काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औँ नाडा अटो शोको उद्घाटन गर्नुभएको छ। भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको ब...

काठमाडौं : प्रधान सेनापति प्रभुराम शर्माले सुसङ्गठित सेना नै राष्ट्रिय सुरक्षाको आधारशीला भएको बताएका छन्। । महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतना हेडक्वाटर्रमा भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै प्रधानसेनापति शर्माले सेना बलियो भएमा मुलुकको राष्ट्रिय सुरक्षा र हितको संरक्षण हुने बताए।   प्रधान सेनापति शर्माले नेपालको स्वतन्त्रता,सार्वभौम सत्ता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको प्रमुख जिम्मेवारी रहेको उल्लेख गरे। विकास निर्माण र पर्यावरण संरक्षण गर्नुसमेत सेनाको दायित्व भएको उनको भनाइ छ।    'हामी कमजोर हुनु भनेको राष्ट्रिय सुरक्षा र हितलाई खलल पुर्‍याउने तत्व सलबलाउनु हो । तसर्थ, नेपाली सेना यस विषयमा सदैव सजग र सतर्क रहिआएको छ ।' समयानुकूल आफूलाई तयार गरेर मुलुकको आवश्यकता अनुसार परिचालित हुन हरहमेसा सेना तत्पर रहेको उनको भनाइ छ । 'समपर्ण भाव, चेन अफ कमाण्ड तथा एकता नै सेनाको शक्ति हो,'यी कुरालाई सधैं सबैले स्मरण गरेर अघि बढ्नुपर्ने प्रधान सेनापति शर्माले उल्लेख गरे।   प्रधान सेनापतिले लामो सैनिक जीवनको दौरान प्राप्त ज्ञान र सीपलाई आफू बसोबास गरिरहेको स्थानमा प्रयोग गर्दै सदैव राष्ट्रको हित साथै नेपाली जनताको सेवामा आ-आफ्नो क्षेत्रबाट समर्पित रही आफूलाई सदैव एक अनुशासित सैनिक र सच्चा नेपाली नागरिकको रुपमा प्रस्तुत गर्न आग्रह गरे।   प्रधान सेनापतिले मधेश प्रदेशका हरेक जिल्लाबाट सर्वसाधारण नागरिकका जेहेन्दार १ छोरा र १ छोरी गरी १६ जनालाई सैनिक विद्यालय बर्दिबासमा पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गर्ने जानकारी गराए। सम्बोधनकै क्रममा प्रधान सेनापतिले भूतपूर्व सैनिकहरूको जीवनलाई थोरै भएपनि सरल,सहज र सुखी बनाउन नेपाली सेना प्रयत्नशील रहेको बताए। मधेस प्रदेशका बासिन्दालाई नेपाली सेनामा भर्नामा आकर्षण बढाउन सिराहा,पर्सा र सर्लाहीमा तैनाथ नेपाली सेनाका युनिटहरूमा भर्ना छनौट भइरहेको र निकट भविष्यमा अन्य जिल्लामा पनि भर्ना छनौट केन्द्र तोकिने बताए।   हाल निवृत्तिभरणमा राजीनामा स्वीकृत भएका भूपू सैनिकको सङ्ख्या ८१ हजार छ सय ४३ रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या १५ हजार आठ सय ७२ समेत गरी कूल निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या ९७ हजार पाँच सय १५ जना रहेको छ ।   सम्मेलनमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, बारा, पर्सा, रौतहट र सप्तरीमा स्थायी बसोबास गर्ने करिब दुई हजार भूपू सै​निकको सहभागिता रहेको थियो।

