काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

काठमाडौं:   काठमाडौं महानगरपालिकाले भोलि शुक्रवार शोक बिदा दिने भएको छ । वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको आज बिहीवार बिहान निधन भएको थियो । रिजालको निधनमा भोलि महानगर र महानगरअन्तर्गतका सबै कार्यालयमा शोक बिदा दिइएको सूचनामा उल्लेख छ । रिजालको निमोनियाका कारण बिहान साढे ७ बजे निधन भएको ग्रान्डी अस्पतालले जनाएको छ । वडाध्यक्ष रिजाललाई उपचारका लागि गएको १७ गते ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । दुवै फोक्सोमा सिभियर निमोनिया अर्थात् (भाइरल निमोनिया) का कारण उहाँको निधन भएको अस्पतालका स्वास्थ्य निर्देशक डा. विनोद बिजुक्छेले जानकारी दिनुभयो । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का क्षेत्रीय सभापतिसमेत रहेका रिजाल २०७९ सालमा भएको पालिका चुनावमा वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका सदस्यले बताएका छन् ।

बैतडी:    पश्चिम सेतीमा मिसिने न्वाघरी नदी तर्ने पुल नहुँदा ज्यानको बाजी लगाएर विद्यार्थी नदी तर्दै विद्यालय जान बाध्य छन् । बाँचे विद्यालय पुगिन्छ, न्वाघरीमा बगे सेतीमा विलय भइन्छ ।  न्वाघरी नदीले विद्यार्थीका कयौँ सपना बगाइसकेको छ । न्वाघरीले बगाउँदा हालसम्म तीन जनाको ज्यान गइसकेको छ । यो पीडा सिगास गाउँपालिका–७, साङडा र थलार गाउँका विद्यार्थीको हो । सिगास–७, साङडा र थलार गाउँमा कक्षा ३ सम्मको मात्र विद्यालय भएकाले माथिल्लो कक्षा पढ्न यहाँका ४० भन्दा बढी विद्यार्थी न्वाघरी नदी तरेर करिब एक घण्टाको दूरीमा रहेको सिगास–६, को गणेश माविमा धाउँदै आइरहेका छन् ।  विद्यार्थीलाई सोही गाउँकी शिक्षिका लक्ष्मी चन्दले नदी तराएर गणेश मावि लैजाने र ल्याउने काम गर्दै आउनुभएको छ । शिक्षिका चन्द गणेश माविमा अध्यापन गराउने भएकाले विद्यार्थीको सहारा बन्नुभएको छ । पुलका लागि पटक–पटक माग गरे पनि दुर्गममा बस्नेको कुरा कसैले नसुनेको शिक्षिका चन्दले पीडा सुनाउनुभयो ।      नदी तर्ने स्थानबाट माथि हेरे मौरा भीर देखिन्छ, जहाँबाट हालसम्म दुई जनाको लडेर मृत्यु भइसकेको छ । न्वाघरीगाडमा बगेर तीन जनाको मृत्यु भइसकेको छ । भीरमा हिँड्ने बाटो छैन, नदी तर्ने पुल नहुँदा यहाँका विद्यार्थी हरेक दिन नदीमा हेलिदैं विद्यालय आवत–जावत गर्न बाध्य छन् ।   २०३२ सालमा स्वीकृति पाएको गणेश माविमा हाल १५० जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक कालुसिंह साउदले बताउनुभयो । ४० जना विद्यार्थी सधैँ नदी तरेर विद्यालय आउनेगरेको उहाँले बताउनुभयो ।  संयोगले साङडा गाउँकै शिक्षिका लक्ष्मी चन्द गणेश माविमा अध्यापन गर्ने भएकाले उहाँको काँधमा अध्यापनसँगै विद्यार्थीलाई नदी तार्ने जिम्मेवारीसमेत रहेको प्रधानाध्यापक साउदले बताउनुभयो । पुलका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारका जनप्रतिनिधिसँग माग गरे पनि कुनै सुनुवाइ नभएको उहाँले बताउनुभयो । बैतडीको सिगास गाउँपालिका अहिलेसम्म यातायातसँग जोडिन सकेको छैन ।  बर्सेनि यहाँ न्वाघरीगाड र सेती नदीको बाढीले घरखेत र हिँडने बाटो बगाउने गरेको छ । यो खबर आजको गोरखापत्र अनलाइनमा प्रकाशित छ । 

काठमाडौं:     संयुक्त सैन्य अभ्यासका लागि आज अमेरिकी सेना नेपाल आउँदै छ ।   आइतवार २४ गतेदेखि असोज १२ गतेसम्म हुने संयुक्त अभ्यासका लागि अमेरिकी सेना नेपाल आउन लागेको नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार सैन्य अभ्यास भक्तपुरको नगरकोटमा हुनेछ । उनका अनुसार यो हरेक वर्ष हुने नियमित अभ्यास हो । यसअघि ३९ औँ अभ्यास भइसकेको छ । अभ्यासमा नेपाली सेनाका ३० तथा अमेरिकी सेनाका १२ गरी ४२ जना सैनिकको सहभागिता हुनेछ । संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा अनुभव तथा ज्ञान आदानप्रदान हुने सेनाले जनाएको छ । नेपाली सेना, संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मङ्गोलिया, बङ्लादेश, इजरायललगायत देशका सैन्य सङ्गठनसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन तालिम गर्दै आएको छ ।

