काठमाडौँ: त्रिभुवन विमानस्थलबाट बरामद सुन प्रकरणमा थप चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार तस्करीको सुन प्रकरण अभियोगमा थप चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक एवम् केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले चिनियाँ नागरिक टीयान मी, वेन तोङ, डीङ सेग्फा र ली–नेङकाईलाई पक्राउ गरेको जानकारी दिनुभयो । प्रवक्ता कडायतका अनुसार चारै जनालाई सङ्गठित सुन तस्करीको अभियोगमा म्याद थप गरी अनुसन्धान भइरहेको छ । सीआईबीले चार जनालाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या २१ पुगेको छ ।
काठमाडौं: यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुवाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो । तोकिएको भाडादर अनुसार अब यात्रुवाहक सवारी साधनको भाडा ४.७० प्रतिशतले वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ६.१५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको मूल्य ६.८३ प्रतिशतले बढेको हो । बढेको भाडादर आजैबाट लागू हुने विभागले जनाएको छ । विभागका अनुसार यो भाडा दुई वा सोभन्दा बढी प्रदेश अथवा राष्ट्रिय स्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा मात्र लागू हुने भएको छ । मङ्गलबारमात्र पेट्रोलमा प्रतिलिटर ५ रुपियाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १४ रुपियाँ बढाएको छ ।
काठमाडौं: संसदीय समितिले दलितसम्बन्धी मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई निर्देशन दिएको छ । सङ्घीय संसद्, राष्ट्रियसभा अन्तर्गत दिगो विकास तथा सुशासन समितिको आज मङ्गलवार बसेको बैठकले दलितसम्बन्धी मुद्दा हेर्ने छुट्टै मन्त्रालय नभएको निष्कर्ष निकाल्दै तत्काल तोक्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देशन दिएको हो । दलितसम्बन्धी विभेद र उत्पीडन हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई निर्देशन दिइएको समितिका सभापति प्रकाश पन्थले जानकारी दिनुभयो । त्यसैगरी समितिले दलित समुदायको विभेद र उत्पीडनको अन्त्य गर्नका लागि समितिले तयार पारेको कार्ययोजना कार्यान्वयन गर्न पनि सरकारलाई सचेत गराएको छ । कार्यान्वयन भए, गरेका कामहरूको अनुगमन गरी त्यसको प्रतिवेदन नियमित रूपमा बुझाउन पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देशन दिएको समितिले जनाएको छ । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विनोदप्रकाश सिंहले समितिले दिएको निर्देशन पालना गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले दलितलगायतका जातीय विभेद अन्त्यका लागि देशमा विद्यमान कानुन कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । सचिव सिंहले जातीय विभेद अन्त्यका लागि जनप्रतिनिधिको तर्फबाट पनि पहलकदमी लिने काममा कमी रहेको हो कि भन्ने आफूहरूलाई लागेको प्रतिक्रिया पनि दिनुभएको थियो ।
