काठमाडौं: प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीमा मङगलबारदेखि २६ गतेसम्म सञ्चालन हुने इन्टरपोलको २४औँ एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभयो । महानिरीक्षक सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपम शमशेर जबरासमेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ । त्रिदिवसीय उक्त सम्मेलनमा एसियाली मुलुकका प्रहरी प्रमुख, इन्टरपोलका प्रतिनिधि तथा सरोकारवाला निकायबीच आर्थिक, साइबर, मानव बेचबिखन र आतङ्कवाद जस्ता अन्तरदेशीय अपराधको नियन्त्रणलगायतका विषयमा छलफल हुने कार्यक्रम छ । महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।
काठमाडौं: सुन्दर यातायात प्रा.लिले आजदेखि लागू हुने गरी विद्युतीय बस सञ्चालन बन्द गरेको छ। यातायाले आफ्ना विद्युतीय मेसिन/स्टेसन र विद्युतीय बस सञ्चालन बन्द गरेको हाे। नेपाल सरकार विद्युत नियमन आयोग र विद्युत प्राधिकरणले पटक-पटक विद्युतीय सवारी साधन चार्जिङ स्टेसनको नाममा लिँदै आएको अतिरिक्त डिमान्ड शुल्क नहटाएको भन्दै सुन्दर यातायाले आजदेखि आफ्नो सेवा बन्द गर्ने चेतवनीसहित आइतबार विज्ञप्ति जारी गरेको थियो। कम्पनीका अनुसार गत वर्ष नै डिमान्ड शुल्क हटाउने निर्णय भएको थियो तर अझै पनि विद्युत प्राधिकरणले अतिरिक्त डिमान्ड शुल्क लिँदैछ। विज्ञप्तिमार्फत सुन्दर यातायातले विद्युत खपत बढाउँ भन्दै सरकारले नाटकीय रूपमा आह्वान गर्ने र आफ्नो निर्णय आफैं कार्यान्वयन नगरी जनताद्वारा सञ्चालित विद्युतीय सवारी साधनमा रोक लगाउन चाहेको आरोप लगाएको छ। कम्पनीले सरकारको उक्त योजनाका कारण कम्पनीले आफ्नो सेवा बन्द गर्न बाध्य रहेको विज्ञप्तिमा उल्लेख गरेको छ। विज्ञप्तिमा लेखिएको छ, 'सरकारको असहयोगका कारणले यो निर्णय लिन बाध्य हुनुपरेकोमा कम्पनी दुःख व्यक्त गर्दछ।'
काठमाडौं: राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का सांसद उर्मिला अर्याल निर्वाचित हुनुभएको छ । सोमबार बिहान बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो । अर्यालले आइतबार नारायणकाजी श्रेष्ठको प्रस्ताव तथा देवेन्द्र दाहाल र खिमलाल देवकोटाको समर्थकमा उम्मेदवारी दर्ता गर्नुभएको थियो ।
नेपालगञ्ज: थारु भाषा, साहित्य, संस्कृति उन्नयनका लागि थारु साहित्यिक सङ्घसंस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादकहरू एकजुट भएर सहकार्य गर्नेलगायतका १२ बुँदे घोषणापत्र जारी गर्दै सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेमा सम्पन्न भएको छ । थारु लेखक सङ्घ र थारु गोचाली समाज फत्तेपुरले आयोजना गरेको सम्मेलनको समापन गर्दै थारु लेखक सङ्घका अध्यक्ष डा. कृष्णराज सर्वाहारीले यो सम्मेलनले थारु साहित्यको विकास र जगेर्नाका लागि महत्त्वपूर्ण काम गरेको बताउनुभयो । दाङ, देउखुरी, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतमा थारु साहित्यकारको अवस्था हेरेर लुम्बिनी प्रदेशमा प्रज्ञा प्रतिष्ठान बन्नु पर्ने आवश्यकता औँल्याउँदै उहाँले केन्द्रको प्रज्ञा प्रतिष्ठानमा पनि थारु सदस्यलाई प्राज्ञ बनाउनुपर्ने माग गर्नुभयो । थारु समुदायको कला संस्कृतिको खोज अनुसन्धान तथा इतिहासबारे दस्तावेजीकरण