ढोरपाटन: उत्तरगङ्गा ढोरबराह मन्दिरमा आज (बिहीबार) बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । ऐतिहासिक महत्वको प्रसिद्ध धार्मिकस्थल उत्तरगङ्गा ढोरबराहमा हरेक वर्ष जनैपूर्णिमा र वैशाख पूर्णिमामा मेला लाग्ने गर्छ । ढोरपाटन नगरपालिका–९ ढोरपाटन उपत्यकामा अवस्थित यस मन्दिरमा पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वास छ । केही वर्षअघिसम्म जनैपूर्णिमामा मात्रै पूजाआजा गर्ने गरिएकामा टाढाबाट भाकल गरी आउने दर्शनार्थीलाई लक्ष गरी वैशाखपूर्णिमा पनि पूजा गर्न थालिएको स्थानीय कुलबहादुर घर्तीमगरले बताउनुभयो । वर्षमा दुई पटक मन्दिरमा पूजाआजा गर्न थालेपछि उत्तरगङ्गा बराह मन्दिरमा जनैपूर्णिमाका दिन केही कम दर्शनार्थी आउन थालेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पहिले त जनैपूर्णिमाका दिन हजारौँ बोका, पाठा र भेडाको बलि दिइन्थ्यो, लाखको हाराहारीमा पूजा गर्नका लागि दर्शनार्थी आउथे, बर्खाको हिलो, बुर्तिबाङबाट आउने सडक पनि अप्ठ्यारो हुँदा दर्शनार्थीले दुःख पाउँथे । अहिले वर्षमा दुईपटक पूजा गर्न थालेपछि यहाँ आउने भक्तजनलाई पनि सहज भएको छ । ढोरपाटन सडकले जोडिएपछि भक्तजनलाई सहज भएको छ । सडक नहुँदा भाकल गरेका बोकापाठा ल्याउन गाह्रो थियो, अहिले सजिलो भएको छ । भक्तजनको सजिलोका लागि ढोरपाटन नगरपालिकाले ठाउँठाउँमा डोजर राखेर सडक मर्मत गरिरहेको छ । वर्षाले सडकका विभिन्न स्थानमा क्षति पु¥याएकाले मर्मत गरिएकोध ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिनुभयो । आज बिहानैदेखि उत्तरगङ्गा मन्दिरमा बलि दिइ पूजाआजा भइरहेको बताउनुभयो । यस अवसरमा यहाँका स्थानीय क्लबले विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरेका छन् ।
भक्तपुर: मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली कखरा स्कुल नजिकैबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित गएराति एक जनालाई पक्राउ गरेको छ । प्रहरीले उदयपुरको बलैया नगरपालिका–५ घर भइ लोकन्थली बस्ने ४० वर्षीय जङ्गे माझीलाई पक्राउ गरेको हो । सडकमा शङ्कास्पद गतिविधि गरेको पाइएपछि प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको गस्ती टोलीले माझीलाई नियन्त्रणमा लिएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो । प्रहरीले माझीको साथबाट दुई थान कटुवा पेस्तोल, पेस्तोलमा लाग्ने एक राउण्ड गोली र बा ४३ प ९००० नम्बरको स्कुटर बरामद गरेको छ । माझीसँगै रहेका ३० वर्षीय अश्विन दाहाल भने फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हाँस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रसाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत पनि गाइन्छ । विकृतिका विरुद्ध हाँस्यव्यङ्ग्यका रुपमा गाईजात्रा पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही ‘कू’ पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हाँस्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो । हाँस्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउँछ । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हाँस्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ । गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको सहरमा धुमधामका साथ मनाइन्छ । यस अवसरमा हाँस्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् ।
नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा-दिल्ली र भैरहवा-हङकङ हवाई उडान सुरु गरेको छ । आजबाट सुरु भएको नेपाल एयरलाइन्सको भैरहवा-दिल्ली र भैरहवा-हङकङको उडान यात्रुविहीन भएको छ । भैरहवाबाट काठमाडौँ हुँदै दिल्ली र हङकङका लागि आजबाट नेपाल वायुसेवा निगमले उडान सुरु गरेको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले नेपाल एयरलाइन्सको विमान मलेसियाबाट साताको एक पटक भैरहवा आउने विमानमार्फत काठमाडौँ हुँदै दिल्ली र हङकङको उडान सुरु गरिएको हो । आजको उडानमा भैरहवा विमानस्थलबाट कुनै पनि यात्रु विमानमा नचढेको पाण्डेले जानकारी दिनुभयो । हङकङ जाने यात्रुलाई काठमाडौँ हुँदै गन्तव्यमा पुर्याइन्छ भने दिल्ली जाने यात्रुलाई काठमाडौँ विमानस्थलमा कनेक्टिङ फ्लाइटमार्फत गन्तव्यमा पठाइन्छ । महाप्रबन्धक पाण्डेले आजको उडानमा भैरहवा विमानस्थलबाट कुनै पनि यात्रु विमानमा नचढेको जानकारी दिनुभयो । उक्त रुटका लागि निगमले भदौ १० गतेदेखि टिकट बुकिङ खुल्ला गरेको थियो । नेपाल वायुसेवा निगमले मलेसिया(भैरहवा रुटमा थप जेठ ३० गतेबाट उडान सुरु गरेको थियो । त्यसयता निगमले उक्त रुटमा १२ वटा उडान गरिसकेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ जेठ २ गतेबाट सञ्चालनमा आएको हो । रासस
पोखराः सधैं झै तनहुँका १६ वर्षीय युनिश थापा साउन ३० गते पनि झोला बोकेरै स्कुल गए । विज्ञान विषयको गृहकार्य (होमवर्क) नगरेपछि सजायस्वरुप सय पटक उठबस गरे । पछि गणित विषयको समयमा सोही कक्षाकै एकजनासँग झगडा गरेपछि थापालाई गणित शिक्षकले फेरि उठबसको सजाय सुनाए । त्यसपछि सजाय भोगीरहेका युनिश १ सय पटक गर्दै गर्दा एक्कासी ढले । यो घटना तनहुँको ब्राइट फ्युचर स्कुलको हो । स्कुल अवधिमै ढलेका थापाको उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएपछि कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई मानसिक र शारीरिक यातना दिइएको खुल्न आएको हो । अस्पतालको रिपोर्टका अनुसार युनिशको पिसाबमा रगत देखिएको, खुट्टाको मसल च्यातिएको र कलेजोमा समस्या देखिएको उनका आमा सुनिता खत्री थापाले बताइन् । ‘विद्यालयमा झगडा र होमवर्क नगरेको भन्दै सजाय दिँदा अहिले बाबुको स्वास्थ्यमा असर परेको छ’, खत्री थापाले भनिन्, ‘विद्यालयमा दिएको सजायको कारण नै बाबु राम्रोसँग बस्न र ट्वाइलेट बस्न पनि नसकेपछि भदौ १ गते अस्पताल भर्ना गरेको हो । अहिले उपचार पछि घर फर्किएका छौं ।’ विद्यालयमा सजाय पाएकै कारण युनिश साउन ३१ गते विद्यालय जान नमानेपनि फकाएर विद्यालय पठाएको सुनिताले सुनाइन् । उनका अनुसार ३२ गते झन् गाह्रो भएपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । युनिश ६ दिनको उपचारपछि अहिले घरमै आराम गरिरहेका छन् । विद्यालय प्रशासनसँग सो विषयबारे बुझ्दा प्रशासन शाखामा कार्यरत कर्मचारी मनिषा थापाले भनिन्, ‘होइन त्यो बच्चा आफै के–के लागुपदार्थ सेवन गर्ने गरेको, बाबामम्मीले पोखरामै कता कता लानुभको र नसकेर पोखराको स्टुडेन्ट यहाँ लिएर आका हुन् के उल्लाई ।’ तर विद्यालयमा दुईजनाबीच झगडा भएपछि शिक्षकले उठबस गराउन लगाएको भने उनले स्वीकारिन् । ‘त्यो बाबुचाँही क्लासमा आफ्नो साथीसँग झगडा गरिराको रैछ । टाउकोमा हानाहान गरिरराको रहेछ । त्यसपछि उनीहरुलाई गणित शिक्षकले सक्छौ भने उठबस गरन भनेपछि गर्दै गर्दा १ सय चोटीमा उ ९युनिश थापा० लडेको हो,’ उनले भनिन् । दुई विद्यार्थीबीच कुटाकुट गरेको भिडियो सिसिटिभी फुटेजमा देखिएको उनले बताइन् । ‘विद्यालयमा यस्तो घटना भएको भनेर जानकारी आएपछि सिसीटिभी हेर्दा फुटेजमा त्यो रेकर्ड देखिएको छ’, ति कर्मचारीले भनिन्, ‘घटना भएको भोलिपल्ट विद्यार्थी विद्यालय आएपनि त्यसपछि विद्यालयमा आएका छैनन् ।’
काठमाडौंः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेकामध्ये आठ सय ५० जनालाई जापान पठाउने तयारी गरेको छ । २०१९ मार्चमा नपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्ने गरी नेपाल र जापानबीच श्रम समझदारी भएअनुसार नेपालले जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेकाहरुलाई पठाउने तयारी गरेको हो । जापानले १४ वटा विभिन्न पेसागत क्षेत्रमा रोजगारीका लागि नेपालीलाई लैजाने सहमति भएको थियो । तर, श्रम समझदारीमा भएका केही विषय अस्पष्ट भएपछि यो प्रक्रिया रोकिएको थियो । जापानले सम्झौता गरेको १४ वटा विभिन्न पेसागत क्षेत्रमध्ये अहिले केयर गिभर, कृषि र सेवा क्षेत्रमा मात्र कामदार लैजाने छ । जापान रोजगारीको प्रक्रिया रोकिए पनि परीक्षा भने सञ्चालन भइरहेको छ । गत सातासम्ममा पाँच हजार तीन सय २० जनाले जापानिज भाषा र सीप परीक्षा पास गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सम्झौताअनुसार परीक्षा पास भएका सबै जापान रोजगारीका लागि योग्य हुन । केयर–गिभरमा एक हजार आठ सयजनाले परीक्षा पास गरेको मन्त्रालयले जनाएको छ । जापानले पहिलो चरणमा केयर–गिभरका लागि नेपाली कामदार लैजाने बताएको थियो । तर, मन्त्रालयले भने निर्माण, उत्पादन र सेवाक्षेत्रमा पनि नेपाली कामदार लैजान प्रस्ताव गरेको मन्त्रालयका उपसचिव भुसालले बताए । नेपालको सो प्रस्तावमा जापान सहमति भएको छ । एसएसडब्लु प्रणालीमार्फत कामदार लगिने जापानले विशिष्टीकृत दक्ष मोडल (क्क्ध्)बाट नेपाली कामदार लैजानेछ । कामदार छनोट प्रक्रियाका लागि नेपालमा जापानका लागि जापान फाउन्डेसनले काम गर्नेछ । फाउन्डेसन जापानको अर्धसरकारी संस्था हो । कम्प्युटर परीक्षाको जिम्मेवारी भने जापानिज कम्पनी प्रोमोटिकले पाएको छ भने परीक्षा नेपालको लागि काठमाडौंमा हुने गरेको छ । जापानले भाषा तथा सीप परीक्षामा उत्तीर्ण भएका कामदारलाई मात्रै रोजगारीका लागि लैजानेछ । दुवै परीक्षामा उत्तीर्ण भएका कामदार नेपालको वैदेशिक रोजगार विभागको जापान इकाइमा सूचीकृत हुनेछन । जापानी रोजगारदाता वा रोजगारदाताका एजेन्टले आफ्नो आवश्यकताअनुसार विभागको जापान इकाइमा माग गर्नेछ । विभागले जापानी रोजगारदाताको आवश्यकता र उपलब्ध नेपाली कामदारबीच म्याचिङ गर्नेछ । म्याचिङ भएपछि रोजगारदाताले नेपाली कामदारको नाममा योग्यताको प्रमाणपत्र (ऋभ्इ) पठाउनेछ । ऋभ्इ प्राप्त गरेका कामदार भिसा प्रक्रियाका लागि योग्य हुनेछन । कामदारले अन्य कागजपत्रसहित जापानिज दूतावासमा भिसाका लागि आवेदन दिन सक्नेछन् । भिसा