काठमाडौं : सशस्त्र प्रहरी बल, नेपालले प्रतिबन्धित लागु औषध गाँजा १८८.९ के.जी बरामद गरेको छ। गएराति विशेष सूचनाको आधारमा सर्लाही, मलंगवा न.पा.-११ गम्हरीयास्थित झिम खोला बाँध ईलाकाबाट लुकाई छिपाई नेपालबाट भारततर्फ लैजादै गरेको गाँजा बरामद गरेको सशस्त्र प्रहरी बलले जनाएको छ। १० गण नम्बर गणबाट खटिएको १५ जनाको गस्ती टोलीलाई देखेपछि प्रतिबन्धित २० पोका छाडी व्यक्तिहरु फरार भएका छन्।
पोखरा: अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (१४२.१९५ किमी)को अन्नपूर्ण म्याराथन आउँदो जेठ महिनामा आयोजना गर्ने भएको छ । कोभिड–१९ का कारण दुई संस्करण स्थगित भए पनि समितिले यसपटक अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिन लागेको समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिनुभयो । अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न विगतमा निरन्तर पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन गरिँदै आइएको थियो । प्रतिकूल परिस्थितिका कारण गत वर्षका कार्यक्रम स्थगित भए पनि यसपटक पूर्वनिर्धारित समयअनुसार नै कार्यक्रमलाई निरन्तरता दिइने समितिका सचिव मिकास गुरूङले बताउनुभयो । विसं २०७५ फागुन १५ को हिमपातबाट अन्नपूर्ण आधार शिविरमा आएको हिमआँधीले अन्नपूर्ण आधार शिविरका होटलमा गम्भीर क्षति भएको थियो । नेपाल भ्रमण वर्ष २०२० घोषणा भएलगत्तै अन्नपूर्ण पदयात्रा मार्गको हिन्कु केभमा हिमपहिराका कारण भएको दुःखद् घटना र विश्वव्यापी कोभिड–१९ को सङ्क्रमण र त्यसको नियन्त्रण लागि अपनाइएको निषेधाज्ञाका कारण त्यस क्षेत्रको पर्यटन व्यवसायसँगै देशको सम्पूर्ण अर्थतन्त्रमा समेत गम्भीर असर परेको व्यवसायी बताउँछन् । पर्यटन क्षेत्रलाई धरासायी हुन नदिनका विषेश राहत प्याकेज कार्यक्रम सञ्चालन गरी अर्थतन्त्रको सवलीकरण गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग विशेष अनुरोध गर्ने समितिले जनाएको छ ।
काठमाडौं: गृह मन्त्रालयले २५ जना अधिकारीको सरुवा गरेको छ । अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायमा सरुवा गरिएको हो । सरुवा हुनेमा १४ राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) सहित रहेका छन् । गृह सचिव विनोदप्रकाश सिंहका अनुसार मन्त्रालयले अतिरिक्तमा रहेका ११ सहसचिवको पदस्थापन र तीनजनाको सरुवा गरेको छ भने ११ जना सहसचिवको विभिन्न निकायमा सरुवा गरेको छ । जसअनुसार सहसचिव रामबन्धु सुवेदीलाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँको प्रमुख अध्यागमन अधिकृतमा पठाएको छ भने त्यहाँका वासुदेव घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत सारिएको छ । सहसचिव रुद्रसिंह तामाङलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र महादेव पन्तको आन्तरिक व्यवस्थापन महाशाखा, गृहमा पदस्थापन गरिएको छ । यसैगरी, मेखबहादुर मगरातीलाई जिल्ला प्रशासन कार्यालय पाँचथर, रामकृष्ण अधिकारीलाई लमजुङ, जयकुमार घिमिरेलाई जुम्ला, प्रेमप्रसाद आचार्यलाई पर्वत, कोमलप्रसाद धमलालाई दोलखा, वेदप्रसाद