काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औँ नाडा अटो शोको उद्घाटन गर्नुभएको छ। भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको ब...

पाल्पा:   बुटवलबाट पाल्पा हुँदै बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।    सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ–५, जोरधारा नजिकै बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको र १८  जना घाइते भएको प्रहरीले जनाएको छ । आइतबार बिहान सवा नौ बजे बुटवलबाट पाल्पा हुँदै बागलुङको बुर्तिबाङ्तर्फ गइरहेको लु १ ख ५९५६ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी १८  जना घाइते भएका छन् । पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले घाइते सबै जनलाई लुम्बिनी मेडिकल कलेज पठाइएको जानकारी दिनुभयो । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तनहुँ:    नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले सवा दस बजे मतदान गरेका छन् । तनहुँको व्यास नगरपालिका ११ स्थित तनहुँसुर स्वास्थ्य चौकीको मतदान केन्द्र ‘क’ मा भट्टराईले मतदान गरेका हुन्  । मतदान पश्चात् सुनगाभा न्यूजसँग बोल्दै कांग्रेसको विरासत जोगाउने विश्वास व्यक्त गरे । उनले अन्य प्रतिस्पर्धीलाई अवसरवादी भएको बताउदै स्थानीयले आफुलाई नै जिताउने बताए । तनहुँ  १ मा जारी मतदानमा भट्टराई बाहेक एमालेका उम्मेदवार सर्वेन्द्र खनाल र रास्वपाका डा स्वर्णिम वाग्लेले मतदानमा भाग लिन आउने छैनन् ।   तस्वीरमा हेरौं:         ​  

बारा:     बारा क्षेत्र नं २ मा उप निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बारा–२ का सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो । बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको र एक घन्टाको अवधिमा करिब पाँच प्रतिशत मतदाताले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताउनुभयो ।  गर्भवती, अशक्त, ज्येष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने र उहाँहरूलाई पहिलो प्राथमिकतामा राखेर मतदान गर्ने व्यवस्था मिलाइएको छ । स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न बारा निर्वाचन क्षेत्र नं २ मा दुई हजार छ सय पाँच सुरक्षाकर्मी परिचालन गरिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार बारा  २ मा एक हजार छ सय ८८ नेपाल प्रहरी, छ सय पाँच सशस्त्र प्रहरी र तीन सय नेपाली सेनालाई निर्वाचनमा परिचालन गरिएको छ । बदनियतपूर्वक कसैले मतपेटिकालाई चलाउन, धाँधली गर्न खोजेको अवस्थामा त्यस्ता व्यक्तिलाई  गोली हान्न सक्ने गरी सुरक्षाकर्मीलाई निर्देशन दिइसकेको प्रजिअ सापकोटाले बताउनुभयो ।  सो क्षेत्रमा ८२ मतदानस्थलमा एक सय ३८ मतदान केन्द्र तोकिएको छ । ती मध्ये ६५  मतदानस्थल अतिसंवेदनशील, १७  समान्य रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।  महागढी र पचरौता नगरपालिका, करैयामाइर्, सुवर्ण र देवताल गाँउपालिकाको ४४  वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिनुभयो । सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । रासस  

