पोखरा:   गण्डकी प्रदेश सभाले सातै वटै प्रदेशमध्ये पहिलो पटक “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मतिले पारित गरेको छ ।  मिति २०८१ चैत २६ गते साम...

काठमाडौं:   रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ आइएफआरसी को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईँ दोस्रो कार्यकालका लागि पुनः चयन भएका छन्  ।    चापागाईँले यसअघि सन् २०२० फेब्रुअरीमा चार वर्षे सो पदको पहिलो कार्यकाल सम्हालेका थिए ।  स्वीट्जरल्याण्डको जेनेभामा गए राति सम्पन्न आइएफआरसीको गभर्निङ बोर्डको बैठकले पहिलो पदावधि समाप्त हुनु एक वर्ष अगाडि नै उनलाई दोस्रो कार्यकालका लागि पुनः चयन गर्ने निर्णय गरेको हो ।      आइएफआरसीमा आबद्ध देशीय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीका स्वयंसेवक तथा कर्मचारी पछिल्ला वर्षमा कोभिड–१९ महामारीको प्रतिकार्यमा अग्रपङ्क्तिमा जुटेका थिए  । आइएफआरसीले आफ्नो कार्यादेशअनुसार जलवायु परिवर्तनले निम्त्याएका, प्राकृतिक तथा मानव सिर्जित विपद् न्यूनीकरण र पीडितलाई अनवरत रूपमा मानवीय सहयोग  गर्दैआएको छ ।    दोस्रो कार्यकालको पदावधि थपपछि महासचिव चापागाईँले भने, “अइएफआरसीको गभर्निङ बोर्ड र आइएफआरसीका अध्यक्ष फ्रान्सेस्को रोक्काको विश्वास पाउँदा म सम्मानित र गौरवान्वित भएको छु । थुप्रै चुनौतीबीच समाधान खोज्न र हामीले सेवा गर्ने समुदायका बीचमा विश्वास निर्माण गर्न निष्ठाका साथ काम गर्नेछौँ ।”   तीन दशकभन्दा बढी समय मानवीय सेवामा तल्लीन चापागाईँले गत महिना नेपाल भ्रमणका क्रममा नेपाल रेडक्रस सोसाइटीलाई ३० नयाँ र १५  स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण गरेका थिए। युद्ध र युद्धका परिणाम, प्राकृतिक तथा मानवसिर्जित विपद्, विपद्ले सिर्जना गरेका असर, गरिबी, भोकमरी, विषमता न्यूनीकरण, सङ्कटापन्न समुदायलाई उत्थानशील बनाउनेलगायत क्षेत्रमा आइएफआरसीले मानवीय सहायता प्रदान गर्दछ ।    सात लाखभन्दा बढी कर्मचारी र झण्डै दुई करोड स्वयंसेवकको माध्यमबाट करिब एक अर्ब जनसङ्ख्यालाई  आइएफआरसीले बर्सेनि मानवीय सहायता पुर्‍याउने गरेको छ । रासस

बाजुरा:    बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।   

काठमाडौं:    प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी सम्बन्धमा दोषी कोही नछुट्ने र निर्दोष कोही पनि पर्न नहुने बताएका छन् ।  प्रधानमन्त्री प्रचण्ड, पाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् । छलफल सदनलाई सुचारु गर्ने सन्दर्भमा केन्द्रित भएको बताए । सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्रीले भने, “मिडियामा जसरी तपाईंले प्रचार गर्नुभएको छ, तीन जना नेताको भेट त्यस्तो होइन। हाम्रो भेट सदनलाई कसरी सुचारु रुपमा लैजाने, संसदीय समिति बनाउने, संयुक्त समिति बनाउने विषयमा नै बढी छलफल भएको छ।” यसैगरी, उनले पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेको सन्दर्भमा यसमा प्रहरीले आफ्नो काम अघि बढाएको र सरकारले पनि ठीक ढंगले काम गरोस् भनेर ‘स्ट्याण्डिङ अर्डर’ दिएको बताए । “आशंका गर्नुपर्ने केही कारण छैन। हामीले विल्कुल क्लियर भाषामा भनेका छौं। दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस्। प्रहरीले आफ्ने काम ठिक ढंगले गरोस् भनेर स्ट्याण्डिङ अर्डर दिएकै छौं। प्रहरीले आफ्नो काम गरेको छ, त्यसकारण यसमा दुविधा, आशंका गर्नुपर्ने केही कारण छैन। जे भएको छ, विधि, विधान, नियम पद्दति अनुसार काम भएको छ। हामी राजनीतिक नेतृत्वले आफ्नो काम गरेका छौं”, उनले भने ।

