काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्याल उपर उजुरी आहृवान गरेको छ ।   बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत पौड्याल उपर उजुरी आहृवान गरेको हो । उनी राजदूतका लागि उपयुक्त छैन भन्ने लागेमा १० दिनभित्र स्पष्ट आधार खोलि समितिमा सूचना वा उजुरी दिन सकिनेछ । उजुरीकर्ताले चाहेमा उजुरीकर्ताको नाम, थर र वतन गोप्य रहने समितिले बताएको छ ।   समितिको बैठकमा बोल्दै समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले प्रस्तावित राजदूत पदमा नियुक्तिका लागि सिफारिस व्यक्तिबारे सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले सरकारी सञ्चारमाध्यमहरुमार्फत सूचना प्रकाशित गर्न प्रस्ताव गरेका थिए । सो प्रस्तावलाई समितिले सर्वसम्मतिले पारित गरेको थियो । उनले प्रस्तावित व्यक्तिको नियुक्तिको अनुपयुक्तताको सम्बन्धमा उजुरी माग गर्ने सम्बन्धी सूचना प्रकाशन एवं प्रशारण गर्न समिति सचिवलाई निर्देशन दिए ।

गण्डकी:    कागखोलाको विनाशकारी बाढीले थातथलो उजाडेपछि कर्मा गुरुङ अहिले पनि परिवारसहित आफन्तको आश्रयमा रहेका छन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा गत साउन २८ गते सम्साझैँ आएको बाढीले उनको उठिबास गराएको थियो । पचास वर्षीया कर्माका यी दुर्दिन अझै कतिञ्जेल लम्बिने हुन् रु कुनै ठेगान छैन । “आफ्नो भन्ने केही बाँकी रहेन, सबै जायजेथा बाढीले लग्यो”, उनले भने, “सरकारले हाम्रो दुःख देखोस्, केही व्यवस्था गरोस् ।” दुई महिना बितिसक्दा पनि बाढीमा घरबास गुमाएकाको पुनःस्थापना हुन सकेको छैन । यसपालिको वर्षात्मा कागखोलाले नराम्ररी झुक्काएको कर्माले सुनाए । “पानी पर्ने, खोला घटबढ हुने त भइरहन्थ्यो, तर यसरी बाढी नै आएको कहिल्यै थाहा पाएका थिएनौँ”, उनले भने, “कहिल्यै नसोचेको घटना हामीले व्यहोर्नुपर्‍यो, हेर्दाहेर्दै बस्ती नै बगरमा परिणत भयो ।”  कर्माको दुईतले घर, च्याङ्ग्रा गोठ, खेती उब्जाउने जमिनलगायत सबै बाढीले बगाएको थियो । उनीझैँ कागबेनीका नौ परिवारले बाढीमा सर्वश्व गुमाएका छन् । राहतका भरमा उनीहरुको गुजारा चलिरहेको छ । बाढीले घरमा आंशिक क्षति पुगेका २३ परिवार पनि कष्टपूर्ण दिन काटिरहेका छन् ।  कृष्ण गुरुङ अहिले बाढीबाट क्षतिग्रस्त भएको घरको जीर्णोद्धारमा जुटिरहेका छन् । उनको घरगोठ, होटललगायतमा बाढीले क्षति पुर्‍याएको थियो । “बाढी आउँदा ज्यान जोगाउनु नै ठूलो कुरा भयो, के–कति सरसामान हरायो एकिन छैन,” ६३ वर्षीय गुरुङले भने, “मेरो घरमा रु २० लाख बढीको भौतिक क्षति भएको छ, भत्किएको घरगोठको आफैले मर्मतसुधार थालेको छु ।”   कृष्णले विभिन्न सङ्घसंस्था र जनस्तरबाट जुटेको राहत सामग्री र आर्थिक सहयोगका भरमा बाढी प्रभावितले दिन गुजारिरहेको बताए । “सरकारबाट आउने राहत रकम अझै आइसकेको छैन, बाढीबाट घरबास गुमाएका परिवारलाई यथाशक्य चाँडो पुनःस्थापना गर्नुपर्ने आवश्यकता छ”, उनले भने। सामान्य क्षति पुगेका निजी संरचनाको जीर्णोद्धारमा स्थानीयवासी आफै जुटेको कृष्णले बताए। कृष्णले सञ्चालन गर्दै आएको होटल माउन्ट एभरेष्टका सात कोठामा बाढीले पूर्ण रुपमा क्षति पुर्‍याएको थियो । उनले हावापानीमा भइरहेको फेरबदलका कारण मुस्ताङमा बाढी, पहिराजस्त विपद् निम्तन थालेको बताए ।  “पानी पर्ने बेलामा पर्दैन, नपर्ने बेलामा पर्छ”, कृष्णले भने, “कागखोलाको बाढीले हामी सबैलाई झस्काएको छ ।”   अनेपेक्षित वर्षासँगै कागखोलामा आएको बाढीले छिनमै हिन्दु र बौद्ध समुदायको पवित्र तीर्थस्थल कागबेनीलाई बगरमा परिणत गरिदिएको थियो । बाढीको पूर्वसूचना पाएका कारण मानवीय क्षति भने हुन नपाएको स्थानीयवासी बताउँछन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले कागखोलाको जोखिम न्यूनीकरण र बस्ती पुनःनिर्माणबारे सरकारी तबरबाट भौगर्भिक अध्ययन भइरहेको बताए । “बाढी प्रभावितको तत्कालीन राहत तथा उद्धारमा सबै क्षेत्रबाट सहयोग जुट्यो, अब विस्थापितको पुर्नस्थापना र कागबेनी बस्ती र अरु भौतिक संरचनाको पुर्ननिर्माणमा तीनै तहका सरकारले अग्रसरता लिनुपर्छ”, अध्यक्ष रिङजीनले भने, “बाढी प्रभावितले सरकारबाट पाउने राहत सहयोग छिटो उपलब्ध गराउन पनि पहल भइरहेको छ ।”   अध्यक्ष रिङजीनले सरकारले विस्तृत अध्ययन गरेर मात्र कागबेनी बस्ती पुर्ननिर्माणको योजना ल्याउनुपर्ने बताए । उनले खोलाको दायाँबायाँ २० मिटर छोडेर घरलगायत भौतिक संरचना बनाउनेबारे स्थानीयस्तरमा पनि छलफल भइरहको उल्लेख गरे ।    “बाढीको घटनाले हामी सबैलाई पाठक सिकाएको छ, पूर्वअध्ययनविना भौतिक निर्माणका काम अगाडि बढाउनुहुँदैन”, अध्यक्ष रिङजीनले भने, “ऐतिहासिक महत्त्व बोकेको धार्मिक तथा पर्यटकीयस्थल भएकाले कागबेनी पुनःनिर्माणमा ढिलाइ गर्नुहुँदैन ।”    पर्यटक र तीर्थयात्रीको चहलपहल हुने कागबेनी अहिले उराठलाग्दो बनेको छ । पितृ तर्पण दिने र स्नान गर्ने ठाउँसमेत बाढीले बगाएपछि त्यहाँ पुग्ने श्रद्धालुसमेत निराश हुनुपर्ने स्थिति छ । बाढीले मन्दिर, धर्मशाला, गुम्बा, सडक, पुल, सामुदायिक भवनलगायत करोडौँको भौतिक संरचनामा क्षति पुगेको छ ।   विस्थापित हुने परिवारको सङ्ख्या नौ भए पनि बाढीबाट ५० स्थानीयवासीका घरमा रु ५२ करोडभन्दा बढीको क्षति भएको अनुमान गाउँपालिकाको छ । बाढीबाट धेरै–थोरै प्रभावित हुने घरधुरी भने सयौँको सङ्ख्यामा छन् । “२३ घर आंशिक क्षतिमा समेटिए पनि ती घर पनि बस्नलायक छैनन्, पुनःनिर्माण नै गुर्नपर्ने अवस्थाका छन्”, अध्यक्ष रिङजिनले भने, “बाढी प्रभावितको अवस्था हेरेर सबैलाई उचित राहत र पुनःस्थापनाको योजना बनाउँछौँ ।”   विस्थापित भएका नौ परिवारका लागि तत्काल आवासका लागि अस्थायी संरचना बनाउन सुरु गरिएको कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समितिका संयोजक फेन्चोक छेप्तेन गुरुङले बताए । उनले बाढी प्रभावितलाई राहत जुट्ने क्रम अझै जारी रहेको बताए । हालसम्म झण्डै रु ८० लाख सङ्कलन भएको संयोजक उनको भनाइ छ । “देशविदेशमा रहनुभएका मुस्ताङवासी दाजुभाइ, दिदीबहिनीहरुबाट सहयोग आइरहेको छ, स्थानीय सङ्घसंस्था पनि राहत अभियानमा जोडिएका छन्”, संयोजक फेन्चोकले भने, “स्थानीय तह, प्रदेश सरकारलगायत सरकारी निकायबाट पनि राहत प्राप्त भएको छ ।”   सहयोगदाताबाट आएको रकम उद्धार र राहतमा खर्च भइरहेको संयोजक गुरुङले बताए । “बाढी आउँदासाथ सरकारी संयन्त्रदेखि स्थानीयवासी सबै उद्धार र राहतमा खटिए”, उनले भने “प्रधानमन्त्री तहबाटै कागबेनीको पुर्ननिर्माणमा प्रतिबद्धता पनि आइसकेको छ, आशा छ छिट्टै दीर्घकालीन पुनःनिर्माणको काम सुरु हुनेछ ।”   