तनहुँ:  तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाद्वारा सेतीनदी तटीय क्षेत्रका बासिन्दालाई प्राकृतिक विपद्बाट बचाउन बाढीसम्बन्धी सूचना दिने साइरन ज...

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्ने बताउनुभएको छ ।   सोमबार काठमाडौँमा पूर्व मन्त्री स्व. नवीन्द्रराज जोशीको सालिक अनावरण गर्दै उहाँले राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्ने बताउनु भएको हो ।   उहाँले जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरूको सुख दुःख बुझेर उनीहरूकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिबद्धता र समर्पणबाट राजनीति अभिप्रेरित हुनुपर्ने बताउनु भयो ।   राष्ट्रपति पौडेलले जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरूका सुख दुःख बुझ्ने व्यक्तित्वको रूपमा आफूले स्व. जोशीलाई चिनेको बताउनुभयो ।   उहाँले स्व. जोशीको व्यक्तित्व राष्ट्रिय रूपमा बनाएको उचाइ र छवि वर्तमान नेपाली समाजका लागि प्रेरणादायी हुने बताउनुभयो ।   राष्ट्रपति पौडेलले योग्यता, आचरणशील र इमान्दारीतामा बराबर सङ्गम रहेका विरलै मानिसमध्ये स्व. जोशी रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्छ । जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरूको सुख दुःख बुझेर उनीहरूकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिबद्धता र समर्पणबाट  अभिप्रेरित हुनुपर्छ ।   जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरूका सुख दुःख बुझ्ने नवीन्द्र यही दर्शनबाट प्रभावित थिए ।’   राष्ट्रपति पौडेलले मुलुक र समाज परिवर्तनका लागि सदैव दृढ संकल्पित, सिद्धान्तनिष्ठ कार्यकर्ताका रूपमा जोशीले लोकतन्त्रलाई जीवनपद्धतिका रूपमा आत्मसाथ गरी लोकतन्त्रको संस्थागत विकासमा पुर्‍याउनुभएको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणाको स्रोत बन्ने बताउनुभयो ।   नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संस्थापक नेताहरूले देखाएको बाटोमा वर्तमान काँग्रेस नेताहरू हिँड्नुपर्ने बताउनुभएको छ ।   जोशीको सालिक अनावरण कार्यक्रममा बोल्दै नेता सिंहले मूल्य मान्यता र आदर्शको राजनीतिमा नेताहरू हिँड्न आवश्यक रहेको बताउनुभएको हो ।   उहाँले २०४६ सम्म मूल्य मान्यता र आदर्शको राजनीतिमा बढी जोड समाज र दलहरूले दिएको उल्लेख गर्दै २०४६ को परिवर्तनपछि संस्थापक नेताहरूले देखाएको बाटोमा कांग्रेस नेताहरू कत्तिको हिँडेका छौँ भन्नेकुराको मनन गर्न आवश्यक रहेको बताउनुभयो ।   उहाँले शक्ति केन्द्रित राजनीतिमा आफ्नो सिद्धान्तको ख्याल गरिएको छ की छैन भन्ने कुरामा सोच्न जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘आजको दिनमा २०४६ को परिवर्तनपछि, २०४६ सम्म मूल्य मान्यता र आदर्शको राजनीतिमा बढी जोड समाजले, दलहरूले दिएको हामीले पाएका छौँ । तर २०४६ को परिवर्तनपछि प्रतिबन्धित अवस्थाबाट पार्टी खुलामा आइसकेपछि पावस बेस पोलिटिक्समा जुन रूपान्तरण भएको कारणले मूल्य मान्यताको राजनीति, आदर्शको राजनीति आदरणीय संस्थापक नेताहरूले देखाएको बाटोमा हामीले कत्तिको ध्यान दिन सकेका छौँ, त्यसमा सबैले मनन गरौँ ।   