गर्ने उद्देश्यले थारु लेखक सङ्घले प्रत्येक वर्ष राष्ट्रिय सम्मेलनको आयोजना गर्दै आएको छ । ७ औँ राष्ट्रिय थारु साहित्य सम्मेलनमा ६ वटा विविध विषयमा छलफल, बहस गरिएको थियो । राप्ती सोनारीको विकासकालागि प्राथमिकताहरू, आदिवासी भाषा दशक र बाँकेको मातृभाषा, विकासमा वरघर, होमस्टेमा थारु समुदाय, आख्यानमा थारु, बाँकेमा थारु साहित्यको अवस्था, थारु साहित्यमा युवा र सिकलसेल एनिमियाको कहर: जनस्वास्थ्यमा प्रतिकुल असरबारे विषयगत सम्बन्धित ब्यक्तित्वहरुलाई प्यानलिस्ट बनाएर घनिभूत छलफल गरिएको थियो । बहसमा पत्रकार विमला चौधरी, लेखक तथा थारु कला संस्कृति खोजअनुसन्धान कर्ता शेखर दहित, सञ्चारकर्मी तथा वरघर अभियन्ता एकराज चौधरी, सञ्चार कर्मी तथा साहित्यकार नवीन अभिलाषी, साहित्यकार सागर गैह्रे, लेखिका वालिका चौधरी, सिकलसेल एनिमिया रोकथामका अभियन्ता प्रभुराम चौधरी, युवा साहित्यकार भूमिका थारुलगायतले सहजकर्ताको भूमिका निभाउनुभएको थियो । कोरोना कहरले यस वर्ष थारु भाषाका नयाँ पुस्तक धेरै प्रकाशित नभए पनि लक्ष्मी रानाले लेख्नुभएको सोरठ र गणेश वर्तमानले लेख्नुभएको ट्वाना उपन्यास र थारु क्यालेण्डर विमोचन गरिएको थियो । सम्मेलनमा पूर्व सुनसरी, मोरङदेखि सुदूरपश्चिमको कञ्चनपुरलगायतका जिल्लाबाट झण्डै तीन सय लेखक, पत्रकार, विश्लेषक, अध्येताहरूको सहभागिता थियो ।
काठमाडौं: नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी २९ माघदेखि १ फागुनसम्म बस्ने गरि बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । बैठकको एजेण्डा तय गर्न २६ माघमा सचिवालय बैठक बस्ने भएको छ । संगठन सुदृढीकरण नै बैठकको प्रमुख एजेण्डा बन्ने गुरुङले बताए । आमचुनाव पछि एमालेको पहिलोपटक बैठक बस्न लागेको हो ।
बझाङ : ट्रक र मोटरसाइकल ठोक्किदा एक महिलाको मृत्यु भएको छ । धनगढीबाट बझाङ सदरमुकाम चैनपुर आइरहेको सुपप्र ०१००१ ख ३०७१ नम्बरको ट्रक र विपरीत दिशाबाट गइरहेको सुपप्र ०१०१० प ५३१७ को मोटरसाइकल सोमबार बिहान ९:३० बजेतिर ठोक्किदा मोटरसाइकलमा सवार दुर्गाथली -३ रकैल घर भइ हाल केदारस्युँ ९ रकैल बस्दै आएकी २५ वर्षीया अमृता खत्री धामीको घटनास्थलमै मृत्यु भएको हो । ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक महिला एक प्राइभेट कम्पनीमा काम गर्ने र फिल्ड कार्यक्रमका लागि बाग्थला जाने क्रममा दुर्घटनामा परेको बुझिएको छ। मृतक खत्रीका श्रीमान उत्तम धामी भने हाल भारतमा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम्युनिकेसन सेवा भरपर्दो र गुणस्तरीय बनाउनुपर्ने बताएकी छिन्। नेपाल टेलिकमको १९औं वार्षिकोत्सवका अवसरमा बोल्दै सञ्चारमन्त्री शर्माले आधुनिक प्रविधिको उच्चतम् प्रयोग गर्दै सर्वसुलभ र प्रभावकारी सेवा दिनुपर्नेमा जोड दिइन्। विगतका सरकारको घरघरमा इन्टरनेट र हातहातमा मोबाइलको योजना सार्थकता पाएको उनको भनाइ छ। अब भू–उपग्रह स्थापना गरी सेवा दिने लक्ष्य पनि लिनु पर्नेमा उनले जोड दिइन्। टेलिकमले कमजोरी पत्ता लगाएर गुणस्तरीय सेवा दिनुपर्ने उनले जोड दिइन्। सरकारको सोच र लक्ष्यलाई पूरा गर्ने उद्देश्यसहित मुलुकका सुगमदेखि अति विकट स्थानमा सेवा दिन सक्नुपर्ने बताइन्। ‘नाफारहित भए पनि