काठमाडौं:    क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ ।  लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ । उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ 

कालिकोट:     कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा माटोको ढिस्कोले च्यापिएर एक महिलाको मृत्यु भएको छ । घर पोत्ने माटो लिन नजिकैको जङ्गल गएर माटो खन्ने क्रममा ढिस्कोले च्यापेर वडा नं ४ की २७ वर्षीया मीना शाहीको मृत्यु भएको हो ।  वीरेन्द्र शाहीकी धर्मपत्नी मीना शाहीको घुगाने भीरमा माटो खन्न गएका बेला पुरिएर मृत्यु भएको स्थानीय वडाध्यक्ष देवनाथ योगीले बताए ।  

काठमाडौं:    वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद् भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ ।  यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घ संस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । 

पोखरा:   पोखरा १० अमरसिंहचोका मोटरसाइकलको ठक्करबाट ज्यान गुमाएको सविता कुमारी दनुवारको शव परिवारले बुझेको छ ।   मृतक परिवारलाई ६ लाख क्षतिपुर्ति दिने सम्झौता भएपछि सविताको श्रीमान् दीपेन्द्र दनुवारले शव बुझेका हुन् ।   यद्यपी मृतक परिवारले शव बुझेपनि ठक्कर दिएका मोटरसाइकल चालक सुजन गुरुङ (२१ वर्षीय )माथि भने अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए ।    ‘पीडित परिवारलाई क्षतिपुर्ति दिने सम्झौता भएपछि शव बुझेर लगिसक्नुभएको छ । यद्यपी घटनाबारे अनुसन्धान भने जारी नै छ,’ निमित्त प्रमुख श्रवण कुमारले सुनगाभा न्यूजसँग भने । उनले पीडित परिवारले शव बुझेर गएपनि घटनाको विषयमा थप अनुसन्धान भइरहेको दोहोर्याए । ‘पीडित परिवारसँग क्षतिपुर्ति बारे कुरा मिलिसकेपनि मुद्धा दर्ता भएकाले अनुसन्धान जारी छ, उनले भने, ‘अनुसन्धान सकेर मोटरसाइकल चालकलाई पेश गर्नेछौ ।’   क्षतिपुर्ति स्वरुप ६ लाख दिने सम्झौतापछि शव उठाएको मृतककी  श्रीमान् दीपेन्द्र दनुवारले सुनाए । ‘अहिले ५० हजार मात्रै पाएका छौ । त्यै ६ लाख दिने कुरा भाको हो । अरु बाँकी पैसा यताको काम(काजक्रिया) सकेर पोखरा आएपछि दिने कुरा छ,’ उनले भने ।   यो पनि पढ्नुहोस   अमरसिंहचोकमा मोटरसाइकलको ठक्करबाट सविताको मृत्यु पोखरा महानगरपालिका १० अमरसिंहचोकमा गत १३ गते (बुधबार) मर्निङ वाकमा रहेकी सवितालाई बिहान करिब ५ बजे लखनचोकबाट औधोगिक क्षेत्रतर्फ जाँदै गरेको ग १० प ३५७६ को (पल्सर २२० सिसी) मोटरसाइकलले ठक्कर दिएको थियो ।   ठक्करपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याएपछि केही समयपछि चिकित्सकले मृत घोषणा गरेको थियो ।   महोत्तरी जिल्लाको गौशाला नगरपालिका ७ स्थायी घर भई पोखरा १० बुद्धचोक बस्दै आएकी ३३ वर्षीया सविता दनुवारको ३ वर्षीय दुधे बालक र ५ वर्षीय छोरा छन् । सविताको परिवाले मजदुरी गर्दै जिविकोपार्जन गर्दै आएका थिए ।    यसअघि गत ११ गते सोमबार सभागृहचोकमा मालबहाक ट्रकको ठक्करबाट ज्यान गुमाएकी तनहुँको म्याग्देकी २० वर्षीय वर्षा कुमालको शव पनि परिवारले बुझिसकेको कास्की प्रहरीले जनाएको छ ।    

