पोखरा: मिना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय बिना कुमारी थापा ‘बिनु’ र बालकुमारी पौडेल ‘तारा’ सम्मान गरिने भएको छ । गण्डकी प्रदेशका पूर्व सांसद, उद्यमी तथा समाजसेवी मिना गुरुङले स्थापना गरी नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गरेको पुरस्कारबाट पत्रकार बिनु र तारा सम्मानित हुन लागेका हुन् । छनोट समितिले सिफारिस गरेको नाम महासंघ कास्कीको मंगलबार बसेको बैठकले अनुमोदन गरेको सचिव माधव बरालले जानकारी दिए । संयोजक पुण्य पौडेल, सदस्यहरु दुर्गा अधिकारी, दीपक परियार, विमला भण्डारी र माधव बरालको छनोट समितिले उक्त पुरस्कार २०७९ का लागि बिनु र २०८० का लागि ताराको नाम सिफारिस गरेको हो । उक्त पुरस्कारको राशी नगद २० हजार १ सय ११ रुपैयाँ रहेको छ । असोज १२ गते एक कार्यक्रम आयोजना गरी पुरस्कार अर्पण गरिने सचिव बरालले जानकारी दिए । सम्मानित हुन लागेका पत्रकार बिनु हाल पोखरा टेलिभिजनमा कार्यरत छिन् । २०६८ सालमा गण्डकी टिभीमा मगर भाषाको समाचार बाचिकाबाट पत्रकारिता सुरु गरेकी बिनुले कान्तिपुर दैनिक, फेवा टेलिभिजन र गोर्खाली रेडियोमा पनि काम गरिसकेकी छिन् । हाल उनी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ कास्की शाखाकी उपाध्यक्ष र नेपाल मगर पत्रकार संघ कास्कीकी अध्यक्ष छिन् । यस्तै पत्रकार तारा पौडेलले २०६८ सालमा यूनाइटेड राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेकी हुन् । उनी हाल सिटीपोखरा डटकमको सञ्चालक÷सम्पादक भएर काम गरिरहेकी छिन् । यसभन्दा अघि उनले रेडियो नेपाल, रेडियो सफलता, रेडियो जननी, विग एफ एम, रेडियो आकाशवाणी, ईसांग्रिला डटकम, टप नेपाल न्यूज डटकममा काम गरिसकेकी छिन् । उनले नेपाल वातावरण पत्रकार समूहद्धारा सञ्चालित टेलिभिजनमार्फत प्रसारित भएको कार्यक्रम नयाँ पुस्तामा पनि काम गरेकी थिइन् । नेपाल पत्रकार महासंघको गण्डकी प्रदेश परिषद सदस्य, खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सदस्य, अनलाइन पत्रकार संघ गण्डकीको संस्थापक सचिव, सञ्चारिक समुह गण्डकीमा सदस्य भएर काम गरेकी तारा प्रेस चौतारी नेपाल कास्कीकी उपाध्यक्ष हुन् । यो पुरस्कारबाट यसभन्दा अघि दुर्गा भण्डारी, दीपक परियार, शान्ति गुरुङ, सरिता तिम्सिना पगेनी, खेम सारु मगर, स्मिता अधिकारी, रोशनी गुरुङ र रविना आले सम्मानित भइसकेका छन् ।
काठमाडौं: विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ । यस वर्षको नारा ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ ले स्वास्थ्य केही चुनिएका व्यक्तिका लागि मात्र होइन, सबैका लागि हो भन्ने कुरालाई प्रकाश पारेको छ । यो दिवस लुइस पाश्चरको मृत्युको वार्षिकोत्सवका रुपमा समेत मनाइन्छ । फ्रान्सेली वैज्ञानिक लुइसले रेबिजविरुद्धको पहिलो खोप विकास गर्नुभएको थियो । यस दिवसको उद्देश्य रेबिजविरुद्धको लडाइँमा सबै समूह, सङ्गठन र सरोकारवालालाई एकजुट गराउने हो । ग्लोबल एलायन्स फर रेबिज कन्ट्रोलले सन् २००७ देखि विश्व रेबिजविरुद्धको दिवसको रुपमा मनाउन थालेको थियो । कालान्तरमा विश्व स्वास्थ्य सङ्गठनले यस दिवसलाई समर्थन गरेको थियो । नेपालले सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । तर नेपालको सन्र्दभमा रेबिज चुनौती बन्दै गएको चिकित्सक बताउनुहुन्छ । अझै पनि ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको गत आर्थिक वर्ष २०७९/८०को तथ्याङ्कअनुसार ७५ हजार पाँच सय ६२ जनालाई कुकुर र नौ हजार नौ सय २१ जनालाई अन्य जनावरको टोकाइबाट विरामी भएका थिए । यस्तै आव २०७५÷७६ मा ३२ हजार आठ सय ८२ जनालाई कुकुरले टोकेको थियो । यो सङ्ख्या क्रमशः बढ्दै गएर आव ०७७/७८ मा ५४ हजार नौ सय ९६ जना पुगेको थियो । गत आवमा दुई लाख ५० हजार, ‘एआरभी’ भायल खोप खपत भएको थियो । महाशाखाका अनुसार आव ०७०र७१ मा नेपालमा रेबिजका कारण १० जनाको मृत्यु भएको थियो । आव ०७१/७२ मा १३ जना, आव ०७२/७३ मा छ जना, आव ०७३/७४ मा आठ, आव ०७४/७५ मा ३२ जना र आव ०७५/७६ मा १८ जनाको रेबिजका कारण मृत्यु भएको थियो । तर पछिल्ला वर्षहरुको तथ्याङ्कमा रिपोर्ट भएका जनावरको टोकाइका घटनाको सङ्ख्यामा उतारचढाव आए पनि रेबिजको मृत्युको सङ्ख्या गत वर्षको तुलनात्मक रुपमा बढ्दै गएको महाशाखाका अधिकारी बताउँनुहुन्छ । रेबिज एक घातक भाइरल सङ्क्रमण हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ । जुन छाडा कुकुर, स्याल, चमेरो, न्याउरी मुसो, बाघ, चितुवा र बिरालोजस्ता सङ्क्रमित जनावरको टोकाइबाट सर्छ । रेबिजबाट बच्नको लागि सम्भावित जोखिम पछि तुरुन्तै खोप लगाउनु आवश्यक हुन्छ । रेबिजको सङ्क्रमणको लक्षण ज्वरो र टाउकोबाट सुरु हुन्छ र प्रकाश, पानी र हावादेखि डर लाग्ने हुन्छ । यसले पक्षघात र अन्ततः कोमामा समेत पुग्ने जोखिम हुन्छ । कुकुर वा बिरालोजस्ता जङ्गली जनावर वा घरपालुवा जनावरलाई छुँदा वा खुवाउँदा धेरै सावधानी अपनाउन चिकित्सकको सुझाव छ । महाशाखाका पशु चिकित्सा अधिकारी रोशिका श्रेष्ठले भन्नुभयो, “टोक्नासाथ रेबिजविरुद्धको खोप लगाएमा यो रोगबाट बच्न सकिन्छ । अन्यथा एक पटक लक्षण देखा पर्न थालेपछि, यो घातक हुन्छ, र धेरैजसो अवस्थामा मृत्यु हुन्छ ।” रेबिजबारे भ्रमलाई चिर्न यसबारे जनचेतना अभिवृद्धि गर्न आवश्यक भएको उहाँले बताउनुभयो । “कुनै पनि उमेर समूहका कुनै पनि प्रकारका कुकुरले टोक्दा यो रोग सर्न सक्छ । घरमा खोप लगाएको छ भनेर हुँदैन । घरमा पालेको कुकुरमा समेत सङ्क्रमण हुन सक्छ”, उहाँले भन्नुभयो, “तुरुन्त रेबिजविरुद्धको भ्याक्सीन लगाउनुपर्छ । पाँच वर्षमुनिका बालबालिकालाई रेबिज लाग्दैन भन्ने भ्रम छ । सबै उमेर समूहका लागि यसविरुद्धको खोप अत्यावश्यक हुन्छ ।” जनावरले टोक्ने बित्तिकै बगिरहेको, धाराको पानीमा १५ मिनेटसम्म सफा गर्नेपर्ने उहाँको सुझाव छ । सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमा यसविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । चिकित्सकका अनुसार घाउमा बेसार, खुर्सानी दल्ने चलन छ, त्यसले सङ्क्रमण झन बढ्ने जोखिम हुन्छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । नवनियुक्त राजदूतहरुले बुधबार राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । राष्ट्रपति भवनका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार शपथ ग्रहण गर्नुहुनेमा फ्रान्सका लागि सुधीर भट्टराई, संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल र स्वीट्जरल्याण्डका लागि रामप्रसाद सुवेदी हुनुहुन्छ ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको तयारी छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यका अनुसार घटस्थापना आसपासदेखि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म नयाँ नोट वितरण गर्ने तयारी छ । अघिल्ला दुई वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति बढीमा १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट दिने गरेको थियो ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने गरी आफूले काम गर्न चाहेको र आफूसँग नेपाललाई डिजिटल नेपाल बनाउने सपना रहेको बताउनुभएको छ । आज (सोमबार) चीनको बेइजिङस्थित डिजिटल कम्पनी हुवावेको निरीक्षणपछि दिनुभएको प्रतिक्रियामा उहाँले सो धारणा राख्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “विश्वमा बढ्दो विज्ञान एवम् सूचना प्रविधिको विकाससँगै अहिलेको विश्व विस्तारै डिजिटल स्वरुपमा गइरहेको छ, हामीले पनि नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने सपना देखेका छौँ ।” उहाँले हाल नेपाल विज्ञान प्रविधिको विकासको प्रारम्भिक चरणमै रहेकाले नेपालमा सूचना प्रविधिका क्षेत्रमा लगानीका लागि चिनियाँ लगानीकर्तालाई आग्रह गर्नुभयो । नेपालमा चीनका उद्योगी व्यवसायीहरुले गर्ने लगानीका क्षेत्रहरु धेरै भएको र तीमध्ये पनि नयाँ र लाभ लिन सकिने एक क्षेत्र भनेको सूचना प्रविधि रहेकाले यस क्षेत्रमा लगानीका लागि उहाँले चिनियाँ लगानीकर्तालाई आग्रह गर्नुभयो । नेपालमा लगानी गर्न आउने विश्वका सबै लगानीकर्ताको लगानीको सुरक्षा नेपाल सरकारले गर्ने र लगानीका लागि आवश्यक वातावरण पनि निर्माण गरिदिने प्रतिबद्धता पनि उहाँले सो अवसरमा व्यक्त गर्नुभएको थियो । हाल चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डसहित उहाँको प्रतिनिधिमण्डल आज सो कम्पनीको मुख्यालयमा पुगेको थियो । कम्पनीका उच्च अधिकारीहरुले प्रधानमन्त्रीलाई विशेष स्वागत गरेका थिए । उक्त बहुराष्ट्रिय कम्पनीले मोबाइल फोन, ल्यापटपलगायतका इलेक्ट्रोनिक वस्तुहरु उत्पादन गर्ने गर्दछ ।
सोलुखुम्बु: सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लाको माइक्रो हाइड्रोपावरको सामग्री ३ महिनादेखि फाप्लुमा रोकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरबाट सामग्री ढुवानीमा रोक लगाएसँगै यी सामग्रीहरु ३ महिनादेखि फाप्लु एअरपोर्टमै रोकिएको हो । काठमाडौंबाट ल्याइएको विद्युत् सामग्रीहरुमध्ये सानो सामानहरु जहाजमार्फत् लुक्ला लगिएको छ भने हेलिकप्टरमा सिलिङ गरेर लैजानुपर्ने ठूला सामग्रीहरु भने फाप्लुमै अलपत्र परेको लुक्लाका वडाध्यक्ष आङ फुर्वा शेर्पाले बताए । उनका अनुसार विद्युतको टर्वाइन, जेनेरेटर, विद्युत् हिटर, ट्रान्सफर्मर, कन्ट्रोल प्यानल लगायतका वजनदार सामग्रीहरु फाप्लु एअरपोर्टमै थन्किएका छन् । सामग्री लैजान वडा कार्यालयले प्राधिकरणलाई पत्र नै काटे पनि सुनुवाइ नहुँदा समस्या भएको वडाध्यक्ष शेर्पाले बताए । सामग्री नपुग्दा लुक्लाको बमखोला लघुजलविद्युत् आयोजनाको एउटा गृहको विद्युत् उत्पादन ठप्प रहेको