काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले खुलामञ्च आन्दोलनका निषेधित क्षेत्र नभएको स्पष्ट पारेका छन्। मिटरब्याज पीडितहरूलाई खुलामञ्च प्रवेश नदिइएको विषय सार्वजनिक भएपछि मेयर शाहले खुलामञ्च आवाज बोल्न सबैका लागि सँधै खुला रहने बताएका छन्।    उनले माइतीघरमा आन्दोलन गर्नेहरूका लागि शिविर बनाएरै खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद भएको टिप्पणी गरे। ‘खुलामञ्च निषेधित क्षेत्र होइन र हुने छैन।’ फेसबुकमार्फत उनले भनेका छन्,‘तर माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारीहरु शंकास्पद छन्।’   यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि नभई न्यायको लागि भएको उनको भनाई छ। ‘शिविर बनाएर महिनौँ वा बर्षौँ बसेर न्यायका लागि लड्ने वातावरण बनाउने होइन, सकेसम्म चाँडो र केहि घण्टामा न्यायको अनुभूति दिलाउनु पर्ने हो। यसो नगरि सम्पूर्ण चासो र परिश्रम नै खुलामञ्चमा नै बस्नमा प्रयोग गरे जसरी प्राथमिकतामा राखिएको छ।’     मेयर शाहले पीडितहरुले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौँ आइपुग्नुले संघीयतालाई निर्मम प्रश्न गरिरहेको धारणा राखेका छन्।   ‘पीडितहरुले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौँ आइपुग्नुले हाम्रो संघीयतालाई निर्मम प्रश्न गरिरहेको छ, गाउँगाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको छ। यो अवस्थामा संघीय सरकारले अतिशिघ्र चासो दिनु पर्ने हो। यसै पनि न्याय माइतीघरले दिने होइन, कानुनको स्पष्टता नभएको अहिलेको अवस्थामा मन्त्रीपरिषदले दिनु पर्ने हो। पिडितहरुलाई शिविर होइन, आज नै न्यायको अनुभूति दिलाएर बेलुका घर फर्किने वातावरण बनाउनु पर्ने हो।’ उनले थपे, ‘तर यी कुनै नभइरहेको अवस्थामा काठमाडौँ महानगरले उहाँहरुको सुरक्षित बसाइका लागि अन्यत्र सुरक्षित स्थानमा बसोबासको विकल्प दिइएको हो। तर उहाँहरुले खुलामञ्चभन्दा अन्य विकल्पहरु मान्न तयार हुनु भएन। खुलामञ्चको विषयमा अनावश्यक उर्जा खर्चिनभन्दा समस्या समाधानको लागि दबाब दिन र सोको लागि उपयुक्त ठाउँ प्रधानमन्त्री निवास बालुवाटार हो भन्ने सुझाव दिएपछि उहाँहरु बालुवाटारतिर लाग्नु भएको छ।’   मेयर शाहले स्थानीय समस्याहरु स्थानीय सरकारबाट समाधान हुनुपर्ने तर्क गरेका छन्। पीडितहरु माथिल्लो सरकारमा आइपुगेपछि हदैसम्म शिघ्रता देखाएर समाधान हुनुपर्ने धारणा राखे। आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उनले भनेका छन्, ‘रह्यो कुरा खुलामञ्चको, त्यो मञ्च आवाज बोल्न सबैका लागि सँधै खुला थियो, छ र रहनेछ। र यस आन्दोलनमा हाम्रो ऐक्यवद्धता रहनेछ।’  

ताप्लेजुङ:  ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा भरुवा बन्दुकको छर्रा (गोली) लागेर एक जनाको मृत्यु भएको छ । गए राति सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका –३ हाङ्पाङका ५२ वर्षीय ललित गुरुङको मृत्यु भएको हो ।    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवम् प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार सिकार खेल्ने क्रममा आफ्नै साथी ५२ वर्षीय बीर  गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर गुरुङको मृत्यु भएको हो । हाङ्पाङस्थित कालीदह जङ्गलमा सिकार खेल्न गएका गुरुङको सोमबार राति करिब १० बजेतिर छर्रा लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।   