काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औँ नाडा अटो शोको उद्घाटन गर्नुभएको छ। भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको ब...

काठमाडौं : प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले एक दुई दिनमै पूर्णता पाउने बताएका छन् ।   बुधबार बिहान नेकपा (माओवादी केन्द्र) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले आयोजना गरेको राष्ट्रिय भेलामा प्रचण्डले आज वा भोलिमा सरकारले सतप्रतिशत पूर्णता पाउने बताएका हुन् ।   प्रचण्डले भने, ‘आज वा भोलिमा सरकारले सतप्रतिशत पूर्णता पाउँछ । यसपछि हामी नीति,कार्यक्रम र बजेटमा केन्द्रित हुन्छौँ ।’   प्रधानमन्त्री प्रचण्डले परम्परागत नीति,कार्यक्रम र बजेटले देशका समस्या सम्बोधन नगर्ने बताए । विगतभन्दा केही नयाँ, विगतभन्दा केही फरक र देशको अर्थतन्त्रमा गुणात्मक प्रभाव राख्ने योजनाहरू ल्याइने बताए । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने,‘संविधानसभाबाट नयाँ संविधान बनाउँदै गर्दा हामीले देशको राजनीतिक कस्तो हुने,अर्थनीति कस्तो हुने,शासन प्रणाली कस्तो हुने भन्नेबारे लामो,गम्भीर,बहुपक्षीय र बहुआयमिक छलफल गरेका थियौँ । त्यही छलफलको जगमा अबको राज्य समाजवादउन्मुख हुनेछ भनिएको हो । समाजवादउन्मुख राज्यको महत्वपूर्ण आधार सहकारी आन्दोलन हो । तसर्थ, हामीले यसलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्छ ।’   ‘संविधानमा तीन खम्बे अर्थनीतिको व्यवस्था गरिएको छ– नीजि,साझेदारी र सहकारी । यो निकै ठूलो संघर्ष र बलिदानको जगबाट प्राप्त भएको उपलब्धि हो,' प्रधानमन्त्री प्रचण्डले भने, ‘संविधानले परिलक्षित गरेअनुसार समाजवादको आधार तयार पार्नसमेत सहकारी क्षेत्रको निकै ठूलो भूमिका रहन्छ । संविधानमा जे–जति मौलिक हकको व्यवस्था गरिएको छ,त्योसमेत समाजवादको आधार निर्माणसँग सम्बन्धित छ ।’   ‘संविधान र संघीयताको कार्यान्वयनमा हाम्रा बहसहरू छन् । कतिपय शक्तिहरू परिवर्तनका मुद्दाहरु उल्टाउने, समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने काम गरिरहेका छन्,' प्रधानमन्त्रीले भने,‘सहकारी आन्दोलनलाई पूँजीवादीकरण गर्ने सोच पनि समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने विचार र मनोविज्ञानद्वारा निर्देशित छ । सहकारी आन्दोलनलाई उत्पादनसँग नजोडी समाजवादको आधार निर्माण हुन सक्दैन । त्यसका लागि कृषिमा आधारित उत्पादन सहकारीहरूको निर्माण,परिचालन,बजारीकरण आवश्यक छ ।’

भक्तपुर :चाँगुनारायण नगरपालिका-२ बर्खेबाट अन्दाजी ९ सय ९८ ग्राम तौल भएको सालकको खपेटासहित दुईजनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरूमा चाँगुनारायण नगरपालिका-२ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ घर भएका २२ वर्षीय आसुतोष थपलिया र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भएका २६ वर्षीय अमृत गजमेर रहेका छन् ।  विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले बाग्मती प्रदेश ०२-०२० प ८४९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त तौलको खपेटासहित फेला पारी पक्राउ गरेको हो ।   घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

काठमाडौं : सर्लाहीको मलंगवा नगरपालिका ८ भन्सार सीमा इलाकाबाट करिब ३ लाख २० हजार नेपाली रुपैयाँसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।    भारत घर भएका २७ वर्षीय राकेश कुमार तिवारीलाई सीमा सुरक्षा गुल्म मलंगवा (बिओपी मलंगवा) ले नगदसहित नियन्त्रणमा लिइएको हो ।   चेकजाँचका क्रममा उनको साथमा रहेको रकमको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको  प्रहरीले जनाएको छ।  बरामद भएको रुपैयाँमा १ सय दरको २ सयवटा, ५ सय दरको २ सय ७० वटा र १ हजार दरको १ सय ६५ वटा नोट रहेको छ ।   उनलाई  आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा बुझाइएको प्रहरीले जनाएको छ।

