ढल्केवर: रासायनिक मलमाथिको निर्भरता कम गर्न तथा अर्गानिक उत्पादनमा वृद्धि ल्याउन मधेश प्रदेशका सबै वडामा अर्गानिक मल उत्पादनका लागि उद्योग सञ्चालन गरिने भएको छ । मधेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत जर्मनको बेल्ट हङ्गर हाइल्फ नामक संस्थाले मधेशका एक हजार दुई सय ७० वटा वडामा जैविक प्रविधिबाट अर्गानिक मल उत्पादनका लागि उद्योग सञ्चालन गर्न लागेको हो । मधेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग सञ्चालनका लागि जर्मनको हाइल्स संस्थाले प्रस्ताव गरेको बताउनुभयो । प्रस्तावअनुसार कार्यान्वयन पक्ष पनि अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जमिन र भर्मी उद्योग सञ्चालन गर्न चाहने किसान आफैले बनाउनुपर्ने र त्यसबाहेक चाहिने मेसिन, प्रविधि, र प्रशिक्षणलगायत सम्पूर्ण सामान दातृ निकायले उपलब्ध गराउने छ । उद्योग सञ्चालनमा आएपछि रासायनिक मलमाथिको निर्भरता कम हुने र अर्गानिक मलको प्रयोगले जमिनको उर्वराशक्ति बढ्ने मन्त्री कुशवाहाको भनाइ छ । उद्योग सञ्चालनका लागि इच्छुक किसान, समूह र संस्थालाई आवेदन पेस गर्न आह्वानसमेत गरिएको उहाँले बताउनुभयो ।
काठमाडौं: नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको मूल्य आज पनि प्रतितोला दुई हजार रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख सात हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा किनबेच भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५६ पैसा कायम गरिएको छ। त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ९२ पैसा र बिक्रीमा १४२ रुपैयाँ ५६ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३७ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ११ पैसा र बिक्रीमा ८८ रुपैयाँ ५१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ५४ पैसा र बिक्रीमा ९६ रुपैयाँ ९८ पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १ पैसा र बिक्रीमा ३६ रुपैयाँ १८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५ रुपैयाँ २८ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २९ रुपैयाँ ५० पैसा र बिक्रीमा २९ रुपैयाँ ६४ पैसा पाइन्छ। बुधबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ २२ पैसा र बिक्रीमा ४३२ रुपैयाँ १७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ५५ पैसा तोकिएको छ।
काठमाडौं : वैदेशिक रोजगारमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको सुरुवात गरिएको छ । सामाजिक सुरक्षा कोषले आजदेखि वैदेशिक रोजगारमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिका लागि सामाजिक सुरक्षा योजनाको सुरुवात गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गरेको हो । वैदेशिक रोजगारीमा रहेका श्रमिकले पेन्सनसहितको सुविधा पाउने गरी बुधबारबाट योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम सुरु गरीएको कोषले जनाएको छ । वैदेशिक रोजगारको सिलसिलामा इजरायलमा रहेकी मञ्जु थपलियाको इनरोल रजिस्ट्रर गरिएको छ । प्रधानमन्त्री प्रचण्डले थपलियाका श्रीमान् पत्रकार गोपाल संग्रौलालाई कोषमा आवद्ध भएको परिचयपत्र हस्तान्तरण गर्दै योजनाको सुरुवात गरे । कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा रहेको बताए । अब विदेशमा रहेका नेपाली कामदारले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन आवेदन दिन पाउने छन् ।