घटना लगत्तै हाङ्पाङ प्रहरी चौकीको टोलीले बीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको पनि कार्कीले बताउनुभयो । उहाँका अनुसार घटनाको मुचुल्कासहित कानुनी प्रक्रिया पुरा गर्न दोभान इलाका प्रहरी कार्यालय चाँगेबाट प्रहरी टोली गएको छ ।    घटनास्थलको कानुनी प्रक्रिया पुरा गरेर शव पोस्टमार्टमका लागि सदरमुकाम फुङ्लिङ ल्याइनेसमेत प्रहरीले जनाएको छ । यता घटनाको विषयमा थप अनुसन्धानको कार्य सुरु भएको पनि जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।  

ढोरपाटन:  अक्षते पहिलेको गाउँ, अहिलेको बजार । वरपर खेतीयोग्य जमिन । जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको बजारका रूपमा लिइने अक्षते पछिल्लो एक दशकमा यसको मुहार नै बदलिएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने अक्षते ग्रामीण क्षेत्रको व्यापारिक केन्द्रजस्तै हो । खासगरी काठेखोला गाउँपालिकाअन्तर्गतका गाउँ यही बजार हुँदै जानु पर्छ । त्यसले गर्दा यहाँ व्यापार व्यवसाय पनि राम्रो हुने गरेको पाइन्छ ।   विसं २०५४ मा सडकले जोडिएको अक्षते बजारमा लामो समयसम्म बस्ती विस्तार हुनसकेको थिएन । पछिल्लो आधा दशकमा यहाँ घर भवन बन्ने र बजार विस्तार तीव्रगतिमा भएको छ । कुनै बेला दैनिक उपभोग्य सामान किनमेल गर्न टाढा–टाढा पुग्ने स्थानीय अहिले घरमै पाउँछन् । अहिले अक्षते बजार काठेखोला गाउँपालिकाको पाला, भीमापोखरा, बिहुँ, तङ्ग्राम, धम्जालगायतका गाउँका स्थानीयको नजिकको बजार बनेको छ ।   गाउँमा सडक सञ्जाले जोडिन थालेपछि यस ठाउँमा चहलपहल बढ्न थालेको स्थानीय ५६ वर्षीय तोरणध्वज मल्लले बताउनुभयो । उहाँले एक दशक अगाडिसम्म अक्षतेमा दुई–चारवटा घरमात्रै रहेकामा अहिले दिनप्रतिदिन बढ्दै गएको सुनाउनुभयो । साढे दुई दशक पहिले यो ठाउँ सडक सञ्जालले जोडिए पनि पूर्वाधारका हिसाबले पछाडि परेको भन्दै अहिले सबै किसिमका सेवा–सुविधा थपिँदै गएपछि बस्तीसमेत विस्तार हुँदै गएको मल्लको भनाइ छ ।   उदयमान सहरका रूपमा विकास हुँदै गएको अक्षतेलाई व्यवस्थापन गर्न अहिलेदेखि नै लाग्नुपर्ने बताउनुहुन्छ । ढल व्यवस्थापन, नक्सा पासलगायतका कामको सुरुआत गर्नुपर्ने उहाँको भनाइ छ । अहिले बजार व्यवस्थापनका खाका नकोरे पछि समस्या आउने मल्ल बताउनुहुन्छ । खानेपानी, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा पनि सरकारले काम गर्न बाँकी रहेको उहाँ सुनाउनुहुन्छ ।   “अक्षते पहिलेको तुलनामा धेरै परिवर्तन भएको छ, यहाँ सडक आएपछि मात्रै विकासको सुरुआत भएको हो, सडक नआउनुभन्दा पहिले यहाँका मान्छे नुन– तेल ल्याउन पर्वतको कार्कीनेट पुग्थे, एक दिनमै गएर आउन गाह्रो पथ्र्यो, बागलुङ बजारमा पनि गाडी आइसकेको थिएन”, मल्लले भन्नुभयो, “अहिले त पहिलेको जस्तो समस्या छैन, सबै सेवा–सुविधा घरै अगाडि आएका छन्, यहाँ नपाएको सुविधा आधा घण्टामै बागलुङ बजारमा पुगेर लिन सकिन्छ ।”   स्थानीय तलबहादुर पुनले अक्षतेमा सेवा–सुविधा बढ्न थालेपछि ग्रामीण क्षेत्रबाट झरेर बसाइँ गर्न थालेको बताउनुभयो । पहिले यस ठाउँ खेतीयोग्य जमिन रहेको सुनाउँदै अहिले बजारका रूपमा विकास भएको पुनको भनाइ छ । सबैभन्दा पहिले यहाँ एसियाली विकास बैंक (एडिबी)ले सडक खुलाएको भन्दै पछि सरकारले मध्यपहाडी लोकमार्ग बनाएपछि अक्षतेले मुहार फर्दै गएको बताउनुभयो ।   