पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान), कास्कीले आफ्नो वार्षिक कार्यतालिका अनुसार पहिलो कार्यक्रम वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । नेपाली र अंग्रेजी विधामा गरिएको प्रतियोगितामा दुवैतर्फ पोखराको नदिपुरमा रहेको प्रतिभा माविले प्रथम स्थान प्राप्त गर्न सफल भएको छ । हिसान कास्की अन्तर्गतका दर्जनौ विद्यालयका विद्यार्थी सहभागी भएको उक्त प्रतियोगितामा नेपाल विधातर्फ प्रतिभाकी दिपाली भट्टराई सर्वोत्कृष्ट भएकी हुन् । यस्तै, अंग्रेजी विधातर्फ प्रतिभाकै महिमा विश्वकर्माले सबैलाई पछि पारिन् । नेपाली विषयमा ‘वैदेशिक रोजगारः चुनौती र अवसर’ शीर्षकमा विद्यार्थीले प्रतिश्पर्धा गरेका थिए। यसमा लेखनाथ मोमोरियलकी दिना बिक द्वितीय, सिर्जना माविकी सोनिया केसी तृतीय र हिलप्वाईन्ट माविकी क्रिस्टिना ढुंगानाले सान्त्वना स्थान प्राप्त गरिन् । अंग्रेजी भाषामा ‘सोसल मिडियाः दि फोर्थ पिलर अफ डेमोक्रेसी’ विषयमा प्रतिश्पर्धा भएको थियो। जसमा मदरल्याण्ड माविकी आकृशा थापा द्वितीय, सगरमाथा माविकी खुशी गुरुङ तृतीय र सिर्जना माविकी सर्वज्ञा अधिकारीले सान्त्वना स्थान प्राप्त गरिन् । कास्कीभरका हिसानमा आबद्ध विद्यालयमध्ये आफ्नो विद्यालय दुवै विधामा सर्वोत्कृष्ट बनेपछि प्रतिभा माविका प्राचार्य किरण सापकोटाले खुशी व्यक्त गर्दै छात्राहरुको शैक्षिक एवम् प्राज्ञिक उन्नयनको कामना गरेका छन् । यस्तै, हिसानले युनिभर्सिटि लेभलको वक्तृत्वकला प्रतियोगिता पनि गरेको छ । नेपालीतर्फ लेकसिटी कलेजकी अनिता केसी प्रथम र एसओसीएचकी शिला भुषाल द्वितीय भइन् । अंग्रेजी विधातर्फ माउण्ट अन्नपूर्ण क्याम्पसका अमृत थापा प्रथम, एसओसीचका सुवास पौडेल द्वितीय र पीसीएमकी श्रीक्षा नेपाली तृतीय भइन् । अंग्रेजी वक्तृत्वकला प्रतियोगिताको संयोजन अशोक शाही र नेपाली विधाको संयोजन डिल्लीराम अर्यालले गरेका थिए । चाउथे स्थित कास्की मोर्डनाइज्ड एकेडेमीमा आयोजित कार्यक्रमको अध्यक्ष हिसान कास्कीका अध्यक्ष यामबहादुर रोक्काले गरेका थिए । कार्यक्रमको सञ्चालन उपसचिव पुरन कुँवरले गरेका थिए ।
पोखरा: पोखरा सिर्जनाचोकको एक होटलमा जुवाखालबाट प्रकाउ परेका ७ जना मध्ये एकजना गाउँपालिका अध्यक्ष रहेको खुल्न आएको छ । जुवाखालबाट प्रकाउ परेका ७ जना मध्ये एकजना मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन रहेको सुनगाभा न्यूजलाई प्राप्त विशेष स्रोतले पुष्टि गरेको हो । वडा प्रहरी कार्यालय बैदामले पोखरा ८ सिर्जनाचोकस्थित होटल लक्ष्मीबाट जुवा खेलिरहेको अवस्थामा ७ जनालाई ४ लाख ४७ हजार ८० रूपैयाँसहित हिजो (बिहीबार) प्रकाउ गरेको थियो । पक्राउ पर्नेमा मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षसमेत रहेका मोहनसिंङ लालचनसंगै, घोरपझोङका इन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुन्ज हिराचन, रामबजारका राजु गुरुङ र रामबजारकै दलबहादुर हिराचन छन् । जुवाखालबाट प्रकाउ परेका सातैजनालाई आज म्याद थप गरी अनुसन्धान गर्ने तयारी रहेको बताइएको छ ।
