काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘सङ्घीय शिक्षा ऐन’ तत्काल संसदमा पेश गर्न सरकारसँग माग गर्नुभएको छ । पूर्वमन्त्री समेत रहनुभएका महामन्त्री थापाले चालू संसद अधिवेशनबाटै सो ऐनलाई पारित गर्ने आफूहरुको चाहना भएको पनि स्पष्ट पार्नुभयो । शिक्षा पत्रकार समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै उहाँले कक्षा ११ र १२ को शिक्षामा अति राजनीतिकरण भएकाले त्यसलाई अनुगमन गर्नका लागि प्रदेशमा ‘शिक्षा लोकपाल’ को व्यवस्था हुनेगरी कानुनी व्यवस्था गर्न उपयुक्त हुने प्रस्ताव समेत राख्नुभयो । नेपालको संविधानले कक्षा ११ र १२ को शिक्षा पनि स्थानीय तह मातहतमा रहने व्यवस्था गरेको छ । तर यो राजनीतिकरणको शिकार हुने पुगेकाले यसको अनुगमनका लागि प्रदेशमा नै सो लोकपालको व्यवस्था गर्न आवश्यक रहेको महामन्त्री थापाको भनाइ छ । उहाँले संविधानले दिएको अधिकार तलमाथि नहुने गरी कक्षा १२ सम्मको शिक्षालाई अगाडि बढाउनका लागि पनि सो लोकपाल प्रदेशमा बनाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने तर्कसमेत गर्नुभयो । ‘‘यो संसदको अहिलेको सत्रमै यो सङ्घीय शिक्षा ऐन आओस् भन्ने हाम्रो चाहना छ । सरकारमा जो हुनुहुन्छ उहाँहरुलाई त्यही कुरा भनिरहेका छौं । यो ऐनको अनुसूची बनाउने क्रममा राजनीतिक नेतृत्वले एक दिन पनि छलफल गरेको होइन । कक्षा १२ सम्मको शिक्षा स्थानीय सरकारलाई चलाउन दिने कुरा हामीले संविधानमा नै व्यवस्था गरेका छौं । तर त्यसलाई सञ्चालन गर्ने काममा अति राजनीतिकरण हुने भयो ।,’’ महामन्त्री थापाले भन्नुभयो, ‘‘स्थानीय तहका प्रमुख पनि कुनै राजनीतिक पार्टीको हुने भएकाले शिक्षामा राजनीतिकरण हावी भयो । त्यसकारण यसलाई अनुगमन गर्नका लागि प्रदेश सरकारको मातहतमा रहने गरी शिक्षा लोकपालको व्यवस्था गर्न उपयुक्त हुन्छ । यसो गर्दा संविधानले दिएको अधिकार पनि तलमाथि नहुने, आग्रहको आधारमा हुने व्यवहारलाई पनि नियन्त्रण गर्न सकिने व्यवस्था प्रदेशमा गर्न सकिन्छ कि भन्ने मेरो कुरा हो ।’’ कार्यक्रममा बोल्नुहुँदै शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले संवैधानिक व्यवस्था अनुसार ऐनहरु तर्जुमा नभएकाले विद्यालय तहको शिक्षा सहज ढङ्गले अघि बढन सक्ने अवस्था नरहेको बताउनु भयो । उहाँले विद्यालय तहको शिक्षालाई निःशुल्क र अनिवार्य भन्ने तर निजी विद्यालयले शुल्क लिने यस्तो अन्याेलको अवस्था तत्काल हटाउन पनि सरकारलाई सुझाव दिनुभयो । शिक्षाविद् कोइरालाले निजी विद्यालयको सञ्चालनका सम्बन्धमा ठोस धारणा ल्याउन पनि ढिलाइ गर्न नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । शिक्षाविद् कोइरालाले भन्नुभयो, ‘‘अहिले बनेको आधारभूत शिक्षा ऐनलाई हेर्नुभयो भने केन्द्रीकरणको आभास छ । नीतिलाई हेर्नु भयो भने जनवादी केन्द्रीयताको अभाव छ । र, संविधानलाई हेर्नु भयो भने विकेन्द्रीकरणको आभास छ । पहिलो समस्या यही हो । दोस्रो निजी विद्यालयलाई के गर्ने भन्ने विषयमा एकदमै अन्यौल भयो । यता निःशुल्क शिक्षा भन्ने, अनिवार्य शिक्षा भन्ने । अनि निजीले शुल्क लिने । यस्तो अवस्थाको अन्त्य हुनुपर्दछ ।’’ शिक्षाविद् कोइरालाले केन्द्रीकरणको आभास हुने खालका कानुनी व्यवस्थाका कारण विद्यालय तहको शिक्षा प्रभावकारी हुन नसकेको दावी गर्नुभयो ।
