काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औँ नाडा अटो शोको उद्घाटन गर्नुभएको छ। भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको ब...

जोमसोम : मु्स्ताङमा भारतीय महिला पर्यटकको लेंक लागेर मृत्यु भएको छ।   भारतको भवानी नगर काप्रा सेकुन्दरावाद हैदरावादीकी ६१ वर्षीया रुपा थाङ्लाको लेंक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।   मुक्तिनाथ दर्शनका लागि बिहीबार बेनी–जोमसोम सडकमार्ग हुँदै २२ जनाको भारतीय टोलीमा उनी जोमसोम आएकी थिइन्।    शुक्रबार बिहान जोमसोमबाट मुक्तिनाथ जाने क्रममा रानीपौवा बसपार्कमा लेंक लागेर बेहोस भएकी ढलेकी थिइन्।    उनलाई उपचारका लागि जोमसोम अस्पताल पुर्‍याउँदा मृत्यु भएको प्रहरीले जनाएको छ।    महिलाको शव प्रहरीले आफन्तको जिम्मा लगाइसकेको प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए। सँगै आएका उनका श्रीमानलाई पनि लेक लागेपछि  तत्काल हवाई सेवामार्फत पोखरा लगिएको थियो।

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मूलभूत रूपमा सरकार पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने बताउनुभएको छ ।   शुक्रबार रिपोर्टस क्लब नेपालको २५ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।   उहाँले भन्नुभयो, ‘‘अहिले नयाँ–नयाँ राजनीतिक समीकरण बनिरहेको छ । आजमात्रै सरकारलाई पूर्णता दिने क्रममा हामी मूलभूत रूपमा सरकार पूर्ण भएको छ, अब यसले गति लिनुपर्छ । देश अहिले आर्थिक रूपमा अप्ठ्यारो स्थितिबाट गुज्रेको छ । राजनीतिक स्थायित्वको कुरा पनि छ । सुशासनको कुरा पनि छ ।’’ उहाँले देश अहिले आर्थिक रूपमा अप्ठ्यारो स्थितिबाट गुज्रेको भए पनि श्रीलङ्का बन्ने स्थितिमा नरहेको दाबी गर्नुभयो ।   प्रधानमन्त्रीले आफूले तेस्रो कार्यकालका रूपमा प्रधानमन्त्री भएर लगभग एक सय दिन पूरा गरेको अनुभवका आधारमा हरेक क्षेत्रमा सुधार गर्न सकिने अनुभव पाएको बताउनु भयो । उहाँले  अर्थतन्त्रको स्थितिमा गएको तीन महिनामा रेमिट्यान्सको स्थितिमा धेरै सुधार भएको जानकारी दिनुभयो ।   उहाँले तीन महिनामा रेमिट्यान्स, राजश्व सङ्कलनमा गुणात्मक सुधार भएको दाबी गर्नुभयो । उहाँले पछिल्लो तीन महिनामा विदेशी मुद्रा सञ्चितामा देश धेरै राम्रो स्थितिमा आइसकेको बताउनुभयो ।   ‘‘मेरो १०० दिन पुग्दा नपुग्दैको अनुभवले के भनेको छ भने निजी र सार्वजनिक क्षेत्रको प्रभावकारी र परिणामकारी सहकार्यको कुरा गरेको छु । सुशासन कायम गर्नको लागि लामो लामो लाइन बस्ने, राहदानी, लाइसेन लगायत अन्य कुराको लाइनलाई घटाउन काम भएको छ । सुधार भएको मसँग अनुभव छ यो १०० दिनमा र सुधार गर्न सकिन्छ भन्ने विश्वास झनै बढेको छ ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘अर्थतन्त्रको स्थितिमा गएको तीन महिनामा रेमिट्यान्सको स्थितिमा धेरै सुधार भएको छ, करिब गुणात्मक, राजश्व सङ्कलनमा धेरै सुधार भएको छ करिब गुणात्मक, विदेशी मुद्रा सञ्चितामा त हामी निकै राम्रो स्थितिमा आइसकेका छौँ ।’’ प्रधानमन्त्री प्रचण्डले देशको आर्थिक अवस्था बर्बाद हुन लाग्यो भन्ने ठाउँमा नरहेको बताउनु भयो ।