पोखरा: पोखरामा असोज दोश्रो साता ईन्टर कलेज व्याण्ड कम्पिटिसन हुने भएको छ । पोखरेली कलाकारहरुको साझा संस्था पोखरा सांगीतिक कलाकार संघको आयोजनामा आगामी असोज १२ र १३ गते पोखरामा ईन्टर कलेज व्याण्ड कम्पिटिसन आयोजना हुने भएको हो । पोखरा प्रदर्शनी केन्द्र परिसरमा रहेको डोममा हुने प्रतिष्पर्धामा देशभरका कलेजमा रहेका सांगीतिक व्याण्डहरुले प्रतिष्पर्धा गर्न पाउने संघले जनाएको छ । प्रतिष्पर्धामा रहेका व्याण्डहरुमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरु मात्र सहभागि हुन पाउने संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले स्पष्ट पारे । प्रतियोगिताका लागि सहभागि हुन चाहने कलेज व्याण्डहरुले फारम भरेपछि डिजिटल अडिसन दिनुपर्नेछ । जसका लागि कलेज व्याण्डले कभर सङ्ग गाएर त्यसको भिडियो पठाउनुपर्नेछ । डिजिटल अडिसनको भिडियो भदौ २९ गतेसम्ममा पठाई सक्नुपर्ने अध्यक्ष गुरुङले बताए । त्यसमा छनौट भएका व्याण्डहरुले पुनः फिजिकल अडिसन दिनुपर्ने उनले जानकारी दिए । फिजिकल अडिसनबाट छनौट भएकाहरु सेमीफाईनलमा पुग्ने अध्यक्ष गुरुङ बताउँछन् । ‘त्यसपछि सेमीफाईनल राउण्डबाट फाईनलिष्ट चयन गर्छौं र उनीहरुबीच प्रतिष्पर्धा गराई उपाधि बिजेता चयन गर्छौं’–उनले भने । उनका अनुसार व्याण्डहरुले फिजिकल अडिसन र सेमीफाइनलमा कभर सङ्ग मात्र गाए पुग्छ भने फाइनलमा एउटा कभर सङ्ग र अर्को एउटा आफ्नो मौलिक (ओरिजिनल) गीत गाउनुपर्नेछ । ईन्टर कलेज व्याण्ड कम्पिटिसनका लागि शुक्रबारदेखि फारम भर्न सकिने जनाइएको छ । फारम भदौ २५ गतेसम्म भर्न सकिने र त्यसको शुल्क दुई हजार निर्धारण गरिएको संघका अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार ईन्टर कलेज व्याण्ड कम्पिटिसनका लागि फारम पेपे पिज्जा रेष्टुरेट (भाटभटेनीको माथिल्ला तला) न्यूरोड, जोजलपा नेवारी किचन तेर्सापट्टी, देउराली साउण्ड एण्ड म्यूजिक रामबजार, एसके साउण्ड महेन्द्रपुल, पोखरा म्यूजिक हाउस र गिटार नेसन न्यूरोडमा पाईन्छ । प्रतियोगिताको उपाधि बिजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने क्लवका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरलाईपनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने उनले बताए । पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने उद्देश्यले ईन्टर कलेज व्याण्ड कम्पिटिसन गर्न लागेको अध्यक्ष गुरुङले बताए । ‘नब्बेको दशकमा व्याण्डहरुको जगजगी थियो तर पहिलेजस्तो अहिले रहेन । कोरोना र आर्थिक मन्दीले त झन् सांगीतिक क्षेत्रलाई नराम्ररी प्रभावित बनायो । त्यसैले सुस्ताएको व्याण्ड र सांगीतिक क्षेत्रलाई पुनःजागृत गराउन प्रतियोगिता आयोजना गरेका हौं’–उनले भने । प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउने उनको भनाई छ । प्रतियोगिताले संगीतको माध्यमबाट सुस्ताएको पर्यटन उकास्न भूमिका खेल्ने संघका उपाध्यक्ष टोपबहादुर खत्री (कान्छादाई)ले बताए । ‘मुर्झाएको पर्यटनलाई उकास्दै समग्र अर्थतन्त्र चलायमान गराउनपनि प्रतियोगिता कोशेढुंगा सावित हुनेमा हामी विश्वस्त छौं’–उनले भने ।
