पोखराको मुख्य बजार क्षेत्रमा स्मार्ट सार्वजनिक शौचालय बनाइने
पाेखरा | चैत २८, २०७९

कास्की: पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण सुरु भएको छ ।
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले सार्वजनिक शौचालय बनाउन पोखरा महानगरसँग साझेदारी गरेको हो । महानगर प्रमुख धनराज आचार्यले सार्वजनिक शौचालय निर्माणको सोमबार शिलान्यास गर्नुभयो । महेन्द्रपुलको उत्तरतर्फ रहेको पाँच आना क्षेत्रफलमा एनआरएनए र पोखरा महानगरपालिको संयुक्त लगानीमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृह निर्माण हुनेछ ।
यसमा एनआरएनएले रु ६० लाख र पोखरा महानगरपालिकाले रु ४० लाख लगानी गर्नेछन् । महानगरपालिकामा हाल १५ बढी स्थानमा महानगरले निर्माण गरेका सार्वजनिक शौचालय र ६० बढी स्थानमा निजी साझेदारीमा सञ्चालन गरिएका सार्वजनिक शौचालय छन् ।
महेन्द्रपुलको दक्षिण भागमा भने महानगरपालिकाले अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माणको तयारी गरेको छ । त्यसको शिलान्यास आगामी वैशाख १ गते गरिनेछ । त्यहाँ संयुक्त राष्ट्र सङ्घमा आबद्ध एक सय ९३ देशसहित साझेदार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाको झन्डासमेत राखिने महानगरले जनाएको छ । पार्ककोबीच भागमा नेपालको सबैभन्दा ठुलो झन्डा राखिनेछ । विशेष अवसरमा झण्डात्तोलनका लागि सोही स्थानमा कार्यक्रम गरिने बताइन्छ ।
शौचालयको शिलान्यास गर्दै प्रमुख आचार्यले पोखराको पर्यटन प्रवर्द्धन तथा नागरिकको सेवाका लागि सो स्थानमा सार्वजनिक शौचालयको आवश्यकता महसुस गरिएको बताउनुभयो । जीर्ण भवन विस्थापित गरी जनतालाई सर्वसुलभ तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यले चमेना गृहसहितको सार्वजनिक शौचालय निर्माण गर्न लागिएको महानगरपालिकाका प्रमुख आचार्यले बताउनुभयो ।
“यो शौचालय पोखराका लागि नमुना शौचालय हुनेछ, अत्याधुनिक प्रविधिको प्रयोगमार्फत स्मार्ट शौचालय निर्माण हुनेछ”, प्रमुख आचार्यले भन्नुभयो, “चमेनागृहसहित महिला दिदीबहिनीका लागि स्तनपान कक्ष र सेनेटरी प्याडको भण्डारसमेत समावेश हुनेछ ।”
शौचालयबाट निकाल्न सकिने ग्यासको प्रयोगबाट चमेनागृह पनि सञ्चालन गरिने छ । त्यो नेपाली शैलीको हुने प्रमुख आचार्यको भनाइ छ । आसपासमा केही चौतारी निर्माण गरिनेछन् । अधिकांश स्थान भने खुल्ला नै राखिने प्रमुख आचार्यले बताउनुभयो । एनआरएनएका मेगा प्रोजेक्ट संयोजक रविना थापाले पोखरा महानगरपालिकाको महेन्द्रपुलमा आफूहरूले नेपाली शैलीको अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृह निर्माणका लागि महानगरपालिकासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । एनआरएनएका कार्यकारी अध्यक्ष बद्रीबहादुर केसीले विदेशमा जस्तै पोखरामा पनि सुविधा सम्पन्न अत्याधुनिक शौचालय निर्माण गरिने बताउनुभयो ।
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोध्नु...
काठमाडौं: मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन केही कमजोर हुँदै रहेको बताएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्र...
पोखरा: इम्ब्रोेइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन(एगा) पोखराले नेपाली महिलाहरूको महान चाड हरितालिका तिजका अवसरमा एगा सम्बद्ध पर्यटन व्यवसायी महिलाहरूका लागि शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । &nbs...