काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले युवाहरू माथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताए। बिहीबार काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित राष्ट्रिय सेवा दलको १७ औँ व्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आजको अवस्थामा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको र युवाहरूमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताए। सरकारको उच्च प्राथमिकतामा परेको यस कार्यक्रमले युवाहरूलाई मुलुकप्रति समर्पित र राज्यका संस्थाहरूप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुका साथै विपद्को समयमा परिचालन गर्न सकिने तालिमप्राप्त स्वयंसेवक जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको उनको बताए। प्रधानमन्त्री प्रचण्डले देशभित्र विद्यमान विविध भाषा,संस्कृति,भेषभुषा एवं विशेषताहरूको जानकारीले युवाहरूलाई आफ्नो देशप्रतिको गौरव बढाउनुका साथै राष्ट्रिय एकताको भावनामा थप प्रतिवद्धताको विकास हुने विश्वास व्यक्त गरे। राष्ट्रिय सेवा दलको प्रमुख संरक्षक समेत रहेका प्रधानमन्त्री प्रचण्डले हाल विद्यमान ७७०० को संख्या बढाएर आगामी दिनमा तालिममा सहभागीको संख्या विस्तार गर्नुपर्ने आवश्यकताप्रति सरकार गम्भीर रहेको धारणा राखे। दीक्षान्त समारोहमा विभिन्न कवाज,कला प्रस्तुत गरिएको थियो । युवाहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले विसं २०२२ सालमा राष्ट्रिय सेवा दल स्थापना भएको थियो । यस वर्ष जुनियर डिभिजनअन्तर्गत ५,९७६ जना र सिनियर डिभिजनअन्तर्गत १७२८ जना गरी कुल जम्मा ७,५६८ जना छात्रछात्राहरूले राष्ट्रिय सेवा दलको तालिम गरेका छन् ।
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बिहीबार बिहान सिंहदरबारमा भएको भेटवार्तामा राष्ट्रपति उम्मेदवारबारे छलफल भएको हो। भेटका क्रममा नेपालले प्रचण्डलाई निर्वाचनपछि एकीकृत समाजवादीलाई तत्कालीन गठबन्धनले राष्ट्रपति दिने सहमतिबारे स्मरण गराएका थिए। नेपालले प्रधानमन्त्री प्रचण्डलाई आफूलाई राष्ट्रपतिमा सघाउने कि नसघाउनेबारे जिज्ञासा राखेका थिए। जवाफमा प्रचण्डले यसबारे पार्टीमा थप छलफल गर्ने बताए। प्रचण्डले सबै दलको सहमति लिएर राष्ट्रपति उम्मेदवार तय गर्नुपर्नेमा जोड दिए। नेपालले पावर सेयरिङको विषयसमेत उठाएको बालुवाटार स्रोतले जनाएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा नेपाल र सुवास नेम्बाङको नाम अघि सारेका छन्। ओलीले राष्ट्रपतिमा आफ्नो नाम अघि सारेपछि नेपाल अन्य दलसँग छलफलमा जुटेका हुन्। नेपालसँगको भेटअघि प्रचण्डले राष्ट्रपतिको विषयमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्। बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभापति देउवा बालुवाटार पुगेका थिए। भेटमा राष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको छ। भेटका क्रममा कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार बन्ने संभावित व्यक्तिको बारेमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम अघि सारेको छ। बुधबार बेलुका पनि प्रधानमन्त्रीसँग सभापति देउवासहितका कांग्रेसका नेताहरूले राष्ट्रपति चयनका विषयमा छलफल गरेका थिए। दलहरूका आ-आफ्नै अडानले राष्ट्रपति उम्मेवारबारे अझैं टुंगो लागेको छैन्। शनिबार राष्ट्रपति उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका छ।