पोखरा: लायन्स क्लब युनाइटेड चौतारीको पदस्थापन तथा चार्टर नाइट कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रीक गभर्नर ला. हरि प्रसाद मरहट्ठाले युनाइटेड चौतारी डिष्ट्रिकमा अब्बल क्लब रहेको र डिष्ट्रिकलाई हाक्न सक्ने क्षमता यस क्बलमा रहेको बताउदै क्लबका सदस्यहरु प्रति आभार ब्यक्त गरे । उक्त कार्यक्रममा PDG धुर्ब ब थापा, 1st VDG ला. धुर्ब श्रेष्ठ, IPDG ला. मिलन थापा, PMCC PDG ला. प्रेम बहादुर श्रेष्ठ, चिफ एड्भाइजर ला. प्रजापति बास्तोला, को चिफ एड्भाइजर ला. कृष्ण प्रसाद शर्मा, रिजन चियर पर्सन ला. सूर्य बराल लगायतले शुभकामना मन्तब्य राखेका थिए । उक्त कार्यक्रममा ला. नरहरी पनेरुले आफ्नो कार्यकालमा भएका सामाजिक कार्यहरु तथा डिष्ट्रिकलाई पु¥याएको योगदानको बारेमा चर्चा गर्दै आफ्नो एक वर्षे कार्यकालमा सहयोग गर्ने साथीहरुलाई सम्मान ब्यक्त गर्दै अवार्ड समेत वितरण गरेका थिए । वर्ष 2023–2024का अध्यक्ष ला। एकनारायण गौतमले हाल सम्म क्लबले गरेका र भावी कार्यक्रमको बारेमा चर्चा गर्दै BSF र NLF तर्फको चेक हस्तान्तरण गरेका थिए । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ जे नेपाल अन्तर्गत रहेको लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीको वर्ष 2022–2023 का अध्यक्ष ला. नरहरी पनेरुको अध्यक्षतामा पहिलो सत्र तथा वर्ष 2023–2024 का क्लब अध्यक्ष ला. एकनारायण गौतमको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक ला. राजु श्रेष्ठ र धन्यवाद मन्तब्य क्लबका संस्थापक अध्यक्ष ला. बालाकृष्ण शर्माले राखेका थिए । डिष्ट्रिक जे अन्तर्गतका डिष्ट्रिक पदाधिकारी तथा सबै क्लबका अध्यक्षहरु सहभागी कार्यक्रमको सञ्चालन वर्ष 2022–2023 का सविच ला। शुसिल थापा र वर्ष 2023–2024 का सचिव ला. इश्वर शर्माले गरेका थिए ।
बागलुङ: प्रहरी वरिष्ठ सई उज्वल पौडेलको हत्या आरोपित दुई जनालाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि कारागार चलान गरेको छ। अदालतले बुधबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका–६ स्थित आशा होटल तथा खाजा घरका सञ्चालक ५१ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय विनोदलाई पुर्पक्षका लागि जेल पठाएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङले गत साउन ८ गते राति ११ बजे कुँवर आमा छोराले मिलेर भिमगिठेस्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज वरिष्ठ सई पौडेलको हत्या गरेको भन्दै मुद्दा दर्ता गरेको छ। खाजा खान होटलमा गएका पौडेल राति १ बजे होटलमै मृत फेला परेका थिए। होटलमा झगडा भएको भन्ने खबर प्राप्त भएपछि घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय भिमगिठेको टोलीले सई पौडेललाई मृत फेला पारेको थियो। हत्या आरोपमा प्रहरीले होटल सञ्चालक कुँवर आमाछोरालाई गत साउन ९ गते पक्राउ गरेर अनुसन्धानका लागि जिल्लामा ल्याएको थियो। पौडेल रातिसम्म बसेपछि आशासँग भनाभन भएको र त्यसपछि निर्घात कुटपिट गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ। पौडेलको