काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

पोखरा:    पोखराको वाटुलेचौरमा रहेको शुक्ला साहित्य प्रतिष्ठानले श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना गर्ने खुल्ला कृष्ण भजन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । विगत २४ वर्षदेखि निरन्तर रुपमा गर्दै आएको प्रतियोगिता गत ३ वर्ष कोभिड महामारीका कारण रोकिएकोमा यस वर्षदेखि पुन संचालन गर्न लागिएको प्रतियोगिताको तयारी आन्तरिक वाहेक सबै अन्तिम चरणमा पुगेको प्रतिष्ठानका अध्यक्ष हरि वरुवालले जानकारी दिनुभयो ।   यही भाद्र २० गते स्थानिय वाटुलेचौर मैदानमा आयोजना गरिने प्रतियोगितालाई भव्य र ब्यवस्थित बनाउन कुनै कसर बाकी नराखिएको संयोजक दुर्गादेवी बस्नेतले बताउनुभयो ।  उहाँका अनुसार प्रतियोगिताका लागि गठित विभिन्न उपसमितिले आ आफना जिम्माका कामलाई तिव्रता दिएका छन् ।प्रतियोगिताका लागी आर्थिक संकलनको कार्य तिव्र पारिनुका साथै विभिन्न व्यवसायिक घराना तथा संघ संस्थाले धार्मिक संस्कृति जर्गेनाका लागी सहयोग गरेको आथिर्क उपसमितिका संयोजक कुल व. खत्रीले बताउनुभयो ।  प्रतियोगितामा सहभागिताको आव्हान सहित पोखराका विभिन्न वडाहरुमा पुगी घरदैलो अभियानलाई पनि तिव्र पारिएको प्रतिष्ठानका सहसचिव एवं  प्रचार प्रसार उपसमितिका संयोजक संजय थापाले जानकारी दिनुभयो ।  प्रतियोगितामा कास्की, स्याङ्जा, पर्वत, तनहुँ, पाल्पा लगायतका जिल्लावाट पनि भजन टोली सहभागी हुने बताईएको छ । हालसम्म विभिन्न जिल्लाका १२ टोलीले सहभागिताको लागी नाम दर्ता गरेको प्रतिष्ठानले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टोलिले नगद १ लाख, द्धितीयले ७५ हजार, तृतियले ५० हजार, सान्त्वना हुने टोलीलाई २५ हजार र सहभागी टिमलाई प्रोत्साहन स्वरुप नगद ५ हजार प्रदान गरिने सचिव दिपेन्द्र वाँनियाले जानकारी दिनुभयो । भगवान श्रीकृष्णको महिमा र लोप हुने अवस्थामा पुगेको भजन संस्कृतिलाई वचाई राख्ने उद्ेश्यले प्रतियोगितालाई निरन्तरता दिईएको संयोजक बस्नेतले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न करिब १३ लाख २५ हजार रुपैयाँ खर्च लाग्ने बताईएको छ । सो रकमका लागी विभिन्न संघ संस्थासँग समन्वय गरिएको छ । वि.सं २०४५ सालमा जनकवि केशरी धर्मराज थापाको नेतृत्वमा स्थापना भएको प्रतिष्ठानले पोखरामा साहित्य, कला र संस्कृतिका क्षेत्रमा काम गर्दैै आईरहेको छ ।    

काठमाडौं:   नेपाल सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित ३ दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ।  आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो। बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको हो। कार्यक्रमअन्तर्गत असोज २ गते विशेष संवाद, जनचेतनामूलक कार्यक्रम, संविधान दिवस विशेषाङ्क प्रकाशन, अन्तरक्रिया, दीपावलीलगायतका कार्यक्रम हुनेछन्। असोज ३ गते सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस विशेष समारोह गर्ने, विभिन्न मठ, मन्दिर, गुम्बा, धार्मिक एवं सांस्कृतिक सङ्घ संस्था, शैक्षिक प्रतिष्ठानहरूमा संविधान दिवस बनाउने र साँझ दीप प्रज्ज्वलन गर्नेलगायतका कार्यक्रम हुनेछन्। असोज ४ गते जागरणमूलक कार्यक्रमका साथै दीप प्रज्ज्वलन गर्ने र नेपालस्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासका साथै उपत्यकाबाहिर पनि विविध कार्यक्रम हुनेछन्। बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान दिवस औपचारिक सरकारी कार्यक्रम मात्र नभएर आम जनताको उत्सव भएको बताउँदै कार्यक्रमलाई आम समुदायको स्वामित्व हुनेगरी विस्तार गर्नुपर्ने बताउनुभएको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ । 

