सडकको केही सास्ती हटेको छ, जोखिमका बाबजुद ढोरपाटनमा अहिले बस आउन थालेका छन्, पहिला साना सवारीसाधन जिप तथा भ्यानमा थोरै पर्यटक आउँथे अहिले बस चल्न थालेपछि एकैपटक २५÷३० जनाको समूह ढोरपाटन आउने गरेका छन्”, उनले भने । घोडा सफारीका लागि विक जस्ता दुई दर्जनभन्दा बढी स्थानीयले घोडा पालेर राखेका छन् । “पर्यटक बढ्न थालेपछि अहिले घोडा सफारीसमेत फस्टाउँदो छ, दैनिकजसो रु एक हजार कमाइ हुन थाल्यो, कहिले अलि धेरै नै हुन्छ, पछिल्लो समय घोडामा चढ्ने, तस्बिर खिच्ने र टिकटक बनाउनेले गर्दा राम्रो आम्दानी हुने गरेको छ”, उनी भन्छन् । पर्यटक नआउँदा भने घोडामा घरायसी सामग्री ओसारपसार गर्ने गरिएको छ । पछिल्लो समय बसमा ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको पाइएको ढोरपाटन घुम्न पुगेका पर्यटक अनन्तबहादुर खड्काले बताए । उनले आफू बागलुङबाट बसमा चढेर ढोरपाटन घुम्न आएको जनाउँदै पहिलाभन्दा ढोरपाटन पुग्ने सडक केही सहज भएको जनाए । “बर्खामा खोला बढ्छ, बुर्तिबाङबाट झन्डै ४० किलोमिटर सडक कच्ची छ, हिउँदमा बस चल्दोरहेछ, साना सवारीसाधनमा धेरै खर्च तिरेर ढोरपाटन पुग्नुभन्दा बसमा धेरै जना पुग्दा सस्तो पर्ने रहेछ”, खड्काले भने, “बस पुगेपछि ढोरपाटनमा धेरैको पहुँच पुग्नेछ । सडकको स्तरोन्नति गर्न भने बाँकी छ, ढोरपाटन–सालझन्डी सडक अप्ठ्यारो छ, अब भने पर्यटकको लागत घट्ने छ ।” बागलुङबाट बुर्तिवाङसम्म पक्की र त्यहाँबाट ढोरपाटनसम्मको सडक कच्ची छ । कच्ची सडक भए पनि बस पुग्न थालेको सवारी चालक रमेश पौडेलले बताए । “म दोस्रो पटक बस ल्याएर पर्यटकसहित ढोरपाटन आए, बोबाङको भुजीखोला क्षेत्रमा केही सडक सुधार गर्न आवश्यक छ, तर देउरालीमा सडक चौडा बनाएका कारण बस मज्जाले उक्लियो”, चालक पौडेलले भने, “ठूला बस पुग्न ढोरपाटन मुस्किल छ, तर मिनीबस पुग्न थालेका छन्, हिउँदमा मात्रै बस पुगे पनि सडक स्तरोन्नतिसँगै बर्खामा समेत बस लैजाने व्यवस्था मिलाउन आवश्यक छ ।” ढोरपाटन नगरपालिकाका उपप्रमुख कल्याण कायतले ढोरपाटन पुग्ने सडकमा केही सुधार भए पनि बर्खामा भने सास्ती नै भएको बताए । उनले सडकको मर्मतसम्भार नगरपालिकाले गर्दा अहिले बस पुग्ने अवस्था आए पनि सडक कालोपत्रका लागि सालझन्डी–ढोरपाटन सडक आयोजनाले कुनै चासो नदिएको बताए । “सडक स्तरोन्नति हुन सकेको छैन, तर देउराली क्षेत्रमा सडकको घुम्ती चौडा पार्ने काम भएकाले बस पुग्न थालेका हुन्, बर्खामा बस पुग्न मात्रै होइन साना सवारीसाधनसमेत पुग्न समस्या हुन्छ, सडक स्तरोन्नति भए ढोरपाटनमा थामी नसक्नु पर्यटक आउने हाम्रो कल्पना हो”, उनले भने, “सडक नै पहिलो प्राथमिकता हो, ठूलो आयोजनाले काम गर्दैन, मर्मतसम्भार गरेको सडकमा बस गुड्न थालेका हुन्, तर यात्रा सहज भने छैन, पक्की सडक पुगे ढोरपाटनमा पर्यटकको चाप हुनेछ ।”
काठमाडौं : उपराष्ट्रपति निर्वाचनमा शुक्रबार दिउँसो २ बजेसम्म ८०१ मत खसेको छ। संघतर्फ २९१ र प्रदेशतर्फ ५१० गरी कूल ८०१ मत खसेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उपराष्ट्रपतिको निर्वाचन दिउँसो ३ बजेसम्म हुनेछ। मतदानलगत्तै मतगणना सुरू हुने र साँझ ६ बजेभित्र निर्वाचनको मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ। उपराष्ट्रपतिका लागि एमालेकी अष्टलक्ष्मी शाक्य,जसपाका यादव र जनमत पार्टीको ममता झा चुनावी मैदानमा छन्। निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेका छन् ।
काठमाडौं: नेपाल सरकारले विसं २०८० को वैशाख १ देखि चैत मसान्तसम्म (एक वर्षभरिमा) सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक, पर्व एवम् सट्टा बिदा र कार्यालय समयसमेत निर्धारण गरेको छ । मन्त्रिपरिषद्को निर्णयानुसार गृह मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशन गरी बिदा तथा कार्यालय समय निर्धारण गरेको हो । मन्त्रालयले नववर्ष, उभौली, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, दशैं (कात्तिक ४ देखि ९ सम्म), तिहार (कात्तिक २६ देखि ३० सम्म), छठ, क्रिसमस, उधौली, तमु ल्होसार, माघी, सोनाम