बारागुङवासी भन्छन्, ‘ज्यान त बच्यो तर हेर्दाहेर्दै घरबारविहीन भयौँ’
मुस्ताङ | साउन २९, २०८०

मुस्ताङ: मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविका शिक्षक मनविर किसान गएराति खाना खाने तयारी गर्दै हुुनुहुन्थ्यो ।
तर, एक्कासी बाढी आएको सूचना पाएपछि कालीगण्डकी र कागखोलाको दोभान नजिकैको विद्यालयको छात्रावासमा बस्ने उहाँलगायत अन्य शिक्षक, विद्यार्थी र स्थानीयवासीको भागदौड मच्चियो ।
‘खाना खाने तयारी गर्दै थियौँ । बाढी आएको थाहा पाएपछि ज्यान बचाउन पकाएको खाना छाडेर अन्यत्र गएर बस्यौँ, उहाँले भन्नुभयो, यहाँका बूढापाका हिजो र अस्ति अहिलेसम्मकै ठूलो बर्सात भएको अनुभव सुनाउँछन् ।’
कागखोलाको सहायक तिरिखोला पहिरोले थुनिएर आएको बाढी प्रसिद्ध तीर्थस्थल र पर्यटकीयस्थल कागबेनीको बस्तीमा पसेर बितण्डा मच्चाएको हो । मुक्तिनाथबाट शुरु हुने कागखोला कागबेनीमा आएर कालीगण्डकीमा मिसिन्छ । तिरिखोलामा आएको बाढीले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढीले १० वटा घर बगाएको छ ।
यस्तै, एउटा प्रहरी चौकी र दुई वटा पुल पनि बाढीले बगाएको छ । हिजो बेलुका आएको बाढीले १० वटा घररहोटल, प्रहरी चौक, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मानिस ओहोरदोहोर गर्ने पुल, दुई गाडी र तीन विद्युतका पोल समेत बगाएको छ । तर, बाढीबाट कुनै मानवीय क्षति भने भएको छैन ।
कागबेनीकी कल्पना मगर बाढी आएको पूर्वसूचना पाएर भागेर ज्यान बचाउन सफल भए पनि घरबारविहीन हुनुपरेकोमा दुःखित हुनुभएको छ । ‘कागबेनीमा सबैको ज्यान बचेकोमा सुखी मान्नुपर्छु, उहाँले भन्नुभयो ,ज्यान त बच्यो तर हाम्रो घरबास केही रहेन ।’
गाउँपालिकाको केन्द्रसमेत रहेको कागबेनीमा बाढी पसेर भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले खोलाको छेउछाउमा रहेको २० वटाभन्दा बढी घर/होटल भत्काएको बताउनुभयो ।
‘कागबेनीका धेरैजसो घरभित्र बाढी पसेको छ । क्षतिको विवरण सङ्कलन भइरहेको छ’, उहाँले भन्नुभयो, ‘रातभर विस्थापितको व्यवस्थापनमा लाग्यौँ । बिहानदेखि क्षतिको विवरण सङ्कलन र थप क्षति हुन नदिन बाढी नियन्त्रणको काम भइरहेको छ ।’
कागबेनीको प्रहरी चौकीमा बाढीले क्षति पुर्याएपछि सुरक्षाकर्मीलाई गाउँपालिकाको कार्यालयमा राखिएको छ । प्रहरी चौकीका हतियार र सामग्री भने सुरक्षित रहेका छन् । कागबेनीको बीच भाग भएर कागखोला बग्छ ।
बस्तीभित्र कागखोला वारपार गर्न बनाइएका तीन वटा मान्छे हिँड्ने पक्की पुल बाढीले बगाएको छ । जोमसोम–कोरला सडक अन्तर्गत कागबेनीमा निर्माणको अन्तिम चरणमा रहेको मोटरेबल पुल बगाएको छ ।
पुलको स्ल्याब बाढीले बगाएर केही तल पुर्याएको छ । पुलसँग जोड्ने पहुँचमार्ग बगाएको छ । कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध बनाएको छ । लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको सदरमुकाम जोमसोमसँग यातायात सम्पर्कविच्छेद भएको हो ।
विद्युतका पोल पनि बाढीले बगाएकाले विद्युत् सुविधा अवरुद्ध भएको छ । पार्किङ गरेर राखेका गाडी पनि बाढीले बगाएको र पुरिएको बताइएको छ । कागबेनीमा पितृलाई तर्पण दिने ठाउँ बगाएको छ । भक्तजनले आवासका रुपमा प्रयोग गर्ने तीर्थयात्री निवासमा बाढी पसेको छ ।
