काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औँ नाडा अटो शोको उद्घाटन गर्नुभएको छ। भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको ब...

काठमाडौं: घर्कँदो उमेर । सेताम्य दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा छन् टीकाराम सापकोटा।    बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त हन्छन्।    कहिले आफ्नै त कहिले अरुका तरकारी फार्ममा देखिने सापकोटा ६७ वर्ष नाघिसके ।उमेरले सात दशक लागेपनि जोश र जाँगर भने २० वर्षे युवाको भन्दा कम्ता छैन। टीकारामले खेतबारीमै दिन बिताउन थालेको ३५ वर्षभन्दा बढी भयो।   साढे तीन दशकदेखि निरन्तर कृषि कर्ममा क्रियाशील सापकोटा अहिले पनि माटोप्रतिको माया र तरकारी उब्जाउ गर्ने काममा कमी कत्ति पनि आएको छैन।    व्यावसायिकरूपमा गोलभेँडा, काउली बन्दा, सिमीलगायतका तरकारी उत्पादनमा तल्लीन उनी थुप्रै कृषकका उत्प्रेरणाका स्रोत र सारथी बनेका छन्।    पानी, प्रविधिलगायतका थुप्रै सामग्रीको अभावका बीच पनि कुँडुलेमा व्यावसायिक कृषि कर्ममा खटिरहने सापकोटाको प्रेरणाबाट धेरै व्यावसायिक कृषि कर्म थालेका छन्। कृषि कर्मबाट निकै सन्तुष्ट देखिने उनलाई नेपाली माटोमा सुन फलाउन सकिने विश्वास छ।    सामान्य परिवारका सापकोटालाई व्यावसायिक तरकारी खेती गर्नुपूर्व बिहान–बेलुकीको गर्जो टार्न गाह्रो हुन्थ्यो । परिवार पाल्नका लागि ज्याला–मजदुरी र निमेक गरेकाे उनी बताउँछन्।   तर तरकारी खेतीमा लागेपछि तीन छोरी र चार छोरालाई राम्रोसँग पढाउनुका साथै परिवार पालेर पनि करिब दुई करोडको जग्गा किन्न सफल भएका छन्।   उनले अहिलेको सफलता सहजै पाएका भने होइनन्। थुप्रै हन्डर र ठक्कर खाँदै यहाँसम्म आइपुगेको उनको भनाइ छ। सुरुका वर्ष व्यावसायिक तरकारी उत्पादन गर्दा बिक्री नै नभएको उनको तितो अनुभव छ।    जीन्दगीमा के चाहीँ गरिएन? सबै काम गरियो तर, तरकारी खेतीबाट सुख, सन्तुष्ट र खुशी सबै मिल्यो। उनीसँग आफूले दुखजेलो गरी उत्पादन गरेको तरकारी नबिकेको तितो सम्झना पनि छ । ०४८÷०४९ तिर गोलभेँडा, काउली र मसला बिक्री गर्न बागलुङ बजार पुगेका थिए, तर बिक्री भएन।    आफ्नो उत्पादन बिक्री नहुँदा टीकाराम निराश भए। तर, हिम्मत नहारी आफ्नो कामलाई निरन्तरता दिए र प्रतिफल पनि राम्रै पाउँदै आएका छन्।    ‘यहाँको माटो अत्यन्त उब्जाउ हुने खालको छ, जे लगाए पनि राम्रो फल्छ, त्यसैले यहाँको माटोमा सुन फलाउन सकिन्छ,’ उनले भने।    टीकारामका सात सन्तान छन्। तरकारी खेतीबाटै भएको आम्दानीले उनले आफ्ना सात सन्तानलाई हुर्काउने, बढाउने र पढाउने गरेका हुन्।    तरकारी खेतीबाटै भएको आम्दानीले अहिले उनले राम्रै ठाउँमा सात रोपनी जग्गा किनेका छन्। उनको कमाइबाटै अहिले आफ्ना तीन छोरा–बुहारीलाई जापान पठाएका छन्।    ‘अहिले त्यति धेरै आर्थिक समस्या छैन। यी सबै उपलब्धि मैले कृषि पेसाबाटै पाएको हुँ,’ टीकाराम सुनाउँछन्।     सुरुका दिनमा बारीमा धेरै काँक्रा तथा फलफूल उत्पादन भएको र बिक्री नभएपछि बजारमा निःशुल्कसमेत बाँडेको उनले सुनाए।     सुरुआतीका केही समयबाहेक पेसालाई पछि फर्केर हेर्न नपरेको उनी बताउँछन्।     त्यो बाहेक महत्वपूर्ण उपलब्धि आज थुप्रै किसानलाई समस्या पर्दा कृषकसँगै समाधानमा लाग्दै आएका छन्। तरकारी खेतीले आर्थिक अवस्थासँगै आफ्नो परिचयसमेत बदलिएको सापकोटाको भनाइ छ।   कृषिलाई अझै व्यवस्थित गर्न भारतीय तरकारी आयातलाई निरुत्साहित गरे यहाँका कृषकले राम्रो आम्दानी गर्न सक्ने सापकाटाको भनाइ छ। त्यसका साथै कृषकलाई प्राविधिक ज्ञान दिनुपर्ने उनको माग छ।    सापकोटाको कृषि कर्ममा उनको श्रीमती कौशिला सापकोटाले साथ दिँदै आएकी छन्। उनीहरूले कृषि कर्मबाटै वार्षिक तीन लाखसम्म बचत गर्दै आएका छन्।   तरकारी खेतीबाट आर्थिक अवस्था बदलिएपछि समाजले हेर्ने दृष्टिकोण बदलिएको उनकी श्रीमती कौशिला बताउँछिन्।    श्रीमान्को कडा मेहनत र लगावले गर्दा आज परिवारमा ठूलो परिवर्तन आएको उहाँको भनाइ छ । उनी भन्छिन्, ‘पहिले त खान लाउनको निकै समस्या थियो, बारीमा उत्पादन भएको धान, मकैले तीन महिना खान पनि पुग्दैनथ्यो, जीउनका लागि अर्काको घरमा पनि काम गर्‍यौँ।’   उनले तरकारी खेती थाल्नुभन्दा पहिले अरुको भारी बोक्ने, होटलमा काम गरेरे जीविका धानेको बताए। अहिले सामान्य खाना, लाउन र परिवार चलाउन समस्या नभएको उनले सुनाए। बूढाबूढी भए पनि दैनिक बारीमै सकेको काम गरेर उत्पादनसँग जोडिएको उनको भनाइ छ। 