उहाँले नविन्द्रराज जोशीको जीवनलाई समाजमा जीवन्त राख्न प्रतिमा स्थापना र अनावरण कार्यक्रम भएको बताउनुभयो ।   जोशीकी पत्नी एवम् सांसद सपना राजभण्डारीले जोशीले लिनुभएको राजनीतिक लक्ष्य पूरा गर्न आफू लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रतिमा निर्माणले जोशीलाई जीवन्त राख्ने उहाँको भनाइ थियो । सोही अवसरमा राष्ट्रपति पौडेलले विस २०४६ सालको जनआन्दोलनका शहीद निर्गुण स्थापितको शालिकमा समेत माल्यार्पण गर्नुभयो ।    विस २०१९ पुस २२ गते काठमाडौँमा जन्मनुभएका जोशीको विस २०७७ चैत १३ गते निधन भएको थियो । उहाँ संविधानसभा सदस्य, उद्योगमन्त्री, काठमाडौँ महानगरपालिकाका उपप्रमुख, गणेशमान सिंह अध्ययन प्रतिष्ठानका संस्थापक अध्यक्षलगायत विभिन्न सामाजिक संस्थामा संलग्न हुनुहुन्थ्यो ।

काठमाडौं: हरेक वर्ष नयाँ शैक्षिक सत्र नजिकिँदै गर्दा विद्यार्थीले पाठ्यपुस्तक पाउने हुन् कि होइनन् भन्ने चिन्ता हरेक अभिभावकलाई हुने गर्दथ्यो । शैक्षिक सत्रको आधाआधी समयसम्म पनि विद्यार्थीले पुस्तक नपाएको गुनासो सदनदेखि सडकसम्म दोहोरिने हरेक वर्षको नियति जस्तै थियो ।   छपाइको जिम्मेवारी पाएका निकायले पनि टालटुले जवाफ दिएर पन्छने गरेका थिए । सर्वत्र विरोध, चासो र चिन्ता हुँदा पनि तालुकदार निकायले पनि स्पष्ट जवाफ दिने गरेको थिएन । तर, यसपटक अवस्था फेरिने विगतको जस्तो अवस्था नदोहोरिने उनीहरूको दाबी छ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नियमित चासोपछि यसप​टक विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउने सम्भावना बढेर गएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएका प्रधानमन्त्री प्रचण्डले नियमित चासो देखाउनुभएपछि छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले छपाइ र ढुवानी तीव्र बनाएको छ ।   केन्द्रका अनुसार आजसम्म कूल एक करोड ३५ लाख थान पाठ्यपुस्तक छपाई सम्पन्न गरेको छ । अब कूल १५ लाख थान पुस्तक छाप्न बाँकी छ । सातदिनभित्रै सबै पुस्तक छपाई सक्ने केन्द्रको दाबी छ ।   गत पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै प्रधानमन्त्री प्रचण्डले विशेष चासोका साथ पाठ्यपुस्तक छपाई र वितरणमा लाग्न केन्द्रलाई शिक्षा मन्त्रालयमार्फत निर्देशन दिनुभएको थियो ।   विवरणअनुसार कक्षा छ का लागि कूल २८ लाख ५० हजार पुस्तक आवश्यकमध्ये हालसम्म २८ लाख थान छपाई भइसकेको छ । कक्षा सातका लागि पनि समान २८ लाख ५० हजार थान पाठ्यपुस्तक आवश्यकमध्ये २८ लाख पाठ्यपुस्तक छपाई भइसकेको केन्द्रका प्रबन्ध निर्देशक अनिल झाले जानकारी दिनुभयो ।   यस्तै, कक्षा आठका लागि २९ लाख थान पाठ्यपुस्तक चाहिनेमा आजसम्म २२ लाख थान पुस्तक छपाई भइसकेको छ । थप सात लाख थान पुस्तक छाप्न बाँकी छ । कक्षा ९ का लागि ३२ लाख थान पाठ्यपुस्तक चाहिनेमा हालसम्म २९ लाख पुस्तक छपाई भइसकेको छ । बाँकी रहेको तीन लाख थान पुस्तक चैतभित्रै छपाई र वितरण गरिसक्ने केन्द्रको तयारी छ । साथै कक्षा १० का लागि ३२ लाख थान पुस्तक चाहिनेमा हालसम्म कूल २८ लाख थान छपाई भइसकेको र अब चार लाख थान छपाई हुन बाँकी रहेको केन्द्रको दाबी छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले छपाई र वितरणको सूचना हरेक दिन उपलब्ध गराउन केन्द्रलाई निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयका सचिव रामकृष्ण सुवेदीले पनि पाठ्यपुस्तक छपाई र वितरणमा कुनै पनि समस्या आउन नदिन केन्द्रलाई बारम्बार निर्देशन दिनुभएको छ ।   “नियमितरुपमा अनुगमन पनि भइरहेको छ । छपाइको गुणस्तरमा समेत ध्यान दिइएको छ”, झाले भन्नुभयो, “सम्बद्ध निकायबाट प्राप्त निर्देशनलाई अक्षरशः कार्यान्वयन गरिएको छ ।”   चैतभित्रै सबै विद्यालयमा पुस्तक पुर्‍याउने योजनाका साथ केन्द्रले काम गरिरहेको उहाँको भनाइ छ । यसका लागि लागि देशभर आठ वटा वितरण केन्द्रमा यही चैत २० गतेभित्रै पुस्तक पुर्‍याइनेछ । हालसम्म ती वितरण केन्द्रमा एक करोड थानभन्दा बढी पाठ्यपुस्तक पुगिसकेको छ ।   शैक्षिक सत्र सुरु भइसक्दासमेत विद्यार्थीले पुस्तक नपाउँदा विगतका वर्षमा सरकारको आलोचना हुने गरेको थियो । यसपटक भने समयमै पुस्तक पुर्‍याउन हरसम्भव प्रयास गरिएको प्रबन्ध निर्देशक झाको भनाइ छ ।   केन्द्रले कक्षा एकदेखि पाँचसम्मको पाठ्यपुस्तक भने निजी क्षेत्रलाई जिम्मा दिएको छ । आगामी वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुँदैछ ।   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुवेदीले सबैको चासो, नियमित अनुगमनलगायतका कारणले गर्दा यसपटक विद्यार्थीले समयमा नै पाठ्यपुस्तक पाउने सुनिश्चितता भएको जानकारी दिनुभयो ।   उहाँले निजी क्षेत्रका छापाखानाले पनि समयमै छपाई सम्पन्न गरी वितरण गर्ने विश्वास मन्त्रालयले लिएको बताउनुभयो । निजी छापाखानाको अनुगमन र विवरण भने पाठ्यक्रम विकास केन्द्रले दैनिकरुपमा लिइरहेको छ ।  

काठमाडौं : सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ।   मालपोत कार्यालयमा लागू भएको भू-राजस्व सूचना प्रणालीबाट सबै मालपोत कार्यालय जोडिने र यसबाट सेवाग्राहीले सहज रूपमा सेवा पाउने तथा अभिलेख प्रणाली व्यवस्थित हुनेछ।    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले विद्युतीय प्रणालीमा आबद्ध नभएका कार्यालयलाई वैशाख २ र आगामी असार मसान्त गरी दुई चरणमा यो काम सम्पन्न गर्न निर्देशन दिइसकेको जानकारी दिए।   भूमि व्यवस्थापन विभागका महानिर्देशक पद्मनिधि सोतीले सबै कार्यालयले विद्युतीय सूचना प्रणालीको प्रयोग गरी सेवा प्रवाहलाई चुस्त र सदाचारयुक्त बनाउन प्रयास भइरहेको बताए।    मन्त्रालयका सचिवसहितका पदाधिकारीको सहभागितामा भर्चुअल प्रणालीबाट सञ्चालित  कार्यक्रममा विभागका सूचना प्रविधि निर्देशक राजकुमार महर्जनले सूचना प्रविधिको प्रयोगमा आउने प्राविधिक समस्या विभागले तत्काल सम्बोधन गर्ने विश्वास दिलाए।   पछिल्लो समय मन्त्रालयले मालपोत र नापी कार्यालयका कर्मचारीसँग नियमित सम्पर्क गरी काम चुस्त बनाउन समन्वय संयन्त्रलाई प्रभावकारी बनाउन जुममार्फत सचिवसँग कार्यालय प्रमुख कार्यक्रम सञ्चालन गर्दै आएको छ।   बैंकमा जग्गा रोक्का राख्ने प्रणाली पनि अब अनलाइनबाटै हुने भएको छ। विभागले यसअघि मेगा बैंकसँग यस्तो सम्झौता गरेकामा अब प्राइम बैंक, कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक र अरू बैंक पनि यसमा आबद्ध हुँदै गएको जानकारी दिइएको छ।