काठमाडौं:  म्याग्दीका मगर समुदाय प्रकृतिलाई खुसी बनाउने ‘भुमे पूजा’मा जुटेपछि मगर बस्ती मौलिक सांस्कृतिक उत्सवमय भएको छ।    रघुगङ्गा गाउँपालिका–१ बेग, बाँदुक, वडा नं ७ चिमखोलामा मङ्गलबार धुमधामका साथ भुमे पूजा गरिएको छ। हरेक वर्ष चैत महिनाको उजेली मङ्गलबारका दिन परम्परागतरूपमा गरिँदै आइएको भुमे पूजालाई उनीहरुले यस वर्ष पनि निरन्तरता दिएका छन्।    खेती किसानी गर्ने परम्परागत पेसा अँगालेका मगर समुदाय वन, जङ्गल छेउछाउ बसोबास गर्ने भएकाले प्रकृतिलाई खुसी बनाएर कुनै प्राकृतिक प्रकोप र विपत्ति नहोस् भन्ने उद्देश्यले भुमे पूजा गर्ने गरेका हुन्।    बर्खा लाग्नु अघि बाढी, पहिरो, असिनालगायत प्राकृतिक प्रकोप नहोस् भन्ने कामनासहित प्रकृति पूजाको रूपमा भुमे अर्थात् भूमिको पूजा गर्ने चलन रहेको रघुगङ्गा–७ का वडाध्यक्ष थकबहादुर पाइजाले बताए।    चिमखोलामा भूमे, मन्डली र ताप्केभेरास्थित भुमेथानको पूजा गरिएको छ। चिमखोला गाउँको शिरमा रहेको ऐतिहासिक मन्डली थान र सेवाङमा रहेको भूमे थानमा आफ्नो मनोकामना पूरा हुने विश्वासले जिल्लाको विभिन्न ठाउँबाट आएका भक्तजन आएका थिए।   ‘‘आपत्विपत्मा मण्डली र भुमे देवतलाई गुहार माग्र्छौँ, मनोकाङ्क्षा पूरा भएपछि भाकलस्वरुप थानमा आएर पन्च्योल स्वरुप पूजा गर्ने चलन छ,’ अध्यक्ष पाइजाले भने।    चिमखोलामा मण्डली बजै र भुमे थानमा अहिलेसम्मकै धेरै भक्तजन आएका थिए। तीन सय बढीले पन्च्योल नै चढाएका छन्। भुमेथानमा साँढ, मण्डली बजैको थानलाई पाठीको बलि दिने गरिन्छ। मन्डली थानमा आएका भक्तजनले परेवा, नरिवललगायत चढाएरसमेत पूजा गर्छन्।   मन्डली थानको प्रचार–प्रसार हुन थालेपछि हरेक वर्ष यहाँ पूजा गर्न आउनेको सङ्ख्या बढेको थान संरक्षण एवं व्यवस्थापन समितिका अध्यक्ष याम रोकाले बताए। यहाँ भुमे देवतालाई खुसी बनाउन कोदोको छ्याङ खाएर रमाइलो गर्ने चलन छ।    