बागलुङ: बागलुङको काठेखोला गाउँपालिकाबाट पछिल्लो पाँच महिनामा ५८ घरपरिवारका २२१ जना बसाइँ सरेका छन्। गत साउनदेखि पुस मसान्तसम्म गाउँपालिकाका स्थानीय गाउँ छाडेर सहरी तथा तराई क्षेत्रमा बसाइँ सरेका हुन्। अन्य व्यक्तिगत घटनाभन्दा बसाइँ सर्नेको तथ्याङ्क सर्वाधिक छ। गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले आठवटा वडा रहेको गाउँपालिकामा सबैभन्दा धेरै वडा नम्बर ५ बिहुँबाट बसाइँ सरेको जानकारी दिनुभयो। बिहुँबाट मात्रै पाँच महिनामा २२ परिवारका ८४ जनाले गाउँ छाडेका छन्। वैदेशिक रोजगारीमा रहेका र उच्च शिक्षाका लागि विदेशमा रहेका युवाका परिवार बसाइँ–सराइ गर्नेमा पर्छन्। वडा नं. ६ बिहुँबाट पनि बसाइँ सर्नेको सङ्ख्या उच्च छ। वडा नं. ६ बाट ११ परिवारका ४३ जना बसाइँ–सराइ गरेका छन्। बिहुँका स्थानीय अधिकांश जापान, अस्ट्रेलिया, पोर्चुगललगायत मुलुकमा छन्। गाउँपालिकाबाट बसाइँ–सराइ लिएर जानेबाहेक थातथलो छाडेर अन्यत्रै बस्नेको सङ्ख्या पनि उच्च छ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले फन्को मारेको साबिकको बिहुँ गाविस (हाल वडा नं. ५ र ६) सदरमुकामदेखि छोटो दूरीका वडा हुन्। गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले बिहुँमा दुईवटा सामुदायिक क्याम्पस, विद्यालय, खानेपानी, विद्युत्, स्वास्थ्य संस्थालगायतका संरचना तयार रहे पनि गाउँ रित्तिन नछाडेको बताउनुभयो। अन्य वडाको तुलनामा बिहुँ फलफूल र नगदेबाली बढी उत्पादन हुने क्षेत्र पनि हो। राष्ट्रिय परिचयपत्र बनाउनेक्रममा घटना दर्ता भएका हुन्। काठेखोलामा सबैभन्दा कम बसाइँ–सराइ वडा नं.७ लेखानीमा छ। यो वडाबाट पाँच महिनाको अवधिमा एक परिवारका तीन जना सदस्य मात्रै गाउँ छाडेर अन्यत्र गएका छन्। “हामीले विकास निर्माणका काम गाउँमा केन्द्रित गरेका छौँ तर गाउँलेचाहिँ सहर केन्द्रित भएका छन्,” गाउँपालिका अध्यक्ष राजु थापाले भन्नुभयो, “बसाइँ–सराइको स्थिति हेरेर नीति, कार्यक्रम र बजेट बनाउनुपर्ने अवस्था आउन थालेको छ।” वडा नं.१ पालाबाट दुई परिवारका आठ, वडा नं. २ भीमापोखराबाट छ परिवारका १८, वडा नं. ३ धम्जाबाट पाँच परिवारका १९, वडा नं. ४ तङ्ग्रामबाट दुई परिवारका १२ र वडा नं.७ रेसबाट नौ परिवारका ३४ जना बसाइँ सरेको गाउँपालिकाको तथ्याङ्क छ। बसाइँ सर्नेमा आर्थिक दृष्टिकोणले मध्यम वर्ग कम रहेका छन्। वैदेशिक रोजगारीबाट छोटो अवधिमा धेरै अर्थोपार्जन गर्ने परिवारका सदस्य बसाइँ–सराइ गरेको काठेखोला गाउँपालिका–२, भीमापोखराका वडाध्यक्ष विद्यापति शर्माको भनाइ छ। गाउँपालिकाको तथ्याङ्कअनुसार दैनिक ज्याला–मजदुरी गरेर खानेहरू अवसरका खोजीमा सहर–बजारतिर झरेका छन्। आर्थिक रूपले सक्षम देशका ठूला सहर वा तराईमा बसाइँ सरेका छन्। उच्च शिक्षाका लागि विदेश जाने, उतै कार्ड बनाउने र परिवार मधेश झर्ने गरेका कारणले पनि बसाइँ–सराइको तथ्याङ्क बढ्दो छ। गाउँपालिकामा पछिल्लो पाँच महिनामा ११ परिवार गाउँ फर्किएका छन्। बागलुङका १० वटा स्थानीय तहमध्ये जैमिनी नगरपालिका, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा बसाइँ–सराइ धेरै भएका छन्। काठेखोलाको जस्तै तथ्याङ्क अन्य स्थानीय तहले तयार गरिनसकेका भए पनि काठेखोलाबाहेकका स्थानीय तहमा पनि बसाइँ–सराइको दर उच्च छ।