काठमाडौं:    बटुवालाई जौँ, चनाको सातु एवं चिसो पानीको सर्वत ख्वाइँदै आज महोत्तरीसहितका मिथिला क्षेत्रमा अक्षय तृतीया पर्व मनाइँदै छ । वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाइन्छ । सघन आवतजावतको बाटोमै बसेर भोका र तिर्खाएका बटुवालाई जौँ र चनाको सातु, सख्खर र चिसो पानीमा बनाइएको गुलियो सर्वत खुवाउने पुरानो मिथिला परम्परा हो । यस पर्वमा सर्वत ख्वाइँदा अक्षय (कहिल्यै नास नहुने) पुण्यप्राप्त हुने मैथिल (मिथिलाका बासिन्दा)को जनविश्वास छ । यस पर्वमा गरिब र अभाव भोगी, खेपिरहेकालाई सातु राखिएका थैला र सर्वत राखिएको घडासहित दान गर्ने परम्परा रहेको साहित्यकार महेश्वर राय बताउनुहुन्छ । यस पर्वको वर्णन भविष्य पुराणमा उल्लेख छ । भगवान् शिव र देवी पार्वतीको विवाह भएको दिन पनि मानिने यो पर्वमा ब्राह्मण, कूलपुरोहित तथा गरिबलाई स्वर्ण (सुन), शीतल खाद्य परिकार र वस्त्र दान गर्नेको कहिल्यै भण्डार खाली नहुने उल्लेख रहेको बर्दिबास-२ का कर्मकाण्डका ज्ञाता महेशकुमार झा बताउनुहुन्छ । यस पर्व सुख र समृद्धिको प्रतीक मानिन्छ । यो पर्वले गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने हुँदा शरीरमा चिनीको मात्रा सन्तुलन राख्न सख्खर र चिनीमा बनाइएको शीतल सर्वत र पुष्टिवद्र्धक अन्न जौँ र चनाको सातु खानपिनको प्रयोगमा जोड दिएको बर्दिबास अस्पतालका चिकित्सक मेडिकल अफिसर डा किशोर अधिकारीको भनाइ छ । पर्वले मौसमअनुसार पुष्टिवद्र्धक भोजन गर्न सन्देश दिनसँगै दीनदुःखी र भोकाएका, तिर्खाएकालाई सेवा दिन नैतिक सन्देश दिएको पाका मैथिल बताउँछन् । पर्वमा कूलपुरोहित ब्राह्मणलाई पूजा गरेर वस्त्र, मिष्टान्न खाद्य परिकार र दक्षिणा दिएर आफ्नो र परिवारका सदस्यहरूको जीवनमा शीतलताको कामना गर्दै जौँ, चनाको सातु र सर्वत खाएर यो पर्व समापन गरिने मैथिल परम्परा छ । भगवान् शिव र पार्वतीको विवाह भएको मानिने यो दिन नयाँ घरबास, नानीहरूको अन्नप्रासन र विवाहलगायतका माङ्गलिक कार्यका लागि अर्को साइत हेर्न नपर्ने आम मैथिल मान्यता छ ।

काठमाडौं:   तनहुँ निर्वाचन क्षेत्र नं.१  बारा निर्वाचन क्षेत्र नं. २, चितवन निर्वाचन क्षेत्र नं. २ र मा आज आइतबार बिहान ७ बजेबाट प्रतिनिधि सभा सदस्यका लागि मतदान सुरु भएको छ ।  मतदानका लागि मतदाताहरू उत्साहजनकरुपमा लाममा छन् ।  बारा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि, चितवन निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित रवि लामिछाने नागरिकता प्रकरणमा कसुरदार ठहर भएपछि र तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यी स्थानमा सांसद पद रिक्त भएकाले तीनवटै स्थानमा उपनिर्वाचन भइरहेको हो ।     तीनै निर्वाचन क्षेत्रमा निर्वाचनका कारण अत्यावश्यकबाहेकका सवारी रोकिएका छन् ।

काठमाडौं:   प्रतिनिधिसभा सदस्यको भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।       बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा निधक्क भइ मतदान गर्न मतदाता समक्ष निर्वाचन आयोगले अपिल गरेको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतदान गर्नुपर्नेछ ।      निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले विशेष सजगता अपनाइएको आयोगको भनाइ छ । निर्वाचन हुने दिनभन्दा ४८ घण्टा प्रचारप्रसार निषेधको अवधि सुरु भइसकेको छ ।      यस अवधिमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, विशेष अनुगमन टोली र अनुगमन अधिकृतलाई खटाइसकिएको छ । मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमन भइरहेको आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिनुभयो ।       आयोगले मतदानका दिन सम्बन्धित जिल्लामा आवागमन र सवारी साधन सञ्चालनका लागि स्थानीय प्रशासनले तोकेबमोजिम हुने गरी गर्न निर्देश गरेको छ । मतदानका समयमा मौसमी प्रतिकूलताबाट हुनसक्ने प्रभावको पूर्वतयारीका लागि त्रिपाललगायत सामग्रीको बन्दोबस्त गर्न स्थानीय प्रशासन तथा स्थानीय तहलाई आवश्यक निर्देशन दिई सकिएको छ ।      मतदान सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न नदिने, बल प्रयोग गरी वा डर त्रास देखाई मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौडा छेकी मतदान केन्द्रमा जान नदिने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्ने, वादविवाद, हूलहुज्जत वा असमान्य परिस्थिति सृर्जना गर्ने वा गराउन खोज्ने जो कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरी मतदान कार्यलाई निर्बाधरूपमा सम्पन्न गर्न सम्बद्ध निकायलाई आयोगले निर्देशन दिएको छ ।      आयोगले उपनिर्वाचन व्यवस्थापनको सन्दर्भमा राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज र आमसञ्चारमाध्यमलगायत सबै सरोकारवालाहरूको सहयोग र सहभागिताबाट निर्वाचन सम्पन्न हुनेमा आयोग विश्वस्त लिएको छ ।  

