काठमाडौं: राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आइतबार अष्ट्रेलियन डलर र बेलायती पाउण्ड स्टर्लिङको भाउ घटेको छ। अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ३८ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७८ पैसा तोकिएको छ। शुक्रबार अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ४७ पैसा र बिक्रीमा ८७ रूपैयाँ ८७ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ९ पैसा घटेको हो। त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा तोकिएको छ। शुक्रबार पाउण्ड एकको खरिददर १६२ रूपैयाँ ८७ पैसा र बिक्रीदर १६३ रूपैयाँ ६२ पैसा तोकिएको आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा कायम गरिएको छ। त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ६५ पैसा र बिक्रीमा १४३ रुपैयाँ ३१ पैसा पाइन्छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ८२ पैसा र बिक्रीमा ९७ रुपैयाँ २६ पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ तोकेको छ। त्यसैगरी, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २९ रुपैयाँ ६९ पैसा र बिक्रीमा २९ रुपैयाँ ८३ पैसा पाइन्छ। आइतबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ८ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ३५ पैसा तोकिएको छ।
उदयपुर : गाईघाटमा आइतबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकलको चालकको घटनास्थलमा नै मृत्यु भएको छ । काठमाडौंबाट झापातर्फ जाँदै गरेको मे.१.ख.२१८४ नम्बरको ट्रकको ठक्करबाट प्रदेश नं. १–०५–००१ प.६१५९ नम्बरको मोटरसाइकल चालक त्रियुगा नगरपालिका -१४ का ४३ वर्षीय तारणी मगरको मृत्यु भएको हो । मदन भण्डारी स्मृति लोकमार्गको गाईघाट बजारको मुख्यचौकमा मोटरसाइकल अचानक मोडिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए । दुर्घटना लगत्तै प्रहरीले चालक झापा कन्काई नगरपालिका ६ का २२ वर्षीय भुपेन्द्रराज वंशी र चालकलाई नियन्त्रणमा लिएको उनले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चालक हिमाली यातायात व्यावसायिक केन्द्र गाईघाटका व्यावसायी हुन् ।
महेन्द्रनगर : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कञ्चनपुर आउने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ। महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री महेन्द्रनगर आउन लागेका हुन। सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा १७९ विद्यार्थी दीक्षित हुन लागेको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले जानकारी दिए। दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्ड, शिक्षामन्त्री अशोककुमार राईलगायतको सहभागिता रहने छ। विश्वविद्यालयबाट पासआउट भएका ८५५ जना विद्यार्थीमध्ये एक सय ७९ जना मात्रै दीक्षान्त समारोहमा सहभागी हुने उपकुलपति जोशीले बताए।