काठमाडौं : नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ। सेयर कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक १७.७० अंकले बढेर १९०६विन्‍दुमा पुगेको हो।   सेन्सेटिभ इण्डेक्स २.०४ अंकले बढेर ३५८.०३ विन्दुमा अडिएको छ।   नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ।  दोहोरो अंकले बढेको सेयर बजारमा २६१ कम्पनीको  ४३ लाख ८ हजार ६४५ कित्ता सेयर १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९९१ रुपैयाँमा खरिदबिक्री भयो। अघिल्लो कारोबार दिन आइतबार नेप्से परिसूचक २६.८५ अंकले घटेर १८८८.२९ विन्दुमा झरेको थियो। सो दिन २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँमा खरिदबिक्री भएको थियो।   कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को मूल्य बढेको छ। आज  डेभलपमेन्ट बैंक,फाइनान्स,लाइफ इन्स्योरेन्स,मनु एन्ड प्रोसेसिङको सेयर मूल्य २ प्रतिशत बढिले बढ्यो।   होटल्स एन्ड टुरिजम,हाइड्रोपावर,नन लाइफ इन्स्योरेन्स,अदर्श र ट्रेडिङ उमसमूहको सूचक १ प्रतिशत बढिले वृद्धि भयो। १२ उपसमूहको सूचक उकालो लाग्दा माइक्रो फाइनान्स उपसमूहको सूचक भने ०.५१ प्रतिशतले ओरालो लाग्यो।   आज तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्‍मक सर्किट लागेको छ। सुपरमाइ हाइड्रोपावर,एसियन हाइड्रोपावर र कालिञ्चोक दर्शनको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।   यसदिन नेसनल माइक्रो फाइनान्स लघुवित्त वित्तीयको सेयर मूल्य भने १० प्रतिशतले ओरालो लाग्यो। यस्तै जलपा सामुदायिक लघुवित्त वित्तीयको मूल्य ८ प्रतिशत बढिले घट्यो।   कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी अग्रस्थानमा रह्यो। सो कम्पनीको  ५ करोड ९० लाख बढिको सेयर कारोबार भयो। जीवन विकास लघुवित्त वित्तीयको ४ करोड ७० लाख र नविल बैंकको ४ करोड ४ लाख मूल्यको सेयर कारोबार भयो।

काठमाडौं:  सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि यही चैत १५ गतेदेखि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा सुरु गर्ने भएको छ ।   सो सेवामार्फत विदेशी भूमिमा श्रमिकले भोग्दै आएका स्वास्थ्य समस्या सम्बोधन गर्न आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श उपलब्ध गराउने वैदेशिक रोजगार बोर्डले जनाएको छ ।   टेलिमेडिसिन सेवा यही चैत १५ गते बिहान १० बजेदेखि सुरु हुनेछ । सार्वजनिक बिदाका दिनबाहेक नेपाली कार्यालय समयमा सेवा प्रवाह गरिने बोर्डका प्रवक्ता राजन पौडेलले जानकारी दिनुभयो । नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, ह्वाट्सएप वा इमेललगायत सामाजिक सञ्जालबाट फोन गर्न सक्नेछन् ।   उक्त कल टेलिमेडिसिनका मेडिकल अधिकृतले प्राप्त गरी बिमारी श्रमिकलाई विशेषज्ञ सेवा आवश्यक परेमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा उपलब्ध गराइनेछ । आइतबार र शुक्रबार गन्तव्य मुलुकमा सार्वजनिक बिदा पर्ने भएकाले सो दिन सेवा उपलब्ध गराउन लागिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।   सेवा लिने श्रमिकका लागि ‘प्रेस्कृप्सन’ अनलाइनमार्फत उपलब्ध गराइनेछ । यसको सम्पूर्ण खर्च बोर्डले व्यहोर्ने छ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई लक्षित गरी टेलिमेडिसिन सेवा सञ्चालन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरिसकेको छ ।