ल्होसार, ग्याल्पो ल्होसार, दुवै इद (इद उल फित्र र इद उल अजहा), महाशिवरात्रि र फागुपर्वमा मुलुकभरि सार्वजनिक बिदा हुने उल्लेख गरेको छ । यस्,तै सम्बन्धित धर्म, संस्कृति भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र हुने गरी भदौ ७ गते गौरा पर्व, भदौ १४ गते गाईजात्रा र सिरुवा पावनी पर्वका लागि बिदा निर्धारण गरिएको छ । असोज १ गते तीज (सबै महिला) र असोज २० गते (जितिया पर्व मनाउने महिला) कर्मचारीका लागि मात्रै बिदा तोकिएको छ । शिक्षण संस्थाका लागि फागुन २ गते वसन्तपञ्चमीका दिन र काठमाडौं उपत्यकामा भदौ १४ गते गाईजात्रा, असोज ११ गते इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको दिन र चैत २६ गते घोडेजात्राका लागि बिदा दिइएको राजपत्रमा उल्लेख गरिएको छ । दिवस बिदाअन्तर्गत विश्व मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, जनयुद्ध दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवसका दिन सबै कर्मचारीका लागि सार्वजनिक बिदा दिइएको छ । साथै अपाङ्गता भएका कर्मचारीका लागि मङ्सिर १७ गते अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा बिदा तोकिएको छ । यस्तै, बुद्ध जयन्ती, पृथ्वी जयन्ती, फाल्गुनानन्द, मोमम्द, गुरु नानक जयन्तीका दिन सम्बन्धित धर्मावलम्बीहरूका लागि बिदा दिने निर्णय भएको छ । राष्ट्रियरूपमा मनाइने तर कार्यालय खोल्ने बिदा मन्त्रालयले राष्ट्रियरूपमा मनाइने तर कार्यालय खुला रहने बिदासमेत तोकेको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस जेठ ११ गते मनाइने छ । भदौ २२ गते निजामती सेवा दिवस र माघ १६ गते सहिद दिवस मनाइने राजपत्रमा उल्लेख छ । जारी सूचनामा विदेशस्थित नेपाली नियोगहरूले सम्बन्धित मुलुकका लागि सार्वजनिक बिदालाई दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैँले व्यवस्थापन र समायोजन गर्न सक्ने जनाइएको छ । सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्था मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्थासमेत गरेको छ । जसअनुसार उभौली पर्व–चण्डी पूर्णिमा, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, क्रिसमस डे, उधौली पर्व, योमरी पुन्हि– ज्यापू दिवस (धान्य पूर्णिमा), तमू ल्होसार, माघी पर्व/माघे सङ्क्रान्ति, सोनम ल्होसार, महाशिवरात्रि, ग्याल्पो ल्होसार, इद (इद उल फित्र), बकर इद (इद उल अजहा), गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रा, गणतन्त्र दिवस, जनयुद्ध दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवसका दिनमा सार्वजनिक बिदा भए पनि तोकिएका सेवा प्रवाह गर्न सम्बन्धित मन्त्रालय वा निकायले आवश्यक प्रबन्ध मिलाउनुपर्ने छ । जन्मयजन्ती बिदाअन्तर्गत बुद्ध जयन्ती र पृथ्वी जयन्तीमा समेत सेवा प्रवाह गर्नुपर्ने छ । उल्लेखित बिदाका दिनमा नागरिकता, राहदानी, कन्सुलर, भन्सार तथा राजस्वसम्बन्धी सेवा (राजस्व अनुसन्धानसमेत), क्वारेन्टिनसम्बन्धी, सवारी अनुमतिपत्र, सवारीसाधन दर्ता तथा नवीकरणलगायत यातायात व्यवस्थापनसम्बन्धी सेवा, उद्योग, वाणिज्य र कम्पनी प्रशासनसम्बन्धी, वैदेशिक रोजगार सेवा, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी सेवा, मालपोत तथा नापी, स्थानीय तहबाट प्रवाह हुने सार्वजनिक सेवाहरू दिने व्यवस्था मिलाउनुपर्ने छ । यस्तै भेटेरेनरी, खानेपानी, विद्युत्, सडक तथा ढल मर्मतसम्भारसम्बन्धी सेवा, खाद्य, गुणस्तर परीक्षण, विभिन्न निकाय तथा शिक्षण संस्थाबाट सञ्चालन हुने परीक्षा, वैदेशिक अध्ययन अनुमतिसम्बन्धी सेवा, नेपाल प्रहरीबाट प्रदान गरिने चारित्रिक प्रमाणपत्रसम्बन्धी सेवा पनि नियमित गर्नुपर्ने छ । साथै सम्बन्धित मन्त्रालय वा निकायले तोकेका सार्वजनिक सेवासँग सम्बन्धित अन्य सेवा, प्रदेश सरकार र स्थानीय तहले तोकेका सार्वजनिक सेवा प्रवाहसम्बन्धी अन्य सेवा र बैंकिङ तथा बीमासम्बन्धी कारोबार पनि जारी राख्नुपर्ने राजपत्रमा उल्लेख छ । सधैँ खुला राख्नुपर्ने सेवाहरू राजपत्रमा उल्लेख भएअनुसार अस्पताल