बाढी पसेको ठाउँको सफाइदेखि कागखोलालाई पुरानै धारमा फर्काउने काम भइसकेको संयोजक फेन्चोकले बताए । उनले जोखिम अध्ययन गरेर मात्र कागबेनीमा नयाँ बस्ती बसाउनुपर्ने धारणा राखे । “कागबेनी पहिलेदेखि नै खोला माथि बसेको बस्ती हो, करिब एक सय २० वर्ष पहिले पनि यहाँ बाढी आएको पाकापुराना बताउँछन्”, उनले भने, “प्राविधिक अध्ययन नगरी सडक, पुल, भवनजस्ता भौतिक संरचना बनाउनुहुँदैन ।” तीनै तहका सरकारको तदारुकता र स्रोतसाधनको प्रबन्ध हुन सकेमा तीनरचार वर्षभित्रैमा कागबेनीलाई पहिलेकै अवस्थामा फर्काउन सकिने संयोजक फेन्चोकले बताए । धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्र भएकाले कागबेनीको पुनःनिर्माणमा राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । मुक्तिनाथ, कोराला नाका र डोल्पा जाने बाटोको सङ्गमस्थलका रहेकाले कागबेनीको महत्व थप चुलिएको संयोजक फेन्चोकले उल्लेख गरे । कागबेनीलाई हिन्दु र बौद्ध समुदायकाको पवित्र तीर्थस्थलका रुपमा लिइन्छ । बर्सेनि हजारौँ देशीविदेशी पर्यटक तथा तीर्थयात्री कागबेनी पुग्छन् ।  हिन्दु धर्मवालम्बीहरूले सोह्रश्रद्धामा कागबेनीमै पुगेर आफ्ना दिवङ्गत पितृको उद्धारका लागि पिण्ड दान गर्ने चलन छ । दामोदर कुण्डबाट आएको कालीगण्डकी र मुक्तिनाथबाट बगेर आउने कागखोलाको दोभानमा पर्ने कागबेनीमा पिण्ड दान गर्दा उत्तम फल मिल्ने विभिन्न धार्मिक ग्रन्थहरूमा उल्लेख छ । प्रधानमन्त्री, गृहमन्त्री, मुख्यमन्त्रीलगायतले कागबेनी बस्ती पुनःनिर्माण र बाढीप्रभावितको राहतमा कमी हुन नदिइने बताएकाले छिट्टै पुनःनिर्माण सुरु हुनेमा स्थानीयवासीमा आशा जागेको संयोजक फेन्चोकले बताए । गत भदौ १९ गते बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षणपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले कागबेनी बस्ती पुर्ननिर्माण सरकारको प्राथमिकतामा रहने उल्लेख गरेका थिए ।  ऐतिहासिक तथा सांस्कृतिक महत्त्वको स्थल भएकाले पुनःनिर्माण योजनालाई शीघ्र अगाडि बढाउनुपर्नेमा उनको जोड थियो । गृहमन्त्री श्रेष्ठले सङ्घ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा उन्नत र व्यवस्थित ढङ्गलले कागबेनी बस्तीको पुन:निर्माण गरिने प्रतिबद्धता जनाएका थिए ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पनि गत महिना कागबेनी पुगेर पुर्ननिर्माणमा प्रदेश सरकारले हातेमालो गर्ने बताएका थिए । यही कात्तिक दुई गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि बाढी प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका थिए ।  सो क्षेत्रको निरीक्षणपछि जोमसोममा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय बाढी पहिरोजस्ता घटनाबाट मुस्ताङमा पुगेको क्षतिलाई सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गरेका थिए । उनले जलवायुजन्य विपद् सामनाका लागि दातृ निकायबाट आउने रु ५० करोड मुस्ताङलाई दिने घोषणा गरेका थिए ।