पोस्टमार्टम रिपोर्टमा पनि शरीरभरी नीलडाम र घाउ देखिएको तथा घाँटीमा कसिएको डाम देखिएको उल्लेख छ। पौडेलको घाँटीमा लगाएको सिक्री समेत प्रहरीले होटलको पैसा राख्ने सोकेसबाट फेला पारेको थियो। निर्घात कुटेपछि बेहोस भएका पौडेलको घाँटी थिचेर मारेको आरोपीले बयान दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बताए। उनले प्रहरीलाई आमाछोराले एउटै बयान दिएको बताए। तर, आरोपीहरूले अदालतमा भने फरक–फरक बयान दिएका थिए। अदालतको आदेशपछि आमाछोरा दुवै जना बुधबारै बागलुङ जिल्ला कारागार चलान भएका छन्।
बुधबार त्रिशूली नदीमा बस खस्दा मृत्यु भएका आठै जनाको सनाखत भएको छ। धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार आज बिहानसम्म सबै मृतकहरूको सनाखत भएको हो। मृतकहरूमा म्याग्दीको रघुगंगा गाउँपालिका-३ का ५० वर्षीय थान बहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका-१ का १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका-८ का २० वर्षीय शुसिल रम्तेल र १६ वर्षीय सबिन रम्तेल, पर्वतको जलजला गाउँपालिका-६ का ४२ वर्षीय राधिका सापकोटा र पर्वतको धौलागिरी गाउँपालिका-५ का ७२ वर्षीय टेक बहादुर छन्त्याल छन्। बुधबार बिहान काठमाडौंबाट वेनी जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ चालिसेछहरामा सडकबाट त्रिशुली नदीमा खसेको थियो। चालक र सहचालक गरी बसमा २५ जना सवार थिए। तीमध्ये बाग्लुङ गलकोटका ६८ वर्षीया बुढामगर सामान्य उपचार गरी डिस्चार्ज भएका छन् भने बसका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका-६ का ३४ वर्षीय रोशन तामाङलाई सकुशल उद्धार गरिएको थियो। दुर्घटनामा १५ जना घाइते भएका छन्। उनीहरूलाई काठमाडौं ल्याई विभिन्न अस्पताल भर्ना गरिएको छ। एसपी गौतमका अनुसार नौ जनाको ट्रमा सेन्टर, चार जनाको वयोधा हस्पिटल, एक जनाको मेडिसिटी र एक जनाको बिएन्डबी अस्पालतमा उपचार भइरहेको छ। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ। गम्भीर घाइतेहरूमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ की २२ वर्षीया अञ्जु राना मगर, म्याग्दीको गरूंगा गाउँपालिका- ७ का २९ वर्षीय प्रविन पुन, ४५ वर्षीया सुनिता छन्त्याल, बंगलादेश बस्ने सुदीप मण्डल, बेनी नगरपालिका-३ का २९ वर्षीय गौतम छन्त्याल छन्। अरू घाइतेहरूमा पर्वतको मोदी गाउँपालिका-१ का ४१ वर्षीय गुरूदत्त पौडेल, बसका चालका म्याग्दीको बेनी नगरपालिका-६ का ३० वर्षीय दीपक थापा, बेनी नगरपालिका-३ का २४ वर्षीय पूर्ण छन्त्याल, अन्नपूर्ण गाउँपालिका- १ का १९ वर्षीय कुशल अधिकारी, काठमाडौंको कीर्तिपुर नगरपालिका-९ का ५२ वर्षीय खड्ककुमार श्रेष्ठ, म्याग्दीको मंगला गाउँपालिका-२ का १६ वर्षीया गीता जग्जाली छन्। त्यस्तै, बाग्लुङकी १९ वर्षीया सुष्मा क्षेत्री, पर्वतको फलेवास नगरपालिकाकी ६३ वर्षीया हरिकला गौडेल, ३२ वर्षीय बंगलादेशी नागरिक मोहमद हजिरहुल र म्याग्दीको रघुगंगा गाउँपालिका-६ की २३ वर्षीया रिना रानामगर घाइते छन्। साँघुरो सडकमा ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ।