काठमाडौं: नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा.चन्द्र भण्डारीलाई भोलि (शुक्रबार)बाट ठोस खाना खुवाइने भएको छ । कांग्रेस नेता योगराज कँडेलले सांसद भण्डारीलाई भोलीबाट मुखबाट तरल पदार्थ खुवाइँदै आइएकोमा भोलिबाट ठोस खाना दिइने जानकारी दिनुभयो । कँडेलले सांसद भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गइरहेको र सबै पारामिटर (मानक)हरु सामान्य रहेको बताउनुभयो । भण्डारीलाई कम्तीमा २१ दिनसम्म ब्याण्डेजमा रहनुपर्ने हुँदा इन्फेक्सन हुने सम्भावना भएकाले शुभचिन्तकलाई तत्काल भेटघाट नगर्न उपचारमा संलग्न चिकित्सकको सुझाव रहेकने भनाइ छ । नेता भण्डारीको थप उपचार यही फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ । फागुन ३ गते राति आफ्नो निवासमा ग्यास सिलिण्डरबाट ग्यास चुहिएर कोठामा आगो लाग्दा सांसद भण्डारीसहित उहाँकी आमा हरिकला भण्डारी गम्भीर घाइते हुनुभएको थियो । घटनालगत्तै उहाँहरू दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमै निधन भएको थियो । नेता डा.भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि फागुन ४ गते श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो । नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलेको थियो ।
पोखरा: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि रात्रिकालीन उडानका लागि तयार भएको छ । विमानस्थलमा आजदेखि रात्रिकालीन उडानका लागि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली आजदेखि लागू भएको विमानस्थलले जनाएको छ । ‘यो प्रणाली लागू भएसँगै पोखरा विमानस्थलबाट रातिको समयमा पनि सहज रुपमा उडान र अवतरण गर्न सकिनेछ,’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले भने । बुद्ध एयरको जहाज आइएफआर प्रणालीबाट बिहानको पहिलो फ्लाइट विमानस्थलमा अवतरण गरिसकेको विमानस्थलले जानकारी दिएको छ । यती एअरलाइन्स स्रोतका अनुसार उक्त प्रणालीबाट यतीले शुक्रबार जहाज उडान र अवतरण गर्ने तयारीमा छ । विमानस्थल प्रमुख गौतमका अनुसार मंगलबार र बुधबार आइएफआर प्रणालीको परीक्षण गरिएको थियो । ‘अब विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म गरी १८ घन्टा सेवा दिन तयार छ,’ उनले भने । अहिले दिउँसो ४ बजेसम्ममात्रै उडान हुँदै आएको थियो । विमानस्थल सबै उडानका लागि योग्य रहेको भन्दै नेपाल नागरिक उडड्यन प्राधिकरणले ‘एरोनोटिकल इन्फरमेसन पब्लिकेसन (एआइपी) प्रकाशित गरेको थियो । सो एआइपी प्रकाशन भएको ४२ दिनपछि विमानस्थलमा सबै उडान गर्न योग्य भएको मानिने उनले बताए । सूचना प्रकाशन भएको आज ४२ दिन पुगेको छ । आइएफआर पूर्ण यान्त्रिक प्रणाली भएकाले भिजुअल फ्लाइट रुल्स (भिएफआर) को तुलनामा निकै सुरक्षित र सहज भएको दाबी नागरिक उड्डयन प्राधिकरणको छ । गत पुस १७ गतेदेखि सञ्चालनमा आएको विमानस्थलबाट अहिले आन्तरिक उडान मात्रै हुँदै आएको छ । आजदेखि रात्रिकालीन उडानका लागि तयार भए पनि अन्तर्राष्ट्रिय उडान भने अझै अन्योल छ । केही दिनअघि विमानस्थल अनुगमनमा आएका पर्यटनमन्त्री