काठमाडौं: मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। गत कारोबार दिन अर्थात् सोमबार प्रतितोला सात सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला पाँच सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १४ सय ३० रुपैयाँमा किनबेच भएको थियो। सोमबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार १ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
पोखरा: पृथ्वीनारायण क्याम्पसमा बैशाख ३ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको कार्यतालिका अनुसार चैत ५ गते स्ववियु निर्वाचन हुने भएपनि पोखराको पिएन क्याम्पसमा कर्मचारीले विद्यार्थीहरुको व्यक्तिगत विवरण चुहावत गरेको भन्दै स्ववियु निर्वाचन समितिको कार्यालयमा केही विद्यार्थी संगठनले ताला लगाउँदा निर्वाचन हुन सकेको थिएन । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन कार्यतालिका अनुसार चैत्र २७ गते बसेको बैठकले पिएन क्याम्पसमा बैशाख ३ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।
पोखरा: कास्कीमा लागू औषध दुब्र्यसनीको संख्या घटेको छ । चालु आर्थिक वर्ष २०७९/२०८० को पहिलो नौ महिना सम्ममा ५८ वटा मात्रै मुद्धा दर्ता भएका छन् । प्रेस क्लब गण्डकीले बुधबार पोखरामा आयोजना गरेको “लागू औषध दुब्र्यसनी विरुद्ध सञ्चारकर्मीको भुमिका” विषयक सचेतना मुलक कार्यक्रममा आर्थिक वर्ष २०७७/२०७८ मा १ सय ४९ थान र २०७८/२०७९ मा २ सय ४३ थान मुद्धा दर्ता भएको तथ्यांक सार्वजनीक गरिएको थियो । अघिल्लो वर्षको तथ्यांक र चालु आबको नौ महिनाको तथ्यांक हेर्दा लागूऔषध प्रयोगकर्ताको संख्या घटेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक तिलक मानन्धरले बताउनुभयो। अघिल्ला दुई वर्षको आधारमा अहिलेको नौ महिनामा दर्ता भएको मुद्धालाई विश्लेषण गर्दा घटेको देखिएको छ उहाँले भन्नुभयो, “अवको तीन महिनामा त्यती धेरै मुद्धा दर्ता हुने सम्भावना देखिदैन ।” त्यस्तै लागू औषध दुव्र्यसनकर्ताको उमेर अनुसार सबैभन्दा धेरै १५ देखि २४ वर्ष उमेर समुहका रहेका छन् । प्रहरी निरिक्षक मानन्धरका अनुसार १५ देखि २४ उमेर समुहका ५२ प्रतिशत रहेका छन् । भने ४२ प्रतिशत २५ देखि ३५ वर्षका रहेका रहेको उनले बताए । ३१ प्रतिशत ११ र १२ कक्षाका विद्यार्थी दुव्र्यसनीमा फसेको प्रहरी निरिक्षक मानन्धले बताउनुभयो। उहााँका अनुसार साथिसंगीहरुका कारण लतमा फस्नेहरुको संख्या दिन प्रतिदिन बढि रहेको प्रति अभिभावकहरु सचेत हुनु पर्ने बताउनुभयो। उहाँले अभिभावकहरुले आफ्ना वालवालिकाका बारेमा हरदम जानकारी राख्ने, वालवालिकाको हालसालैको फोटो सधै साथमा राख्ने, वालवालिकाको पहिरन, हुलिया बारेमा जानकारी राख्ने, साथी–सँगीको बारेमा जानकारी राख्ने, फोन नंबर राख्ने र स्कुल÷कलेज तथा अन्य रुटका बारेमा अभिभावकले सधै चनाखो भइ ध्यान दिनु पर्ने उल्लेख गर्नुभयो । बालबालिकाको बद्लिदो व्यवहार प्रति चनाखो रहने, वालवालिका अपराधकर्म तर्फ प्रेरित हुनसक्ने बारेमा सजक रहनुपर्नेमा सुझाव दिनुभयो । आफना वालवालिकालाईे घरको वातावरण वालवालिका मैत्री बनाउने, प्रतिकुल अवस्था जस्तै विपद्, आपराधिक घटना, बन्धक बनाइएको अवस्था, हराएको अवस्था आदिमा हुनसक्ने सम्भावित खतरामा अपनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं सामाजिक विकास समितका सदस्य धनकुमारी पोखरेल तिमिल्सेनाले लागू औषध बारे परिवारसम्मै सचेतना जगाउनुपर्ने खाँचो रहेको बताउनु भयो । उहाँले कुलतमा बालबालिका फस्ने गरेको बताउदै त्यसबाट जोगाउन साझा प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले लागू औषध सम्वन्धि विषयलाई नर्सरीदेखिनै पाठ्यपुस्तकमा समावेश गर्नसके रोक्न भुमिका खेल्ने बताउनुभयो। उहाँले लागु औषध रोक्न म र हामी भन्ने भावनाबाट सुरुवात गर्नुपर्नेमा जोड दिनुभयो ।
