काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

काठमाडौं:     निजी विद्यालय सञ्चालकहरूले शिक्षा विधेयकमा भएका केही प्रावधान खारेजीको माग गरेर आन्दोलनको घोषणा गरेका छन् ।  निजी विद्यालयले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संशोधन गर्नपर्ने मागसहित विद्यालय बन्दसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । आज मङ्गलवार काठमाडौं प्याब्सन, नेशनल प्याब्सन र हिसानले संयुक्त पत्रकार सम्मेलन गर्दै विधेयकमा राखिएका केही प्रावधान निजी लगानीका संस्थागत विद्यालयहरूप्रति पूर्वाग्रही मात्र नभएर संविधान विपरीत, अव्यावहारिक र अन्यायपूर्ण भएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । उनीहरूले भोली बुधवार पालिका, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ, प्रदेश मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, पर्सि बिहीवार मस्यौदा विरोध प्रदर्शन गर्ने, साउन २६ गते सरोकारवाला पक्षबीच अन्तरक्रिया तथा छलफल गर्ने, साउन २७ गते आ–आफ्नो सङ्गठनमा समीक्षा गर्ने, साउन २८ गते अनिश्चितकालीन विद्यालय बन्द गर्ने र साउन २९ गते अनिश्चितकालीन विद्यालय बन्दसँगै विद्यालयका गाडी सार्वजनिक स्थलमा पार्किङ गर्ने घोषणा गरेका छन् । पाँच वर्षभित्रमा निजी लगानीका विद्यालयहरूले आफ्ना सम्पूर्ण दायित्व फर–फारक गरी शैक्षिक गुठीमा रूपान्तरित हुनुपर्ने, पालिकाले तोकेको सीमाभित्र रहेर शुल्क लिन पाउने, फेरि जिल्ला शिक्षा कार्यालय र शिक्षा विभाग बिउँताउनेलगायतका विधेयकमा भएका विषय संशोधन गर्न निजी विद्यालय सञ्चालकहरूले माग गरेका छन् । अहिले विधेयकमा भएका केही बाध्यात्मक प्रावधान संविधानको भावना विपरीत, अव्यावहारिक र दुराशययुक्त रहेकोले आन्दोलन गर्न बाध्य भएको उनीहरूको जिकिर छ ।

काठमाडौं:     गृह मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई सरकारले दिएको विभूषण लिलामीमा नराख्न आग्रह गरेको छ । मन्त्रालयले पुनलाई एक जानकारी पत्र पठाएर नेपाल सरकारले दिएको मानपदवी उज्जवल कीर्तियम राष्ट्रदीप द्वितीय श्रेणी न्यूनतम मूल्यसमेत उल्लेख गरेर बिक्रीका लागि लिलामीमा राखिएको विषय सामाजिक सञ्जालमा सार्वजनिक भएकोले त्यसो नगर्न आग्रह गरेको हो । कुनै नेपाली र विदेशीलाई दिएको मानपदवी र विभूषण कसैलाई बिक्री गरेमा, बन्धकी राखेमा वा मर्यादा विपरीत हुने गरी प्रयोग गरेमा सरकारले विभूषण रद्द गर्ने विषय पनि स्मरण गराएको छ । यसरी विभूषण नै रद्द भएपछि पाउने व्यक्तिको नामसमेत रद्द गरेर सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशन हुने विषय पनि गृह मन्त्रालयले प्रष्ट पारेको छ । महावीर पुनजस्तो प्रतिष्ठित र सम्मानित व्यक्तिबाट कुनै गैरकानुनी कार्य नहुनेमा मन्त्रालय विश्वस्त रहेको पनि पत्रमा उल्लेख छ ।  