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्।   प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान महाराजगञ्जस्थित अस्पतालमा पुगेर राष्ट्रपति पौडेलको स्वास्थ्य लाभको कामना गरेका हुन्।   पेटमा समस्या भएपछि राष्ट्रपति पौडेल शनिबार साँझ अस्पताल भर्ना भएका हुन्।

काठमाडौं : प्रतिनिधिसभा बैठक आज  बस्दैछ।    संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जानकारी दिएको छ।    आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८/०७९ पेस गर्ने कार्यसूची छ।    त्यस्तै प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तु गर्ने कार्यसूची छ।    मस्यौदा प्रतिवेदनमा पर्ने संसोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिने छ। त्यसपछि समितिका सभापति केसीले प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। 

साउदी : बैदेशिक रोजगारको क्रममा साउदी अरेबिया पुगेर हत्या अभियोगमा अलपत्र परेका ५ नेपाली स्वदेश फिर्ता भएका छन्।   साउदीको अल अन्सारी प्लाजा नामक कम्पनीमा कार्यरत उनीहरू लामो समयदेखि  एक भारतीय नागरिक सँगै रुममा बसेका थिए तर भारतीय नागरिकको २०१८ नोभेम्बरका दिन  शंकास्पद मृत्यु भएलगत्तै उनीहरूलाई कानुनी रुपमा सोधपुछ गरि शंकास्पद  हत्या भएको र अन्य कुनै सन्दिग्ध अपराधी फेला नपरेको कारण उक्त हत्या अभियोगमा चार वर्ष जेल सजाय भएको थियो।   पिडीत नेपालीले आफू निर्दोष रहेको र उद्दार गरिदिन नेपाली राजदुतावास र एन आर एन लाई आग्रह गरेका थिए। नेपाली दूतावासको निरन्तर प्रयासपछि साउदी अदालतले ३ अगस्ट २०२२ का दिन निर्दोष सावित गरी जेलमुक्त गर्न आदेश दिएको थियो। त्यसपश्चात उनीहरूलाई मध्यपूर्व संयोजक राजेन्द्र अर्याल तथा हेल्प मधेसीको सहयोगमा खान बस्नसहित एन आर एन को अस्थायी शिविरमा राखिएको थियो।    पिडीत नेपालीलाई स्वदेश फिर्ताको लागि आवश्यक कानुनी  प्रक्रिया पूरा गरी बहिर्गमन भिषा उपलब्ध गराइएको थियो। हत्या अभियोगमा  इन्द्रजित मन्डल (महोत्तरी), बासुदेब ठाकुर (सिरहा), धनबहादुर तामाङ (इलाम), कृष्ण बहादुर घन्सी (भक्तपुर) र रामप्रसाद ठाकुर (धनुषा)का रहेका छन्। १ अप्रिल २०२३ का दिन उनीहरू स्वदेश फिर्ता भएका छन्। 

