काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औँ नाडा अटो शोको उद्घाटन गर्नुभएको छ। भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको ब...

पोखरा:    भारतको सिक्किममा गएको हिउँ पहिरोमा परेर ३ नेपालीसहित ७ जनाको मृत्यु भएको छ। साथै ३ नेपालीसहित १३ जना घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। हिजो मङ्गलवार दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा गएको हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको ज्यान गएको सिक्किम सरकारले विज्ञप्ति निकालेर पुष्टि गरेको छ । ज्यान गुमाउने अरू चार जनामा भारतीय नागरिक रहेका छन् ।  यस्तै घाइते १३ मध्ये तीन जना नेपाली रहेका छन् । गीता सापकोटा, ज्वोती गुरुङ र रमेश खनालको उपचार भइरहेको छ । हिमपहिरोमा चार सयभन्दा धेरै पर्यटक फसेका थिए ।  

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्डको निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।    प्रधानमन्त्री सचिवालयका अनुसार सरकारको १०० दिनको उपलक्ष्यमा पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो।    निगमले पेट्रोलमा ३ रुपैयाँ र डिजेल र मट्टितेलमा १०/१० रुपैयाँ घटाउने सोमबार निर्णय गरेको थियो।    उक्त निर्णयपछि पेट्रोल प्रति लिटर मूल्य १७५, डिजेल र मट्टिटेल प्रति लिटर १६५ कायम भएको छ। हवाइ इन्धनमा पनि १० रुपैयाँ घटाइएको छ। 

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ।   मंगलबार धरान उपमहानगरका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरका मेयर बालेन शाहबीच दिउँसो राष्ट्रिय सभामा भेटवार्ता भएको बालेनका सचिवालयका प्रेस सल्लाहकार सुरेन्द्र बजागाईंले जानकारी दिए।    उनका अनुसार उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको हो।   'उहाँहरूले आ-आफ्नो ठाउँमा के/कस्ता कामहरू भइरहेका छन्, सोही विषयमा केन्द्रित भई कुराकानी भएको हो,' उनले भने।   भेटमा मेयर हर्कले धरानमा पानी ल्याउने काम कसरी भइरहेको छ भनेर आफ्ना अनुभव साटेको थिए।   उनीहरूले एकअर्कालाई 'सिलाम साक्मा' लगाइदिएका थिए। सिलाम साक्मालाई जीवन सुरक्षा कवजको रूपमा लिइने गरिन्छ।

ढोरपाटन: बागलुङको उच्च पहाडी क्षेत्रमा अहिले पनि थुप्रै भेडापालक कृषक छन् । हिउँद–बर्खामा लेकबेँसी गर्दै उनीहरूले भेडाबाख्रा पाल्दै आएका छन् । निसीखोला, तमानखोला र ढोरपाटनका उच्च पहाडी क्षेत्र पशुपालनका लागि उर्वर छन् । अहिले युवापुस्ता सहर केन्द्रित हुँदा र रोजगारीका लागि विदेश रोज्न थालेपछि भेडापालन सङ्कटमा पर्ने चिन्ता छ । वर्षै पहिलेदेखि पुस्ता हस्तान्तरण हुँदै आएको भेडापालन अहिले केही सुस्ताएको छ ।   माथिल्लो खर्कमा पुग्दा सेताम्मे भेडाका बथान भेटिन्छन् । भेडापालन गर्ने अधिकांश बुढापाका छन् । कृषकले मासुका लागि भेडा मात्रै बेच्दैनन् भेडाको रौँबाट बनेका कपडा पनि बेच्छन् । भेडाको रौँबाट बनेको हापदुला, काम्लो, बख्खु, घुमलगायत कपडा पानी तार्ने, हिउँमा जाडो छेक्ने तथा गर्मीमा घाम छेक्न उपयोगी मान्छिन् ।   आधुनिक प्रविधिसँगै विभिन्न प्रकारका कपडा भित्रिन थालेपछि स्थानीय उत्पादनले बजार पाउन छोडेको छ । कुनैबेला भेडा र रौँका कपडा बेचेर राम्रो आम्दानी गर्ने भेडापालक अहिले मासुका लागि मात्रै भेडा पाल्नुपर्ने स्थितिमा छन् । मासु गाउँमै बिक्री भए पनि ऊनका कपडा देशमा मात्रै नभएर विदेश पनि निर्यात हुने गर्दथ्यो । ऊनको कपडा बनाउन धेरै झन्झटिलो र समय पनि धेरै लाग्ने हुँदा पछिल्लो समय उत्पादनमा कमी हुन थालेको निसीखोलाका पुनराम बुढामगरले बताउनुभयो । यस्ता कपडाको मूल्य अन्य कपडाभन्दा महँगो पर्ने भएकाले स्थानीयको रोजाइमा कम पर्ने गर्छ ।   बुढामगरले भन्नुभयो, “पहिले भेडा पालेर राम्रो कमाई हुन्थ्यो, वर्षमा एक डेढ लाखको त घुम, काम्लो नै बिक्री हुन्थ्यो । भेडा पूजाआजा र चाडपर्वमा धेरै बेच्थे, अहिले त उही भेडा मात्रै हो, त्यही पनि बुढो भइयो पहिलेको जस्तो पाँच सय÷एक हजार पाल्न सकिन्न । माथि लेकलेकमा पुग्नुपर्छ, भेडाको ऊन निकाल्नु पर्छ, कपडा बुन्न धेरै समय लाग्छ ।”   स्थानीय ७३ वर्षीय तिलु घर्तीले सानैदेखि भेडापालनमा लागेको र कपडा बनाउने गरेको सुनाउनुभयो । उतिबेला अहिलेको जस्तो ओढ्ने, बिछ्याउने सिरक, डसना नहुने भन्दै भेडाको ऊनबाट बनेको कपडा प्रयोग गरेको उहाँले सम्झनुभयो । कपडा लिन बुटवल, तानसेन पुग्न समस्या हुने गर्थ्यो ।   “अहिले लेकमा पनि बाहिरबाट आएका कपडा छन्, पहिलेको जस्तो दुःख छैन, जमाना फेरियो, ऊनको कपडाले घोच्छ रे, लगाउँदैनन्, हामीहरू त्यही लगाएर हुर्कियौँ”, उहाँले भन्नुभयो, “चप्पल सानोमा लगाएनौँ, हामी ठूलै भएपछि मात्रै लगाएका हौँ, अहिले घुम, काम्लो बुन्ने मान्छे भए, बुनेकाले बिक्री नभएको गुनासो गर्छन्, मैले सानै हुँदा बुन्न सिकेको थिए, अहिले अलिअलि त बुन्छु, पहिलेको जस्तो सकिँदैन ।”   स्थानीय पविन्द्र घर्तीमगरले नयाँपुस्ताले सीप नसिक्दा परम्परागत कपडा हराउन थालेको बताउनुभयो । उहाँले केही वर्ष अगाडिसम्म विदेशबाट पनि बढी माग हुने गरेको सुनाउँदै अहिले घटेको बताउनुभयो । “पहिले एक परिवारले कम्तीमा एक हजार भेडा पाल्थे । तर अहिले निकै कम भयो”, उहाँले भन्नुभयो । घर्तीले भेडापालनलाई स्थानीय सरकारले प्रवर्धन गर्नसके राम्रो आम्दानीको स्रोत बन्ने बताउनुभयो । ऊनका कपडाले युवापुस्ताले मन नपराउँदा बजार पाउन मुस्किल परेको उनीहरूको गुनासो छ । 

मधेस प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ।   एमालेबाट नियुक्त भएका चार मन्त्री तथा एक जना राज्यमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई मंगलबार राजीनामा बुझाएका छन्।   मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर उनीहरूले राजीनामा बुझाएका हुन्।   संघमा गठबन्धन भत्किएको झन्डै डेढ महिनापछि पार्टी प्रदेश सरकारबाट एमाले बाहिरिएको हो।   गएराति मुख्यमन्त्री यादवले एमालेबाट नियुक्त भएका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए। संघमा बनेको गठबन्धनअनुसार प्रदेशमा अब नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई प्रदेश सरकारमा सहभागी गराउने तयारी छ।

काठमाडौं:  साताको तेस्रो कारोबार दिन अर्थात् मंगलबार पनि नेप्से परिसूचक घटेको छ।   गत साताको अन्तिम कारोबार दिनदेखि घट्न थालेको सेयर बजारले यस दिन पनि निरन्तरता पाएको छ।   यस दिन नेप्से ५.२० अंकले घटेर १८६६.६८ बिन्दुमा बन्द भएको छ।   मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।   गत कारोबार दिन ९२ करोड २ लाख ४९ हजार ११ रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम घटेर यस दिन ९१ करोड ७६ लाख १० हजार २९६ रुपैयाँमा सीमित भएको छ।   यस दिन २६४ वटा धितोपत्रको २९ लाख ७१ हजार ९४७ कित्ता सेयर किनबेच भएको हो।   मंगलबार कालिन्चोक दर्शनको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ।    यसदिन उक्त कम्पनीको सेयरमूल्य २५७ रुपैयाँ ८० पैसा पुगेको छ।    यस्तै, सानिमा ग्रोथ फण्डको इकाई मूल्य ८.९३ प्रतिशतले बढेर प्रति इकाई मूल्य ८ रुपैयाँ ५ पैसा पुगेको छ।   यसैगरी, यसदिन ८.५ प्रभु बैंक डिवेञ्चर २०८७ को मूल्य सर्वाधिक ९.२९ प्रतिशतले घटेको छ।   उक्त डिवेञ्चरको मूल्य ७३८ रुपैयाँ पुगेको छ।   यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य ८.३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ५७३ रुपैयाँ ९० पैसामा झरेको छ।   त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ७ समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको छ।   यस दिन निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.३९ प्रतिशतले घटेको छ।    मंगलबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।   उक्त कम्पनीको प्रतिकित्ता ४१० रुपैयाँमा ३ करोड ३६ लाख बराबरको सेयर कारोबार भएको हो।   यो मूल्य अघिल्लो दिनको तुलनामा ०.९७ प्रतिशतले घटेको हो।   सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एनआइसी एशिया बैंक रहेकोे छ। उक्त कम्पनीको ६९६ रुपैयाँ ६० पैसामा ३ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

काठमाडौं : संघीय राजधानीमा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ। प्रहरीका अनुसार सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गरी दुई युवकले एक बालिकामाथि सामूहिक बलात्कार गरेको हो।   प्रहरीले बलात्कारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोक घर भएका २१ वर्षीय आशिष तामाङ र काभ्रेपलाञ्चोक घर भएइका २१ वर्षीया कुशल श्रेष्ठलाई पक्राउ गरेको हो।   तामाङले फेक फेसबुक आइडी बनाएर पीडितलाई साथी बनाएका थिए। च्याटका क्रममा ललाइफकाइ पीडित बालिकालाई उनीहरूले भेट्न आग्रह गरेका थिए। उनीहरूले टोखा नगरपालिका-३ ग्राण्डी अस्पताल नजिकै रहेको गेष्ट हाउसमा लगेर जबरजस्ती बलात्कार गरेको प्रहरी अनुसन्धानले देखाएको छ।    घटनापछि फरार रहेका उनीहरूलाई काठमाडौंको धापासीबाट पक्राउ गरेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार थप अनुसन्धान र कारबाहीका लागि पक्राउ परेका दुई जनालाई प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ।

काठमाडौं:  सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन नगर प्रमुख उपेन्द्रबहादुर थापासहित ७ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।   अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार दिउँसो सात जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।    तत्कालीन मेयर उपेन्द्रबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृतद्वय पित्रीभक्त गिरी, हरिप्रसाद देवकोटा, लेखा अधिकृत मोहनबहादुर बुढा, लेखापाल लक्ष्मीप्रसाद अधिकारी, नमुना समाज, सुर्खेतका कार्यकारी निर्देशक लालबहादुर जिएम भन्ने लालबहादुर घर्तीमगर र नमुना समाज, सुर्खेतका अध्यक्ष भूमिसरा पुलामीविरूद्ध मुद्दा दर्ता भएको हो।    उनीहरूले ५० लाख भ्रष्‍टाचार गरेको आरोप लागेको हो।    अख्तियार प्रवक्ता दाहालका अनुसार पञ्चपुरी नगरपालिका सुर्खेतले उद्यमशीलता साझेदारी परियोजना अन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम संचालनको लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरेको हो।    समाजले आफ्नो लगानीको कुनै स्रोत नदेखाइ तथा कामै नगरी पञ्चपुर नगरबाट रकम भुक्तानी लिएर हिनामिना गरेको भन्ने उजुरी परेको थियो।    मेयर थापाले नमुना समाज सुर्खेतसँग सम्झौता गरेका थिए। तर सम्झौता बमोजिमको कार्यक्रम संचालन गर्न नगरपालिकाको कुनै बैठकबाट निर्णय पनि भएको थिएन।    यस्तै नमुना समाजको कार्यक्रम सञ्चालनसम्बन्धी कुनै प्रस्तावसमेत माग नगरेको पाइएको छ।   संस्था छनौट गर्दा सार्वजनिक खरिद ऐन/नियमावली लगायतका प्रचलित कानुनसमेतलाई बेवास्ता गरेको, सम्झौता गर्नुपूर्व उक्त संस्थाले प्रतिबद्धता जनाएको रकम ल्याई खर्च गर्नसक्ने क्षमताबारे सोधिखोजी नगरेको र विश्वसनीयता रहे/नरहेको आधार बिना हचुवाको भरमा नै नमुना समाजसँग सम्झौता गरेको अख्तियारको ठहर छ।    त्यसअनुसार खर्च गरी फिल्डमा काम सम्पादन गरेको थियो/थिएन भन्ने समेत अनुगमन, मूल्यांकन र कार्यसम्पन्न समेतको कार्यसम्पादन नगरी भुक्तानी दिन मेयर थापाले निर्देशन दिएको पाइएको हो।    नमुना समाजले सम्झौता बिपरीत कार्य गरेको देखिँदादेखिँदै पनि दोस्रो किस्ताको रकमको भुक्तानी रोक्‍नु पर्नेमा उल्टै कार्यसम्पन्न भएको भनी रकम भुक्तानीको लागि निर्देशन दिएर भुक्तानी भएको देखिएको थियो।   उनले बदनियतपूर्वक सरकारी रकम हानिनोक्सानी पुर्‍याएको आरोप छ। 

म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा पर्ने फुतफुते झरना पर्यटकको आकर्षणको केन्द्र बनेको छ । नारच्याङदेखि अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जाने मौरिस हर्जोग ट्रेलमा पर्ने यो झरना सुन्दर र मनोमहक छ । झरनाको दृश्यले पदयात्रालाई रोमाञ्चक बनाउँछ । थकान मेटाइदिन्छ, दुःख बिर्साइदिन्छ ।    अन्नपूर्ण, अन्नपूर्ण साउथ, निलगिरि र वराहशिखर हिमालबाट हिउँ पग्लिएर बनेको मिस्त्री खोलामा पर्ने यो फुतफुते झरनाले पदमार्गलाई सुन्दरता दिएको छ । हुमखोलाबाट एक घण्टाको पैदल यात्रापछि झरनामा पुग्न सकिन्छ ।     माथिबाट खसेको झरना र पानीको नीलो तालको अवलोकन गर्दै रमाउने गरेका छन् । झरनासँगै तस्बिर र भिडियो खिच्न पर्यटक लोभिन्छन् ।  झरनाको सुन्दरताले पर्यटकको थकान मेटाइदिन्छ । झरनाको अवलोकन गर्दा निकै आनन्द अनुभूति हुने पदयात्रामा जानुभएका अन्नपूर्ण गाउँपालिका–५, शिखका सुरेन गुरुङले बताउनुभयो । स्थानीयहरू आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने पदमार्गलाई तीन वर्षअघि ‘मौरिस हर्जोग ट्रेल’ नामकरण गरी पूर्वाधार निर्माणमा जुटेका छन् । १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण हिमालको पहिलो पटक आरोहण गर्नुभएको थियो । त्यसैले पालिकाले मौरिसको नामबाट पदमार्गको नामकरण गरेको हो ।  यो पदमार्ग मिस्त्री खोलाको किनारै किनार भएर अन्नपूर्ण आधार शिविर पुग्छ ।    पछिल्ला पाँच वर्षयता पर्यटन मन्त्रालय र अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मार्फत पदमार्गलाई व्यवस्थित बनाउन  करिब साढे तीन करोड रुपियाँ बराबरको भौतिक पूर्वाधार निर्माण गरिएको मौरिस हर्गोज ट्रेल व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले बताउनुभयो ।    उहाँका अनुसार पदमार्ग, झोलुङ्गे पुल, फड्के पुल र सिँढी निर्माण गरिएको छ । छोटेपा, हुमखोला, फुतफुते झरना, सन्धिखर्क, भुसकेत, धर्मशालामा गरी छवटा खोलामा झोलुङ्गे पुल निर्माण भएको छ भने छ स्थानमा आश्रयस्थल निर्माण गरिएको छ  ।    समुद्री सतहदेखि चार हजार पाँच सय मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्ययुक्त दृश्य मनमोहक छ । शिविरमा नीलो रङ र गोलो आकारका पाँचवटा ताल छन् । नारच्याङवासीले उक्त ताललाई पञ्चकुण्ड भनेर नामकरण गरेका छन् । ती तालबाट हिमालको छायाँ हेर्न सकिन्छ । अन्नपूर्ण आधार शिविरमा अहिले आठवटा आरोही टोली पुगेको गुरुङले बताउनुभयो ।