काठमाडौँ: ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने नाराका साथ आज सातौँ निर्वाचन दिवस मनाइएको छ । कान्तिपथस्थित निर्वाचन आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको निर्वाचन खर्च कानूनबमोजिम विवरण समयमै बुझाउन उम्मेदवारहरूलाई अनुरोध गरे । प्रमुख आयुक्त थपलियाले भने, “आयोग निर्वाचन कानूनमा भएको व्यवस्थाअनुसार अघि बढ्छ, निर्वाचन कानूनको अवज्ञा क्षम्य हुँदैन ।” उनले अघिल्ला निर्वाचनहरूको तुलनामा यस वर्ष भएका निर्वाचनमा आयोगले केही नीतिगत सुधार गरी नवीनतम अभ्यास गरेको उल्लेख गर्दै यसलाई निरन्तर जारी राख्दै निर्वाचन व्यवस्थापनमा गुणात्मक परिवर्तन गर्नुपर्ने बताए । प्रमुख थपलियाले निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानूनी र संस्थागत संरचनासहित समयानुकुल बनाउन एकीकृत निर्वाचन कानूनको मस्यौदा तयार गरी पेश गर्न लागिएको बताए । निर्वाचनमा मतदाताहरूको उत्साहपूर्ण सहभागिता र लैङ्गिक सहभागिताको विषय व्यापकरूपमा उठिरहेको हुँदा आयोगले यस विषयमा राजनीतिक दल, सरोकारवाला पक्षसँग छलफल गरेर अघि बढ्ने प्रमुख आयुक्त थपलियाले बताए । मतदाता नामावलीको शुद्धीकरणका लागि आयोगको सूचना प्रविधि प्रणालीलाई परिष्कृत बनाउँदै लगिने उनको भनाइ थियो । आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण योगदान दिने सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिए । उक्त अवसरमा कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट ठहरिएका आयोगका कर्मचारीहरूलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा उपसचिव (कानुन) लक्ष्मी शर्मा, लेखा अधिकृत विष्णुप्रसाद न्यौपाने, कम्प्युटर इन्जिनियर अर्जुन पौडेल, नायब सुब्बा गोविन्दप्रसाद भट्टराई, नायब सुब्बा राजेन्द्र मरासिनी, कम्प्युटर अपरेटर सुमेश श्रेष्ठ, खरिदार पूर्णकली थापा, हलुका सवारी चालक भीमबहादुर श्रेष्ठ, नायब सुब्बा श्री दिव्यधरी जोशी (भोजपुर), कम्प्युटर अपरेटर प्रेमप्रसाद न्यौपाने (झापा), हालुका सवारी चालक इन्दल हजरा दुसाद (बारा) रहेका छन् । जिल्ला निर्वाचन अधिकारी रञ्जिता झा (पर्सा), जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्की (चितवन), लेखापाल कृष्णप्रसाद पन्थी (भक्तपुर), नायब सुब्बा जिवाखर शर्मा (लमजुङ), कम्प्युटर अपरेटर अनन्त सुवेदी (मनाङ), कम्प्युटर अपरेटर गेहेन्द्र कुँवर (दाङ), नायब सुब्बा इन्दिरा अधिकारी आचार्य (रोल्पा), कम्प्युटर अपरेटर तेजेन्दकुमार चन्द (सल्यान), नायब सुब्बा श्यामबहादुर राना (हुम्ला), जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामी (दार्चुला) र कार्यालय सहयोगी टेकबहादुर चन्द (कैलाली) पनि पुरस्कृत भएका छन् ।