खरेललाई सल्यान, मदन कोइरालालाई प्यूठान र रामकुमार महतोलाई जाजरकोटको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ । थानेश्वर गौतमलाई धनकुटा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव अनिता निरौलालाई जिल्ला प्रशासन कार्यालय रामेछापको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरेलाई जिल्ला प्रशासन कार्यालय जुम्लाको सहायक प्रजिअ, धनकुटाकी लीलाकुमारी केसी (पाण्डे) लाई पाँचथरको सप्रजिअ, दोलखाका प्रजिअ शेखर पौड्याललाई जिल्ला प्रशासन कार्यालय इलामको सहायक प्रजिअ, रामेछापका प्रजिअ शोभाखर रेग्मीलाई जिल्ला प्रशासन कार्यालय बैतडीको सहायक प्रजिअमा सरुवा गरिएको छ । यसैगरी, जिल्ला प्रशासन कार्यालय लमजुङका प्रजिअ वसन्तराज पुरीलाई सहायक प्रजिअ दोलखा, पर्वतका प्रजिअ चित्राङ्गत बराललाई सप्रजिअ बागलुङ, र बागलुङका प्रजिअ गणेशप्रसाद पौडेललाई जिल्ला प्रशासन कार्यालय पर्वतको सहायक प्रजिअ र प्यूठानका प्रजिअ वेदप्रसाद अर्याललाई जिल्ला प्रशासन कार्यालय रौतहटको सहायक प्रजिअमा सरुवा गरिएको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय सल्यान, जुम्ला र जाजरकोटका प्रजिअहरु क्रमशः कृष्णचन्द्र पौडेल, मुकेशकुमार केशरी र अञ्जन न्यौपानेलाई क्रमशः प्यूठान, धनुषा र धनकुटाको सहायक प्रजिअ बनाई पठाएको जनाएको छ ।
ढोरपाटन: डेढ दशक अगाडि बुर्तिबाङ बजार सडकले जोडियो । सडकले जोडिएपछि बुर्तिबाङसँगै पश्चिम बागलुङको मुहार फेरियो तर बसपार्क अभावमा अहिलेसम्म यो क्षेत्रले सास्ती भोग्दै आएको छ । मध्यपहाडी लोकमार्ग छेउमै पर्ने यो बजार देशकै दश नमूना सहरमा पर्छ । सरकारले नमूना सहर निर्माण गर्न थालेको वर्षौं बितिसक्दा पनि बुर्तिबाङ बजारमा एउटा गतिलो बसपार्क बन्न सकेको थिएन । यही वर्षदेखि बुर्तिबाङ बजार नजिकै खप्तरीबाङमा बसपार्क निर्माण सुरु भएको छ । बढ्दो सहरीकरण र साँघुरो बसपार्कका कारण यातायातका साधन सडकमै पार्किङ गर्नुपर्ने स्थिति छ । जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्रका रुपमा रहेको बुर्तिबाङ बजार निसी, भुजी र तमानको सङ्गमस्थल हो । ढोरपाटन नगरपालिकाको केन्द्रसमेत रहेको बुर्तिबाङमा अहिले पनि साँघुरो बसपार्क छ । जहाँ १०÷१५ वटाभन्दा बढी गाडी रोक्न मिल्दैन । चालकले जथाभावी रुपमा गाडी रोक्दा बजारनै अस्तव्यस्त बन्छ । अझ व्यवसायीले सडक पेटीमै सामान राख्दा पदैल यात्रुलाई झनै समस्या भएको छ । नयाँ सहर आयोजना कार्यालयले ढोरपाटन नगरपालिका–१ खप्तरीबाङमा जग्गा खरिद गरी बसपार्क निर्माण थालेपछि बजार क्षेत्रमा यातायात व्यवस्थापन सहज हुने अपेक्षा लिइएको छ । विसं २०६८ देखि सुरु भएको नयाँ सहर आयोजनाले जग्गा व्यवस्थापन गर्न ढिलाइ गर्दा बसपार्क निर्माण हुन सकेको थिएन । विसं २०८० असार १५ गतेसम्म बसपार्क निर्माण सम्पन्न गर्ने गत कात्तिक ७ गते आयोजनाको ठेक्का सम्झौता भएको नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङका निमित्त प्रमुख अभिषेक अधिकारीले जानकारी दिनुभयो । बसपार्क निर्माणको जिम्मा गोरखनाथ कन्स्ट्रक्सन एण्ड मरचेन्टाइजर प्रालिले पाएको छ । कम्पनीले निर्माण कार्यलाई तीव्रता दिएको अधिकारीको भनाई छ । मध्यपहाडी लोकमार्गको छेउमै रहेको भुजीखोला किनारमा तटबन्धन गरी बसपार्क निर्माण थालिएको उहाँले बताउनुभयो । विसं २०७५ सालमा छ रोपनी जग्गा खरिद गरेको र विभिन्न प्रक्रिया पूरा गरेर अहिले बसपार्क बनाउन थालिएको निमित्त प्रमुख अधिकारीले बताउनुभयो । निर्माण कम्पनीले अहिले टर्मिनल भवन निर्माण गरिरहेको भन्दै यहाँ बन्ने बसपार्कमा ३० जीप, २० बस र स–साना दर्जनौँ सवारी साधान अट्ने उहाँको भनाइ छ । टर्मिनल भवन तीन तलाको हुनेछ । बसपार्क दुई करोड २६ लाख ४० हजार चार सय ३१ मा बन्नेछ । बसपार्क निर्माण भएपछि बुर्तिबाङ बजारको सौन्दर्यमा थप टेवा पुग्ने स्थानीय तुलबहादुर क्षेत्रीले बताउनुभयो । “बुर्तिबाङ बजार निकै साँघुरो छ, साँघुरो भए पनि सुन्दर छ, तर यहाँको सुन्दरतालाई अव्यवस्थित व्यवस्थापनले कुरुप बनेको छ, न सडक सफा छ, अहिले भएको बसपार्कको हालत निकै खराब छ”, क्षेत्रीले भन्नुभयो, “गाडी यति धेरै छन्, कहाँ पार्किङ गर्ने, यात्रु कताबाट हिँड्ने अब खप्तरीबाङ बसपार्क बन्यो भने बजार क्षेत्र अहिलेको जस्तो अस्तव्यस्त हुने छैन ।” सिकार आरक्ष ढोरपाटनको प्रवेशद्वार रहेको बुर्तिबाङ बजारमा दैनिक सयौँ आन्तरिक पर्यटक आउछन् । वडाअध्यक्ष बानबहादुर छन्त्यालले पछिल्लो समय बजार क्षेत्रमा अव्यवस्थित पार्किले गर्दा विभिन्न समस्या उत्पन्न हुने गरेको भन्दै अब बजार व्यवस्थापनमा सहज हुने बताउनुभयो । उहाँले एक दशक अगाडिसम्म बुर्तिबाङ बजारमा घर भवन निकै कम भएको भन्दै अहिले खाली ठाउँ नभएको बताउनुहुन्छ । “मानिस र सवारी साधानको चाप बढेपछि यहाँ बसपार्कको आवश्यकता परेको हो”, अध्यक्ष छन्त्यालले भन्नुभयो, “ अब धेरै समय समस्या खेप्नुपर्ने छैन, असारसम्म काम सक्ने भन्ने छ, बसपार्क सञ्चालनमा आयो भने बजारको सौन्दर्यकरणमा पनि परिवर्तन आउने छ ।” लोकमार्ग कालोपत्रे भएपछि बुर्तिबाङ बजारमा यातायातको चाप बढेको हो । अहिले मध्यपहाडी लोकमार्गले रोल्पा र रुकुम जोडिएपछि ती दुई जिल्लाबाट किनमेल गर्ने मुख्य बजार बुर्तिबाङ बनेको छ । यहाँबाट हरेक दिन दजनौँ गाडीहरु देशका ठूला सहर काठमाडौँ, पोखरा, बुटवललगायतका ठाउँ र पश्मिच बागलुङका ग्रामीण क्षेत्रमा पुग्ने गर्छन् । नयाँ बसपार्क सञ्चालनमा आएपछि बुर्तिबाङ बजारस्थित पुरानो बसपार्क विभिन्न कार्यक्रमका लागि प्रयोग हुनेछ । RSS
काठमाडौं: देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा आज मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीयसँगै पश्चिमी वायुको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत बागमती र कोसी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका थोरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रही कोसी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।