जनकपुरधाम: भारत उतर प्रदेशको अयोध्या लगिने देव शीला जनकपुरधाम ल्याइएको छ । अयोध्यामा निर्माणाधीन रामको मन्दिरमा स्थापित गरिने प्रतीमाका लागि नेपालको श्री कृष्णा गण्डकी तटबाट विधिपूर्वक शिला ल्याइएको हो । देव शिला जानकी मन्दिर प्राङ्गणमा विशेष पूजा अर्चनाको लागि राखिएको छ । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल, एमाले नेतृ तथा संघीय सांसद जुली महतोलगायतले पूजा अर्चना गरेका हुन् । दर्शनको लागि जानकी मन्दिर प्राङ्गणमा भक्तजनको भीड लागेको । पूजाअर्चना गरि देव शिलालाई यहाँबाट अयोध्या लगिने जनाइएको छ।
चितवन: फापर प्रमुख खाद्यान्न बालीमध्ये एक हो । फापरका २ प्रजाति रहेका छन् तिते र मिठे फापर । जङ्गली अवस्थामा फल्ने एउटा प्रजाति छ जसलाई वन फापर पनि भनिन्छ । यो समय फापर फुल्ने मुख्य समय हो । हिजोआज चितवनका खेतहरूमा फापर र तोरी एकै साथ फुलेको देख्न सकिन्छ । फूलले रङ्गिन जस्तै बनेको छ चितवनका खेतबारीहरू । उच्च पहाडी भेगमा मुख्य गरी उत्पादन हुने गरेता पनि आजभोलि यसको खेती तराईका केही भेगमा पनि खेती गर्न थालिएको छ । जसमध्ये चितवन जिल्लाको मेघौली क्षेत्र र दिव्य नगर क्षेत्र यति बेला फापर फुलेर अति नै सुन्दर देखिएको छ । यही सौन्दर्यमा युवायुवतीहरू फापर खेतीमा टिकटक बनाएको पनि देख्न सकिन्छ। मेघौलीका किसान बोलबहादुर चौधरीका अनुसार यस क्षेत्रमा कात्तिक महिनामा फापर खेती गरिन्छ र फापर ६० देखि १५० दिनमा पाक्छ करिब ७५ प्रतिशत दानाहरू खैरो, कालो वा मलिन खैरो रङ्ग भएपछि फापर काट्ने गरिन्छ। चौधरीका अनुसार बिहानको समयमा फापर काट्दा दाना झर्दैन र तुसारो पर्नु अगाडी नै बाली भित्र्याउनुपर्छ। फापर पोषणयुक्त खाद्यान्न भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ, जसमा कार्बोहाइड्रेट ७० देखि ७३ प्रतिशत, प्रोटिन १६ प्रतिशत र लाइसिन अमिनो एसिड पनि बढी पाइन्छ ।
काठमाडौं: पश्चिमी न्यून चापीय प्रणाली सुदूरपश्चिम प्रदेशबाट भित्रने क्रममा रहेकाले सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम बदली हुने अनुमान छ । यो प्रणालीको प्रभावका कारण अबको केही दिन सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार उच्च पहाडी र हिमाली जिल्लामा यो प्रणालीको प्रभाव अलि धेरै पर्ने सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेश बाहेक अन्य प्रदेशको मौसम भने सामान्यतया सफा नै रहने अनुमान छ । हिउँदे वर्षा नहुँदा बाग्मती, गण्डकी, मधेस प्रदेश र प्रदेश १ मा गर्मी हुन थालेको छ । बिहान बेलुका चिसो भए पनि दिउँसो गर्मी छ । केही दिनअघि पश्चिमी न्यून चापीय प्रणालीकै कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा हल्कादेखि सामान्य वर्षा र हिमपात भएको थियो । अन्य प्रदेशमा भने अझै पानी पर्न सकेको छैन । पानी नपर्दा सुक्खापन बढेको छ । यसले हिउँदे बालीमा नोक्सानी पुर्याएको छ भने नदी तथा खोलामा पनि पानी सुक्दै जाँदा विद्युत् उत्पादनमा समस्या हुन थालेको छ ।
बागलुङः बागलुङको ताराखोला गाउँपालिका २ अर्गल सिलेको स्थानीयको खरबारीमा आगलागी हुँदा वस्ती जोखिममा परेको छ । स्थानीयले खरबारीमा स्याउला जलाउन लगाएको आगो एक्कासी फैलिदा आगो नियन्त्रण बाहिर गएको स्थानीय भुमिराज विश्वकर्माले जानकारी दिए । ‘आगो वस्ती भन्दा तल लागेको छ, आगो भन्दा केही माथि वस्ती छ, अहिले आगो नियन्त्रण बाहिर छ, विश्वकर्माले भने, ‘अप्ठ्यारो भिर भएकाले आगो नियन्त्रण गर्न सकिएको छैन, वस्तीतिर आउँछ कि भनेर सजग भएर बसेका छौं ।’ ताराखोला गाउँपालिका २ का वडाध्यक्ष भद्रबहादुर घर्ति मगरले आगोको जोखिम भएका वस्तीलाई दिउँसो जोगाइएका जानकारी दिए । ‘दिउँसो आगलागीबाट वस्ती जोखिममा परेको थियो, स्थानीयको सहयोगमा वस्ती जोगाइएको छ, घर्तिले भने, ‘आगो भिरमा लागेकाले नियन्त्रण गर्न सकिएको छैन, रात परेकाले नियन्त्रण गर्न समस्या भएको छ ।’ स्थानीयले आगो नियन्त्रणको प्रयास गरे पनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगो खरबारीमा फैलिएकाले नियन्त्रण बाहिर गएको स्थानीयले जानकारी दिएका छन् । खईम भन्ने स्थानमा लागेको आगो अहिले ताराखोला गाउँपालिका २ सिलेको कोट र गर्जुरे भन्ने स्थानमा फैलिएको छ । खरबारीमा सल्ला लगायत अन्य रुखको पातहरु र खर सुकेकाले आगो नियन्त्रण गर्न समस्या भएको स्थानीयले जानकारी दिएका छन् ।
धनकुटाः धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी नौ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएकाको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ । अत्यधिक भीडका कारण झण्डै नौ जनाभन्दा बढी दर्शक घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिनुभयो । कन्सर्ट हेर्न आउनेहरूको भीडमा परी घाइते भएकाको विवरण र क्षति भने यकिन हुन नसकेको कलाकार संयोजन समितिका संयोजक रिदम श्रेष्ठले जानकारी दिनुभयो । आजका सबै कार्यक्रम स्थगन भएको आयोजकले जनाएको छ ।
पोखराः पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुष तर्फको फाइनल खेलमा खेलाडी माथि बोतल प्रहार भएको छ। खेल सञ्चालन भइरहेको समयमा एपिएफको खेलाडी भएको कोर्टतर्फ दर्शकले बोतल प्रहार गरेका हुन् । फाइनल खेलको चौटो सेटमा दर्शकले बोतल फालेपछि खेल केही समय राेकिएकाे थियाे । अहिले भने खेल पुन: शुरु भएको छ ।
नयाँ दिल्लीः भारतको पूर्वी राज्य झारखण्डको एक निजी अस्पतालमा आगलागी हुँदा पाँच जनाको ज्यान गएको छ । अरु पाँच जना गम्भीर घाइते भएका छन् । धनवाद जिल्लाको बैंकमोर क्षेत्रमा रहेको हाजरा अस्पतालमा गएराति आगो लागेको थियो । आगोका कारण अस्पतालका सञ्चालक डाक्टर, श्रीमती, एक जना कामदार र दुई जना आफन्तको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अस्पताल धुवाँले भरिएको र अक्सिजनको अभावमा उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ । आगलागीको कारण नखुलेको धनवादका प्रहरी वरिष्ठ उपरीक्षक अरविन्दकुमार बिनाले बताउनुभएको छ ।
पोखरा: पोखराको सेती खोँचमा यति एयरको विमान दुर्घटनामा परी हराइरहेका एक जनाको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ । कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ मा दुर्घटनास्थलमा खोज तथा उद्धारमा खटिएको टोलीलाई फिर्ता गर्ने निर्णय गरेपनि दुर्घटनामा परेकामध्ये एक जनाको अवस्था अझै अज्ञात रहेकाले खोजीकार्य जारी रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । चालक दलका चारसहित ७२ जना यात्रु बोकोर काठमाडौंदेखि पोखराका लागि उडेको यती एयरलाइन्सको विमान यही माघ १ मा पोखराको सेती नदीको खोंचमा खसेको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोज तथा उद्धारको क्रममा ७१ जनाको शव फेला पारेको थियो । साथै उद्धारका क्रममा भेटिएको ब्लाक बक्सलगायतका सामग्री नेपाल नागरिक प्राधिकरणलाई हस्तान्तरण गरेको थियो । विमान दुर्घटनाको खबर प्राप्त गर्नासाथ खोज तथा उद्धार कार्यलाई नेपाली सेनाले तीव्रता दिएको थियो ।