गाउँसभाबाट भुमे पूजाका लागि एक महिनाअघि नै छ्याङ बनाउने जाँड राख्न छेमा (महिला) छनोट गरेपछि उनीहरूले विभिन्न टोलमा छुट्टाछुट्टै समूह बनाएर प्रत्येक घरबाट कोदो, चामल र नगद सङ्कलन गरी कोदोको छ्याङ बनाउन जाँड राख्ने चलन  छ।    छेमाहरूले एक महिनाअघि राखेको जाँडलाई भुमेथान परिसरमा विधिपूर्वक चढाएर खाने तथा भुमे देवतलाई खुसी बनाउन सोही छ्याङ र खाना पकाउँदा अँगेनामा आउने अङ्गारसमेत एकअर्कालाई दलेर रमाइलो गर्ने चलन छ।   भुमेथानमा मौलिक संस्कृतिअनुसार पूजा गरेपछि लोपोन्मुख अवस्थामा रहेको पुख्र्यौली सेदो गीत, भैच मायालेलगायत गीतमा नाचगान गर्दै गाउँ फर्कँदा स्थानीय मण्डली युवा क्लबले ज्येष्ठ नागरिक र अगुवालाई काँधमा बोकेर सम्मान गर्ने चलन छ।    यसैबीच भुमे पूजाको अवसरमा चिमखोलामा विविध सांस्कृतिक एवं खेलकुद मेला सुरु भएको छ। यता रघुगङ्गा–१ बेग र बाँदुक गाउँमा समेत धुमधामका साथ भुमे पूजा गरिएको छ। भुमे पूजामा सरिक हुन सहरदेखि प्रवाससम्म छरिएर बसेका पनि गाउँ फर्कने गर्छन्।   यहाँ कुखुराको भाले, बोका र राँगोको बलि दिएर भुमे पूजा गर्ने चलन छ। प्रकृृतिलाई खुसी बनाउन गरिने भुमे पूजाको महिमा बढ्दै गएको र देश तथा विदेशमा रहेका पनि गाउँ फर्कने गरेको स्थानीय महादेव माविका प्रधानाध्यापक दुतबहादुर गर्वुजाले बताए।  भूमे पूजामा मौलिक पुख्र्यौली नाचसँगै नौमती पञ्चेबाजामा नाचगान गरेर उत्सव मनाउने भएकाले यतिबेला मगर समुदायको बसोबास रहेका बस्ती उत्सवमय बन्न थालेका छन्। मगर समुदायको बाक्लो बसोबास रहेको रघुगङ्गा–४ दग्नाम र दर्मिजामा भने जेठको उजेली मङ्गलबार भुमे पूजा गरिन्छ भने वडा नं ६ पाखापानीमा वैशाखमा गर्ने चलन छ। भुमे पूजाको अवसरमा भुमे थानसँगै खोलाखोल्सा र धुरीमा रहेका अन्य देवी–देवताको समेत पूजा गर्ने चलन छ। 

