भरतपुर:  सुक्खा पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।  आज (शनिबार) बिहान इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुइतर्फी अवरुद्ध भएको हो । ...

पोखरा:   पोखरा महानगरपालिका वडा नं ३३ मा क्रियाशिल सिलिङ्गे महिला चेतना समूहको १६ औं वार्षिक साधारण सभा एवम् सातौं अधिवेशन एक कार्यक्रमकाबीच आज सम्पन्न भएको छ ।      कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले सिलिङ्गे महिला चेतना समूहको सकृयता अनुकरणीय भएको बताउनुभयो । सामाजिक जागरणसँगै विकास निर्माणमा समूहले उल्लेख्य काम गरिहेको बताउँदै उहाँले समूहका हरेक गतिविधिमा वडाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।      सिलिङ्गे महिला चेतना समूहका अध्यक्ष कर्णकुमारी महतले समूहको सकृयतामा सदस्यहरूलाई विभिन्न सिपमुलक तालीमका साथै ऐतिहासिक चौतारा, प्रतिक्षालय आदि निर्माण गरिएको बताउनुभयो । समूहले आगामी दिनमा पाण्डेबारीमा चौतारा निर्माणसँगै वातावरण संरक्षणका कार्यक्रम, चेतना एवम् सीपमुलक तालीम प्रदान लगायतका काम गर्ने बताउनुभयो ।      समूहका सचिव सीता केसी महतको सञ्चालन एवम् उपाध्यक्ष सरला महतले स्वागत गर्नुभएको कार्यक्रममा वडा सदस्य विनोदबाबु भण्डारी, रामचन्द्र पौडेल, गुरुप्रसाद पौडेल, चेतबहादुर महत लगायतले समूहले सामाजिक सचेतनासँगै ऐतिहासिक स्थलहरूको संरक्षण र विकासमा गरेको योगदान प्रशंसनीय भएको बताउनुभयो ।      उक्त अवसरमा समूहका संस्थापक सल्लाहकार एवम् पदाधिकारी एवम् रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो ।       यसैबीच समूहको सातौं अधिवेशनले पुनः कर्णकुमारी महतको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । नव गठित समितिको उपाध्यक्षमा सरला महत, सचिवमा सीता केसी महत, कोषाध्यक्षमा सविता आचार्य पौडेल, सहसचिवमा विष्णु पौडेल र सदस्यहरूमा लक्ष्मी जमरकटेल, गंगा क्षेत्री, जौमाया विक, सम्झना भट्टराई, विष्णुमाया विक, सुनिता अर्याल महत, जमुना महत र सविता पौडेल रहनुभएको छ ।       अधिवेशन सम्पन्न गर्नका लागि वासुदेव पौडेलको संयोजकत्वमा हेमबहादुर थापा र राधा पौडेल सदस्य रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो ।  