काठमाडौं: गुल्मीमा आगलागी हुँदा ८३ वर्षीया वृद्धाको मृत्यु भएको छ। इस्मा गाउँपालिका–१ हस्तीचौर मल्दीकी पवित्रा खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए। आइतबार उखु पेलेर निस्किएको खोयाँको आगो तापेर बसिरहेकी खत्रीको साडीबाट शरीरमा आगो फैलिएको छिमेकी जंग खत्रीले जानकारी दिए। घाइते खत्रीलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको इस्मा–१ हस्तीचौरका वडाध्यक्ष शेरबहादुर कुँवरले बताए। पाल्पा अस्पतालले औपचारिक मृत्युको घोषणा गरेपछि मृतक खत्रीको रिडीमा अन्त्येष्टिको तयारी गरिएको छ।
पोखरा: पोखरा महानगरपालिका वडा नं. ११ मा अवस्थित कञ्चनजंघा ईङ्लिश बोर्डिङ स्कुलले आफ्नो २१औँ स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम एक समारोहबीच शुक्रबार सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि भद्रकाली बहुमुखी क्याम्पसका प्राध्यापक बुद्धिसागर सापकोटाले पानसमा दीप प्रज्ज्वलन गरी गर्नुभएको थियो।स्वागत मन्तव्य नेपाली विषय विभागीय प्रमुख शिक्षिका सावित्री शर्माले राख्नु भएको थियो। कार्यक्रममा विभिन्न बिधाका खेलकूद प्रतियोगिता र अतिरिक्त क्रियाकलापका बिजेता विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिनुका साथै शैक्षिक सत्र ०७८ को शैक्षिक पुरस्कार समेत प्रदान गरिएको थियो। विद्यालय निर्देशक श्रीजङ्ग गुरुङले विजेता विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्नु हुँदै उज्ज्वल भविष्यका लागि शिक्षा नै पहिलो खुड्किलो भएकाले लगनशील भएर पढाइमा लाग्न शुभकामना समेत दिनुभएको थियो। गत वर्षको वार्षिक परीक्षामा कक्षा पाँच सम्मका विद्यार्थीहरूमा सर्वाधिक अङ्क ल्याउने कक्षा एकको अभिशेक गुरुङ र कक्षा दस सम्मका विद्यार्थीहरूमा कक्षा आठकी रिनाशा शर्मा सर्वाधिक अङ्क प्राप्त गरी पुरस्कृत भएका थिए।विद्यालयका प्रिन्सिपल मित्रलाल पोख्रेलले मन्तव्यका क्रममा आगामी योजनाहरू समेत प्रस्तुत गर्नुभएको थियो।उक्त अवसरमा विद्यार्थीहरूले विविध सांगीतिक तथा सांस्कृतिक प्रस्तुति समेत गरेका थिए। विद्यालय सञ्चालक समितिकी अध्यक्ष लक्ष्मीदेवी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम शिक्षक सुरेन्द्र सदिच्छाले सञ्चालन गरेका थिए।
काठमाडौं: राज्यको आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) को ६२औँ वार्षिकोत्सव समारोह भद्रकालीप्लाजास्थित राससको केन्द्रीय कार्यालयमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राससको ६२औँ वार्षिकोत्सव मूल समारोहको दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको छ । वार्षिकोत्सवको अवसरमा आज सात वटै प्रदेश कार्यालयमा पनि कार्यक्रम आयोजना गरिएका छन् । राससले वार्षिकोत्सवको अवसर पारेर आजै उत्कृष्ट समाचारदाता, सम्पादक र कर्मचारीलगायतलाई पुरस्कार तथा सम्मान प्रदान गर्दैछ भने राससका बारेमा प्रकाशित पुस्तक पनि विमोचन हुने भएको छ । निजी क्षेत्रका दुई समाचार समिति एकापसमा गाभिएर विसं २०१८ फागुन ७ गते स्थापना भएको रासस आजदेखि ६२ वर्ष प्रवेश गरेको हो । संस्थापक अध्यक्ष रामराज पौड्याल रहनुभएको राससमा नेपाल संवाद समितिका गोविन्द वियोगी र सगरमाथा संवाद समितिका