काठमाडौं : प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच दुई पार्टीबीच एकताको घोषणा गरिएको हो । एकतापछि पार्टीको नाम आम जनता पार्टी नै रहेको छ । एकता घोषणा कार्यक्रममा आम जनता पार्टीका अध्यक्ष साहले मुलुक अप्ठेरो अवस्थामा पुगेका कारण विभिन्न शक्तिहरू एकीकृत हुनुपरेको बताए। अर्थतन्त्रको भ्रष्ट नीतिका कारण मुलुकको अर्थतन्त्र धरासयी बनेको भन्दै उनले यसमा नीति निर्माण तहमा पुगेका व्यक्तिहरू गम्भीर हुनुपर्ने धारणा राखे। अब सरकार गम्भीर भएर मुलुकमा देखिएका समस्या समाधान गर्न ध्यान केन्द्रीत गर्नुपर्ने उनको भनाइ छ। अहिले नेताहरू कुर्सीको व्यापारी बनेकाले जनताहरू निराश हुनुपरेको उनको भनाइ छ । एकता कार्यक्रममा आम जनता पार्टीको दोस्रो संशोधित अन्तरिम विधान सार्वजनिक गरिएको थियो ।
राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजा अनुसार नेपालमा जम्मा ७५,५२,०६६ वटा घर संरचना रहेको छ । जसमध्ये मुख्य रूपमा आवासका लागि प्रयोग भएका घर ७१.७ प्रतिशत, गोठ/धन्सार/मतान १०.१ प्रतिशत, खाली घर ६.३ प्रतिशत, अन्य (जस्तैः भान्सा घर) ५.९ प्रतिशत, व्यापार ३.१ प्रतिशत, शैक्षिक १.१ प्रतिशत, उद्योग/कलकारखाना र संस्थागत तथा सरकारी ०.४/०.४ प्रतिशत, होटल तथा लज ०.३ प्रतिशत, स्वास्थ्यजन्य ०.२ प्रतिशत र बैंक तथा वित्तीय संस्था ०.१ प्रतिशत रहेका छन् । प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी लुम्बिनी प्रदेशका ७५.० प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका ६८.० प्रतिशत घरहरू मुख्य रुपमा आवासको लागि प्रयोग भएका छन् । त्यस्तै परिवारले आवासीय रुपमा प्रयोग गरिरहेको घरको स्वामित्वमा कुल ६६,६०,८४१ परिवारमध्ये ८६.० प्रतिशत परिवारहरु आफ्नै स्वामित्वको घरमा बसोबास गरिरहेका छन् भने १२.८ प्रतिशत परिवारहरु भाडामा लिइएको आवासीय एकाइमा बसिरहेका जनगणनामा उल्लेख छ । गत २०६८ सालको जनगणनामा यो मान क्रमशः ८५.३ प्रतिशत र १२.८ प्रतिशत रहेको थियो । त्यस्तै, कुल ६६,६०,८४१ परिवारमध्ये ९५.५ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको शौचालयको प्रयोग गर्ने गरेका छन् भने ४.५ प्रतिशत परिवारहरुसँग अझै पनि शौचालयको पहुँच नभएको तथ्यांक जनगणनाको नतिजाले देखाएको छ । प्रदेश अनुसार हेर्दा मधेश प्रदेशमा शौचालय नभएको परिवार सबैभन्दा बढी १२ प्रतिशत देखिन्छ भने लुम्बिनी प्रदेशमा ५.६ प्रतिशत रहेको छ । शौचालय नभएका परिवारहरु वाग्मती र गण्डकी प्रदेशमा सबैभन्दा कम (१ प्रतिशत) रहेका छन् ।
काठमाण्डाै : नेपालको जनसङ्ख्या कुल २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । प्रारम्भिक तथ्याङ्कभन्दा अन्तिम जनसङ्ख्या घटेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको १२औँ जनगणना–२०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् ४८ दशमलव ९८ प्रतिशत पुरूष र १ करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१ दशमलव ०२ प्रतिशत महिला रहेका छन् । कुल जनसङ्ख्यामा अन्य लिङ्गी दुई हजार ९ सय २८ जना रहेका छन् । यसअघि २०७८ माघ १२ मा तत्कालीन केन्द्रीय तथ्याङ्क विभागले (अहिलेको राष्ट्रिय तथ्याङ्क कार्यालय) ले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको थियो । विस्तृत र अन्तिम प्रतिवेदनमा २७ हजार ९ सय २ कम जनसङ्ख्या देखिएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार सन्दर्भ दिन २०७८ साल मंसिर ९ गतेलाई मानिएको छ । प्रतिवेदन अनुसार सबैभन्दा धेरै जनसङ्ख्या भएको जिल्ला काठमाण्डौ रहेको छ । काठमाण्डौमा २० लाख ४१ हजार ५ सय ८७ जनसङ्ख्या छ भने सबैभन्दा कम मनाङमा पाँच हजार ६ सय ८५ जना रहेका छन् । भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसङ्ख्याको ५३ दशमलव ६१ प्रतिशत अर्थात् १ करोड ५६ लाख ३४ हजार ६ जना, पहाडमा ४० दशमलव १ प्रतिशत अर्थात् १ करोड १७ लाख ५७ हजार ६ सय २४ जना र हिमाली क्षेत्रमा ६ दशमलव ०८ प्रतिशत अर्थात् १७ लाख ७२ हजार ९ सय ४८ जनसङ्ख्या रहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ साल कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १५ दिन लगाएर १२औँ राष्ट्रिय जनगणना गरेको थियो । कार्यालयले ८० भन्दा धेरै प्रश्नका जवाफ लिएर जनगणना सङ्कलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गएको वर्ष माघमै सार्वजनिक गरिएको थियो । नेपालमा हरेक १० वर्षमा जनगणना हुँदै आएको छ । जनगणनाबाट मुख्यतः देशको जनसाङ्ख्यिक अवस्थासहित सामाजिक अवस्था, आर्थिक स्थिति, घरपरिवारको अवस्था, शिक्षा, स्वास्थ्य, खानेपानी, इन्धनलगायतका आधारभूत आवश्यकतामा नागरिकको पहुँचलगायतका विषय समेटिने गरेको छ । बसाइँसराइको स्थिति, देशबाहिर रहेको जनसङ्ख्यालगायतका विवरण पनि जनगणनामा समेटिन्छ । जनगणनाको अद्यावधिक नतिजाले तीनै तहका सरकारलाई आफ्ना नीति तथा प्राथमिकता तयार गर्न सघाउ पुग्छ । सरकारले उपयुक्त नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न सक्छ । त्यस्तै सङ्घ, प्रदेश र पालिकामा हुने राजस्व बाँडफाँट, वित्तीय समानीकरण अनुदान तथा राष्ट्रिय बजेट निर्माणमा जनसङ्ख्याको उल्लेखनीय भूमिका रहन्छ । १२औँ राष्ट्रिय जनगणना सम्पन्न गर्न सरकारले झण्डै ३ अर्ब रकम खर्चेको थियो भने गणकसहित ५० हजार कर्मचारी खटिएका थिए ।
काठमाडौँ: प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहसहित ९ जना उच्च प्रहरी अधिकृत शनिवारबाट अवकाशमा जाँदैछन् । अवकाश हुन लागेका आईजीपी सिंह सहितका उच्च अधिकृतहरूलाई प्रहरी प्रधान कार्यालयमा बिदाइ गरिँदै छ । मध्यान्ह ४ बजे आईजीपी सिंह र अरू अवकाशमा जान लागेका उच्च अधिकारीहरूलाई बिदाइ कार्यक्रम राखिएको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह उनको ब्याचका ९ जना अवकाश हुँदैछन् । अवकाश हुनेमा ३ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), ३ जना डिआइजी र दुईजना एसएसपी छन् । अवकाश हुनेमा एआईजीहरु सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी छन् । डिआइजीहरू नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ पनि अवकाशमा जाँदै छन् । २०४९ चैत ११ मा सेवा प्रवेश गरेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमाशङ्कर पञ्जियार र जनकराज पाण्डे पनि सेवा निवृत्त भएका छन् । ३० वर्षे सेवा अवधिका कारण उनीहरू अवकाशमा गएका हुन् ।
विराटनगर: कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनमा उत्रिएको बेला प्रहरीको लाठी प्रहारबाट घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । यही चैत ५ गते विराटनगरमा प्रहरीको लाठी लागेर घाइते भएका ४२ वर्षीय पदमबहादुर लिम्बुको उपचारको क्रममा मृत्यु भएको हो ।धरान उपमहानगरपालिका–१५ घर भएका लिम्बु लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सहकमाण्डर हुन् । कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका बेला मुख्यमन्त्री कार्यालय अगाडि प्रहरीको लाठी प्रहारबाट उनी घाइते भएका थिए । लिम्बुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार बिहान साढे २ बजे मृत्यु भएको हो । पहिचानवादी दल र संस्थाहरुले गठन गरेको प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले चैत ५ गते विराटनगरमा प्रदर्शन गरेको थियो । प्रदर्शन निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले चार राउण्ड हवाई फायर र दुई दर्जन सेल अश्रुग्याँस प्रहार गरेको थियो । प्रहरीले बल प्रयोग गर्दा लिम्बुको टाउकोमा चोट लागेको थियो । चोट लागेका उनी घरमै उपचाररत थिए । तर चैत ८ गते बेलुका अचानक बेहोस भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएका लिम्बुलाई शहीद घोषणा गर्दै घटनाको छानबिन गर्न प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले माग गरेको छ ।