छ । लुक्ला क्षेत्रका झण्डै ४५० घरधुरीका लागि यो आयोजनाले दुई वटा विद्युत् गृहबाट विद्युत् उत्पादन गर्दै आएको करिब १६ वर्षअघि स्थापना गरेको विद्युतमा खराबी आएका कारण मुख्य मेसिन नै परिवर्तन गरिएको बताइएको छ । मुख्य विद्युत् मेसिन बन्द भएपछि लुक्लामा सानो मेसिनबाट उत्पादित विद्युत् मात्रै वितरण गरिँदै आएको वडाध्यक्ष समेत रहनुभएका विद्युत् उपभोक्ता समिति अध्यक्ष आङ फुर्वा शेर्पाले जानकारी दिए । जसका कारण लुक्लामा अहिले दैनिक ३ घण्टासम्म लोडसेडिङ हुने गरेको बताइएको छ । सडक नपुगेका कारण खुम्बु क्षेत्रमा सामग्री ढुवानीका लागि उडानकै भर पर्नुपर्ने बाध्यता रहेको छ । गाडी पुग्न नसकेको लुक्ला क्षेत्रमा हरेक सामग्री ढुवानीमा हेलिकप्टरकै भरपर्नु परेको समयमा प्राधिकरणले उडानमा कडाइ गर्दा खुम्बुवासीलाई ठूलो मार परेको स्थानीय टासी शेर्पाले बताए । जसका कारण लुक्लाका नागरिकहरु आक्रोसित रहेको उनको भनाइ छ । यता नेपाल नागरिक उड्डयन प्राधिकरणले भने सेप्टेम्बर अन्तिमबाट हेलिकप्टरलाई सिलिङ उडानको अनुमति दिने बताएको छ । गएको असार २६ गते मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरामा दुर्घटना भएपछि प्राधिकरणले हेलिकप्टर उडानमा कडाइ गरेको हो । प्राधिकरणले त्यसयता मौसमको कारण सुरक्षालाई ध्यान दिँदै सेप्टेम्बर अन्तिमसम्मका लागि हेलिकप्टरमार्फत् हुने सामग्री ढुवानीलाई रोक लगाएको थियो ।
म्याग्दी: म्याग्दीको मालिका गाउँपालिकाको रुममा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर ५० वर्षीय कृष्णबहादुर विकको मृत्यु भएको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिए । उनका अनुसार बिहान पौने ८ बजेतिर पहिरोमा परेका विकको घटना स्थलमै मृत्यु भएको हो । मालिका गाउँपालिका –२, बेलीका बिक कोठादेखि बिहान पौने ८ बजेतिर आफ्नो घरतर्फ आउँदै गर्दा एक्कासि पहिरोमा परेको जानकारी पाएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको मालिका गाउँपालिका २ का अध्यक्ष उदयबहादुर बुढाथोकीले जानकारी दिए । उनका अनुसार पहिरोमा परेको थाहा पाए पछि डोजर लगाएर खोजी गर्दा मृत अवस्थामा विकको शव भेटिएको थियो ।
काठमाडौं: चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी लि छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ । यहाँको स्थानीय समयअनुसार बिहान ११ बजे ग्रेट हल अफ दि पिपलमा सो भेटवार्ता सुरु भएको हो । यसअघि प्रधानमन्त्री दाहाललाई चिनियाँ प्रधानमन्त्री लिले ग्रेट हल अफ दि पिपलमा स्वागत गर्नुभएको थियो । उहाँहरूबीच नेपाल–चीन सम्बन्धका विविध पक्ष एवं द्विपक्षीय हित र चासोका विषयमा विचारविमर्श भएको छ । सो भेटवार्तामा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको समेत सहभागिता रहेको छ । भेटवार्तापछि द्विपक्षीय सहयोग एवं सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
काठमाडौं: छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । त्यसअघि प्रधानमन्त्री दाहाललाई उहाँका चिनियाँ समकक्षी लि छ्याङले ग्रेट हल अफ दि पिपलमा स्वागत गर्नुभएको थियो । केही समयमै नेपाल–चीनबीच प्रधानमन्त्रीस्तरीय भेटवार्ता सुरु हुँदैछ ।