उहाँले भन्नुभयो, “अहिले जुन बजार बन्दै गरेको ठाउँ छ, यहाँ खेतीपाती हुन्थ्यो, धान, गहुँ र मकै फल्थ्यो, पछि–पछि बस्ती विस्तार हुँदै गएपछि खेतीयोग्य जमिनमा घर–भवन बन्न थाले, अहिले धेरै परिवर्तन भएको छ यो ठाउँ, पहिले सडक साँघुरो थियो, अहिले हिलो धुलो भए पनि अलि फराकिलो भएको छ, सडक कालोपत्र गर्ने काम पनि हुँदैछ ।   काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले गाउँपालिकाले बजार क्षेत्रमा ढल व्यवस्थापनका लागि योजना बनाएको बताउनुभयो । घर भवन निर्माण लागि मापदण्डसमेत लागू गर्ने तयारीमा रहेको भन्दै जग्गा वर्गीकरण पनि गरिरहेको बताउनुभयो । पालिकाअन्तर्गत पर्ने बजारमा दीर्घकालीन व्यवस्थापन गर्ने गरी पालिकाले योजनाको सुनाउनुभयो ।   “गाउँ तथा बजार सबैतिर पालिकाले धेरै काम गर्नुपर्ने छ, अक्षते बजार काठेखोला गाउँपालिकाको मुख्य बजार रहेको हुँदा यहाँको सौन्दर्यकरणदेखि फोहर व्यवस्थापन, ढललगायत अन्य व्यवस्थापकीय पक्षलाई के–कसरी सुधार गर्न सकिन्छ र दीर्घकालीन हुनसक्छ भनी अध्ययन गरेका छौँ”, उहाँले भन्नुभयो, “अब विस्तारै यहाँको विकास र व्यवस्थापका काम हुँदै जाने छन् ।”

काठमाडौँ:  नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सरकारी सेवा पूर्णरुपमा डिजिटल बन्न नसकेको बताएका छन् । प्राधिकरणसँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष खनालले सरकारी सेवा नाम मात्रैको डिजिटल रहेको बताएका हुन् ।   ‘सरकारी निकायले डिजिटाइज भनेपनि पुरानै तरिकाले अघि बढेको छ,’ खनालले थपे, ‘हिजो भौतिक रूपमा हुने काम अनलाइनबाट त्यही प्रक्रियामा रहेको छ । डिजिटल रिइन्जिनियरिङ हुन सकेको छैन,’ उनले भने, ‘प्रविधिको प्रयोग भनेपनि भौतिक रूपमा गर्ने कमलाई कपी गरेर डिजिटलाइज गर्ने काम भएको छ ।’   डिजिटल इकोनोमीको अवधारणसँगै डिजिटल मनिटरिङ सिस्टम नहुँदा कर नतिरेको विषय सिस्टमले थाहा पाउने अवस्था नरहेको खनालको भनाइ थियो । ‘ग्राहकलाई जनचेतना आवश्यक रहेको छ । आफूले सुविधा नपाए गुनासो सम्बन्धित निकायसँग गर्नु पर्छ,’ अध्यक्ष खनालले भने, ‘गुणस्तरको विषय सुविधाको लागि विद्युत्, सडक लगायत निकायको समेत प्राथमिकता दिनुपर्छ ।’   ‘कुनै निकायले तार काटिँदा इन्टरनेट अवरुद्ध हुने गरेको छ । विद्युतको पावरको कारण इन्टरनेट गुणस्तरमा फरक परिरहेको छ,’ खनालले थपे, ‘सरकारी जग्गामा टावर राख्न वर्षौँ वन मन्त्रालयबाट रोकिन्छ । सरकारी भवनमा टावर राख्ने कुनै कानुनी व्यवस्था नहुँदा अप्ठेरो ।’   ‘डाटा सेक्युरिटी सम्बन्धी नीति अभाव रहेको छ । बायोमेट्रिक कसले लिन पाउने भन्ने स्पष्ट नहुँदा सेवाग्राहीले दुःख पाइरहेको समेत खनालले बताए । यस्तै, पोलिसीले प्राथमिकता पाउनु पर्ने ठाउँमा राजनीतिक एजेन्डाले बनाएको खनालको धारणा रहेको छ ।

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग माग गरेका छन्। उनले मिटरब्याजी पीडितको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै माग सम्बोधनमा सरकारको ध्यानाकर्षणसमेत गराए।   शाहले भने, ‘सधैं काठमाडौं आएर आन्दोलन नै गर्नुपर्ने स्थिति सिर्जना हुँदा पनि सरकार हेरेर बस्ने अवस्था छ। हिजो ११ दिन हिँडेर काठमाडौं आउने समाचार हेरेपछि महानगरको मेयरको हैसियतले आफ्नो कार्यक्षेत्रमा नपरे पनि मानवताको नाताले काठमाडौं बसुन्जेल पशुपति धर्मशालामा बास र खानाको व्यवस्थापन गर्न हामी तत्पर भएर आज बिहानै उहाहरूसँग सम्पर्क गरेर हामीले पशुपति जान अग्रह गयौं तर, उहाँहरु खुल्लामञ्चमै बस्न खोज्नुभयो।’   