काठमाडौं: नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि उचालेको छ । फाइनलमा लाओसलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले घरेलु मैदानमा प्रतियोगिताको उपाधि उचालेको हो ।    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दोस्रो हाफको ८७ मिनेटमा नेपालले निर्णायक गोल गरेको हो । खेलको सुरुवाती अग्रता लाओसले लिएको भए पनि नेपालले घरेलु मैदानमा उपाधि रक्षा गरेको हो ।    नेपालको जितमा आयुष घलान र मनिष डाँगीले एक एक गोल गर्नुभयो। खेलको १७ औं मिनेटमा लाओसका लागि फोउचाङभोङ साङ्भिले गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभएको थियो ।    खेलको २४ औं मिनेटमा नेपालका आयुष घलानले बराबरी गोल फर्काउनु भएको  थियो। एरिक विष्टको पासमा आयुषले गोल गर्नुभएको हो । उपाधि रक्षाका लागि लाओसविरुद्ध खेलको ८७ औं मिनेटमा अन्जन विष्टको पासमा मनिष डाँगीले नेपालका लागि गोल गर्नुभएको हो ।    फाइनल खेलमा म्यान अफ द म्याच नेपालका २१ नम्बर जर्सीका मनिष डाँगी बन्नुभयो । सर्वोत्कृष्ट खेलाडीको उपाधि नेपालकै जर्सी नम्बर १९ का आयुष घलानले पाउनुभएको छ।    प्रतियोगिताको विजेता नेपालले पाँच हजार अमेरिकी डलर र दोस्रो हुने लाओसले तीन हजार डलर पुरस्कार पाएका छन्। विजेता र उपविजेतालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रफी र पुरस्कार प्रदान गर्नुभएको छ ।   नेपालले उद्घाटन खेलमा लाओसलाई २-० गोल अन्तरले पराजित गरेको थियो । लाओसले भुटानलाई २–१ गोलले हराएर फाइनल यात्रा बनाएको थियो। भुटान भने अन्तिम खेलमा नेपालसँग उत्कृष्ट प्रदर्शन गर्दै १–१ गोलको बराबरी खेल्दै  प्रतियोगिताबाट बाहिरिएको थियो।  

काठमाडौं : विमानस्थलमा यात्रुलाई यथार्थ सूचना दिन र उडानमा ढिलाई नगर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले अनुरोध गरेको छ।    विमानस्थलमा यात्रुले उडानबारे यथार्थ सूचना नदिने र विभिन्न कारणमा उडानमा ढिलाई हुने गरेको भन्दै कार्यालयले उक्त निर्देशन दिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीको निर्देशनपछि कार्यालयले विमानस्थल सुधारको काम थालेको हो।     कोभिड पछिको अवस्थामा सम्भव भएसम्म उडानमा स्न्याक्स को प्रबन्ध पुनः सुरु गर्न पनि वायुसेवा सञ्चालकलाई अनुरोध गरिएको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ।    यसैगरी विमानस्थलबाटै ब्यागेज तोडफोड, चोरीका गुनासो आउन नदिन सुपरभाइजरको कार्य प्रभावकारी बनाउन, समयमा उपकरण मर्मत गर्न, ब्यागेज ह्याण्डलिङ तालिम दिन, सामान लोडिङ, अफ लोडिङ समयमा हाइ रिजोलुशन गोप्रो क्यामेराको व्यवस्था गर्ने निर्णय गरेको छ।    