काठमाडौं: नेपाल उद्योग वाणिज्य महासङ्घको मतदान रोकिएको छ । बुधवार तोकिएको समयभन्दा केही ढिला गरी सुरु भएको मतदान जिल्ला नगरका मतदाता तथा समर्थकहरूले एसोसिएटको मतदान स्थलमा होहल्ला गरेसँगै मतदान केही समयका लागि अवरुद्ध भएको हो । महासङ्घको नयाँ कार्यसमिति चयनका लागि बुधवार बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान प्राविधिक तयारी नपुगेको भन्दै दुई घण्टा ढिला सुरु भएको थियो । जिल्ला नगर र वस्तुगततर्फ एक र एसाेसिएटतर्फ तीन वटा बुथ कायम गरिएको छ । निर्वाचनमा मोबाइल, प्रज्वलनशील पदार्थ निषेध गरिएको छ । समर्थकले वरिष्ठ उम्मेदवारको पक्षमा भोट माग्दै हुटिङ गरेका छन् । ‘भोट फर अञ्जन’, भोट फर सघाई, भोट फर उमेशलाल भन्दै समर्थकले होहल्ला गरेसँगै मतदान स्थगित भएको छ । महासङ्घको आगामी नेतृत्वको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, रामचन्द्र सघाई र उमेशलाल श्रेष्ठबीच प्रतिष्पर्धा भइरहेको छ । महासङ्घको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेकाले निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुनिने छन् । महासङ्घको विधान अनुसार हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासङ्घको अध्यक्ष बन्नुहुनेछ । नयाँ नेतृत्व चयन गर्नको लागि उद्योगी व्यवसायीहरूको बिहानदेखि प्रज्ञा भवनमा बाक्लो उपस्थिति रहेको छ ।
दमौली: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताउनुभएको छ । कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले बन्दीपुर गाउँपालिका–४ मा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले जनताले आफ्ना हरेक सुख, दुःखमा सँगै हुने उम्मेदवार खोजेको उल्लेख गर्नुभयो । “भाषण गर्ने तर गाउँ ठाउँ नबुझेको व्यक्ति अहिले जनताले चाहेका छैनन्, वैशाख १० गते हुने उपनिर्वाचनमा पक्कै पनि जनताले मूल्याङ्कन गर्नुहुनेछ”, नेता सिंहले भन्नुभयो । हरेक पार्टीमा असन्तुष्टि भए पनि त्यसलाई अहिले थाँती राखेर चुनावमा एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेको उहाँले जिकिर गर्नुभयो । नेता सिंहले सत्ता गठबन्धनका उम्मेदवार जिताउन नसकिए सन्देश राम्रो नजाने बताउनुभयो । “गठबन्धन गरेर हामी चुनावमा गएका छौँ, गठबन्धनकै उम्मेदवारले नजिते नराम्रो सन्देश जान्छ”, उहाँले भन्नुभयो । वर्तमान सरकार विकास र समृद्धिका लागि प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । तनहुँ क्षेत्र नं. १ का उम्मेदवार गोविन्द भट्टराईले आफ्नो उम्मेदवारी कसैका विरुद्ध नभई तनहुँको विकासका लागि भएको बताउनुभयो । गाउँको उन्नति र प्रगति अहिलेको आवश्यकता भएको भन्दै उहाँले आफू त्यसैमा केन्द्रित भएको बताउनुभयो । ४२ वटै वडामा मतदाता शिक्षा आगामी वैशाख १० गते तनहुँ क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि मतदाता शिक्षा सञ्चालन गरिने भएको छ । उपनिर्वाचनमा बदर मत न्यून गर्न र मतदातालाई मतदान गर्ने तरिकाबारे जानकारी गराउने उद्देश्यसहित निर्वाचन कार्यालयले प्रत्येक वडामा मतदाता शिक्षा सञ्चालन गर्न लागेको हो । तनहुँ क्षेत्र नं. १ अन्तर्गतका ४२ वटै वडामा मतदाता शिक्षा सञ्चालनका लागि महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने कार्यालय प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । एउटा वडामा दुई जनाका दरले स्वयंसेविका परिचालन गरिनेछन् । स्वयंसेविकालाई वैशाख १ देखि ७ गतेसम्म सबै वडामा खटाइने छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा तनहुँमा कुल खसेकोमध्ये पाँच दशमलव छ प्रतिशत मत बदर भएको थियो । तनहुँका दुवै क्षेत्रमा गरी एक लाख ३४ हजार चार सय एक मत खसेकामा सात हजार पाँच सय ८१ मत बदर भएको कार्यालयले जनाएको छ । तनहुँ क्षेत्र नं. १ अन्तर्गत पाँच स्थानीय तह पर्दछन् । व्यास नगरपालिकाका १२, भानु नगरपालिकाका १३, बन्दीपुर गाउँपालिकाका छ, देवघाट गाउँपालिकाका पाँच र आँबुखैरेनी गाउँपालिकाका छ वडा यो निर्वाचन क्षेत्रमा पर्दछ । उपनिर्वाचनमा एक लाख २३ हजार तीन सय पाँच मतदाता कायम भएका छन् । उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नं १ मा नौ जना प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा ९एमाले० बाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार प्रतिस्पर्धामा हुनुहुन्छ ।
सप्तरी: सप्तरीको चार पालिकामा आगलागी हुँदा दुई जना घाइते भएका छन् भने छ घर जलेर नष्ट भएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका, रुपनी गाउँपालिका, महादेव गाउँपालिका र शम्भुनाथ नगरपालिकामा आगलागी भएको हो । आगलागीबाट २४ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । कञ्चनरुप नगरपालिका १ बैरवामा आगलागी हुँदा दुई जना घाइते भएका छन् भने तीन घर जलेर नष्ट भएको छ । साथै नौ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले स्थानीय बिनय खंगको भान्सा कोठाबाट खाना पकाउने क्रममा मङ्गलबार लागेको आगो फैलिएर छिमेकी रामेश्वर खंग र धुरेन्द्र खंगको घर पनि नष्ट भएको जानकारी दिनुभयो । आगो निभाउने क्रममा ५२ वर्षीय बिनय खंग र ३५ वर्षीय गजिन्द्र सदा घाइते हुनुभएको छ । घाइतेमध्ये विनयलाई उपचारका लागि धरानस्थित बीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ भने गजेन्द्रको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रुपनी गाउँपालिकामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ भने १० लाख बराबरको क्षति भएको छ । यसैगरी, वडा नं. २ स्थित रामनारायण साहको घरमा विद्युत सर्ट भई आगलागी हुँदा छिमेकी शिवनारायण साहको समेत घर जलेर नष्ट भएको डीएसपी सिंहले जानकारी दिनुभयो । आगलागीमा तीन वटा पशुचौपायासमेत जलेर मरेको उहाँले बताउनुभयो । दुवै ठाउँको आगलागी नियन्त्रणका लागि शम्भुनाथ नगरपालिका, कंचनरुप नगरपालिका र मधेश प्रदेश प्रहरी तालिम केन्द्रको वारुणयन्त्र तथा प्रहरी र स्थानीयवासीको मद्दतले दुई घण्टाको प्रयासपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यस्तै, महादेबा २ बस्ने जयकुमात पैकराको घरमा विद्युत सर्ट भई आगलागी हुँदा तीन तलाको फुसको घर पूर्णरुपमा नष्ट हुँदा चार लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । यसैगरी, जिल्लाको शम्भुनाथ नगरपालिकास्थित सब डिभिजन वन कार्यालयको प्राङ्गणमा राखिएको पुरानो काठहरूमा अचानक आगलागी भएको छ । सो आगलागीमा १५ वटा गुलिया काठ जलेर नष्ट हुँदा एक लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
काठमाडौं: अछाममा स्कुटरसहित सडकबाट खसेर एक जनाको मृत्यु भएको छ। बुधबार साँफेबगर नगरपालिका-१ वैद्यनाथ कालिमाटिका अन्दाजी ५० वर्षीय गणेश नाथको स्कुटरसहित सडकबाट खसेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी नारायण डाँगीले सेती राजमार्गको कालिमाटी खण्डमा स्कुटरसहित सडकबाट तल खसेर उनको मृत्यु भएको बताए। आफन्तहरू घटनास्थलमा पुगेपछि उनको शव उठाइने छ। प्रहरीका अनुसार उनी मंगलबार राति स्कुटर दुर्घटनामा परेका हुन्। उक्त ठाउँमा यसअघि पनि सवारी दुर्घटना भइसकेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं: बुधबार अमेरिकी डलरको भाउ बढेको छ। आज डलर एकको खरिददर १३१ रुपैयाँ ११ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा कायम गरिएको छ। मंगलबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २३ पैसा बढेको हो। त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४३ रुपैयाँ ९ पैसा र बिक्रीमा १४३ रुपैयाँ ७५पैसा पाइन्छ। मंगलबार युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ७८ पैसा र बिक्रीमा १४३ रुपैयाँ ४३ पैसा पाइन्छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ११ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५६ पैसा पाइन्छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ २९ पैसा र बिक्रीमा ८७ रुपैयाँ ६९ पैसा तोकिएको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज ३६२ रुपैयाँ १२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८७ पैसा तोकिएको छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ११ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ ६७ पैसा र बिक्रीमा २९ रुपैयाँ ८१ पैसा पाइन्छ। मंगलबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ९६ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ९२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ३७ पैसा तोकिएको छ।
काठमाडौं: बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ। गत कारोबार दिन अर्थात् मंगलबार प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको मूल्य बुधबार पनि प्रतितोला एक हजार रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला एक हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।मंगलबार चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा किनबेच भएको थियो। मंगलबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
बैतडी: बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। पाटन नगरपालिका–१० का ४३ वर्षीय राजबहादुर साउँदको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार मंगलबार साँझ बजारबाट घर फर्कने क्रममा ठूलाखाली भन्ने स्थानबाट लडेर साउँदको मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पर्वत : पछिल्लो एक सातायता पर्वत अस्पतालमा बिरामीको चाप बढेको छ। अस्पतालमा दैनिक ज्वरोका मात्र दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्। ज्वरो, रुघाखोकीलगायत कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामी उपचारका लागि आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिना अधिकारीले जानकारी दिए। 'पहिलाभन्दा दोब्बरले बिरामीको सङ्ख्या बढिरहेको छ', उनले भने। दूषित पानीको प्रयोगका कारण बिरामीको सङ्ख्या बढेको हुनसक्ने डा अधिकारीले बताए। कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भए पनि अस्पतालले परीक्षण भने गरेको छैन। अस्पतालका ५६ शय्यामा बिरामीले भरिभराउ छन्। ज्वरो, रुघाखोकी, टाउको दुख्ने, वान्ता आउनेलगायत बिरामीका लक्षण देखिने गरेको छ। मौसम परिवर्तनका समयमा यस्ता बिरामी बढ्ने डा अधिकारी बताउँछन्। जिल्लामा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या पनि बढ्दै गएको छ। पन्ध्र शय्याको अस्पताललाई स्तरवृद्धि गरी ५० शय्याको बनाइएको हो। जनशक्ति अभावको समस्या रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीको भनाइ छ। पर्वत अस्पताल मात्र होइन यहाँका निजी अस्पताल, क्लिनिक र ग्रामीण क्षेत्रका स्वास्थ्यचौकीमा समेत बिरामीको सङ्ख्या बढेको बताइएको छ ।
काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक दिउँसो १ बजेका लागि डाकिएको संघीय संसदको महासचिव डा.भरतराज गौतमले जानकारी दिए। बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देससहित प्राप्त 'सुरक्षण मुद्रण सम्बन्धी विधेयक,२०७७ माथि विचार गरियोस्,'भनी प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको छ। बैठकमा नेपाली कांग्रेसका नेता तेजमान तुम्बाहाम्फेको निधनमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यसूची रहेको छ। नेता तुम्बाहाम्फेको चैत्र २४ गते निधन भएको थियो।

