काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन सुरू भएको छ। प्रज्ञा भवन कमलादीमा बिहान १० बजेदेखि मतदान सुरू भएको हो। निर्वाचनमा १ हजार ९ सय ५३ मतदाता रहेका छन्। महासंघको नयाँ नेतृत्व चयनका लागि उद्योगी व्यवसायीहरुको उत्साहजनक सहभागिता देखिएको छ । वरिष्ठ उपाध्यक्षसहित ६६ पदका लागि निर्वाचन हुन लागेको हो। ५७औं वार्षिक साधारणसभाले चन्द्रप्रसाद ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दैछ। महासंघमा वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान छ। हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल बिहीबारदेखि अध्यक्ष बन्नेछन्। महासंघको वरिष्ठ उपाध्यक्षका लागि तीनजनाको उम्मेदवारी परेको छ। वरिष्ठ उपाध्यक्ष बन्न महासंघको पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ,वर्तमान उपाध्यक्षहरू रामचन्द्र संघई र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा उत्रिएका छन्। महासंघको इतिहासमै वरिष्ठ उपाध्यक्षका लागि तीनजनाको उम्मेदवारी परेको हो।
काठमाडौं : राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरवारमा सुरु भएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, प्रधानसेनापति प्रभुराम शर्मा, मुख्यसचि शंकरदास बैरागी र रक्षासचिव किरणराज शर्मा सहभागी छन्। बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्था, सम्भावित बाह्यका सुरक्षाका चुनौतीलगायत विषय बैठकको एजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
काठमाडौं : ८ हजार बढी अमेरिकी डलरसहित ९ जना नेपाली पक्राउ परेका छन्। सोमबार साँझ दुबई जान लागेका उनीहरूलाई त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको त्रिअबि प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये ८ जना दुबई हुँदै क्रोयसिया र रोमानिया जाने तयारीमा थिए। अर्का एक जन भने ती आठ जनालाई पठाउन विमानस्थल पुगेका थिए। उनीहरूको साथबाट ८ हजार ४०४ अमेरिकी डलर र ९१६ युरो बरामद भएको प्रहरीको भनाइ छ। प्रहरी स्रोतका अनुसार उक्त रकम दुबई हुँदै क्रोयसिया, रोमानियाजस्ता मुलुकहरूमा पुर्याउने गरिएको छ। मंगलबार पनि त्रिअबि प्रहरीले २० हजार अमेरिक डलरसहित दुई जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ।
काठमाडौं: कोरोना भाइरस सङ्क्रमित एक व्यक्तिको आज (मङ्गलबार) मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज दुई हजार चार सय ३६ जनामा गरिएको परीक्षणमा एक सय छ जनामा सङ्क्रमण देखिएको छ । यस्तै, आज ४८ जना उपचारपछि घर फर्किएका छन् । मन्त्रालयले अझै केही दिनसम्म सङ्क्रमण बढ्ने देखिएको जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ६९ पुगेको छ । काठमाडौं उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आइसियु)मा र पाँच जना भेन्टिलेटरमा उपचाररत छन् । नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको छ ।
सिन्धुपाल्चोक: एक साताका लागि तातोपानी नाका बन्द भएको छ । आंशिक रुपमा सञ्चालन भइरहेको उक्त नाकाबाट मालबाहक कन्टेनर आउन ठप्प भएपछि तातोपानी नाका सुनसान भएको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले चिनियाँ सुरक्षा अधिकारीको भनाइ उद्धत गर्नुहुँदै चिनियाँ क्षेत्रमा भौतिक पूर्वाधारका काम गरिरहेकाले चीनले तातोपानी नाका ठप्प गराएको जानकारी दिनुभयो । ‘‘तातोपानी नाका सात दिन बन्द हुने खबर आएको छ,’’ प्रजिअ न्यौपानेले बताउनुभयो । चीनको स्वाशासित क्षेत्र खासा, न्यालम लगायतका क्षेत्रमा भौतिक पूर्वाधारका अत्याधुनिक भवन, सडक र अन्य संरचना पुनः निर्माण भइरहेको जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आगामी वैशाख १८ गतेदेखि उक्त नाका खुल्ने तयारीका कारण चिनियाँ पक्षले पुनः निमार्ण गरिरहेको हुन सक्ने अनुमान छ ।