मणिन्द्रराज श्रेष्ठ यसका संस्थापक सदस्य हुनुहुन्थ्यो । विसं २०१८ फागुन ७ गते (१८ फेब्रुअरी १९६२) निजी क्षेत्रका ‘नेपाल संवाद समिति’ र ‘सगरमाथा संवाद समिति’ गाभिएर सरकारी स्वामित्वमा राष्ट्रिय संवाद समिति स्थापना भएको हो । ‘विकासका लागि सञ्चार’ भन्ने मूल मर्मलाई आत्मसात् गरेको राससले स्थापनाकालदेखि आधिकारिक, विश्वसनीय र सत्यतथ्य समाचार सङ्कलन एवं वितरण गर्दै आएको छ । राससले देशभर सञ्चालित रेडियो, पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमलाई हरेक दिन बिहान ६ देखि राति ११ बजेसम्म न्यूजलाइनमार्फत निरन्तर समाचार सम्प्रेषण गर्दै आएको छ । राससले गत साउन १ गतेदेखि ‘श्रव्यदृश्य’ सेवा पनि सुरु गरेको छ । यसले नेपाली, अंग्रेजी, अन्तर्राष्ट्रिय समाचार, आलेख, श्रव्य, तस्वीरलगायतका सामग्री प्रदान गरिरहेको छ ।
सुर्खेत: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति पदमा कांग्रेसकै उम्मेदवार चयन हुने दाबी गर्नुभएको छ । आइतबार सुर्खेतमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले सो कुरा बताउनुभएको हो । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनपछि शीतल निवासमा कांग्रेसकै नेतृत्व देखिने उहाँको दाबी छ । निर्वाचनको समयमा रहेको गठबन्धन बमोजिमकै राष्ट्रपति निर्वाचनमा पनि तालमेल हुने भएकाले कांग्रेस उम्मेदवार नै राष्ट्रपति हुने उहाँको आशय छ । पुस १० गते अघिकै गठबन्धन ब्युँतिने सङ्केत गर्दै महामन्त्री शर्माले संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका रूपमा रहेको राष्ट्रपति पदमा कांग्रेस अग्रसर हुनु स्वाभाविक रहेको बताउनुभयो । गठबन्धन ब्युँताउन आवश्यक परेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै पाँच वर्ष पूर्ण कार्यकाल कायम राख्नेगरी भए पनि काङ्ग्रेसले सहमति जनाउन सक्ने उहाँले बताउनुभयो । ‘कांग्रेसले आफू प्रधानमन्त्री हुनेभन्दा पनि संविधानको रक्षा र प्रणालीलाई सफल बनाउन पाँच वर्ष पूरै कार्यकाल वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै दिन सकिन्छ ।’ उहाँले कांग्रेसबाट राष्ट्रपति उम्मेदवारीका रूपमा सभापति शेरबहादुर देउवासहित रामचन्द्र पौडेल, कृष्ण श्रेष्ठ, गोपालमान श्रेष्ठ र मनबहादुर विश्वकर्मासहितको चर्चा छ ।
दार्चुला : दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मार्मा गाउँपालिका-३ नलबगडस्थित सडकमा माटो फाल्ने टिप्परको ढालाले नांगो बिजुलीको तारमा छुँदा टिप्पर चालकको मृत्यु भएको हो। टिप्परको ढाला बिजुलीको तारमा लागेर गम्भीर घाइते भएका कैलालीको लम्किचुहा नगरपालिकाको चिसापानीका २३ वर्षीय लिला थापाको उपचारका लागि अस्पताल लैजाने बेला बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताए। उनका अनुसार टिप्पर सहचालक मार्मा गाउँपालिका-६ का अन्दाजी १९ वर्षीय प्रकाश सिहं ठगुन्ना सामान्य घाइते भएका छन्
