काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित आज (शुक्रबार) तीन जनाको बयान जिल्ला अदालत काठमाडौंमा सुरु भएको छ । बिहान ११ बजेदेखि पूर्वगृहमन्त्री खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल तथा हरिभक्त महर्जनको बयान सुरु भएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङटावा शेर्पा र हज कमिटीका अध्यक्ष शमशेर मियाँको बिहीबार बयान सकिएको छ । आरोपितमध्ये बिहीबारसम्म १५ प्रतिवादीले बयान दिइसकेको सूचना अधिकारी दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “सो प्रकरणमा मुछिएकाहरूको बयान यही जेठ १२ गतेदेखि सुरु गरिएकोमा आज तीन जनाको बयान भइरहेको ।” नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितमध्ये १८ जना पक्राउ परेका छन् भने १२ जना अझै फरार रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
काठमाडौं: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का कर्मचारीहरू सवार गाडी सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । शुक्रबार बिहान सिटिइभिटीका कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको जिप भक्तपुरबाट खोटाङतर्फ जाँदै गर्दा सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ७ लौकुनको ओरालोमा दुर्घटना हुँदा नदीमा खसेको हो । उद्धारका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट टोली खटाइएको नेपाल प्रहरीका एसपी राजकुमार सिलवालले जानकारी दिए । जिपमा चार जना सवार रहेका र एक जना जीवितै सुनकोशी नदीबाट निस्कन सफल भए पनि बाँकी तीन जनाको अवस्था अज्ञात रहेको उनले बताए । बेपत्ता हुने कर्मचारीमा कृष्णबहादुर केसी, यमप्रसाद भुतेल र भानु पौडेल छन् । उनीहरु सबै अधिकृत स्तरको कर्मचारी रहेको प्रहरीको भनाइ छ । बेपत्ता सबै जनाको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको उनले बताए ।
काठमाडौं: भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्यप्रदेशको इन्दोर पुगेका छन् । उनी नयाँदिल्लीबाट विशेष विमानमार्फत् इन्दोर पुगेका हुन् । इन्दोरमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहान लगायतका उच्च अधिकारीहरुले स्वागत गरेका थिए । प्रधानमन्त्री प्रचण्डको स्वागतमा सहभागीहरु नेपाल–भारतका झण्डासहित उपस्थित भएका थिए । साँस्कृतिक टोलीले परम्परागत पोशाकसहित नृत्य प्रस्तुत गरेका थिए । इन्दोरका सडक किनार, मुख्य चोक र विद्युतका पोलहरुमा प्रचण्डको स्वागतमा उनको तस्वीरसहित ब्यानर र बोर्डहरु राखिएका छन् । अहिले इन्दोरबाट प्रधानमन्त्री प्रचण्ड उज्जैनतर्फ प्रस्थान गरेका छन् । उनले इन्दोरमा रहेको फोहोर व्यवस्थापन प्लान्टको भ्रमण गर्ने कार्यक्रम छ । इन्दोरको फोहोर व्यवस्थापन नमूनायोग्य मानिन्छ । इन्दोर भारतको सबैभन्दा सफा र फोहोर व्यवस्थापनमा उत्कृष्ट सहरको रुपमा चिनिन्छ । बेलुका उनी मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्डले इन्दोरमा भाजपाका नेताहरूसँग भेटघाट गर्ने सम्भावनासमेत छ । प्रधानमन्त्री प्रचण्डले शनिबार जेठ २० गते इन्दोरमा रहेको विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ । सोही दिन दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली फर्किने र अपराह्न ४ः२० बजेको नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं फर्किने छन् । भारतको चारदिने भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल जेठ १७ गते नयाँदिल्ली गएको थियो । प्रधानमन्त्री प्रचण्डले जेठ १९ गते प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु लगायतसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री मोदीसँगको भेटका क्रममा नेपाल र भारतबीच विभिन्न सात सहमतिमा हस्ताक्षर भएको थियो । ऊर्जा, पारवहन लगायतका क्षेत्रमा भएको सहमति ‘ऐतिहासिक’ भएको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।