दूरसञ्चार र सूचना प्रविधिको सेवा उपलब्ध गराउने जिम्मेवारी नेपाल टेलिकमको हो’ उनले भनिन्। सेवा प्रवाह, रोजगारी सिर्जना र राजस्वको महत्त्वपूर्ण स्रोतका रूपमा स्थापित गर्ने राज्यले टेलिकमलाई प्राथमिकता दिएको उनको भनाइ छ। सूचना प्रविधिबाट सरल, सुलभ र बिनाअवरोध गुणस्तरीय सेवा दिने उनले बताइन्। ‘जनताले प्रत्यक्ष लाभ महसुस गर्ने गरी सेवा परिमार्जन र उत्पादन गर्दै थप जनतासम्म पुग्नुपर्छ’ उनले भनिन्। कर्मचारीको अभावमा सेवा प्रभावकारी हुन नसकेको समस्या सल्टाउन उनले जोड दिइन्। समयमै मर्मत हुन नसकेको समस्यालाई छिट्टै समाधान गर्न टेलिकम व्यवस्थापनले उच्च प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। ग्राहक सन्तुष्टि सर्वोपरी ठान्नुपर्ने उनको भनाइ छ। ‘गुणस्तरीय, सस्तो र सर्वसुलभ सेवा दिन दायित्वबाट पन्छिन हुन्न’ उनले भनिन्, ‘कर्मचारीको सेवासुविधा पनि वृद्धि गर्नुका साथै लगानीकर्तालाई अधिकतम प्रतिफल दिनु पर्छ।’ मन्त्री शर्माले समयमै आयोजनाको काम पूरा हुन नसक्दा लागत बढेको बताइन्। विकट क्षेत्रमा सेवा विस्तार तथा मानवीय वस्तीमा टावर विस्तार, वन क्षेत्रमा हुने पूर्वाधार विकासमा जोड दिनुपर्ने उनले बताइन्। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेलिकमले गुणस्तरीय सेवा दिन नसकेको बताए। ‘काठमाडौं उपत्यकाभित्रै फोरजी सेवा प्रभावकारी छैन’ उनले भने, ‘व्यवस्थापन कमजोरका कारण उपत्यकाभित्रै राम्ररी चल्न सकेको छैन।’ टेलिकमले गुणस्तरीय सेवा दिन चुकेको बताए। प्रविधि प्रयोगमा टेलिकमले विशेष योजना ल्याउनुपर्ने उनले बताए। सेवा दिए अनुरूप राजस्व घटेको उनले बताए। डाटा र भिडियोजस्ता सेवामा गुणस्तरीयता ल्याउन सके टेलिकमको प्रभावकारी बढ्ने अध्यक्ष खनालले बताए। अध्यक्ष खनालले सेवा पूर्ण क्षमतामा दिन, क्षतिपूर्ति दिन चुकेको र टेलिकमले विश्वसनीयता गुमाउँदै गएको बताए। फाइबर नेटवर्क विस्तार गर्न ध्यान केन्द्रित गर्न चुकेको उनले बताए। ‘दुई वर्षसम्म काम नगर्ने ठेकेदारलाई किन कारबाही हुँदैन’ उनले भने। डिजिटल नेपाल फ्रेमवर्कको काम गर्न ढिलो भइसकेको उनले बताए। प्रतिस्पर्धी क्षमता विकास गर्न सके नियामक निकाय सधैं साथमा रहने उनले बताए। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले ग्राहकको सन्तुष्टिलाई सर्वोपरि ठान्नुपर्ने बताए। सेवा निरन्तर, भरपर्दो र गुणस्तरीय बनाउनुपर्ने उनको जोड थियो। टेलिकमलाई प्रतिस्पर्धी बजारमा दरिलो उपस्थिति जनाउन सेवा प्रभावकारितामा जोड दिनुपर्ने उनले बताए। गुणस्तरीय सेवा सुलभ दरमा देशभर पुर्याउनुपर्ने उनको भनाइ थियो। सचिव अर्यालले टेलिकमका प्रबन्ध निर्देशकसँग कार्यसम्पादन गरेको चर्चा गर्दै कम्तीमा पनि ९५ प्रतिशत प्रतिबद्धता पूरा गर्नुपर्ने बताए। लागत घटाउन सके सेवाको मूल्य कम पर्ने उनको भनाइ थियो। गुनासो आउने संयन्त्र र सम्बोधन गर्ने निकाय दह्रो हुन नसके ग्राहक टाँसिएर नबस्ने सचिव अर्यालले बताए।