पोखरा:   पोखराको हरित यातायात प्रणाली विकास परियोजना पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालयका प्रतिनिधिहरू बिच सम्झौता भएको छ ।  सम्झौता अनुसार पोखराको विद्यमान यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवर्द्धन गरिनेछ । परियोजना अन्तरगत कोरियाले विभिन्न साझेदार संस्थाहरूको समन्वयमा पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्नेछ । यसअघि नै पोखराको सार्वजनिक यातायात प्रणालीको विषयमा स्थलगत अध्ययन गरेका कोरियाली रेलमार्ग अनुसन्धान संस्थानका परियोजना प्रबन्धक जियोन ह्युन किमका अनुसार परियोजना अन्तरगत पोखराका ८४ वटा बस रुटहरूमा १ हजार २८६ स्थानमा बस स्टप निर्माण गरिनेछ । यस्तै ३ स्थानमा बस टर्मिनल निर्माण गरिने छ ।  यसका लागि पहिलो चरणमा १५ लाख डलर खर्च हुनेछ । यसको आधा रकम बस स्टप र बसहरूमा मेसिन जडान गर्दा खर्च हुनेछ । पोखराको मुख्य चोकपृथ्वी चोकलाई थप विस्तार समेत गरिनेछ । तिन चरणमा गरी सम्पन्न गरिने यस परियोजनाको पहिलो चरणमा सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक चरणको काम सकिनेछ । यस्तै दोस्रो चरणमा हरित यातायात प्रणालीको विकास गरिने छ भने, तेस्रो चरणमा दिगो हरित यातायात प्रणालीको विकास गरिनेछ ।  विश्वमा भएको उत्कृष्ट सहरी यातायात व्यवस्थापनको नमुना पोखरामा हुने कोरियन टोलीले विश्वास दिलाएको छ । परियोजनाका दौरानमा हाल नेपालमा रहेका सवारीहरूको अवस्था र कोरियामा भइरहेको यातायात व्यवस्थापनको अनुभवलाई समेत प्रयोग गरिनेछ । टोलीका अनुसार परियोजनाको अन्त्यमा पोखराको सहरी यातायात व्यवस्थापन प्रविधिमैत्री र स्मार्ट हुनेछ ।  पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाका बारे हरेक नागरिकहरूले डिजिटल माध्यमबाट जानकारी पाउने छन् । अहिले जस्तो कुनै पनि स्थानमा लामो समयसम्म बस कुर्नु पर्ने छैन भने, चालकहरूले समेत जथाभाबी यात्रु चढाउन र ओराल्न पाउने छैनन् । क्याम्पीङ्चोक देखी बगर ९बस स्टप १९०, निर निवास देखी शान्तिनगर चोक ९बस स्टप ११० र नुवारचोक देखी महिमा किराना ९बस स्टप १८० सम्म गरी तिन वटा मुख्य बस चल्ने रुटहरू हुनेछन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस परियोजना मार्फत पोखरामा वातावरणमैत्री यातायात प्रणालीको विकासमा टेवा, बस चढ्ने यात्रुहरूको सङ्ख्यामा वृद्धि, कार्बन उत्सर्जनमा न्यूनीकरण र सार्वजनिक यातायातको सम्पूर्ण जानकारी प्राप्तिमा यात्रुहरू सहजता पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार पोखरामा बढ्दो सहरीकरण र ट्राफिक चापलाई व्यवस्थित गर्नका लागि पनि यो परियोजना प्रभावकारी हुनेछ । यस परियोजनाले पोखरामा समावेशी, दिगो र लचिलो, वातावरणमैत्री र प्रभावकारी यातायात प्रणालीको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । परियोजनामा गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय, कोरिया रेलमार्ग अनुसन्धान संस्थान, राष्ट्रिय यातायात विश्वविद्यालय कोरिया र तारकम को।लिमिटेड सहित विभिन्न दातृ निकायहरूले साझेदारी गरेका छन् ।   

काठमाडौं:  नेकपा (एमाले) का मन्त्रीहरूले राजीनामा दिनुभएको छ । सोमबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमालेबाट भएका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाउनुभएको हो ।   उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, कृषिमन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी, रक्षामन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राईले मन्त्री पदबाट राजीनामा दिनुभएको हो ।   आजै बिहान बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