काठमाडौं: नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको नेशनल वर्न सेन्टरमा उपचार भइरहेको छ। भण्डारीको पहिलो सर्जरी सफलतापूर्वक सम्पन्न भएको अस्पतालमा रहेका योगराज कंडेलले जानकारी दिए। भण्डारीको उपचारमा खटिएका मुख्य सर्जन डा़ सुनिल केसवानीका अनुसार भण्डारीको दायाँ खुट्टामा एकदमै डिप ईन्जरी रहेकोले सोचेभन्दा धेरै समय लगाएर सर्जरी गर्नु परेको थियो। दायाँ खुट्टा माईल्ड रहेको डाक्टर केसवानीले बताएको कंडेलले जानकारी दिए। भण्डारीको दुवै खट्टाको सर्जरी सम्पन्न भएको छ। दोस्रो सर्जरी गर्ने वा नगर्ने अव्जरवेसन पछि मात्र निर्णय हुने डाक्टर केसवानीले बताएका छन्। बुधबार राति ग्यास सिलिण्डर विस्फोट हुँदा भण्डारी घाइते भएका हुन्। उनको थप उपचारका लागि बुधबार नै भारतको नेशनल वर्न सेन्टर लगिएको हो। विष्फोटमा गम्भीर घाइते भएकी भण्डारीको आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ।
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्न बालकोट पुगेका छन्। राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा थप छलफल गर्न प्रचण्ड ओली निवास पुगेका हुन्। राष्ट्रपतिमा कसलाई अगाडी सार्ने भन्ने बारे अहिलेसम्म ठोस निर्णय हुन सकेको छैन। नेकपा एमालेले पुस १०मा भएको सहमति अनुसार नै राष्ट्रपति उम्मेदवार एमालेले पाउनुपर्ने दावी गर्दै आएको छ। सत्ता गठबन्धनमा विगतको समझदारी अनुसार नै राष्ट्रपति उम्मेदवार चयन गर्ने एमाले नेताहरूले दावी गर्दै आएका छन्। यता नेपाली कांग्रेसले पनि नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारलाई विश्वासको मत दिएको र संसदको ठूलो दल भएकाले आफूहरूले नै राष्ट्रपति पाउनुपर्ने दवाव प्रधानमन्त्रीलाई दिँदै आएको छ। कांग्रेस नेताहरूले राष्ट्रपति उम्मेदवारका विषयमा प्रधानमन्त्रीलाई दवाव बढाएपछि प्रचण्ड-ओली भेट बाक्लिएको छ।
बाँके: बाँकेको कोहलपुरलाई स्वच्छ र सफा राख्ने अभियान अन्तर्गत जथाभाबी फोहर फाल्नेलाई पक्राउ गरी जरिवाना गर्न सुरु गरिएको छ । सुरुवाती चरणमा सम्झाई बुझाई छोडिए पनि अटेर गर्ने प्रवृत्ति देखिएपछि नगर प्रहरीले नगद जरिवाना गर्न थालेको नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिनुभयो । “यो नगर हामी सबैको हो, नगर सफा र सुन्दर बनाउने जिम्मेवारी पनि हामी सबैको हो” नगर प्रमुख आचार्यले भन्नुभयो, “हामी कसैलाई पनि जरिवाना तिराउन नपरोस् र पुरस्कृत गर्नुपरोस् भन्ने चाहना रहेको छ । कोहलपुर नगरलाई सुन्दर बनाउने जिम्मेवारी सम्पूर्ण नगरवासीको रहेको भन्दै उहाँले महिनौँदेखि बारम्बार विनम्रतापुर्बक अनुरोध गर्दा समेत अटेर गर्ने प्रवृत्ति बढे कारबाही गर्न थालिएको बताउनुभयो । जथाभाबी फोहर फाल्ने व्यक्ति, सङ्घ संस्था, व्यावसायिक फर्म, सबैलाई कारबाहीको दायरामा ल्याइने उहाँको भनाइ छ । केही दिनअघि स्कुटरमा राखेर फोहर सडक छेउमा फाल्ने प्रवृत्ति बढेको भन्दै नगर प्रहरीले निगरानी गर्दैआएको छ । केही व्यक्तिलाई पक्राउ गरी जरिवाना पनि तिराएको छ । नगरपालिकाले सार्वजनिक स्थानमा फोहर फाल्न सूचना प्रकाशन गरी निषेध गरेको छ । लुम्बिनीसहित सुदूरपश्चिम र कर्णाली प्रदेशको प्रवेशद्वारको रूपमा कोहलपुर क्षेत्रलाई सुन्दर, सफा र रमणीय बनाउन नगरबासीको साथ र सहयोग चाहिएको भन्दै नगर प्रमुख आचार्यले सार्वजनिक स्थानमा जथाभाबी फोहर गर्ने कामलाई निरुत्साहित गर्न जरुरी भएको बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकको पहुँच स्थापित हुने गरी अगाडि बढाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले २०७२ सालमा जारी गरिएको नेपालको