सुदन किरातीले अन्तर्राष्ट्रियस्तरमा हवाइ सेवा सुरु गर्न कुटनीतिक पहल भइरहेको जानकारी दिएका थिए । बुद्धले फागुन २५ गतेदेखि रात्रिकालीन उडान गर्ने बुद्ध एअर फागुन २५ गतेदेखि व्यवसायिक रात्रिकालीन उडान भर्ने भएको छ । एअरका सूचना अधिकारी दीपेन्द्र कर्णले रात्रिकालीन उडानका लागि ४ वटा जहाज पोखरामा रहने जानकारी दिए । ‘बुद्धले पोखराबाट जुन/जुन सहरमा उडान गरिरहेको छ ती सहरमा सम्भव भएसम्म रातिको समयमा उडान गर्ने तयारी छ,’ उनले भने । बुद्धले काठमाडौंसहित नेपालगञ्ज, भैरहवा र भरतपुरमा पोखराबाट उडान गरिरहेको छ ।
बागलुङ : गाई काटेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले ४ जनालाई पक्राउ गरेको छ। जैमिनी नगरपालिका वडा नम्बर ५ बिनामारेमा गाई काटेका ४ जनालाई प्रहरीले सोमबार रंगेहात पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोही स्थानका २७ वर्षीय डिलबहादुर परियार, ३५ वर्षीय हरिबहादुर सार्की, २४ वर्षीय बिसन दर्जी र ३८ वर्षीय टंकबहादुर सार्की छन्। डिल बहादुर परियारको गोठमा चार जना मिलेर गाई काटिरहेको सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई रंगेहात पक्राउ गरिएको प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए। पक्राउ परेकाहरुलाई पशुपंक्षी सम्बन्धी कसूरमा बुधबार मुद्धा दर्ता गरी जिल्ला अदालत बागलुङबाट थप अनुसन्धानको लागि ५ दिनको म्याद थप गरिएको प्रनि खड्काले बताए।
काठमाडौं: एनआरएन सचिव खगेन्द्र न्यौपाने नेपालमा ट्राभल एण्ड टुर्समा अग्रणी भुमिकामा रही व्यवसाय गर्दै आइरहेको स्मार्ट होलिडेज प्रा.लि. र ग्रिनल्याण्ड होलिडेज प्रा.लि.मा आवद्ध भएका छन् । दुवै कम्पनीको ३३ प्रतिशत शेयर खरिद गरेका न्यौपाने विकास हाइड्रो पावर लिमिटेडका अध्यक्ष समेत रहेका छन् । लामो समयदेखि विभिन्न व्यवसायमा आवद्ध न्यौपाने मलेशियामा एनचाएनका पुर्व अध्यक्ष। एटी ग्रुप अफ मलेशियाका संस्थापक सञ्चालक तथा भिनोलिभा हस्पिटालिटिको अध्यक्ष समेत रहेका छन् । न्यौपानेले ट्राभल क्षेत्रमा भएको अन्योलता तथा कोभिड महामारीबाट थलिएको क्षेत्रलाई उकास्न आफ्नो लगानी यस क्षेत्रमा रहेको जानकारी गराउनु भयो । काठमाडौं हात्तिसारमा राजिटर्ड कार्यालय रहेको स्मार्ट होलिडेज प्रा.लि. र ग्रिनल्याण्ड होलिडेज प्रा.लि. लामो समयदेखि सञ्चालकद्वय बालकृष्ण खड्का र इश्वर सापकोटाले सञ्चालन गर्दै आउनु भएको थियो । नेपाल बाहिर समेत व्यापार व्यवसायमा सफल रहेका खगेन्द्र न्यौपानेको साथ र सहयोगले ट्राभल तथा टुर्सको क्षेत्रमा थप प्रगती गर्न सकिने संस्थाका सञ्चालक इश्वर सापकोटाले जानकारी दिनु भयो । कम्पनीको सामुहिक कारोबार यहि फ्रेबरी १५, २०२३ देखि सञ्चालन हुने साथै खगेन्द्र न्यौपानेले सञ्चालन गर्दै आइरहेको मलेशिया स्थित एटी ट्राभल्ससमेत सोही मितिदेखि स्मार्ट होलिडेज मार्फत सञ्चालनमा आउने कम्पनीका सञ्चालक बालकृष्ण खड्काले जानकारी गराउनु भयो ।