बेनी:     बेनी–जोमसोम सडकको राहुघाट–तातोपानी खण्डमा रातमा सवारी आवागमन बन्द गरिएको छ । यस खण्डको बैसरीलगायतका क्षेत्रमा पहिरो गई बारम्बार यातायात अवरुद्ध हुन थालेपछि रातको समयमा सवारी आवागमन बन्द गरिएको हो । सोमबार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा बसेको सर्वपक्षीय समन्वय बैठकले ठाउँठाउँमा पहिराको कारण दैनिकजसो सडक आवागमन अवरुद्ध हुने गरेको र जनधनको समेत क्षति हुने जोखिम रहेकाले  वर्षायामभरि रातिको समयमा यातायात आवागमन नगर्न अनुरोध गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।  रघुगङ्गा गाउँपालिका–२ बैसरीको अँधेरीखोलामा निरन्तर पहिरो खस्न नरोकिएको र पहिरो खसेर सडक अवरुद्ध हुँदा धेरै सर्वसाधारण र यात्रु अलपत्र पर्ने समस्या आउन थालेपछि रातको समयमा सवारी आवागमनलाई रोक्ने निर्णय गरिएको उहाँले बताउनुभयो । रातको समयमा अत्यावश्यक यात्रा गर्नुपरेमा सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिलाई खबर गरेरमात्रै आवातजावत गर्नसमेत आग्रह गरिएको छ । त्यसैगरी बैसरी पहिरो रोकथामका लागि पहिरो खस्न सुरु भएकै ठाउँमा एक्साभेटर मेसिन प्रयोग गेरेर संरक्षण र रोकथामका संरचना निर्माण गर्न कालीगण्डकी करिडोर ९बेनी–जोमसोम–कोरला सडक योजना०लाई अनुरोध गर्ने र सो कार्यका लागि जिल्ला समन्वय समिति, जिल्लास्थित सुरक्षा निकाय, रघुगङ्गा गाउँपालिका, डिभिजन वन कार्यालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने निर्णयसमेत भएको जिसस प्रमुख राजकुमार थापाले बताउनुभयो । बैसरीको अँधेरीखोलामा निरन्तर पहिरो खस्न थालेपछि गत शनिबारदेखि बेनी–जोमसोम सडकखण्डमा सिधा सवारी अवरुद्ध बनेको छ । सडकमाथिको डाँडा र पाखाबाट निरन्तर पहिरो खस्न थालेपछि सडक अवरुद्ध भएकाले सडकमा सयौँ सवारीसाधन लाम लागेका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले भूमिगत पानी र भिरमाथिको पाखोबाट सडकमा पहिरो खसिरहने भएकाले सडक सञ्चालन गराउन समस्या भएको जानकारी दिनुभयो । बेनी–जोमसोम सडकमा सिधा सवारी अवरुद्ध बनेसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका र सिङ्गो मुस्ताङवासीलाई सास्ती भएको छ भने मुस्ताङको भ्रमणमा आएका पर्यटक र मुक्तिनाथको दर्शनका लागि आएका तीर्थयात्रीसमेत बीच बाटैमा अलपत्र परेका छन् । गत वर्षदेखि अँधेरीखोलाको भिरबाट पहिरो खस्न थालेको थियो ।  यस क्षेत्रमा यसअघि पहिरो खस्दा गुडिरहेका सवारीसाधनमा क्षति पुर्याउनुका साथै र यात्रुलाई समेत चोटपटक लागेको थियो । 

चितवन:     कालीखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६  मा पर्ने कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार बिहान सवा ५ बजेतिर लेदोसहितको ठूलो पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउन तयारी भइरहे पनि ठूलो पानी परिरहेकाले कठिनाइ भएको छ । पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । पहिरो हटाउन समय लाग्न सक्ने  भएकाले यो सडक भएर सकेसम्म यात्रा नगर्न प्रहरीको अनुरोध छ । नारायणगढ–मुग्लिन सडक खण्डमा पानी पर्नासाथ पहिरो जाने गरेको छ । यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । 

