काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको महसुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेकाले यसबारे निक्र्यौल नभएसम्म उद्योगमा आपूर्ति भइरहेको विद्युत बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।   नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासङ्घ पदाधिकारीसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलसँगको भेटपछि प्रधानमन्त्री दाहालले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी उक्त निर्देशन दिनुभएको हो ।  उहाँले यससम्बन्धी विषयमा महासङ्घ, विद्युत नियमन आयोग र प्राधिकरणलाई सँगै राखेर छिटै टुङ्गोमा पुर्‍याउने कुरामा आफूले पहल गर्ने समेत आश्वासन दिनुभयो । प्राधिकरणले उद्योगहरूलाई डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता महसुल १५ दिनभित्र चुक्ता गर्न भदौ १७ गते सूचना जारी गरेको थियो । उक्त सूचनामा बक्यौता महसुल चुक्ता नगर्ने उद्योगहरूको विद्युत आपूर्ति बन्द गर्ने जनाएको थियो ।  महासङ्घले अहिलेको आर्थिक सङ्कटको समयमा उद्योग व्यवसायहरू ४० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भइरहेको हुँदा उद्योग व्यवसायलाई जोगाउन विशेष पहल गर्नुपर्ने सुझाव दिएको छ । “यो समयमा हामीलाई सहयोग र समर्थन चाहिएको छ”, महासङ्घ अध्यक्ष ढकालले भन्नुभयो, “थप समस्या सिर्जना गरिदिनु भएन भन्ने हाम्रो माग हो ।” कोभिड महामारीपछि उद्योग व्यवसाय निरन्तर सङ्कटमा रहेको र यस अवस्थामा उद्योग व्यवसायको विद्युत् काट्दा व्यवसायी थप हतोत्साहित हुने महासङ्घको भनाइ छ । 

काठमाडौं:     त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले आज (सोमवार) भन्सार जाँचपास ठप्प पारेका छन् । विमानस्थल भन्सारमा समातिएको तस्करीले ६० केजी सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै उनीहरूले सेवा ठप्प पारेका शुन् । सुन तस्करी अनुसन्धानको नाममा प्रहरीले आफूहरूमाथि धरपकड गरेको उनीहरूको भनाइ छ । सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अहिलेसम्म छ जना भन्सार कर्मचारीलाई पक्राउ गरिसकेको छ । प्रहरीले अहिले विमानस्थल भन्सारका अरू कर्मचारीसँग पनि बयान लिइरहेको छ ।

काठमाडौं:  प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम उडान पुनः सुचारु हुने भएको छ । २५ भदौ सोमबारदेखि तारा एयरले नियमित उडान गर्ने भएको हो । बिस्तारै मौसम अनुकूल हुन थालेको र पर्यटक सिजन पनि सुरु हुन लागेकोले उडान नियमित हुन लागेको कम्पनीले जनाएको छ । जोमसोमको नियमित उडानका लागि तारा एयरले एउटा विमान पोखरामै रात्रि बिसान गर्ने भएको छ । हालका लागि मौसम अनुकुल भए दैनिक ५ वटा उडान गर्ने गरि तालिका मिलाईएको कम्पनीले जनाएको छ । तारा एयरको उडान पोखराको पुरानो विमानस्थलबाट हुने गरेको छ । मुस्ताङ जिल्लामा अवस्थित जोमसोम विमानस्थल समुन्द्री सतहबाट २७३६ मिटर उचाईमा रहेको छ । यो विमानस्थलको लम्बाई ७३९ मिटर रहेको छ

काठमाडौं:    जिल्ला अदालत काठमाडौंले बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १८ जना सबैलाई तारेखमा छोड्न आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । अदालतले अभियुक्त केशव दुलाललाई साधारण तारेखमा छाड्ने आदेश दिइएको छ भने भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग दुई करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ । ललिता निवास प्रकरणमा १८ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले सङ्गठित अपराधमा म्याद थपेको थियो । प्रहरीले सङ्गठित अपराधमा अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाए पनि सरकारी वकिलको कार्यालयले किर्तेमा मात्र मुद्दा दर्ता गरेको छ । २०४९ सालदेखि २०६९ सालसम्ममा नक्कली मोही खडा गरेर ललिता निवासको एक सय ४३ रोपनी जग्गा व्यक्तिका नाममा ल्याएको प्रहरीको दाबी छ । ललिता निवास प्रकरणको आरोपीमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्री तथा पूर्वसचिवसमेत गरी तीन सय १० जना रहेका छन् । उनीहरूमध्ये २१ जना मृत्यु भइसकेको छ ।

पोखरा:   पोखरामा सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रद्वारा सञ्चालित कालिका फ्युल सेन्टरको हाताभित्र निर्माण गरिएको विद्युतीय गाडी चार्जिङ स्टेशन उद्घाटन गरिएको छ ।  सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रूपमा आज (आइतबार) दुई वटा अत्याधुनिक फास्ट चार्जिङ स्टेशनको उद्घाटन गरेका हुन् ।  सार्वजनिक विद्युतीय गाडी चार्जिङ स्टेशनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरू राखिएका छन् । चार्जिङ स्टेशनमा १४२ किलोवाट क्षमताका दुई वटा फास्ट चार्जरहरू रहेका छन्, यसबाट ठूला बससहित छ वटा गाडी एकसाथ चार्ज गर्न सकिने छ । सशस्त्र प्रहरी र प्राधिकरणबीच २०७९ भदौ ९ गते चार्जिङ स्टेशन स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । प्राधिकरणले आफ्नै खर्चमा चार्जिङ स्टेशनका सम्पूर्ण उपकरण खरिद तथा पूर्वाधार निर्माण गरेको हो । उपकरणहरूको मर्मत तथा नियमित सर्भिसिङ समेत प्राधिकरणले नै गर्ने छ । सशस्त्र प्रहरीले पूर्वाधार निर्माणका लागि जग्गा उपलब्ध गराएको थियो । सशस्त्र प्रहरीले चार्जिङ स्टेशनको सञ्चालन तथा सुरक्षा गर्ने छ । चार्जिङ स्टेशन तेस्रो व्यक्तिरसंस्थालाई सञ्चालन गर्न दिन नपाउने व्यवस्था गरिएको छ । विद्युत् वितरण विनियमावलीको व्यवस्था बमोजिम विद्युत् महसुल दरको शुल्कमा हुने कुल नाफाको ५० प्रतिशत रकम चार्जिङ स्टेशनको सञ्चालन तथा व्यवस्थापन खर्चको रूपमा सशस्त्र प्रहरीको कल्याणकारी केन्द्रले पाउने छ । प्राधिकरणले पहिलो चरणमा देशका विभिन्न ठाउँमा निर्माण गरेको ५१ वटा अत्याधुनिक फास्ट चार्जिङ स्टेशन स्थापना गरेको छ । दोस्रो चरणमा ११ वटा चार्जिङ स्टेशन निर्माण प्रक्रिया अगाडि बढेको छ । प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय गाडी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरूमा ५१ वटा विद्युतीय गाडी छिटो चार्ज गर्न मिल्ने चार्जिङ स्टेशन सञ्चालित छन् । झन्डै ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेशनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा साना/ठूला कारहरू चार्ज गर्न मिल्ने छन् ।

काठमाडौं:    बिपी साहित्य महोत्सव आजदेखि शुरु भएको छ । ललितपुरस्थित नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा आजबाट बिपी साहित्य महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गरे।  कांग्रेस संस्थापक नेता बिपी कोइरालाको ११० औं जन्म जयन्तीको अवसरमा आयोजित साहित्य महोत्सवमा उनका साहत्यिक विषयमा चर्चा र छलफल हुनेछ ।  बिपीको योगदानलाई युवा पुस्तामाझ बुझाइने कार्यक्रम छ । महोसत्वमा विभिन्न साहित्यिक स्रष्टा, कांग्रेस नेता, कार्यकर्ताहरुको उल्लेख्य सहभागिता छ । साहित्य महोत्सव तीन दिनसम्म चल्नेछ ।  तीन दिनसम्म विभिन्न सत्रमा बिपीका साहित्यिक कृति र व्यक्तित्वका बारेमा बहस तथा छलफल हुँदैछ ।

पोखरा:    काठमाडौंबाट बागलुङका लागि छुटेको हाइसले पोखरा २५ हेमजामा पैदल यात्रीलाई ठक्कर दिँदा नौली बिकको मृत्यु भएको छ ।  पोखरा २५ हेमजा सापकोटाचोकमा बाटो काट्दै गरेकी नौली बिकलाई काठमाडौंबाट बागलुङका लागि छुटेको बा ३ ख ९७२६ नम्बरको हाइसले ठक्कर दिँदा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।  कास्कीको अन्नपूर्ण गाउँपालिका ४ घर भएकी नौली छोरीको घर आउने क्रममा हाइसको ठक्करबाट हिजो (शनिबार) मृत्यु भएको बताइएकाे छ । सापकोटाचोकमा हाइसको ठम्करबाट गम्भिर घाइते भएकी नौलीको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको ट्राफिक कार्यालय कास्कीले जनाएको छ । दुर्घटनापछि बस र चालकलाई नियन्त्रणमा लिएको छ ।   

