काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। बुधबार गृह मन्त्रालयमा भएको भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को आसन्न भारत भ्रमण, नेपाल-भारत ऐतिहासिक सम्बन्ध, निरन्तरको सहकार्य र सीमा सुरक्षालगायतका विषयमा छलफल भएको छ। उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम छिट्टै तय हुने र आफ्नो तथा वर्तमान सरकारको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप घनिष्ट हुने विश्वास व्यक्त गरे। उनीहरूबीच सीमा व्यवस्थापन र सीमापार अपराध नियन्त्रणजस्ता संवेदनशील विषयमा समेत खुला छलफल हुनुपर्ने धारणा उपप्रधानमन्त्री श्रेष्ठले राखेका थिए। भर्खरै रुपन्देही भ्रमण गर्दा एउटा 'बोर्डर आउटपोस्ट' निरीक्षण गरेको र सो क्रममा आफूले दुई देशका सुरक्षा निकायबीच राम्रो समन्वय र सहकार्य रहेको देखेको उनले बताए। प्रधानमन्त्री प्रचण्डको प्रस्तावित भारत भ्रमणको कार्यक्रम मिलाउन आफू क्रियाशील रहेको राजदूत श्रीवास्तवले बताए। गृहमन्त्रीजस्तो चुनौतीपूर्ण जिम्मेवारी सफलताका लागि बधाई दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदाको सहकार्यका लागि उपप्रधानमन्त्री श्रेष्ठलाई धन्यवाद व्यक्त गरे। भेटवार्तामा सीमामा नियमित वारपार गर्ने नागरिकले अपराधीजस्तै व्यवहारको सामना गर्नु नपरोस् भनेर दुबै पक्ष संवेदनशील हुनुपर्ने राजदुत श्रीवास्तवले बताए। नेपालगञ्ज- रुपेडिया, भैरहवा-सुनौली तथा दोधारा-चाँदनीमा 'इन्टेग्रेटेड चेकपोस्ट' बनाउने विषयमा समेत छलफल भएको थियो। गत वर्ष भारतको नयाँ दिल्लीमा सम्पन्न 'ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्ट'को बैठकमा कतिपय सीमा नजिकका स्थानमा विकास निर्माणका सम्बन्धमा रहेको विवादलाई थप छलफल गरेर टुङ्ग्याउने सहमति भएको र त्यसका लागि भारतीय पक्ष तयार रहेको समेत राजदूत श्रीवास्तवले बताए। भारतीय सहयोगमा बन्ने नयाँ पुलिस एकेडेमी उच्च गुणस्तरको हुने र निर्धारित समयमै सम्पन्न हुने बताउँदै राजदूत श्रीवास्तवले नेपाल प्रहरी, सशस्त्र प्रहरीजस्ता नेपाली सुरक्षाकर्मीको तालिम तथा क्षमता विकासको कार्यक्रमलाई भारतले सधैं प्राथमिकता दिएको बताए।
काठमाडौं : वैदेशिक रोजगारीका लागि अमेरिका तथा दक्षिण कोरिया पठाइदिने भन्दै करोडौं रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नम्बर १४ स्थायी घर भएका हाल बुढानिलकण्ठ बस्ने ४२ वर्षीय पवन राणा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए। सूचना अधिकृत प्रहरी उपरीक्षक राठोरका अनुसार पक्राउ परेका राणाले सयौं व्यक्तिलाई वैदेशिक रोजगारीका लागि सहजै अमेरिका र दक्षिण कोरिया पठाइ दिने भन्दै पीडितबाट करोडौं रकम लिइ सम्पर्कविहीन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ।
काठमाडौं: सगरमाथा आरोहणका क्रममा आज बुधबार बिहान हिमपहिरोमा परेर तीनजना शेर्पाको मृत्यु भएको छ । क्याम्प एकभन्दा तल पाँच हजार ७ सय मिटरको खुम्बु आइसफलमा हिमपहिरोमा परी खुम्बु पासाङ गाउँपालिका ५ का तेम्वा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पाको मृत्यु भएको सगरमाथा आधार शिविरबाट लाक्पा शेर्पाले जानकारी दिनुभयो । मृतकको उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट प्रयास गरिए पनि शव निकाल्न नसकिएको उद्धारकर्ता शेर्पाले बताउनुभयो । क्याम्प १ तर्फ जानेक्रममा एक्कासि हिमपहिरो आएपछि तीनै जना शेर्पा करिब ५० मिटर तल बगेर पुरिएपछि शव निकाल्न नसकिएको शेर्पाले जानकारी दिनुभयो । इमाजिन ट्रेक प्रालिबाट हिमाल आरोहणका लागि तीनै जना शेर्पाहरू गाइडको रूपमा चुचुरोतर्फ हिँडेका थिए ।