बिर्तामोड: झापाको कनकाई नगरपालिका –७ दुर्गापुरमा बुधबार बिहान स्कुल बसको ठक्करबाट एक जनाको मृत्युभएको छ । साढे ५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको ना ४ ख ९३१९ नम्बरको निधि मावि तथा इन्द्रेणी क्याम्पसको स्कुलबसले मोटरसाइकललाई ठक्कर दिएको हो । विपरित दिशातर्फ जाँदैगरेको ०१—०१६ प ३१५९ नम्बरको मोटरसाइकल लाई ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो । दुर्घटनामा परी घाइते ताप्लेजुङ निवासी मोटरसाइकल चालक बर्ष ३० का समिर लिम्बुको उपचारका क्रममा विएण्डसी अस्पताल विर्तामोडमा मृत्युभएको प्रहरीले जनाएको छ । ठक्कर दिने स्कुलबस इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको तथा ठक्कर दिने चालक इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पोखरा: कास्की मोडनाइज एकेडेमीले प्रथम हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगिताको उपाधि जितेको छ । कास्की मोडनाइज एकेडेमीले जुनियर सिटिजन एकेडेमी (जेसिए) लेखनाथलाई ट्राइब्रेकरमा ४–१ गोल अन्तरले हराउदै उपाधि हात पार्न सफल भयो । हिसान कास्की छनौट प्रतियोगतामा जेसिए सगँ हारको बदला लिदै कास्की मोडनाइज एकेडेमीले उपाधि सगँ नगद १ लाख, ट्रफि, मेडल र प्रमाणपत्र जित्न सफल भयो । उपविजेता बनेको जेसीले नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र हात पा¥यो । निर्धारीत समयमा २÷२ गोल भएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । निधारीत समयमा कास्की मोडनाइजका लागि प्रनिल रायमाझीले दुई गोल गरे । जेसिएका लागि निशान गुरुङ र लोहार पुनले एक÷एक गोल गरे । खेलको अन्तिम मिनेटमा कास्की मोडनाइजका चार खेलाडीमा सिमित भयो । विजय गिरीले रातो कार्ड खादै बाहिरीए पछि चार खेलाडीमा सिमित भएको हो । मंगलबारको खेलमा फ्युचर ब्राइटर बाग्लुङ सगँ हारेको जेसिएले उजुरी गरेपछि बुधबार फाइन खेल खल्ने पाएको हो । ब्राइटरले फर्जि खेलाडी खेलाएपछि आयोजकले जेसिएलाई फाइनल खेल्लन दिएको थियो । फाइनल खेलको म्यान अफ दि म्याच हुदै कास्की मोडनाइज एकेडेमीका गोल किपर रोहन क्षेत्री प्रतियोगिताको उत्कृष्ट गोलकिपर बने । त्यसैगरी एकेडेमी कै प्रनिल रानाभाट प्रतियोगिता अवधिभर १० गोल गर्दै हाइस्कोरको उपाधि जिते । प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि भने जेसिएका विकास परियार बने । फाइनल खेलको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोगी हुने बताए । प्रतियोगिताका विजयी खेलाडीलाई गण्डकी प्रदेश शिक्षा विकास निर्देशनालय पोखराका निर्देशक अम्बिका प्रसाद आचार्य, आयोजन हिसान गण्डकीका अध्यक्ष रमाकान्त बराल, सचिब पुण्य प्रसाद शर्मा, सबिन ममोरियल क्लब पोखराका अध्यक्ष संजय लिगल, प्रतियोगिताका संयोजक सन्तो पराजुली लगाएतले पुरस्कार वितरण गरे । प्रतियोगितामा गण्डकी प्रदेशका ४ जिल्लाका १३ टिमले भाग लिएका थिए । प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीहरु सहभागी थिए ।
काठमाडौं: नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा आज (बुधबार) दिउँसो भएको भेटमा अध्यक्ष नेपालले राजदूत सङलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिनुभयो । उहाँहरूबीच नेपाल–चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्ष, दुई देशबीचको दौत्य सम्बन्धका साथै एकापसमा पारस्परिक सहयोग, विकासबारे छलफल भएको अध्यक्ष नेपालको निजी सचिवालयले जनाएको छ । राजदूत सङले नेपालमा राजदूतका रूपमा आउन पाएकामा खुसी व्यक्त गर्दै आफ्नो कार्यकालमा सबैबाट सहयोगको अपेक्षा गर्नुभयो ।