पाल्पा:   पाल्पाको तानसेन -१२ गाइघाटमा स्कार्पियो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । शनिबार रुपन्देहीको सालझण्डीदेखि गुल्मीतर्फ आइरहेको बा १६ च  ४३७३ नम्बरको स्कार्पियो जिप ब्रेक फेल भइ दुर्घटना हुँदा जिपमा सवार ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।  घाइतेहरूको अहिले लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । स्कार्पियो जिप सडकदेखि एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  तीन दिनअघि पनि गाइघाट नजिकै जोर्तेमा स्कार्पियो जिपमाथि ढुङ्गासहितको पहिरो खस्दा तीन जनाको मृत्यु भएको थियो । 

पोखरा:    नेशनल प्याव्सन कास्कीको शुक्रबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट पुनः हेमन्त अधिकारी निवार्चित भएका छन् ।  समितिको उपाध्यक्षमा मनकाजी गुरुङ, सचिवमा प्रेमराज अधिकारी, कोषाध्यक्षमा राजु केसी निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा रमेशराज पौडेल, अर्जुनप्रसाद अधिकारी, ज्ञानेन्द्रबहादुर थापा, अर्जुन प्रसाद पाण्डे, राजु कायस्थ, तोलाकान्त न्यौपाने, शिवराज पौडेल, सञ्जय पौडेल र हरिराज अधिकारी निर्वाचित भएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले शिक्षामा निजि क्षेत्रले गरेको लगानिलाई अवमुल्यन गर्न नहुने बताएका छन् । महत्वपूर्ण ऐन तथा विधयेक आउदा कुन कुना बाट छिरेर आउछ त्यो पत्तै हुदैन, हालै आएको शिक्षा विधयेकको प्रसंग कोट्याउदै उनले भने, ‘यस्ता खालका ऐन विधयेक आउदा सम्वन्धित सरोकारवालाहरुसँग छलफल गरेर ल्याए मात्रै समस्या हल हुन्छ ।’ उनले निजि विद्यालयसँग पोखरा महानगरपालिका सधै सहकार्य गरेर अगाडि बढ्ने बताए । ‘समस्या आएमा एउटै टेवुलमा वसेर छलफल गर्नुपर्दछ, अन्तरविरोधमा गएर शैक्षिक क्षेत्रको विकास गर्न सकिदैन’ उनले भने, ‘पक्ष प्रतिपक्ष वन्नु हुदैन एक ठाउँमा वसेर सहकार्यका साथ समस्या समाधान गर्नुपर्दछ ।’ सामुदायिक विद्यालय आफैमा सवल भएमा निजि विद्यालयका लगानिकर्ताले नया वाटो खोज्ने बताउदै उनले निजि विद्यालयलाई गाली गरेर मात्रै शैक्षिक फड्को मार्न नसकिने उल्लेख गरे । नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालले शिक्षा क्षेत्रलाई नै तहस नहस गरी शिक्षा विधयेक आएकै कारण विरोधमा उत्रिन परेको बताए । ‘करोडौ करोड लगानी गरेको र जवानी पनि यहि क्षेत्रमा विताएर मुलकको शिक्षालाई समृद्धी बनाउन हामी लागि परेका छौ’ उनले भने, ‘हाम्रो अस्तित्व नै स्विकार नगरी जुन ढंगले  विधयेक आयो यस विषमा हामीले विरोध गरौ र सरकार पछि हट्यो ।’ उनले सरोकारवालहरुसँग छलफल गरेर मात्रै विधयेकलाई अगाडि बढाउने नेपाल सरकारसँग सहमति भए सगै आन्दोलनका कार्यक्रम स्थगित गरेको बताए । गण्डकी  प्रदेश शिक्षा निर्देशनालयका प्रमुख अम्बिका प्रसाद आचार्यले सामुदायिक तथा निजि विद्यालयको नियमन र सहजिकरण गर्ने काम नेपाल सरकारको भएको बताए । ‘हामी सवैको पक्षधर नै हो राम्रो गर्नेलाई फैलाउने र कमजोरी गर्नेलाई औल्याउने काम गर्दछौ’ उनले भने, ‘विद्यार्थीको लागि हित गर्ने र टेवा पुग्ने उद्देश्यले नै विद्यालय स्थापना भएका हुन् फरक चिन्तन, फरक धारणा र फरक चाहानले हामीले विभेद गर्दैनौ ।’ उनले मूलुकका लागि शिक्षा प्रदान गरेर विदेशिने धनराशी नेपालमानै टिकाउने र दक्ष जनशक्ति उत्पादन गरी जताततै विकाउने काम निजि विद्यालयले गरेको उल्लेख गरे । शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले सामुदायिक विद्यालयले पनि अव अग्रेजी माध्यममा पढाइ शुरु गर्न थालेको बताउदै नेपाल अव दुइ खाल शिक्षा नहरेको उल्लेख गरे । नेशनल प्याव्सनका केन्द्रीय सहअध्यक्ष सुभाष न्यौपानले नेपाल सकारका सम्वन्धित निकायले नै शिक्षा विधयेक अध्ययन नगरि ल्याएकै कारण समस्या वल्झिएको बताए । नेशनल प्याव्सनका पूर्व केन्द्रीय अध्यक्ष कर्णबहादुर शाहीले निजि क्षेत्रको उपस्थितिलाई नेपाल सरकारले लत्याउने काम गरेको बताए ।