काठमाडौं: यस वर्ष हिउँद याम सकिनै लाग्दा अर्थात् करिब पाँच महिनापछि आइतबार राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भयो । सामान्य नेपालमा हिउँदे वर्षा मङ्सिर दोस्रो सातामा सुरु भएर फागुन दोस्रो सातासम्म रहन्छ । हिउँदे याम सुरु भएको तीन महिनापछि अर्थात् फागुन १४ गते देशभर वर्षा भयो । मौसमी भाषामा यो वर्षालाई हिउँदे वर्षाकैरुपमा लिइन्छ । तर, यो वर्षा प्रि–मनसुनको जस्तो मेघगर्जन, चट्याङ र हावाहुरीसहितको वर्षा भएकाले मौसमविद् नै द्विविधामा छन् ।   जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलवायु विश्लेषण शाखाका शाखा प्रमुख वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले यो वर्ष ढिलोगरी हिउँदे वर्षा भएको बताउनुभयो । उहाँले मङ्सिर १५ देखि फागुन १५ सम्म हिउँदे वर्षाकैरुपमा गणना गरिने भएकाले आइतबार भएको वर्षा हिउँदे वर्षा नै भए पनि यसको प्रकृति प्रि–मनसुनको जस्तो अर्थात् मेघगर्जन र चट्याङसहितको वर्षा भएको उहाँले उल्लेख गर्नुभयो ।   “हिउँदयामको अन्तिममा थोरै भए पनि वर्षा भयो, यसले किसानलाई राहत मिलेको छ, तर यो वर्षाको प्रकृति हेर्दा प्रि–मनसुनको वर्षा जस्तो छ । हिउँदयाममा चट्याङ र असिनारहितको वर्षा भएको छ”, मौसमविद् कँडेलले भन्नुभयो । नेपालमा मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन मानिन्छ । यो वर्ष फागुन १६ सम्मलाई हिउँद याम मानिने उहाँले बताउनुभयो ।   यो वर्ष के कारणले हिउँदे वर्षा भएन भनी सोधिएको जिज्ञासामा मौसमविद् कँडेलले पश्चिमी वायुको सक्रियता र क्षमतामा ह्रास आएका कारणले हिउँदे वर्षा कम भएको उ​ल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पूर्वी प्रशान्त महासागरमा विकसित जलवायु प्रणाली विपरीत दिशातर्फ अर्थात् भूमध्ये रेखाको आसपास गएकाले समुद्रको पानी तातिनुपर्नेमा चिसो हुँदै गएकाले जलवाष्फको मात्रा जुन किसिमले विकसित हुनुपर्ने हो त्यो नहुँदा नेपालतर्फ पश्चिमी वायुको प्रभाव कम देखिएको हो ।”   विभागअन्तर्गतको जलवायु विश्लेषण शाखाले हिउँद र वर्षायामको वर्षाको विश्लेषण गर्ने गरेको छ । मौसमविद् कँडेलका अनुसार यो वर्षको हिउँदयाममा आजसम्मको रेकर्डमा जम्मा १२ दशमलव ९ मिलिमिटर वर्षा भएको छ । हिउँदमा सरदर ६० दशमलव १ मिलिमिटर वर्षा हुन्छ । आइतबार विशेषगरी पहाडी क्षेत्रका भूभागमा भएको वर्षाले लामो खडेरी बेहोरिरहेका किसानलाई राहत मिलेको छ । पर्यावरण सन्तुलनमा समेत मद्दत पुगेको मौसमविद्को भनाइ छ ।   पश्चिमी वायुको सक्रियता नबढेका कारण हिउँदे वर्षा हुन नसकेको मौसमविद् गङ्गा नगरकोटी बताउनुहुन्छ । वरिष्ठ मौसमविद् कँडेल पनि नगरकोटीको भनाइमा सहमति जनाउँदै तुलनात्मकरुपमा पश्चिमी वायुको फैलावट राम्रोसँग हुन नसकेकाले हिउँदे वर्षा नभएको उल्लेख गर्नुभयो ।   सन् २०२२ को अक्टोबर १५ र १६ देखि खासै वर्षा भएको थिएन । नोभेम्बरमा केही स्थानमा र सन् २०२३ को जनवरीमा पनि विभिन्न स्थानमा छिटफुट मात्रै वर्षा भएको थियो । वर्षा नहुँदा सुक्खापन र खडेरी बढेको थियो । यो वर्ष विगतका वर्षमा भन्दा तापक्रम सरदरभन्दा बढी नै रहेको थियो । नेपालमा सामान्यतया फागुन लागेपछि मौसम न्यानो हुने गरेको छ ।   मौसमविद्को भनाइमा यस वर्ष हिउँदे वर्षा पर्याप्तमात्रामा हुन सकेन । राजधानी काठमाडौं उपत्यकामा त झन् यो वर्ष हिउँदे वर्षा भएन । उपत्यका बाहिर खासगरी देशका पश्चिमी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भयो भने पश्चिमदेखि पूर्वीभेगसम्मै उच्च हिमाली क्षेत्रमा हल्का हिमपात भएको छ ।   हिउँदे वर्षा नहुँदा हिउँदे बाली लगाएका किसान मर्कामा परेका छन् । लामो समयसम्म वर्षा नहुँदा वातावरण र पर्यावरणमा समेत असर परेको उनीहरूको विश्लेषण छ । गर्मी, जाडो, वर्षा जस्ता प्राकृतिक विशेषता मानवसँग प्रत्यक्ष जोडिन्छन् । यसले पर्यावरणमा सकारात्मक तथा नकारात्मक प्रभाव पार्ने बताइन्छ । जलवायु परिवर्तनको प्रभावले मौसममा उतारचढाव आउने अनुमान गरिएको छ ।   युरोपियन महादेशबाट क्यास्पियन सी ‘ब्ल्याक सी’ को बाटो हुँदै इरान, अफगानिस्तान, पाकिस्तान र उत्तरपश्चिम भारतबाट नेपाल भित्रिने वायुको प्रभावले हिउँदे वर्षा गराउने विज्ञ बताउँछन् । पश्चिमी वायुमा जलवाष्फको मात्रा वृद्धि भएपछि तथा वायुमण्डलीय चापमान घटेर यस मौसममा वर्षा हुने गरेको विज्ञको तर्क छ ।

