काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका- २ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।   धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परी ८ जनाको मृत्यु भएको गौतमले जानकारी दिए।   मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। घाइते ८ जनाको उद्धार भएको छ। गजुरी गाउँपालिकाका उपाध्यक्ष शर्मिला बिसुरालले घाइते पाँच जनालाई काठमाडौं पठाइएको बताइन्।    ‘गजुरीको छहरानजिकैबाट त्रिशुलीमा बस खसेको हो। बसको आधा भाग पानीमा डुबेको अवस्थामा छ। घाइतेहरूको उद्धार गरी, गजुरी स्वास्थ्य चौकी, गजुरी अस्पताल र राजमार्ग अस्पतालमा उपचार भइरहेको छ। गजुरी अस्पतालमा उपचार सम्भव नभएकालाई काठमाडौं पठाइएको छ,’ उनले भनिन्।   

पोखरा:   पोखरा महानगरपालिका वडा नम्बर २५ ले हेमजामा रहेका विभिन्न यूवा क्लबहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ ।  युवाहरुलाई वडाको वार्षिक गतिविधिहरुको जानकारी दिनुका साथै चालु आ.व लक्षित आर्थिक, सामाजिक र भौतिक विकासात्मक छलफललाई जोड दिन कार्यक्रमको आयोजन गरिएको वडाध्यक्ष मोतिलाल तिमिल्सिनाले जानकारी दिनुभयो । कार्यक्रममा उपस्थित युवाहरुले हेमजामा नगर बस सेवा संचालन प्रभावकारी नभएको , मध्यपहाडी लोकमार्ग अन्तर्गत हरिचोक देखि यम्दी सम्मको सडक निर्माणमा ढिलाइका कारण वर्षायाम संगै हिलाम्मे सडकले आवतजावतमा हैरानी, डिजिटल पुस्तकालय अर्यात इ–लाइब्रेरीको अवस्यकता ,युवा उद्यमी सम्बन्धि सिफारिस निशुल्क गर्न आग्रह ,दुर्धटना न्युनिकरणका लागि स्कुल स्कुलका ट्राफिक जनचेतना कार्यक्रम गर्नुपर्ने,वडा तहका विभिन्न समिति गठनमा युवा प्रतिनिधित्व हुनुपर्ने, विनाधितो सहुलियत दरमा व्यवसायिक ऋण, एकीकृत कर  प्रणाली लागु गर्नुपर्ने लगायतका समस्या राखेका थिए ।  महानगर प्रवक्ता एवं वडाध्यक्ष तिमिल्सिनाले वडाबाट समाधान गर्न मिल्ने समस्यलाई तत्काल सम्बोधन गर्ने र अन्य विषयगत समस्या अनुरुप सम्बन्धित निकायमा पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै समृद्धि र विकासका लागि युवाहरुको साथ र सहयोग आवस्थक सहेको बताउनुभयो ।  महानगर व्यवसाय प्रवद्र्धन केन्द्रका कार्यकारी प्रमुख नवराज अधिकारीले साना व्यवसायीका लागी वित्तीय योजना तथा सहुलियतपुर्ण कर्जा सम्बन्धि जानकारी गराउनु भएको थियो । 

काठमाडौं:   पृथ्वी राजमार्ग अन्तर्गत धादिङको त्रिशुली नदीमा बस खसेको छ । यतिबेला इलाका प्रहरी कार्यालय गजुरीको प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारको काम गरिरहेको छ । दुर्घटनामा परेको बसको नम्बर खुलेको छैन ।  दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

रामेछाप:   कारागार कार्यालय रामेछापमा एक कैदीबन्दीको मृत्यु भएको छ । जिल्लाको उमाकुण्ड गाउँपालिका–६ रोटेका ८४ वर्षका पदमबहादुर श्रेष्ठको गएराति मृत्यु भएको हो। शौचालय जाँदा लडेर घाइते भएका श्रेष्ठलाई कारागार कार्यालय रामेछापले उपचारका लागि जिल्ला अस्पताल रामेछाप भर्ना गरेको थियो । उनको उपचारको क्रममा गएराति ज्यान गएको कारागार कार्यालय रामेछापका प्रमुख रुपलाल तामाङले जानकारी दिए ।  जबरजस्ती करणी उद्योग मुद्दामा श्रेष्ठलाई २०७७ सालमा जिल्ला अदालत रामेछापले जन्मकैदको फैसला सुनाएको थियो ।

पोखरा:   उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि प्रकरणमा संलग्न दोषी नेतालाई कारवाहीको दायरामा ल्याउने बताएका छन् ।   पोखरामा प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो अभिव्यक्ति दिएका हुन् ।   उनले कुनै पार्टी विशेषको नेता जुन सुकै प्रकरणमा दोषी पुष्टि भए कारवाही हुने स्पष्ट पारे ।      गृहमन्त्री श्रेष्ठले अपराध अनुसन्धान महाशाखाले अहिले नक्कली भुटानी शरणार्थी,  ललिता निवास जग्गा र तस्करी सुन प्रकरणको अनुसान्धान गरिरहेको बताउदै राजनीतिक हस्तक्षेत्र नहुने उल्लेख गरे ।    ‘अहिले सिआइबीले अनुसन्धान गरिरहेको छ । त्यसमा माओवादी परेपनि छुट्दैन, कोही कांग्रेस एमाले वा अन्य कुनै पार्टीको मतलब छैन । कुनै घराना, नाता र सम्बन्धको मतलब छैन, गृहमन्त्री श्रेष्ठले भने, ‘हामीलाई के मात्रै मतलब छ भने अनुसन्धान र तथ्य प्रमाणहरुको आधारमा दोषी देखिने नछुटोस् र निर्दाेष नफसोस् । यसरी सिआइबीले काम गरिरहेको छ ।’    उनले सबै प्रकरणमा दोषीसमक्ष छिटै अनुसन्धानको टोली पुगेर कानुनी कारवाहीको दायरामा ल्याउने उनले स्पष्ट पारे । 

