धरान : सशस्त्र प्रहरीले धरानबाट ठूलो परिणामको प्रतिबन्धित लागू औषधसहित एकजनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीको टोलीले बुधबार राती धरान- १६ नौलो बस्तीबाट एक युवालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा स्थानीय १८ वर्षीय राजेश परियार रहेको सशत्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प धरानका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालले बताए। पक्राउ परेका परियारको साथबाट स्पास्पिन ७ सय २३ ट्याब्लेट, ट्रमाडोल ७ सय १८, ट्याब्लेट, गाजा ५० ग्राम र घरेलु हतियार बरामत गरिएको रिजालले बताएका छन्। धरान लागू औषध कारोबारको अखडा बनेपछी सशस्त्र प्रहरीले कारोबारमा संलग्नलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको सप्रनाउ रिजालले बताए। पक्राउ परेका परियारलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको रिजालले बताए।
काठमाडौं: बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भयो। उक्त दिन सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गर्न सफल भयो। सो दिन सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार रुपैयाँ बढेर प्रतितोला मूल्य एक लाख ११ हजार रुपैयाँ पुग्यो। बिहीबार भने नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको थियो। याे मूल्य अघिल्लाे दिनकाे तुलनामा प्रतितोला आठ सय रुपैयाँ घटेकाे हाे। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
काठमाडौं: चार विद्यार्थी सङ्गठनबीच त्रिभुवन विश्वविद्यालय (त्रिवि)का बाँकी रहेका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यही चैत ३० गते गर्ने सहमति भएको छ। उनीहरुले निर्वाचन बिथोल्ने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आज संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै यही चैत ५ गते स्ववियु निर्वाचन हुन नसकेका त्रिविका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ३० गते निर्वाचन गराउन सहमति गरेका हुन्। ‘देशभरि निर्वाचन हुन बाँकी रहेका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन गर्ने, निर्वाचन विथोलिने खालका गतिविधि नगर्ने र निर्वाचन भाँड्ने गरी कुनै पक्षबाट तालाबन्दी गरियो भने प्रशासनको सहयोगमा ताला तोडी चुनावी प्रक्रिया अगाडि बढाउन प्रतिबद्ध छौँ,’ संयुक्त विज्ञप्तिमा उल्लेख छ। भर्ना विवादका कारण स्ववियु निर्वाचन रोकिएका क्याम्पसमा विवादित विषयमाथि सत्यतथ्य छानबिनका लागि अध्ययन र अनुगमन गर्न विश्वविद्यालयको केन्द्रीय अनुगमन समितिलाई अनुरोध गरी निर्वाचन प्रक्रिया अगाडि बढाउनसमेत उनीहरूको माग छ। उपत्यकाका अमृत साइन्स, त्रिचन्द्र, पाटन संयुक्त क्याम्पस, विश्वभाषा, रत्नराज्य र नेपाल कमर्श क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ। यस्तै उपत्यकाबाहिर पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, चितवन इन्जिनियरिङ क्याम्पस र सिद्धनाथ बहुमुखी क्याम्पसमा निर्वाचन गर्न बाँकी छ। यही चैत ५ गते १४ वर्षपछि त्रिविका अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको थियो। केही क्याम्पसमा भर्ना र विद्यार्थी सङ्गठनबीच विवादका कारण निर्वाचन हुन सकेको थिएन।
काठमाडौं: वैशाख १० गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गर्दैछ। आयोगले यसअघि सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अन्तर्गत बिहीबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरी उनीहरूलाई चुनाव चिह्न प्रदान गरिनेछ। उम्मेदवारी फिर्ता लिनका लागि आयोगले बिहीबार दिउँसो १ बजेसम्मको समय निर्धारण गरेको छ। त्यसपछि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ। आयोगका अनुसार चितवन–२ मा २४ जना, तनहुँ–१ मा ९ जना र बारा–२ मा ३६ गरी कुल ६९ जनाले मनोनयन दर्ता गराएका छन्। मनोनयन दर्ता गराउनेहरूमध्ये ३३ जना राजनीतिक दलका उम्मेदवार छन् भने ३६ जना स्वतन्त्र उम्मेदवार छन्।