काठमाडौं:  युएईमा जारी आइसिसी यू–१९ पुरुष विश्वकप क्रिकेटको एसिया छनोट प्रतियोगितामा नेपालले हङकङमाथि सानदार जित निकालेको छ ।   प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने क्रममा नेपालले सोमबार हङकङलाई नौ विकेटले हरायो ।  युएईस्थिति मलेका क्रिकेट मैदानमा हङकङले दिएको एक सय २१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २२ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।    नेपालको जितमा आकाश त्रिपाटीले अर्धशतकीय पारी पूरा गर्नुभयो । उहाँले अविजित ५८ रन जोड्नुभयो । उत्तम थापाले अविजित ३९ र अर्जुन कुमाल १६ रन बनाउनुभयो ।    यसअघि पहिले ब्याटिङ गरेको हङकङले ४६.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २० रन बनाएको थियो । हङकङका लागि पर्थ भागवात ३६ रन बनाउनुभयो । मोहम्मद जाहिरले २९ र अहान त्रिवेदीले ११ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।    बलिङमा नेपालका हेमन्त धामीले तीन विकेट लिनुभयो । आकाश चन्द र सुवास भण्डारीले दुई दुई तथा दीपेश कँडेलले एक विकेट झार्नुभयो । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन र दोस्रो खेलमा कुवेतलाई दुई सय ४३ रनले हराएको थियो ।   नेपालले अर्को खेल मंगलबार मलेसिया र अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ । छनोट खेलमा आयोजक युएईसहित नेपाल, हङकङ, कुवेत, मलेसिया र सिंगापुर सहभागी छन् ।    प्रतियोगिताको शीर्षस्थानमा रहने टोलीले सन् २०२४ मा श्रीलङ्कामा आयोजना हुने यू–१९ विश्वकपमा स्थान बनाउनेछ ।

डडेल्धुरा:  डडेल्धुराको परशुराम नगरपालिकामा आज सोमबार जिप दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ११ जना घाइने भएका छन् ।   कञ्चनपुरको दैजीबाट डडेल्धुराको भागेश्वर गाउँपालिकाको रुपालतर्फ आउँदैगरेको म १ ज २३८ नम्बरको जिप दुर्घटना हुँदा भागेश्वर गाउँपालिका –२ का ५० वर्षीय बाशुदेवी तिरुवाको मृत्यु भएको छ । चालकसहित ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।   ग्रामीण कच्चि सडकको परशुराम नगरपालिका –३ मट्यौलामा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताउनुभयो । उहाँका अनुसार जिप सडकमा पल्टिएको थियो । जिपमा चालकसहित ११ जना यात्रु सवार रहेका थिए ।    जिप पछाडि गर्नेक्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनास्थल परशुराम नगरपालिका मुकाम जोगबुडा लालढुङ्गाबाट करिब २५ किलोमिटरको दूरीमा पर्छ । लालढुङ्गा बजारमा ईलाका प्रहरी कार्यालय रहेको छ । ईलाका प्रहरी कार्यालयबाट उद्धारमा खटिएको टोलीले प्रारम्भिक जानकारी दिएको डिएसपी भट्टले बताउनुभयो । घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ ।