विगत केही वर्षदेखि नेपाल सरकारले मिटरब्याजीहरूलाई कारबाहीको दायरामा ल्याउने आश्वासनमै सीमित रहेको बताए। शाहले भने, ‘हामीले सम्झाएर रत्नपार्कको शान्तीवाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेका छौं र उहाँहरूको मागप्रति एक्यबद्धता जनाउँदै नेपाल सरकारसमक्ष उहाँहरूको समस्या समाधानका लागि जोडदार माग राख्छौं। हामी चाहन्छौं यस्तो अवस्था मा काठमाडौं कोही आउन नपरोस्, गाउँ गाउँमा सरकार पुगोस्।' 

गुल्मी: एमालेका अध्यक्ष केपी शर्माओलीले पार्टीका नेता कार्यकर्ताहरूलाई उत्ताउलो नहुन निर्देशन दिएका छन् ।   मिसन ग्रासरुट अभियानको क्रममा सोमबार गुल्मी सदरमुकाम तम्घासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् ।    ‘एमालेमा आइसकेपछि खहरेका प्रवृत्ति, अरुका प्रवृत्ति बोकेर हिँड्न मिल्छ ? नेकपा एमाले गंगा जस्तै हो’, ओलीले कार्यकर्तालाई भने शैली, आचरण, व्यवहार एमाले कार्यकर्ताको जस्तो भनेर अनुकरणीय बन्नुपर्छ ।’  ओलीले एमाले पार्टी इमानका लागि इमानका साथ लडेको पार्टी भएको भन्दै एमाले कार्यकर्ताबाट बेइमानी गर्ने कुरा कल्पनासमेत गर्न नसकिने बताए ।

काठमाडौं :  राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान गरिएको छ।   उनलाई नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) मा आज सम्मान गरिएको हो।   खेलमार्फत नेपाललाई विश्वमाझ चिनाउन सफल भएको भन्दै उनलाई प्रतिनिधि सभा सांसद विनोद चौधरीले सम्मान गरेका हुन्।   क्रिकेटमा नेपालले प्राप्त गरेको उपलब्धिले देशभित्र र बाहिर रहेका सबै नेपालीहरूलाई जोड्ने काम भएको चौधरीले बताए।   आफूले पनि खेलकुद क्षेत्रको विकासका लागि सहयोग गर्ने चौधरीले बताए।   कप्तान पौडेलले सम्पूर्ण नेपालीहरूको मायाले नेपाली क्रिकेट क्षेत्र र खेलाडी उत्साहित भएको बताए।   ‘अब हाम्रो एउटा मात्रै लक्ष्य जिम्बाबेमा हुने विश्वकप छनोट हो। त्यसमा पनि उत्कृष्ट प्रदर्शन गरेर विश्वकप खेल्ने नै हो,’ उनले भने।   उक्त अवसरमा स्थानीय युवा क्लबले पनि कप्तान पौडेललाई सम्मान गरेका थिए।   नवलपरासी बर्दघाट–१४ का पौडेललाई यसअघि बर्दघाट नगरपालिकाले पनि सम्मान गरेको थियो।

काठमाडौं : थप ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।    पछिल्लो २४ घन्टामा देशभरबाट १२६६ नमूना परीक्षण गर्दा ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।   मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४८८ र एन्टीजेनबाट७७८ नूमना परीक्षण गर्दा पीसीआरबाट २५ र एन्टिजेनबाट ४४ को रिपोर्ट पोजिटिभ आएको हो।   यो अवधिमा एक जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ६६ पुगेको छ।