काठमाडौं: उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व चन्द्रमासअनुसार भदौ महिनामा मनाइने भए पनि यस वर्ष भदौशुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले साउन शुक्ल अष्टमीमै मनाउन लागिएको हो । चन्द्रमासअनुसार भदौ महिना अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष साउनशुक्ल अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्रा।तोयराज नेपाल बताउनुहुन्छ । शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ । गौराको पहिलो पटक व्रत बस्नेले शुक्ल पक्ष अर्थात् उज्याली गौराबाटै शुरु गर्नुपर्ने व्रत विधान छ ।गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा धुमधामका साथ मनाइन्छ । यस्तै, काठमाण्डौसहित सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोबास रहेका क्षेत्रमा पनि यो पर्व धुमधामकासाथ मनाउन थालिएको छ । गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा ९सौँ०, तितेपाती र अपामार्ग र कतै तिलको बिरुवा पनि राखेर देविको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देविलाई भदौ कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर बर्तालुले निराहार व्रत बसी पूजा गर्ने परम्परा रहेको देउडा संस्कृतिविद् गायक नन्दकृष्ण जोशीले बताउनुभयो । देविलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ । यसरी भित्र्याउँदा कसैले पनि हेर्नु नहुने मान्यता छ । गौरा भित्र्याउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन् । दुईरतीन दिन पूजा गरिसकेपछि मङ्गलवार र शनिवार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलाशयमा लगेर सेलाइन्छ । जुठो, सुतक परेका बेला देविलाई विसर्जन गर्नु नहुने परम्परा छ । देविलाई विसर्जन गरेपछि मागल अर्थात् माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ । देशका अन्य भागमा तीज मनाए जस्तै पश्चिममा यो पर्व विशेषगरी नारीहरुले मनाउने गरेका छन् । यो पर्वका लागि साउन शुक्ल पञ्चमीका दिन केराउ, जौ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर राखिन्छ । यसलाई बिरुडा भनिन्छ । अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रुपमा बिरुडा चढाइन्छ । भक्तजनलाई पनि प्रसादका रुपमा बिरुडा नै बाँडिन्छ । यसैबीच,दुवोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । दुवो जसरी फैलिन्छ त्यसरी नै सन्तान, दर सन्तान फैलिउन् भन्ने कामनाले यो पर्वमा उमा महेश्वरको पूजा, उपासना र व्रतसमेत गरिने धार्मिक नियम छ । यस दिन दुवो र गौराको पूजा गरे सौभाग्य, सन्तान प्राप्त हुने, कार्य सिद्धि हुने जनविश्वास रहिआएको छ । आज देउडा गीत गाएर नृत्य गरी रमाइलो गर्ने गरिन्छ । काठमाण्डौको टुँडिखेलमा पनि आज देउडा गीत र नृत्यसहित विशेष कार्यक्रम हुन्छ । यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना व्यक्त गर्नुभएको छ । यो पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उहाँले बताउनु भएको छ । यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्षको