पोखरा: पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले तालिममा सिकेको इलमलाई व्यवहारमा उतार्दै आर्थिक रूपमा आत्मनिर्भर महिलाको पहिचान बनाउन आग्रह गरेकी छन् । उपप्रमुखसँग महिला कार्यक्रम छ, महिलाले सञ्चालन गर्ने उद्योगका लागि १५ लाखसम्म विना धितो ऋण दिन्छौं । आसन्न आर्थिक मन्दीलाई सम्बोधन गर्न आयमुलक र सिपमुलक काम गरी आत्मनिर्भरताको बाटो समात्न आवश्यक भएको गुरुङले बताइन । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय ओम शान्तिको संरक्षित संस्था पोखरा आध्यात्मिक सेवा केन्द्रको आयोजना र पोखरा महानगरपालिकाको सहयोगमा सञ्चालित दुई महिने हाते होजियारी तालिम समापन समारोहका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै गुरुङले आर्थिक पाटो बलियो बनाई महिला सशक्तिकरणलाई सवल र सक्षम बनाउन जोड दिइन । पोखरा उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य एवम् महिला उद्यमी उपसमितिकी संयोजक बन्दना कार्की के.सी.ले पोखरालाई कोसेली घर चाहिएको छ, सिकेको सिपलाई उत्पादनमा रूपान्तरण गरी व्यवसाय सञ्चालन र उद्यमशील बन्ने वातावरण तयार गर्न आफू प्रतिवद्ध रहेको जनाइन् । मुख्य प्रशिक्षक सविता श्रेष्ठ रञ्जितले जाँगर चलाए असम्भव भन्ने केही छैन्, कोसिसले नै सम्भावनाका ढोका खुल्छन्, आध्यात्मिक केन्द्रले आफ्ना साधकलाई आफ्नै खुट्टामा उभिन पहल गर्नु सह्रानीय भएको विचार राखिन् । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाकी प्रमुख गीता न्यौपानेले ३ करोड ५० लाख सरकारी बजेट भएको महाशाखामा कार्यक्रम लिन झन्झट भए पनि निरन्तर पहल गर्दा पाउने धारणा राखिन । इलम सिकेर तयार गरिएका सामग्री महानगरपालिका आफैले मायाको चिनोको रूपमा प्रयोग गर्न सक्ने भएकाले निरन्तरता दिन जोड दिएकी थिइन । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पार्दी शाखाकी प्रमुख ब्रह्माकुमारी अप्सरा सुवेदीले आज विश्वमा मानिसहरू रोगले भन्दा डिप्रेसनले मरिरहेका छन् यसको औषधि छैन् उपचार नै आध्यात्मिक दिव्य ज्ञान हो । पुरुषमा भन्दा महिलामा सात ओटा गुणहरू बढी छन् सिप सिकेर आफूलाई सशक्तिकरण गर्नु नै सुखी हुनु हा । सिकेको इलमलाई परिष्कार गदा आध्यात्मिक सुख पनि मिल्छ भन्ने ईश्वरीय प्रवचन दिएकी थिइन् । ब्रह्मकुमार शंकर देवकोटाले आजको व्यस्ततापूर्ण जीवन शैलीलाई सन्तुलित गर्न आध्यात्मिक शिक्षा, ज्ञान, साधना र सिपको आवश्यकता छ । यसले जीवन जगत र पदार्थको यथार्थ ज्ञान दिन्छ । पोखरा आध्यात्मिक सेवा केन्द्रले दुई महिना इलम सिकायो, आध्यात्मिक र भौतिक सिपले नै जीवन पूर्ण हुने विचार राखेका थिए । तालिममा सहभागी ब्रह्माकुमारी जेनिशा गुरुङले आफ्नो अनुभव राख्दै काँटी र धागो समाउन पनि नजानेका हातहरूलाई दक्ष प्रशिक्षकले निपूर्ण बनाइ आफ्ना लागि चाहिने सामग्री आफै बनाउन सक्ने बनाउनु नै सफलता भएको जनाइन । जेनिशाले केही गर्नका लागि हौसला मिलेको हुँदा यसलाई निरन्तरता दिएर आयआर्जनमा लाग्ने बताइन् । पोखरा आध्यात्मिक सेवा केन्द्रको समन्वयमा २० जना महिलाले दुई महिने हाते होजियारी तालिम लिएको एन्जेल हाउसकी सञ्चालक ब्रह्माकुमारी राधा गुरुङले जानकारी दिइन् । गत पुस १९ गतेदेखि फागुन ३० गतेसम्म सञ्चालित