पाल्पा:     बाल्टिनको पानीमा डुबेर पाल्पामा एक जना बालिकाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोलाÞ–२, घर भई हाल बगनासकाली–१, चिलाङ्दीमा डेरा गरी बस्ने अनन्त सारुकी एक वर्षीय छोरीको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो ।  घरको बाथरुममा भरी राखेको बाल्टिनको पानीमा डुबेर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  पानीमा डुबेर अशक्त भएकी बालिकाको तानसेनस्थित मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । 

सिन्धुपाल्चोक:    नेपाल-चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिसको आवतजावत सुरु भएको छ । आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन् ।  सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए ।  नाका  खुलाउन नेतृत्वदायी भूमिका खेल्नुभएका सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुबोध’ बिहानै तातोपानी नाका पुग्नुभएको थियो । तातोपानी क्षेत्रका जनप्रतिनिधि, भन्सार र अध्यागमन कार्यालयका अधिकारीसहित नाकामा  पुग्नुभएका उहाँले अब नाका पूर्ण सञ्चालनमा आएको बताउनुभयो ।  विसं २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल–चीनबीचको सो नाका पूर्णरुपमा बन्द थियो । नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय र भौतिक क्षति भएका कारण लामो समयसम्म नाका बन्द अवस्थामा थियो । भूकम्प सृजित कठिनाइ पन्छाएर सीमितरुपमा मात्रै सञ्चालन भएको नाका विसं २०७६ फागुनमा विश्वव्यापीरुपमा कोरोना महामारी फैलिएपछि नाका पुनः बन्द भएको थियो ।  चीनबाट सीमित सामान आयातका लागि खुला रहेको नाकाबाट २०८० वैशाख १८ (१ मे) बाट दोहोरो आयात निर्यात खुलाइएको थियो । आयात निर्यात खुलेलगत्तै मानिस आवतजावतका लागि संसदमा सापकोटाले आवाज पनि उठाउनुभएको थियो । साथै कूटनीतिक भेटघाट तथा प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्र मन्त्रीको ध्यानाकर्षण  गराउनुभएको थियो ।  केही समयअघि चिनियाँ अधिकारीले आजैदेखि मानिस ओहोरदोहोरका लागि नाका सञ्चालन गर्ने तयार रहेको खबर पठाएका थिए । त्यसपछि चिनियाँ अधिकारीबीच भएको छलफलले स्थानीय आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो । 

पर्वत:     पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा चितुवा मृत भेटिएको छ । राम्जादेउरालीस्थित गौतम कुल मन्दिर नजिकै धानखेतमा आज चितुवा मृत फेला परेको हो ।   स्थानीयवासीले देखेलगत्तै डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीसहित पुगेको टोलीले मृत चितुवालाई डिभिजन वन कार्यालय परिसरमा ल्याएर गाडेका छन् । डिभिजन वन कार्यालयका प्रमुख नवराज बरालका अनुसार झन्डै तीन वर्षजति उमेरको देखिने चितुवा केही दिन अगाडि नै मरेको पाइएको छ । चितुवाको शरीरमा घाउचोट भने देखिएको छैन ।  वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहवरमा चितुवा खाडलमा गाडिएको छ । पर्वतमा गत आर्थिक वर्ष २०७९/८० मा नौ चितुवा मृत फेला परेका थिए । दुईवटाको जीवितै उद्धार गरिएको थियो ।

गोरखा:    पहिरोले गोरखा–आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो ।   पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो । सुक्खा पहिरो पन्छाउन समय लाग्ने उहाँले बताउनुभयो । अहिले आँबुखैरेनीबाट गोरखा आउने तर्फबाट पहिरो पन्छाउने काम सुरु भएको छ । गोरखातर्फबाट पनि पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । पहिरोका कारण गोरखा सदरमुकाम प्रवेश गर्ने सबै सवारीसाधन बाटोमै थन्किएका छन् ।

भोजपुर:    भोजपुरको तुङ्गेछा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर काठमाडौंका अनुसार गएराति १ बजेर ११ मिनेटमा तुङ्गेछा केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको हो । भोजपुर आसपासका क्षेत्रमा धक्का महसुस गरिएको छ । यसअघि गएको साउन ३२ गते बझाङको खिराताडी आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालको पहाडी क्षेत्रलाई भूकम्पको उच्च जोखिम क्षेत्र मानिन्छ । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम निरन्तर छ ।