दैलेख: दैलेख सुर्खेत सडक खण्डको तालपोखरीमा मिनि ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ । नेपालगन्जदेखि मनकामना ग्याँस सिलिन्डर बोकेर दैलेखतर्फ आउँदै गरेको भे. १ क २२०१ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख(डिएसपी) किशोर लम्सालले दुर्घटनामा परी मिनि ट्रक चालक अन्दाजी ३० वर्षको कृष्ण चौधरी, अन्दाजी वर्ष २६ को कृष्ण चौधरी र अन्दाजी २३ वर्षको विष्णु चौधरीको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले मिनि ट्रक रोक्न लागेको बेला सडक बाट करिब एक सय ५० मिटर तल खसेको बताउनुभयो । घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ गएको र थप विवरण आउन बाँकी रहेको प्रहरी प्रमुख लम्सालले जानकारी दिनुभयो ।
वीरगञ्ज: पर्सा राष्ट्रिय निकुन्जबाट निस्किएर गाउँमा पसेको बाघको आक्रमणबाट १ जना प्रहरीसहित तीन जना घाइते भएका छन् । चितुवा बाघको आक्रमणमा परी घाइते हुनेमा पोखरिया नगरपालिका वडा नम्बर ४ सतबरिया टोलका ३० वर्षका दिल महमद मियाँ, जोगिन्द्र साह तेली र प्रहरी जवान सुचिन्द्रप्रसाद यादव रहनुभएको छ । घाइतेमध्ये मियाँको अवस्था गम्भीर भएकोले उहाँलाई पोखरिया अस्पतालमा उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याइएको छ भने तेली र प्रहरी जवान यादवको पोखरिया अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । बिहान सतबरिया टोलमा पसेको चितुवालाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । सतबरिया टोलकै एक गोठघरमा चितुवा लुकेर बसेको हालसम्म नियन्त्रणमा नआएको स्थानीय शैलेश गुप्ताले बताउनुभयो । चितुवालाई नियन्त्रणमा लिन अहिले जिल्ला वन डिभिजन कार्यालयको प्रहरी टोली घटनास्थलमा पुगेको बताइएको छ । यस अघि पर्साको ठोरीमा पर्सा राष्ट्रिय निकुन्जबाट गाउँ पसेको पाटे बाघले गोठमा पसी त्यहाँ रहेका सात चौपायालाई मारेको थियो । सोमबार राती ठोरी गाउँपालिका वडा नम्बर ४, घ्याङडाँडाका किसान मिकमार लामाको घरगोठमा पसेर बाघले एउटा वयस्क भैंसीको पाडो र ६ ओटा बाख्रा गरी ७ वटा चौपाया मारेको थियो ।
पोखरा: प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटी को साझेदारीमा पोखरा महानगरपालिका बाट संचालित गण्डकी बहु–प्राविधिक शिक्षालयको संचालक समितिमा रिक्त सदस्यहरुको पद पुर्ती गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अध्यक्षतामा सोमबार बसेको गण्डकी बहु–प्राविधिक शिक्षालय संचालक समितिको १९ औं बैठकले बिभिन्न क्षेत्रको प्रतिनिधित्व हेर्ने गरि तीन जना सदस्य मनोनित गरेको हो । बैठकले शिक्षा क्षेत्रबाट प्रतिनिधित्व हुने गरि, प्राध्यापक डाक्टर सरस्वती न्यौपाने, उद्योग तथा व्यववसाय क्षेत्रबाट छत्रधर आत्रेय र नारायण पौडेललाइ मनोनित गरेको छ । शिक्षालयको संचालक समितिमा चार जना मनोनिति सदस्य रहने प्रावधान छ । समितिले यस अघि श्री राम पोखरेललाइ मनोनित गरिसकेको थियो । यस अघि उक्त पदमा रहेका सदस्यहरुको कार्यअवधी सकिएकोले नयाँ सदस्य मनोनिति गरिएको हो । समितिमा मनोनित सदस्यको पदावधी तीन वर्षको रहने प्रावधान छ । यसअघि उक्त पदमा गेहेन्द्रश्वर कोइराला, आनन्द राज बतास र निरुपा थापा रहनुभएको थियो । गण्डकी बहुप्राविधिक शिक्षालय ऐन २०७६ अनुरुप , शिक्षालयको सम्पुर्ण नीति निर्माण तथा काम कार्वाहिको संचालन, रेखदेख, तथा प्रवन्ध गर्नका लागि महानगरपालिकाका प्रमुख पदेन अध्यक्ष रहने गरि ९ जनाको संचालन समिति रहेको छ । प्राविधिक शिक्षा तथा व्यवासायिक तालीमलाइ प्रवद्र्धन गर्दै स्थानीय स्तरमै निम्न मध्यमस्तरिय प्राविधिक दक्ष जनसक्ति उत्पादन गरि सक्षम , आत्मनिर्भर तथा स्वालम्बित जनसक्तिको तयार गरि स्थानीय स्तरमै उद्ययमशिलताको प्रवद्र्धन गर्न पोखरा प्राविधिक शिक्षालयको स्थापना गरिएको हो । समितिका अन्य सदस्यहरुमा मा महानगरपालिकाका कार्यपालिका सदस्यहरु मध्य प्रमुखद्धारा मनोनीत एक जना सदस्य, सिटिइभिटीका प्रतिनिधि पदेन सदस्य, स्थानीय शिक्षा प्रेमी मध्यबाट अध्यक्षद्धारा मनोनित एक जना महिला सहित दुइ जना मनोनित सदस्य, महानगर शिक्षा शाखा प्रमुख, शिक्षालयमा प्रशिक्षण दिइने विषयसँग सम्बन्धित रोजगारदाता, व्यवशायि,उद्योगी, ख्यातीप्राप्त प्राविधिक मध्ये संचालक समितिबाट मनोनित दुइ जना र शिक्षालयका निर्देशक पदेन सदस्य सचिव रहने गरि ९ जनाको संचालनसमिति रहेको छ ।