चितवन: मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडक खण्डको स्तरोन्नतिको काम थालिएको हो । ३९ किलोमिटर लामो सडक निर्माणको जिम्मा पाएको शर्मा जेडआईसीजी जेभीले सडक विस्तार र स्तरोन्नति गर्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड का प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । पहिलो चरणमा पाँच किलोमिटरमा काम भइरहेको छ । चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुनेछ । सडक विस्तार र स्तरोन्नतिपछि न्यूनतम नौ मिटर कालोपत्र हुनेछ । बजार क्षेत्रमा भने चारदेखि छ लेनको सडक निर्माण हुने कार्कीले जानकारी दिनुभयो । बजार क्षेत्रमा फुटपाथ, डिभाइडर र बत्तीको पोलसमेत निर्माण गरिने छ । यो खण्डमा पुल निर्माणका लागि त्यही कम्पनीसँग सम्झौता भएको छ । काम पनि सँगै सुरु भइसकेको छ । मलेखुसम्म छ पुल निर्माण हुनेछन् । गोमती, चरौदी, खटौटी, हुग्दी, मौवा र बारबाङ खोलामा नयाँ पुल बन्नेछन् । खटौटीमा पुल निर्माण अघि बढेको छ । यो खण्डमा १० ठाउँमा आकाशे पुल निर्माण गरिनेछन् । आयोजनाको यो खण्ड चार अर्ब ८० करोड रुपैयाँको लागतमा विस्तार र स्तरोन्नति गर्न लागिएको हो । केही ठाउँमा रुख काट्न बाँकी छ । यो खण्डमा करिब तीन सय ५० रुख काटिने छन् । ुयो सडक खण्ड निर्माण गर्दा पहाड काट्नेभन्दा पनि नदी किनारमा पर्खाल उठाउने कुरालाई प्राथमिकता दिएका छौँु, उहाँले भन्नुभयो, ुपहाड काट्दा सधैँ पहिराले दुःख दिने सम्भावना हुन्छ ।ु सडक विस्तार र स्तरोन्नतिपछि कम्तीमा सडक २० वर्ष टिक्ने गरी डिजाइन भएको आयोजनाले जनाएको छ । काठमाण्डौ प्रवेश गर्ने र बाहिरिने मुख्य मार्ग भएका कारण पनि यसलाई निर्धारित समयमै सम्पन्न गर्नका लागि आयोजनाले तीव्रगतिमा काम अघि बढाएको छ । विश्व बैंकको आर्थिक सहयोगमा यो राजमार्ग विस्तारको काम थालिएको हो । यसका लागि सरकार र विश्व बैंकबीच सन् २०२० मा सम्झौता भएको थियो । नागढुङ्गा–नौबिसे खण्ड र नौबिसे–मलेखु खण्डमा पनि सडक विस्तारको काम भइरहेको छ ।
काठमाडौं: आज दरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुनेगरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो । हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतीसहितको निधन भएको थियो । घटनापछि तत्कालीन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठहर गरे पनि यसलाई धेरैले विश्वास गरेका छैनन् । २२ वर्ष बित्दासम्म पनि हत्याकाण्डको तथ्य अझै बाहिर आउन सकेको छैन । हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई अहिले सङ्ग्रहालय बनाइएको छ ।
पोखरा: फेवातालको सिमसार क्षेत्र पुर्ने काम तत्कालका लागि रोक्न उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गरेको छ। अधिवक्ता मनोज घर्ती मगरले दायर गरेको रिटमा उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराम आचार्यको एकल इजलासले विभिन्न पाँचबुँदे अन्तरिम आदेश जारी गरेको हो। रिटमाथिको प्रारम्भिक सुनुवाइमा रिट निवेदक अधिवक्ता मगर, वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगर, अधिवक्ता मिलन आले, अधिवक्ता रच्चु आलेले बहस गरेका थिए। उच्चले रिट निवेदनको अन्तिम टुंगो नलागुन्जेलसम्म टिपरबाट माटो बोकेर फेवातालको सिमसार र रामसार पुर्ने काम रोक्न अन्तरिम आदेश दिएको हो। “पोखरा महानगरपालिकाद्वारा देवेन्द्र केसीका नाउँमा मिति २०७९/११/२ मा कृषि प्रयोजनका लागि डोजर चलाउन च.