काठमाडौँ: निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृत र मतदान स्थल टुङ्गो लगाएको छ । आयोगले फागुन ८ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गरेको हो । आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले राष्ट्रपति निर्वाचनका लागि महेश शर्मा पौडेललाई निर्वाचन अधिकृत तोकिएको जानकारी दिनुभयो । निर्वाचन अधिकृत पौडेल पाटन उच्च अदालतका न्यायाधीश हुनुुहुन्छ । राष्ट्रपतिको निर्वाचन तालिकाबमोजिम फागुन १० गते मतदाता नामावली प्रकाशन हुनेछ । सो अगावै निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । काठमाडौँको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई आयोगले मतदान स्थल निर्धारण गरेको छ । उक्त मतदान स्थलमा दुईवटा केन्द्र रहनेछन् । सहायक प्रवक्ता भुसालले राष्ट्रपति निर्वाचनमा मतदान गर्न योग्य मतदाताको सूची सङ्घीय संसद् र सातवटै प्रदेशको प्रदेश सभा सचिवालयबाट प्राप्त भएको जानकारी दिनुभयो । आयोगले मतदाता नामावली रुजु गर्दैछ । आयोगले रुजु गरेपछि मतदाता नामावली निर्वाचन अधिकृतको कार्यालयलाई उपलब्ध गराउनेछ । निर्वाचन तालिकाबमोजिम फागुन २५ गते हुने मतदानका लागि फागुन १३ गते मनोनयन दर्ता हुनेछ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्को दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य तथा सातवटै प्रदेशका प्रदेश सभा सदस्य मतदाता हुने कानुनी व्यवस्था छ । सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ हुनेछ ।
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताउनुभएको छ । उहाँले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजु–भाइमा हार्दिक शुभकामना व्यक्त गर्दै वर्तमान शासन व्यवस्थाले दशकौँदेखि व्यक्त हुँदै आएको सहिदको सपना एवं जनताको आकाङ्क्षालाई मूर्तरूप दिन सक्नुपर्ने उल्लेख गर्नुभएको छ । “हामीले हासिल गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाट नै निर्माण भएको हो, तसर्थ सहिदको सपना एवं जनताको आकाङ्क्षालाई मूर्तरूप दिन सक्नुपर्दछ, त्यसका लागि हामीले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनु पर्दछ”, राष्ट्रपतिको सन्देशमा भनिएको छ । प्रजातन्त्र दिवसको पृष्ठभूमिमा २००७ सालभन्दा अघि भएका आन्दोलनहरूको भूमिका अभिन्नरूपले जोडिएको र विसं १९९७ मा प्रजापरिषद्को अगुवाइमा भएको आन्दोलनको क्रममा महान् सहिदहरू गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दको सहादत भएको विषय उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ । नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै राष्ट्रपति भण्डारीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ आन्दोलनहरूलाई मार्गदर्शन गर्ने अग्रजहरूप्रति हार्दिक सम्मान एवं श्रद्धा प्रकट गर्नुभएको छ । उहाँले सन्देशमा नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको र विसं २००७ सालमा जहानिया निरंकुश शासनविरूद्ध जनताको सङ्घर्षले आजकै दिन विजय हासिल गरेको स्मरण गर्नुभएको छ । “सहिदहरूको उच्च बलिदानले वर्तमान समयसम्मका हाम्रा राजनीतिक एवं सामाजिक सुधारका आन्दोलनहरूलाई प्रेरणा दिएको छ भने भविष्यमा पनि उहाँहरूको सहादतले हामीलाई मार्गदर्शन गरिरहने छ”, राष्ट्रपति भण्डारीको सन्देशमा भनिएको छ, “यस कारण प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्व स्थायी बनाउनुका साथै सहिदको अमर गाथा पनि सदैव स्मरण गराउँछ ।”
