काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

सप्तरी:   सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च मापन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण बाढी आएपछि कोशी ब्यारेजमा  पानीको बहाव उच्च भएको हो  । पानीको बहाव उच्च भएपछि अहिले कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको जनाइएको छ ।             प्रहरी नायब उपरीक्षक सिंहले ब्यारेजमा खतराको सङ्केत स्वरुप रातो बत्ती बालिएको जानकारी दिँदै आज बिहान ४ बजे पानीको बहाव चार लाख ६२ हजार क्युसेक मापन भएको बताउनुभयो । यद्यपि पानीको वहाव केही  घट्दो क्रममा रहेको छ ।       सप्तकोशीमा सन् १९८९ मा चार लाख ७२ हजार क्युसेक मापन भएको थियो । आज बिहान पनि चार बजे चार लाख ६२ हजार क्युसेक मापन गरिएको कोशी ब्यारेज कल्टोलरुमले जनाएको छ । चैतीस वर्षपछि यस वर्ष कोशीमा पानीको बहाव उच्च देखिएको हो ।  पानीको बहाव उच्च भएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

मुस्ताङ:     मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा आएको बाढीले १५ घर, एउटा निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगाएको छ ।आइतबार राति करिब आठ बजे कागखोलामा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएको हो । मानवीय क्षति भने भएको छैन । कागबेनीको बस्तीमा बाढी पसेको सूचनापछि कागबेनी आएका प्रमुख जिल्ला अधिकारी अनुप केसीले भने, ‘१५-१६ घर बगेको बताएका छन् । उनका अनुसार कागबेनी प्रहरी चौकी, कागबेनी र छुसाङ जोड्ने पक्की पुल र केही गाडीहरु पनि बगेका छन् ।’ प्रहरीहरुले हतियार भने जोगाउन सफल भएका छन् । प्रहरीहरु गाउँपालिकाको भवनमा बसेका छन् । कागबेनी र छुसाङ जोड्ने पक्की पुल बगाएपछि कागबेनीसँग अपर मुस्ताङको सडक सम्पर्क टुटेको प्रजिअ केसीले जानकारी दिए । काग खोला मुक्तिनाथ मन्दिर हुँदै आउने खोला हो । यो खोला कागबेनीमा कालीगण्डकी नदीसँग मिसिन्छ । राति ठूलो वर्षासँगै खोलामा बाढी आएको थियो । बाढी कागबेनीको बीच बस्तीसम्म पसेको छ । बाढी बस्तीमा पस्न थालेपछि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका टोलीको सहयोगमा स्थानीयलाई सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति हुन नपाएको प्रमुख जिल्ला अधिकारी केसीले बताए ।  अहिले पनि नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, जनप्रतिनिधि र कर्मचारीहरुको टोली कागबेनी क्षेत्रमा परिचालित छ । कागबेनी वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र र प्रसिद्ध धार्मिकस्थलसमेत हो । गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङका अनुसार वस्तीमा बाढी पस्न थालेपछि स्थानीयको भागाभाग भएको थियो । उनले स्थानीयलाई राति नै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति नभए पनि भौतिक संरचनामा ठूलो क्षति पुगेको बताए । उनका अनुसार बाढीले कागबेनीको पूजास्थल र बिजुलीका पोलसमेत बगाएको छ । विद्युत सेवा अवरुद्ध छ ।