इस्तानबुल: टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गते गएको भूकम्पमा परी ४६ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । टर्कीको कहरामनमारसलाई केन्द्रबिन्दु बनाएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ । विपद् तथा आपत्कालीन व्यवस्थापन प्राधिकरण आज साँझदेखि खोजी तथा उद्धार स्थगन गरिने जनाउँदै चार लाख ३० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताएको छ । साथै खोज तथा उद्धारमा १३ हजार स्वयंसेवक एवम् अन्य सहायताकर्मी परिचालन गरिएको जनाइएको छ । हालसम्म टर्कीमा ४० हजार ६४२ जना तथा सिरियामा पाँच हजार आठ सयले ज्यान गुमाएका दुवै देशका सरकारी अधिकारीले बताएका छन् । उनीहरूले मृतकको सङ्ख्या बढ्नसक्ने जनाएका छन् । टर्कीमा तीन लाख ४५ हजार भवन भत्केका छन् भने भग्नावशेषमा धेरै हराइरहेका छन् । विश्व खाद्य कार्यक्रमले सिरियामा मानवीय सहायता सामग्री परिचालनमा कठिनाइ भएको जनाउँदै अवरोध नगर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ । उत्तरपश्चिम सिरियामा मानवीय सहायता उपलब्ध गराउन कठिन भएको उक्त संस्थाले बताएको छ । सिरियाली अधिकारीहरूले भूकम्प प्रभावित क्षेत्रमा आफ्नो पहुँचमा अवरोध खडा गरेको आरोप उक्त संस्थाले लगाएको छ ।
धनगढी : मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आम माफी पाएर जेलमुक्त भएका सांसद अरुण कुमार चौधरीले आफूसँग राजनीतिक प्रतिशोध साँधेको प्रतिक्रिया दिएका छन् । आम माफिपछि आइतबार कैलाली कारागारबाट रिहा भएलगत्तै पत्रकारसँग कुराकानी गर्दै चौधरीले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘फैसला भएको पनि जानकारि दिइएन, तीन/तीन पटक चुनाव लड्दा कसैले पनि यो कुरा उठाएन । म काँग्रेसमा हुँदा समेत मेरो यो मुद्धाको फैसला भएको नभएको,मलाई जेल तोके नतोकेको केही पनि थाहा भएन,तर जब म नागरिक उन्मुक्तिबाट जितेर प्रतिनिधि सभामा पुगे,अनी बल्लल यो मुद्दा उठ्यो र मलाई प्रतिशोध स्वरुप पक्राउ गरियो,'चौधरीले भने । उनले १८ दिनको कारागारको बसाइ स्मरणीय रहेको बताउँदै रिहा गरेकोमा नेपाल सरकार र राष्ट्रपतिको कार्यालयलाई धन्यवाद समेत दिए । ‘१८ दिनको कारागारको बसाइ स्मरणीय रह्यो, नेपाल सरकार र राष्ट्रपतिको कार्यालयलाई आम माफीका लागि धन्यवाद दिन चाहन्छु,' अरुणले भने । अरुण,कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । उनी नागरिक उन्मुक्ति पार्टीका सचेतक समेत हुन् । कैलाली कारागारमा रहेका चौधरीलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रजातन्त्र दिवसका अवसरमा आम माफी दिएकी हुन्। प्रहरीले सांसद चौधरीलाई माघ १९ गते बाँकेबाट पक्राउ गरेको थियो। करिब १२ वर्षअघि उनलाई जिल्ला अदालत कैलालीले ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजाय सुनाएको थियो। सोही आदेशअनुसार उनी माघ २० गते कैलाली जेल चलान भएका थिए । तर, चौधरीले गृहमन्त्रालयलाई जेल सजाय माफी गरिदिन भन्दै कैद माफी मिनाहाका लागि निवेदन दिएका थिए। सांसद चौधरी पक्राउपछि