प्राप्त भएपछि कामदार मेडिकल परीक्षण, बिमा र कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्नेछ । त्यसपछि जापान इकाइ श्रम स्वीकृतिका लागि आवेदन दिन सक्नेछन् । श्रम स्वीकृतिपछि कामदार जापान जान पाउँनेछन । जापान सरकारले नेपालबाट व्यक्तिगत र प्रशिक्षार्थी कामदार प्रक्रियाबाट पनि नेपाली कामदार जापान लैजाने गरेको छ । व्यक्तिगत प्रक्रियाअन्तर्गत कामदारले व्यक्तिगत रूपमा नै जापानी रोजगारदातासँग सम्पर्क गरी रोजगारीका लागि जान सक्नेछन । नयाँ पत्रिकाको सहयोगमा
मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नभए पनि करोडौँको भौतिक संरचनामा क्षति पुर्याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका- ४ कागबेनीमा आएको बाढीका कारण अहिले यहाँका सयौँ स्थानीय आफन्तको आश्रय लिएर बसेका छन् । व्यापार र कृषि पेसामा आबद्ध स्थानीय बाढीले घर, पुल र गरिखाने बारी नै बगरमा परिणत गरिदिएपछि अहिले उनीहरूको हातमुख जोड्ने माध्यम केही छैन । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार गरेको तथ्याङ्कानुसार बाढीले कागबेनीमा करिब रु एक अर्बको क्षति पुर्याएको छ । भौतिक संरचना, स्थानीयवासीको घर, व्यवसाय र विभिन्न सङ्घसंस्थाको कार्यालयमा क्षति पुर्याएको थियो । बाढीले यहाँका कृषकले खेती गर्दै आएको स्याउ बगैँचा र सिँचाइ कुलोमा समेत क्षति पुर्याएको छ । गाउँपालिकाको कृषि शाखाको तथ्याङ्कानुसार कागबेनीवासी कृषकको करोड बढीको स्याउ, ओखर र नास्पातीलगायतका फलफूल बोट क्षति पुगेको छ । बाढीले कृषकको ११ रोपनी तीन कठ्ठा बढीमा लगाइएको स्याउलगायतका फलफूलमा क्षति पुर्याएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका कृषि शाखा प्रमुख लोकेन्द्रसिंह धामीले जानकारी दिए । उनका अनुसार करिब एक सय ६९ भन्दा बढी स्याउ बोटमा क्षति पुगेको छ । स्थानीय मिङमर गुरुङको ४५ वटा स्याउका बोट र नर्सरी नष्ट भएको उनको भनाइ छ । बाढीले सबैभन्दा बढी स्थानीय कृषक कुङ्गा नमडुल गुरुङ, पेमा निङ्वो विष्ट र कर्म छोक्ले गुरुङको स्याउबारीमा रहेको स्याउ बोटमा क्षति पुगेको उनले बताए । उनीहरूको रु ३५ देखि ५५ वटासम्म स्याउ बोटमा क्षति पुगेको उनको भनाइ छ । कृषि बाढीले स्याउलगायतका कृषि उत्पादन हुने खेतीयोग्य जमिनमा पनि ठूलो क्षति पुगेको छ । करिब सात हेक्टर जमिनमा सिँचाइ गरिने कागबेनी सिँचाइ कुलोमा क्षति पुगेको शाखा प्रमुख धामीले जानकारी दिए । गाउँलेले कागबेनी वारिपारि क्षेत्रको खेतीयोग्य जमिनमा सिञ्चित हुने तीनवटा कुलो बाढीले क्षति गरेको छ । उनका अनुसार ३६ रोपनी जग्गामा सिञ्चित गरिने सिँचाइ कुलोसमेत बाढीले बगाएको छ । गाउँपालिकाले कृषकलाई अनुदानमा उपलब्ध गराएको खेतबारी जोत्ने नौवटा हाते ट्रयाक्टरसमेत बाढीले बगाएको उनी बताउँछन् । बाढीले स्याउका बोट, बगैँचा, विभिन्न कृषि उकरण र सिँचाइ कुलो बगाउँदा करिब रु एक करोड बढीको क्षति भएको धामीको भनाइ छ । उनी भन्छन्, ‘यहाँका धेरै स्थानीयको मुख्य आयस्रोत स्याउ हो, बाढीले अधिकांश कृषकको स्याउ बगैँचामा ठूलो क्षति पुर्याएको छ, हामीले धेरै दिन लगाएर क्षति विवरण सङ्कलन गरेका छौँ, कोहीको बगैँचा बगाएको छ, कोहीको स्याउ र नास्पातीको बोट बगाएको छ, सिँचाइ कुलो बगाउँदा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझो बस्ने अवस्था आएको छ ।’ बाढीले कृषकको गोठ र पशुचौपाया पनि बगाएको छ । पशुचौपाया बगाउँदा करिब रु ५० लाख बढीको क्षति भएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पशु शाखा प्रमुख समीक्षा कठायतले जानकारी दिए । बाढीले २३ गोठ, ३२ लुलुगाई, दुईवटा खसी र एउटा घोडा बगाएको प्रमुख कठायतले बताए । यसबाट करिब रु ५० लाख बढीको नोक्सानी भएको उनको भनाइ छ । बाढीले नगद, सामान र संरचनामा मात्र रु ८१ करोड ८३ लाख २५ क्षति गरेको छ । सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्धलगायत १४ वटा भौतिक पूर्वाधार गरी रु २१ करोड दुई लाख बराबरको क्षति भएको गाउँपालिकाले तयार गरेको तथ्याङ्कमा उल्लेख छ ।
पोखरा: साहित्यकार ईश्वरमणि अधिकारीको मुक्तक संग्रह ‘सम्बोधिका’को आज पोखरामा लोकार्पण गरिएको छ । सो मुक्तक संग्रहको प्रमुख अतिथि नेपाल संगीत नाट्य एकेडेमिका पूर्व कुलपति सरुभक्तले साहित्यकार तीर्थ श्रेष्ठ, प्राज्ञ हरिदेवी कोईराला, रमेश श्रेष्ठ, दीपक समिप, सरस्वती प्रतिक्षा र श्रष्टा अधिकारीलगायतको साथमा लोकार्पण गरेका हुन्। उक्त अवसरमा साहित्यकार सरुभक्तले साहित्यिक कृतिहरु समाजका ऐना तथा सामाजिक चेतनाका उपज भएको बताए । साहत्यकार ईश्वरमणिको यो चौथो कृति हो मुक्त संग्रह । यसअघि समयको तस्बिर नामक कविता संग्रह, हृदयको आलाप गजल संग्रह प्रकाशन भइसकेका छन् । शुरुमा जतिबेला म सार्वजनिक पुस्तकालयको अध्यक्ष थिएँ सो समयमा अधिकारीको एउटा हिमाल आरोहीको जीवनीमा आधारित पुस्तक प्रकाशन भईसकेको छ । उक्त पुस्तक तत्कालिन समयमा कुमुदिनी होम्समा कक्षा १० मा अध्ययन गर्ने विद्यार्थी अरिबन तिमिल्सिनाको जिवनीमा लेखिएको मलाइ थाहा छ । पोखरा मुक्तकको शहर हो । यहाँ मुक्तकका कर्महरु हुनु पनि स्वाभाविकै हो । सरुभक्तले भने, यस्ता असल कृतिहरु आईरहनु पर्छ । कृतिमा भएका सबै सिर्जना उत्कृष्ट हुनैपर्छ भन्ने छैन र हुन्नन् पनि तर एक दुईटा असल सिर्जना भए असल र कृति उत्तम भईहाल्छ उनले भने । विषय विज्ञताको हिसाब किताबमा लागेका विज्ञहरु साहित्य लेखनमा पनि उत्तिकै निपूर्ण छन् भन्ने कुरा गणितका विज्ञ डा।अधिकारीको कृतिबाटै प्रस्ट भएको छ । प्रमुख अतिथि श्रेष्ठले पछिल्लो समय प्रचलित रुवाई शैलीको लेखनमा मुक्तक आईरहेका भएपनि हाम्रो नेपाली धरातल, संस्कृत, यहाँको मौलिकता, ऋषि, वेद र पौराणिक विज्ञहरुलाई बुझ्न आवश्यक भएको बताए । साहित्यकार, संस्कृतिकर्मि तिर्थ श्रेष्ठले मुक्तक मक्त हुन्छ । यो स्वतन्त्र हुने भएकोले यसको ढाँचा र भावमा स्वतन्त्रता हुन्छ । चार लाईनको हुनैपर्छ, तुक मिलेको हुनैपर्छ, काटकुट गरेको, कैचीले काटेको जस्तै हनुपर्च भन्ने कुरा गलत हो । श्रेष्ठले भने, यो दुई लाईनको पनि हुनसक्छ वा चार, सात लाईनको पनि हुनसक्छ । तर हुनुपर्ने चाँही भाव र चोटिलो प्रहार यसको गुण हो । अधिकारीका मुक्तकहरुमा रुवाईया शैली अपनाएको भएपनि अब्बल भएको बताए । उनले नेपाली मुक्तक लेखनमा आफ्नो संस्कार, संस्कृति, मौलिकता र पहिचानलाई अटाउनु पर्ने बताए । कृतिकार ईश्वरमणि अधिकारीले ३० वर्षको अवधिमा लेखेर थन्किएका मुक्तकहरुबाट छानेर सम्बोधिका प्रकाशन गरेको बताए । मैले सकेसम्म सत्यको