मोरक्को:   मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म छ सय ३२ जनाको मृत्यु भएको छ भने तीन सय २९ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार  घाइतेमध्ये ५१ जनाको अवस्था गम्भीर छ । भुइँचालोमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ ।  शुक्रबार राति ११ः११ बजे भएको ६।८ म्याग्निच्युडको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् । शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का आज पनि महसुस गरिएको मोरक्कका सञ्चार माध्यमले बताएका छन् ।  शुक्रबारको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको उनीहरूले समाचारमा उल्लेख गरेका छन् । भयानक भूकम्प भएको ३३ वर्षीय अब्देलहक एल अमरानीले बताएका छन् । उनले बच्चाहरू रोइरहेको आवाज सुनेका तथा किंकर्तव्यविमूढ अभिभावकहरूलाई देखेको बताएका छन् । दश मिनेटसम्म बिजुली टेलिफोन सेवा  बन्द भए पनि पछि सेवा सञ्चालन भएको उनले बताए । सरकारी अधिकारीहरूका अनुसार देशको एक तिहाइ भूभाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । भूकम्पले नराम्ररी प्रभावित पर्वतीय क्षेत्रमा रहेका दुर्गम गाउँसम्म निकै कठिनाइ भएको छ । पुराना भवन भएका ती गाउँमा अकल्पनीय विनाश भएको अनुमान गरिएको छ ।  ती स्थानमा उद्धारकर्ताहरू पुग्न केही दिन लाग्न सक्छ । मराकेस, कासाब्लाङ्कालगायत शहरी क्षेत्रका मानिसले सडकमा रात बिताएका छन् । क्षति एवं हताहतिको विस्तृत विवरण प्राप्त भएको छैन । 

दार्चुला:     दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरी बलको नेपाल बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । हिजो (शुक्रवार) दार्चुलाको व्याँस गाउँपालिका वडा १ छयाँलेकमा बीओपी स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाले जनाएको छ । चीन सीमा नजिक तिङ्करमा बीओपी स्थापना गर्न भारतको बाटो हुँदै प्रहरी नायब महानिरीक्षक वंशीराज दाहाल (एआईजी) को टोली तिङ्कर पुगेको थियो । तिङ्करमा बीओपी स्थापना भएसँगै जिल्लामा बीओपीको सङ्ख्या पाँच वटा पुगेको छ ।  दार्चुलाको दुम्लिङ, दत्तु, जोलजीवी सुन्सेरा र लालीमा बीओपीहरु स्थापना भएका छन्। तिङ्करमा बीओपी स्थापना भएसँगै सीमा क्षेत्रको सुरक्षा प्रभावकारी हुने र चोरीतस्करी नियन्त्रण हुने सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमसिंह धामीले बताउनु भयो । तिङ्करमा सशस्त्र प्रहरी निरीक्षक इन्स्पेक्टर जनक बहादुर पौडेलको नेतृत्वमा २० जनाको टोली बस्ने भएको छ ।  व्यास गाउँपालिकाको वडा नम्बर २ को माल र मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ६ बाँकुमा रहेको नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा पनि सशस्त्र प्रहरीको पोष्ट राखिएको छ । भारतसँग सीमा जोडिएका व्यासको सीतापुल, सुन्सेराको मलघट्टे, खलङ्गाको घाटबजार, दत्तु, जोलजीवी र लालीमा रहेको महाकाली नदीको झोलुङ्गे पुलमा पनि सशस्त्र प्रहरीको नियमित सुरक्षा उपस्थिति रहेको ४४ नम्बर गणका गणपति डम्बरबहादुर विष्टले बताउनु भयो । नेपाल–भारत जोड्ने अन्तर्राष्ट्रिय सीमाबिन्दुहरुमध्ये व्यास गाउँपालिकाको वडा नम्बर ५ तिगरम र वडा नम्बर ६ बडुगाउँको झोलुङ्गे पुलबाहेक अन्य सबै ठाउँमा सशस्त्र प्रहरीको उपस्थिति रहेको छ । व्यास गाउँपालिकाको तिङ्कर, कौवाक्षेत्र र बडुगाउँ तथा लेकम गाउँपालिकाको रतौडामा थप बीओपी स्थापनाको काम भइरहेको छ । मालिकार्जुन गाउँपालिकाको जोलजीवीमा रहेको बीओपीलाई सीमा सुरक्षा गुल्म बनाइएको छ । लाली र दुम्लिङको बीओपीमा इन्स्पेक्टरको कमाण्डमा फौज परिचालन गरिएको छ । सुन्सेरा र दत्तुमा सईको नेतृत्वमा सशस्त्र प्रहरीको टोली रहेको छ । अतिक्रमित भूमि नजिकको छाङरु गाउँको गागामा ५० नम्बर गुल्मको नेतृत्व डीएसपीले गरिरहेका छन् । सीमाक्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा दिनथालेपछि अहिले सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीयहरु खुशी भएका छन्। तिङ्करको बीओपी उद्घाटन कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी अन्य सुरक्षा निकायका प्रमुख, राजनीतिक दलहरुका प्रमुख लगायत पत्रकारहरुको सहभागिता रहेको थियो । बोर्डर आउट पोष्ट स्थापना गर्न गएको टोली शनिवार आज भारतीय बाटो हुँदै जिल्ला सदरमुकाम आउन लागेका छन् ।