धनुषा : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ मा आज बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।    मृत्यु हुनेमा स्थानीय २५ वर्षीय विष्णु फुयाँल रहेका छन्। ज १ त ३४३६ नम्बरको ट्याक्टर आज बिहान ८ बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ। 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्व नाराबाजी गर्ने ३ जना कारागार चलान भएका छन्।   जिल्ला प्रहरी परिसर टेकुका सहायक प्रवक्ता निरञ्जन भट्टका अनुसार सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङका सोम शर्मा कारागार चलान भएका हुन्।   उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयमा अभ्रद व्यवहारमा मुद्दा दर्ता भएको थियो। गत मंगलबार स्वतन्त्र अभियान नेपालका केही कार्यकर्ताले प्रधानमन्त्री उपस्थित कार्यक्रममा नाराबाजी गरेका थिए। उनीहरूले बैंकको व्याज महँगो भएको, जनताले दुःख पाएको र ब्याजदर घटाउनुपर्ने लगायतका माग राखी प्रदशनमा उत्रिएका थिए।   सोमबार जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई जनही ५ हजारका दरले धरौटीमा छाड्ने आदेश दिएको थियो। धरौटी बुझाउन नसकेपछि उनीहरूलाई जेल चलान गरिएको भट्टले जानकारी दिए।    धरौटी रकम बराबरको दिनमा उनीहरू कारागार रहनेछन्। दिनको ३०० का दरले धरौटी कट्टा गरिनेछ। उनीहरूलाई डिल्लीबजार कारागार कार्यालय पठाइएको छ। बुधबार जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप भएको थियो। 

काठमाडौं : काठमाडौंको नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।    शङ्खरापुर नगरपालिका-१ तल्लो नाङ्लेभारेमा जहरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा ४५ प ५४४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीय रामबहादुर तामाङको गए राति मृत्यु भएको हो।   मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।   दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सलम्बुटारस्थित पिपुल्स लाइफ केयर अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि शङ्खरापुर अस्पताल पठाइएको प्रवक्ता भट्टले बताए। 

काठमाडौँ:  नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच प्राविधिक सहायक रथी डा.अरुण शर्मालाईउपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदानगरेका छन् ।नेपाल सरकार मन्त्रिपरिषद्को चैत ६ गतेको बैठकले शर्मालाई बढुवा गर्ने निर्णय गरेको थियो ।   पदोन्नतिभएका शर्मा सैनिक स्वास्थ्य महानिर्देशनालय (सैनिक मेडिकल कोर) को महानिर्देशकमा नियुक्त पनि भएका छन् । सोही अवसरमाप्रधान सेनापति शर्माले प्राविधिक सहायक रथी दर्जामा पदोन्नति भएका एकजना प्राविधिक महासेनानी र प्राविधिक महा सेनानी दर्जामा पदोन्नति भएका एक जना प्राविधिक प्रमुख सेनानीलाई पनि पदोन्नति भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । उक्त कार्यक्रममा रथी तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।