यसैगरी खल्ती रहित पोशाकको व्यवस्था लागु गरी थप प्रभावकारी र गुनासो रहित सेवाका लागि निगमले प्रबन्ध मिलाउने निर्णय भएको कार्यालयले जनाएको छ। आगमन क्षेत्रमा ट्राभलेटरमा यात्रु जान मिल्ने तर ट्रली साथमा भएमा लिफ्टबाट मात्र लैजाने गरी व्यवस्था मिलाइएको छ।    विमानस्थल आगमनबाट बाहिर निस्कने स्थानमा आइएम्एस् प्रालिले थप्नु पर्ने लिफ्टको कार्यका सन्दर्भमा सिभिल निर्माण कार्य सुरु भइसकेको र १२ ट्रली अट्ने मोडलको लिफ्ट खरिदका लागि एलसी खोली सकेकाले ३ महिना भित्र विदेशबाट उपकरण डेलिभरी भई जडान कार्य समेत सम्पन्न हुने छ।    यसका साथै पार्किङ गर्न नपर्ने तथा आफन्त पिकअपका लागि मात्र आउने यात्रुका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाउन विमानस्थल कार्यलयबाट सञ्चालकलाई निर्देशन दिइएको छ।

पोखरा:  पोखरामा लागू  औषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।    पोखरा ८ बुद्व मार्गबाट रोशन अधिकारीलाई ११४ एम्पुल लागू औषध सहित प्रकाउ गरेको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए ।    उनको साथबाट डाईजापाम ४० एम्पुल, फेनारगन ३५ एम्पुल र नुफिन ३९ एम्पुल लागू औषध बरामद गरेको हो ।    उनलाई लागू औषध सम्बन्धि मुद्वामा पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं : थप १४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।    पछिल्लो २४ घन्टामा देशभरबाट १०७९ नमूना परीक्षण गर्दा ६९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।   मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३८१ र एन्टीजेनबाट ६९८ नूमना परीक्षण गर्दा पीसीआरबाट ४४ र एन्टिजेनबाट ९८ को रिपोर्ट पोजिटिभ आएको हो।   यो अवधिमा चार जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १६३ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ। 

काठमाडौं : नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले मन्त्रालयलाई मर्यादित र प्रतिष्ठित बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।    सिंहदबारस्थित मन्त्रालयमा पदवहालीका क्रममा उनले स्वदेशमै रोजगार सिर्जना तथा वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सम्मानित बनाइने बताए। मुलुकको समृद्धिका लागि श्रम मन्त्रालयले योगदान गर्न सक्ने गरी मन्त्रालयलाई सञ्चालन गरिने बताए।   अहिले मन्त्रालयले गरिरहेका सम्पूर्ण कामकारबाहीलाई पुनरावलोकन गरिने उनको भनाइ छ। उनले सीपयुक्त दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउन पहल गरिने बताए।   पदवहालीका क्रममा मन्त्री भण्डारीले अभिमुखीकरण सेवा प्रदायक संस्थाका कामकारबाहीलाई थप प्रभावकारी बनाउन कार्यदल गठन गर्नेसम्बन्धी निर्णय गरे। 