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरूद्ध जबरजस्ती करणी मुद्दाको सुनुवाइ आज हुने भएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको एकल इजसालमा मुद्दाको पेशी तोकिएको छ। यसअघि गत बुधबार लामिछाने विरुद्ध मुद्दा 'हेर्न नभ्याइने'मा राखिएको थियो। सो दिन मुद्दाको पेशी काठमाडौं न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासमा तोकिएको थियो। यसअघि चैत्र १३ गते मुद्दाको पेशी तोकिएपनि न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलास परेपछि सुनुवाइ स्थगित भएको थियो। सन्दीपलाई थुनुमा पठाउने आदेश दिएका न्यायाधीश घिमिरेको इजलासमा मुद्दाको पेशी परेपछि सुनुवाइ स्थगित गर्न सन्दीप पक्षका कानुन व्यवसायीले निवदेन दिएपछि स्थगित भएको थियो। न्यायाधीश घिमिरेले नै गत कार्त्तिक १८ गते सन्दीपलाई मुद्दामा पुर्पक्षाका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर,पछि पाटन अदालतले जिल्लाको आदेश उल्टाउँदै सन्दीपलाई २० लाख धरौटीमा छोड्ने आदेश दिएको थियो। यसअघि सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गर्दै विदेश जान अनुमति दिएको थियो। सर्वोच्चको आदेश लगत्तै उनी दुबईमा क्रिकेट खेलेर फर्किएका थिए।
पोखरा: नयाँ बर्षको अबसर पारेर पोखरामा हुने फेसन डिजाइनर कन्टेष्ट तथा फेसन शो कार्यक्रमको तयारी पूरा भएको छ। वाऊ इभेन्ट्सको आयोजना एवम् वाऊ फेसन स्कुलको समन्वयमा पोखराको लेकसाइड स्थित त्रिपुरा लाउन्ज एण्ड बारमा चैत्र ३० गते हुने कन्टेष्ट तथा फेसन शो कार्यक्रमको तयारी पुरा भएको संयोजक रबिन गरुङले जानकारी दिए। फेसन शो कार्यक्रममा चर्चित कलाकार तथा नायक अनुप बिक्रम शाही, नायिका तथा मोडल आना शर्मा र फेसन कोरियोग्राफर जयन सुब्बा मानन्धरले पनि सहभागी जनाउने वाऊ फेसन स्कुलकी सञ्चालक तारा गुरुङले बताइन। फेसन प्रति लगाव हुनेहरुको प्रतिभा प्रष्फुटन गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको वाऊ फेसन स्कुलको सञ्चालक समते रहेका गुरुङले बताए। उनका अनुसार फेसन शो कार्यक्रम समाजमा समस्यामा परेका आर्थिक अवस्था कमजोर भएकाहरुको लागि सहयोग पुग्ने उदेश्यका साथ आयोजना गरिएको हो। कार्यक्रम पश्चात् वाउ स्कुलले १० जना महिलालाई निशुल्क फेसन डिजाइन अध्यन गराउने पनि गरुङले बताए । फरक खालको थिममा पोखरामा नै पहिलोपटक हुन् लागेको फेसन सो कार्यक्रममा फेसन डिजाइनमा अध्यनरत डिजाइनरहरु काठमाडौं, पोखरा, धरान, इटहरी, बाग्लुङ लगायतबाट ९० जना फेसन बिधार्थी बीच डिजाइनर प्रधिस्पर्धा हुनेछ। फेसन सो कार्यक्रममा डिजाइनर प्रतियोगिता बिधामास् डिजाइनर अफ द इयर पोखरा, काठमाडौं, धरान, इटहरी, बाग्लुङ लगायतको बिधामा अवार्ड प्राप्त गर्ने कार्यक्रम संयोजक गुरुङले बताए । कार्यक्रममा शोको विभिन्न कन्सेप्ट अनुसार फ्ल्यास ब्याग, फ्युचर स्ट्रिक, बाइडल, स्पिरिङ्ग, समर र एथोनिक थिममा १८ जना मोडलहरुलाई प्रस्तुत गरिने फेसन शो कार्यक्रमका कोरियोग्राफर जयन्ती मोक्तानले जानकारी गराइन। यस्ता खालका फेसन शोले मोडल एवम् डिजाइनरको बिकासलाई पनि सहयोग पुग्ने र भोलीका दिनमा उनीहरुलाई अगाडी बढ्न आत्मविश्वासमा सकारात्मक भुमिका खेल्ने भएकाले आफुहरुले कार्यक्रमको आयोजना गरेको मोक्तानले बताइन् ।