काठमाडौं : नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले देशमा उत्पादित विद्युत् यहीभित्र खपत गर्न क्षमता वृद्धि आफ्नो मुख्य प्राथमिकतामा रहेको बताएका छन्।     नेपाल विद्युत प्राधिकरणले सोमबार गरेको बधाई, शुभकामना तथा स्वागत कार्यक्रममा मन्त्री बस्नेतले विद्युत् नपुगेका ठाउँमा सेवा विस्तार, प्रसारण र वितरण प्रणालीका पूर्वाधारलाई सुदृढीकरण तथा विस्तार गरी खपत क्षमता विस्तार गरिने बताए।    ‘विद्युत्को आन्तरिक खपत क्षमता वृद्धि गरी बढी भएको विद्युतको व्यवस्थापन गर्नुपर्छ, देशभित्र खपत गरी बढी भएको विद्युत् त्यसै खेर फाल्न त मिलेन? त्यसलाई निर्यात गर्नु पर्छ,’ मन्त्री बस्नेतले भने।  ‘पूर्वाधार विस्तारका लागि आवश्यक पर्ने लगानी जुटाउन अर्थ मन्त्रालय लगायतका निकायहरूसँग आवश्यक समन्वय गरिने छ।’   जलविद्युत् तथा प्रसारण लाइन आयोजना निर्माणमा वन क्षेत्रको प्रयोग तथा रुख कटानमा देखिएको समस्याका विषयमा आफू जानकार रहेको उल्लेख गर्दै पूर्व वनमन्त्री समेत रहेका मन्त्री बस्नेतले वन र सुरक्षाका कारण आयोजना निर्माणमा हुने ढिलासुस्ती रोक्न आफू सक्रियताका साथ लाग्ने बताए।     ऊर्जा सचिव दिनेश कुमार घिमिरेले आन्तरिक विद्युत खपत बढाउन प्रसारण तथा वितरण प्रणालीका संरचनाहरूको सुधार तथा विस्तार, रणनीतिक रुपका ठूला जलाशययुक्त जलविद्युत आयोजनाहरूको निर्माण र विद्युत् सेवा विस्तारमा जोड दिइनुपर्ने बताए।    प्राधिकरणका कार्यकारी निर्देशककुलमान घिसिङले संस्थाको विस्तृत विवरण प्रस्तुत गर्दै वर्षायामको विद्युत् व्यवस्थापन अहिलेको प्रमुख चुनौती रहेको बताए।  

काठमाडौं : थप ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।    पछिल्लो २४ घन्टामा देशभरबाट ११५१ नमूना परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।   मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३४५ र एन्टीजेनबाट ८०६ नमुना परीक्षण गर्दा पीसीआरबाट ४९ र एन्टिजेनबाट २७ को रिपोर्ट पोजिटिभ आएको हो।   यो अवधिमा १६ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २२७ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ। 

चितवन:  चितवन-२ मा हुने उपनिर्वाचनका लागि नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन्। उनी एमाले चितवनका अध्यक्ष हुन्।   उनले पार्टीका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन्।   गत मंसिरमा प्रतिनिधि सभाको निर्वाचनका लागि उनले चितवन-३ बाट उम्मेदवारी दर्ता गरेका थिए। तर अन्तिम समयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पत्र पठाएर उनको उम्मेदवारी फिर्ता लिएका थिए। एमालेले नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्‍यो। तर उनी पराजित भए।   गत निर्वाचनमा चितवन-२ बाट एमालेका कृष्णभक्त पोखरेल उम्मेदवार थिए। उनी १४६४७ भोट ल्याएर तेस्रो भए। पोखरेल २०७० र २०७४ सालमा उक्त क्षेत्रबाट निर्वाचित भएका थिए। गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा यो क्षेत्रका वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत जोड्दा नेकपा एमालेको सबैभन्दा बढी थियो।

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ–२ मा गोविन्द भट्टराईलाई जिताउन अपिल गरेका छन् ।   तनहुँमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले सत्ता गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई विजयी गराएर पठाउन मतदातासमक्ष आग्रह गरेका हुन् ।   थापाले भने,‘गोविन्द भट्टराईबाट सालिनता सिकेका छौं । कहिलेकाहीँ मिलाउने क्षमता पनि राख्नुपर्छ । भट्टराई तपाईंको माटोले चिनेको उम्मेदवार हो । उहाँले तनहुँबाट जित्दै गर्दा नयाँ र पुराना साथीलाई मिलाएर लैजानुहुन्छ । ’    कतिपय सांसद् कता जान्छन् भन्ने अत्तोपत् समेत नहुने उनको भनाइ छ।   थापाले भने,‘कतिपय सांसद् बिलाउँछन् । गोविन्द भट्टराई हराउने,कराउने,बिलाउने सांसद् हुनेछैनन् । तपाईंहरूले निर्वाचित गराएर पठाएको सांसद् राष्ट्रपति हुनुभयो । ’   थापाले गोविन्दराज जोशीलगायतसँग पनि कुराकानी गरेर पार्टीलाई एकढिक्का बनाउँदै लगिने बताए । थापाले भने,‘घुम्दाघुम्दै आउने टुरिष्ट उम्मेदवारलाई यो पटक तपाईंहरूले भन्नुपर्छ– तनहुँको निर्वाचन क्षेत्र अरू ठाउँजस्तो होइन । यहाँको कांग्रेस भनेको चोकमा राखेको मादलजस्तो होइन, जो आयो  त्यसले बजाउँदै हिँडने ।’

काठमाडौं : रसुवागढी नाकाबाट चिनियाँ पर्यटक भित्रन थालेका छन्। चीनले शनिबारदेखि नाका पूर्ण रूपमा सञ्चालन गरेसँगै चिनियाँ पर्यटक नेपाल भित्रन थालेका हुन्।    शनिबार र आइतबार नाकाबाट २६ जना पर्यटक भित्रिएका अध्यागमन कार्यालय रसुवाका प्रमुख कृष्णप्रसाद पौडेलले बताए।    उनका अनुसार चिनियाँ  पर्यटकहरू काठमाडौंका आएका छन्। साथै नेपालबाट आइतबार पाँचजना चिनियाँ पर्यटक केरुङतर्फ गएका छन्। केरुङ जानका लागि एन्टिजेन परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ। कोभिड-१९ का कारण लामो समयसम्म नाकाबाट मान्छेको आवतजावत रोकिएको थियो।    रसुवागढी नाकाबाट सन् २०१५ अप्रिलदेखि पर्यटक आउने क्रम सुरु भएको हो। कोभिड-१९ सुरु हुनुपूर्व नाकाबाट चिनियाँसहित विभिन्न देशका पर्यटक नाकाबाट आउने गरेका थिए।   रसुवागढी नाका हुँदै आएका पर्यटक सिधै काठमाडौं, पोखरा तथा लुम्बिनी जाने गरेका छन् । नाकाबाट आउने पर्यटकमध्ये करिब ६० देखि ७० प्रतिशत हिस्सा चिनियाँ पर्यटकले ओगटेका छन् ।  

काठमाडौं : नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।   सेयर कारोबारको दोस्रो दिन आज नेप्से परिसूचक १६.६७ अंकले घटेर १८७१.८८ विन्दुमा पुगेको हो। सेन्सेटिभ इन्डेक्स ३.०५ अंकले घटेर ३५२.७१ विन्दुमा  अडिएको छ।   आज २६० कम्पनीको २८ लाख २९ हजार ४२६ कित्ता सेयर ९२ करोड २ लाख ४९ हजार ११ रुपैयाँको सेयर खरिदबिक्री भयो। दोहोरो अंकले ओरालो लागेको सेयर बजारमा एउटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो।   कालिञ्चोक दर्शनको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो। यसदिन प्रभु बैंक डिभेन्चर २०८७ को सेयर मूल्य १० प्रतिशतले ओरालो लाग्यो।   कारोबार रकमका आधारमा नविल बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको ३ करोड ६२ लाख मूल्य बराबरको सेयर कारोबार भयो। एनआईसी एसिया बैंकको २ करोड बढि मूल्यको सेयर कारोबार भयो।   कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को मूल्य घट्यो भने १ को मात्रै बढ्यो। ट्रेडिङ उपसमूहको सूचक १.२१ प्रतिशतले बढ्यो।

काठमाडाैँ:  भारतको राजधानी नयाँ दिल्लीस्थित रेल्वे स्टेसनबाट सात जना नेपाली बालबालिकाहरूको उद्धार गरिएको छ ।   एक हप्ते लामो विशेष उद्धार अभियानबाट सात नेपाली बालबालिकाको उद्धार गरिएको हो ।   बाल कल्याण समितिसहित सलाम बालक, प्रयास संस्था, साथी संस्था, चाइल्ड लाइन १०९८, रेल्वे अथोरिटी, आरपीएफ र जीआरपीको संयुक्त पहलमा गत २७ मार्चदेखि अप्रिल २ सम्म गरिएको संयुक्त उद्धार अभियानमा नेपाल, बङ्गलादेश र भारतका विभिन्न राज्यबाट दिल्ली पुगेका झण्डै चार सय बालबालिकाको उद्धार गरिएको अभियानमा लागेका उद्धारकर्मीहरूले बताएका छन् ।   नयाँ दिल्ली रेल्वे स्टेसनका विभिन्न प्लेटफर्महरू, रेल्वे स्टेसनका प्रवेश र निकासद्वारा खटिएका उद्धारकर्मीहरूले बालबालिकाहरूको उद्धार गरेका हुन् ।   समारोहमा बोल्दै दिल्ली सरकार अन्तर्गत बाल कल्याण समितिका अध्यक्ष वरुण पाठकले सात दिनसम्म २४ घण्टा चलाइएको अभियानमा सात नेपाली बालबालिकाहरूको उद्धार गरिएको बताउनुभयो ।   उहाँले दिल्ली र अन्य राज्यहरूमा निरन्तर रूपमा नेपाली बालबालिकाहरूलाई विभिन्न प्रलोभनमा दिल्ली पुर्‍याइने गरेको भन्दै आफूहरूले उद्धार गरेका बालबालिकाहरूलाई किन इण्डिया नामक संस्था र नेपाली राजदूतावासको समन्वयमा नेपाल पठाउने काम गरिरहेको पनि बताउनुभयो ।   उहाँले नेपालको तराई क्षेत्र विशेष गरी रौतहटका धेरै बालबालिकाहरू दिल्ली पुग्ने गरेको बताउनुभयो ।    बालबालिकाहरू घरको आर्थिक अवस्था कमजोर रहेकाले ठूला सहर घुम्ने रहर र प्रलोभनमा परेर दिल्ली पुग्ने गरेको पाइएको उद्धारमा खटिएकाहरूले बताएका छन् ।

स्याङ्जा: औषधि सेवनबाट निको हुने क्षयरोगको गण्डकी प्रदेशमा फागुन मसान्त सम्म एक हजार चार सय ४१ बिरामी फेला परेका छन् ।    स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी रहेर छ महिना सेवन गरे निको हुने क्षयरोग हरेक दिन बढ्दै जाँदा सबैका लागि चुनौती बनेको छ ।    गण्डकी प्रदेशमा गत आर्थिक वर्षमा दुई हजार चार सय ४७ बिरामी भेटिएकोमा यस आर्थिक वर्षको आठ महिनामा गत वर्ष भन्दा एक हजारले कम देखिएको हो । यहाँ आव ०७७/७८ मा भन्दा आव ०७८/७९ मा ५८२ जना बढी बिरामी भेटिएका थिए ।    क्षयरोगको मुख्य गरेर चैतदेखि असारसम्म सबैभन्दा धेरै बिरामी देखिने बताउँदै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयरोग कार्यक्रम संयोजक राजेश यादव बिरामी भेटिने समय अगावै धेरै बिरामी भेटिएको बताउनुभयो ।    गत आर्थिक वर्षको यसै अवधिमा बिरामीको सङ्ख्या धेरै कम रहेको र अबको चार महिनामा यस भन्दा बढी बिरामी भेटिने उहाँको भनाइ थियो ।    गण्डकीमा आठ महिनामा सबैभन्दा धेरै कास्कीमा ३५८ जना बिरामी भेटिँदा सबैभन्दा थोरै मनाङमा तीन जना बिरामी भेटिएका छन् ।    नवलपुरमा ३३८, तनहुँमा १७६, स्याङ्जामा १७०, बागलुङ १४०, गोरखा ११९, लमजुङ ५३, पर्वत ४६, म्याग्दी ३३ र मुस्ताङमा पाँचमा क्षयरोगका बिरामी रहेका छन् ।    पाँच वर्ष पहिला एक जना बिरामी देखिएकोमा गत वर्ष दुई जना क्षयरोगका बिरामी मनाङमा भेटिएका थिए भने अहिले आठ महिनामै धेरै भेटिएका हुन् ।    भेटिएका क्षयरोगका बिरामीको सङ्ख्या कम भएको बताउँदै गण्डकी प्रदेश क्षयरोग उपचार केन्द्रका निमित्त निर्देशक अरुणकुमार झाले बिरामीले रोग लुकाउँदा सरकारी तथ्याङ्कमा सङ्ख्या कमी रहेको बताउनुभयो ।    कसैले थाहा नपाउन भनेर निजी स्वास्थ्य केन्द्रमा सरकारको तथ्याङ्क भन्दा बढी बिरामीले औषधि सेवन गर्दै आएको उहाँले बताउनुभयो ।    सबै क्षेत्रबाट रोगको बारेमा सचेतना जगाएर जान सकेमा बिरामीको सङ्ख्या कमी आउने बताउँदै झाले आम नागरिक पनि यसमा जोडिनुपर्ने बताउनुभयो ।    ११ जिल्ला रहेको गण्डकीमा ७९२ डट्स सेन्टरबाट क्षयरोगका बिरामी उपचार हुँदै आएको छ ।   देशभर क्षयरोग नियन्त्रण केन्द्रका मार्च २४ को प्रतिवेदनमा आव ०७८/७९ मा ३७ हजार ८६१ बिरामी रहेको छ भने सरकारी सर्भेमा प्रत्येक वर्ष ७९ हजार बिरामी बढ्ने र १७ हजारको मृत्यु हुने तथ्याङ्क छ । आव ०७७/७८ मा देखिएका बिरामी भन्दा १० हजार १८४ ले ०७८/७९ बढी हो ।