दार्चुला: दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकाली नदीमा बेपत्ता भएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी आज दिउँसो तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको ब्याँस गाउँपालिका–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले जानकारी दिनुभयो । दिउँसो साढे एक बजेतिर भण्डारी घरबाट भारत जाने क्रममा तुइनको सहारामा महाकाली नदी पार गर्न खोज्दा उक्त घटना भएको वडाध्यक्ष बुढाथोकीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले तुइनबाट खसेर भण्डारी बेपत्ता भएको खबर प्राप्त भएको बताउनुभयो । “दुम्लिङबाट प्रहरी टोली घट्नास्थलमा गएको छ, खोजी कार्य जारी छ’’, उहाँले भन्नुभयो ।
तनहुँ: जिल्ला प्रशासन कार्यालयले भोली पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ-१ मा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाएको छ । तनहुँ-१ मा उपनिर्वाचन हुने भएकोले निर्वाचन क्षेत्रमा गाडी आवागमन रोकिने जिल्ला प्रशासन कार्यालय तनहुँले सूचना निकालेर जानकारी गराएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले निकाल्नुभएको सूचनामा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म राजमार्गमा समेत गाडी चलाउन नपाइने उल्लेख छ । पृथ्वी राजमार्ग हुँदै तनहुँ कटेर अन्त जाने यात्रुहरुले आइतबार बिहान ५ बजेअघि वा बेलुका ५ बजेपछि मात्रै यात्रा गर्नुपर्नेछ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनको पुलदेखि दमौलीमा रहेको मादी पुलसम्म र डुम्रे बेशीशहर सडक खण्ड, गोरखा आँबुखैरेनी सडक खण्ड र दमौली दुईपिप्ले सडक खण्डमा अत्यावश्यक बाहेकका गाडी चल्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो । दमकल, एम्बुलेन्स, खानेपानी, दूध र फोहोरमैला बोक्ने सवारी साधन, शववाहन, परिचयपत्र बोकेका चिकित्सक तथा स्वास्थ्यकर्मी र सूचना विभागको परिचयपत्र बोकेका पत्रकार चढेको गाडी भने चलाउन पाइनेछ । भोल तनहुँ १ सहित चितवन २ र बारा २ मा पनि उपचुनाव हुँदै छ ।
तनहुँ: आइतबार हुने तनहुँ-१ को उपनिर्वाचनमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन दुई हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिको संयोजक तथा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सुरक्षाको दृष्टिकोणले मतदान केन्द्रलाई अति संवेदनशिल, संवेदनशिल र सामान्य गरी विभाजन गरेर सो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । उनले मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी रहने र उनीहरुलाई पछिल्लो घेराबाट नेपाली सेनाले साथ दिने बताए । निर्वाचनको सुरक्षा व्यवस्था चुस्त बनाउन सबैभन्दा धेरै नेपाल प्रहरी एक हजार छ सय, सशस्त्र प्रहरी ४४२, नेपाली सेना पाँच सय र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ रिजालको भनाई छ । यसका अतिरिक्त सदरमुकाम दमौलीमा रिजर्व फोर्स पनि तयारी अवस्थामा राखिएको र आवश्यकता अनुसार परिचालन गरिने उनले बताए ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ प्रुन्धुमा भालुले आक्रमण गर्दा गुञ्जबहादुर थापामगर घाइते भएका छन् । आज बिहान घाँस काट्न जंगल जाने क्रममा ५९ वर्षीय थापामगरलाई भालुले आक्रमण गर्दा घाइते भएको माछापुच्छ्रे गाउँपालिका-९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए । घाइते थापामगरको अहिले पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष क्षेत्रीले बताए । घाइते थापामगरको टाउको, अनुहार, हात र गुप्ताङ वरिपरि चोट लागेको छ । भालुले आक्रमण गरेर घाइते बनाएको अवस्थामा स्थानीय शुसिल क्षेत्रीले देखेपछि जंगलबाट गाउँसम्म उद्धार गरेर ल्याएपछि उपचारका लागि पोखराको ल्याइएको हो ।