दुई महिने हाते होजियारी तालिममा विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी अध्यक्ष तथा मुख्य प्रशिक्षक सविता श्रेष्ठ रञ्जित र प्रशिक्षक इन्द्रेणी श्रेष्ठले उनीका टोपी, गलबन्दी, स्वेटर, पञ्जा, मोजा, रुमाल, टेवुल पोस लगायतका हस्तकलाका सामग्री बनाउने तालिममा सिप हस्तान्तरणका लागि सहजीकरण थिए । कार्यक्रममा प्रशिक्षार्थीले तयार गरेका हस्तकला सामग्रीको प्रदर्शनी गरिएको थियो भने उक्त सामग्री आमन्त्रितले मायाको चिनो लिँदा प्रशंसा गरेका थिए । कार्यक्रममा आर्दश गुरुङ, इन्द्रेणी श्रेष्ठ, सविता श्रेष्ठ रञ्जित, दुर्गा पौडेल अमरसिंह महिला समूह, जुनामाया बोहोरा माछापुच्छ«े महिला समूह, कृष्णबहादुर थापा कामना टोलविकास संस्था, सिमा राई गुरुङ कामना टोल महिला उपसमितिलाई सम्मान गरिएको थियो । पोखरा आध्यात्मिक सेवा केन्द्रकी अध्यक्ष ब्रह्माकुमारी हरिमाया गुरुङकोे सभापतित्वमा सम्पन्न तालिम समापन समारोहमा ब्रह्मकुमार शङ्कर देवकोटाले स्वागत मन्तव्य राखेका थिए । रामबजार शाखाकी प्रमुख ब्रह्मकुमारी गोमा पौडेलले धन्यवाद ज्ञापन गरेकी थिइन भने केन्द्रका सचिव तथा कार्यक्रम संयोजक ब्रह्मकुमार मनिराज पोखरेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ । रास्वपाको शुक्रबार बसेको केन्द्रीय समिती बैठकले उपनिर्वाचनमा गठबन्धन नगर्ने र तीनवटै क्षेत्रमा चुनाव लड्ने निर्णय गरेको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए । आगामी बैशाख १० गते चितवन–२, तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन हुँदैछ । बैठकले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । जसमा चितवनमा उपसभापति डोलप्रसाद अर्याल, तनहुँमा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी र बारामा गणेश कार्की संयोजक तोकिएका छन् ।
काठमाडौं: मन्त्रिपरिषद बैठकले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।कुँवरलाई आईजीपी बनाउन गृह मन्त्रालयले प्रस्ताव गरेपछि मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई स्वीकार्दै कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गरेको हो । कुँवरसँगै श्यामलाल ज्ञवाली पनि आईजीपी बन्ने चर्चामा थिए ।
काठमाडौं : प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच दुई पार्टीबीच एकताको घोषणा गरिएको हो । एकतापछि पार्टीको नाम आम जनता पार्टी नै रहेको छ । एकता घोषणा कार्यक्रममा आम जनता पार्टीका अध्यक्ष साहले मुलुक अप्ठेरो अवस्थामा पुगेका कारण विभिन्न शक्तिहरू एकीकृत हुनुपरेको बताए। अर्थतन्त्रको भ्रष्ट नीतिका कारण मुलुकको अर्थतन्त्र धरासयी बनेको भन्दै उनले यसमा नीति निर्माण तहमा पुगेका व्यक्तिहरू गम्भीर हुनुपर्ने धारणा राखे। अब सरकार गम्भीर भएर मुलुकमा देखिएका समस्या समाधान गर्न ध्यान केन्द्रीत गर्नुपर्ने उनको भनाइ छ। अहिले नेताहरू कुर्सीको व्यापारी बनेकाले जनताहरू निराश हुनुपरेको उनको भनाइ छ । एकता कार्यक्रममा आम जनता पार्टीको दोस्रो संशोधित अन्तरिम विधान सार्वजनिक गरिएको थियो ।