स्याङ्जा:    स्याङ्जाको भिरकोट नगरपालिका –४ छङछाङ्दीमा माइक्रो बस र भारतीय नम्बरको बस एकापसमा ठोकिँदा १३ जना घाइते भएका छन् । काठमाडौँबाट स्याङ्जाको वालिङतर्फ जादैगरेको बा ३ प १००३ नम्बरको माइक्रो बस र सुनौलीबाट पोखरा जाँदै गरेको भारतीय पर्यटक चढेको जीजे ०५ बीएक्स २३२३ नम्बरको बस सोमवार साँझ ६ बजे एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।  घाइतेमध्ये दुई जनालाई उपचारका लागि पोखरा पठाइएको छ । उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । माइक्रो चालक गल्याङ नगरपालिकामा बस्ने ४० बर्षीय पूरन बोहोरा र परिचय नखुलेका माइक्रो सहचालकलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीको भनाइ छ ।  दुर्घटनामा परी स्याङजा वालिङ २ का पबित्रा सोनाम, वालिङ ९ का दुर्गा ब।गुरुङ, वडा नं. २ का मुना गुरुङ, वडा १३ का मन्जु एस्के, वडा ८ का सरिता रेग्मी, भिरकोट घर भई वालिङ १ बस्ने मनसुभा नेपाली, चापाकोट ३ का बेद ब. थापा, चापाकोट ४ का मिन ब. सारु, पर्बतको बिहादी गाउँपालिका ४ का रुकमागत भुसाल, बिहादी ६ का टेक ब. बस्याल, वालिङ २ का सुमित्रा थापा मगर रहेका छन् । सबैको गह्रौ प्राथमिक अस्पताल वालिङमा उपचार भइरहेको प्रहरीले बताएको छ । भारतीय बसमा सवार ४८ जना  सबै सकुशल रहेको प्रबक्ता सुवेदीले जानकारी दिनुभयो । दुबै सवारी साधन र भारतीय बस चालक प्रहरी नियन्त्रणमा रहेको उहाँले बताउनुभयो ।

पोखरा:   पोखरा चिप्लेढुङ्गास्थित पोखरा ट्रेड मल एण्ड हाउजिङ्ग प्रा.लिले ११ औं स्थापना दिवसको अवसरमा वक्तृत्कला प्रतियोगिता आयोजना गरेको छ ।  आगामी साउन २४ गते ११ औं स्थापना दिवसको अवसरमा विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको पोखरा ट्रेड मलका अध्यक्ष मिनराज काफ्ले बताए ।   ‘पोखरा ट्रेड मलमा साउन २४ गतेदेखि व्यवसायीक यात्रा सुरु भएको हो, ०७२ देखि साउन २४ लाई ट्रेड मलको स्थापना दिवसको रुपमा मनाउँदै आएका छौं’, काफ्लले भने, ‘स्थापना दिवसको अवसरमा पोखरा महानगरपालिकाका विद्यालयबीच वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै छौं ।’ पोखरा महानगरभित्रका ७२ वटा सामुदायिक विद्यालयहरुलाई पत्राचार गरेपनि २९ विद्यालयले मात्र प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिएको अध्यक्ष काफ्ले बताए ।  ‘पर्यटन र सम्भावना विषयकमा हुने वक्तृत्वकला प्रतियोगितामा पोखरा महानगरभित्र ७२ वटा विद्यालयलाई पत्राचार गरेका छौं’, उनले भने, ‘पत्राचार गरेका ७२ मध्ये २९ विद्यालयले सहभागिता जनाउने जानकारी दिएका छन्, भोलिसम्म नाम दर्ता गर्ने समय थप गरेका छौ ।’ उनका अनुसार प्रतियोगितामा पहिलो विजेताले रु १० हजार, दोस्रोले रु ७ हजार, तेस्रोले रु ४ हजार र सान्त्वना हुनेले रु १ हजार ५ सय प्राप्त गर्ने छन् ।  पोखरा पर्यटकिय नगरी भएको र यस सम्बन्धमा यस क्षेत्रका बालबालिकाको धारणा बुझ्न र समग्र पोखराको आर्थिक सम्भावनाको बारेमा आम जनातालाई जानकारी दिन कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक सन्तोष घिमिरेले जानकारी दिए ।   