काठमाडौं : सुनको मूल्य आझ फेरि उकालो लागेको छ। अघिल्लो कारोबार दिन बिहीबार १२ सय रुपैयाँले बढेको सुन आज ८ सयले बढेको हो। यसअघि चैत्र ५ गते छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ८०० पुगेको हो। यस्तै तेजाबी सुन १ लाख ९ हजार ३०० पुगेको छ। आज चाँदीको मूल्य स्थिर रहेको छ। चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो। रूस–युक्रेनको युद्ध सुरु भएसँगै बढ्न थालेको सुनको मूल्य दिनप्रतिदिन महँगो हुँदै गएको सरोकारवालाको भनाइ छ। द्वन्द्व,अस्थिरता र अराजक गतिविधि बढ्दै गएमा मानिसले सम्पत्ति सुरक्षित गर्ने क्रममा सुन किन्ने हुँदा मूल्य बढ्ने प्रवृत्ति छ। अन्तर्राष्ट्रिय स्तरमै सुनको मूल्य अत्यधिक बढ्न थालेकाले तुलनात्मक रूपमा यसको प्रभाव नेपालमा पनि परेको हो।
काठमाडौं : राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएको छ। सोल्टी होटलमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन्। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्थाले चिन्तित बनाएको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी टोलीले नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामना दिने क्रममा जोखिमयुक्त आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्ने उनको भनाइ छ। राष्ट्रपति पौडेलले भने, ‘सरकारले पूर्णता पाइसकेको छैन। सरकारले पूर्णता पाएलगत्तै प्रधानमन्त्री र अर्थमन्त्रीलाई बोलाएर तत्काल सम्बोधन गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराउँछु।’ वर्तमान संकट समाधनका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने पौडेलले बताए। मुलुकभित्र उत्पादन वृद्धि एवं रोजगारी सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने उनको भनाइ थियो। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक विकास र समृद्धिका लागि राष्ट्रपतिबाट पथ प्रदर्शन हुनेमा विश्वस्त रहेको बताए। अध्यक्ष मल्लले भने, ‘बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गति लिन सकेको छैन। उच्च ब्याजदरका कारण उद्यमी व्यवसायी एवं सर्वसाधारण ऋणीमा गम्भीर असर गरेको छ।’ पुँजीगत खर्च हुन नसक्ने समस्यालगायतले आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन नसकेको अध्यक्ष मल्लले बताए। आर्थिक समृद्धि र अर्थतन्त्रलाई चलायमान बनाउन एकल अंकको ब्याजदर कायम गर्नुपर्ने अध्यक्ष मल्लले बताए। बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय हुनुपर्नेमा उनको जोड थियो। कर्जा प्रवाह गरिँदा ब्याजदरमा लकअप प्रणाली लागू गरिनुपर्ने उनले बताए। लकअप प्रणाली कायम गरिए वित्तीय सन्तुलन कायम हुने र ऋणीहरू मर्कामा नपर्ने चेम्बरको ठहर छ। बाँझो जमिन सदुपयोग गरी कृषि उत्पादनमा आधुनिकीकरण, यान्त्रीकरण एवं वैज्ञानिकीकरण गरी मुलुकलाई आत्मनिर्भर बनाउन सकिने मल्लले बताए। कृषि कर्जा प्रवाह गर्दा खेत किन्नेलाई नभई खेती गर्नेले पाउने व्यवस्थाका लागि पनि अध्यक्ष मल्लले राष्ट्रपति पौडेलको ध्यानकर्षण गराए।
काठमाडौं : वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ । रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवं समाचार वाचिका ताम्राकारको बासबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा बिहीबार राति निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। विसं २०१८ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै नासो, हाम्रो देशको माटो,हाम्रो वन हाम्रो जीवनलगायत कार्यक्रम सञ्चालन गरेकी थिइन्। पछिल्लो समय ताम्राकार पर्यटन क्षेत्रमा पनि सक्रिय थिइन्। ताम्राकार चराचुरुङ्गी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियान सञ्चालन गरेर समाजसेवामा पनि समर्पित थिइन्। स्व.ताम्राकारको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।