काठमाडौं:  नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।   नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४ पैसा कायम गरिएको छ।    त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४३ रुपैयाँ ५३ पैसा र बिक्रीमा १४४ रुपैयाँ १९ पैसा पाइन्छ।    बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६ पैसा तोकिएको छ।    त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ८१ पैसा र बिक्रीमा ८९ रुपैयाँ २२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९८ रुपैयाँ ४२ पैसा पाइन्छ।   यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ४ पैसा र बिक्रीदर ३५ रुपैयाँ २० पैसा तोकेको छ।   युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २९ रुपैयाँ ८३ पैसा र बिक्रीमा २९ रुपैयाँ ९७ पैसा पाइन्छ।   बुधबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ६३ पैसा र बिक्रीमा ४३० रुपैयाँ ५९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५० रुपैयाँ १९ पैसा तोकिएको छ।

नवलपुर:  विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा धमाधम कालोपत्र भइरहेको छ । गैँडाकोटको भेडाबारी क्षेत्रमा गरिएको परीक्षण सफल भएपछि कावासोती क्षेत्रमा हाल कालोपत्रको काम भइरहेको छ ।   सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जीनियरिङ कर्पोरेशन लिमिटेडका ठेक्का व्यवस्थापक राजेश झाले हालसम्म तीन किलोमिटरभन्दा बढी सडक कालोपत्र गरिएको जानकारी दिनुभयो । “हामीले यस वर्ष २० किलोमिटरभन्दा बढी कालोपत्र गर्ने योजनाका साथ काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “गैँडाकोटको भेडाबारीबाट झराही खोला, रजहरमा दुई किलोमिटर क्षेत्र तथा देवचुलीको लोकाहाबाट कावासोतीको डण्डासम्म कालोपत्र गर्ने गरी काम अगाडि बढाएका छौँ ।” अहिले कालोपत्र भइरहेको क्षेत्रबाहेक थप पाँच किलोमिटर सडक कालोपत्रको तयारी छ ।   सडक विस्तारका लागि निर्माण कम्पनीले एक हजारभन्दा बढी जनशक्ति तथा दुई सय बढी उपकरणको प्रयोग गरिरहेको झाले बताउनुभयो । सडक विस्तारका लागि ८० टिपर, ३० एक्साभेटर, १३ सेट रोलर र १३ सेट ग्रेडर तथा डोजरसहितका उपकरणको प्रयोग गरिएको छ । डण्डास्थित अक्सपाल्ट प्लान्टबाट उत्पादित सामग्री लगेर कालोपत्रको काम भइरहेको छ । चालु आर्थिक वर्षभित्र ५० प्रतिशत काम सक्ने लक्ष्य रहेको भए पनि वर्षातलगायत कारण काममा ढिला हुनसक्ने ठेक्का व्यवस्थापक झाले बताउनुभयो ।   नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जीनियर धीरज ढकालले हालसम्मको प्रगति ३० दशमलव पाँच प्रतिशत रहेको बताउनुभयो । हाल सो सडकमा कल्भर्ट निर्माणलगायत काम भइरहेको छ । उहाँले भन्नुभयो, “मासिक तीन प्रतिशतभन्दा बढी प्रगति हुने गरी काम भइरहेको छ ।”   सडक विस्तारका लागि माटो फिलिङ गर्ने, बिजुलीको पोल सार्ने काम सँगसँगै भइरहेको छ । सडक विस्तारका लागि आवश्यक पर्ने माटो, ढुङ्गा, गिट्टीलगायत कच्चा पदार्थको समस्या छैन । माटो तथा ढुङ्गा, गिट्टीका लागि स्थानीय तहले सहयोग गरेका छन् । चार वर्षअघि विस्तारको काम सुरु भएको नारायणगढ–बुटवल खण्डको सहरी क्षेत्रमा चार लेनका अतिरिक्त दुई लेन तथा ग्रामीण क्षेत्रमा चार लेनमा राजमार्ग फराकिलो गरिँदै छ । दाउन्ने पहाडको पाँच किलोमिटर क्षेत्रमा भौगोलिक अवस्थाका कारण सडक तीन लेन विस्तार गर्ने गरी ठेक्का सम्झौता गरिएको छ । 

काठमाडौँ:  सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ ।   यसअघि चैत ५ गतेको आफ्नै रेकर्ड ब्रेक गर्दै सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको हो । गत चैत ५ गते छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो ।    अघिल्लो दिनको मूल्यमा आज एकै दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो ।    यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ हजार रुपैयाँले नै बढ्दै १ लाख १० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  यता चाँदीको मूल्य भने आज स्थिर रहेको छ । प्रतितोला १ हजार ४ सय रुपैयाँमा बजारमा किनबेच भइरहेको महासङ्घले जनाएको छ । 