काठमाडौं: ७३ औँ प्रजातन्त्र दिवसको उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले शुभकामना दिनुभएको छ । आज ऐतिहासिक दिन भएको बताउनुहुँदै उहाँले प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धा सुमन अर्पण गर्दै प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्नुहुँदै शुभकामना दिनुभएको छ । सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्दै बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न दृढ प्रतिबद्ध समेत बताउनु भएको छ । नेपालले पाएको उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, महान् जनयुद्ध, २०६२।०६३ को ऐतिहासिक जनआन्दोलन लगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका न्यायपूर्ण आन्दोलनहरूको निर्णायक भूमिका रहिआएको उहाँले बताउनु भएको छ। ।
मनाङ: भौगोलिकरुपमा विकट हिमाली जिल्ला मनाङ । त्यसमाथि पनि विकासको काम सुस्त हुँदा अझ बढी सकस छ । मनाङको मेरुदण्डको सडकखण्ड डुम्रे–बेँसीसहर–चामे मर्मत तथा सम्भारको काम सुस्त हुँदा जोखिम उस्तै छ । यस मार्गको यात्रामा अझ जोखिम बढ्दै गएको छ । कम समय सडक निर्माण तथा मर्मत गर्ने उपयुक्त समय हुने भएकाले बाढी पहिराले क्षति पुर्याएको सडक खण्डमा जोखिम बढ्दै गएको हो । विगतका वर्षमा हिमपात बढी हुँदा मर्मत तथा निर्माणको काम गर्न सकिने अवस्था थिएन तर, यस वर्ष हिमपात नहुँदा पनि मर्मत तथा निर्माणको काम भएको छैन । न हिमपात न वर्षा दुवै नभएको अवस्थामा पनि निर्माण कम्पनी र डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले निर्माणका कामलाई तीव्रता दिन नसक्दा कहिलेसम्म मनाङवासी तथा यहाँ आउने पर्यटकले जोखिम झेल्नुपर्ने हो भन्न सक्ने अवस्था छैन । निर्माणको काममा ढिलाइ हुँदा अझै कहिलेसम्म यहाँका बासिन्दाले जोखिम खेप्नुपर्ने हो भन्न सक्ने अवस्था नभएको स्थानीय बताउँछन् । हुन त बहुवर्षीय योजनाअन्तर्गत निर्माणका लागि बजेट विनियोजन भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । हिमपात र वर्षा नभएको अवस्थामा पनि निर्माणको काम हुन नसक्दा समय लम्बिने देखिएको छ । हिमपात र वर्षा नभएको अवस्थामा पनि चिसोका कारण ढिलो भएको कार्यालयका प्रमुख अच्युत विलास पन्तले बताए । उक्त सडकखण्डमा वैकल्पिक मार्ग नहुँदा पनि मर्मत तथा सम्भारमा ढिलाइ हुँदै आएको छ । सडक मर्मतसम्भारको क्रममा वैकल्पिक सडक नहुँदा मनाङमा सामग्री ढुवानीमा समस्या हुने गरेको छ । भुलभुले, निगालो घारी, बगरछाप, दानाक्यु, एक्लोभट्टीलगायतका बढी जोखिम भएको क्षेत्रमा सडक मर्मतको काम गरिरहेको अवस्थामा वर्षामा समस्या भएको भएको थियो । अब वर्षायाम सुरु हुने अवस्थामा समस्या आउने र अहिले निर्माणका लागि चिसोले समस्या हुँदा अझ सकस भएको उनको भनाइ छ । ‘यस वर्ष हिमपात र वर्षा नभए पनि चिसोका कारण समस्या छ । सुरक्षित तवरबाट सडक मर्मतसम्भार गर्नुपर्छ । सबैभन्दा जोखिम क्षेत्रमा पनि मर्मतसम्भारको काम गर्न सकेका छैनौँ’, उनले भने, ‘काम गर्न मिल्छ कि भनेर अनुगमनलाई ध्यान दिइरहेका छौँ ।’ बेंसीसहर–चामे सडकखण्डको मर्मतसम्भार गर्ने सम्झौताको अवधि बाँकी रहेको पन्तले बताए । उनका अनुसार आगामी असार मसान्तसम्म सडक मर्मतसम्भार गर्ने अवधि रहेको छ । उक्त सडक खण्डको जोखिम क्षेत्रमा सडक मर्मतसम्भारका लागि समयानुकूल अवस्थामा मर्मतको काम भइरहेको छ । यतिबेला सवारी आवागमन कम हुने भए पनि काम गर्न कठिन भएको उनी बताउँ५न् । जोखिमयुक्त सडकको मर्मत गर्न वैकल्पिक बाटो नहुँदा सवारी रोकेर नै काम गर्ने गरेको पन्तको भनाइ छ । उक्त सडकखण्डको जोखिमयुक्त क्षेत्रमा मर्मतसम्भार गर्न नाना कन्सल्टेन्सी प्रालिले ठेक्का पाएको छ । जिल्ला समन्वय समिति मनाङका प्रमुख चिन घलेले उक्त सडकखण्डको जोखिमयुक्त क्षेत्रको सडक मर्मत भए दुर्घटना न्यूनीकरण हुने बताए । सडक सहज बनाउन सडक कार्यालयले समयमा मर्मत तथा सम्भार गर्नुपर्ने उनको भनाइ छ । ‘उक्त सडक खण्डअन्तर्गत स्यागेमा बढी जोखिम छ । त्यही स्थानमा मर्मत तथा सम्भार समयमा नहुँदा दुर्घटना बढेको अभास हुन्छ । यस्ता जोखिमयुक्त क्षेत्रमा सडक कार्यालयले छिटोभन्दा छिटो मर्मत गर्नुपर्छ । मनाङवासीलाई सहज बनाउने कार्यमा सडकले भूमिका खेल्नुपर्छ’, प्रमुख घलेले भने । हुन त नयाँ परियोजनाको रुपमा डुम्रे–बेंसीसहर–चामे सडक खण्ड चार लेन बनाउने योजना रहेको छ । सो सडकखण्ड पक्की र दीर्घकालीन बनाउन सङ्घीय सरकारले रु ६१ करोड २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । बहुवर्षीयरुपमा मनाङको मेरुदण्डको विकासका लागि बजेट परेको हो । आगामी पाँच वर्षको अवधिमा डुम्रे–बेंसीसहर–चामे सडकखण्डलाई चौडा, कालोपत्र, पक्की नालासहित सुरक्षित बनाउने योजनासहित बजेट विनीयोजन भएको प्रमुख पन्तले बताए । गत वर्ष यस सडकखण्डका अधिकांश भागमा बाढीपहिराले क्षति पुर्याएको थियो । बाढीपहिराले क्षति पुर्याएको सडक खुलाउन समस्या भएपछि हवाई यातायातलाई मात्र सहारा लिनुपर्ने बाध्यता थियो ।
काठमाडौं : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ। बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारी खतरामुक्त रहेका छन्। भण्डारीका सहयोगी योगराज शर्मा कँडेलले भण्डारीलाई धरै नै सुधार देखिएकोले सोमबार भेन्टिलेटरबाट हटाउने योजना रहेको बताए। उनले सामाजिक संजालमार्फत् भनेका छन्, ‘मुख र हातको जलेको भागमा आफ्नै छाला उम्रन सक्ने सम्भावना देखिएकोले हाललाई तुरून्तै अर्को सर्जरी गर्न नपर्ने भएको छ।’ भण्डारीको पहिलो शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको थियो। बुधबार राति आफ्नो निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए। घट्नालगत्तै दुवैजनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो। आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो। नेता डा भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत मुम्बइमा थप उपचारका लागि लगिएको थियो।