पाल्पा:     पाल्पामा डेङ्गु सङ्क्रमित महिलाको मृत्यु भएको छ । डेङ्गु संक्रमित तानसेन–६, बर्तुङ्की ६९ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । तानसेनस्थित मिसन अस्पतालमा उपचारको क्रममा साउन २१ गते साँझ मृत्यु भएको हो । मृतक महिलामा एकसाताअघि डेङ्गु संक्रमणको पुष्टि भएको मिसन अस्पतालले जनाएको छ । पाल्पामा पछिल्लो समय डेङ्गु संक्रमण बढ्दै गएको छ । पछिल्लो एक महिनायता पाल्पामा १५ भन्दा बढी मानिसमा डेङ्गु संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराइले जानकारी दिनुभयो ।

काठमाडौं:    उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले तामाङ र मगर समुदायको धर्नामा भएको प्रहरी हस्तक्षेपप्रति दुःख व्यक्त गर्नुभएको छ । गृहमन्त्री श्रेष्ठले घटनाको गम्भीर अनुसन्धान गरी दोषी प्रहरीलाई कारबाही गर्ने र घाइतेको उपचार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज मन्त्रालयमा तामाङ घेदुङ र मगर सङ्घका अध्यक्षसहितका प्रतिनिधिहरूको ज्ञापनपत्र बुझ्ने क्रममा गृहमन्त्री श्रेष्ठले सो प्रतिबद्धता जनाउनुभएको हो । तामाङ र मगर समुदायका विषयमा विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई तत्काल कारबाही गर्न उजुरी दिए पनि समयमै सुनुवाइ नभएको भन्दै साउन १७ गते नेपाल तामाङ घेदुङ सङ्घीय समिति र नेपाल मगर सङ्घ केन्द्रीय समितिको ब्यानरमा टेकु प्रहरी परिसर अगाडि धर्ना दिइएको थियो । सोही धर्नामा प्रहरी हस्तक्षेप हुँदा करिब ३६ जनाभन्दा बढी धर्नाकारी घाइते भएका थिए । सोही दिन पक्राउ अधिवक्ता पाण्डे केही घण्टामा जिल्ला अदालत काठमाडौँको आदेशले रिहा भए पनि धर्नाकारीलाई भने प्रहरी हिरासतभित्र समेत चरम यातना दिइएको तामाङ घेदुङ र मगर सङ्घले बताउनुभएको छ । मरणासन्न घाइते दर्जनौँ महिला र पुरुष आन्दोलनकारीको उपचार जारी छ । अधिवक्ता पाण्डेमाथि कारबाही, धर्ना र हिरासतमा यातना दिन आदेश दिने प्रहरी अधिकारी तथा संलग्नमाथि कारबाही तथा उचित क्षतिपूर्ति एवम् उपचारको माग गर्दै तामाङ घेदुङ र मगर सङ्घले गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र दिएको हो ।

पाल्पा:      सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते भएका छन् ।  राजमार्गको बुटवल पाल्पा सडकखण्डको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा क्षेत्र हेडबक्स नजिकै रहेको नाग मन्दिर अगाडि आज बिहान लु २ च २८४९ नंको जीपमाथि ढुङ्गासहितको पहिरो खस्दा चालकसहित तीन जना घाइते भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु २ च २८४९ नंं को गुडिरहेको जीपमाथि पहिरो खस्दा जीपमा सवार चालक सहित तीनजना घाइते भएको स्थानीय विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ढुङ्गासहितको पहिरोले जीपको अगाडि भागमा पूर्णरुपले क्षति पुगेको स्थानीय पाण्डेले जानकारी दिए । पहिरोका कारण केही बेर राजमागको बुटवल–पाल्पा सडक अवरुद्ध बने पनि अहिले भने पुनःसञ्चालन भइसकेको ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।