काठमाडौं : संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न सांसदहरूले जोड दिएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा अधिकांश सांसदहरूले निजामती सेवा ऐन ल्याउन सरकारले ढिलासुस्ती गरेको भन्दै आपत्ती जनाए। सांसद् राजेन्द्र पाण्डेले संघीय निजामती सेवा ऐन ल्याउन सरकारले ढिलासुस्ती गरेको बताए। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई प्रश्न गर्दै सांसद् पाण्डेले संघीय निजामती सेवा ऐन कति गते ल्याउनुहुन्छ ? भन्दै प्रश्न गरे । पाण्डेले भने,‘ऐन ल्याउन अझै ढिला गर्न खोज्दै हुनुहुन्छ जस्तो लाग्यो ? अझै तयारी नपुगेको जस्तो लाग्यो मलाई । तपाईंले प्रशासनिक प्रमुख पठाउन गाह्रो भयो भन्नुभयो । बागमती प्रदेशमा गाह्रो भएको त देखिदैन । ’ यस्तै रास्वपा सांसद् सुमना श्रेष्ठले कर्मचारीलाई उत्प्रेरणा दिन सरकारले के गरिरहेको छ ? भन्दै प्रश्न गरिन् । अतिरिक्त बजेटबाट कति जनाको तलब जाँदैछ ?, कर्मचारीलाई मोटिभेसनको प्रोसेस के छ ?, कुनै ठाउँमा कर्मचारीलाई पठाउँदा टीवआर दिन्छौं की दिदैनौं ? भन्दै प्रश्न गरिन् । मुल्यांकन फर्म सबै मन्त्रालयमा एउटै प्रकृतीको भएको भन्ने सुनिएको बारे स्पष्ट पार्न आग्रह गरिन् । उनले सुगम र दुर्गममा कर्मचारी पठाउने मापदण्डबारे जिज्ञासा राखिन् । सांसद् महेश बर्तौलाले निजामती कर्मचारीले अहिले पनि कालोपट्टी बाँध्नुपर्ने अवस्था आएको भन्दै यो अवस्थाको अन्त्य कहिले हुने भन्ने प्रश्न गरे । सांसद् ज्ञानेन्द्र शाहीले कर्मचारी जनताको कि पार्टीको भन्दै प्रश्न गरे । शाहीले कर्मचारीले तलब खाएर राजनीति गर्दै आएको भन्दै कर्मचारीमाथिको विभेद अन्त्य गर्न आवश्यक रहेको बताए । यस्तै नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संघीय निजामती सेवा ऐन संसदमा कहिले पेश गर्ने भन्दै प्रश्न गरे।
काठमाडौं: नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको घटनामा थप एक जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली शरणार्थी बनाउने गिरोहका थप एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सन्देश शर्मा छन्। उनलाई कार्यालयको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो। नेपालीलाई भुटानी शरणार्थी बनाएर पठाउने घटनामा सन्देश शर्माको पनि प्रमुख भूमिका रहेको अनुसन्धानमा संलग्न प्रहरीले बताएको छ। यसअघि कार्यालयकै टोलीले केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ र सागर राईलाई पक्राउ गरेको थियो। उनीहरूले विभिन्न व्यक्तिहरूबाट ५ देखि ४५ लाखसम्म रुपैयाँ उठाएर भुटानी शरणार्थी बनाएर विदेश पठाइदिने आश्वासन दिएको आरोप छ। गिरोहले यसरी करोडौं रकम उठाएको अनुसन्धानमा संलग्न प्रहरीले बताएको छ। भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै ठगी गरेको उजुरी परेपछि कार्यालयले अनुसन्धान अघि बढाएको थियो। यसको थप अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौंबाट भइरहेको छ। २०७६ सालमा गृह मन्त्रालयले भुटानी शरणार्थीको पहिचान गर्न गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदल बनेको थियो। उक्त कार्यदलले छुटेका भुटानी शरणार्थीको पहिचान गरेको थियो। परिसरले उक्त कार्यदलको प्रतिवेदन मन्त्रालयसँग मागेको थियो। गृहले मंगलबार उक्त प्रहरीलाई उपलब्ध गराएको छ। ‘आरोपीहरूसँग यसअघि नै भएको प्रतिवेदन र गृहको प्रतिवेदन भिडाएर हेर्ने काम भइरहेको छ,’ स्रोतले भन्यो।
काठमाडौं : सांसद् तोसिमा कार्कीले ललितपुरको बखुण्डोल हाइटमा समीट अपार्टमेन्ट निर्माण प्रक्रियामा संलग्नलाई कारबाही गर्न माग गरेकी छन् । बुधबार संसद्मा बोल्दै कार्कीले स्थानीयको स्वीकृत बेगर नक्सापास बिनै भवन निर्माण भइरहेकाले संसदीय समिति बनाएर छानविनको माग गरेकी हुन् । उनले भनिन्,'वरपरका घरहरूमा पूर्णरुपमा क्षति पुगेको छ। भाँसिने चर्किने क्रम जारी छ । स्थानीयले पटकपटक उजुरी दिएपनि कारबाही हुन सकेको छैन । ’ उनले अपार्टमेन्ट निर्माण प्रक्रियाको बैधानिकता खोज्नुपर्ने माग गरिन् ।
कञ्चनपुर : कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले प्लास्टिकका झोला प्रयोगमा रोक लगाउने भएको छ। आगामी वैशाख १ गतेदेखि लागू हुने गरी जिल्लामा प्लास्टिकका झोला आयात, बिक्री, वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए। 'नयाँ वर्षको वैशाख १ गतेदेखि जिल्लाभर प्लास्टिकको प्रयोग, आयात र बिक्री वितरणमा रोक लगाउने भएका छौँ', उनले भने, 'यसबारे सार्वजनिक सूचनासमेत जारी गरिसकेका छौं।' उक्त कार्यालयले एक महिना अगाडि नै सूचना जारी गरी प्लास्टिकका झोलाको आयात बन्द गर्न निर्देशन दिएको थियो। चालिस माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला उत्पादन, आयात, बिक्री वितरण र प्रयोग गर्न नपाइने प्रजिअ अर्यालले बताए। नयाँ वर्षदेखि त्यस्ता प्लास्टिकका झोला उत्पादन, आयात, बिक्री वितरण गरेको पाइएमा कारबाही गरिने उनको भनाइ थियो। 'प्लास्टिकको प्रयोग रोक्न नियमित अनुगमन गर्छौँ, पहिलोपटक भेटिएमा सम्झाउँछौँ र जफत गर्छौं,' उनले भने, 'त्यसपछि पनि त्यस्तो कार्य गरेको भेटिए सम्बद्ध व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाहीको दायरामा ल्याउँछौँ।' प्लास्टिकको प्रयोग तथा बिक्री, वितरण गरेको पाइएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुनेछ। प्रतिबन्धित झोला प्रयोग तथा बिक्री गर्नेलाई कसुरको मात्रा हेरेर रु ५० हजारसम्म जरिवाना हुनेछ। जिल्लाका नौ स्थानीय तहका जनप्रतिनिधिले प्लास्टिकको झोला प्रयोग तथा बिक्री, वितरणमा प्रतिबन्ध लगाउने प्रतिबद्धता जाहोर गरेका छन्। सोहीअनुसार जिल्ला समन्वय समितिको आयोजनामा भएको जिल्ला सभाले प्लास्टिकको झोला, प्लेट, गिलास र गुट्खा बिक्रीमा रोक लगाउने निर्णय गरेको छ। जिल्ला सभामा कञ्चनपुरका नौ स्थानीय तहका प्रमुख, उपप्रमुखको सहभागिता थियो। प्लास्टिकका झोला, प्लेट, गिलास र गुट्खा बिक्रीमा रोक लगाउँदै कार्यान्वयन गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले बताए। 'अब जिल्लामा प्लास्टिकका झोला र गुट्खा बिक्री, वितरण गर्न पाइने छैन्, प्लास्टिकको विकल्पका रूपमा कपडाको झोला प्रगोग गर्न सकिन्छ', उनले भने। प्लास्टिकले वातावरणसँगै मानव स्वास्थ्यमा हानी गर्ने हुनाले प्लास्टिक प्रतिस्थापन गर्न उपभोक्ता नै जागरुक हुनुपर्नेमा उनले जोड दिए।