काठमाडौँ:  इन्डियन आयल कर्पोरेसन  (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।   शनिबार अप्रिल १ मा पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा एक रुपियाँ ७४ पैसा र डिजेलमा छ रुपियाँ ८२ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।    आईओसीले १५/१५ दिनमा नयाँ मूल्य पठाउने गर्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घद्दै गएकाले नयाँ मूल्य घटेर आएको हो । मूल्य घटेर आए पनि शनिबार सार्वजनिक बिदा परेकाले निगमले मूल्य यथावत् राखेको जनाएको छ तर मूल्य घटाउने तयारी भने निगमले गरेको जनाइएको छ ।    हाल बजारमा पेट्रोलको खुला बिक्री मूल्य प्रतिलिटर १७८ रुपियाँ र डिजेलको १७५ रुपियाँ कायम छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गए पनि सो अनुपातमा स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगमलाई पेट्रोलमा प्रतिलिटर आठ रुपियाँ र डिजेलमा प्रतिलिटर १५ रुपियाँ नाफा रहेको छ । अन्तर्राष्ट्रिय बजारमा बैङ्किङ क्षेत्रमा देखिएको मन्दी र समस्याका कारण कच्चा तेलको खपतमा कमी आएको र त्यसले मूल्यमा गिरावट ल्याउँदै आएको छ ।    खपत कम हुनुले गर्दा पेट्रोलियम पदार्थ रिफाइनरी गर्ने कम्पनीहरूको लागतमा पनि कमी आएकाले नेपाल आउने पेट्रोलियम पदार्थको पनि मूल्य घटेको निगमको भनाइ छ ।   निगमले पछिल्लो समय पेट्रोलियम पदार्थ खरिदबापत आईओसी र सरकारको ऋण गरेर १६ अर्ब बक्यौता तिर्नुपर्ने थियो । हाल नाफामा रहेका कारण उक्त बक्यौता घटेर १२ अर्ब हाराहारीमा आइपुगेको छ ।   

काठमाडौं:हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ।   जल तथा मौसम पूर्वानुमान महाशाखाले दिउँसो कोशी प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यताय सफा रहने जानकारी दिएको छ।    आज राती पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने र कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।    यस्तो रहनेछ आगामी तीन दिनको मौसम    २०७९ चैत १९ गते (आइतबार)   दिउँसोː  कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया आंशिक बदली देखि सामान्यतया सफा रहने छ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।   रातीː देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।   २०७९ चैत २० गते (सोमबार)   दिउँसोː  सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेश पहाडी भू-भागका थोरै स्थानमा साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा  मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।   रातीː सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।   २०७९ चैत २१ गते (मंगलबार)   दिउँसोː  सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका  पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।   रातीː  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल बिरामी भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको छ।   पेट दुख्नेलगायत समस्या देखिएपछि शनिबार साँझ उनलाई अस्पताल लगिएको थियो। उनको उपचार भइरहेको छ।   राष्ट्रपति पौडेललाई चिकित्सकहरूको निगरानीमा राखिएको छ।   राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएको र चिकित्सकको निगरानीमा राखिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।   पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए। त्यसलगत्तै उनको स्वास्थ्य परीक्षणसमेत गरिएको थियो।  