काठमाडौं: सहरी विकास मन्त्री सीता गुरूङले फोहोरलाई देखाएर राजनीति गर्नु नहुने बताएकी छन्। सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री गुरूङले काठमाडौंको फोहोर व्यवस्थापनका लागि मन्त्रालयलको समन्वय गर्ने मात्रै जिम्मेवारी रहेको बताइन्। उनले फोहोर व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाको भएको भन्दै मन्त्रालयले व्यवस्थापनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न कन्ज्युस्याइँ नगर्ने बताइन्। उनले महानगरको सिंहदरबारको फोहोर नउठाउने कदमको सम्बन्धमा मन्त्रालयमा छलफल भएको र समस्या समाधानका लागि समिति नै बनाएर अघि बढ्न लागिएको बताइन्। उनले फोहोरलाई देखाएर राजनीति गर्नु नहुने बताइन्। उनले भनिन्, ‘हामीले समन्वयकारी भूमिका निर्वाह गर्ने कुरामा कुनै पनि कन्ज्युस्याइँ हुँदैन। विगतमा यहाँको फोहोर व्यवस्थापनको निम्ति सहरी विकास मन्त्रालयले समन्वय गरेर बञ्चरेडाँडासम्मको सडक निर्माण र अर्को भौतिक पूर्वाधार संरचना निर्माणको लागि जुन जिम्मेवारी थियो त्यो पूरा गरिसकेको कारणले गर्दा अब हामीले समन्वय गर्ने काम मात्रै हो। हिजोमात्रै हामीले मन्त्रालयमा छलफल गरेका छौं। हामी तत्कालै बैठक बसेर एउटा समिति नै तयार गरेर त्यसबाट के गर्न सकिन्छ भन्ने एउटा निर्णय गरेर अगाडि बढ्ने भनेका छौं। फोहोरलाई देखाएर हामीले राजनीति होइन, निकास दिनुपर्छ। त्यो कुरामा हामी लागिपरेका छौं।’ समस्या समाधानका लागि सरकार लागि परेको मन्त्री गुरूङले बताइन्।
नेपालगञ्ज : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दस दलीय गठबन्धनले कुकर्म गरिरहेको आरोप लगाएका छन्। नेपालगञ्जमा सोमबार युवा संघको महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले राजनीतिक विचार नै नभएको वर्तमान गठबन्धन सरकारलाई निकम्मा सरकार भएको बताए। उनले पञ्चायत, राजतन्त्र ढाल्ने आफूहरू नै भएको र संघीय लोकतान्त्रिक गणतन्त्रमा गठे संस्कृति मौलाएको आरोप लगाए। 'कुनै बेला पञ्चायत पनि थियो। तर हाम्रै अगाडि गर्ल्याम गुर्लुम्म ढल्यो। घाम रहुन्जेल पञ्चायत रहन्छ भनिन्थ्यो। हामीले केही समयपछि नै ढल्छ भन्यौं। हामीले निरंकुश रातन्त्र पनि ढल्छ भनेका थियौं। त्यो पनि समाप्त भयो। आज संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ। यसमा पनि कतिपय विकृतिहरू आएको छ। गठे संस्कृत, यो गठबन्धनको संस्कृति। जसमा राजनीति छैन, विचार छैन। जेसुकै भए पनि जस्तो भए पनि एउटा निकम्मा सरकार बनाउनुपर्ने र कुकर्म गर्नुपर्ने स्थिति बनाएको छ,' उनले आरोप लगाए। उनले गठे संस्कृतिले नै देश आरोलो लगाएको बताए। उनले एमाले नेतृत्वको सरकारले देशलाई सही दिशार्फ लगेको दाबी गरे। उनले आफू प्रधानमन्त्री हुँदा देशमा विकासको मूल फुटेको बताए। उनले एमालेले काम गर्न सकिन्छ भनेर देखाएको बताए।