काठमाडौं:    पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई काठमाडौं जिल्ला अदालतले थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।   बुधबार बिहान चाबहिल मैजुबहालबाट पक्राउ परेका पूर्व गृहमन्त्री खाँणलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट चार दिन म्याद थप गरी हिरासतमा राख्न अनुमति पाएको हो।  नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार पाँच घण्टा बयान लिएको थियो। बयानपछि प्रहरीले खाँणको स्वास्थ्य परीक्षण गरेको थियो। 

काठमाडौं:     प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंमा लगेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पाउने ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले खाँणलाई हिरासतमा राख्न अदालतसँग अनुमति लिन लागेको हो । बुधबार विहान घरबाटै पक्राउ परेका खाँणलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको थियो । दिउँसो ३ बजे उनलाई प्रहरीको भ्यानमा राखेर बबरमहलस्थित जिल्ला अदालत काठमाडौंतर्फ लगेको हो ।

काठमाडौं:   नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले रायमाझीलाई निलम्बन गरेको हो । राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् । रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । उनी फरार छन् । उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

 काठमाडौं:   जनता समाजवादी पार्टी “जसपा” को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।    बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकमा सरकारमा पठाउन बाँकी एक मन्त्री, समसामयिक राजनीतिक परिस्थिति, पार्टीको विधान अधिवेशन लगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।   सरकारमा हाल जसपाबाट अशोक कुमार राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री छन् । ‘सरकारमा जसपाले अझै एकजना मन्त्री र एक जना राज्यमन्त्री पाउने भन्ने कुरा हो क्यारे, कसलाई पठाउने भनेर आज छलफल हुन्छ,’ बस्नेतले भने । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचन जितेर जसपा अध्यक्ष उपेन्द्र यादव सांसद बनेपछि उनी नै सरकारमा जाने चर्चा छ । सांसद पदको शपथग्रहण गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा यादवले सरकारमा को जाने भन्ने विषयमा पार्टीको बैठक बसेर छिट्टै निर्णय गर्ने बताएका थिए ।    जसपाले आगामी जेठ १, २ र ३ गते विधान अधिवेशनको मिति तोकिको छ ,तर त्यसको तयारी पूरा भइसकेको छैन । ‘विधान अधिवेशन सर्ने सम्भावना छ, किनभने तयारी नै पुगेको छैन,’ प्रचार विभाग प्रमुख बस्नेतले भने, ‘आजको बैठकमा यसबारे पनि छलफल हुन्छ ।’

काठमाडौं:     हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।   आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका तराईका भू-भागका केही स्थानमा सामान्य हावाहुरीको सम्भावना रहेको अनुमान गरिएको छ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायमै  छ । आज राति भने गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडौं:   नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्व गृहमन्त्री  एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई पक्राउ गरेको छ । प्रहरीले अनुसन्धानको लागि भन्दै खाँण र उहाँका निजी सचिव नरेन्द्र केसीलाई बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा यसअघि पक्राउ परेकाहरुले दिएको बयानका आधारमा नेता खाँण पक्राउ परेका हुन् । खाँणकी पत्नी मञ्जु खाँण र कांग्रेस नेतृ आरजु राणालाई रकम बुझाउनुपर्ने भन्दै बिचौलियासँगको अडियो सम्वादसमेत यसअघि सार्वजनिक भैसकेको छ । त्यो अडियोमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझी भने फरार छन् । प्रहरीले यसअघि सचिव टेकनारायण पाण्डे, टोपबहादुर रायमाझीका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङसहित १० जनालाई पक्राउ गरेको छ ।