पोखरा: नयाँ वर्षमा खपौदीमा मेलाको आयोजना गरिने भएको छ । फेवा पर्यटन विकास समितिले नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर ‘फस्ट खपौदी कार्नीवल’ नाम दिएर मेला गर्न लागेको हो । शनिबार चलचित्र पत्रकार संघ कास्कीको समन्वयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै फेवा पर्यटन विकास समितिका अध्यक्ष अर्जुन सुवेदीले चैत ३० र बैसाख १ गते दुई दिने मेलाको आयोजना गरिएको जानकारी गराए । मेला पहिले प्याराग्लाइडिङ ल्याण्डिङ हुने स्थानमा हुनेछ । ‘हामीले नेपाली नयाँ वर्षको अवसर पारेर ‘फस्ट खपौदी कार्नीवल’ नाम दिएर मेलाको आयोजना गर्न लागेका हौं । फेवा पर्यटन विकास समिति पाँच वर्षदेखि क्रियाशील संस्था भएता पनि कार्यक्रम भने पहिलो हो ।’,उनले भने । उनले मेला चैत ३० गते साँझबाट अनौपचारिक रुपमा सुरु गरिने र बैसाख १ गते नै औपचारिकता गर्ने गरी तयारी गरिएको बताए । फेवातालको उत्तर तर्फको गैह्राचौतारा देखि चंखपुर पामे सम्मको क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षण केन्द्रविन्दु भएका कारण पर्यटकहरुलाई नै आकर्षित गर्ने उद्देश्य स्वरुप कार्यक्रमको आयोजना गरिएको उनले उल्लेख गरे । मेलामा स्थानीय नौमती बजा सहित विभिन्न समुदायको झाँकीहरु प्रदर्शन गरिनेछ । ख्याती प्राप्त कलाकारद्वारा दुई दिन नै सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने मेलाका सांस्कृतिक संयोजक अल्फान्जो रिर्सोटका संचालक सुभाष भट्टराईले जानकारी दिए । उनले उक्त कार्यक्रममा लाइभ ब्याण्ड र डिजे सेसन पनि रहने उल्लेख गरे । खानाका विभिन्न स्टलहरु मेलामा रहनेछन् । स्थानीय माछा तथा कृषि उत्पादनको प्रदर्शन सहित डुङ्गा दौड लगायतका खेलकुदका कार्यक्रमहरुलाई पनि प्राथामिकतामा राखिएको भट्टराईले बताए । फेवा पर्यटन विकास समितिमा हाल एक सय भन्दा बढी व्यवसायीहरु आबद्ध छन् । कोभिड महामारीको कारण थला परेको पर्यटन क्षेत्रलाई माथि उकास्न समितिले यसअघि सानातिना सामाजिक र व्यवसायिक कार्यक्रम गर्दै आएको छ । कोभिड पछि अर्थतन्त्रमा सुधार नहुँदा यस्ता मेला महोत्सव मार्फत अर्थतन्त्र चलायमान बनाउन मदत पुग्ने विश्वास आयोजकको छ । कार्यक्रमलाई सफल पार्न २५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । मेला अवधिभर २० हजार भन्दा बढी दर्शक भित्र्याउने लक्ष्य राखिएको छ । प्रवेश निशुल्क हुँदा पनि मेलाले सफलता प्राप्त गर्ने दाबी आयोजकको छ । सोहि समयमा पोखरामा फेवा नयाँ वर्ष महोत्सवको आयोजना गरिएता पनि आफुहरु भने उक्त कार्यक्रमको समेत समर्थनमा रहेको अध्यक्ष सुवेदीले बताए । हानले वर्षेनी गर्दै आएको फेवा नव वर्ष महोत्सवमा आफुहरुलाई समावेश नगरिएता पनि फेवा पर्यटन विकास समिति भने उक्त महोत्सवलाई समेत सफल बनाउन लागिपर्ने भनाई उनको छ । ‘खपौदी कार्नीवल’ बाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा फाइदा फेवा नव वर्ष महोत्सवलाई समेत हुने उनले बताए ।