काठमाडौं : २५ वर्षदेखि फरार रहेका व्यक्ति पक्राउ परेका छन्। जिउ मास्ने बेच्ने मुद्दाको अनुसन्धानका सिलसिलामा वारदात पश्चात फरार रहेका काभ्रेको तेमाल गाउँपालिका-३ का ५९ वर्षीय ओमबहादुर तामाङ पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट पत्राचार भई आएकोमा निजको खोजतलास गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट गरेको हो।
काठमाडौं : थप १२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट २५६६ नमूना परीक्षण गर्दा १२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ९०३ र एन्टीजेनबाट १६६३ नमुना परीक्षण गर्दा पीसीआरबाट ७७ र एन्टिजेनबाट ४७ को रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा २९ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।
काठमाडौं: सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गरेको उजुरीका आधारमा प्रहरीले झापा गाउँपालिका–६ स्थायी घर भएका २० वर्षीय कादिर मोमिन पक्राउ गरेको हो । पक्राउ परेका मोमिनले पीडित महिलाको फेसबुक पेजको वाल–टाइमलाईमा अन्य महिलाको शरीरको तस्बिरमा जोडी बनाएको तस्बिरहरूको साथमा चरित्रहत्या हुने खालको अश्लील शब्द लेखि उक्त तस्बिर र भिडियोहरू पोष्ट गरी चरित्रहत्या गर्ने कार्यमा संलग्न रहेको पाइएको ब्यूरोले जनाएको छ । प्रहरी उपरीक्षक प्रवक्ता एवम् सूचना अधिकारी पशुपति कुमार रायले यसका साथै मोमिनले पीडित महिलाको टिकटक एकाउन्टमा राखिएका सामाग्रीहरूमा समेत अश्लील क्याप्स राखी पोष्ट गरी दुःख दिई चरित्रहत्या हुने कार्य गरेको जानकारी दिनुभयो । उहाँका अनुसार पीडित महिलाले चरित्रहत्या हुने कार्य गरेर दुःख दिइरहेकाले आवश्यक कारबाही गरी पाउ भनी ब्यूरोमा निवेदन दिएकी थिइन् । प्रवक्ता रायका अनुसार सोही निवेदनका आधारमा अनुसन्धान गर्दा झापा, झापा गाउँपालिका–६ स्थायी घर भएका मोमिनलाई ब्यूरोबाट खटिई गएको टोली र जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा चैत २४ गते सोही स्थानबाट पक्राउ गरिएको हो । पक्राउ परेका मोमिनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई चैत २६ गतेको आदेशअनुसार चार दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको उहाँको भनाइ छ ।
सियोल : विश्वव्यापी आर्थिक मन्दीको बढ्दो चिन्ताबीच मार्चमा दक्षिण कोरियाको बेरोजगारी दरमा छ प्रतिशतले वृद्धि भएको श्रम मन्त्रालयको तथ्यांकले देखाएको छ। दक्षिण कोरियाको रोजगार तथा श्रम मन्त्रालयका अनुसार मार्चमा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या एक लाख ४४ हजार थियो, जुन गत वर्षको सोही महिनाको तुलनामा ८.५ प्रतिशतले बढी हो भने यो वर्षको फेब्रुअरीमा रहेको १४ प्रतिशतको वृद्धिबाट तल झरेको हो। यस वर्ष घरेलु आर्थिक मन्दीको बारेमा बढ्दो चिन्ताको कारण यो सङ्ख्या मा सुधार भएको छ, जुन निरन्तर निर्यात गिरावट र कमजोर आवास बजारको कारण प्रेरित छ। रोजगारीको लाभका लागि आवेदकहरूको सङ्ख्या मुख्यतया विनिर्माण, निर्माण र शिक्षा सेवा क्षेत्रमा वृद्धि भएको छ। मार्चमा रोजगारी प्राप्त गर्नेहरूको सङ्ख्या कूल छ लाख ७५ हजार रहेको थियो। यो अघिल्लो वर्षको तुलनामा एक प्रतिशतले बढी हो। रोजगारीको खोजीमा रहेका लाभहरूको कूल भुक्तानी गत महिना तीन प्रतिशतले बढेर १.०३ ट्रिलियन वोन (७८०.३ मिलियन अमेरिकी डलर) पुगेको छ। यहाँको प्रतिव्यक्ति भुक्तानी १.९ प्रतिशतले बढेर १५ लाख ३० हजार वोन (१,१६० डलर) पुगेको छ।