झापा: जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका-५ खारखोलाका एक वृद्धको मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार आज बिहान ७० वर्षीय भीमबहादुर भट्टराईलाई हात्तीले कुल्चेर मारेकोे हो । बारीमा पाक्न लागेको मकैबाली खान आएको हात्तीलाई लखेट्ने क्रममा भट्टराईलाई हात्तीले आक्रमण गरेको प्रमुख राईले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय र प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको जनाउँदै उहाँले थप विवरण आउन बाँकी रहेको बताउनुभयो । जिल्लाको पूर्वी क्षेत्र बाहुनडाँगी हुँदै भारतबाट समेत जङ्गली हात्तीको हुल नेपाल प्रवेश गर्दै आएको छ भने एक दर्जनको सङ्ख्यामा रैथाने हात्ती स्थानीय जङ्गलमा बस्दै आएका छन् । हुलबाट एक्लिएको जङ्गली हात्तीले मान्छेमाथि आक्रमण गर्दै आएको स्थानीयवासी बताउँछन् ।
कञ्चनपुर: कञ्चनपुरको बेलौरीमा बाघको आक्रमणबाट बेपत्ता महिलाको शव २२ घण्टापछि फेला परेको छ। महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे बाघलाई राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिएलगत्तै सोही स्थानमा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका-८ पचुइका गंगा चन्दको शव शनिबार बिहान फेला परेको हो। प्राविधिक टोलीले करिब २२ घण्टापछि बाघ नियन्त्रणमा लिन सफल भएको हो। बर्दिया राष्ट्रिय निकुञ्जको र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बाघ नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डांगीले बाघ फेला परेकै स्थानमा महिलाको शव पनि फेला परेको बताए। चन्दसहित स्थानीय महिला घाँस काट्न गएका बेला बाघले आक्रमण गरेको थियो। सो क्रममा अन्य महिला भागेर ज्यान जोगाउन सफल भएका थिए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले बाघ नियन्त्रणमा लिएर बेल्डाँडी पोस्टमा पुर्याइएको बताए। उनले केही समय बाघलाई निगरानीमै राख्ने र पछि विभागको निर्देशनअनुसार थप निर्णय लिने बताए। सो घटनापछि दक्षिण क्षेत्रका स्थानीय त्रसित छन्।
काठमाडौं: प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ। मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा हुने मन्त्रालयले जनाएको छ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्लिम समुदायको इद (इदुल फित्र) पर्वको अवसरमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभएको छ । इदको अवसरमा आज शुभकामना दिंदै उहाँले ईद इस्लाम समुदायको सबैभन्दा ठूलो एवं महत्वपूर्ण पर्व भएको र मुस्लिम समुदायले यस पर्वलाई आपसी सद्भाव, सहकार्य, विश्वास एवं साझा उद्देश्य प्राप्तिको महत्वपूर्ण अवसरका रूपमा मनाउँदै आएको बताउनुभएको छ । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका निम्ति ईदलगायतका पर्वहरू कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । शुभकामना सन्देशमा प्रधानमन्त्रीले हरेक चाडपर्वहरूको आफ्नो ऐतिहासिकता र विशिष्ट महत्व हुने गर्दछ, मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्वहरू विकसित र स्थापित हुँदै आएका पनि बताउनुभएको छ । ईद पर्वले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत् बलियो राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा मिल्ने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।
काठमाडौं: एक महिनाको व्रत पछि आज इस्लाम धर्मावलम्बीको महान् पर्व इदुलफित्र हुने भएको छ । एक महिना व्रत रोजा आज समाप्त हुने भएको हो । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान समुदायका मानिसहरू दिनमा निराहार बस्छन् । बिहानको समयमा सेहरी हलुका खानेकुरा खाएर दिनभर निराहार बसी सूर्यास्त भएपछि ‘एफतार मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन रहेको छ । रमजान उर्दू क्यालेन्डर अनुसार हिजरी संवत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठुलो ग्रन्थ कुरान अवतरण भएको र यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ । दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठुलो विशेषता हो । रमजानामा व्रत बस्ने र साँझ पश्चिम दिशामा आकाश हेरेर चन्द्रमा हेर्ने र चन्द्रमा नजर आएमा अत्यधिक खुसी हुने र एक आपसमा इद मुबारक बधाई सटासट गर्ने प्रचलन रहँदै आएको छ ।