काठमाडौं : सांसद् ज्ञानेन्द्र शाहीले बास्तविक मिटरब्याजी सरकार भएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद् शाहीले वर्तमान सरकारनै वास्तविक मिटरब्याजी भएको बताएका हुन् । शाहीले भने,‘पछिल्लो आठ महिनामा चालु खर्च ५१.४६प्रतिशत र पुँजीगत खर्च २२.१५ प्रतिशत र व्यवस्थापकीय खर्च ३७.४१ प्रतिशत खर्च गरेको छ । भएभरको पैंसा असारमा मात्रै खर्च गर्ने प्रवृत्ति छ । पुँजीगत खर्च ७८ प्रतिशत गर्न बाँकी छ । सबै पैंसा सरकारले बैंकमा राखेर ब्याज खाइरहेको छ । वास्तविक मिटरब्याजी कोहि छ भने त्यो सरकार हो । बैंकमा पैंसा राखेर जनतालाई अलमलमा नराखियोस् । कर्मचारीले तलब खान पाएका छैनन् । निर्माण व्यवसायीको हालत विजोग छ । ’ बेलैमा ब्याज तिर्न नसकेर मान्छेले मृत्युवरण गर्नुपर्ने अवस्था आएको उनले बताए । शाहीले भने,‘नेपाल सरकारले २ खर्ब ११ अर्ब मात्रै फिक्स डिपोजिट गरेको छ । निर्माण व्यवासी र अन्यलाई रकम नदिएर ३ खर्ब ६२ अर्ब रुपैयाँ सरकारी खातामा राखेर ब्याज खाइरहेको छ । बेलैमा ब्याज तिर्न नसकेर मान्छेले मृत्युवरण गर्नुपर्ने अवस्था छ ।’
काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो । भारतमा कोरोना भाइरसको देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ पछिल्लो समय नेपालमा पनि देखिन थालेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। चुमनलाल दासले अहिले देखा परेको भेरियन्ट सङ्क्रामक रहेकाले अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको जानकारी दिनुभयो । “कोरोना भाइरसको नयाँ भेरियन्टले धेरै जनालाई सङ्क्रमण सार्ने गर्ने सम्भावना छ”, उहाँले भन्नुभयो, “सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्नका लागि सबै अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिइसकेका छौँ ।” मन्त्रालयका अनुसार हाल वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । कोरोना सङ्क्रमणका कारण बुधबार एक जनाको निधन भएको छ । वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले कोभिड–१९ केन्द्रीय युनिफाइड अस्पताललाई तयारी अवस्थामा राखिएको बताउनुभयो । उहाँले चिकित्सक, सघन उपचार कक्ष (आइसियु), भेन्टिलेटर र अक्सिजनलाई तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा विमल चालिसेले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबारे सचेत रहँदै आफूृहरु तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । “अहिले ने आत्तिनुपर्ने अवस्था छैन तर सजग भने हुनुपर्छ”, उहाँले भन्नुभयो, “सङ्क्रमणको सम्भावित जोखिम नहोस् भनेर तयारी अवस्थामा रहेका छौँ ।” अस्पतालमा एक जना भेन्टिलेटर र दुई जना कोरोना सङ्क्रमित सघन उपचार कक्ष (आइसियु)मा उपचाररत रहेको उहाँले जानकारी दिनुभयो । बुधबार मात्रै देशभर एक सय छ जना नयाँ सङ्क्रमित देखा परेका थिए । हाल काठमाडौँ उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आइसियु)मा र ५ जना भेन्टिलेटरमा उपचाररत छन् । महाशाखाले नेपाल प्रवेश हुने सीमा नाकामा कडाइ गरिएको जनाएको छ । सीमा नाकाबाट नेपाल प्रवेश गर्नेहरुको कोरोना परीक्षण सुरु गरिएको छ ।