संविधानले स्वास्थ्यको हकलाई जनताको मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन हुनेगरी ऐनहरु तर्जुमा गर्नका लागि सरकारले आवश्यक गृहकार्य र पहलकदमी गरिरहेको दावी समेत गरे । शुक्रबार काठमाडौंमा आयोजित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तेस्रो दीक्षान्त समारोहमा उनले दक्ष प्राविधिक जनशक्तिको उत्पादन, प्रभावकारी सेवा प्रवाह र राष्ट्रिय आवश्यकताको सम्बोधन हुनेगरी अनुसन्धानको काममा थप प्रगति हासिल गर्नेगरी अगाडि बढन प्रतिष्ठानलाई निर्देशन दिए । संविधानमा व्यवस्था भए बमोजिम स्वास्थ्य सम्बन्धि हकको व्यवहारिक अभ्यासनका निम्ति कानुनी, संस्थागत, संरचनागत र कार्यशैलीगत प्रबन्ध र सुधार आवश्यक छ,’ उनले भने, ‘वर्तमान सरकार संविधानमा व्यवस्था भए बमोजिम ऐनहरु तर्जुमा गरी स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकहरुको पहुँच स्थापित हुने गरी कार्यान्वयन गर्न प्रतिबद्ध छ ।’ प्रधानमन्त्री प्रचण्डले विकास आयोजनाहरु तोकिएकै समयमा सम्पन्न गरी मुलुकको समृद्धिको यात्रालाई सुनिश्चित गर्न सरकार लागि परेको उल्लेख गर्दै त्यसमा स्वास्थ्य क्षेत्रको पनि रचनात्मक एवम सकारात्मक प्रयास, सहयोग र प्रतिवद्धता जरुरी रहेको बताए । प्रधानमन्त्री प्रचण्डले सरकारी अस्पतालमा रहेका स्वास्थ्य सामग्रीहरुको दुरुपयोग हुन नदिन पनि प्रतिष्ठानका पदाधिकारीहरुलाई सचेत गराए ।
काठमाडौंः नेकपा एमालेले आजदेखि ‘मिसन ग्रासरुट’सुरु भएको छ । एमालेले पार्टी सुदृढीकरण तथा विस्तारका लागि दुई महिने ‘मिसन ग्रसरुट’सुरू गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट प्रदेश तथा विशेष कमिटीहरूलाई सम्बोधन गर्दै अभियानको उद्घाटन गरेका हुन् । पार्टीलाई आधरभूत रुपबाटै बलियो बनाउने भन्दै एमालेले यो अभियान सुरू गरेको जनाएको छ । अभियानका क्रममा पार्टी सदस्यता नवीकरण,कमिटी व्यवस्थापन,प्रशिक्षण, भेला,बैठक,अन्तक्रिया र स्थानीय तहको समस्याहरू बुझ्ने,पार्टीभित्रको अन्तरविरोध बुझ्ने र त्यसलाई हल गर्नेसहितको कार्यक्रम सञ्चालन हुनेछ । यस्तै,एमालेले सात प्रदेशमा उपाध्यक्षको नेतृत्वमा संयोजन तथा अनुगमन टोली गठन गरेको छ । जसअन्तर्गत् केन्द्रीय पदाधिकारीलाई प्रदेशको जिम्मा र केन्द्रीय सदस्यलाई स्थानीय तह हेर्ने गरी जिम्मा दिएको छ । विशेष कमिटीहरूको अनुगमन तथा संयोजनको नेतृत्व विशेष कमिटीका महासचिव शंकर पोखरेल,उपमहासचिवहरू प्रदीप ज्ञवाली,पृथ्वी सुब्बा गुरूङ,विष्णु रिमाल र केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीलाई जिम्मेवारी तोकिएको छ ।
काठमाडौं : विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा स्कटल्यान्डविरुद्ध दुई सय ७५ रनको लक्ष्य पछ्याइरहेको नेपालले खराब सुरुवात गरेको छ। त्रिवि क्रिकेट मैदानमा जारी खेलको निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर स्कटल्यान्डले दुई सय ७४ रनको योगफल बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले पावर प्लेमा चार विकेट गुमाएर ६८ रन बनाएको छ। नेपालका ओपनर कुशल भुर्तेल १६, आसिफ शेख ९, ज्ञानेन्द्र मल्ल चार तथा कप्तान रोहित पौडेल ६ रन जोडेर पेभेलियन फर्किसकेका छन्। स्कटल्यान्डका लागि क्रिस सोलले सर्वाधिक तीन तथा मार्क वाटले एक विकेट लिएका छन्। नेपालका लागि क्रिजमा कुशल मल्ल १६ तथा सन्दीप जोरा पाँच रन बनाएर खेलिरहेका छन्। पहिलो इनिङमा एक सय ११ रन बनाउँदा २५औं ओभरमा ६ विकेट