मनाङ: हिमाली जिल्ला मनाङ आउने अवरुद्ध एकमात्र सडक चार दिनमा सञ्चालन भएको छ । सोमबारदेखि मौसममा सुधार आएपछि डुम्रे–बेँसीसहर–चामे सडक सुचारु भएको हो । यहाँको आवतजावत पूर्णरूपमा ठप्प हुँदा मनाङ आउने पर्यटक, मार्गदर्शक (गाइड), कर्मचारी बीचबाटोमै अलपत्रमा परेका थिए । सो सडकखण्डअन्तर्गत लमजुङको बेँसी सहर नगरपालिका-६ खरखरेस्थित सडक भासिएको थियो । सडक खुलेसंगै औषधिलगायतका अत्यावश्यक सामग्री लिएर सवारी साधन मनाङ आएको जिल्ला अस्पताल प्रमुख रहमत अन्सारीले जानकारी दिनुभयो । उहाँका अनुसार मौसमले धेरै प्रभाव पार्ने मनाङमा मनसुनको यात्रा सकस हुन्छ । यसले गर्दा सावधानी अपनाउनुपर्ने भए पनि अत्यावश्यक कामले हिँड्न बाध्य हुनुपर्ने उहाँको भनाइ छ । जिल्लाको स्वास्थ्यसँग जोडिएको व्यक्तिले यहाँका स्थानीय तथा पर्यटकलाई औषधिलगायतका सेवा प्रवाहलाई मध्यनजर गर्नुपर्ने उहाँले बताउनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले जोखिमकै बेलामा पनि दैनिक १४–१५ जनासम्म पर्यटक आउने गरेका जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आन्तरिकजस्ता हुँदैनन्, विदेशी पर्यटक जोखिमलाई आत्मसाथ गर्ने भएकाले पहिराको जोखिम पार गर्दै पर्यटक आउने क्रम जारी रहेको छ ।” अब सिजन पनि सुरु हुने अवस्था भएकाले यहाँ पर्यटक आउन थालेको उहाँले बताउनुभयो । डुम्रे–बेँसी सहर–चामे सडक आयोजना कार्यालयका सब–इन्जिनियर सुमन अधिकारीले काम गर्न सहज हुनासाथ अवरुद्ध सडक खुलाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस सडकमार्फत यात्रा त अझै पनि जोखिम छ, तर हालका लागि सडक सञ्चालनमा ल्याएका छौँ ।”
काठमाडौं: मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको सुनको मात्रा ६० किलो सात सय ८९ ग्राम फेला परेको छ । ब्रेक शुबाट निकालेर जोख्दा ६० किलो सात सय ८९ ग्राम तौल रहेको र त्यसमा केही कालो पदार्थसमेत मिसिएकाले यो प्रारम्भिक तौल मात्रै भएको नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले राससलाई बताउनुभयो । उहाँका अनुसार भोलि बिहान १०:३० बजेदेखि भने गाल्ने काम सुरु हुनेछ । त्यसपछि आर्थिक परीक्षणको काम थालिने पनि उहाँले बताउनुभयो । महाशाखा प्रमुख आचार्यले एक दिन सुन गाल्न लाग्ने र त्यसपछि आर्थिक परीक्षणको काम कम्तीमा तीन दिन लाग्ने बताउनुभयो । उहाँले सबै सरोकारवाला प्रतिनिधिहरूको रोहवरमा गाल्ने प्रक्रिया सुरु भएको बताउनुभयो । राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । त्यसपछि उक्त सुनसहितको ‘ब्रेक शु’ टक्सार महाशाखामा राखिएको थियो । उन्नाइस दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा सुन प्रकरणको अनुसन्धानको काम राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०लाई दिइएको थियो । सिआइबीको पत्रपछि आजदेखि सुन गाल्नेलगायतका प्रक्रिया थालिएको हो ।
गोरखा: गोरखा नगरपालिका–७, सतिपीपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रुपमा प्रतिस्थापन गर्ने निर्णय भएको छ । अलौलिक शिलालाई बरामद गरिएको घरका परिवारले परापूर्वकालदेखि कुलदेवता मानेर पूजा गर्दै आएको र गोर्खाली जनताले पनि यसलाई शक्तिको प्रतीकका रुपमा लिएकाले जिल्ला बाहिर नपठाउने निर्णय भएको नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरले जानकारी दिनुभयो । गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरसहित जनप्रतिनिधि तथा जिल्लाभित्रका १७ वटाभन्दा बढी सङ्घसंस्था, घरधनी र बुद्धिजीवीको आइतबार सर्वपक्षीय बैठक बसेर क्वार्ज किष्टललाई गोरखा दरबार परिसरभित्रै सुरक्षितसाथ भगवती शिलाका रुपमा विधिपूर्वक प्रतिस्थापन गर्ने निर्णय गरेको थियो । ‘औलौकिक शिला मन्दिरमा राखिएपछि यसले जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनलाई समेत थप आकर्षण गराउँछ”, उपप्रमुख थोकरले भन्नुभयो, “गोरखाली जनताले पनि यसलाई शक्तिको प्रतिकका रुपमा