दार्चुला:    दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकाली नदीमा बेपत्ता भएका छन् ।       जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी आज दिउँसो तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको ब्याँस गाउँपालिका–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले जानकारी दिनुभयो ।      दिउँसो साढे एक बजेतिर भण्डारी घरबाट भारत जाने क्रममा तुइनको सहारामा महाकाली नदी पार गर्न खोज्दा उक्त घटना भएको वडाध्यक्ष बुढाथोकीले बताउनुभयो ।         जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले तुइनबाट खसेर भण्डारी बेपत्ता भएको खबर प्राप्त भएको बताउनुभयो । “दुम्लिङबाट प्रहरी टोली घट्नास्थलमा गएको छ, खोजी कार्य जारी छ’’, उहाँले भन्नुभयो । 

तनहुँ:    जिल्ला प्रशासन कार्यालयले भोली पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ-१ मा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाएको छ । तनहुँ-१ मा उपनिर्वाचन हुने भएकोले निर्वाचन क्षेत्रमा गाडी आवागमन रोकिने जिल्ला प्रशासन कार्यालय तनहुँले सूचना निकालेर जानकारी गराएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले निकाल्नुभएको सूचनामा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म राजमार्गमा समेत गाडी चलाउन नपाइने उल्लेख छ । पृथ्वी राजमार्ग हुँदै तनहुँ कटेर अन्त जाने यात्रुहरुले आइतबार बिहान ५ बजेअघि वा बेलुका ५ बजेपछि मात्रै यात्रा गर्नुपर्नेछ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनको पुलदेखि दमौलीमा रहेको मादी पुलसम्म र डुम्रे बेशीशहर सडक खण्ड, गोरखा आँबुखैरेनी सडक खण्ड र दमौली दुईपिप्ले सडक खण्डमा अत्यावश्यक बाहेकका गाडी चल्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो । दमकल, एम्बुलेन्स, खानेपानी, दूध र फोहोरमैला बोक्ने सवारी साधन, शववाहन, परिचयपत्र बोकेका चिकित्सक तथा स्वास्थ्यकर्मी र सूचना विभागको परिचयपत्र बोकेका पत्रकार चढेको गाडी भने चलाउन पाइनेछ । भोल तनहुँ १ सहित चितवन २ र बारा २ मा पनि उपचुनाव हुँदै छ ।   

तनहुँ:   आइतबार हुने तनहुँ-१ को उपनिर्वाचनमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन दुई हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिको संयोजक तथा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सुरक्षाको दृष्टिकोणले मतदान केन्द्रलाई अति संवेदनशिल, संवेदनशिल र सामान्य गरी विभाजन गरेर सो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । उनले मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी रहने र उनीहरुलाई पछिल्लो घेराबाट नेपाली सेनाले साथ दिने बताए । निर्वाचनको सुरक्षा व्यवस्था चुस्त बनाउन सबैभन्दा धेरै नेपाल प्रहरी एक हजार छ सय, सशस्त्र प्रहरी ४४२, नेपाली सेना पाँच सय र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ रिजालको भनाई छ । यसका अतिरिक्त सदरमुकाम दमौलीमा रिजर्व फोर्स पनि तयारी अवस्थामा राखिएको र आवश्यकता अनुसार परिचालन गरिने उनले बताए ।