नं। ५१२८ को पत्रद्वारा दिएको २ दिनको अख्तियारीको अवधि तत्काल नै समाप्त भइसकेको र सो अख्तियारी (स्वीकृत)का आधारमा डोजर चलाउने कार्यलाई निरन्तरता दिनु कानून विपरीत हुने हुँदा प्रस्तुत आदेशको प्रतिलिपि प्राप्त हुँदासाथ पुण्यप्रसाद पौडेलको संयोजकत्वमा गठित समितिले मिति २०७७/११/१८ मा दिएको प्रतिवेदनमा उल्लेखित फेवातालको चार किल्ला (सिमाना) भित्र कुनै प्रकारको व्यक्तिगत वा संस्थागत निर्माण कार्य गर्न नदिनु र कुनै पनि प्रकारले डोजर चलाउने कार्य हुन नदिई हाल जे जस्तो अवस्थामा छ सोही अवस्थामा कायम राख्नु,” आदेशमा भनिएको छ, “उल्लिखित क्षेत्रलाई तत्कालका लागि निर्माण निषेध क्षेत्र घोषणा गरी सो क्षेत्रमा अनधिकृत रूपमा प्रवेश गर्ने डोजर टिपरलाई नियन्त्रणमा लिई सम्बन्धित चालकहरूको सम्बन्धमा समेत प्रचलित कानून बमोजिम कारबाही गर्नु गराउनु भनी विपक्षी मध्येको पोखरा महानगरपालिकामा लेखी पठाउनु।” उच्चले जारी गरेको आदेशमा सिमसार क्षेत्र पुर्ने काम तत्काल रोक्नका लागि प्रहरी निरीक्षकको नेतृत्वमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन भनिएको छ। साथै, प्रदेश वातावरण ऐन २०७६ को दफा ५ बमोजिम वातावरण संरक्षण तथा जलवायु प्रदूषण परिवर्तन परिषद् गठन गर्ने र सो परिषद्लाई प्रभावकारी बनाउन लिखित जवाफ पेश गर्नुअघि नै सोको प्रतिलिपि देखाउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आदेश दिइएको छ। गण्डकी प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई तालको अवस्थाबारे जाँच गर्न समिति गठन गर्ने आदेश दिएको छ। त्यस्तै, विपक्षीका नाममा कारण देखाऊ आदेशसमेत जारी गरेको छ। साथै आदेशमा अग्राधिकार पाउने गरी पेशी व्यवस्थापन गर्न समेत भनिएको छ। रिटमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री सुरेन्द्र पाण्डे, गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पोखरा र मन्त्री दीपेन्द्रबहादुर थापा, ताल संरक्षण तथा विकास प्राधिकरण प्रमुख कल्पना देवकोटा, पोखरा महानगरपालिकाको कार्यालय र नगरप्रमुख धनराज आचार्यसमेतलाई विपक्षी बनाइएको छ। रिट निवेदक अधिवक्ता मगरले रिटमा फेवातालको सिसमार क्षेत्र प्रदेश सरकार र सरकारका निकाय तथा पोखरा महानगरपालिकाले संरक्षण नगर्दा अहिलेको अवस्था आएको जिकिर गरेका छन्। वातावरणमा प्रतिकूल असर पर्ने, प्रदूषण बढ्ने, वर्षादीको कमी हुँदा राज्यले विश्वसमुदायसँग गरेको प्रतिबद्धता पूरा नहुने, वातावरणीय सन्तुलनमा समेत असर पर्ने भएकोले अन्तर्राष्ट्रिय रूपमा सूचिकृत सिमसार क्षेत्र फेवातालको अहित हुने र वातावरण एवं जैविक विविधतामा असर पार्ने काम भइरको रिटमा उल्लेख छ। उकालो
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा समस्यालाई वार्ता र संवादबाट टुङ्ग्याउने बताएका छन् । हैदराबाद हाउसमा भएको संयुुक्त पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले सीमा समस्यालाई वार्ता र संवादका माध्यमबाट समाधान गर्ने बताएका हुन् । ‘नेपाल र भारतको सम्बन्धलाई हिमालयको जत्तिकै उचाइ दिने काम गरिरहेका छौँ, हामीबीच भएका बाउन्ड्रीका विषय समाधान गर्नेछौँ ’ मोदीले भन्नुभयो । यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भन्नुभयो, ‘प्रधानमन्त्री मोदी र मैले सीमाका विषयमा कुराकानी गर्यौँ, मैले द्विपक्षीय कुटनीतिक माध्यमबाट समस्याका विषयहरुको नतिजा निस्कने गरी काम गर्न आग्रह गरेको छु ।’