सिन्धुली: धुलिखेलबाट सिन्धुली जाँदा करिब ४० किलोमिटरको दूरी बी.पी. राजमार्गको बायाँतर्फ एउटा ठूलो आकारमा डम्फु बनाइएको छ । डम्फु पार्क नै नामकरण गरिएको आकर्षक देखिने यो डम्फु सिन्धुलीको रोशी गाउँपालिका वडा नं. ११ कालो ढुङ्गा र रोशी खोलाको किनारमा छ । स्थानीयवासी राजवीर तामाङका अनुसार यो एसियाको दोस्रो ठूलो डम्फु हो । जुन ३२ फिट अग्लो र गोलाइ पनि ३२ फिट छ। पहिलो ठूलो डम्फु भुटानमा छ । तामाङका अनुसार यसको क्षेत्रफल २२१ रोपनी छ। अझै यहाँ निर्माणकार्य हुन बाँकी छ र यस्तै शैलीको तामाङ संस्कृति झल्किने ढिकी, जाँतो आदि पनि बनाइनुको साथै पार्क, बगैँचा लगाएर विभिन्न भवनहरू निर्माण हुने क्रममा छ। डम्फु तामाङ संस्कृतिको प्रमुख बाजामध्ये एक हो। अब यही स्थलमा तामाङ समुदायको विभिन्न चाडपर्व मनाइनेछ।
काठमाडौँ: नेपाली काँग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभाका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीबाटै राष्ट्रपति हुने दाबी गरेका छन् । आइतबार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले नेपाली काँग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने र सोही व्यक्तिनै राष्ट्रपति बन्ने बताएका हुन् । महामन्त्री शर्माले राष्ट्रपतिमा आफ्नो पार्टीले प्रतिस्पर्धा गर्ने कुरालाई पूर्वाग्रही ढङ्गले नसोच्न पनि एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरे । उनले आफ्नो पार्टी विपक्ष दल भएकै बेला गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादव बनेको स्मरण गराउँदै अहिले पनि सो पद आफ्नो पार्टीले नै पाउने तर्क समेत गरे । महामन्त्री शर्माले संसदमा एमाले अध्यक्ष ओलीले आवेश र कुण्ठा अनि आक्रोश र गालीलाई व्यक्त गरेको उल्लेख गर्दै त्यसो नगर्न पनि अनुरोध गरे । ओली काँग्रेस फोवियाबाट मुक्त हुनुपर्ने उनको भनाइ थियो । महामन्त्री शर्माले भने, ‘राष्ट्रपति पदमा नेपाली काँग्रेसले उम्मेदवारी दिन चाहन्छ, दिन्छ । नेपाली काँग्रेसले दिएको उम्मेदवार यो देशको राष्ट्रपति बन्नु हुन्छ । राष्ट्रपति पदमा उम्मेदवारी दिइरहँदै गर्दाखेरि त्यसलाई लोकतान्त्रिक अभ्यासको रूपमा नबुझ्ने हो भने त्यो अलोकतान्त्रिक चेत हुन्छ । म के सार्वजनिक रूपमा सम्माननीय पूर्व प्रधानमन्त्री केपी ओलीलाई स्मरण गराउन चाहन्छु भने–विपक्षले राष्ट्रपतिमा प्रतिस्पर्धा गर्ने कुरालाई नै पूर्वाग्रही सोच्ने, गलत ग¥यो भनेर सोच्ने हो भने यो देशको प्रथम राष्ट्रपति पनि तत्कालीन विपक्ष दल नेपाली काँग्रेसको उम्मेदवार बन्नु भएको थियो । त्यस बेला पनि यो देशका प्रधानमन्त्री कमरेड प्रचण्ड हुनुहुन्थ्यो । नेपाली काँग्रेस पार्टी विपक्षमा थियो । विपक्ष दल नेपाली काँग्रेसले अगाडि सारेको उम्मेदवार डा. रामवरण यादव देशको राष्ट्रपति बन्नु भयो । यसरी कमरेड केपी ओलीले चाहिँ सुनको बालाको कथा हाली राखेर पिँजडाको फलामे साङ्लो अझै बलियो बनाउने कर्म नगरिदिनु भए हुन्थ्यो । अथवा यो सांसदलाई विचार र सिद्धान्त प्रवाह गर्ने थलो हो । यहाँबाट आवेश र कुण्ठालाई, आक्रोश र गालीलाई व्यक्त नगरौँ भन्ने सोचिदिए हुन्थ्यो । अलिकति अनुरोध गर्दैगर्दा चाहिँ मेरो जिल्लावासी कमरेडलाई अर्को जिल्लावासी नयाँ नयाँ सांसदको के अपिल छ भने–काँग्रेस फोवियाबाट मुक्त भई दिनुस् ।’ महामन्त्री शर्माले सत्तारुढ दलहरूप्रति सङ्केत गर्दै संसदमा सुनको बालाको कथा हालेर पिँजडाको फलामे साङ्लो बलियो बनाउने प्रयास नगर्न पनि ओलीलाई सचेत गराए ।