गुल्मी:    गुल्मीको मुसिकोट नगरपालिका-१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा फेला परेका छन्   बिहान करिब पाँच बजेको समयमा फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे बिहान साढे सात बजे रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङ भन्ने जंगलमा घिमिरे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नवीन किशोर प्रधानले बताए । वडाअध्यक्ष घिमिरेले आफ्नो फेसबुकमा ‘परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ । प्रीय अनिता, साथ निभाउन सकेन। मलाई माफ गरे । घर परिवार, साथिभाइ सुभचिन्तक सबैसँग माफी चाहान्छु। अल बिदा ।’ भनेर स्टाटस लेखेका छन् । शुक्रबार अपराह्न घरबाट वडाको काममा निस्केका वडाअध्यक्ष घिमिरे रातभर घर नफर्केको पारिवारिक स्रोतले जनाएको छ । घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्षसमेत हुन् । घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षकसहितको टोली खटिएको प्रहरी उपरीक्षक प्रधानले बताए ।

मुस्ताङ:    बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्‍याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ । गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल बगाएको थियो ।  कागबेनीमा बाढीले २९ घर पूर्ण तथा १३ घरमा आंशिक क्षति पुर्याएको थियो । जनशान्ति माविका शिक्षक मनवीर किसानका अनुसार  बाढीले विद्यालयको खेलमैदान, कक्षाकोठा र छात्राबास भवन क्षति गरेपछि गाउँपालिकासँग समन्वय गरी यही भदौ ८ गतेसम्मका लागि पठनपाठन बन्द गरिएको जानकारी दिनुभयो ।  “भवन र खेलमैदानमा बालुवा थुप्रिएको छ । बाटो पनि हिलाम्मे छ”, उहाँले भन्नुभयो, “आवासीयरूपमा सञ्चालन भएको विद्यालयमा खानेपानी, विद्युत्, खाद्यान्न र आवासको व्यवस्थापन नभएसम्म पठनपाठन सञ्चालन गर्न सम्भव छैन ।” बाढीले विद्यालयको साढे दुई रोपनी करेसाबारी र शिक्षकले आवासका रूपमा प्रयोग गरेको दुईकोठे भवन भत्काएको छ । दुई सय जना विद्यार्थी रहेको जनशान्ति माविको छात्राबासमा एक सय ४० जनाले आवासीय सुविधा लिएका छन् ।  कागबेनीमा क्षतिग्रस्त घर, भवन, होटलमा जमेको गेग्य्रान हटाउने, भत्केका होटल तथा घरबाट बहुमूल्य सामग्रीसहित सामान उत्खनन गर्ने र बाढीले पूरै पुरेका घर, संरचनाको पहिचान गर्ने र संरक्षण गर्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले जानकारी दिनुभयो । “नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, स्थानीयवासी र छिमेकी गाउँबाट आएका सर्वसाधारणले बालुवा पन्छाउने काम गरिरहेका छन्”, उहाँले भन्नुभयो, “खानेपानी र विद्युत् आपूर्ति गराउने काम भइरहेको छ ।”   बाढीबाट विस्थापितलाई गाउँपालिकाको प्रशासकीय, सामुदायिक र जोमसोमको सामुदायिक भवनमा राखिएको छ । बाढीले पुल र सडक बगाएपछि अवरुद्ध बनेको जोमसोम–कोरला सडक मर्मत थालिएको छ । “मुस्ताङको उपल्लो भेग जाने सडक धेरै स्थानमा क्षतिग्रस्त हुँदा यातायात अवरुद्ध भएका छन् । जोमसोम–कोरोला सडक कम्तीमा तीन ठाउँ यातायात अवरुद्ध छ । तल्लो मुस्ताङको लेते–जोमसोम खण्डको पनि मार्फाखोलामा समय–समयमा यातायात अवरुद्ध हुने गरेको छ”, बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख जगत् प्रजापतिले भन्नुभयोे, “तल्लो खण्डको पहिरो हटाएपछि उपल्लो खण्डमा काम सुरु गरेका छौँ ।”

हेटौँडा:   हेटौँडामा एक युवकले आफ्नै संवेदशील अङ्ग (लिङ्ग) काटेर हेटौँडा अस्पताल भर्ना भएका छन् । हेटौँडा उपमहानगरपालिका –१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजमा बस्नुभएका २२ वर्षीय नवीन हुमागाइँले संवेदनशील अङ्ग (लिङ्ग) काटेर घाइते हुनुभएको हो ।  मकवानपुरगढी गाउँपालिका–७, नयाँगाउँ स्थायी ठेगाना भएका उहाँले बुधवार राति १० बजेको समयमा आफ्नै संवेदनशील अङ्ग काटेर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । संवेदनशील अङ्ग काटेर उपचारका लागि उहाँ हेटौँडा अस्पताल पुग्नुभएको छ ।  अस्पतालले थप उपचारका लागि राति १२ बजे चितवन रिफर गरिदिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिसपी एवं प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो । प्रहरीलाई बयानको क्रममा उहाँले आफैँले आफ्नो लिङ्ग काटेको बताउनुभयो ।  उहाँको अवस्था हाल सामान्य रहेको प्रहरीले जनाएको छ । घटना कसरी भएको हो भन्ने बारेमा प्रहरीले अझै अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताउनुभयो ।