काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

काठमाडौं:    सरकारले आउँदो असार एक गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले बर्खायाममा सडक खन्न नदिने भएको हो । आज सार्वजनिक सूचना निकालेर सडक विभाग अन्तर्गतको कार्यालयले बर्खायाममा खनेको सडक झनै बिग्रने भएकाले असार एक गतेदेखि भदौ मसान्तसम्म कुनै पनि सडक नखन्न  निर्देशन दिएको हो ।बर्खायाममा धारा, ढल, बिजुली, टेलिफोनलगायतको प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक बिग्रिँदै जाने कार्यालयले जनाएको छ । कार्यालयले भदौ मसान्तसम्म सडक खन्ने स्वीकृति नै नदिइने पनि जनाएको छ । सूचनालाई अटेरी गरी जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन–२०३१ अनुसार कारबाही गर्ने कार्यालयले चेतावनी दिएको छ ।

कालीकोट:  कालीकोटमा रोकिराखेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएकी छिन् ।  रास्कोट नगरपालिका वडा नम्बर-२ सेराबजारमा स्टार्ट गरी छोडेको बा १ च ४६४१ नम्बरको जीप सडकबाट भिरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा रास्कोट नगरपालिका–१ लहरेलाका  ४३ वर्षका मनबहादुर शाही र उनकी श्रीमती मैना शाहीको ज्यान गएको हो। दुर्घटनामा जीपमै रहेका त्यही ठाउँका रितु सिंह घाइते भएकी छिन। घाइतेलाई उपचारका लागि रास्कोट अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालले जानकारी दिए।  स्थानीयका अनुसार चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी ब्याक सरेर खोलामा खस्दा दुर्घटना भएको थियो । 

स्याङ्जा:   स्याङ्जामा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएके छ ।  आज बुधवार सिरुवारीबाट स्याङ्जा सदरमुकामका लागि छुटेको जिल्ला समन्वय समिति स्याङ्जाको गाडी दुर्घटना हुँदा चालक वालिङ नगरपालिका–४ का अमृत खनालको मृत्यु भएको प्रहरीले जनाएको छ । बा १ झ ५८७८ नम्बरको गाडी अर्जुनचौपारी गाउँपालिका–३ सहरे नजिक खोले भन्नेमा दुर्घटना भएको हो । दुर्घटनामा जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद पौडेलसहित अन्य दुई जना अम्बिका पौडेल र टीकाराम पौडेल घाइते भएका अर्जुनचौपारीका प्रहरी प्रमुख ख्यामबहादुर क्षेत्रीले जानकारी दिए। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको छ । समन्वय अधिकारीसहितको टोली के का लागि गएको थियो भन्नेबारे खुलेको छैन ।

सिन्धुली:    सुनकोशी नदीमा बेपत्ता भएका सिटिइभिटीका दुई जना कर्मचारीको शव फेला परेको छ।  पाँच दिनसम्मको खोजीपछि आज जीप र त्यसमा रहेका दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । शवको पहिचान भएको छैन । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको जीप गएको शुक्रवार सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खस्दा प्रशासन शाखाका निर्देशक तनहुँका कृष्ण केसी, पूर्वी नवलपरासी घर भएका योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेल र इलामका विद्युत् प्राविधिक भानु पौडेल बेपत्ता भएका थिए । सशस्त्र प्रहरी, सेनाको गोताखोर र जनपथ प्रहरीको विपद् व्यवस्थानसमेत चारवटा टोलीले शुक्रवारदेखि निरन्तर खोजी गरे पनि केही पत्ता लागेको थिएन । आज सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टर सुवास थापाको कमान्डको गोताखोरले जीप भेट्टाएको हो । पानीको बहाव तीव्र भएका कारण सुनकोसीको पानीको बहावलाई रामेछापतर्फ फर्काएपछि खोजीमा केही सहज भएको थियो । 

भारतको मणिपुर राज्यको पश्चिमी इम्फाल जिल्लाको कांगचुप क्षेत्रमा सोमवार फेरि हिंसा भड्किएको छ ।   दुई वटा सशस्त्र समूहको बीचमा भएको गोलीबारीमा तीन जनाको ज्यान गएको र अन्य चार जना घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार इम्फालको अस्पतालमा उपचार भइरहेको छ ।   मणिपुरमा भएको हिंसाको छानबिनका लागि केन्द्र सरकराले गुवाहाटी उच्च अदालतका पूर्वमुख्यन्यायाधीश अजय लाम्बाको अध्यक्षतामा आइतवार एक आयोग गठन गरेको छ ।    मणिपुरमा मेइती समुदायले अनुसूचित जनजातिको दर्जा दिनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेका थिए । मेइतीको मागमा त्यहाँका जनजातिहरू नागा र कुकीले विरोध गरेपछि जातीय द्वन्द्व चर्किएको हो ।   मणिपुरमा मेइतीको जनसङ्ख्या ५४ प्रतिशत छ । उनीहरू धेरैजसो इम्फाल उपत्यकामा बस्छन् । ४० प्रतिशत जनसङ्ख्या ओगट्ने नागा र कुकी प्राय पहाडी जिल्लाहरूमा बस्छन् । दुई समुदायका बीचमा सरकारले वैमनस्ता बढाइदिएको उनीहरूको आरोप छ ।    झडपबाट कुकी समुदायलाई बढी क्षति पुगेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।   

काठमाडौं:     हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण सुदूरपश्चिम प्रदेश र लुम्बिनी  प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही तथा बाँकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । 

पोखरा:  दलित युवाहरुको संस्था ‘आवाज नेपाल’ले प्रभात बोसेललाई जातीय विभेद गरि झुठा मुद्दामा फँसाउन लागिएको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको ध्यानाकर्षण गराएको छ ।  बागलुङका ‘प्रभात बोसेललाई अहिले जातकै कारण गलत र झुठा मुद्दाहरु लगाएर फँसाइन लागेको भन्दै मुख्यमन्त्री पाण्डेको ध्यानाकर्षण गराएको हो ।  मुख्यमन्त्रीलाई ध्यानाकर्षणसहितको ज्ञापन पत्र बुझाउँदै आवाज नेपालले तत्काल बोसेललाई विनाशर्त रिहा गर्न माग समेत गरेको छ । साथै गण्डकी प्रदेशका कारागारमा रहेका झुठा मुद्दा खेपिरहेका दलित युवाहरुलाई पनि तत्काल रिहा गर्नुपर्ने माग आवाज नेपालले राखेको छ । साथै आवाज नेपालले दलित सम्बन्धि विधेयकमा समुदायको लागि विशेष अधिकारहरु समावेश गर्न गण्डकी प्रदेश सरकारलाई आग्रह समेत गरेको छ ।  ‘प्रभात बोसेललाई अहिले जातकै कारण गलत र झुठा मुद्दाहरु लगाएर फँसाइदैछ , यसरी नै थुपै्र दलित युवाहरु निर्दोष हुँदाहुँदै पनि जातकै कारण फँसेका छन् । र, बिनाकसुर सजाय भोगिरहेका छन् ।’ आवाज नेपालका अध्यक्ष प्रकाश सुनारले भने–‘त्यसैले यो विषयमा कानुनी रुपमै सम्बोधन गरि समग्रमा सबै दलित युवाहरुको समस्या एकमुस्ट हल हुनुपर्छ भनेर मूख्यमन्त्रीमार्फत हामीले सरकारलाई झक्झक्याएका हौँ ।’ गण्डकी प्रदेशका मूख्यमन्त्री सुरेन्द्र पाण्डेले जातीय विभेदका कारण दलित युवामाथि झुठा मुद्दा लाग्नु गलत भएको बताएका छन् । मुख्यमन्त्री पाण्डेले आवाज नेपाल नामक संस्थाको ज्ञापनपत्र बुझ्दै विभेद गरिएको पाइएमा सरकारको तर्फबाट विभेदकारीलाई कारवाही गर्ने प्रतिवद्धता समेत जनाए ।  ‘प्रभात बोसेलको विषयमा मैले सुनेको चाहीँ हुँ । र, यो विषयमा यसको अन्तर्य बुझेर के कसरी मुद्दा चलाईएको छ भन्ने विषयमा मेरो तर्फबाट गम्भीर चासो हुनेछ ।’ सोमबार आवाज नेपाल नामक संस्थाको ज्ञापनपत्र बुझ्दै मूख्यमन्त्री पाण्डेले भने–‘दलितलाई विभेद गरिएको पाईएमा सरकारको तर्फबाट विभेदकारीलाई कारबाही गर्ने वातावरण बनाउनेछौं ।’   उनले सरकार र आफ्नो पार्टी नेपाली कांग्रेस जातीय विभेदविरुद्ध शून्य शहनशीलता राख्ने दाबी समेत गरेका थिए ।  झुठो मुद्धामा प्रभात बोसेललाई फँसाउन म्याग्दीका नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनीधि देवेन्द्र घिमिरे नै लागेको ध्यानाकर्षण पत्रका उल्लेख गरिएको छ । उनै देवेन्द्रकी छोरी प्रिती घिमिरेसँग प्रभातले २ वर्ष अगाडि विवाह गरेका थिए ।  यद्यपि लामो समयपछि अहिले आएर परिवारको दबाबमा प्रितीले आफ्नै श्रीमानको विरुद्धमा जबरजस्ती करणी र अपहरण मुद्दा हालेकी छन् । यसअघि म्याग्दी प्रहरीको हिरासतमा रहेका बोसेललाई प्रहरीले थप अनुसन्धानका लागि भन्दै जिल्ला प्रहरी कार्यालय कास्की ल्याएको छ ।  

पोखरा:    नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस-जून ५’ को अवसरमा विगत साढे तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२२ पोखराका पत्रकार कृष्णमणी बराललाई प्रदान गर्ने निर्णय गरेको छ । अन्नपूर्ण दैनिकमा पोखराबाट कार्यरत पत्रकार बराललाई  नगद २५ हजार, प्रमाण–पत्र प्रदान गर्ने छ ।   समूहले प्रत्येक वर्षको जुन ५  (विश्व वातावरण दिवस) मा पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । सन् २०२२ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी सान्दर्भिकता, मौलिकता, भाषा शैली र तथ्य-तथ्याङ्कक आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।   पुरस्कारका लागि समूहले पत्रकारहरुलाई सन् २०२२ भरिका आफ्ना लेख-रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो । समूहका पूर्व अध्यक्ष राजेन्द्र दाहालको संयोजकत्वमा समूहका पूर्व माहासचिव रमेश भुषाल र विज्ञ सदस्य डा. हुम गुरुङ सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलको शिफारिसका आधारमा पुरस्कारको निर्णय गरिएको हो ।   समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार-२०२२’ पाउने बराज ३६ औँ पत्रकार हुनुहुन्छ । यो पुरस्कार समूहको आगामी साधारणसभाको दिन हस्तान्तरण गरिने छ ।

प्रधानमन्त्रीले भारतबाट भैसी ल्यायो भन्दै गरेको कटाक्षप्रति पुष्पकमल दाहालले स्पष्ट पारेका छन् ।    आज संसदमा भारत भ्रमणको विषयमा जानकारी दिँदै प्रम दाहालले यसपटकको भ्रमण उल्लेखनीय भएको बताए । ‘यस भ्रमणबाट केही नयाँ सुरुवात भएको छ’ दाहालले भने कुरा मुर्रा राँगोको हैन, आगामी दिनमा देशले छिमेकी मुलुकबाट पाउने प्रतिफलको हो ।’   भ्रमणको एजेन्डातर्फ नलागि अन्य विषयमा रुमल्लिएको भन्दै दाहालको जवाफ छ ‘मुर्रा राँगो ल्याउने सहमति ७ वर्ष पहिले नै भएको रहेछ, यसपटक संयोग भनौ, मेरो भ्रमणपछि राँगो आउने भयो ।’   भ्रमण विगतको भन्दा उपलब्धीपूर्ण भएको र यसलाई निरन्तरता दिँदै आर्थिक विकासमा देशले नयाँ यूगतर्फ फड्को मार्ने दाहालको दाबी छ ।