नदी कटान नियन्त्रण गर्न बनाइएको पक्की संरचना र ग्याबियन पर्खाल बाढीले बगाएको छ । कागबेनीभन्दा माथिको तिरिखोला थुनिएर बाढी आएको सूचना पाएपछि घर खाली गराएकाले मानवीय क्षति हुनबाट जोगिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताउनुभयो ।
बस्तीभित्र बाढी पसेर हिलाम्मे भएको छ । जोमसोमबाट गएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन् । पाण्डा खोलाको बाढीले सुरक्षाकर्मीलाई समेत जोमसोमदेखि कागबेनी पुग्न समस्या भएको छ ।
प्रमुख जिल्ला अधिकारी अनुप केसीले कागबेनीमा विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बसेको बताउनुभयो । क्षतिको विवरण सङ्कलन, थप क्षति हुन नदिन गर्नुपर्ने काम, अवरुद्ध सडक, विद्युत् सुविधा आपूर्ति गराउने विषयमा बैठकमा छलफल भइरहेको उहाँले बताउनुभयो ।
दुई दिनदेखि मुस्ताङमा लगातार पानी परिरहेको छ । स्थानीयवासीका अनुसार यसअघिको वर्ष मुस्ताङमा यसपालिजस्तो धेरै र ठूलो वर्षा भएको थिएन । बर्सातका कारण मुस्ताङका अन्य खोलामा पनि बाढीको सतह बढेको छ । मुस्ताङको जोमसोम विमानस्थलमा रहेको मौसम मापन केन्द्र पछिल्लो २४ घण्टामा २५ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ ।
मुस्ताङको बाढीका कारण म्याग्दीको अन्नपूर्ण, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिका भएर बग्ने कालीगण्डकी नदीमा बाढीको सतह बढेको छ । जल तथा मौसम विज्ञान विभागले सोमवार बिहान म्याग्दीको कालीपुलमा कालीगण्डकीमा बाढीको सतह चार दशमलव ३१ मिटर पुगेको जनाएको छ ।
कालीगण्डकी पर्वत, बाग्लुङ, स्याङ्जा, गुल्मी, पाल्पा हुँदै देवघाटमा पुगेर त्रिवेणी नदीमा मिसिन्छ । भारी बर्सातका कारण कालीगण्डकी र सहायक नदीमा बाढी आएकाले म्याग्दीका तटीय क्षेत्रमा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो ।
तटीय क्षेत्रमा प्रहरी खटाएर अनुगमन गरिरहेका छौँ, उहाँले भन्नुभयो, ‘म्याग्दीमा क्षति गरिसकेको छैन । जोखिमयुक्त ठाउँमा सतर्कता अपनाउन र नदी किनारमा नजान अनुरोध गरेका छौँ ।’ अन्नपूर्ण गाउँपालिका–४ कोप्नेपानीको पाखोबाट कालीगण्डकीमा पहिरो खसेको छ ।
पानीको सतह बढ्दो क्रममा रहेकाले सम्भावित खतरालाई मध्यनजर गरेर जिल्लाका सबै सुरक्षा संयन्त्रलाई तयारीमा अवस्थामा राखिएको प्रजिअ पौडेलले बताउनुभयो । म्याग्दीको रघुगङ्गा गाउँपालिका २ र ३ को सिमानामा पर्ने अधेरीखोलामा पहिरोका कारण मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक एक हप्तायता अवरुद्ध छ ।
हवाई र सडक मार्गबाट सम्पर्क टुटेको मुस्ताङको जनजीवन प्रभावित बनेको गण्डकी प्रदेश सभा सदस्य विकल शेरचनले बताउनुभयो । मुस्ताङमा पेट्रोल डिजेललगायत इन्धनको अभाव हुन थालेको विषयमा प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो ।
काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...
सुनसरी: सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ...
काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...