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्ने बताउनुभएको छ ।   सोमबार काठमाडौँमा पूर्व मन्त्री स्व. नवीन्द्रराज जोशीको सालिक अनावरण गर्दै उहाँले राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्ने बताउनु भएको हो ।   उहाँले जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरूको सुख दुःख बुझेर उनीहरूकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिबद्धता र समर्पणबाट राजनीति अभिप्रेरित हुनुपर्ने बताउनु भयो ।   राष्ट्रपति पौडेलले जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरूका सुख दुःख बुझ्ने व्यक्तित्वको रूपमा आफूले स्व. जोशीलाई चिनेको बताउनुभयो ।   उहाँले स्व. जोशीको व्यक्तित्व राष्ट्रिय रूपमा बनाएको उचाइ र छवि वर्तमान नेपाली समाजका लागि प्रेरणादायी हुने बताउनुभयो ।   राष्ट्रपति पौडेलले योग्यता, आचरणशील र इमान्दारीतामा बराबर सङ्गम रहेका विरलै मानिसमध्ये स्व. जोशी रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्छ । जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरूको सुख दुःख बुझेर उनीहरूकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिबद्धता र समर्पणबाट  अभिप्रेरित हुनुपर्छ ।   जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरूका सुख दुःख बुझ्ने नवीन्द्र यही दर्शनबाट प्रभावित थिए ।’   राष्ट्रपति पौडेलले मुलुक र समाज परिवर्तनका लागि सदैव दृढ संकल्पित, सिद्धान्तनिष्ठ कार्यकर्ताका रूपमा जोशीले लोकतन्त्रलाई जीवनपद्धतिका रूपमा आत्मसाथ गरी लोकतन्त्रको संस्थागत विकासमा पुर्‍याउनुभएको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणाको स्रोत बन्ने बताउनुभयो ।   नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संस्थापक नेताहरूले देखाएको बाटोमा वर्तमान काँग्रेस नेताहरू हिँड्नुपर्ने बताउनुभएको छ ।   जोशीको सालिक अनावरण कार्यक्रममा बोल्दै नेता सिंहले मूल्य मान्यता र आदर्शको राजनीतिमा नेताहरू हिँड्न आवश्यक रहेको बताउनुभएको हो ।   उहाँले २०४६ सम्म मूल्य मान्यता र आदर्शको राजनीतिमा बढी जोड समाज र दलहरूले दिएको उल्लेख गर्दै २०४६ को परिवर्तनपछि संस्थापक नेताहरूले देखाएको बाटोमा कांग्रेस नेताहरू कत्तिको हिँडेका छौँ भन्नेकुराको मनन गर्न आवश्यक रहेको बताउनुभयो ।   उहाँले शक्ति केन्द्रित राजनीतिमा आफ्नो सिद्धान्तको ख्याल गरिएको छ की छैन भन्ने कुरामा सोच्न जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘आजको दिनमा २०४६ को परिवर्तनपछि, २०४६ सम्म मूल्य मान्यता र आदर्शको राजनीतिमा बढी जोड समाजले, दलहरूले दिएको हामीले पाएका छौँ । तर २०४६ को परिवर्तनपछि प्रतिबन्धित अवस्थाबाट पार्टी खुलामा आइसकेपछि पावस बेस पोलिटिक्समा जुन रूपान्तरण भएको कारणले मूल्य मान्यताको राजनीति, आदर्शको राजनीति आदरणीय संस्थापक नेताहरूले देखाएको बाटोमा हामीले कत्तिको ध्यान दिन सकेका छौँ, त्यसमा सबैले मनन गरौँ ।   उहाँले नविन्द्रराज जोशीको जीवनलाई समाजमा जीवन्त राख्न प्रतिमा स्थापना र अनावरण कार्यक्रम भएको बताउनुभयो ।   जोशीकी पत्नी एवम् सांसद सपना राजभण्डारीले जोशीले लिनुभएको राजनीतिक लक्ष्य पूरा गर्न आफू लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रतिमा निर्माणले जोशीलाई जीवन्त राख्ने उहाँको भनाइ थियो । सोही अवसरमा राष्ट्रपति पौडेलले विस २०४६ सालको जनआन्दोलनका शहीद निर्गुण स्थापितको शालिकमा समेत माल्यार्पण गर्नुभयो ।    विस २०१९ पुस २२ गते काठमाडौँमा जन्मनुभएका जोशीको विस २०७७ चैत १३ गते निधन भएको थियो । उहाँ संविधानसभा सदस्य, उद्योगमन्त्री, काठमाडौँ महानगरपालिकाका उपप्रमुख, गणेशमान सिंह अध्ययन प्रतिष्ठानका संस्थापक अध्यक्षलगायत विभिन्न सामाजिक संस्थामा संलग्न हुनुहुन्थ्यो ।