काठमाडौं: महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा शनिबार बिहान ११ बजेसम्म साढे चार लाख भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस अवसरमा पशुपतिनाथका चार ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको थियो । ढोका खोल्नुअघिदेखि नै पशुपति क्षेत्रमा भक्तजनको लाम सुरु भएको कोष संस्कृति महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो । बिहान छोटो लाम भए पनि अहिले लाइन बढ्न थालेको छ । उत्तरतर्फको लाम चाबहिल चोकभन्दा माथि पुगेको छ । पश्चिमतिरको लाम गौशाला चोक, दक्षिणतिरको लाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक र पूर्वतर्फको लाम गौरीघाटसम्म पुगेको छ । घाम लागेसँगै दर्शनार्थीको सङ्ख्या बढ्न थालेको हो । महाशिवरात्रिका अवसरमा कोषको विशिष्ट अतिथिका रूपमा आउनुभएका जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले अहिले पञ्चामृत स्नानसहितको विशेष पूजा गर्नुहुने कार्यक्रम छ । पशुपतिनाथमा विशेष पूजा सकेर उहाँले पशुपतिमन्दिरको पश्चिम ढोकाअघि रहेको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गर्नुहुनेछ । यो मन्दिर वि.सं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको थियो । मन्दिर उद्घाटनपछि उहाँले त्यहीँ प्रवचन पनि गर्नुहुनेछ । बेलुकी नेपाल–भारत मैत्री धर्मशालामा शङ्कराचार्यसँग वैदिक सनातन धर्मसँग सम्बन्धित विषयमा जिज्ञासा राख्न सकिने कार्यक्रम रहेको छ । यो कार्यक्रममा जोसुकैले सहभागिता जनाउन सक्ने कोषले जनाएको छ । महाशिवरात्रिकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बेलुकी पूजा एवम् दर्शन गर्नुहुने कार्यक्रम रहेको छ । यसैगरी, नेपाली सेना दिवसको कार्यक्रममा अतिथिका रूपमा आउनुभएका भारतीय सेनाका चार पूर्वप्रधानसेनापतिले पनि आज पशुपतिनाथ मन्दिरमा दर्शन गर्नुहुने कार्यक्रम रहेको कोषका सूचना अधिकारी पराजुलीले बताउनुभयो । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा पाँच हजारभन्दा बढी साधुसन्तको आगमन भएको छ । नागाबाबालाई मूल मन्दिरभित्र राखिएको छ । साधुसन्तलाई बिहीबारदेखि नै कोषले भोजन, आवास र धुनीको व्यवस्था गरेको छ । यसमा गुठी संस्थानको पनि सहयोग रहेको छ । महाशिवरात्रिका लागि पशुपति क्षेत्र विशेषरुपमा सिँगारिएको छ । दर्शनार्थीलाई व्यवस्थितरुपमा दर्शन गराउन पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटाइएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । मूल मन्दिरभित्र भने नेपाली सेना र कोषका कर्मचारीको विशेष सुरक्षा रहेको छ । पशुपति क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क खानेपानी सेवा, भोजन एवम् प्रसाद सेवा, रक्तदानजस्ता सेवामूलक काम गर्ने संस्थाको पनि भीड देखिन्छ । केही मानिसले विभिन्न साम्प्रदायिक पुस्तक वितरण गरेको भन्दै भक्तजनले आपत्ति जनाएका छन् । कोषले यस्ता काममा रोक लगाउने भने व्यवहारमा कार्यान्वयन नभएको गुनासो भक्तजनको छ ।
काठमाडौं : जेन ग्रीनको अविजित अर्धशतकप्रेरित नामिबियाले आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलामा नेपाललाई दुई सय ७५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नामिबियाले पाँच विकेट गुमाएर दुई सय ७४ रनको योगफल तयार गर्यो। पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेका नामिबियन ओपनर लो हान्द्रे लौरेन्स ४१ तथा कार्ल बिर्केन्स्टोक २० रन जोडेरर आउट भए। लौरेन्सले ५४ बलको सामना गर्दा आठ चौका प्रहार गरेका थिए। वान् डाउनमा क्रिजमा उत्रिएका माइकल भान लिङ्गेन ३५ बलमा दुई चौकासहित २२ रन जोडेर पेभेलियन फर्केका थिए। कप्तान जेरार्ड एरास्मस र यान निकोल १५–१५ रनमा आउट हुँदा ग्रीनसँग ९४ रनको साझेदारी गरेका पिकी या फ्रान्स ३९ बलमा चार चौका र तीन छक्कासहित ४९ रनमा आउट हुँदा एक रनले अर्धशतक बनाउ चुके। रुबेन थ्रुम्पेल्मानले सात बलमा तीन चौका र दुई छक्कासहित अविजित २४ रन जोडे। सुरुआती साझेदारी तोड्न संघर्षरत नेपालका लागि १५औं ओभरमा सन्दीप लामिछानेले बिर्केन्स्टोकको विकेट लिएका थिए। त्यसपछि १७औं ओभरमा सन्दीपले भ्रमणकारी टिमका अर्का ओपनर लौरेन्सलाई पनि पेभेलियन फर्काएका थिए। तेस्रो विकेट नेपालले रन आउटमा निकालेको थियो। दीपेन्द्रसिंह ऐरीले फालेको २६औं ओभरको अन्तिम बलमा भान लिङ्गनेलाई सन्दीप जोरा र दीपेन्द्रले आउट गरेका थिए। सन्दीप लामिछानेले २९औं ओभरको दोस्रो बलमा एरास्मसलाई बोल्ड गरेका थिए। करण केसीले ३८औं ओभरमा यान निकोललाई विकेटकिपर आसिफको हातबाट क्याच गराएका थिए। ४९औं ओभरमा सोमपाल कामीले फ्रान्सलाई रन आउट गरेका थिए।
काठमाडौँ: पशुपतिनाथलगायत मुलुकका सबै शिवालयमा शनिबार महाशिवरात्रि पर्व मनाइँदै छ । आराधना र स्तुतिबाट छिट्टै प्रसन्न हुने आशुतोष स्वभावका भगवान् शिवलाई यस दिन प्रसन्न राख्दा इहलोक र परलोक दुवैमा सुख र शान्ति हुने विश्वास रहेको छ । ज्योतिषी विशाल भण्डारीले आकार निराकार दुवै तवरबाट शिवको आराधना गर्न सकिने पूज्य देवताका रूपमा शिवलाई लिइने जानकारी दिनुभयो । उहाँले बडादशैँअघिको कालरात्रि, कृष्ण जन्माष्टमीको मोहरात्रि, लक्ष्मीपूजाको सुखरात्रि र महाशिवरात्रिको धार्मिक शास्त्रमा उच्चताका साथ महत्व दर्शाइएको बताउनुभयो । जाडोमा जगत् रुवाउँदै रुखका पतझर उजाड गरेका शिवले महाशिवरात्रिमा पालुवा लागेर जगत्को कल्याण गरेको हुँदा यो पर्व धुमधामसाथ मनाउन थालिएको हो भनिन्छ । शिवलाई मन पर्ने पञ्चामृत, बेलपत्र, गाँजा, भाङ, धतुरो अर्पण गरेर खुसी पार्ने प्रयास भक्तजनबाट हुन्छ । धार्मिक आस्थामा यसो भए पनि आयुर्वेद क्षेत्रमा यी पदार्थलाई पाचन प्रणाली सन्तुलन, ज्वरो नाशक, पेटमा कृत्रिम रोग निवारणलगायतका औषधीय महत्व का साथ हेरिन्छ । बझाङको नौलोगाउँ, बाजुराको कैलाशमाडौँ, ओखलढुङ्गाको नर्वदेश्वर, महोत्तरीको जलेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँ डिल्लीबजारको वसन्तेश्वर, जयवागेश्वरीको महामृत्युञ्जय, अमालकोट कचहरीको खञ्जनेश्वर, लुभुको गोभ्रातेश्वर, सुनाकोठीको भृङ्गरेश्वरलगायत शिवालयमा विशेष उत्सवका साथ यो रात पूजा आराधना हुन्छ । पशुपति परिसरको पिण्डेश्वरमा अखण्ड दीपसहित सवा लाख बेलपत्र र पञ्चामृत पूजा आयोजना भएको नाथका कोटवाल पूर्णनारायण जोशीले बताउनुभयो । पशुपतिनाथमा चारै प्रहर अतिरुद्री, महादीप प्रज्वलन, अखण्ड दीपसहितको दीपोत्सव, लाख बेलपत्र र प्रशस्त पञ्चामृतद्वारा पशुपतिनाथको पूजा गर्ने तयारी भएको छ । यसैगरी महाशिवरात्रि पर्वमा नेवार समुदायमा ‘सिलाचःह्रे’ मनाइने गरिन्छ । यस दिन बाटो छेक्ने र घरघरमा गएर गीत गाउँदै दाउरा माग्ने चलन पनि छ । यो चलन अहिले लोप भइसकेको छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवार्ता सकिएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड ओलीलाई भेट्न उनकै निवासमा पुगेका थिए । भेटमा राष्ट्रपति निर्वाचनबारे कुराकानी भएको थियो । भेटपछि प्रधानमन्त्री प्रचण्डले आफूहरु एकै ठाउँमा रहेको र केही दिनमा निष्कर्षमा पुग्ने बताए ।