र यथार्थ परिवेशलाइ अङ्गालेको छु। तर बेईमानीलाई अस्वीकार गरेको छु । उनले भने, मानिस सर्वगुणको हुँदैन । केही कमजोरी भएका छन् भने म आगामी दिनहरुमा सच्याउनु पर्छ । सो अवसर’मा उनले छिट्टै अर्को पुस्तक निकाल्ने र पाण्डुलिपि पनि तयार भएको जानकारी दिए । कार्यक्रममा कवि जीवनसागर भण्डारीले अधिकारीको परिचय विवरण प्रस्तुत गरेका थिए भने कवि प्राञ्जलले उनका केहि मुक्तक वाचन गरेका थिए । कृतिको बारेमा कवि संजिव पौडेलले समिक्षा गरेका थिए । सो अवसरमा प्राज्ञ हरिदेवी कोईराला, प्राज्ञ, बिम्ब कवि रमेश श्रेष्ठ, गजलकार दीपक समिप, सरस्वती प्रतिक्षालगायतले शुभकामना व्यक्त गर्दै विषय विज्ञताका साथमा साहित्य लेखनमा अधिकारीको कर्मले नेपाली साहित्यमा योगदान पुगेको बताए । १२१ पृष्ठको पुस्तकमा १११ वटा मुक्तक रहेका छन् । यसलाई पोखरेली युवा सांस्कृतिक परिवारले प्रकाशन गरेको हो । यसअघि कार्यक्रममा कार्यक्रममा सहभागिहरुलाई संस्थाकी उपाध्यक्ष रीता अधिकारी ‘ऋतु’ले स्वागत, संस्थाका सचिव चैतन्य अधिकारीले सञ्चालन र अध्यक्षता अध्यक्ष उपेन्द्र पौडेलले गरेका थिए ।
बागलुङ: भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन् । जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । वर्षाको कारण पहिरोले घर भत्किँदा मैदानका दुई परिवार पूर्णरुपमा विस्थापित भएका छन् । वर्षाले घर भत्किँदा स्थानीय जमुना आचार्य र नारायणप्रसाद सापकोटाको परिवार विस्थापित भएको बागलुङ नगरपालिका–६ का वडाध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो । घर भत्किएपछि जमुना आचार्यको परिवार छिमेकी बालकृष्ण आचार्य र नारायण सापकोटाको परिवार छिमेकी मुक्ति आचार्यको घरमा आश्रय लिएर बसेको उहाँको भनाइ छ । घर भत्किँदा नारायणको रु १० लाख बराबरको क्षति भएको छ भने जमुनाको रु छ लाख बराबरको क्षति भएको छ । नारायणको अन्यत्र घर बनाउने जग्गासमेत नभएकाले थप समस्यामा रहेको वडाध्यक्ष केसीले बताउनुभयो । विस्थापित परिवारको बारेमा जिल्ला दैविक प्रकोप कार्यालयमा सिफारिस गरिएको वडाध्यक्ष केसीले बताउनुभयो । “पहिरोले दुई परिवारले घर छोडेर आफन्तकोमा आश्रय लिएका छन्, अन्य घर पनि भत्किन थालेका छन्, उनीहरूलाई सुरक्षित स्थानमा सार्नका लागि पहल गरेका छौँ”, अध्यक्ष केसीले भन्नुभयो, “बर्खा अझै बाँकी छ, वर्षा भइरहेको हुँदा व्यवस्थापनमा पनि समस्या भइरहेको छ, दुई दर्जन बढी घर अहिले जोखिममा छन्, यसरी नै वर्षा भई रह्यो भने अझै अरू घर पनि जोखिममा पर्ने सम्भावना बढेको छ ।” विस्थापित परिवारले बागलुङ नगरपालिकाबाट एक थान त्रिपालबाहेक कहीँकतैबाट सहयोग पाउन सकेका छैनन् । वर्षाको कारण बस्तीमाथिको जमिन बग्न थालेपछि रातिको समयमा जागराम बस्न बाध्य भएको स्थानीय सापकोटाले बताउनुभयो । घर कति बेला भत्किएर पुरिने भन्ने चिन्ताले पिरोली रहेको सापकोटाले दुःखेसो पोख्नुभयो । बागलुङ नगरपालिका–४ कुँडुले, वडा नम्बर ५ मालिका हुँदै पञ्कोटबाट वडा नम्बर ७ तितौरे जाने शाखा सडकखण्डअन्तर्गत मैदानमा सडकमा माथिबाट खसेको पहिरोले अन्य तीन घर परिवार पनि विस्थापित भएका उहाँको भनाइ छ । पहिरो वरपरका अन्य धेरै घर पनि जोखिममा पर्न थालेपछि स्थानीय त्रसित बनेको सापकोटाले बताउनुभयो ।