काठमाडौं: आज २३औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग सङ्घ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी सङ्घलगायत सरोकारवाला निकायले विश्व दूध दिवसका अवसरमा आज विभिन्न कार्यक्रम गर्दैछन् । विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्याएको योगदानको कदर गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले सन् २००१ जुन १ देखि विश्व दूध दिवस मनाउन थालिएको हो । आम जनताबीच दूधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ देखि विश्व दूध दिवस मनाउन थालेको हो । दैनिक गुणस्तरीय दूध पिउन चेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार–प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न चेतना जगाउने र दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पुर्याउन पहल गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।
पोखरा: युनाटेड क्लबले उदयपुरको गढी गाँउपालिकाका हावाहुरी प्रभावितहरुलाई राहत प्रदान गरेको छ । युनाइटेड क्लब पोखराले विपद ब्यवस्थापन सहयोगार्थ कोष अन्तर्गत उदयपुर जिल्लाको गढी गाँउपालिका वडा नम्बर १, २ र ५ मा हावाहुरीका कारण पूर्ण रुपमा घरमा क्षति पुगेका २५ परिवारलाई राहत वितरण गरेकोे हो । नेपालीहरुको महान पर्व दिपावलीको अवसरमा देउसीभैलो कार्यक्रमको आयोजना गरी स्थापना गरिएको विपद ब्यवस्थापन कोष अन्तर्गत युनाइटेड क्लब पोखराले उक्त क्षेत्रमा राहत वितरण गरेको हो । सो अवसरमा बोल्दै गढी गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष इन्द्र बहादुर रावतले उदयपुर जिल्लाको गढी गाँउपालिकामा हावाहुरीका कारण क्षती भएका घर बस्तीमा पोखरादेखी युनाइटेड क्लबको सहयोगबाट आफ्नो वडा र अन्य दुई वडाका हावाहुरी पिडितहरुलाई सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे । समाजसेवामा उत्कृष्ट रहेको युनाइटेड क्लबले सामाजिक कामकै लागि पोखरादेखी उदयपुरको बिकट बस्तीमा सहयोग गर्नु आफैमा स्रहानिय काम भएको बताए । त्यस्तै गढी गाँउपालिका स्थायी घर भइ हाल पोखरा १० निवासी समाजसेवी राजु राईले युनाइटेड क्लबलाई आफुले आफ्नो ठांउमा विपदका कारण जनताहरु प्रभावित रहेको जानकार गराइ सहयोग जुटाउन पाउदा खुसी लागेको बताउदै युनाइटेड क्लब प्रति आभार प्रकट गरे । त्यस्तै युनाइटेड क्लबका आजीवन सदस्य तथा विपद ब्यवस्थापन उपसमिति सदस्य चन्द्र बहादुर थापाले युनाइटेड क्लब संगै आफ्नो ब्यवशायीक संस्था युएनआइ एलइडी एक्सपर्टको माध्यामबाट हावाहुरी प्रभावित क्षेत्रमा आफ्नो संस्थाबाट सानो रकमको भएपनि बिजुलीको सामाग्री वितरण गर्न पाउदा खुसी लागेको बताए । उक्त अवसरमा बोल्दै युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले स्थापना कालदेखीनै पोखरामा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य,खेलकुद, पर्यटन, सेती नदी संरक्षण संगै विपद ब्यवस्थापनमा समेत काम गर्दै आइरहदा उदयपुरको पहाडी भेगमा रहेका जनतालाई सानो भएतापनि राहत प्रदान गर्न पाउदा खुसी लागेको बताए । राहत वितरण कार्यक्रमका अध्यक्ष तथा युनाइटेड क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले युनाइटेड क्लबले विपद ब्यवस्थापन कोष अन्तर्गत यसअघिपनि कैलाली जिल्लाको कैलारी गाँउपालिकाका हावाहुरी पिडितहरु, कास्कीको सराङकोटका पहिरो पिडितहरुलाई पनि सहयोग गरेको स्मरण गर्दै हाल आएर उदयपुर जिल्लामा आएर सहयोग गर्न पाउदा खुसी लागेको बताए । प्राकृतिक विपत्ति जुनसुकै वेलामा पनि आउन सक्ने भएकाले यसको सामना गर्नका लागी सवैजना तयार रहनुपर्ने वताउदै थापाले युनाइटेड क्लबले नेपालको जुनसुकै ठाउमा पनि सहयोग गर्न तयार रहेको बताए । सो अवसरमा तीनवटै वडाका २५ जना पिडितहरुलाई युनाइटेड क्लबले जनही ४ हजार, युएनआइ एलईडी एक्सपर्ट लाइटिङ र विबश इलेक्ट्रीकल प्रा.लिले २५ घरमा २५ सयका दरले बिजुलीका सामग्री र समाजसेवी राजु राइले २५ घरपरिवारलाई जनही १ हजारका दरले २५ हजार रुपैया राहत स्वरुप प्रदान गरिएको थियो । युनाइटेड क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लबका कोषाध्यक्ष सूर्य बहादुर बानियाँले स्वागत मन्तब्य राखेका थिए ।