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध परेको रिटमा आज सुनुवाइ हुने भएको छ।   युवराज पौडेल (सफल) ले दिएको रिटको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा हुन लागेको छ।   यसअघि हिजो (मंगलबार) उक्त रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा  परेको थियो।  न्यायाधीश सिन्हाले रविको नागरिकतासम्बन्धी मुद्दा हेरेको इजलासमा आफू पनि भएकाले एक खालको धारणा दिइसकेकाले यो मुद्दा आफूले हेर्न नमिल्ने बताएपछि मंगलबार सुनुवाइ हुन सकेको थिएन।    लामिछानेले झुटा विवरण दिएर राहदानी बनाएको अभियोगमा मुद्दा चलाउन नपर्ने भनी महान्यायाधिवक्ताले गरेको निर्णय दुराग्रहपूर्ण रहेको भन्दै पौडेल सर्वोच्च अदालत गएका हुन्।   लामिछानेमाथि राहदानी विवादमा मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर हुनुपर्ने पौडेलको पहिलो माग छ।   उनको रिटमा दोस्रो माग छ- रवि लामिछाने उपर झुटा विवरण दिएर राहदानी बनाएको मुद्दा चलाउनु भनी परमादेश जारी गरिपाउँ। ​ महान्यायाधिवक्ताले मुद्दा नचल्ने भनी गरेको निर्णय कार्यान्वयन नगर्नु/नगराउनु भन्दै अन्तरिम आदेश जारी हुनुपर्ने उनको तेस्रो माग छ।   महान्यायाधिवक्तालाई मुद्दा चलाउने वा नचलाउने निर्णय गर्ने अधिकार भए पनि त्यस्तो अधिकारको प्रयोग निष्पक्ष ढंगले गरेको हुनुपर्नेमा नभएको भन्दै पौडेल रिट लिएर सर्वोच्च गएका हुन्।   शंकित व्यक्ति अनुसन्धानबाट दोषी देखिएको खण्डमा महान्यायाधिवक्ताको चाहनाले मात्र मुद्दा नचल्ने निर्णय गर्न नमिल्ने भनेर मोहम्मद अफताफको मुद्दामा सर्वोच्च अदालतले व्याख्या गरेको उनको रिटमा उल्लेख छ।   संविधानको धारा १५८ (२)ले महान्यायाधिवक्तालाई मुद्दा चलाउने वा नचलाउने अन्तिम निर्णय गर्ने अधिकार दिएको छ।   तर त्यो अधिकार स्वेच्छाचारी तरिकाले प्रयोग गर्न नपाइने पौडेलको रिटमा उल्लेख छ।   राजनैतिक स्वार्थ पूर्ति गर्नका महान्यायाधिवक्ताले रवि लामिछानेमाथि मुद्दा नचलाउने निर्णय गरेको पनि रिटमा उल्लेख छ।   ‘रवि लामिछानेले विदेशी नागरिक रहेको बेलामा आफू नेपाली नागरिक भएको झुटा विवरण पेश गरी प्राप्त गरेको स्थापित हुँदा हुँदै मुद्दा नचल्ने निर्णय गर्नु संविधानले महान्यायाधीवक्तालाई दिएको अधिकार दुरूपयोग गर्नु हो,’  पौडेलको रिटमा उल्लेख छ, ‘राजनैतिक स्वार्थ पूर्ति गर्न वा राजनैतिक स्वार्थलाई टेवा दिन संवैधानिक व्यवस्था दुरूपयोग गरिएको हो भने सो विषय गम्भीर बन्दछ।’   महान्यायाधिवक्ता पोखरेलले रवि लामिछानेमाथि मुद्दा नचलाउने निर्णय गर्ने दिन राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू महान्यायाधिवक्ता कार्यालय पुगेको  थिए भन्ने खबर बाहिरिएको र सो कुरा बुझ्न सिसिटिभी हेरियोस् भन्ने माग पनि पौडेलले गरेका छन्।   युवराज पौडेल सफलले दिएको रिट सोमबार दर्ता भइसकेको छ। मंगलबार यसको पहिलो सुनुवाइको लागि पेशी तोकिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताएका छन्।   चैत ६ गते महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरूद्ध राहदानी दुरूपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए।   त्यसअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय पाटनले लामिछानेविरूद्ध मुद्दा चलाउन आवश्यक नभएको प्रतिवेदन महान्यायाधिवक्ता कार्यालयमा बुझाएका थिए।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने दिन नै महान्यायाधिवक्ता पोखरेलले लामिछानेमाथि मुद्दा नचलाउने निर्णय गरेका थिए।   अमेरिकी राहदानी हुँदाहुँदै लामिछानेले नेपाली राहदानी लिएको भन्दै उनीमाथि अनुसन्धान गरेर मुद्दा चलाउन गृह मन्त्रालयमा उजुरी परेको थियो। गृहले अनुसन्धानका लागि काठमाडौं प्रहरीमा पठाएको हो। झुटा विवरण दिएर राहदानी बनाउनु नेपालको कानुनका नजरमा फौजदारी अपराध हो।   कसैले झुटा विवरण दिएर राहदानी वा यात्रा अनुमति लिने वा लिने प्रयत्न गरेमा पनि कानुनले सजाय तोकेको छ।   राहदानी ऐन २०७६ को दफा २१ (क) मा झुटा विवरण दिइ राहदानी लिन नहुने उल्लेख छ। यदि लिएमा भने दफा २२ बमोजिम दुई लाखदेखि पाँचलाख रूपैयाँसम्म जरिवाना वा एकवर्षदेखि ३ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

काठमाडौं : आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।    मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।   बुधबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।