निलम्बनमा परेका थिए। रिहाइ भएसँगै चौधरीलाई स्वागत गर्न नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसहित समर्थक कारागार पुगेका थिए । अरुणको गिरफ्तारी लगत्तै अध्यक्ष चौधरीले संघीय सरकारबाट समर्थन फिर्ता लिएको बताएकी थिइन। उन्मुक्तिले विश्वासको मत नदिदा एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढलेको थियो। तर अरुणको रिहा लगत्तै चौधरीले संघीय सरकारको समर्थन भने यथावत रहको प्रतिक्रिया दिएकी छन् । ‘हो,मैले स्टाटस लेखेर सरकारको समर्थन सकिएको भनेको हुँ,कांग्रेसमा रहदा केही पनि नगर्ने उन्मुक्तिबाट जितेपछि पक्राउ गर्ने प्रतिशोध थियो त्यो,'रञ्जिताले भनिन्, ‘हामीले सरकारलाई दिएको समर्थन यथावत रहन्छ । हामीले प्रधानमन्त्रीलाई समर्थन गरेको हो । समर्थन गरेर हामी प्रतिपक्षमै बसिरहेका छौं ।’
काठमाडौं : नेपाल–भारत ऊर्जासचिवस्तरीय (जेएससी) बैठक शनिबार अबेर भारतमा सम्पन्न भएको छ। भारतमा चलेको बैठकमा थप विद्युत् निर्यातदेखि अन्तरदेशीय प्रसारणलाइन कार्यान्वयन तथा निर्माणका सन्दर्भमा छलफल भएको थियो। पूर्व–पश्चिम जोड्ने न्यू बुटवल–गोरखपुर ४ सय केभी प्रसारणलाइनलाई कार्यान्वयन लैजाने सम्बन्धमा सम्झौता भएको छ। बैठकले उक्त प्रसारणलाइनको इम्प्लिमेन्टेसन एन्ड ट्रान्समिसन सर्भिस सम्झौता गरेको बैठकमा सहभागी ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले बताए। बैठकले २ सय मेगावाट थप बिजुली निर्यातका लागि दुई देशका प्राविधिक सहसचिवस्तरीय ज्वाइन्ट टेक्निकल टिम (जेटीटी)लाई निर्देशन दिएको छ। आउँदो वर्षायामबाट थप बिजुली निर्यात गर्ने गरी उक्त कमिटीले काम अघि बढाउने भएको छ। हाल भारतले ४५२.६ मेगावाट बिजुली निर्यातका लागि सहमति दिएको छ। साथै १३२ केभी तथा सोभन्दा तलका प्रसारणलाइनबाट पनि बिजुली निर्यात गर्न सक्ने गरी संयन्त्र बनाउने सम्बन्धमा पनि सहमति भएको प्रवक्ता भेटुवालले बताए। अहिले बिहारबाट एक्सेन्ज मार्केटमा विद्युत् किनबेच भइरहेको छ। टनकपुर प्रसारणलाइनबाट २ सय मेगावाटसम्म निर्यात गर्न सक्ने गरी अध्ययन गर्ने सम्बन्धमा पनि बैठकमा सहमति भएको छ। करिब ७० मेगावाट बिजुली त्यहाँबाट आयात हुँदै आइरहेको छ। तत्काललाई ७० देखि ८० मेगावाट बिजुली टनपुरबाट निर्यात गर्न सक्नेमा पनि समझदारी भएको भेटुवालले बताए। ४ सय केभीका इनरुवा–पूर्णिमासम्म र दुधुधारा–बरेलीसम्म प्रसारणलाइन निर्माण सम्बन्धमा सहमति भएको छ। निर्माणाधीन ठूला आयोजनाका बारेमा पनि छलफल भएको थियो। भारतले नै निर्माण गरिरहेको अरुण–३ जलविद्युत् आयोजनाको प्रगति र समस्याका सम्बन्धमा छलफल हुनका साथै यसै आयोजनाका लागि निर्माणाधीन ढल्केबर–सीतामणिबाट प्रसारणलाइनबाट विद्युत् आयात-निर्यातका सम्बन्धमा छलफल भएको थियो। उक्त बैठकको नेतृत्वमा सचिव दिनेश घिमिरे तथा भारतीय समकक्षी आलोक कुमारले गरेका थिए। बैठकमा नेपालका तर्फबाट ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभागलगायतको सहभागिता थियो।