म्याग्दी:    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पर्यटकीय पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्ने बताउनुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल पुनहिलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उहाँले सडक विस्तारसँगै पर्यटन व्यवसायको आधार पैदलमार्ग मासिन थालेकामा चिन्ता व्यक्त गर्नुभयो ।  “कास्कीको नयाँपुलदेखि म्याग्दीको घोडेपानी आउँदा सडकमा पर्यटकहरु धुलो खाँदै असहज रुपमा हिँडिरहेको देख्दा दुस्ख लाग्यो,” थापाले भन्नुभयो, “नेपालको पर्यटन क्षेत्रको विशिष्टता बोकेको पदमार्ग हुुन् । पदमार्गको संरक्षण गरी यात्रा सहज बनाउनेतर्फ सबै सचेत बन्नुपर्ने देखिएको छ ।” पर्यटकीय क्षेत्रमा नयाँ सडक निर्माण गर्दा भएका पदमार्ग र प्राकृतिक सम्पदालाई असर नपर्ने गरी बनाउन नीतिगत पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । शान्त, एकान्त वातावरण, वन पैदावार, वन्यजन्तुको संरक्षणका साथै पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्ने थापाको भनाइ थियो । काठमाडौँदेखि पोखरा आएर नयाँ पुल उल्लेरी पैदलयात्रामार्फत घोडेपानी आउनुभएका थापाले नेपालीलाई विदेश भन्दा नेपालकै पर्यटकीयस्थल घुम्नुपर्नेमा जोड दिनुभयो ।  “स्वदेशी पर्यटक विदेश घुम्न जाने धेरै हुँदा नेपालको पैसा बाहिरिएको छ”, महामन्त्री थापाले भन्नुभयो, “नेपालमै प्राकृतिक सम्पदा तथा पर्यटकीयस्थल धेरै छन् । कतिपय पर्यटकीय ठाउँ ओझेलमा छन् । ती ठाउँहरुको पहिचान, प्रवर्द्धन गरेर विदेशिने पैसा रोक्न नीतिगत रुपमा पहल गर्नुपर्ने छ ।” समुद्रि सतहदेखि तीन हजार दुई सय १० मिटर उचाईमा रहेको पुनहिलबाट धौलागिरि, गुर्जा, अन्नपूूर्ण, माछापुच्छ्रे, निलगिरि लगायतका हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको अवलोकन गर्न सकिन्छ । लालीगुराँस जङ्गलको टाकुरामा रहेको पुनहिलको सौन्दर्यले आफूलाई मोहित बनाएको थापाको भनाइ थियो ।  घोडेपानीबाट करिब ४५ मिनेट उकालो हिँडेपछि पुनहिल पुग्न सकिन्छ । असोजरकात्तिक पर्यटकको यामका रुपमा मानिन्छ । गत वर्षको तुलनामा पर्यटक आगमन बढेपनि कोभिड अगाडिको अवस्थामा जस्तो पाहुना आउन नसकेको अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्षसमेत रहनुभएका घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताउनुभयो । उहाँले पर्यटन प्रवर्द्धनका लागि नीतिगत पहल गर्नुपर्नेमा जोड दिनुभयो ।  “घोडेपानी पुनहिल अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य हो । कोभिड अगाडिको छ महिनामा ३० हजार भन्दा बढी पर्यटक आएकामा यस वर्ष वैशाखदेखि कात्तिक दोस्रो सातासम्म चौध हजार मात्रै पर्यटक आएका छन्”, होटल व्यवसायी थापाले भन्नुभयो । उहाँका अनुसार यहाँ २५ वटा सुविधायुक्त होटल छन् ।  कोभिड अगाडि भरिभराउ हुने होटलमा आधा मात्रै पाहुना रहेका होटल टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले बताउनुभयो । महामन्त्री थापाको टोली घोडेपानीदेखि आज कास्कीको पर्यटकीयस्थल घान्द्रुक गएको छ ।

पोखरा:    संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका एक प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ । गुटेरेसको सुरक्षाका लागि कात्तिक १२ गते अन्नपूर्ण आधार शिविरमा पुगेका घान्द्रुक चौकीका इन्चार्ज ढुंगानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।  बुधबार बिहान श्वासप्रस्वासमा समस्या आएपछि हेलिकप्टरमार्फत पोखरा ल्याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको कास्की प्रहरीले जनाएको छ । 