काठमाडौं:  संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपाललाई जितका लागि पपुवा न्युगिनी (पीएनजी) ले दुई सय चार (२०४) रनको लक्ष्य दिएको छ ।   दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साेमबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय तीन रन बनाएको छ ।    पीएनजीका लागि चाड सोपारले अविजित ३६ रन बनाउनुभयो । कप्तान असद भालाले पनि ३६, सेसे बाउले ३१, किप्लिन डोरिगाले २९, नर्मन भानुवाले २५ र हरि हरिले १० रन बनाउनुभयो ।   बलिङमा नेपालका गुलशन झाले तीन विकेट लिनुभयो । कुशल मल्लले दुई तथा करण केसी, सोमपाल कामी, प्रतिश जिसीले एक एक विकेट लिनुभयो । प्रतिशले पीएनजीविरुद्ध यही खेलबाट डेब्यु गर्नुभएको हो ।   सिरिजमा नेपालले फागुन १८ गते युएई, १९ गते पीएनजी र २२ गते युएईसँग खेल्नेछ । 

काठमाडौं: परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले परराष्ट्र नीति पुनरावलोकनको काम अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।  राष्ट्रियसभाको आजको बैठकमा समय लिएर उहाँले नीति अनुसन्धान प्रतिष्ठानले पुनरावलोकन गरिरहेको नीति एक महिनाभित्र सार्वजनिक हुने सो अवसरमा जानकारी दिनुभयो ।   “दुई वर्षअघि नीति बनेको, कार्यान्वयन अलिअलि भएको तर सार्वजनिक नभएको अवस्था थियो । वर्तमानमा विदेशीका विभिन्न रणनीति आएको परिप्रेक्षकमा हाम्रो परराष्ट्र नीति पुनरावलोकन हुनुपर्छ । यसलाई समयसापेक्ष बनाउनुपर्छ, सबै राजनीतिक दलहरूले यसलाई अपनत्व लिनुपर्छ भन्ने ‘मिसन’ थियो”, उहाँले भन्नुभयो, “सोही उद्देश्यअनुरूप प्रतिष्ठानले अहिले हाम्रो नीतिलाई पुनरावलोकन गरिरहेको छ ।”   क्षमता अभिवृद्धि, नीतिमा भएको प्रष्टता र दिगोपनलाई सुनिश्चितता गर्नुपर्ने जोड दिँदै उहाँले परराष्ट्र क्षेत्रले सार्वभौमसत्ताको संरक्षण र राष्ट्रियताको प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो । “परराष्ट्रको काम त्यतिमात्रै होइन रहेछ, राहत र उद्धार पनि महत्त्वपूर्ण रहेछ, मैले त्यही गएर बुझेँ”, उहाँले भन्नुभयो, “विदेशमा रहेका नेपालीको यति धेरै राहत र उद्धार गर्नुपर्ने रहेछ, त्यसबारेमा हाम्रो परराष्ट्र नीति बोलिरहेको छैन ।”   उहाँले नीतिमा प्रष्टसँग आप्रवासन र यसले पारेको असरलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । “ट्र्याक टु र पब्लिक डिप्लोमेसी, सुरक्षा निकायका भूमिकालाई अब बन्ने परराष्ट्र नीतिमा राख्नुपर्नेछ”, उहाँले भन्नुभयो, “त्यहीअनुसार हामीले पुनरावलोकन गर्दछौँ  ।” आफूले पदभार सम्हालेलगत्तै सेवा प्रवाहलाई प्रमुखता दिएर काम गरेको जानकारी दिँदै उहाँले जिम्मेवारीका अवधिमा आफूले राहदानी, कन्सुलर र राहत तथा उद्धार सेवा प्रभावकारी बनाएको दाबी गर्नुभयो । 

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकपछि रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने जानकारी दिए।   बुर्लाकोटीले भने,‘सरकारका विषयमा पार्टीको पूर्वनिर्णय कायम छ । तत्काल हामीले समर्थन फिर्ता लिदैनौं।’ सरकारबाट भने रास्वपा बाहिरिएको छ।   नेपालको राजनीतिमा अर्को घटनाक्रम विकसित नभएसम्म सरकारलाई दिएको समर्थन कायमै रहेको उनको भनाइ  छ। राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्ने प्रयास भइरहेको र उम्मेदवारले उम्मेदवारी फिर्ता दिने समय रहेकाले कसलाई मतदान गर्ने भन्नेबारे कुनै निर्णय नभएको उनले बताए।    बैठकले चितवन २ को प्रतिनिधिसभा उपनिर्वाचनमा भाग लिने निर्णय गर्दै निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको बुर्लाकोटीले जानकारी दिए।   बैठकले उक्त उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको छ ।