काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

काठमाडौं:    संविधानसभाका अध्यक्ष एवम् नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेम्वाङको आज बिहीवार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो । नेम्वाङको पार्थिव शरीरमा उनका जेठो छोरा मेङ्सो र कान्छो छोरा सुहाङले दागबत्ती दिएका थिए । दागबत्ती दिनुअघि नेपाली सेनाको एक टुकडीले नेम्वाङप्रति सलामी अर्पण गरेको थियो । नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा र एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर सम्मान गरे । नेम्वाङको हिन्दू र लिम्बू संस्कारअनुसार अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिअघि नेम्वाङको शवयात्रा गरिएको थियो । नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा गरेको हो । उनको निजी निवास बालुवाटारबाट शुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुर्‍याइएको थियो । गएको मङ्गलवार बिहान हृदयाघातबाट नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको थियो । सरकारले नेम्वाङको निधनको शोकमा आज सार्वजनिक बिदा दिएको छ ।

बैतडी:  अज्ञात समूहद्वारा यहाँको एक विद्यालयमा आगजनी गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–६ थालिगडास्थित कालिका माविमा आगजनी गरिएको हो ।  कार्यालयको कोठामा रहेका कागजपत्र आगजनी गर्ने समूहले जलाएर नष्ट गरेको विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले जानकारी दिए। रातिको समयमा कार्यालयको ढोका फुटाएर भित्र रहेका कागजपत्र ग्यालरीमा ल्याएर जलाइएको छ ।  ‘बिहान विद्यालय आउँदा कागजपत्र जलाएको अवस्थामा भेटिए’,उनले भने, ‘आगजनीबाट सर्टिफिकेट, बैंकमा दाखिला गरेका भौचर, रजिस्टर, दर्ता चलानीलगायतका महत्वपूर्ण कागजपत्र नष्ट भएका छन्, कसले र किन आगजनी गरे भन्ने खुल्न सकेको छैन ।’ आगजनीबाट भएको क्षतिको विवरण र आगजनी गर्ने समूहको खोजीका लागि प्रहरीमा निवेदन दिएको विद्यालयले जनाएको छ । यस्तै विद्यालय नजिक रहेको उद्धवसिंह कार्कीको किराना पसलमा पनि चोरी भएको छ । पसलबाट रु नौ हजार तीन सय बराबरको सामानको चोरी भएको छ । विद्यालयमा आगजनी र पसलमा चोरी गर्ने समूहको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। 

दार्चुला:    दार्चुलामा महाकाली नदीमा हाम हालेर एक जना पुरुष बेपत्ता भएका छन् । आज बिहान नेपाल–भारत जोड्ने झोलुङ्गे पुलबाट हाम फालेका महाकाली नगरपालिका वडा–१ लास्कुका अन्दाजी ४५ वर्षका ज्ञानीराम भूल नदीमा बेपत्ता भएका हुन् ।  स्थानीय र प्रहरीले भुलको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहले जानकारी दिए ।

काठमाडौं:    सङ्घीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार राष्ट्रिय सभा बैठक दिउँसो २ः३० बजे बस्नेछ भने प्रतिनिधिसभा बैठक दिउँसो ३ बजेबाट सुरु हुनेछ । सदनको बैठकमा सभामुख र राष्ट्रिय सभा अध्यक्षले संविधान सभा अध्यक्ष, पूर्व सभामुख एवम् प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने छ । आजको दुवै बैठकमा शोक प्रस्ताव पारित गर्ने बाहेक अन्य कार्यसूची तय नगरिएको छ सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।  

काठमाडौं:    प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ ।     पितृसम्मान दिवस यसै अवसरमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बुबा नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्ने गर्छ । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि मेला लाग्छ ।   ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बुबालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बुबा परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कूल स्थिर हुने बुद्धोक्त पाराजीकाय नामक धर्मग्रन्थमा उल्लेख छ । आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् भट्टराईले सुनाउनुभयो । अरु दान दीन दुःखीलाई दिए पनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।    प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा देशका विभिन्न भाग एवं भारतबाट समेत हजारौँ भक्तजन पितृतृप्तीको कामनाले आउने गरेको पुजारी जगदीशचन्द्र भट्टले बताउनुभयो ।