मुस्ताङ:      छायाँवृष्टी हुने भनिएको हिमालपारिको जिल्ला मुस्ताङमा बाढीले ठूलो क्षति पुर्‍याएको छ । मुस्ताङको वारागुङमुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथबाट झर्ने कागखोलामा आएको बाढीले तल कागबेनीमा रहेको प्रहरीचौकी, धर्मशाला र केही घरमा क्षति गराएको छ । एउटा झोलुंगे पुल र तीन वटा विद्युत् पोल पनि ढलेकोले विद्युत् आपूर्ति बन्द भएको छ । झोङ भन्ने स्थानमा पहिरो गई कागखोलामा मिसिएपछि बाढी तल कागवेनी बस्ती पसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले पुष्टि गरेको छ । प्रहरीका अनुसार दुई दिनदेखि मुस्ताङमा पनि लगातार पानी परिरहेको छ ।   ‘बाढी आउनासाथ प्रहरी र त्यहाँ रहेको सेनाको टुकडीले स्थानीयलाई सचेत गराएकोले मानवीय क्षति भएको खबर छैन । प्रहरी चौकी समेत केही सर्वसाधारणका घर भत्काएको खबर छ । बाढीले बिजुलीको तारपोल बगाएकोले विद्युत् आपूर्ति रोकिएको छ । थप विवरण आउन सकेको छैन,’ मुस्ताङका जिल्ला प्रहरी प्रमुख डीएसपी रवीन्द्र पौडेलले भने, ‘कागवेनी र जोमसोम बीचमा पर्ने पाण्डाखोलामा आएको बाढीले जिल्लाबाट थप सहयोग पठाउनसमेत समस्या भएको छ ।’ मुस्ताङको जोमसोम विमानस्थलस्थित मौसम मापन केन्द्र पछिल्लो २४ घण्टामा २५ दशमलव ८ मिलिमिटर वर्षा मापन गरिएको छ । साभार कान्तिपुर राष्ट्रिय दैनिक

लमजुङ:    पहिरोले लमजुङ र मनाङ जिल्लालाई जोड्ने बेँशीसहर–चामे सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै बेँशीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो गएको हो ।   जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार उक्त भिरमा पहिरो झर्ने क्रम जारी छ । पहिरोका कारण सवारीसाधन बाटोमै थन्किएका छन् । “तत्काल सडक खुलाउन असम्भव छ”, उहाँले भन्नुभयो ।  सडक अवरुद्ध हुँदा लमजुङको उत्तरी भेगका साथै मनाङवासी मारमा परेका छन् । उक्त सडकखण्डअन्तर्गत लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर सडक पर्छ ।    

दमौली:   पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत मुख्य बजारमा घरटहरा भत्काउने तयारी गरिएको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली बजारमा घरटहरा भत्काउने तयारी गरेको हो । यसअगाडी मुख्य बजारभन्दा बाहेकका ठाउँमा घरटहरा हटाइएकामा अब मुख्य बजारमा काम हुने योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बजार क्षेत्रमा धुलो नउडोस् भन्नका लागि बजार क्षेत्रमा घरटहरा भत्काउन हतार नगरिएको हो । दमौली बजारको घरटहराको क्षतिपूर्ति मुआब्जाको निर्धारण पनि हालैमात्र भयो । अब धमाधम काम अगाडि बढ्छ ।” आयोजना प्रमुख सुवेदीका अनुसार दमौली बजारका घरटहराको क्षतिपूर्तिको मूल्याङ्कन हालैमात्र भएको छ । दमौली बजारमा केही असन्तुष्टि भएकाले सरोकारवालाको छलफलपछि त्यसलाई समाधान गरिने उहाँको भनाइ छ । यो खण्डमा पाँच सय पाँच घरटहरा भत्काउनुपर्नेमा हालसम्म तीन सय ५० घरटहरा भत्काइसकिएको छ । घरटहरा भत्काउँदा रु २६ करोड मुआब्जा निर्धारण भएकामा हालसम्म रु १७ करोड ५० लाख मुआब्जा वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।  व्यास नगरपालिकाले पनि आफ्नो कार्यक्षेत्रभित्र सडक केन्द्रविन्दुबाट दायाँबायाँ २५ मिटर सडक क्षेत्र भई लागत कट्टा भएकाले सो सडक क्षेत्रभित्रका संरचना हटाई सडक निर्माणमा सहयोग पुर्याउन आग्रह गरिसकेको छ । एउटा खण्डको प्रगति ३१ प्रतिशत  मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा ३१ दशमलव पाँच प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । त्यस्तै जामुनेबाट पोखरासम्मको पश्चिमखण्डमा जम्मा आठ प्रतिशत प्रगति भएको छ । यो खण्डमा काम सुस्त छ ।  पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्रको काम सुरु भइसकेको छ । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । एकचालीस दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । सरकारले मुग्लिन–पोखरा सडक विस्तारका लागि चालु आर्थिक वर्षमा रु पाँच अर्ब ४२ करोड विनियोजन गरेको छ ।  विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।  पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ ।  चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । 