मनहरी: बागमती प्रदेश कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिनुभएको छ । उहाँले संसदीय दलका नेता बहादुरसिंह लामालाई आज ९मङ्गलबार० बिहान भेटेर राजीनामा बुझाउनुभएको हो ।   काफ्लेलाई प्रदेश संसदीय दलको २०७९ माघ २ गते बसेको बैठकले दलको प्रमुख सचेतकमा नियुक्त गरेको थियो । पार्टीको केन्द्रीय सदस्यसमेत रहनुभएका काफ्ले प्रदेशसभा सदस्यमा दोलखाको प्रदेशसभामा क्षेत्र नं १ को ९१० बाट निर्वाचित हुनुभएको थियो ।   संसदीय दलका नेता लामालाई राजीनामा पत्र बुझाउँदै गरेको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्नुभएका काफ्लेले दलको प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी सङ्गठन र दोलखाली जनतालाई समय दिन नसकेको महसुस गरेकाले राजीनामा दिनु परेको कुरा उल्लेख गर्नुभएको छ ।

काठमाडौँ: नेपाली राजदूतावास र जापानको पहल तथा जापानका उद्यमी, व्यवसायी, लगानीकर्ताको प्रयासमा जापानको राजधानी टोकियोमा जापान–नेपाल विकास मञ्चको स्थापना भएको छ ।   जापान सरकारका विपद् व्यवस्थापन र सामुद्रिक नीति राज्यमन्त्री कोइची तानी र जापानका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले मञ्चको शनिबार संयुक्त रुपमा उद्घाटन गर्नुभएको जापानस्थित नेपाली दुताबासले जनाएको छ ।   उक्त मञ्चको अध्यक्षमा जापान सरकारका पूर्वअर्थसहायक मन्त्री मोतोयुकी ओदाची र उपाध्यक्षहरूमा सर्वश्री योशिहारु कोमियामा हिरोयुकी फुकुयामा, डा तोरु उत्सुमी, ताकातोशी नाकामुरा, तोमोहिको कावामोतो र योसुके किकुमा रहनुभएको छ । जापान–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष एवं जापानका लागि नेपाली राजदूत उक्त मञ्चका पदेन संरक्षक रहनुभएको छ ।   नेपालको सामाजिक, आर्थिक र प्राविधिक विकासमा जापान सरकारको सहायतासँगै जापानको निजी क्षेत्रबाट नेपालमा पर्यटन, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य, वातावरण र रोजगार लगायतका क्षेत्रहरूमा लगानी तथा औद्योगीकरण प्रबद्र्धनमा सार्थक योगदान पुर्याउने उद्देश्यले मञ्चको स्थापना भएको हो ।   मञ्चको समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राज्यमन्त्री कोइची तानीले नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्ध सरकारीस्तरमा मात्र सीमित नरही जनस्तरसम्म पनि फैलिएको बताउनुभएको थियो । जापान र नेपालबीच गहिरो धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्ध रहेको बताउँदै उहाँले यस ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई अब आर्थिक सम्बन्धको सुदृढीकरणसहित विस्तारित गर्न आवश्यक रहेको र यस दिशामा मञ्च एक कोशेढुङ्गा सावित हुने बताउनुभएको थियो ।   समारोहमा राजदूत डा सुवेदीले जापान नेपालको विकासको एक प्रमुख साझेदार राष्ट्र रहेको र नेपालको कृषि, शिक्षा, ऊर्जा, यातायात र सञ्चारलगायतका आर्थिक र सामाजिक विकासको आधारशिला निर्माणमा जापान सरकारको महत्वपूर्ण योगदान रहेको बताउनुभएको थियो । नेपाल सरकारले मुलुकको आर्थिक विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुहुँदै उहाँले राजनैतिक स्थायित्व र सामाजिक रुपान्तरणका लागि नेपाल सरकार दिगो आर्थिक विकासका लागि प्रतिवद्ध रहेको उल्लेख गर्नुभएको थियो ।    नेपाललाई वैदेशिक लगानीको एक उच्चतम् र आकर्षक गन्तव्यका रुपमा विकास गर्न नेपाल सरकार प्रतिवद्ध रहेको र सोका लागि उदार आर्थिक नीतिका साथ लगानीमैत्री वातावरण निर्माण गर्न प्रयत्नशील रहेको राजदूत डा सुवेदीको भनाई थियो ।   समारोहमा मञ्चका नवनियुक्त अध्यक्ष तथा पूर्वअर्थसहायक मन्त्री मोतोयुकी ओदाचीले जापान र नेपालको सुमधुर द्विपक्षीय सम्बन्धलाई अब व्यापार, लगानी र रोजगारी प्रवद्र्धनका माध्यमबाट निजी क्षेत्रले पनि सहभागिता जनाउन अपरिहार्य रहेको बताउनुभएको थियो ।   जापान सरकारको परराष्ट्र मन्त्रालय, जापान अन्तर्राष्ट्रिय सहयोग निकाय (जाईका) र जापान व्यापार संगठन (जेट्रो)का उच्च पदाधिकारीहरू उपस्थित उक्त समारोहमा नेपालमा लगानी तथा व्यापार र व्यवसायमा सम्लग्न जापानका उद्योगी, व्यवसायी र कम्पनीका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।  रासस