पोखरा:    पोखरा मिजार समाज नेपालको महानगर कमिटि गठन गरिएको छ । मिजार समाज नेपालको २६ औं स्थापना दिवस तथा प्रथम ऐतिहासिक पोखरा महानगर सम्मेलनले सुरेन नेपालीको अध्यक्षतामा २९ सदस्य महानगर कमिटि सर्वसम्मत रुपमा गठन गरेको हो ।  यस्तै उपाध्यक्षमा ओममाया नेपाली, रामबहादुर नेपाली, सचिवमा विनोद नेपाली सह–सचिवमा गोविन्द नेपाली र मञ्जु नेपाली, कोषध्यक्षमा जौमाया नेपाली र सह–कोषाध्यक्षमा चन्द्र बहादुर नेपाली सर्वसम्मत चयन भएका हुन् ।  सदस्यहरुमा झपट बहादुर नेपाली, शोभा नेपाली, शिव नेपाली, रुद्रसिंह बसेल, बासु नेपाली, शंकर नेपाली, सुनकुमारी नेपाली, विजय नेपाली, स्यामबहादुर नेपाली, सुनिल नेपाली, फत्तबहादुर नेपाली, रुपा नेपाली, शान्त नेपाली, राजु नेपाली, कृष्ण ब। नेपाली, सम्झना नेपाली, अमृत नेपाली, सुर्य नेपाली, संगीता नेपाली, सम्मर ब.नेपाली र होम ब.नेपाली रहेका छन् ।   उक्त सम्मेलनको उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडाले समाज परिवर्तनमा मिजार समुदायको पनि महत्वपूर्ण भूमिका रहेको बताइन् ।  उत्पीडित समुदायको हक हितका लागि युद्धमा सहभागी हुँदै आएको समुदायले उत्पीडितको समस्या समाधान गर्न एक हुनु खुसीको कुरा भएको बताइन् । समाज परिवर्तनको पक्षमा लागेको उपलब्धिका कारण अहिले सदनमा दलित मात्रै १३ प्रतिशत रहेको जानकारी दिईन ।  उनले मानव भएरपनि जातीय छुवाछुतको कारण घृणा हुँदै गर्दा मिजार समाज लगायतका समुदायको आन्दोलनकै कारण देशमा परिवर्तन सम्भव भएको उनको भनाइ थियो । उनले अझै पनि बेलाबखत विभेदका घटना घट्ने गरेको र यसका लागि समाज जागरुक भएर अघि बढ्नुपर्नेमा जोड दिइन् । दलित समुदायलाई संविधानले अधिकार सम्पन्न बनाएको र त्यो अधिकारको रक्षा र विकास गर्न आवस्यकता रहेको मन्त्री सिंम्खडाको भनाइ छ ।  मिजार समाज कास्की उपाध्यक्ष उमेश सिकेले आर्थिक, शिक्षाले मिजारहरु कम्जोर रहेको बताए । सोही अवसरमा पुर्व जिल्ला अध्यक्षहरु मंगल नेपाली, रुद्र बहादुर नेपाली, हरिशचन्द्र नेपाली र स्व. बुद्धि बहादुर नेपाली९परिवार० लाई सम्मान गरिएको छ ।

काठमाडौं:   सोमबार राति निधन भएका संविधान सभा अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बुधबार हुने भएको छ।   उनका दुबै छोरा विदेशमा रहेका कारण उनको अन्त्येष्टि भोलिमात्र गर्न लागिएको हो।   नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ बेलायतबाट भोलि दिउँसो चार बजे नेपाल आइपुग्दै छन्। उनी सपरिवार बेलायत बस्दै आएका छन्।   १५ दिनअघि अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ नेम्वाङ भने आज राति ११ बजे फर्किने बताइएको छ ।   नेम्वाङका चार सन्तानमध्ये दुई छोरी भने काठमाडौंमै छन्।

काठमाडौं:     हृदयघातबाट निधन भएका नेकपा(एमाले)का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको शव श्रद्धाञ्जलीका लागि अहिले केहीबेरमा ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ ।  बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति उनलाई हृदयघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल पुर्याइएकामा त्यही नेम्वाङको निधन भएको थियो । स्नातक अध्ययनका क्रममा विसं २०२८र २०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियुसभापति भएका थिए ।  विसं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रिय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डीनेसन केन्द्र(माले)मा सङ्गठित एमाले केन्द्रिय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए । नेम्वाङ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाका सभामुख, विसं २०६४ व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष÷सभामुख भइसकेका हुन् ।   उनले विसं २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहेका नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए। त्यसैगरी विसं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गराएका स्वं नेम्वाङ वरिष्ठ अधिवक्तासमेत रहेका थिए।

काठमाडौं:     संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ ।  सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई गएराति हृदयघात भएपछि  उपचारका लागि राति १: ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उहाँका स्वकीय सचिव  कृष्णप्रसाद काफ्लेले बताउनुभयो । उहाँबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टी नेता अस्पताल पुग्नुभएको थियो । विसं २००९ फागुन २८ गते जन्मनुभएका नेम्वाङ नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने नेताकोरुपमा छवी बनाउनुभएको थियो ।