पर्वत:     मुस्ताङको मुक्तिनाथ र दामोदरकुण्डबाट उत्पत्ति भई म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, गुल्मी, पाल्पा हुँदै बग्ने पवित्र कालीगण्डकी नदीको सभ्यता संरक्षणमा सरोकारवालाले जोड दिएका छन् । शालिग्राम पाइने नदी भएकाले यसको उचित संरक्षण र संवर्द्धनमा जोड दिइएको हो । पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित विश्व शान्ति गण्डकी महासभा विषयक प्रवचन तथा अन्तक्र्रियामा सहभागीले नेपालमा मात्र नभई विश्वमै कालीगण्डकी नदीको छुट्टै पहिचान र विशेषता रहेको तथा मानव जीवनसँग प्रत्यक्ष जोडिएकाले यसको सभ्यता जोगाउनुपर्ने बताएका छन् । नदीको पर्यावरणीय संरक्षण र यहाँको प्राकृतिक स्रोत तथा सम्पदाको उचित सदुपयोग गरी नदीको सभ्यतालाई जोगाउनुपर्ने, पर्यावरण नखलबल्लिने गरी नदीजन्य पदार्थ उपयोग गर्नुपर्नेजस्ता विभिन्न विषयमा चर्चा-परिचर्चा गरिएको हो । कालीगण्डकीको संरक्षण र प्रवर्द्धनमा लामो समयदेखि सक्रिय मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यले कागवेनीबाट त्रिवेणीधामसम्मको कालीगण्डकीको सभ्यता जोगाउनका लागि सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो । धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं पर्यटकीय र पर्यावरणीय हिसाबले समेत उत्तिकै महत्त्वपूर्ण रहेको कालीगण्डकी नदी र शालग्राम शिला सङ्कटमा पर्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले यसको संरक्षण तथा विकासका लागि आफू निरन्तर सक्रिय रहँदै आएको बताउनुभयो । उहाँले कालीगण्डकीको संरक्षणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन आगामी फागुन ९ देखि २३ गतेसम्म बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ आयोजना गरिएको बताउनुभयो ।  कार्यक्रममा प्राध्यापक डा जगन्नाथ रेग्मीले कालीगण्डकीको अस्तित्व जोगाउन नसके मानव जीवन नै सङ्कटमा पर्ने बताउनुभयो । जन्मेदेखि मृत्युपर्यन्त आवश्यक गण्डकीको जल संरक्षणमा राज्यको ध्यान जानुपर्नेमा उहाँको जोड छ । पछिल्लो समय अवैधरूपमा भइरहेको नदीजन्य वस्तु उत्खननले कालीगण्डकी र शालिग्राम शिला सङ्कटमा परेको जनाउँदै यस्तो गैरकानुनी कार्य तत्काल रोकिनुपर्नेमा जोड दिनुभयो । कालीगण्डकी नदी धार्मिक एवं पर्यटकीय हिसाबले उत्तिकै महत्त्वपूर्ण रहेकाले यसको उचित संरक्षण र संवर्द्धन गर्न सकेमा सिङ्गो मुलुकको अर्थतन्त्र माथि उकासिने उहाँको भनाइ छ । कार्यक्रममा संविधानसभा सदस्य तथा पूर्वमन्त्री विकास लम्सालले कालीगण्डकीको सभ्यता संरक्षणका लागि आफू लामो समयदेखि सक्रिय रहँदै आएको जनाउँदै मुक्तिनाथबाट देवघाटसम्मको नदीको अस्तित्व जोगाउनका राज्यले नै ध्यान दिनुपर्ने बताउनुभयो ।  गण्डकी प्रदेशसभा सदस्य भक्त कुँवरले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्त्वपूर्ण पवित्र कालीगण्डकीको संरक्षणका लागि प्रदेश सरकारमार्फत पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । अवैधरुपमा नदी दोहन रोक्न, शालिग्राम शिलाको संरक्षणलगायत नदी वरपर पाइने जलचर, थलचरसमेतको संरक्षणमा सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो । मुक्तिनाथबाट देवघाटसम्म थुप्रै धार्मिकस्थल जोडिएका छन् । कालीगण्डकी नदीलाई संरक्षण र संवर्द्धन गरिएन भने संस्कार, संस्कृति र यहाँको पर्यावरणमा ठूलो असर पर्ने प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले बताउनुभयो । उहाँले राज्य र प्रशासन मात्र नभई आम नागरिकसमेत कालीगण्डकीको संरक्षणमा जुट्नुपर्ने बताउनुभयो । कालीगण्डकी नदीको पर्वत र म्याग्दी खण्डमा भइरहेको अवैध दोहनले पर्यावरणमा समेत असर गर्दै गएको छ । यसका लागि तीनै तहका सरकार जिम्मेवार भएर संरक्षणमा लाग्नुपर्ने कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले बताउनुभयो ।