काठमाडौं: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसलाई अब कुनैपनि गल्ती गर्ने छुट नरहेको बताउनुभएको छ। मंगलबार काठमाडौं आयोजित नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। नेता कोइरालाले नेपाली कांग्रेस अब केही दिन भित्र नै सरकारमा गइरहेको उल्लेख गर्दै कुनै किसिमको कमी कमजोरी नेपाली कांग्रेसबाट हुन् नहुने बताउनुभयो। उहाँले अहिलेका परिस्थितिलाई कांग्रेसले गम्भीर रुपमा नियालिरहेको उल्लेख गर्नुभयो। १० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसकै काँधमा रहेको उहाँको भनाइ छ। नेता कोइरालाले वर्तमान सत्ता गठबन्धनलाई राम्रोसँग सञ्चालन गर्ने जिम्मा कांग्रेसको रहेको बताउनुभएको हो। नेता कोइरालाले भन्नुभयो, ‘‘नेपाली कांग्रेस केही दिन भित्र नै सरकारमा जाँदैछ। अब हामीलाई गल्ती गर्ने छुट छैन। कुनै किसिमको कमी कमजोरी नेपाली कांग्रेसबाट हुनु हुँदैन। यी सबै कुरालाई नेपाली कांग्रेसले गम्भीर रूपले लिएको छ। त्यसलाई अघि बढाउने जिम्मा अब नेपाली कांग्रेसबाट जाने नेतृत्वले गर्नुपर्छ। उहाँहरूको जिम्मा सरकारलाई पनि प्रचण्डजीको सरकार छ, १० वटा सत्ता गठबन्धनमा दल छन्। त्यसलाई सम्हालेर अघि बढ्ने जिम्मा नेपाली कांग्रेसलाई छ। यो सबै कुरा नेपाली कांग्रेसको जिम्मेवारीमा, काँधमा आएको छ। यो सरकारलाई राम्रोसँग चलाएर हामी अघि बढ्नुपर्छ।’’ नेता कोइरालाले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा नेपाली कांग्रेस नचुकेको बताउनुभयो। उहाँले प्रेस स्वतन्त्रता बिना लोकतन्त्र चल्न नसक्ने दाबी गर्नुभयो। उहाँले लोकतन्त्र बिना समुन्नत नेपाल बन्न नसक्ने भन्दै मिडियाको जिम्मेवारीलाई गम्भीर रूपमा लिएको बताउनुभयो।
हेम्जा: यही चैत्र २६ गतेदेखि वैशाख ३ गतेसम्म हुन गइरहेको ११ औं राष्ट्रिय हेम्जा आलु महोत्सव–२०७९ लाई हेम्जाका आमा समूहले सक्दो सहयोग गर्ने भएका छन् । मूल आयोजक समितिले मंगलवार राखेको आमा समुहको भेलामा आलु महोत्सवले हेम्जालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थरमा चिनाउने गरेको पहल गर्ने कुरा राखिएका थिए । कामधेनु महिला कृषक समूहको प्रतिनिधित्व गर्दै पार्वती बानियाँ, तिब्रेकोट आमा समुहको उषा कुँवर , शृजनशिल मिलन आमा समूहको मिना कुँवर, सिद्धिविनायक आमा समुहको अध्यक्ष पार्बती थापा, राधा कृष्ण आमा समुहको प्रतिनिधित्व गर्दै सृजना सापकोटा, देविस्थान आमा समुहकी सदस्य बुद्ध कुवर, सृजनशिल आमा समुहको सचिव गीता बराल अधिकारी, लगायतले आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो । भेलाले आलु महोत्सवमा हेम्जा लगायत यस क्षेत्रका बासिन्दाको सहभागिता बढाउने निर्णय पनि गरेको छ। त्यस अवसरमा मूल आयोजक समिति संयोजक सुविन श्रेष्ठ, महासचिव वसन्तकुमार श्रेष्ठ, आमा समूह परिचालन उप समिति संयोजक उमा भुर्तेल पौडल , सांस्कृतिक उपसमिति संयोजक दान बहादुर थापा लगायतले सहजीकरण गर्नुभएको थियो । महोत्सव आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता ,कृषि कविता प्रस्तुति ,प्रदेशस्तरीय कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हास्य कलाकारको प्रस्तुति, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायत रहेका छन्।