लिएकाले बाहिर लैजान नहुने भन्दै सर्वपक्षीय बैठकले दरबार परिसरमै प्रतिस्थापन गर्ने निर्णय गरेको हो ।” बरामद गरिएको क्वार्ज किष्टल कहाँ राख्ने भन्ने विषयमा चर्चा चलिरहेका बेला गोर्खाली जनताको चाहना र भावनाअनुसार नै दरबार परिसरमा राख्न स्थानीय सरकारसहित सरोकारवाला सहमत भएको उहाँले बताउनुभयो । “खानी तथा भूगर्भ विभागमा राखे पनि पनि राज्यकै हुने र गोरखा दरबारमा राखे पनि पनि राज्यकै सम्पत्तिको हुने हो”, उपप्रमुख थोकरले भन्नुभयो, “राज्यले नै सुरक्षा दिएर राख्ने भएकाले क्वार्र्ज किष्टललाई जिल्ला बाहिर पठाउन नहुनेमा गोरखास्थित सङ्घसंस्था, बुद्धिजीवी, घरधनी, नागरिक समाजका अगुवाको पनि चाहना थियो ।” आफ्नो घरबाट बरामद गरिएको उक्त क्वार्ज क्रिष्टललाई गोरखकाली मन्दिर परिसरभित्रै नै राख्नुपर्ने र समयसमयमा आफूहरुले पूजा गर्न पाउनुपर्ने घर धनीले पनि इच्छा व्यक्त गरेको उहाँले बताउनुभयो । सर्वपक्षीय बैठकमा अलौकिक शिला गोरखामा नै राख्ने निर्णय गरेपछि नगरपालिकाले आवश्यक प्रक्रियाका लागि नेपाल सरकार, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, भूगर्भ विभाग र पुरातत्व विभागमा पत्राचार गर्ने निर्णय गरिएको थियोे । त्यस्तै जिल्ला प्रशासन कार्यालय, गोरखा, जिल्ला प्रहरी कार्यालयलाई समेत बैठकले गरेको निर्णय तत्काल जानकारी गराउन आवश्यक निर्देशन दिइएको उपप्रमुख थोकरले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयको आग्रहमा प्रहरी कार्यालयमा विशेष सुरक्षाका साथ राखिएको टल्किने ढुङ्गाको अध्ययन गर्न गत सोमबार आएको खानी तथा भूगर्भ विभागका भूगर्भविद्को टोलीले उक्त ढुङ्गा ‘क्वार्ज किष्टल’ नै भएको पुष्टि गर्दै विभागमा पठाउन प्रशासनलाई सुझाव दिएको थियो । भूगर्भविद्को टोलीले दुई दिन लगाएर उक्त परीक्षण गरेको थियो । विभागको टोलीले खानी तथा खनिज पदार्थ ऐन, २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्य गर्ने अनुमति नलिई उत्खनन तथा सङ्कलन गरिएकाले उक्त पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पत्रमार्फत आग्रह गरेको थियो । परीक्षणबाट उक्त ढुङ्गा महत्वपूर्ण र बहुमूल्य पत्थर भएको र संसारभरका धातुलाई कडापनका आधारमा १० भागमा वर्गीकरण गर्ने गरिएकामा बरामद गरिएको ढुङ्गा सातौँ नम्बरमा पर्ने भूगर्भविद्ले जानकारी गराएका थिए । उक्त ढुङ्गा ५२ किलो तीन सय ३० ग्रामको छ । गएको असार १४ गते प्रहरीले उक्त टल्कने ढुङ्गा सतिपीपलस्थित स्थानीयवासी राममाया शाहीको घरबाट बरामद गरेको थियो ।
मुस्ताङ: मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविका शिक्षक मनविर किसान गएराति खाना खाने तयारी गर्दै हुुनुहुन्थ्यो । तर, एक्कासी बाढी आएको सूचना पाएपछि कालीगण्डकी र कागखोलाको दोभान नजिकैको विद्यालयको छात्रावासमा बस्ने उहाँलगायत अन्य शिक्षक, विद्यार्थी र स्थानीयवासीको भागदौड मच्चियो । ‘खाना खाने तयारी गर्दै थियौँ । बाढी आएको थाहा पाएपछि ज्यान बचाउन पकाएको खाना छाडेर अन्यत्र गएर बस्यौँ, उहाँले भन्नुभयो, यहाँका बूढापाका हिजो र अस्ति अहिलेसम्मकै ठूलो बर्सात भएको अनुभव सुनाउँछन् ।’ कागखोलाको सहायक तिरिखोला पहिरोले थुनिएर आएको बाढी प्रसिद्ध तीर्थस्थल र पर्यटकीयस्थल कागबेनीको बस्तीमा पसेर बितण्डा मच्चाएको हो । मुक्तिनाथबाट शुरु हुने कागखोला कागबेनीमा आएर कालीगण्डकीमा मिसिन्छ । तिरिखोलामा आएको बाढीले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढीले १० वटा घर बगाएको छ । यस्तै, एउटा प्रहरी चौकी र दुई वटा पुल पनि बाढीले बगाएको छ । हिजो बेलुका आएको बाढीले १० वटा घररहोटल, प्रहरी चौक, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मानिस ओहोरदोहोर गर्ने पुल, दुई गाडी र तीन विद्युतका पोल समेत बगाएको छ । तर, बाढीबाट कुनै मानवीय क्षति भने भएको छैन । कागबेनीकी कल्पना मगर बाढी आएको पूर्वसूचना पाएर भागेर ज्यान बचाउन सफल भए पनि घरबारविहीन हुनुपरेकोमा दुःखित हुनुभएको छ । ‘कागबेनीमा सबैको ज्यान बचेकोमा सुखी मान्नुपर्छु, उहाँले भन्नुभयो ,ज्यान त बच्यो तर हाम्रो घरबास केही रहेन ।’ गाउँपालिकाको केन्द्रसमेत रहेको कागबेनीमा बाढी पसेर भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले खोलाको छेउछाउमा रहेको २० वटाभन्दा बढी घर/होटल भत्काएको बताउनुभयो । ‘कागबेनीका धेरैजसो घरभित्र बाढी पसेको छ । क्षतिको विवरण सङ्कलन भइरहेको छ’, उहाँले भन्नुभयो, ‘रातभर विस्थापितको व्यवस्थापनमा लाग्यौँ । बिहानदेखि क्षतिको विवरण सङ्कलन र थप क्षति हुन नदिन बाढी नियन्त्रणको काम भइरहेको छ ।’ कागबेनीको प्रहरी चौकीमा बाढीले क्षति पुर्याएपछि सुरक्षाकर्मीलाई गाउँपालिकाको कार्यालयमा राखिएको छ । प्रहरी चौकीका हतियार र सामग्री भने सुरक्षित रहेका छन् । कागबेनीको बीच भाग भएर कागखोला बग्छ । बस्तीभित्र कागखोला वारपार गर्न बनाइएका तीन वटा मान्छे हिँड्ने पक्की पुल बाढीले बगाएको छ । जोमसोम–कोरला सडक अन्तर्गत कागबेनीमा निर्माणको अन्तिम चरणमा रहेको मोटरेबल पुल बगाएको छ । पुलको स्ल्याब बाढीले बगाएर केही तल पुर्याएको छ । पुलसँग जोड्ने पहुँचमार्ग बगाएको छ । कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध बनाएको छ । लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको सदरमुकाम जोमसोमसँग यातायात सम्पर्कविच्छेद भएको हो । विद्युतका पोल पनि बाढीले बगाएकाले विद्युत् सुविधा अवरुद्ध भएको छ । पार्किङ गरेर राखेका गाडी पनि बाढीले बगाएको र पुरिएको बताइएको छ । कागबेनीमा पितृलाई तर्पण दिने ठाउँ बगाएको छ । भक्तजनले आवासका रुपमा प्रयोग गर्ने तीर्थयात्री निवासमा बाढी पसेको छ । नदी कटान नियन्त्रण गर्न बनाइएको पक्की संरचना र ग्याबियन पर्खाल बाढीले बगाएको छ । कागबेनीभन्दा माथिको तिरिखोला थुनिएर बाढी आएको सूचना पाएपछि घर खाली गराएकाले मानवीय क्षति हुनबाट जोगिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताउनुभयो । बस्तीभित्र बाढी पसेर हिलाम्मे भएको छ । जोमसोमबाट गएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन् । पाण्डा खोलाको बाढीले सुरक्षाकर्मीलाई समेत जोमसोमदेखि कागबेनी पुग्न समस्या भएको छ । प्रमुख जिल्ला अधिकारी अनुप केसीले कागबेनीमा विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बसेको बताउनुभयो । क्षतिको विवरण सङ्कलन, थप क्षति हुन नदिन गर्नुपर्ने काम, अवरुद्ध सडक, विद्युत् सुविधा आपूर्ति गराउने विषयमा बैठकमा छलफल भइरहेको उहाँले बताउनुभयो । दुई दिनदेखि मुस्ताङमा लगातार पानी परिरहेको छ । स्थानीयवासीका अनुसार यसअघिको वर्ष मुस्ताङमा यसपालिजस्तो धेरै र ठूलो वर्षा भएको थिएन । बर्सातका कारण मुस्ताङका अन्य खोलामा पनि बाढीको सतह बढेको छ । मुस्ताङको जोमसोम विमानस्थलमा रहेको मौसम मापन केन्द्र पछिल्लो २४ घण्टामा २५ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ । मुस्ताङको बाढीका कारण म्याग्दीको अन्नपूर्ण, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिका भएर बग्ने कालीगण्डकी नदीमा बाढीको सतह बढेको छ । जल तथा मौसम विज्ञान विभागले सोमवार बिहान म्याग्दीको कालीपुलमा कालीगण्डकीमा बाढीको सतह चार दशमलव ३१ मिटर पुगेको जनाएको छ । कालीगण्डकी पर्वत, बाग्लुङ, स्याङ्जा, गुल्मी, पाल्पा हुँदै देवघाटमा पुगेर त्रिवेणी नदीमा मिसिन्छ । भारी बर्सातका कारण कालीगण्डकी र सहायक नदीमा बाढी आएकाले म्याग्दीका तटीय क्षेत्रमा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो । तटीय क्षेत्रमा प्रहरी खटाएर अनुगमन गरिरहेका छौँ, उहाँले भन्नुभयो, ‘म्याग्दीमा क्षति गरिसकेको छैन । जोखिमयुक्त ठाउँमा सतर्कता अपनाउन र नदी किनारमा नजान अनुरोध गरेका छौँ ।’ अन्नपूर्ण गाउँपालिका–४ कोप्नेपानीको पाखोबाट कालीगण्डकीमा पहिरो खसेको छ । पानीको सतह बढ्दो क्रममा रहेकाले सम्भावित खतरालाई मध्यनजर गरेर जिल्लाका सबै सुरक्षा संयन्त्रलाई तयारीमा अवस्थामा राखिएको प्रजिअ पौडेलले बताउनुभयो । म्याग्दीको रघुगङ्गा गाउँपालिका २ र ३ को सिमानामा पर्ने अधेरीखोलामा पहिरोका कारण मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक एक हप्तायता अवरुद्ध छ । हवाई र सडक मार्गबाट सम्पर्क टुटेको मुस्ताङको जनजीवन प्रभावित बनेको गण्डकी प्रदेश सभा सदस्य विकल शेरचनले बताउनुभयो । मुस्ताङमा पेट्रोल डिजेललगायत इन्धनको अभाव हुन थालेको विषयमा प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो ।
तनहुँ: पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे–६ मौरीबजार खण्ड सञ्चालनमा आएको छ । मौरीबजारस्थित सडकमा माथिबाट खसेको पहिरोका कारण बिहान ७ बजेदेखि सडक दुईतर्फी अवरुद्ध भएकामा पहिरो हटाएर राजमार्ग पुनःसञ्चालन गराइएको हो । स्थानीय पालिका, विपद् व्यवस्थापन प्रहरी जनशक्ति र चिनियाँ कम्पनीसँगको समन्वयमा दुई डोजरको सहायताले पहिरो हटाएर राजमार्ग सुचारु गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । केही दिनदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको तनहुँ खण्डमा पहिरोको जोखिम बढेको छ । राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तार आयोजनाको कामका कारण राजमार्गका विभिन्न ठाउँमा पहिरोको जोखिम बढेको छ । आयोजनाले सडक छेउका भित्ता काट्ने काम गरेकाले वर्षाले पहिरो झर्ने गरेको छ । शनिबार र आइतबार तनहुँ खण्डका दुई ठाउँमा पहिरो गएको थियो । शनिबार साँझ आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरा नजिकै ठूला ढुङ्गा खसी सुक्खा पहिरो जाँदा केही समय राजमार्ग अवरुद्ध भएको थियो । राति नै ढुङ्गा पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको थियो भने आइतबार दिउँसोमात्रै राजमार्ग दुईतर्फी भएको थियो । आइतबार बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङमा पहिरो जाँदा अवरुद्ध सडक डेढ घण्टापछि सञ्चालनमा आएको थियो । पहिरो खसेर सडकमै लेदो जमेपछि सडक विभागसँग समन्वय गरी बाटो खुलाइएको थियो । वर्षाका कारण पृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरो जान थालेको छ । शुक्रबार मात्रै कन्टारमा सडक भाँसिएर चार घन्टा राजमार्ग अवरुद्ध भएको थियो । त्यसअघि गत मङ्गलबार व्यास नगरपालिका–१२ स्थित देउरालीमा सडक भासिँदा दिनभर यातयात अवरुद्ध भएको थियो ।