काठमाडौं:     साता देखिको निरन्तर भएको वर्षा आइतबार पनि निरन्तर हुने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभर भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।  मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर–प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव नेपालमा रहेको छ। जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी  प्रदेशका केही,  कर्णाली प्रदेशको थोरै र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै साथै  मधेस प्रदेशको एक(दुई स्थानहरूमा चट्याङ्गसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।  देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।  देशभर भारी वर्षाको सम्भावना रहेकोले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

पोखरा:      नौलो घुम्ती नेपालकोे आयोजना र गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित ६० घण्टे आधारभूत तालिम शनिवार सम्पन्न भएको छ । समापन समारोहमा बोल्दै कार्यक्रमका संयोजक मनकुमार राईले कम्प्युटरको आधारभूत ज्ञान वर्तमानको अनिवार्य आवश्यकता भएकाले संस्थाले परियोजना सञ्चालन गरेको बताए । नौलो घुम्ती नेपालका अध्यक्ष बद्री विनोद प्रतीकले सिकाइमा कहिल्यै पनि पूर्णता नहुने भएकाले तालिमका सिकेका कुरालाई व्यवहारमा अधिकतम लागू गर्न विद्यार्थीलाई सुझाए । परियोजनाका बारेमा बताउँदै कार्यक्रम संयोजक महेश विश्वकर्माले नौलो घुम्ती नेपालले ६-७ वर्ष अघिदेखि अध्ययनका लागि विभिन्न शैक्षिक सामग्री सहयोग पाउँदै आधारभूत कम्प्युटर तालिमसम्म आइपुगेको र भविष्यमा पनि यस्तै कार्यक्रम ल्याउने जानकारी दिए । तालिमका सहजकर्ता गण्डकी हाइटेकका प्रशिक्षक असफल गौतमले विद्यार्थी भाइबहिनीका लागि सिक्नका लागि सधैँ ढोका खुला रहेको बताए । सहभागीका तर्फबाट अपिल अधिकारी र समीक्षा विकले आफूहरूले तालिमबाट धेरै सीप आर्जन गरेको र आगामी दिनमा पनि यस्ता तालिमको निरन्तरताकोसमेत अपेक्षा गरेका थिए ।  

ढोरपाटन:     भारी वर्षासँगै झरेको पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनःअवरुद्ध भएको छ । आयोजानको बागलुङ–कुश्मीसेरा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकमाथिबाट झरेको पहिराले करिडोर अवरुद्ध बनाएको हो । शुक्रवार दिउँसो करिब २० घन्टापछि सञ्चालनमा आएको सडक गएराति १२ बजेदेखि पुनःअवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पनि भारी वर्षा भइरहेकाले सडक खुलाउन समस्या भइरहेको छ । वर्षा रोकिएपछि सडक सञ्चालनका लागि पहल गरिने प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो । उहाँका अनुसार सडक अवरुद्ध हुँदा कालीगण्डकी करिडोरमा चल्ने जिल्लाको दक्षिणको जैमिनी, बलेवा र बरेङ क्षेत्रमा चल्ने गाडी ठप्प भएका छन् ।  दिनदिनै सडक अवरुद्ध हुन थालेपछि दक्षिण क्षेत्रमा सामान ढुवानी गर्न तथा आवागमनमा समस्या भइरहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । ‘पहिरोले निकै दुःख दिइरहेको छ । करिडोरमा पहिरो खस्दा बागलुङ र जैमिनी नगरपालिका तथा बरेङ गाउँपालिका भएर दैनिक यात्रा गर्ने हजारौँ नागरिक प्रभावित बनेका छन्,’ उहाँले भन्नुभयो, ‘यसको दीर्घकालीन समाधानका लागि प्रदेश सरकारसँग छलफल गरेका छौँ । काम शुरु भएको छैन । पहिरोले करिडोरका साथै वैकल्पिक सडकलाई पनि क्षति पुर्‍याएको छ ।