काठमाडौं: गैरआवसीय नेपाली संघ एनआरएनए जापानको अध्यक्ष पदमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । एनआरएनए जापानको आसन्न नेतृत्वका लागि श्रेष्ठले उम्मेदवारी दिने पक्का भएको हो । विगत १५ वर्षदेखि जापान रहेर व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठले एनआरएनए जापानको अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् । बाग्लुङ समाज जापानको अध्यक्ष भैसकेका श्रेष्ठ एनआरएनए जापानको सल्लाहकार, मानर्थ सदस्य, प्रवक्ता हुदै अहिले महासचिव पदमा कार्यरत छन् । एनआरएनको अन्तराष्ट्रिय अभियानमा श्रेष्ठ सुशासनको क्षेत्रमा काम गर्ने नेताको रुपमा चिनिन्छन् । प्रवक्ता रहदा एनआरएनए जापानमा भएको करोडौ भ्रष्टाचारबिरूद्ध उनले आवाज उठाएका थिए । सो भ्रष्टाचारको घटना सार्वजनिक गरेपछि सत्य तथ्य पत्ता लगाउन संस्थापक अध्यक्ष राजन प्रधाङ्गनको संयोजकत्वमा पाँच सदस्य छानबिन समिति गठन भएको थियो । सो समितिले झन्डै दुई करोड़ भन्दा माथिको रकम अनियमिता भएको प्रतिवेदन सार्वजनीक गरेको थियो । श्रेष्ठलाई एनआरएनए जापानको नयाँ नेतृत्वका लागि दाबेदार मानिदै आएको थियो । उनले आसन्न नेतृत्वका लागि उम्मेदवारी दिने पक्का गरेका हुन् । बाग्लुङ स्थायी घर भएका श्रेष्ठ तेक्वान्दोका राष्ट्रिय स्तरका खेलाडी समेत हुन् ।
काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताएका छन्। शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले संहदरबारको फोहोर आजदेखि नउठ्ने जानकारी गराएका हुन्। ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ,’ मेयर बालेनले फेसबुकमा लेखेका छन्।
पोखरा: पोखरा महानगरपालिका वडानम्बर १४ का अध्यक्ष बोध बहादुर कार्कीले मापदण्ड मिचेर संरचना बनाए भत्काइदिने चेतावनी दिएका छन् । हवेली मार्ग हुदै मान्द्रेढुङ्गा जाने ढलान बाटोको शुक्रबार उद्याटन गदै वडाध्यक्ष कार्कीले कानुन विपरीत काम गरेमा खरो रुपमा उत्रने चेतावनी दिएका हुन् । जनताको दुखःसुखमा सथै छु, समस्या लिएर आउनुहोस् आफ्ना वडावासीहरुलाई सहज रुपमा फछ्यौट गर्छु, तर सार्वजनिक सम्पतीमा हुने हस्तक्षप र मिचाह प्रबृतीविरुद्ध निर्मम भएर काम गर्छु, कार्कीले भने । भित्री सडक मर्मत र विस्तारका क्रममा सडक हडपेको पाइएकाले डोजर लिएर आउनुपर्ने अवस्था सृजना नगर्न आग्रह गरे । घर बनाउदा मापदण्ड मिच्ने, कम्पाउण्ड र गेट बनाउने गरेको भन्दै कार्कीले नक्सा पास गर्ने बेलामा कडाई गरिएको बताए । वडामा २५ करोड बरावरको बजेट भित्रीएको बताउदै अध्यक्ष कार्कीले कार्यान्वयनमा गएका योजना सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने बताए । १८० वटा भन्दा बढि योजनामा अहिले काम भईरहेको उनले जानकारी दिए । वडाध्यक्ष कार्कीले योजना नभएको कुनै पनि टोल नरहेको दाबी गरे । उपभोक्ता समितिले काम गर्दा गुणस्तरमा ध्यान दिन पनि उनले आग्रह गरे । कमसल काम भएको जानकारी भए कुनै पनि योजनाको सम्पन्नतामा हस्ताक्षर नगर्ने कार्कीले बताए । उक्त अवसरमा कालिका क्याम्पस अगाडीको हवेली मार्ग ढलानमा उपभोक्ता र वडाको सहलगानीमा बाटो ढलान गरिएको उपभोक्ता समितिका सचिव किरण अधिकारीले जानकारी दिए । वडाको २० लाख र उपभोक्ताले ३ लाख ५४ हजारको सहलगानीमा २०८ मिटर बाटो ढलान गरिएको अधिकारीले बताए । उपभोक्ता समितिका अध्यक्ष देव बहादुर कार्कीले हवेली मार्ग हुदैँ मान्द्रेढुङगासम्म जोड्ने सडक ढलानका लागि बजेटको व्यवस्था गर्न माग गरे ।