काठमाडौं : मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित ४ जनाविरूद्ध भ्रष्टाचार कसूरमा आरोपपत्र दायर गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्काली कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेल,गमबहादुर विश्वकर्मा,नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीविरुद्ध ९३ लाख ६६ हजार २०९ रुपैयाँ भ्रष्टाचार कसूरमा मंगलबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो। आर्थिक वर्ष २०७२/०७३ मा जग्गा किनबेचका क्रममा विभिन्न लिखितबाट उठेको राजश्व रकम दाखिला नगरी हिनामिना गरेको देखिएकाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम सजाय माग गर्दै आरोप पत्र दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए। उनका अनुसार जग्गा किनबेचका क्रममा रकम हिनामिना गरेको उजुरी निवदेनका आधारमा अनुसन्धान गर्दा उनीहरू भ्रष्टाचारजन्य कसूरमा संलग्न रहेको पाइएको हो। उनीहरूबिरुद्ध हिनामिना रकमको दोब्बर रकम बीगोसहित सजाय माग गरिएको छ।
पोखरा: भरतपोखरी विश्वकर्मा समाजको अध्यक्षमा डिलबहादुर लामगादे सर्वसम्मत चयन भएका छन् । भरत पोखरी बिश्वकर्मा समाज पोखरा महानगरपालिका ३३ को तेस्रो साधारण सभा तथा दोस्रो अधिबेशनले डिलबहादुरको अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको हो । . समाजको उपाध्यक्षमा शिव प्रतेल,सचिवमा गणेश प्रतेल र कोषाध्यक्षमा प्रेम लामगादे चयन भएका हुन् । समाजको सदस्यहरुमा शेर बहादुर घताने ,राम बहादुर घताने, शान्ति घताने ,सरस्वती घिमिरे ,प्रतिमा घिमिरे,काजीमान लामगादे र रम बहादुर लामगादे चयन भएका हुन् । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका ३३ का वडाध्यक्ष रामचन्द्र आचार्यले वडाले समाजको लागि सक्दो सहयोग गर्ने बताए । ‘समाजले वडाको विकास र यस समुदायको विकासका लागि वडाले सहयोग गनै सधै तयार छ, उनले भने, ‘समाजको विकासका लागि सहकार्य गर्न वडा सधै तयार नै छ ।’ चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनारले सीप मुलक तालिम प्रदान गर्ने प्रतिवद्धता जनाए । ‘विभिन्न सीप मूलक तालिम अहिलेको आवश्यकता हो, सीप मुलक तालिमले व्यक्तिको मात्र नभएर समाज परिवर्तनका लागि सीप मुलक तालिम आवश्यकता हो, उनले भने, ‘समाज र समुदायको लागि सीप मुलक तालिम सञ्चालन गर्न प्रतिवद्ध छु ।’ भरत पोखरी बिश्वकर्मा समाजको भवनमा सम्पन्न भएको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन दिल बहादुरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
काठमाडौं: मङ्गलबार पुँजीबजारमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज २७ दशमलव ३१ अङ्कले बढेर एक हजार आठ सय ७१ दशमलव ३३ अङ्कमा कायम भएको हो । आजको कारोबारमा दुई सय ६२ वटा कम्पनीको ३३ लाख १५ हजार सात सय २० कित्ता शेयर ३५ हजार दुई सय ३७ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने रु ९४ करोड ५२ लाख ४९ हजारमा खुम्चिएको छ । सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक एक सय ३९ दशमलव ९१ र जीवन बीमा समूहको उपसूचक ८६ दशमलव १० अङ्कले बढेको छ । बैंकिङ समूह १६ दशमलव ७७, विकास बैंक समूह ७९ दशमलव १८, वित्त समूह ३७ दशमलव ४८, होटल तथा पर्यटन समूह ५३ दशमलव २२ र जलविद्युत् समूह ३७ दशमलव ९४ अङ्कले बढेको छ । त्यस्तै, लगानी समूह शून्य दशमलव ७६, लघुवित्त समूह ४९ दशमलव ७५, म्युचुअल फन्ड समूह शून्य दशमलव १६, निजीवन बीमा समूह ६२ दशमलव ९२, अन्य समूह १७ दशमलव ४६ र व्यापार समूह २१ दशमलव ९८ अङ्कले बढेको छ । पछिल्ला दिनहरुमा लगातार सकारात्मक सर्किट लाग्दै आएको कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ६९ प्रतिशतले बढेको छ । असानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको शेयर मूल्य तीन दशमलव ५४ प्रतिशतले घटेको छ । आज कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु सात करोड १० लाख ९३ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको एक लाख ८७ हजार पाँच सय ९४ कित्ता शेयर किनबेच भएको छ ।
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० हजार अमेरिकी डलरसहित दुई जना बंगलादेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोफिजुल इस्लाम र देवसिस कुमार साह रहेका छन्। उनीहरू विमान बंगलादेश ३७२ उडानबाट बंगलादेशको राजधानी ढाका जान लागेका थिए। उनीहरूलाई त्रिअबि प्रहरीले अन्तिम सुरक्षा जाँचका क्रममा मंगलबार बिहान पक्राउ गरेको स्रोतले जनाएको छ। विमानस्थल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लालमणि आचार्यले अमेरिकी डलरसहित बंगलादेशी नागरिक पक्राउ परेको पुष्टि गरे। प्रारम्भिक बयानका क्रममा उनीहरूले उक्त रकमको स्रोतको बारेमा केही बताउन नसकेको प्रहरीको भनाइ छ। उनीहरूलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको छ।