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्‍को नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नुभएको छ। शुक्रबार नवनियुक्त मन्त्रीले राष्ट्रपति समक्ष मन्त्री पद तथा गोपनीयताको शपथ लिनुभएको छ।    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा पुस १० गते गठन भएको मन्त्रिपरिषद्‍मा शुक्रबार व्यापक हेरफेर भएको हो।   हेरफेरसँगै मन्त्रिपरिषद्को संख्या १७ पुगेको छ। नेपालको संविधान अनुसार संघीय सरकारको मन्त्रिपरिषद् २५ सदस्यीय हुनेछ। अब आठ सदस्य मन्त्री थप्न सकिने छ।    पहिलो पटक सत्तारुढ भएको प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट उपप्रधानमन्त्रीसहित चार सदस्यले मन्त्री पदको शपथ लिनुभएको छ। थप चार जनाको नाम सिफारिस हुन बाँकी छ।    

गलकोट: ठूलो फाँट छेउको ओदानडाँडाको स्वरुप पछिलो दुई वर्ष यता फेरिएको छ । धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ केही समयअघिसम्म गुमनाम रहेको ओदानडाँडा स्थानीयका सक्रियतामा पूर्वाधार र प्रचारप्रसारपछि चर्चामा आएको छ ।   आकाशबाट खसेको प्राकृतिक ओदान संरक्षण गरेर राखिएको स्थानलाई अहिले पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ पछिल्लो दुई वर्षयता थुप्रै पूर्वाधार थपिएपछि ओदानडाँडाको चर्चा चुलिन थालेको छ ।   ऐतिहासिक महत्त्व बोकेको ओदानडाँडाको संरक्षण र विकासका लागि गठन भएको ओदानडाँडा संरक्षण समितिको अगुवाइ, स्थानीयको सहयोग र पालिका र गण्डकी प्रदेशको सहयोगमा सो क्षेत्रमा पूर्वाधार निर्माणपछि आन्तरिक पर्यटकसमेत आउन थालेका छन् ।   ऐतिहासिक महत्व बोकेर पनि ओझेलमा परेको बागलुङको काठेखोला गाउँपालिका–७ रेश स्थित ओदानडाँडा स्थानीयको सक्रियतामा संरक्षणको काम भएको हो । ओदान रहेको मन्दिर र सत्तल मात्रै रहेको स्थानमा अहिले पदमार्ग, प्रवेशद्वार, आकर्षक पानीको फोहोरासहितको पोखरी, व्यवस्थित सत्तल र जग्गा व्यवस्थापनको काम भएको छ ।   बाइसेचौबिसे राज्यअन्तर्गत भूरे राजाका पालामा आकाशबाट चट्याङ खस्ने क्रममा खसेको प्राकृतिक ओदान संरक्षित गरेर राखिएको उक्त स्थानलाई पछि ओदानडाँडा नामकरण गरिएको थियो । अहिले ओदानडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको स्थानीय रामचन्द्र गौतमले बताउनुभयो ।   “अहिले ओदान कस्तो रहेछ भनेर हेर्न आउनेको सङ्ख्या बाक्लो छ, यसलाई हिन्दू धर्मसँग जोडेरसमेत कतिले पूजाआजा गर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “बिस्तारै ओदान हेर्नेका लागि चासो दिने बढेका छन् ।”   परापूर्वकालदेखि नै ऐतिहासिक ओदानको संरक्षण गरेर राखिएको उक्त क्षेत्र लामो समयदेखि ओझेलमा परेपछि स्थानीयको सक्रियतामा दुई वर्षअघिदेखि मात्रै ऐतिहासिकस्थल ओदानडाँडाको संरक्षण थालिएको थियो ।   “गुमनाम रहेको ओदानडाँडा संरक्षण र प्रचारप्रसारसँगै चर्चामा आउन थालेको छ, रेश जाने सडक सुधार भएको खण्डमा धार्मिक पर्यटकको चाप बढ्ने देखिन्छ”, उहाँले भन्नुभयो, “ऐतिहासिक प्रमाणसहितको ओदानडाँडामा हालसम्म पूर्वाधार निर्माणमा झण्डै रु ४० लाख खर्च भइसकेको छ, चर्चित लोकभजन गायक रेशम सापकोटाद्वारा ओदानडाँडाको विषयमा रचना गरेको भजन र छायाङ्कन गरेको दृश्य अहिले तरेली सङ्गीतकुञ्जको युट्युब च्यानलमा ६१ हजारले हेरिसकेपछि ओदानडाँडा एकाएक चर्चामा आउन थालेको हो ।”   