काठमाडौं:    कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु देउवाले उखु किसानले समयमै भुक्तानी प्राप्त गर्ने वातावरण निर्माण गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ । समितिको आजको बैठकमा सभापति देउवाले साना, मझौला र ठूला किसानको पहिचान छुट्याएर आवश्यक अनुदान तथा ऋण उपलब्ध गराउनुपर्नेमा  जोड दिनुभयो । उहाँले किसानलाई अनुदान उपलब्ध गराउनुपर्नेमा जोड दिँदै बजेटको अभावमा किसान कार्यक्रम सञ्चालन हुन नसकेको बताउनुभयो । साथै, उहाँले कृषि क्षेत्रको विकासका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारलाई आग्रह गर्नुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव  रेवतीरमण पौडेलले बैंक तथा वित्तीय संस्थाबाट किसानलाई सहजरूपमा ऋण उपलब्ध हुनुपर्ने बताउनुभयो ।   अर्थसचिव रामप्रसाद घिमिरेले किसानलाई दिएको अनुदान र सहुलियत ऋणबारे समीक्षा गर्न आवश्यक भएको बताउनुभयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले छिमेकी मुलुक भारतलाई चिनीको आयात खोलिदिन भारतलाई आग्रह गरेको बताउनुभयो ।

काठमाडौं:    नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु उनले बताए । निगम व्यवस्थापन समितिको निर्णयअनुसार स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत राख्दै डिजेलको मूल्य घटाइएको छ,’ ठाकुरले भने, ‘अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।’ आईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

काठमाडौं:    सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा फैलाउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमा आक्रामक अभिव्यक्ति दिएर चर्चामा आउने गरेका झापाका खनाललाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो । ब्यूरोका उपनिर्देशक पशुपतिकुमार रायका अनुसार, सेनाले दिएको सूचनाको आधारमा अनुसन्धान गरेर उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान गर्न पक्राउ गरिएको हो । रायका अनुसार, उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनुमतिसमेत दिइसकेको छ ।

काठमाडौं:   संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले दुई शक्ति राष्ट्रका बीचमा रहेको नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको बताउनुभएको छ ।  सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै महासचिव गुटेरेसले भन्नुभयो, “नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न पाउँदा राष्ट्र संघ गौरव व्यक्त गर्दछ, यस क्षणमा म नेपालका शान्ति प्रक्रियामा संलग्न नेताहरुप्रति राष्ट्र संघका तर्फबाट सम्मान व्यक्त गर्दछु ।” नेपालले शान्ति प्रक्रियाअन्तर्गत सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पुर्याउन लागेकामा शुभेच्छा व्यक्त गर्नुहुँदै उहाँले पीडित पक्षको अधिकारको रक्षा गर्दै उक्त प्रक्रियालाई टुङ्गोमा पुर्याउन आग्रह गर्नुभयो । महासचिव गुटेरेसले विश्व आर्थिक मन्दीको चुनौतीका बीच नेपालले लैङ्गिक समताका क्षेत्रमा गरेको प्रगति र परिणाम उल्लेखनीय भएको बताउनुभयो ।  यस्तै, महासचिव गुटेरेसले नेपाली सेनाले राष्ट्रसङ्घीय शान्ति मिसनका लागि गर्दै आएको योगदान अविस्मरणीय रहेको बताउनुभएको छ । सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज सम्बोधन गर्दै महासचिव गुटेरेसले शान्ति मिसनका क्रममा मारिएका नेपाली सुरक्षाकर्मीको सम्मानमा एक मिनेट मौनधारण गर्न प्रस्ताव गर्दा बैठकमा सबै सदस्यहरु आफ्नो स्थानबाट उठेर मौनधारण गर्नुभएको थियो ।

