आइएफआरसीको महासचिवमा पुनः जगन चापागाईँ

काठमाडाैं | बैशाख २८, २०८०

आइएफआरसीको महासचिवमा पुनः जगन चापागाईँ

काठमाडौं:   रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ आइएफआरसी को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईँ दोस्रो कार्यकालका लागि पुनः चयन भएका छन्  ।

  

चापागाईँले यसअघि सन् २०२० फेब्रुअरीमा चार वर्षे सो पदको पहिलो कार्यकाल सम्हालेका थिए ।  स्वीट्जरल्याण्डको जेनेभामा गए राति सम्पन्न आइएफआरसीको गभर्निङ बोर्डको बैठकले पहिलो पदावधि समाप्त हुनु एक वर्ष अगाडि नै उनलाई दोस्रो कार्यकालका लागि पुनः चयन गर्ने निर्णय गरेको हो ।   

 

आइएफआरसीमा आबद्ध देशीय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीका स्वयंसेवक तथा कर्मचारी पछिल्ला वर्षमा कोभिड–१९ महामारीको प्रतिकार्यमा अग्रपङ्क्तिमा जुटेका थिए  । आइएफआरसीले आफ्नो कार्यादेशअनुसार जलवायु परिवर्तनले निम्त्याएका, प्राकृतिक तथा मानव सिर्जित विपद् न्यूनीकरण र पीडितलाई अनवरत रूपमा मानवीय सहयोग  गर्दैआएको छ । 

 

दोस्रो कार्यकालको पदावधि थपपछि महासचिव चापागाईँले भने, “अइएफआरसीको गभर्निङ बोर्ड र आइएफआरसीका अध्यक्ष फ्रान्सेस्को रोक्काको विश्वास पाउँदा म सम्मानित र गौरवान्वित भएको छु । थुप्रै चुनौतीबीच समाधान खोज्न र हामीले सेवा गर्ने समुदायका बीचमा विश्वास निर्माण गर्न निष्ठाका साथ काम गर्नेछौँ ।”

 

तीन दशकभन्दा बढी समय मानवीय सेवामा तल्लीन चापागाईँले गत महिना नेपाल भ्रमणका क्रममा नेपाल रेडक्रस सोसाइटीलाई ३० नयाँ र १५  स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण गरेका थिए। युद्ध र युद्धका परिणाम, प्राकृतिक तथा मानवसिर्जित विपद्, विपद्ले सिर्जना गरेका असर, गरिबी, भोकमरी, विषमता न्यूनीकरण, सङ्कटापन्न समुदायलाई उत्थानशील बनाउनेलगायत क्षेत्रमा आइएफआरसीले मानवीय सहायता प्रदान गर्दछ । 

 

सात लाखभन्दा बढी कर्मचारी र झण्डै दुई करोड स्वयंसेवकको माध्यमबाट करिब एक अर्ब जनसङ्ख्यालाई  आइएफआरसीले बर्सेनि मानवीय सहायता पुर्‍याउने गरेको छ । रासस

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्