चट्याङ पर्दा खसेको ओदानको एक खुट्टा खसेपछि दुईखुट्टे ओदान संरक्षण गरेर ओदानडाँडा मन्दिरमा राखिएको छ । आदानडाँडाको गुरुयोजना बनाएर ओदानडाँडाको तारबार गर्ने, ओदानडाँडा क्षेत्र विस्तार गर्ने र उक्त स्थानमा पुग्ने पदमार्ग निर्माणपछि ओदानडाँडाको मुहारै फेरिएको छ ओदानडाँडा संरक्षण संस्थाका अध्यक्ष विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो ।   आर्थिक वर्ष २०७७/७८ मा काठेखोला गाउँपालिकाको र वडा कार्यालयको रु चार लाख, चालु आर्थिक वर्ष गण्डकी प्रदेशको सामाजिक विकास कार्यालय बागलुङको रु सात लाख र वडा कार्यालयको रु एक लाख ५० हजार तथा स्थानीयबाट सङ्कलित गरेको रु २५ लाखबाट धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहेको ओदानडाँडामा पूर्वाधार निर्माण गरिएको हो । स्थानीय सहयोगदाताले एक हजारदेखि रु एक लाख ११ हजारसम्म ओदानडाँडा संरक्षणमा रकम तथा भौतिक पूर्वाधारका सामग्री सहयोग गरेका थिए ।   सत्तल व्यवस्थापन, एक सय मिटर तारबार, शिवमूर्तिसहितको पानीको फोहोरा, पदमार्ग र मन्दिर परिसरमा रेलिङ, प्रवेशद्वार, एक सय आठ शिवलिङ्ग, एक सय आठ केजीको तामाको ओदान, मन्दिर अगाडिको  जग्गा व्यवस्थापन, पक्की प्राङ्गण निर्माण र तीन सय मिटर लामो पक्की पदमार्ग निर्माण गरिएको छ ।   “यो दुई वर्षमा धेरै मेहनत गरियो, स्थानीयको सहयोगमा प्राप्त रकमबाट पूर्वाधार निर्माणसँगै प्रचारप्रसारका लागि भजनसमेत छायाङ्कन गरियो, अहिले भजन हेरेकै आधारमा टाढाटाढाबाट धार्मिक पर्यटक ओदान हेर्न ओदानडाँडामा आउछन्”, संरक्षण संस्थाका अध्यक्ष गौतमले भन्नुभयो, “प्राकृतिक ओदानसँगै एक सय आठ केजीको तामाको ओदान राखेपछि पर्यटकलाई थप आकर्षण गर्नेछ, अझै मन्दिरमा सय मिटर जाली, ओदानडाँडादेखि खर्दाङ र खर्दाङदेखि धनीखोरिया झोलुङ्गे पुल निर्माण गर्ने र ओदानडाँडादेखि दामगाडेसम्म पक्की पदमार्ग बनाउने र शौचालय व्यवस्थापनको काम बाँकी रहेको छ ।”   ओदानडाँडा पुर्खाको तपोभूमि तथा ऐतिहासिक र धार्मिक तीर्थस्थलका रुपमा रहेकाले यसको संरक्षण, पूर्वाधार निर्माण तथा प्रचारप्रसार गर्न थालिएको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।   पालिकाको गुरुयोजनामा समावेश गरेर ओदानडाँडाको विकास गरिएको लामिछानेको भनाइ छ । बाइसेचौबिसे राज्यका पालामा राजाले यस स्थानमा कोट निर्माण गर्न थालेपछि गौतम थर गरेका विज्ञ पुजारीले उक्त स्थानमा बज्र अर्थात् चट्याङ खस्ने र कोट तथा दरबार क्षति हुने बताएपछि राजा रिसाएर पुजारीलाई कारबाही गरेको तर उक्त स्थानमा विज्ञले भने जस्तैगरी ओदान सहितको बज्र खस्दा एक खुट्टा भाँचिएको ओदान भेटिपछि त्यसलाई संरक्षण गरी राखिएका कारण उक्त स्थान ऐतिहासिक, पुरातात्विक तथा धार्मिक हिसाबले निकै महत्वपूर्ण रहेको स्थानीय कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो । रासस