काठमाडौं: मोरङको ग्रामथानमा एउटै परीक्षा केन्द्रबाट एसईईका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। विहीबार बिहान जिल्लाको ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिदै गरेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए। ‘नक्कली परीक्षार्थी भेटिएपछि अहिले घटनाको अनुसन्धान भइरहेको छ,’ डिएसपी दाहालले भने,‘घटनास्थलमा प्रहरी र शिक्षा विकास समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमको टोली पुगेको छ।’ नक्कली परीक्षार्थी खुल्लातर्फका परीक्षा दिने रहेको परीक्षा केन्द्रअध्यक्ष तथा सरस्वती नमुना माविका प्रधानध्यापक अशोक लुईटेलले बताए। सरस्वती नमुनामा ८ वटा विद्यालयको सेन्टर रहेको छ। ‘प्रवेशपत्रको फोटोमा शंका लागेपछि परीक्षार्थीको जन्म मिति सोधेको थिए। भन्न नसकेपछि केरकार गर्दा नक्कली रहेको थाहा भयो,’ परीक्षा केन्द्र अध्यक्ष लुईटेलले भने। सरस्वती स्कुलमा ११ वटा कोठमा परीक्षा भइरहेको छ। ११ मध्ये ७ वटा कोठाबाट ५२ जना नक्कली परीक्षार्थी भेटिएको हो।
काठमाडौं: बिहीबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ९१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५१ पैसा कायम गरिएको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४ पैसा थियो। यो मूल्य अघिल्लो दिनको ८९ पैसा घटेको हो। युरोपियन युरो एकको खरिदमा भने १४३ रुपैयाँ २२ पैसा र बिक्रीमा १४३ रुपैयाँ ८७ पैसा पाइन्छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ १४ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५८ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६३ रुपैयाँ १७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९१ पैसा तोकिएको छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २९ रुपैयाँ ७६ पैसा र बिक्रीमा २९ रुपैयाँ ९० पैसा पाइन्छ। बिहीबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ५८ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ५४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ८१ पैसा तोकिएको छ।
काठमाडौं : वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन-२ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ। उनीविरूद्ध परेका तीन वटा उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदिएको छ। ‘उहाँविरूद्ध परेका तीन वटा उजुरीमा दाबी नपुग्ने भएकाले खारेज भएका छन् भने अर्को एउटामा सात दिने स्पष्टीकरण सोधिएको छ,’ जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले सेतोपाटीसँग भने,‘उहाँको उम्मेदवारी कायम भएको छ। अब स्पष्टीकरणबारे निर्वाचन आयोगको केन्द्रीय कार्यालयले निर्णय गर्नेछ।’ लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाई पुन: नागरिकता प्राप्ति गरेको भन्दै युवराज पौडेलले उजुरी दिएका थिए। उक्त उजुरीबारे लामिछानेसँग सात दिने स्पष्टीकरण सोधिएको हो। चैत २० गते उम्मेदवारी दर्ता दिएका २४ जनाकै उम्मेदवारी सदर भएको कार्कीले जानकारी दिए। कार्यालयले बिहीबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिएको छ। कार्यालयले भोलि नै उम्मेदवारको अन्तिम सूची प्रकाशन गर्ने र चुनाव चिन्ह वितरण गर्ने जनाएको छ।
काठमाडौं: बलात्कार आरोप लागेका न्यायाधिश भुवन गिरीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत कपिलवस्तुले उनीविरूद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको तहसिलदार गोकर्ण लम्सालले जानकारी दिए। उनी न्याय परिषदमा कार्यरत छन्। यसअघि उनी जिल्ला अदालत कपिलवस्तुमै कार्यरत थिए। गत फागुन दोस्रो साता उनलाई न्याय परिषदमा तानेको थियो। न्यायाधीश गिरीले आफूमाथि बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन्। पीडितले मंसिर पहिलो साता नै जाहेरी दिएकी थिइन्। तर प्रहरीले उनको जाहेरी दर्ता गर्न मानेको थिएन। पीडितले राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग र न्याय परिषदमा पनि निवेदन दिएकी थिइन्। न्यायाधीश गिरीलाई प्रहरीले पक्राउ नगरेको भन्दै पीडितले पटकपटक सर्वोच्च अदालत अगाडि पुगेर प्रदर्शन गर्ने गरेकी छन्।
चितवन : चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि रवि लामिछानेको उम्मेदवारी कायम भएको छ। निर्वाचन अधिकृतको कार्यालय भरतपुरले लामिछानेको उम्मेदवारी कायम गरेको हो। लामिछानेको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै उजुरी परेको थियो। आयोगले आवश्यक छानबिन गर्दा उम्मेदवारी बदर हुनुपर्ने स्पष्ट कारण नखुलेका कारण लामिछानेको उम्मेदवारी कायम गरेको मुख्य निर्वाचन अधिकृत बासुदेव शर्माले बताए। लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाका उमेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी, स्वतन्त्र उमेदवार सन्तोष थापा, स्वतन्त्र उमेदवार अम्बिका भट्टका प्रतिनिधि शिवहरी सुवेदी र युवराज सफलले उजुरी दर्ता गराएका थिए।