बारा:    गोली प्रहारबाट हिजो मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सराफको मङ्गलवार हिन्दू परम्पराअनुसार दाह संस्कार गरिएको छ ।  पसहा खोलमा उहाँको अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । यसअघि एन प्यापसनका पदाधिकारीले संस्थाको झन्डा ओढाई सराफमा श्राद्धञ्जली अर्पण गरेका थिए ।    मृतक सराफको श्रीमतीसहित दुई छोरा छन्  । उहाँलाई श्रद्धाञ्जली अर्पण गर्न ठूलो सङ्ख्यामा शुभचिन्तकहरु कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित उहाँको निवासमा पुगेका थिए ।  कलैया उपमहानगरपालिकाका प्रमुख  विनोद साह, नेकपा माओवादी केन्द्रका  युवा नेता मुकेश साह, नेपाली काँग्रेसका युवा नेता लुकेश सि‌हलगायत विभिन्न राजनितिक दलका ब्यक्ति नागरिक अगुवा, निजी तथा सामुदायिक विद्यालयका शिक्षक शिक्षिका, आफन्तजन, पत्रकार, सुरक्षाकर्मीलगायतले सर्राफको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।  उपमहानगरपालिका भित्रका शिक्षक तथा पेशागत विभिन्न सङ्घ–सङ्गठनहरुले  घटनाको निन्दा गर्दै शोक मनाउने निर्णय गरेका छन् । यस्तै बारा उद्योग वाणिज्य सङ्घले पनि एक विज्ञप्ति जारी गर्दै हत्याको विरोधमा बजार बन्द गर्न आह्वान गरेको छ। सङ्घका अध्यक्ष राजकुमार साहद्वारा जारी विज्ञप्तिमा मङ्गलवार साँझसम्म बजार बन्द गरी सहयोग गर्न उद्योगी तथा व्यापारीहरुसँग अपिल गरिएकाले अहिले बजार पूर्णरूपमा बन्द छ ।  एन प्याब्सनले पनि सोमवार नै विज्ञप्तिमार्फत उक्त घटनाको निन्दा गर्दै दोषीलाई कार्यवाहीको दायरामा ल्याउन माग गर्नाका साथै २४ घन्टाभित्र वास्तविक  अपराधी समात्न नसके चरणबद्ध आन्दोलन गर्ने जनाएको छ ।   कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल सर्राफमाथि सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले  ती वटा गोली प्रहार हत्या गरेकाले  जिल्लाबासीमा त्रासको वतावरण छाएको छ ।  कलैयास्थित मदर्शा टोलमा दुईवटा नेपाली मोटरसाइकलमा आएका चारजना अज्ञात व्यक्तिले तीन राउण्ड गोली  सर्राफलाई हानेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो । हत्या गरिएको ठाउँ जिल्ला प्रहरी कार्यालयभन्दा पाँच मिनेटको दूरीमा पर्दछ । गोली लागेर सख्त घाइते सराफलाई कलैया प्रादेशिक अस्पताल उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको र उपचारका क्रममा  उहाँको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।  प्रेम सम्बन्धका कारण सराफको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यसअघि  गत साउन २८ गते कलैयाको एक होटलमा सर्राफको हत्याको प्रयास गरिए पनि त्यति बेला उहाँ बाँच्न सफल भएको पक्राउ परेकाहरुले प्रहरीसमक्ष बयान गरेको दिएको अनुन्धानमा खटिएका एक प्रहरीले जानकारी दिए । घटनामा संलग्न एक युवतीसहित तीन नेपाली र तीन भारतीयलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ  । सो घटनामा अन्य थप दुईजनाको पनि संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ ।  अहिले दस जनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा सुक्षमरुपमा अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।