गुमाएको स्टकल्यान्डका लागि लिस्कले शानदार इनिङ खेलेका थिए। भ्रमणकारी टिमका लागि ८५ बलको सामना गरेका लिस्कले तीन चौका र ९ छक्कासहित एक सय सात रनको अविजित शतकीय इनिङ खेलेका थिए। लिस्कसँग ८१ रनको साझेदारी गरेका ज्याक हार्भिसले २६ रन बनाएर आउट भएका थिए। त्यसअघि ओपनर क्रिस्टोफर म्याकब्राइड २२ तथा कप्तान रिची १९ रन जोडेर पेभेलियन फर्केका थिए। त्यसबाहेक ब्रान्डोन म्याकमुलेन २२ तथा क्रिस ग्रिभेस १६ रन जोडेर आउट भए। मार्क वाट २० रन जोडेर रन आउट भए। नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर सर्वाधिक तीन विकेट लिए। यस्तै, कुशल मल्लले ९ ओभरमा ४९ रन खर्चेर एक विकेट लिँदा एक मेडन राखेका थिए। यस्तै, सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए। शृंखलामा यो दुवै टिमको दोस्रो खेल हो। नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेटले पराजित गरेको थियो। यस्तै, बुधबार स्कटल्यान्डले नामिबियाविरुद्ध १० विकेटको शानदार जित निकालेको थियो। जितसँगै स्कटल्यान्ड विश्वकप क्रिकेट लिग २ च्याम्पियन बनिसकेको छ।
काठमाडौं: आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आज (शुक्रबार) भएको खेलमा स्कटल्याण्डले नेपाललाई जितका लागि दुई सय ७५ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ७४ रनको योगफल बनायो । स्कटल्याण्डका लागि माइकल लिस्कले सर्वाधिक एक सय सात रनको योगदान दिए । उनले ८५ बल खेल्दै नौ छक्का र तीन चौकाको मद्दतमा अविजित एक सय सात रनको योगदान दिएका हुन् । त्यस्तै, ज्याक जार्विसले २६ रनको योगदान दिए भने क्रिसटोफर म्याकब्राइडले २२ रन जोडे । यसैगरी मार्क वाटले २० रन जोड्दा कप्तान रिचार्ड बेरिङटन र टम म्याकिन्टसले समान १९/१९ रन जोडे । क्रिश ग्रेप्सले १६ रन बनाउँदा म्याथ्यू क्रसले दुई रन मात्र बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए भने कुशल मल्लले दुई विकेट लिए । त्यस्तै सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान एक/एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
बागलुङ: बागलुङको काठेखोला गाउँपालिका–२, भीमापोखरा स्वास्थ्य चौकीको प्रसूति सेवा प्रभावित भएको छ । प्रसूति सेवाका लागि जनशक्ति नहुँदा उक्त सेवा प्रभावित भएको हो । भीमापोखराका गर्भवतीहरू गर्भ परीक्षण तथा प्रसूति सेवाका लागि सदरमुकाम बागलुङ बजार जान बाध्य छन् । स्वास्थ्य चौकीमा दुई जना सिनियर अहेव, दुई जना अनमी, एक जना हेल्थ असिस्टेन्ट र कार्यालय सहयोगी गरी छ जनाको दरबन्दी रहेको छ । तर हाल एक जना हेल्थ असिस्टेन्ट र कार्यालय सहयोगीका भरमा स्वास्थ्य चौकी सञ्चालन भइरहेको छ । दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा गाह्रो भएको भीमापोखरा चौकीका हेल्थ असिस्टेन्ट आशिष सापकोटाले बताउनुभयो । स्वास्थ्य चौकीमा सात महिनादेखि दुई अहेव र एक अनमीको दरबन्दी रिक्त छ । कोभिड सङ्कटको बेला स्वास्थ्य चौकीमा कार्यरत एक सिनियर अहेव गाउँपालिकाले बोलाए पनि फिर्ता गरिएको छ । “साधारण स्वास्थ्य सेवा त म एक्लै गरिरहेको छु,” हेल्थ असिस्टेन्ट सापकोटाले भन्नुभयो, “बर्थिङ सेन्टरको काम अहिले पूर्ण रूपमा प्रभावित छ ।” काठेखोला गाउँपालिका–६ को बिहुँकोट स्वास्थ्य चौकीमा पनि एक जना अनमीका भरमा सञ्चालन हुँदै आएको छ । गाउँनजिकै स्वास्थ्य चौकी रहे पनि सामान्य बिरामी पनि उपचारका लागि सदरमुकाम बागलुङ बजार पुग्नुपर्नेे स्थानीयको गुनासो छ ।