काठमाडौं: नेपाली कांग्रेसले चितवनस्थित रामपुर कृषि क्याम्पसमा भएको स्ववियु चुनाव रद्द गर्न माग गरेको छ।   क्याम्पस प्रमुख र निर्वाचन समिति संयोजकले नेविसंघलगायत अन्य विद्यार्थी संगठनसँग समन्वय नगरी निर्वाचन गराएको भन्दै कांग्रेसले यस विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।   यहाँ चैत १७ गते स्ववियु चुनाव भएको थियो।   ‘स्वतन्त्र, धाँधलीरहित र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउनु क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको प्रमुख जिम्मेवारी हो । नेपाल विद्यार्थी संघको उपस्थितिबिना क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको मिलोमतोमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनले बुथ कब्जा गर्दै एकलौटी मतदान गरी निर्वाचनको नतिजा घोषणा गरिनु अत्यन्त खेदजनक छ,’ कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले निकालेको विज्ञप्तिमा भनिएको छ।   यस्तै अवैधानिक कार्यको विरोध गर्दा नेविसंघका २ जना घाइते भएको समेत विज्ञप्तिमा उल्लेख छ।   ‘क्याम्पस प्रशासनको ठाडो आदेशमा प्रहरीले निर्मम तवरले पिट्दा, नेविसंघका तर्फबाट स्ववियु सभापतिका उम्मेदवार आशिष देवकोटा र निवर्तमान इकाइ अध्यक्ष सुरज यादव गम्भीर घाइते हुनु भएको छ। उहाँहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ,’ मुख्यसचिव पौडेलले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।   साथै यो घटनाको छानबिन गर्नसमेत कांग्रेसले माग गरेको छ।   ‘घटनाको यथार्थ छानविन गरी अवैधानिक रुपमा गरिएको निर्वाचन रद्द गर्न सम्बद्ध सबै पक्षसँग नेपाली कांग्रेस जोडदार माग गर्दछ । साथै घाइते विद्यार्थीहरुको उचित उपचारको प्रबन्ध गर्न पनि नेपाली कांग्रेस माग गर्दछ,’ उनले भनेका छन्।   सभापतिका उम्मेदवार आशिष देवकोटाले अवैधानिक कार्यको विरोध गर्दा आफूमाथि कुटपिट र प्रहरीले हटकडीसमेत लगाएको बताएका छन्।   ‘क्याम्पस प्रमुख मिलन सुवेदी र निर्वाचन अधिकृत सूर्यप्रसाद भट्टले प्रशासनको दुरूपयोग गरी बुथ क्बजा गरी स्ववियु निर्वाचन गर्न खोज्दा मैले औंला उठाएँ, बोलेँ, रोक्न खोजेँ तर मेरो केही सिप चलेन,’ उनले भनेका छन्, ‘मलाई प्रहरीले कुट्यो। क्याम्पस प्रशासनले रोकेन। सबै टुलुटुलु हेरेर बसे।’   स्ववियु चुनावका लागि २४१ जना मतदाता भए पनि शुक्रबार जम्मा १२० जनाले मतदान गरेका थिए। क्याम्पस प्रशासनले भने गत चैत ५ मै गर्ने तयारी रहेको चुनाव नेविसंघले तालाबन्दी गरेका कारण रोकिएको प्रतिक्रिया दिएको छ। नेविसंघका केहीले मतपत्र च्यात्न खोज्दा धकेलाधकेल भएको क्याम्पस प्रशासनको भनाइ छ।    चुनावमा नेविसंघले भाग लिएको थिएन।

काठमाडौं: उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनतालाई आवश्यक पर्दा सरकारले नै ऋण उपलब्ध गराउने योजना रहेको बताएका छन्।    मिटरब्याज पीडितको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने विषयमा सरकारी वार्ता टोली र पीडित पक्षबीच भएको सहमतिमा हस्ताक्षर गर्दै उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याजी समस्या समाधान गर्दै आवश्यक पर्दा सरकारले नै ऋण उपलब्ध गराउने तयारी रहेको बताएका हुन्।    पीडितहरू सरकारले सहुलियत दरमा ऋणको व्यवस्था गर्नुपर्ने, मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, मिटरब्याज विरूद्ध कानुन निर्माण गर्नुपर्ने, तमसुक व्यवस्था खारेज गर्नुपर्ने, झुटा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गर्नुपर्ने लगायतका मागसहित आन्दोलनमा छन्।    उपप्रधानमन्त्री श्रेष्ठले मिटर ब्याजको समस्या साझा सरोकारको विषय भएको बताउँदै सरकार गम्भीर रहेको र चाँडै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।    ‘प्राविधिक रूपले अहिलेको सन्दर्भका कारणले दुई पक्षबीच सहमतिको हस्ताक्षर गर्नुपरेपनि यो विषय साझा सरोकारको विषय हो,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘मुलुक लोकतान्त्रिक गणतन्त्रमा पुगिसक्दा पनि मिटरब्जायको समस्या हुनुले आर्थिक पाटो मात्रै नभई बहुआयामिक पाटोमा असर पर्छ। हामी हरहालतमा समाधान गर्छौँ।’   उनले मिटरब्याज पीडितको आन्दोलन न्यायपूर्ण आन्दोलन भएको र पीडित पक्षसँग गरिएको सहमति चाँडै कार्यान्वयन हुने विश्वास दिलाए।  ‘सहमति कार्यान्वयनको प्रक्रियामा फेरि मिलेर काम गर्नुपर्ने हुन्छ, समन्वय गरेर काम गर्नुपर्ने हुन्छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने।    उनले सबै प्रकारका शोषण र उत्पीडनलाई अन्त्य गर्दै सामाजिक न्यायमा आधारित समाज निर्माण गर्नु सरकारको प्राथमिकता रहेको बताए।