हुनेभएको छ । यसअघि यो प्रमाणपत्रको अवधि एक वर्षको हुँदा राजधानीभन्दा बाहिरका पत्रकारलाई समस्या पर्दैआएको थियो । विभागबाट जारी भएका प्रेस प्रतिनिधि प्रमाणपत्र एक वर्षको अवधिका लागि कायम रहने र प्रत्येक वर्ष नवीकरण हुने गरेकोमा अब स्थायी र स्वतन्त्र पत्रकारका हकमा प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष कायम गरिने विभागका प्रवक्ता भरत गौतमले जानकारी दिनुभयो । अस्थायी प्रमाणपत्रको हकमा भने साविककै व्यवस्था निरन्तर रहने उहाँले जानकारी दिनुभयो । कानुनमा प्रमाणपत्रको अवधि तीन वर्ष भए पनि विभागले एक वर्षभित्र नवीकरण नगरे पुरानो परिचयपत्र खारेज गर्नेगरेको पत्रकारको गुनासो आएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसमा चासो देखाउनुभएको थियो । ‘हामीलाई खासगरी राजधानीबाहिरका पत्रकारबाट यो गुनासो आएपछि विभागसँग चासो राखेका थियौं, विभागले तत्काल पहल गरेर नयाँ निर्णय गरेपछि प्रेस प्रतिनिधि प्रमाणपत्र अवधि थपिएको छ’ सञ्चार तथा सूचना प्रविधिमन्त्रीका सञ्चार विज्ञ नरेन्द्र केसीले बताउनुभयो । उहाँका अनुसार छापाखाना र प्रकाशनसम्बन्धी नियमावली २०४९ को ११ (१) मा प्रमाणपत्रको अवधि तीन वर्षको हुने उल्लेख भए पनि अभ्यासमा एक वर्षमै नवीकरण गर्ने प्रचलन रहेकाले त्यसमा सुधार गरेर नियवालीअनुसार तीन आर्थिक वर्ष नै अवधि बनाउने निर्णयमा विभाग पुगेको छ । त्यस्तै, स्वतन्त्र पत्रकारको परिचयपत्र प्राप्ति र नवीकरणका सवालमा पनि गुनासो आएकाले यसमा पनि सुधारका लागि प्रयास थालिएको उहाँले जानकारी दिनुभयो । ‘लामो समयसम्म पत्रकारितामा लागिरहेका अग्रजहरुले स्वतन्त्र पत्रकार परिचयपत्र पाउने र नवीकरण गर्ने सवालमा असजिलो भयो भन्ने गुनासो गरिरहनुभएको छ’ केसीले भन्नुभयो, ‘यसलाई सहज बनाउन के गर्न सकिन्छ, छलफल भइरहेको छ, यसमा पनि विभागले गृहकार्य गरिरहेको छ ।’ त्यस्तै, विभागले एफएम रेडियो इजाजत र लाइसेन्स प्रतिलिपी पनि अनलाइनमै पाउने व्यवस्था गरेको छ । विभागको वेबसाइटको ‘अन्य’ बाट प्रवेश गरेर निवेदन दिई सोको निर्णयपश्चात विभागबाट निवेदकको सम्बन्धित जिल्ला हुलाक कार्यालयमा सो प्रतिलिपि पठाइने व्यवस्था मिलाइएको विभागका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मा भएको यात्रुवाहक बस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। मृत्यु भएकाहरूको नाम खुलिसकेको छैन। घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार गरेको छ। जसमध्ये ४ जनाको धादिङकै राजमार्ग अस्पताल र १३ जनालाई थप उपचार गर्न काठमाडौं ल्याइएको छ। काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बुधबार बिहान दुर्घटनामा परेको थियो। धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३(०१(००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो। बस त्रिशूली नदीमा पुगेको छ। बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको उनले बताए। मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। बस बिहान ७ बजे काठमाडौंबाट छुटेको थियो।