दूरसञ्चार, अध्यागमन, फोहरमैला व्यवस्थापन, फायरव्रिगेट, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, हुलाक, शान्ति सुरक्षा, विपद् व्यवस्थापन आदि जस्ता रोजाना र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय, विभाग तथा कार्यालयले सार्वजनिक बिदाका दिन दैनिक काम नरोकिने गरी सेवा प्रवाह गर्नुपर्ने छ । त्यसरी खटिने कर्मचारीले खटिएवापत सट्टा बिदा पाउने छन् । कार्यालय हाजिर हुने र छुट्ने समय देशभरका सबै सरकारी कार्यालयमा आगामी वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्मका लागि तोकिएको छ । यस्तै, कात्तिक १६ देखि माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म कार्यालय समय रहने उल्लेख छ । शुक्रबार १० देखि ३ बजेसम्म सेवा प्रवाह गर्नुपर्ने छ । यसका साथै तोकिएका सार्वजनिक बिदाका अतिरिक्त प्रदेश सरकारले प्रदेशको धर्म, संस्कृति रीतिरिवाजसमेतलाई दृष्टिगत गरी घोषणा गरेका बढीमा छ दिनसम्मका लागि सार्वजनिक बिदा गर्न सक्नेछ । यसरी गरिएको बिदाबारे जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलमा जानकारी गराउनुपर्ने छ ।
काठमाडौं: नेपाल स्टक एक्सचेन्ज (नेप्से) कार्यालय घेराउ गर्दै ज्ञापन पत्र बुझाउन गएका सेयर लगानीकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल धितोपत्र बोर्डसँग यस अघि भएका सहमतिअनुसार नेप्सेले गर्नु पर्ने कार्य गर्न माग गर्दै नेप्से कार्यालय घेर्न पुगेका लगानीकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सेयर लगानीकर्ता तीलक कोइराला, अर्जुनकुमार कोइराला र नयन बास्तोलालाई प्रहरीले पक्रउ गरेको हो । पक्राउ परेका तीनै जनालाई अहिले सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ । तिलक कोइरालाले सामाजिक सञ्चालमार्फत नेप्से कार्यालय घेर्न उपस्थित हुन आह्वान गर्दै आएका थिए । शुक्रबार नेप्से परिसरमा होलाल्ला गर्दै पुगेपछि ३ जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता सिताराम रिजवालले बताए । उनिहरुलाई नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृत्तमा राखिएको उनले बताए ।
काठमाडौं: चैत ५ गते हुने स्ववियु निर्वाचनमा त्रिवि केन्द्रीय क्याम्पसमा भोटिङ मेसिन प्रयोग गरिने भएको छ । त्रिवि स्ववियु निर्वाचन अधिकृत डा.अमृत कुमार श्रेष्ठले आइतबार हुने स्ववियु निर्वाचनमा भोटिङ मेसिन प्रयोग हुने जानकारी दिए । निर्वाचनमा प्रत्यक्षतर्फ १२ अध्यक्षसहित विभिन्न पदमा ६२ जना र ५० जना समानुपातिकतर्फको उम्मेद्वार रहेका छन् । त्रिवि स्ववियु निर्वाचनका अनुसार केन्द्रीय क्याम्पमा ३ हजार ४०२ जना मतदाता विद्यार्थी रहेका छन् । २१ सदस्यीय स्ववियु समितिमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक जना अध्यक्ष, एक जना सचिव, एकजना कोषाध्यक्ष र ८ जना सदस्यहरु निर्वाचित हुनेछन् भने समानुपातिक निर्वाचन प्रणालीबाट १० जना उम्मेदवार निर्वाचित हुनेछन् ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट प्रधानमन्त्री प्रचण्डले मतदान गर्नुभएको हो । यसैगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पनि उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ । उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत मध्याह्न १२ बजेसम्म ६१० मत खसेको छ । सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले संघतर्फ २१८ र प्रदेशतर्फ ३९२ मत खसेको जानकारी दिनुभयो । उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार बिहान १० बजेदेखि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरु भएको हो । निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार हुनुहुन्छ । अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ । सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ । निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता हुनुहुन्छ । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र आजै साँझसम्म मतपरिणाम सार्वजनिक गरिने बताइएको छ ।